परिचय

भान्टा न्यानो तथा गर्मी मौसममा महत्वपूर्ण तरकारी बाली हो । यसका कलिला फलहरू बजारमा वर्षभरि नै पाइन्छन् । कलिला भान्टाका चाना तारेर वा आलु र गोलभेंडासँग मिसाएर तरकारी पकाएर खाने गरिन्छ । यो पोषिलो तरकारी हो । यसको सेवनले रगतमा हुने कोलेस्ट्रोलको मात्रा घटाउने तथा दाँत दुख्ने, कलेजो र मधुमेहका रोगीलाई औषधिको काम गर्दछ ।

भान्टाको उद्गमस्थल चीन, नेपाल र भारतका उष्ण र उप–उष्ण क्षेत्रहरू हुन् । प्राचीन समय देखि यसको खेती गरिँदै आएको छ । नेपालका सबै जिल्लाहरूमा भान्टाको खेती गरिन्छ । व्यावसायिक रूपमा खेती गरिने पकेट क्षेत्रहरू सर्लाही, महोत्तरी, पर्सा, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, बाँके, बर्दिया, दैलेख र कैलाली जिल्लामा छन् । नेपालका खोँच, बेसी, तराई र भित्री तराईमा ग्रीष्म–वर्षायाममा लिने भान्टा लाभदायक हुन्छन् ।

brinjal

 

जातहरु

ग्रीष्म–वर्षायाममा उत्पादन गरेको भान्टाले बजारमा राम्रो मूल्य पाउँदछ । यो समयमा खेती गर्दा भान्टाको गवारो बढी लाग्ने भएकोले गवारोबाट क्षति कम हुने जातको खोजी गर्नुपर्दछ । यसका साथै उपभोक्ताले मन पराउने जात पनि हुनुपर्यो । उपभोक्ताले मन पराएर मात्रै पुग्दैन खेती गर्ने त्यो जात लगाउन इच्छुक पनि हुनुपर्दछ । कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनले राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको आर्थिक सहयोगमा वि.सं. २००३ देखि २००६ सम्म बाँके जिल्लाको खजुरामा ग्रीष्म वर्षा याममा भान्टाको जातीय परीक्षण गरिएको थियो । उक्त परीक्षणमा समावेश गरिएका जातहरू मध्ये देवझुरी (खुला सेचित जात) र हाइब्रिड श्याम (वर्णशंकर जात) ले राम्रो उत्पादन दिए र यिनीहरूलाई गवारोले कम क्षति गर्यो । आकर्षक रंगका साना फल भएकाले उपभोक्ताले पनि मन पराएका थिए ।

नतिजाका आधारमा देवखुरी हाइब्रिड श्याम जातको खेती गर्न कृषकहरूलाई सल्लाह दिइएको थियो । त्यसैले ग्रीष्म–वर्षायाममा भान्टा उत्पादनको लागि साना आकर्षक फल झुप्पामा फल्ने र गवारो कम लाग्ने रोजेर लगाउनु पर्दछ । वर्षा र जाडो याममा भने गवारोको प्रकोप कम हुन्छ । यो जातले राम्रो उत्पादन दिन्छ । तर बजारमा भान्टाको माग कम हुन्छ । यो समयमा पनि उपभोक्ताले मन पराउने उच्च गुणस्तरका आकर्षक फल उत्पादन गरेमा बजारमा मात्रा बढ्न सक्दछ । नेपालमा उन्मोचित तथा पञ्जीकृत भान्टाका जातहरूको छोटो विवरण तल दिइएको छ ।

नुर्की
यो नेपालको तराई, मध्यपहाड र उच्च पहाडमा खेती गर्नका लागि २०५१ सालमा उन्मोचित जातको हो । यसको बोट मध्यम खालको र डाँठ–पात गुलाबी रंगको हुन्छ । डाँठमा काँडा हुन्छन् तर पातमा हुँदैनन् । फल १५–२० से.मि. लामा हुन्छन् र एक झुप्पामा ४–५ फल हुन्छन् । बेर्ना सारेको ६०–६५ दिनमा बाली लिन सकिन्छ ।

पुसा पर्पल लंग
यो भान्टा चाँडै फल्छ र वैजनी रंगको हुन्छ । फल लामो २० देखि २५ से.मि. सम्मको हुन्छ । बिरुवा रोपेको ७५ देखि ८० दिनमा पहिलो बाली लिन सकिन्छ । सरदर उत्पादन १५०० किलोग्राम प्रति रोपनी हुन्छ ।

एन.एस ७९७ (NS 797)
यो तराई र मध्य पहाडमा खेती गर्नका लागि २०६६ सालमा पञ्जीकृत भएको वर्णशंकर जात हो । यसको बोटको उचाइ ५०–६० से.मि. हुन्छ । बेर्ना सारेको ५५–६० दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन २ मे.टन. प्रति रोपनी हुन्छ ।

