परिचय

काउलीको खाने सेतो फूलको थुँगा जस्तो हुनाले फूलकोपी पनि भनिन्छ । काउली बोटको अग्रस्थानबाट झुप्पामा हाँगाहरू निस्कने र ती हागाँहरू धेरै पटक विभाजन भएर निस्केका ससाना हागाँहरूको वानस्पतिक कोपिला नै सेतो फूलकोपी हो। यसरी हामीले खाने फूलकोपी बोटको डाँठको टुप्पो भागबाट निस्केका प्रशस्त सहायक डाँठहरू र तिनबाट पलाएका अनेकौँ साना डाँठहरू र सेता रंगका मसिना दानादार फूलजस्तोले बनेको हुन्छ । काउलीको फूल दुई अवस्थाको हुन्छ । पहिलो फूललाई खानमा प्रयोग गरिन्छ भने दोस्रो फूलबाट बीउ बन्दछ । खाने कोपी वास्तवमा फूल नभई एक किसिमको फूल आउनलाई तयार भएको कोपिलाको शीर्षस्थ भाग हो । बोटबाट पहिला खाने फूल लाग्दछ र सोही खाने फूलबाट डुकु निस्की त्यहाँ कोपिला लागि बीउ लाग्ने फूल फूल्दछ । काउलीको फूल तोरीको जस्तै पहेंलो हुन्छ । फूलकोपी तरकारी सुप, अचार र परौठा पकाउनमा प्रयोग गरिन्छ । यो धेरै उपभोक्ताले रुचाउने स्वादिलो तरकारी हो । काउलीमा ग्लुकोसिनोलेट नामक पदार्थ पाइन्छ जसमा क्यान्सरको प्रतिरोध गर्ने गुण हुन्छ ।

नेपालमा यी बालीहरूको खेती तराई, भित्री तराई, तल्लो पहाड, खोंच, बेसी, मध्य पहाड, उच्च पहाड र हिमाली क्षेत्रमा समेत गरिन्छ । मौसमी र बेमौसमी खेती विस्तार गरेर रोजगारी सिर्जना गर्न, खाद्य सुरक्षा बढाउन र समग्र गरिबी हटाउन सहयोग पुग्नेछ । पहाडको १३०० देखि २५०० मिटरको उचाइ भएका स्थानहरू काउली खेतीको लागि उपयुक्त मानिन्छ । काउली चिसो खप्ने हिउँदे बाली भए पनि आजकल गर्मी खप्न सक्ने जातहरूको विकास भएकोले वर्षा र गर्मी मौसममा पनि यसको खेती सफलताका साथ गर्न सकिन्छ।

cauliflower   cauliflower

जातहरु

हाल प्रचलनमा रहेका बेमौसमीमा खेती गर्न सकिने केही हाइब्रिड जातहरू धेरै किसिमका छन् तथा वर्षैपिच्छे नयाँ–नयाँ जातहरू आई रहन्छन् ।

तालिका: विभिन्न समयमा तयार हुने केही प्रमुख काउलीका हाइब्रिड जातहरू

५५ देखि ६० दिनमा तयार हुने जातहरू

६० देखि ७५ दिनमा तयार हुने जातहरू

 

 

७५ देखि १०० दिनमा तयार हुने जातहरू

१०० देखि १५० दिनमा तयार हुने जातहरू

सिल्भर कप ६०

श्वेता

स्नो क्राउन

स्नोमेस्टिक

एन एस ६० एन

 

 

 

रमी

एन एस ९०

स्नोडुम

स्नो किङ्ग

 

 

 

एन एस ६०

एन एस ८४

माधुरी

हिमलता

 

 

 

मिल्कवे

 

मयूर

यी लामो समयसम्म काठमाडौं उपत्यकाको ठण्डा मौसम, भारी वर्षा र गह्रौ माटोको अवस्थामा अनुकूलित भएका समूहबाट विकास गरिएका जातहरू हुन् र यिनीहरू मध्ये मौसमी जात हुन् ।

यी लामो समयसम्म उच्च तापक्रम र भारी वर्षाको अवस्थामा अनुकूलित भएका समूहहरूबाट विकास गरिएका फरक–फरक अवधिका जातहरू हुन् । साधारणतया यी जातहरू अगौटे किसिमका हुन्छन् ।

