तरबुजाको उत्पत्ति अफ्रिकी महादेशबाट भएको मानिएको छ । तरबुजा ताजा फलको लागि खेती गरिन्छ । तरबुजा लहरा जाने फल हो ।तरबुजा गर्मी मौसममा खेती गरिने लहरे बाली हो । यसको खेती गुलिया, रसिला पाकेका फलको लागि गरिन्छ । यो ताजा अवस्थामा खाने फल हो । पाकेका तरबुजाको गुदी रातो वा हल्का पहेंलो रंगको हुन्छ । गर्मी मौसममा पाकेको तरबुजाको प्रयोगले शरीरलाई शीतल पार्दछ । यसको औषधीय महत्व छ । यसले पेटमा कब्जियत हुन दिँदैन र अल्सर, जन्डिसजस्ता रोगलाई निको पार्दछ । तरबुजाको उद्गमस्थल अफ्रिकाको उष्ण क्षेत्र हो । नेपालका खोंच, बेसी, तराई, भित्री तराई र नदीहरूका बगरमा तरबुजाको खेती गरिन्छ । बजारको मागले गर्दा यसको उत्पादन र आर्थिक महत्व बढ्दै गएको छ । तरबुजामा ३ देखि १३ प्रतिशतसम्म गुलियो वस्तु भिटामिन ए.बी.सी. र क्याल्सियम पाइन्छ । यसमा झण्डै ८५ देखि ९० प्रतिशत पानी हुन्छ । तरबुजा पाकेपछि यसको खाने गुदी रातो या क्रिम रङ्गको हुन्छ ।
तरबुजा खेति प्रविधि
परिचय
जातहरु
तरबुजा फर्सी समूहका अन्य बाली जस्तै लहरे बाली हो । तरबुजामा पनि भाले फूल र पोथी फुल अलग–अलग स्थानमा हुन्छ र सेचनको आवश्यकता पर्दछ । तरबुजाको जात छान्दा कुन उद्देश्यको लागि लगाउने हो । सोही अनुरुप जात छनौट गर्नु पर्दछ । घरको लागि र स्थानीय बजारको लागि लगाइने हो भने सबभन्दा राम्रो गुण स्तरको छान्नुपर्छ । यदि टाढाको बजारका लागि लगाउने हो भने नफुट्ने र बलियो बोक्रा भएको र उच्च गुणस्तरको जात छान्नु पर्दछ ।
नेपालमा प्रचलित जात सुगर बेबी हो | यसको फल गोलो र ३–५ के.जी. तौलसम्मको हुन्छ । यसको गुदी एकनासको गाढा रातो रंगको हुन्छ । यसको रसमा कुल घुलित पदार्थ ११–१३ प्रतिशत हुन्छ र बिउ साना खैरा रंगका हुन्छन् । अरू खेती गरिने जातहरूमा असाही यामतो, असाही मियाको, गोल्ड बानी र ग्लोरी प्रमुख हुन् । राष्ट्रिय बीउ बिजन समितिले २०६६ सालमा वर्णशंकर जातहरू लक्ष्मी ७४७ र लक्ष्मी ७६७ तराई क्षेत्रमा खेती गर्नको लागि पञ्जिकृत गरेको छ ।

आवश्यकता
तरबुजाको खेती सुख्खा गर्मी मौसममा गरिन्छ । फल लाग्नको लागि २५–३० डि.से. तापक्रम उपयुक्त हुन्छ । यसले तुषारो सहन सक्दैन । फल पाक्ने बेलामा प्रशस्त घाम लाग्ने र उच्च तापक्रम भएमा फलको गुणस्तर निकै राम्रो हुन्छ । नदीका किनारको बलौटे माटोमा यसको खेती राम्रो हुन्छ । यो माटोको बाहिरी सतह ओभानो हुने र भित्री भागमा चिस्यान रहने हुन्छ । पानीको निकासी राम्रो भएको, धेरै मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटोमा तरबुजाले राम्रो उत्पादन दिन्छ । बलौटे दोमट माटो वसन्त याममा छिटो तात्ने र तरबुजाका जरा गहिरोसम्म जान सहज हुने भएकोले यो माटो उत्तम मानिन्छ । चिम्टाइलो माटोमा तरबुजा ढिलो बढ्दछ र फल साना र कम गुणस्तरका हुन्छन् । माटोको पी.