अर्का केशव (Arka Keshab)
यो पनि तराई र मध्य पहाडको लागि २०६६ सालमा सिफारिस भएको वर्णशंकर जात हो । बोटको उचाइ ५०–६० से.मि. हुन्छ । बेर्ना सारेको ७०–७५ दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन १ मे.टन प्रति रोपनी हुन्छ ।

अन्ना ८०६ (Anna 806)

यो पनि तराई र मध्य पहाडमा खेती गर्न २०६६ सालमा पञ्जीकृत भएको वर्ण शंकर जात हो । बोटको उचाइ ५०–६० से.मि. हुन्छ । बेर्ना सारेको ५५–६० दिनमा बाली तयार हुन्छ । सरदर उत्पादन १.५ देखि २ मे.टन. प्रति रोपनी हुन्छ ।

रुनाको (Runako)
यो तराई, मध्य पहाडमा खेती गर्न २०६७ सालमा पञ्जीकृत भएको वर्णशंकर जात हो बोटको उचाइ ३०–४० से.मि. हुन्छ । बेर्ना सारेको ६०–७० दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन ५०० किलोग्राम प्रति रोपनी हुन्छ ।

आवश्यकता

भान्टा गर्मी मौसमको बाली हो तथा यसको खेतीको लागि लामो गर्मी मौसम उपयुक्त हुन्छ । बोटको वृद्धि र फल लाग्नको लागि २१ देखि २७ डि.से.सम्मको तापक्रम उपयुक्त हुन्छ । न्युनतम तापक्रम १५ डि.से. भन्दा तल झरेमा वा उच्चतम तापक्रम ३५ डि.से. भन्दा बढेमा फल लाग्न कम हुन्छ । न्यानो तापक्रम र उच्च आद्र्रता भएमा बोट सप्रन्छन् । सबै किसिमका माटोमा भान्टाको खेती गर्न सकिन्छ । चिम्टाइलो दोमट माटोमा लामो बाली अवधि भएका उच्च उत्पादन दिने जात लगाउन उपयुक्त हुन्छ । माटोको पीएच मान ५.५– ६.० उपयुक्त हुन्छ ।

जग्गा तयारी

नेपालमा भान्टाको मौसमी बाली लगाउने र लिने समय निम्नअनुसार छ ।

तालिका: विभिन्न भैगोलिक क्षेत्रमा बीउ रोप्ने, बेर्ना सार्ने र बाली लिने समय

भौगोलिक क्षेत्र

बीउ रोप्ने र बेर्ना सार्ने समय

बाली लिने समय

उच्च पहाड

चैत – वैशाख

असार – भदौ

मध्य पहाड

माघ – फागुन

वैशाख – असार

खोंच, बेसी र तराई

भदौ – असोज

मंसिर – माघ

 

उच्च पहाड र मध्य पहाडमा जाडो सकिएपछि र तराईमा वर्षायामको अन्त्यमा भान्टाको बीउ रोप्ने र बेर्ना सार्ने काम गरिन्छ । भान्टाको यस्तो खेतीबाट उच्च पहाड र मध्य पहाडमा ग्रीष्म–वर्षायाममा भान्टा उत्पादन गरिन्छ भने तराईमा जाडो मौसमा गरिन्छ । यो मौसमी खेतीबाट बजारमा सालभर भान्टा उपलब्ध हुन नसक्ने भएकोले कृषि र पशु विज्ञान अध्ययन संस्थानले अनुसन्धानका आधारमा मध्य तथा सुदूर पश्चिमका तराई तथा मध्य पहाडमा सालभर सफल भान्टा खेती गर्ने तालिका अनुसार गर्न कृषकहरूलाई सल्लाह दिएको छ । सालभर सफल भान्टा खेती गर्ने तालिका तल दिइएको छ । बजारको विकास भएमा यो तालिकाअनुसार मध्य र सुदूर पश्चिममा सालभर भान्टा उत्पादन गर्न सकिन्छ ।

तालिका: विभिन्न मौसममा बीउ रोप्ने, बेर्ना सार्ने र बाली लिने समय

बालीको नाम

बेर्ना हुर्काउने र सार्ने समय

बाली लिने समय

वसन्त – ग्रीष्म

कात्तिक – मंसिर

फागुन – असार

ग्रीष्म – वर्षा

फागुन – चैत

जेठ – भदौ

वर्षा – जाडो

असार – साउन

असोज – फागुन

 