जुन पछौटे किसिमका हुन्छन्

नेपालमा हालसम्म उन्मोचित भएका ४३ जातमध्ये ११ वटा उच्च पहाडमा, ४३ वटा मध्य पहाडमा र ४१ वटा तराईमा खेती गर्न सिफारिस गरिएका छन् । नेपाली काउलीका बोट मध्यम अग्ला, लामा र फराकिला प्रशस्त पातहरू सेता, ठूला, कम कसिला र उच्च गुणस्तरका लामा डाँठ डाँठमा फाट्टफुट्ट लागेका साना पात, खुकुला र हल्का पहेँला रंगका काउली लाग्दछन् । स्नोवल समूहका युरोपेली काउलीका बोट छोटा पात, गाढा र छोटा काउली चम्किला सेता कस्सिएका, कम वासनादार र उच्च गुणस्तरका हुन्छन् । हाइब्रिड जातहरू उच्च तथा ठण्डी तापक्रम सहन सक्ने क्षमतामा लगाउने समयमा र बाली अवधिमा फरक छन् । तर काउलीको गुणस्तरमा धेरै जातमा एकरूपता पाइन्छ । काउलीका केही खुला सेंचित (open pollinated) जातहरू निम्न बमोजिम रहेका छन् ।

काठमाडौं स्थानीय

मध्य महाडी क्षेत्रका लागि उपयुक्त मध्ये मौसमी जात हो । बेर्ना सारेको १००–११० मा फूलकोपी खानको लागि तयार हुन्छ । भने बीउ उत्पादन हुन २०० देखि २२० दिनसम्म लाग्दछ ।

किबोजाइन्ट

यो पछौटे जात हो, बेर्ना रोपेपछि १२०–१४० दिनमा बाली काट्न तयार हुन्छ ।

ज्यापू काउली

यो काठमाडौं स्थानीयबाट छनोट गरिएको मध्य मौसमी जात हो र यो बेर्ना सारेको ८०–११० दिनमा खानको लागि तयार हुन्छ । यो मध्य पहाडको लागि उपयुक्त जात हो ।

आवश्यकता

धेरै किसिमको हावापानीका स्थानहरूमा काउलीको खेती गर्न सकिन्छ । शीतल र ओसिलो मौसममा काउलीले उच्च गुणस्तरका फूलकोपी उत्पादन गर्दछ । काउलीका पातले तुषारो सहन सक्दछन् । तर कोपीले भने तुषारो सहन सक्दैन । काउलीले बन्दाको जस्तो धेरै उच्च र धेरै न्यून तापक्रम सहन सक्दैन । काउली बालीलाई १५–२० डि.से. तापक्रम उपयुक्त हुन्छ । सूर्यको किरणले फूलकोपीको रंगलाई पहेंलो बनाउँदछ । बढी ठण्डी तापक्रमले फूलकोपीमा वैजनी रंगको विकास गर्दछ । काउली बालीको उत्पादनमा तापक्रमले ठूलो असर पार्दछ । वानस्पतिक विकासको अवस्थाबाट फूलकोपी लाग्ने र विकास गर्ने अवस्थामा पुग्न उपलब्ध तापक्रमले असर पार्दछ । फूलकोपी लाग्न आवश्यक पर्ने तापक्रम र बाली अवधिका आधारमा काउलीका जातहरू लाई निम्न ५ समूहमा विभाजन गरिएको छ ।

(क) असोजमा (२०–३० डि.से.) बाली तयार हुने

(ख) कात्तिकमा (२०–२५ डि.से.) बाली तयार हुने

(ग) मंसिरमा (१५–२० डि.से.) बाली तयार हुने

(घ) पुस (१२–१५ डि.से.) बाली तयार हुने

(ङ) वनस्पती विकासको अवस्थामा १०–१५ डि.से. तापक्रममा हुर्केका आधारमा माघ–फागुनमा फूलकोपी उत्पादन गर्न सक्ने शीतोष्ण क्षेत्रका जातहरू ।

नेपाली काउलीहरूले (काठमाडौं स्थानीय, ज्यापू आदि) मंसिर–पुसमा बाली दिन्छन् । उष्ण क्षेत्रका भारतीय काउलीहरूले असोज, कात्तिक, मंसिर र पुसमा बाली दिन्छन् । शीतोष्ण क्षेत्रका युरोपेली काउलीहरूले (स्नोबल समूह) पछौटे बाली (माघ–फागुन) दिन्छन् । यसरी काउलीका जातहरूको बाली दिने समय तापक्रममा भर पर्दछ । यसरी जात अनुसार ठण्डापन कम र बढी हुन्छ तथा जात अनुसार खेती गर्ने समय पनि फरक–फरक हुन्छ । अगौटे जातलाई जाडो याममा रोप्दा बोट बढ्न नपाई गुच्चा जत्रो मात्र फूल लाग्नेछ तथा मध्य मौसमी जातलाई गर्मी याममा लगाउनाले पातै पात मात्र लागि ठण्डा तापक्रम पाएपछि कोपी लाग्ने गर्दछ । पछौंटे जात किबोजाइन्ट भने जाडो याममा बोटको विकास भै केही गर्मी लागेपछि कोपी लाग्ने गर्दछ ।