एच. मान ५.५–७.० राम्रो हुन्छ ।
जग्गा तयारी
तरबुजाको खेती गर्न २–३ पटक गहिरोसँग जोतेर माटोको राम्रो तयारी गर्नुपर्दछ । ड्याङ २५० से.मि. चौडा बनाउनु पर्दछ । दुई ड्याङको बीचमा ३० से.मि. फराकिलो कुलेसो राख्नुपर्दछ । एक ड्याङमा दुई हारमा बेर्ना सार्ने वा बिउ रोप्नुपर्दछ । हार-हारको बिचमा २०० से.मि. बोट–बोटको बिचमा १०० से.मि. फरक पर्ने गरी ३०×३०×३० से.मि. का खाडल खन्नुपर्दछ । गोबर मल र रासायनिक मल माटोसँग मिलाएर खाडल पुरी र पानी लगाइदिनुपर्दछ ।
गोबर मल, रासायनिक मल र माटोको मिश्रणले भरेका खाडलको ठाउँमा ३ दाना बीउ वा एउटा बेर्ना रोप्नुपर्दछ । एक रोपनी जमिनको लागि १०० ग्राम बीउ चाहिन्छ । बीउ ३० से.मि. गहिराइमा रोप्नुपर्दछ । बीउ उम्रेपछि एउटा स्वस्थ बेर्ना राखेर अरू हटाउनुपर्दछ । एक बोटमा ४ वटा लहरा मात्र राख्ने र अलग–अलग दिशामा लहरा लगाउनु पर्दछ ।
बाली व्यवस्थापन तथा हेरचाह
एक रोपनी जमिनको लागि ३५–४० डोका गोबर मल, ४ के.जी. नाइट्रोजन, ३ के.जी. फस्फोरस र ३ के.जी. पोटासियमको तथा २ के.जी. बायोजाम, १ के.जी. सूक्ष्म तत्व आदिको आवश्यकता पर्दछ । गोबर मल, फस्फोरस र पोटासियमको पूरै मात्रा र आधा भाग नाइट्रोजन सवै खाडलमा वरावर मात्रामा पर्ने गरी माटोमा मिसाएर राखिन्छ । बाँकी आधा भाग नाइट्रोजनलाई दुई खण्ड गरेर दुई पटक थप मलका रूपमा दिइन्छ ।
हिउँदमा सिंचाइ र वर्षा याममा बढी भएको पानीको निकास दुई ड्याङ बिचमा बनाएको कुलेसोबाट गरिन्छ । गर्मी मौसममा ३–५ दिनको अन्तरमा र जाडो मौसममा १०–१५ दिनको अन्तरमा सिंचाइ गर्नुपर्दछ । सुख्खा याममा थोपा सिंचाइको उपयोग प्रभावकारी हुन्छ । फल लागेपछि १०–१५ दिनको फरकमा र फल पाक्ने हुदा सो बेला सिंचाई बन्द गर्नुपर्छ । तरबुजा खेतीमा झार देखिनासाथ हटाउनुपर्छ र हल्का गोडाइ गर्नुपर्छ ।