भाण्टा पानी जम्ने जमिनमा खेती गर्न सकिँदैन । चिम्ट्याइलो माटोमा भाण्टा खेती गर्दा आवश्यकता भन्दा बढी सिंचाई दिइयो भने ओइलिने र जरा कुहिने रोग बढी लाग्दछ। हल्का दोमट वा बलौटे दोमट माटो भाण्टाको लागि उपयोगी हुन्छ । जमिनको तयारी गर्दा ३०-३५ से.मि. गहिरो जोताइपछि २-३ पटक जोताइ र डल्ला फोर्ने कार्य गर्नुपर्छ । दोश्रो जोताइमा गोबरमल राम्ररी मिलाई दिनुपर्छ ।

एक रोपनी जमिनको लागि २५-३० ग्राम बीउ आवश्यकता पर्दछ । चार वर्गमिटरको ब्याडमा ८ के.जी. राम्ररी कुहिएको गोबर मल, ८० ग्राम डि.ए.पी. २५ ग्राम म्युरिएट अफ पोटास बीउ रोप्नु अघि ब्याडको माटोमा मिलाउनुपर्छ । बेर्ना उमेर ४-५ पाते भएपछि सार्न योग्य हुन्छ ।

चार/पाँच पाते राम्रा स्वस्थ बिरुवालाई पंक्तिबाट पंक्तिको फरक हिउँदमा ६० से.मि. र वर्षामा ७५ से.मि. तथा बोटबाट बोटको दुरी ४५ से.मि. हुने गरी हिउँदमा १ ड्याङमा २ हार र वर्षामा १ ड्याङमा १ हार बेर्ना सार्नुपर्छ । यसरी बिरुवा सार्न हिउँदमा ९० से.मि. चौडा र वर्षामा ४५ से.मि. चौडा ड्याङ बनाउनुपर्छ । ड्याडको बीचमा ३० से.मि.को कुलेसो राख्नुपर्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

एक रोपनी जमिनका लागि १५०० के.जी. गोबर मल (७५ डोका) ७ के.जी. डी.ए.पी. ६ के.जी. युरिया र ४.५ के.जी. म्युरेट अफ पोटास चाहिन्छ । अन्तिम जोताइ गर्नुभन्दा पहिला पूरै डी.ए.पी. पोटास र ३ के.जी. युरिया माटोमा एकनासले मिलाउनुपर्दछ । बाँकी ३ के.जी. युरियामध्ये १.५ के.जी. बेर्ना सारेको २०–२५ दिनमा बोटको वरिपरि कुलेसोमा दिन र हल्का पुरेर सिँचाइ गर्नुपर्दछ । दोस्रो थप मल बोट फुल्न फल्न थालेपछि यसैगरी दिनुपर्दछ ।

बेर्ना सारेको २०–२५ दिनमा थप मल दिने बेलामा राम्रोसँग सतहको माटो खुकुलो पार्ने र झार हटाउने गर्नुपर्दछ । पहिलो गोडमेल गरेको २०–२५ दिनपछि फेरि गोडमेल गरेर थप मल दिनुपर्दछ । त्यसपछि आवश्यक परेमा १–२ पटक गोडमेल गर्ने र बोटको अवस्था हेरी घरमा बनाएको झोल मल युरियाको १% झोल, गाई भैसीको एक भाग पिसाबमा १० भाग पानी मिसाएर छर्कने वा एक भागमा ५ भाग मिसाएर बोटको वरिपरि माटोमा दिन सकिन्छ । सिंचाइ गरी पानी कुलेसोमा लगाउनु पर्दछ । हिउँदमा १०–१५ दिनको फरकमा र गर्मी याममा ५–७ दिनको फरकमा सिंचाइ गर्नुपर्दछ ।

रोग व्यवस्थापन

यो रोग माइकोप्लाज्मा भन्ने सुक्ष्म जीवाणुको कारणले हुन्छ । यो रोगका जीवाणु फड्के कीराले सार्दछ । पात पातला, साना र फिका हरिया हुँदै जान्छन् । बोटको आकार होचो र झुप्पा परेको हुन्छ । पुष्पदल हरियो हुँदै जान्छ र बोटमा फल लाग्दैन ।

रोकथाम

  • रोग निरोधक जात लगाउनु पर्दछ ।
  • रोगी बोट तुरुन्त उखेलेर नष्ट गर्नुपर्दछ ।
  • टेट्रासाइक्लिन ०.१% झोलमा सार्ने बेलामा बेर्नाको उपचार गर्ने र सारेको ४–५ हप्तापछि यसैको ०.५% झोलले १० दिनको अन्तरमा ३ पटक छर्कनुपर्दछ ।

3

 

यो ढुसीबाट लाग्ने रोग हो । डाँठको बोक्रा कालो हुदै कुहिन्छ । फलको फेदतिरबाट कुहिँदै जान्छ ।