प्रशस्त प्रांगारिक मल भएको, मलिलो दोमट किसिमको, पानीको निकास राम्रो भएको, पानी राम्रो ग्रहण गर्न सक्ने माटो नै काउली खेतीको लागि उपयुक्त मानिन्छ । हलुको बलौटे किसिमको माटोमा खेती गर्न प्रशस्त गोबर अथवा कम्पोष्ट मल प्रयोग गर्नुपर्छ। काउलीलाई सिंचाईको आवश्यकता पर्छ। माटोमा धेरै अम्लीयपना छ भने खेती राम्रो हुँदैन । काउलीको लागि अम्लीयपनाको स्तर ५.५ देखि ६.५ पी.एच. सम्म चाहिन्छ । 

जग्गा तयारी

बीउ रोपेको ३०–४० दिनमा बेर्ना सार्न लायक हुन्छन् । बेर्नाको सार्ने अवस्था जात अनुसार फरक पर्दछ । अगौटे जातको बेर्ना २–३ पाते भएपछि सार्नु पर्दछ । मध्यम मौसमी र ढिलो जातको बेर्ना ४–५ पाते भएपछि सारिन्छ । बेर्ना सार्नु भन्दा एक घण्टा अगाडि ब्याड भिज्ने गरी सिंचाइ गर्नुपर्दछ । बेर्ना साँझपख रोप्नुपर्दछ रोपेपछि तुरुन्तै पानी दिनुपर्दछ । बेर्ना ब्याडमा जति माटोले छोपेको छ, त्यति मात्रै पुरिने गरी रोप्नुपर्छ । रोपि सकेपछि बेर्ना राम्ररी नसरुन्जेलसम्म दिनको एक पटक पानी दिनुपर्छ ।

तराई, भित्री तराई, खोंच र बेसीमा सरदर मुख्य मौसमीको काउली उत्पादन गर्न सकिन्छ । तराईमा अगौटे काउलीको बेर्ना असारमा सारे पनि असोजको अन्त्यभन्दा अगाडि बाली लिन सकिँदैन । त्यसैगरी पछौटे काउलीले पनि फागुनभन्दा ढिलो राम्रो गुणस्तरको बाली दिन कठिन छ । त्यो क्षेत्रमा जाडो याममा उत्पादन गरेको काउली ठण्डी मुलुकमा निर्यात गर्न सकिने सम्भावना छ । नेपालको मध्यपहाडमा सालभर काउली उत्पादन गर्न सकिने र यसको उत्पादन आन्तरिक बजारलाई लक्षित गर्न सकिन्छ । उच्च पहाडको काउली वर्षायाममा उत्पादन हुने हुँदा आन्तरिक बजारसहित उष्ण हावापानीका छिमेकी मुलुकमा निर्यात गर्न सकिन्छ ।

तालिका: काउलीका जातको किसिम र हावापानीका क्षेत्र अनुसार बेर्ना सार्ने र बाली लिने समय

भौगोलिक क्षेत्र

जातको किसिम

बेर्ना सार्ने समय

बाली लिने समय

तराई, भित्री तराई, खोच र बेसी (६०– ४०० मिटर)

अगौटे

असार–साउन

असोज– कात्तिक

मध्यम मौसमी

असोज–कात्तिक

पुस– माघ

पछौटे

कात्तिक–मंसिर

माघ–फागुन

मध्य पहाड (४०१–२००० मिटर)

अगौटे

चैत–वैशाख

मंसिर–माघ

मध्यम मौसमी

साउन–भदौ

माघ–फागुन

मध्य पछौटे

असोज–कात्तिक, पुस–माघ

चैत– वैशाख

उच्च पहाड (२००० मिटर भन्दा माथि)

मध्यम मौसमी

चैत– असार

साउन–असोज

 