बेर्ना सारिसकेपछि सुकेको घाँस, पराल, रुखका पात आदिले छाप्रो दिनुपर्दछ । सुख्खा र गर्मी समयमा छापोको महत्व बढी हुन्छ । यस्तो समयमा छापो दिएमा थाँक्रा नदिन पनि सकिन्छ । तरबुजाको लहरा आउन थालेपछि खर वा परालले करिब ५–८ से.मि. बाक्लो गरी छोपी मल्चीङ दिनुपर्छ वा प्लाष्टिक मल्चिङ दिनु पर्दछ । यसले माटोको चिस्यान बचाउँछ । फलमा रोगकिरा कम लाग्दछ र झार उम्रनबाट बचाउँछ । एक–दुई फिट लहरा भएपछि १ बोटमा ४ वटा लहरा मात्र बाँकी राखी अरु काटिदिनुपर्छ र ४ वटा लहरालाई चारैतिर फैलाईदिनुपर्छ । शुरु शुरुमा फलेका फलहरू साना र कमसल खालका हुने भएकोले टिपेर हटाइदिनुपर्छ र रोगी वा सडेगलेका फल देख्नासाथ हटाइदिनुपर्छ ।
रोग व्यवस्थापन
रोगको जीवाणु: Erysiphe cichoracearum
यो ढुसीबाट लाग्ने रोग हो । सुरुमा पातहरुको माथिल्लो सतहमा स-साना सेतो गोलाकार धब्बा वा थोप्ला पीनको टुप्पो जस्तै देखिन्छ । यो लक्षण बढ्दै जाँदा पातको तल्लो सतहमा छिप्पिदै गएपछि पातको डाँठ र काण्डमा पनि सर्दछ र अन्तिममा फलमा पनि सेतो धुलो लाग्दछ । जसले गर्दा फल र बिरुवाको वृद्धि हुन पनि रोकिन्छ ।
व्वयस्थापन
- उपचार गरेको बीउको प्रयोग गर्नुपर्दछ ।
- खेतबारीको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।
- रोग ग्रस्त भएका तल्लो पातहरु काँटछाँट गरी जम्मा गरेर जलाउनु पर्दछ ।
- क्याराथेन २.० मि.लि. प्रति लिटर पानीमा मिसाइ १५ दिनको फरकमा स्प्रेय गर्ने ।
- गाईभैंसिको पिसाबलाई घाममा १५-२० दिन सम्म राख्ने । पछि यस पिसावलाई ५ भाग पानी मिसाई प्रत्येक हप्तामा स्प्रेय गर्नुपर्दछ ।
यो रोग लाग्दा नयाँ पातका मुख्य नशाहरुको वरिपरि हरियो र पहेंलो मिसिएका धब्बाहरु देखिन्छन् । यस्तो प्रकारका लक्षणहरु धेरैजसो नसाको वरिपरि प्रष्ट देखा पर्दछ । अनिश्चित आकारका छिरबिरे चिन्हहरु पुराना पातहरुको किनाराका नशाहरुबाट शुरु भै मुख्य नशासम्म देखिन्छन् । पातहरु घुम्रेका र तलमाथि उठेका हुन्छन् । बिरुवाको वृद्धि विकास रोकिन्छ र होचो हुन्छ । पात साना हुने, डाँठ, भेट्ना छोटा हुने हुन्छ । रोगी बोटमा फल नलाग्ने र लागेपनि विकृति देखापर्ने हुन्छ । यस रोगको सम्बन्धमा रोग लागेपछि उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिन सावधानी अपनाउनु बढी बुद्धिमतापूर्ण हुन जान्छ ।
व्यवस्थापन
- किराबाट जोगाउन जाली वा झुल भित्र बेर्ना राख्नु पर्दछ ।
- बायोलिफ केयर १ मि.लि. प्रतिलिटर पानीमा मिसाएर बेर्ना सारेको १० दिन पछि १५ दिनको फरकमा ३–४ पटक छर्नाले रोग बढ्न सक्दैन ।
- रोग फैलाउने बाहेक लाही र झिंगा जस्ता रोग सार्ने किराको नियन्त्रण गर्न क्लोरपाइरिफस २ मि.लि. लिटर प्रति लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २-३ पटक छर्ने ।
- रोगी बोट उखेलेर माटोमा गाड्ने वा जलाइदिने ।
