जातहरू
ग्रीष्म–वर्षायाममा उत्पादन गरेको भान्टाले बजारमा राम्रो मूल्य पाउँदछ । यो समयमा खेती गर्दा भान्टाको गवारो बढी लाग्ने भएकोले गवारोबाट क्षति कम हुने जातको खोजी गर्नुपर्दछ । यसका साथै उपभोक्ताले मन पराउने जात पनि हुनुपर्यो । उपभोक्ताले मन पराएर मात्रै पुग्दैन खेती गर्ने त्यो जात लगाउन इच्छुक पनि हुनुपर्दछ । कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनले राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको आर्थिक सहयोगमा वि.सं. २००३ देखि २००६ सम्म बाँके जिल्लाको खजुरामा ग्रीष्म वर्षा याममा भान्टाको जातीय परीक्षण गरिएको थियो । उक्त परीक्षणमा समावेश गरिएका जातहरू मध्ये देवझुरी (खुला सेचित जात) र हाइब्रिड श्याम (वर्णशंकर जात) ले राम्रो उत्पादन दिए र यिनीहरूलाई गवारोले कम क्षति गर्यो । आकर्षक रंगका साना फल भएकाले उपभोक्ताले पनि मन पराएका थिए ।
नतिजाका आधारमा देवखुरी हाइब्रिड श्याम जातको खेती गर्न कृषकहरूलाई सल्लाह दिइएको थियो । त्यसैले ग्रीष्म–वर्षायाममा भान्टा उत्पादनको लागि साना आकर्षक फल झुप्पामा फल्ने र गवारो कम लाग्ने रोजेर लगाउनु पर्दछ । वर्षा र जाडो याममा भने गवारोको प्रकोप कम हुन्छ । यो जातले राम्रो उत्पादन दिन्छ । तर बजारमा भान्टाको माग कम हुन्छ । यो समयमा पनि उपभोक्ताले मन पराउने उच्च गुणस्तरका आकर्षक फल उत्पादन गरेमा बजारमा मात्रा बढ्न सक्दछ । नेपालमा उन्मोचित तथा पञ्जीकृत भान्टाका जातहरूको छोटो विवरण तल दिइएको छ ।
नुर्की
यो नेपालको तराई, मध्यपहाड र उच्च पहाडमा खेती गर्नका लागि २०५१ सालमा उन्मोचित जातको हो । यसको बोट मध्यम खालको र डाँठ–पात गुलाबी रंगको हुन्छ । डाँठमा काँडा हुन्छन् तर पातमा हुँदैनन् । फल १५–२० से.मि. लामा हुन्छन् र एक झुप्पामा ४–५ फल हुन्छन् । बेर्ना सारेको ६०–६५ दिनमा बाली लिन सकिन्छ ।
पुसा पर्पल लंग
यो भान्टा चाँडै फल्छ र वैजनी रंगको हुन्छ । फल लामो २० देखि २५ से.मि. सम्मको हुन्छ । बिरुवा रोपेको ७५ देखि ८० दिनमा पहिलो बाली लिन सकिन्छ । सरदर उत्पादन १५०० किलोग्राम प्रति रोपनी हुन्छ ।
एन.एस ७९७ (NS 797)
यो तराई र मध्य पहाडमा खेती गर्नका लागि २०६६ सालमा पञ्जीकृत भएको वर्णशंकर जात हो । यसको बोटको उचाइ ५०–६० से.मि. हुन्छ । बेर्ना सारेको ५५–६० दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन २ मे.टन. प्रति रोपनी हुन्छ ।
अर्का केशव (Arka Keshab)
यो पनि तराई र मध्य पहाडको लागि २०६६ सालमा सिफारिस भएको वर्णशंकर जात हो । बोटको उचाइ ५०–६० से.मि. हुन्छ । बेर्ना सारेको ७०–७५ दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन १ मे.टन प्रति रोपनी हुन्छ ।
अन्ना ८०६ (Anna 806)
यो पनि तराई र मध्य पहाडमा खेती गर्न २०६६ सालमा पञ्जीकृत भएको वर्ण शंकर जात हो । बोटको उचाइ ५०–६० से.मि. हुन्छ । बेर्ना सारेको ५५–६० दिनमा बाली तयार हुन्छ । सरदर उत्पादन १.५ देखि २ मे.टन. प्रति रोपनी हुन्छ ।
रुनाको (Runako)
यो तराई, मध्य पहाडमा खेती गर्न २०६७ सालमा पञ्जीकृत भएको वर्णशंकर जात हो बोटको उचाइ ३०–४० से.मि. हुन्छ । बेर्ना सारेको ६०–७० दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन ५०० किलोग्राम प्रति रोपनी हुन्छ ।