पछौटे

फागुन– वैशाख

भदौ– कात्तिक

नेपालमा तरकारीको मुख्य बजार मध्य पहाड र तराईमा छ । तराईमा काउली मुख्य मौसममा मात्र उत्पादन गर्न सकिने भएको र मध्य पहाडमा वसन्त–ग्रीष्म मौसममा उत्पादन गर्न सकिने र उच्च पहाडमा वर्षायाममा उत्पादन गर्न सकिने भएकोले यी दुई ठाउँको उत्पादनको विशेष आर्थिक महत्व छ ।

बेर्ना रोप्नुभन्दा एक महिनाअगाडि गहिरो गरी माटो पल्टाएर जोत्नुपर्दछ । डल्ला फोर्ने, झारढुङ्गा, प्लास्टिक र अघिल्लो बालीका अवशेषहरू हटाई राम्ररी कुहेको गोबर मल छरेर जोत्नु पर्दछ । रासायनिक मल बेर्ना सार्नु भन्दा एक हप्ताअगाडि छरेर जोत्नुपर्दछ । वर्षायाममा बेमौसमी खेती गर्दा १५–२० से.मि. उठेका, १२० से.मि. चौडाइ र जग्गा अनुसार लम्बाइ कायम गर्नुपर्छ ।

बीउदर र रोप्ने दुरी : 
अगौटे जात : ४० ग्राम प्रतिरोपनी 
मध्य मौसमी तथा पछौटे जात २५ ग्राम प्रतिरोपनी 
अगौटे जातको लागि रोप्ने दुरीः ४५ से.मि. ड्याङको दुरी/४५ से.मि. बोटको दुरी मध्य मौसमी र पछौटे जातको लागि रोप्ने दुरी ६० से.मि. ड्याङको दुरी/४५ से.मि. बोटकादुरी यसरी एक रोपनी जमिनमा अगौटे जातका २५०० बेर्ना र मध्य मौसमी तथा पछौटे जातका १८०० बेर्ना लाग्दछन् ।

बाली व्यवस्थापन तथा हेरचाह

बेर्ना सारेपछि तुरुन्तै हल्का सिंचाइ गर्नुपर्दछ । बेर्ना सारेको ७–१० दिनसम्म मौसम हेरेर दिनहुँ एक दिनको अन्तरमा सिंचाइ गर्नुपर्दछ । काउलीका जरा गहिरो जाँदैनन् र तलको चिस्यान जराले तान्न सक्दैनन् । अर्कोतर्फ बोटले प्रभावकारी ढंगले चिस्यानको उपयोग गर्दैन । तसर्थ काउलीको लागि जमिनमा सधै पर्याप्त चिस्यान हुनुपर्दछ । सिंचाइ ५–१० दिनको अन्तरमा गर्नपर्दछ । बढी भएको पानी निस्कन निकासको व्यवस्था पनि राम्रोसँग गर्नुपर्छ ।

बेर्ना सारेको ३०–४५ दिनसम्म झारले बढी दुःख दिन्छ । जमिनको सतहको थोरै गहिराईको माटो कुटो वा कोदालोले खनेर झार हटाउने र माटो खुकुलो पार्नु पर्दछ । यस्तो गोडमेल बोट देखि ५–६ से.मि. पर र ५–६ से.मि. गहिराइसम्म गर्न सकिन्छ । पहिलो र दोस्रो थपमल बोटको वरिपरि औँठी आकारको कुलेसोमा दिइन्छ । थपमल दिएपछि हल्का उकेरा दिनुपर्दछ ।

काउली समूहका बालीलाई धेरै पोषण तत्व चाहिन्छ । ५०–६० डोका गोबर मल प्रति रोपनीका दरले जमिन तयारी गर्ने बेलामा दिनुपर्दछ । रासायनिक मल १० के.जी. युरिया, ८ के.जी. डी.ए.पी. र ५ के.जी. पोटास प्रति रोपनी आवश्यक पर्दछ । यीमध्ये नाइट्रोजनको आधा मात्रा र फस्फोरस र पोटासका पूरै मात्रा जमिन तयारीको अन्तिम जोताई गर्दा माटोमा मिलाउनु पर्दछ । बाँकी नाइट्रोजनको आधा मात्रा बेर्ना सारेको ३ हप्तापछि पहिलो थप मलको रूपमा दिने र बाँकी आधा मात्रा फूलकोपी लाग्न शुरु गरेको अवस्थामा दिनुपर्दछ । माटोमा सुहाग (बोरण) तथा मोलिस्डेनम तत्वको कमी भएमा बोस्याक्स ७०० ग्राम र सोडियम मोलिब्डेट ७५ ग्राम प्रति रोपनीका दरले बेर्ना सार्नुभन्दा पहिला नै माटोमा मिलाउनु पर्दछ । बेमोसमी खेती गर्दा तोरीको पिना (२५ के.जी. प्रति रोपनीका दरका साथै वृद्धि वर्धक रसायनहरूको आवश्यकता अनुसार प्रयोग गर्नुपर्दछ ।