- रोग प्रतिरोधात्मक जातहरु लगाउनु पर्दछ |
रोगको जीवाणु : Pseudoperonospora sp
यो एक ढुसीबाट लाग्ने रोग हो । यो रोग धेरै बर्षा हुने र आद्रता बढि हुने समयमा लाग्ने रोग हो । सुरुमा पातको माथिल्लो भागमा पहेंला थोप्लाहरु देखा पर्दछन् । यी थोप्लाहरु बिस्तारित हुँदै पातको नसाहरुमा कोणाकारको रुपमा देखिन्छन् र पातको तल्लो भागमा बैजनी रंगको कपास जस्तो ढुसी पलाउँछ । बिस्तारै सुक्दै पुरै पातहरु सुकेर जान्छन् । यो रोग साधारणतया बिचमा पातहरुमा देखिन्छन् र फैलिंदै जाँदा यसले फलमा समेत आक्रमण गर्दछ । यस्तो रोगी बोटमा फल्ने फल सानो, बाङ्गाटिङ्गा, डल्लो हुने गर्दछन् ।
व्यवस्थापन
- यसका जिवाणु माटोमा तथा बिउमा रहने र हावाबाट पनि सर्ने हुँदा घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
- फाटफुट रोगको लक्षण देखिने बित्तिकै रोगी पात काट्ने र माटोमा गाड्ने अथवा जलाई दिने गर्नुपर्दछ ।
- खेतबारीको सरसफाईमा ध्यान दिनुपर्दछ र फर्सी जातका अन्य बिरुवा हटाउनु पर्दछ ।
- रोगको आक्रमण देखिएमा रेडोमिल वा तामायुक्त विषादी २-३ ग्राम प्रतिलिटर पानीमा मिसाई हरेक ८-१० दिनको अन्तरमा ३-४ पटक छर्नु पर्दछ ।
रोगले आक्रमण भएका बिरुवा होचा हुने र पात कच्याककुचुक हुने गर्दछ । जराको मुख्य भागमा स-साना गिर्खाहरु बनेका हुन्छन् । ज्यादै ग्रसित भएमा विस्तारै ओइलाउन थाल्दछ । यी जुकाहरु माटोमा लामो समयसमम्म बाँच्न सक्दछन् ।
व्यवस्थापन
- बेर्ना रोप्ने खाडलमा होचो सयपत्रीको बिउ तर्बुजा रोप्नुभन्दा ४५-५० दिन पहिले रोप्ने र फूल अलिअलि फूल्न थालेपछि त्यही खाडलमा पल्टाइदिने ।
- बेर्ना रोपेपछि त्यसको वरिपरि कालो तोरी छरी फूल्ने बेलामा बोट वरिपरि पल्टाइदिने ।
- बेर्ना रोप्ने खाडलमा निमको पिना, चिउरीको पिना वा तोरीको पिना १०० ग्राम प्रतिखाडलमा राम्ररी मिसाएर मात्र विरुवा रोप्नुपर्दछ ।
कीरा व्यवस्थापन
यो एक जोडा पखेटा भएको रङ्गिन झिँगा हो । पोथी झिँगाले कलिला फल तथा फूलसहितका बतिलामा घोचेर फुल पार्दछ । फुलबाट ३–५ दिनमा औंसा निस्कन्छन् र फलको भित्री भागमा खान थाल्छन् । औंसाले खान थालेपछि फल पहेंलिने, कुहिने र झर्ने हुन्छ ।
व्यवस्थापन
- कुहिन लागेका फल र फूल जम्मा गरी माटो भित्र गहिरो गरी गाड्नुपर्दछ |
- क्युलियर ४ थोपा र मालाथियन ५–७ थोपा राखी बनाएको फेरेमोन पासो प्रति रोपनी २–४ वटाका दरले ५ फिट उचाइमा झुन्डाउँदा भाले किराको नियन्त्रण हुन्छ |
