परिचय
काउलीको खाने सेतो फूलको थुँगा जस्तो हुनाले फूलकोपी पनि भनिन्छ । काउली बोटको अग्रस्थानबाट झुप्पामा हाँगाहरू निस्कने र ती हागाँहरू धेरै पटक विभाजन भएर निस्केका ससाना हागाँहरूको वानस्पतिक कोपिला नै सेतो फूलकोपी हो। यसरी हामीले खाने फूलकोपी बोटको डाँठको टुप्पो भागबाट निस्केका प्रशस्त सहायक डाँठहरू र तिनबाट पलाएका अनेकौँ साना डाँठहरू र सेता रंगका मसिना दानादार फूलजस्तोले बनेको हुन्छ । काउलीको फूल दुई अवस्थाको हुन्छ । पहिलो फूललाई खानमा प्रयोग गरिन्छ भने दोस्रो फूलबाट बीउ बन्दछ । खाने कोपी वास्तवमा फूल नभई एक किसिमको फूल आउनलाई तयार भएको कोपिलाको शीर्षस्थ भाग हो । बोटबाट पहिला खाने फूल लाग्दछ र सोही खाने फूलबाट डुकु निस्की त्यहाँ कोपिला लागि बीउ लाग्ने फूल फूल्दछ । काउलीको फूल तोरीको जस्तै पहेंलो हुन्छ । फूलकोपी तरकारी सुप, अचार र परौठा पकाउनमा प्रयोग गरिन्छ । यो धेरै उपभोक्ताले रुचाउने स्वादिलो तरकारी हो । काउलीमा ग्लुकोसिनोलेट नामक पदार्थ पाइन्छ जसमा क्यान्सरको प्रतिरोध गर्ने गुण हुन्छ ।
नेपालमा यी बालीहरूको खेती तराई, भित्री तराई, तल्लो पहाड, खोंच, बेसी, मध्य पहाड, उच्च पहाड र हिमाली क्षेत्रमा समेत गरिन्छ । मौसमी र बेमौसमी खेती विस्तार गरेर रोजगारी सिर्जना गर्न, खाद्य सुरक्षा बढाउन र समग्र गरिबी हटाउन सहयोग पुग्नेछ । पहाडको १३०० देखि २५०० मिटरको उचाइ भएका स्थानहरू काउली खेतीको लागि उपयुक्त मानिन्छ । काउली चिसो खप्ने हिउँदे बाली भए पनि आजकल गर्मी खप्न सक्ने जातहरूको विकास भएकोले वर्षा र गर्मी मौसममा पनि यसको खेती सफलताका साथ गर्न सकिन्छ।