रोग व्यवस्थापन

पातलो माथिल्लो सतहमा पहेंला दागहरू देखा पर्दछन् र तल्लो सतहमा ढुसीका जीवहरू कपासजस्तै फैलिन्छन् । काउलीको खाने भागमा पनि खैरा दाग देखिन्छन् । यो ढुसीबाट लाग्ने रोग हो ।

नियन्त्रण

  • क्याप्टन वा थिरम २ ग्राम प्रतिके.जी. बीउका दरले उपचार गर्नुपर्दछ ।
  • डाइथेन एम ४५ ०.३ % को झोल वा रोडोमिल एम जेड–७२ को ०.२५ % को झोल १०–१५ दिनको अन्तरमा बालीमा छर्कनु पर्दछ ।

cauliflower    cauliflower

यो ढुसीबाट लाग्ने रोग हो । पहिलो पातको माथिल्लो सतहमा साना काला दाग देखा पर्दछन् । पछि साना दागहरू बढ्दै गएर पुरै पात र बोट डढेर कालो भएको जस्तो देखिन्छ ।

नियन्त्रण

  • ढुसी नाशक विषादीले बीउ उपचार गरेर रोप्नु पर्दछ ।
  • अन्य परिवारका बालीसँग घुम्तीबाली चक्र अपनाउनु पर्दछ ।
  • डाइथेन एम–४५ वा ब्लाइटक्स ०.२–०.३ % झोल बालीमा छर्कनु पर्दछ ।

cauliflower   cauliflower

यो माटोमा बस्ने ढुसीबाट लाग्ने गाँठे रोग हो । ढुसी जराभित्र पसेर गाँठो बनाउँदछ । रोगी जराले राम्रो काम गर्न सक्दैन । बोट कमजोर हुन्छ र बाली उत्पादन गर्न सक्दैन । यो रोग अम्लीय माटोमा लाग्दछ । रासायनिक विषादीबाट यसको उपचार गर्न कठिन र महँगो हुन्छ ।

नियन्त्रण

  • माटोको पी.एच. मान ७.० वा ७.३ हुने गरी चुना हाल्नु पर्दछ ।
  • यो रोग नलाग्ने बालीहरूसँगको लामो घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ ।
  • रोगनिरोधक जातको स्वस्थ बीउ रोप्नु पर्दछ ।
  • संजीवनी र चिनी ५, ५ ग्रामका दरले २० मिलिलिटर पानीमा मिसाई १० ग्राम बीउ मोल्ने र सुकेपछि रोप्नुपर्दछ ।
  • संजीवनी र चिनी १००, १०० ग्रामका दरले २० के.जी. पाकेको गोबर मलमा मिसाई १ के.जी. संजीवनी मल प्रति वर्गमिटर ब्याडका दरले माटोमा मिसाई ब्याडको उपचार गर्नुपर्दछ ।
  • माथि भने अनुसारको संजीवनी, चिनी र गोबर मलको मिश्रण बेर्ना रोप्ने खाडलको माटोमा मिसाई बेर्ना रोप्नुपर्दछ ।
  • संजीवनी र चिनी १००, १०० ग्राम २० लिटर पानीमा मिसाई झोल बनाएर ब्याडको बेर्ना र माटो भिज्ने गरी छर्कनु पर्दछ ।
  • माथि भने जस्तै संजीवनी, चिनी र पानीको झोलले बेर्ना रोपेको १५–२० दिनमा एकपटक र ३०–४० दिनमा अर्को पटक ३०–४० दिनमा प्रतिबोट झोल ५०–१०० मिलिलिटर पर्ने गरी बोटको वरिपरि फेदमा दिनुपर्दछ । यसरी उपचार गरे यो रोगको प्रकोप कम गर्न सकिन्छ ।
cauliflower

 

जमिनको सतह नजिकको काउली बोटको डाँठमा ढुसीले आक्रमण गर्दछ । पात ओइलाएर बोट मर्दछन् । आक्रमण गरेको डाँठको भाग कुहिन्छ । कुहेको ठाउँमा सेतो ढुसी साथै कालो गेडा देखिन्छ ।