- एक लिटर पानीमा १० ग्राम चिनी र एक मि.लि. मालाथियन झोल मिसाएर बालीमा छर्कनु पर्दछ । झिँगाले विषादीयुक्त झोल चाटेर मर्दछन् |
- बनस्पतिक बिषादी (झोल मल) को प्रयोग झोल मल एक भागमा ७ भाग पानी मिसाउने र बोट फुल्न थालेपछि २–३ दिनको फरकमा छर्कनु पर्दछ । यो झोल मलले झिँगालाई भगाउने गर्दछ |
यी किराले नराम्रो गन्ध छोड्छ । यसका माउ र बच्चा दुवैले पात र डाँठबाट रस चुस्दछन् ।
व्यवस्थापन
- झोल मल, गाईभैंसीको पिसाब वा मार्गोसम नियमित छर्कनु पर्दछ |
- आक्रमण नघटेमा मालाथियन एक मि.लि. प्रतिलिटर पानीमा मिसाई ७–७ दिनको फरकमा ३–४ पटक छर्कनु पर्दछ |
खपटेका पखेटामा १२ अथवा २८ वटा थोप्लाहरू हुन्छन् । लाभ्रेको शरीरलाई काँडादार झुसले ढाकेको हुन्छ । लाभ्रे र वयस्क दुवैले पातको हरियो कोतरेर खान्छ।
व्यवस्थापन
- झोल मल, गहुँत र निमजन्य विषादीको प्रयोग गर्नुपर्दछ ।
- मालाथियन ५० इ.सी. (एक एम. एल., २ ग्राम वा एक एम.एल./लिटर पानीमा छर्कनु पर्दछ ।
कालो–हरियो, कालो वा हरियो शरीर भएको लाही हो । फर्सी समूहका बालीका लागि यो हानिकारक लाही हो ।
व्यवस्थापन
- गाईभैंसीको पिसाब एक भागमा १० भाग पानी मिसाएर ३–४ दिनको फरकमा २–३ पटक छर्कनु पर्दछ ।
- मारगोसम नामक निमको झोल ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर ५ दिनको फरकमा २ पटक छर्कनु पर्दछ ।
- रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाई ५ दिनको फरकमा २ पटक छर्कनु पर्दछ |
बाली कटानी तथा भण्डारण
तरबुजा खेती नेपालको तराई, भित्री तराई र खोंच क्षेत्रमा केन्द्रित छ । प्लास्टिक गुमोजभित्र प्लास्टिक थैलामा बिउ रोप्ने, बेर्ना हुर्काउने र बेर्ना सार्ने काम मंसिर देखि माघसम्म गरिन्छ । माघसम्ममा सारेको बालीबाट वैशाख देखि असार महिनाभर बाली लिन सकिन्छ ।
जात अनुसार ७०–९० दिनमा पहिलो फल टिप्न सकिन्छ । तरबुजाको फल बोटमा पूरा पाकेपछि टिप्नुपर्दछ । नपाकेको फल टिपेर राखेर पाक्दैन । पूरा पाक्ने समय अन्दाज गर्ने केही सूचकहरू छन्, ती यहाँ उल्लेख गरिएको छ । फूल लागेको करिब ३०–४० दिनमा फल पूरा पाकेको हुन्छ । जात र मौसम अनुसार बीउ रोपेको ६५–१०० दिनमा फल टिप्ने बेला हुन्छ । फल लागेको आँख्लामा भएको त्यान्द्रा सुकेपछि फल पाकेको हुन्छ । भूइँमा छोइएको फलको भाग पहेंलो रंगको भएपछि फल पुरा पाकेको भन्ने बुझिन्छ । फल पाकेपछि फलको बाहिरी सतहमा नङ गाड्न सकिन्छ । फल पाकिसकेपछि फलको बाहिरी सतह छुँदा खस्रो लाग्दछ । फलको केन्द्र भागको गुदीमा १० % कुल घुलनशील पदार्थ हुन्छ । औंलाले फलमा हान्दा काँचो फलबाट तीखो आवाज र पाकेको फलबाट बोधो आवाज आउँछ । यी तरिकाहरूबाट जाँच गरेर फल पाकेको भन्ने पक्का भएपछि लाग्ने चक्कुले फलको भेट्नु काटेर फल टिप्नुपर्दछ ।