रोकथाम

  • रोग सहने जात लगाउने र घुम्ती बाली अपनाउनु पर्दछ ।
  • बेभिस्टिन एक ग्राम प्रति के.जी. बीउका दरले उपचार गर्नुपर्दछ ।
  • ब्लाइटक्स २ ग्राम प्रतिलिटर पानीमा सिंचाइ गर्नुपर्दछ ।

     brinjal   brinjal

कीरा व्यवस्थापन

यो कीराको समूह पातको तल्लो भागमा बसेर रस चुस्दछन र भाइरस रोग सार्दछ ।

रोकथाम

  • रोगर २ मि.लि प्रतिलिटर पानीमा मिसाई छर्कनुपर्दछ ।
  • कीरा नियन्त्रण गर्न थायोडन १.५ मि.लि. प्रतिलिटर पानीको दरले १० दिनको अन्तरमा छर्कनुपर्दछ ।

3   

यो कीराको समूहले पातको तल्लो भागमा बसेर रस चुस्दछ र पात डढेको जस्तो देखिन्छ ।

रोकथाम

  • थायोडन १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाई १०–१० दिनको फरकमा छर्कनुपर्दछ ।

brinjal   brinjal

यसको पुतलीले भान्टाको पात, मुन्टा र फलमा फुल पार्दछ । फुलबाट औँसा निस्केर कलिला मुन्टा तथा फल खान शुरु गर्दछन् । फलभित्र बसी गुदी खान्छन् र फलमा स–साना प्वालहरू देखिन्छन् ।

रोकथाम

  • गवारो नलाग्ने बालीहरू घुम्ती बालीका रूपमा लगाउनु पर्दछ ।
  • झुप्पामा साना फल लाग्ने जात लगाउनु पर्दछ ।
  • भान्टासँग सुप र धनियाँ मिश्रित बालीको रूपमा लगाउन सकिन्छ ।
  • कीरा लागेका फल र मुन्टा जम्मा गरेर नष्ट गर्नुपर्दछ ।
  • भाले पुतलीलाई आकर्षण गर्ने ल्युसिन ल्युरको पासो राखेर संख्या घटाउन सकिन्छ ।
  • फल लाग्नु अगाडि वा फल टिपेपछि थायोडन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा दुई पटक छर्कनुपर्दछ । यो छर्केपछि फल टिप्न १० दिन पर्खनुपर्दछ ।
  • कीरा बढी लाग्न थालेमा साइपरमेथ्रिन वा फेनभलेरट एक मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्कनुपर्दछ । यो एकपटक छरेपछि अर्को पटक थायोडन वा नुमान आलोपालो छर्कनुपर्दछ ।

borer   borer

बाली कटानी तथा भण्डारण

बालीका कर्महरू
भान्टा जात अनुसारको फलको साइज पुगेपछि र आकर्षक रंग छँदै टिप्नुपर्दछ । बेलुकापख कैंचीको सहायताले फल टिप्नुपर्दछ । टिपेका फल डालो वा टोकरीमा राख्नुपर्दछ । टिपेका फल घाममा राख्नु हुँदैन र गवारोले प्वाल पारेका, घाउचोट लागेका, बढी छिप्पिएका र आकर्षक नभएका फलहरू हटाउनुपर्दछ । यसलाई फलको आकार अनुसार ग्रेडिङ गर्न सकिन्छ । बजारयोग्य डोको वा बोरामा राखेर स्थानीय बजारमा पुर्याउन सकिन्छ । टाढाको बजारका लागि क्रेटमा राखेर ढुवानी गर्नु उपयुक्त हुन्छ । भान्टाका फिका वा कालो रंगका ठूला फल ग्राहकले मन पराउँदैनन् । ग्राहकले साना, मसिना, लामा तथा गोला आकारका चम्किला बैजनी राता वा गाढा बैजनी रंगका फलहरू मन पराउँदछन् । भान्टा टिपेपछि छिटो बिक्री गर्नुपर्दछ । ग्रीष्मयाममा बाली टिपेको ३ दिनभित्र जाडो याममा ५ दिनभित्र भान्टा बेचिसक्नुपर्दछ । प्लास्टिक खुला झोलामा राखेर भान्टाको ताजापन १–२ दिन बढी जोगाउन सकिन्छ । भान्टालाई ७–१० डि.से. तापक्रम र ९०–९५% को आद्र्रतामा ७–१० दिन भण्डार गर्न सकिन्छ ।

उत्पादन
सरदर एक रोपनी जमिनबाट वसन्त–ग्रीष्मयाममा १५०० के.जी. र वर्षा–जाडो याममा २०००–२५०० के.जी उत्पादन गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

फलबाली समूह तरकारी खेती प्रविधि
तरकारी खेती प्रविधि
चैत, २०६८
नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा
सिंहदरबार, काठमाडौं नेपाल