नियन्त्रण

  • धानबालीसँग घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
  • बेभिस्टिन वा बेनलेट एक ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा छर्कनु पर्दछ ।
  • ५९ पी.पी.यम. अडरिओफङ्गीन ९ब्गचभयागलनष्ल० र ५० पी.पी.एम. स्ट्रेप्टोसाइक्लिन (Streptocycline) को झोलमा डुबाएर ३० मिनट बीउको उपचार गर्ने र सुकेपछि बीउ रोप्नु पर्दछ ।
  • बेर्नाहरू ०.२५ % बेनलेटको झोलमा ५–८ मिनेट उपचार गरेर रोप्नु पर्दछ ।

cauliflower   cauliflower

जमिनको सतहमाथि बेर्नाको फेदमा पानीले भिजेजस्तो दाग लाग्दछ, बेर्ना ओइलाउँदछ, ढल्दछ र मर्दछ । बीउबाट निस्केको टुसा माटोभित्रै कुहेर मर्न पनि सक्दछ । यो ढुसीबाट लाग्ने रोग हो । यसका जीवाणु बीउ, माटो वा दुवैबाट सर्न सक्दछन् ।

नियन्त्रण

  • अन्न बालीसँगको लामो घुम्ती बाली अपनाउने ।
  • फर्मालिनले ब्याडको उपचार गर्ने ।
  • थिरम र डाइथेन एम ४५ को ०.२ % झोल वा बेभिस्टिन ०.१ % झोलले ब्याडको उपचार गर्ने ।
  • ब्याडको चिस्यान बढी हुन नदिने ।
  • पातलो गरी बीउ छर्ने र बाक्लो भएमा पातलो पार्ने ।

यो रोग ब्याक्टोरियाबाट लाग्दछ । पातको किनाराबाट शुरु भएर अंग्रेजी अक्षरको ख् आकारमा पहेलिँदै र ओइलाउँदै पातको बीच भागतिर पुग्दछ । पातका नसाहरू काला हुन्छन् ।

नियन्त्रण

  • यो रोग नलाग्ने बालीसँग लामो घुम्ती बाली प्रणाली अपनाउनुपर्दछ ।
  • बीउलाई तातोपानीमा (५० डि.से.) ३० मिनेट उपचार गर्नुपर्दछ ।
  • रोग सहन सक्ने जात लगाउनु पर्दछ ।
  • ब्लाइटक्स (०.२ %) र स्ट्रेण्टोसाइक्लिन ९क्तचभउतयअथअष्लिभ० ०.२ % आलोपालो गरेर बालीमा छर्कनु पर्दछ ।
cauliflower

 

यो रोगले नर्सरी ब्याडमा कलिला बेर्नाहरू कुहिने र मर्ने हुन्छन्, यसको नियन्त्रणलाई १ ग्राम ब्रासिकोल वा बेभिस्टिन १ लिटर पानीमा (०.१५) झोल बनाई माटो भिजाउने वा ठूलो बोटमा भएमा प्रत्येक बोटमुनि राम्ररी भिज्ने गरी १०–१५ दिनको फरकमा छर्ने गर्नुपर्दछ ।

कीरा व्यवस्थापन

यो एक पुतली कीरा हो । यसले पहाड र तराई दुवै क्षेत्रमा क्षति पुर्याउँदछ । यो पुतलीमा पखेटाहरू पहेंलिएका सेता रंगका हुन्छन् । यसको लाभ्रेको शरीर नीलो हरियो रंगको हुन्छ । शरीरभरि काला थोप्ला र स–साना झुस र ढाडमा तीनवटा पहेंला धर्सा हुन्छन् । मसिना लाभ्रेहरूमा पातमा छाला खोस्रिएको लक्षण देखिन्छ । ठूला लाभ्रेहरूले पातहरूका मुख्य नसाहरू बाँकी राखेर अरू भाग खाइदिन्छन् । काउलीको फूलकोपीमा लाभ्रेले प्वाल पारी खाई विस्टाएको हुन्छ ।

रोकथाम

  • फेन्फेन २० इ.सी. ५ मि.लि. / १० लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।
  • साड्थायन ५० इ.सी. १० मि.लि. / १० लिटर पानीमा मिसाई छर्नुपर्दछ ।

यो एक सानो पुतली कीरा हो । यसका पखेटा कैला हुन्छन् । अघिल्ला पखेटामा तीनवटा त्रिकोणात्मक पहेंला दाग हुन्छन् । पुतलीले पखेटा जोडी बस्दा ढाडमा ३ वटा इँटा बुट्टे आकार हुन्छ । लाभ्रे फिका हरिया छँदा बढी चलमलाउने हुन्छन् । लाभ्रेले खाएर पातमा हरेक आकारका प्वालहरू पार्दछन् ।