उत्पदानोपरान्त गरिने क्रियाकलापहरु
टिपेका फल छहारीमुनि राखेर वर्गीकरण गर्नुपर्छ । कुल घुलनशील पदार्थका आधारमा ८ % भन्दा कम नभएका फललाई गुलिया र १० % भन्दा माथि भएकालाई धेरै गुलिया समूहमा राख्न सकिन्छ । तौल र आकारका आधारमा पनि वर्गीकरण गरिन्छ । यसका फललाई पोका पार्न कार्टुन र बिनहरूको प्रयोग गरिन्छ । लम्बाइ ६५ से.मि., चौडाइ ५० से.मि. र २५ से.मि. उचाइ भएका कार्टुनमा ३–५ फल राख्न सकिन्छ । लम्बाइ १२० से.मि., चौडाइ १०० से.मि र उचाइ ९० से.मि. भएका फाइवर बोर्ड बिनमा ५० वटा फल राख्न सकिन्छ । सोझै ट्रकमा फलहरू राखेर ढुवानी गर्नको लागि पराल ओछ्याउनुपर्दछ । तापक्रम ३२ डि.से. भन्दा बढी भएमा फलको भित्री भाग बिग्रन थाल्दछ । तरबुजा ढुवानी गर्दा वायुको तापक्रम १३–२१ डि.से. र हावा खेल्ने हुनुपर्दछ ।
अन्य जानकारी
खाडलमा लगाउने विधि (Pit method)
- बेर्ना सार्नु भन्दा १ हप्ता पहिला खाडलमा माटो र कम्पोष्ट मल मिसाइ पुर्ने
- खाडलमा सिंचाई गर्ने
- बेर्नाको जरामा रहेको माटो नझारी रोप्ने
- बिरुवा रोपे पछि सिंचाई गरिहाल्ने
बगर खेती गर्दा के के कुरामा ध्यान दिनु पर्छ ?
- हावाहुरीबाट आउने धुलो बालुवाका कणहरुबाट बालीलाई जोगाउन, उपजको गुणस्तर बढाउन, जमिनमा चिस्यान कायम राख्न जमिनको सतहमा सुख्खा घाँस पराल, सोत्तर वा पात पतिंगरको छापो दिनु पर्छ ।
- राम्रो उत्पादन पाउनको लागि घाँस उम्रिसकेको बगरमा भन्दा भर्खरमात्र त्यसै बर्षको बाढीले पुरेको बालुवा/बगरमा खेती गर्नु पर्दछ ।
- कम उब्जाउ बगरहरुमा बिरुवा बाक्लो रोप्नु उपयुक्त हुन्छ ।
- खस्रो बालुवा भएको स्थानमा प्रति खाडल १–२ के.जी. चिम्टाइलो माटो मिसाई बाली लगाउँदा उत्पादन राम्रो हुन्छ ।
- पानीको सतह हेरी आवश्यकता अनुसार बालुवा उठाएर सतह मै अथवा खाडल बनाई बिउ रोप्दा बाली राम्रो हुन्छ ।
- बगरमा खाद्यतत्वहरु चाँडै नै सकिने हुँदा तर्बुजामा लामो समयसम्म उत्पादन लिन डि.ए.पी.,युरिया र पोटास मलले उकेरा दिनु पर्दछ ।
- हावाहुरीबाट नोक्सान कम गर्न र यसले ल्याउने धूलो, बगरका कणहरुलाई तरकारीको झाङ्मा नपरोस साथै अतिरिक्त आम्दानी समेत लिनको लागि गहुँ बालीलाई हारमा लगाउँदा राम्रो हुन्छ ।
