हावापानी
धेरै किसिमको हावापानीका स्थानहरूमा काउलीको खेती गर्न सकिन्छ । शीतल र ओसिलो मौसममा काउलीले उच्च गुणस्तरका फूलकोपी उत्पादन गर्दछ । काउलीका पातले तुषारो सहन सक्दछन् । तर कोपीले भने तुषारो सहन सक्दैन । काउलीले बन्दाको जस्तो धेरै उच्च र धेरै न्यून तापक्रम सहन सक्दैन । काउली बालीलाई १५–२० डि.से. तापक्रम उपयुक्त हुन्छ । सूर्यको किरणले फूलकोपीको रंगलाई पहेंलो बनाउँदछ । बढी ठण्डी तापक्रमले फूलकोपीमा वैजनी रंगको विकास गर्दछ । काउली बालीको उत्पादनमा तापक्रमले ठूलो असर पार्दछ । वानस्पतिक विकासको अवस्थाबाट फूलकोपी लाग्ने र विकास गर्ने अवस्थामा पुग्न उपलब्ध तापक्रमले असर पार्दछ । फूलकोपी लाग्न आवश्यक पर्ने तापक्रम र बाली अवधिका आधारमा काउलीका जातहरू लाई निम्न ५ समूहमा विभाजन गरिएको छ ।
(क) असोजमा (२०–३० डि.से.) बाली तयार हुने
(ख) कात्तिकमा (२०–२५ डि.से.) बाली तयार हुने
(ग) मंसिरमा (१५–२० डि.से.) बाली तयार हुने
(घ) पुस (१२–१५ डि.से.) बाली तयार हुने
(ङ) वनस्पती विकासको अवस्थामा १०–१५ डि.से. तापक्रममा हुर्केका आधारमा माघ–फागुनमा फूलकोपी उत्पादन गर्न सक्ने शीतोष्ण क्षेत्रका जातहरू ।
नेपाली काउलीहरूले (काठमाडौं स्थानीय, ज्यापू आदि) मंसिर–पुसमा बाली दिन्छन् । उष्ण क्षेत्रका भारतीय काउलीहरूले असोज, कात्तिक, मंसिर र पुसमा बाली दिन्छन् । शीतोष्ण क्षेत्रका युरोपेली काउलीहरूले (स्नोबल समूह) पछौटे बाली (माघ–फागुन) दिन्छन् । यसरी काउलीका जातहरूको बाली दिने समय तापक्रममा भर पर्दछ । यसरी जात अनुसार ठण्डापन कम र बढी हुन्छ तथा जात अनुसार खेती गर्ने समय पनि फरक–फरक हुन्छ । अगौटे जातलाई जाडो याममा रोप्दा बोट बढ्न नपाई गुच्चा जत्रो मात्र फूल लाग्नेछ तथा मध्य मौसमी जातलाई गर्मी याममा लगाउनाले पातै पात मात्र लागि ठण्डा तापक्रम पाएपछि कोपी लाग्ने गर्दछ । पछौंटे जात किबोजाइन्ट भने जाडो याममा बोटको विकास भै केही गर्मी लागेपछि कोपी लाग्ने गर्दछ ।