नियन्त्रण

बन्दाको पुतलीलाई जस्तै विषादी छर्कनु पर्छ ।

यो सानो कीरा हरियो रंगको हुन्छ । यसले रस चुसेर बालीको नोक्सान गर्दछ । भाइरस रोग पनि रोगी बोटबाट सार्दछ ।

रोकथाम

  • शुरुमा एक भाग गाई–भैँसीको पिसाबमा १० भाग पानी मिसाई लाही देखिने बित्तिकै पूरै पात भिज्ने गरी ३–४ दिनको फरकमा ३ पटक छर्नु पर्दछ ।
  • मारगोस निम ३ मि.लि. प्रतिलिटरका दरले लाही देखिन थालेपछि ७ दिनको फरकमा ३ पटक छर्कनु पर्दछ।
  • ९ भाग पानीमा १ भाग जीवाड मिसाई २-२ दिनमा फरकमा ५-६ पटक छर्कंदा लाही नियन्त्रण हुन्छ ।

विकृति व्यवस्थापन

यो मोलिब्डेनम नामको सूक्ष्म खाद्यतत्वको कमीबाट हुन्छ । पातको किनारा भित्रपट्टि फर्कनु, पात बढ्न नसक्नु र पातको डाँठ मात्र हुनु यसका लक्षण हुन् । यो समस्या अम्लीय माटोमा देखापर्दछ । यसको नियन्त्रण निम्न तारिका बाट गरिन्छ ।

  • चुना हालेर माटोको पी.एच. मान ६.५ पुर्याउनु पर्दछ ।
  • जमिनको तयारी गर्ने अवस्थामा रासायनिक मलसँगै ५० ग्राम एमोनियम वा सोडिएम मोलिब्डेट प्रति रोपनीका दरले माटोमा मिलाउनुपर्दछ । वा
  • एमोनियम वा सोडियम मिलिब्डेट ०.१५ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कनु पर्दछ ।

फूलकोपी बढ्दै गरेको बेलामा उच्च तापक्रम भएमा वोटको बानस्पतिक वृद्धि हुँदै जाने र फूलकोपी बीच भागबाट साना हरिया पात बाहिर देखिने गर्दछन् । यस्ता फूलकोपी बजारमा बिक्री हुँदैनन् । यसको रोकथाम गर्न जात अनुसार उपयुक्त लगाउने समयमा रोप्नुपर्दछ ।

कुनै कारणबाट बोटको मुन्टाको क्षति भएमा बोटका पातहरू अग्ला र ठूला हुन्छन् । तर मुन्टो नभएका बोटमा फूलकोपी लाग्दैनन् । मुन्टो नभएका बेर्ना र पछि हुर्केका बोट समेत हटाउनु पर्दछ ।

अगौटे जात ढिलो लगाएमा, लामो समय ब्याडमा रहेका बुढा बेर्ना रोपेमा, माटोमा नाइट्रोजनयुक्त वा चिस्यान वा दुवै कम भएमा वा बोटको वृद्धि अवस्थामा सुख्खा र तातो मौसम भएमा बोट सानो छँदै गुच्चा जत्रो फूलकोपी लाग्दछ । यसको नियन्त्रण गर्न माथि उल्लेखित अवस्था आउन दिनु हुँदैन ।

माटोमा नाइट्रोजन मलको मात्रा बढी प्रयोग गर्नु । माटो बढी मलिलो हुनु । उच्च तापक्रम हुनु, बोट संख्या वा घनत्व कम हुनु र अनियमित रूपमा बोटको तीब्र गतिमा वृद्धि हुनाले बोटको डाँठ फुट्ने र भित्री भाग खोक्रो हुने हुन्छ । यसको रोकथाम गर्न नाइट्रोजन मल उपयुक्त मात्रामा दिने र बोटहरू नजिक नजिक लगाउनु पर्दछ ।

बन्दाको पहिलो पातको टुप्पा र किनार भाग हल्का खैरो रंगका हुन्छन् पछि काला रंगका हुन्छन् । यसको मुख्य कारण उच्च तापक्रम, उच्च मात्रामा नाइट्रोजन मलको प्रयोग र बोटको उच्च वृद्धिदरको अवस्थामा बोटमा क्याल्सियमको मात्रा कमी हुनु हो, यसको रोकथाम गर्न यस्तो अवस्था आउन नदिने र यो विकृति नलाग्ने जात लगाउनु पर्दछ र क्याल्सियम मल हाल्नुपर्दछ।

बन्दाको बोटको डाँठसँग जोडिएको भित्री पातको मुख्य नसा वा डाँठ कालो हुन्छ । यसो हुनाको कारण बन्दाको वृद्धि र विकासको अवस्थामा अनुपयुक्त वातावरण हुनु नै हो ।

फूलकोपीको बाहिरी सतहमा झुस निस्कनेलाई झुसिले (Riceyness) भनिन्छ तापक्रम घटबढ हुनु, व्यपमल दिँदा नाइट्रोजन बढि दिनु वा जातको कारणबाट पनि फूलकोपी झुसिलो हुन सक्दछ । यसको रोकथामका लागि जात अनुसारको खेती प्रविधि अपनाउनुपर्दछ ।

यो बोरन (Boron) भन्ने सूक्ष्म खाद्य तत्वको कमीबाट हुन्छ । शुरुमा फूलकोपीको सतहमा पानीले भिजे जस्तो दाग देखिन्छ । पछि खैरो रंगको हुन्छ । यस्ता बोटको डांठ खैरा रंगको खोक्रो हुन्छ । खैरा फूलकोपी बजारमा बिक्री हुँदैनन् । यसको नियन्त्रण गर्न ०.२५–०.५% बोरयाक्सको झोल बालीमा छर्कनु पर्दछ । जमिनको तयारी गर्ने अवस्थामा ५००– ७०० ग्राम बोरयाक्स वा सोडियम बोरेट प्रति रोपनी बोरन कमी भएको माटोमा मिलाउनुपर्दछ ।

बाली कटानी तथा भण्डारण

जात अनुसार बेर्ना सारेको ४५–७५ दिनमा अगौटे, ९०–१०० दिनमा मध्यम मौसमी र ११०–१३० दिनमा ढिलो जातको काउली बाली लिने समय हुन्छ । एउटै जातका सँगै लगाएका काउली पनि एकै समय सबै टिप्न लायक हुँदैनन् । पूरा बढेका र कसिला फूलकोपीको ठीक तल्लो भागमा लाग्ने चक्कुले काटेर बाली लिनुपर्दछ । काउली टिप्न बिहान शीत ओभाएर बोट ठण्डा धेरै वा साँझपख ठण्डा भएपछि उपयुक्त हुन्छ । टिपेका काउली घाममा राख्नु हुँदैन ।

अगौटे जातको काउलीको उत्पादकत्व ६०० देखि ७५० के.जी. प्रति रोपनी हुन्छ । मध्यम र ढिलो जातको काउली १ टन प्रति रोपनी हुन्छ । स्नोवल समूहका जातका बोट होचा र साना हुनाले धेरै बोट अट्ने र काउली पनि बढी खँदिलो हुने हुँदा उत्पादकत्व १.५ मे. टन प्रति रोपनीसम्म हुन्छ ।

उत्पदानोपरान्त गरिने क्रियाकलापहरु

काउली टिपेपछि पातै सहित ट्रकमा एकैतर्फ फर्काएर चिनेर राखी विभिन्न ठाउँबाट काठमाडौं ढुवानी गर्ने चलन छ । यसरी ढुवानी गर्दा काउली सुरक्षित भएको पाइएको छ । टाढा ढुवानी गर्दा पातहरू हटाएर प्लास्टिक क्रेट काठको बाकस, कागजी कार्टुनमा नहल्लने गरी राख्नुपर्छ । नजिकको स्थानीय बजारमा लैजाँदा ३–४ वटा कलिला पातसँगै जुटको बोरा, डोको वा टोकरीमा राखी ढुवानी गर्नुपर्छ । टाढाको बजारमा लैजादा आकार, आकृति, रंग र कसिलोपनका आधारमा श्रेणीकरण गरेर प्याक गरी बजार लानुपर्छ । उपभोक्ताहरूले मझौला आकारमा १५–२५ से.मि. व्यास (५०० ग्राम देखि १५०० ग्राम) भएका काउली मन पराउँदछन् ।

काउलीलाई साधारण कोठाको अवस्थामा २–३ दिन राख्न सकिन्छ । शीत भण्डारको ० डि.से. तापक्रम र ८५–९०% सापेक्षिक आद्र्रताको अवस्थामा एक महिनासम्म राख्न सकिन्छ ।

सन्दर्भ सामग्री

तरकारी खेती प्रविधि पुस्तक 
(परिमार्जित संस्करण २०८१)

तरकारीबाली विकास केन्द्र, खुमलटार