अकबरे खुर्सानी नेपाल तथा भारतका दाजिलिङ, सिकिम, कालेम्पुङ, सिलिगुडी क्षेत्र तथा हङकङ, सिङ्गापुरमा पनि नेपाली मूलका व्यक्तिहरु अकबरे खुर्सानीको नियमित उपयोग गर्दछन् । अकबरे खुर्सानी औषधीको रुपमा ग्यासट्रीक र अल्सरका रोगीहरुले समेत प्रयोग गरिन्छ । अकबरे खुर्सानी नियमित खाँदा भोक जाग्ने, खाँदा रुची हुने, थकाइ मेटिने जस्ता गुणहरुले भरेको छ । पाकेको अकबरे खुर्सानीलाई हल्का सुकाई शुद्ध तोरीको तेलमा पकाएो खाने नून वा भिनेगरमा डुबाएर हावा नछिर्ने गरि बिर्को लगाई राखेमा २ वर्षसम्म खान सकिन्छ । अहिले धेरै अचार उद्योगहरुमा यस्को पेस्ट बनाएर बिक्री वितरण गरिएको छ ।
अकबरे खुर्सानी खेति प्रविधि
परिचय
नेपालमा खुर्सानी खेती मसला, अचार, तरकारी को रुपमा प्रयोग गर्ने गरीन्छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाईन्छ । यसमा भएको पिरोपन क्याप्सिसिन र पाके पछि रातो रंग क्याप्स्यान्थिनले गर्दा हुन्छ । यस्को खेती खास गरी पिरोपनाको लागि गरिन्छ । केही जातका खुर्सानीमा औषधीको गुण भएकोले औषधी बनाउनका लागि पनि प्रशस्तै प्रयोग गरिन्छ । अकबरे खुर्सानीको खेति नेपालको सम्पूर्ण पहाडी क्षेत्रमा विस्तार भइरहेको छ । बिशेष गरेर धनकुटा, भोजपुर, इलाम लगायतका जिल्लाहरुमा यसको व्यवसायिक रुपमा खेति भैरहेको छ । यसको अहिले भइरहेको उत्पादन सम्बन्धि कुनै तथ्याङ्क उपलब्ध नभएतापनि, विर्तामोड, जोगबनी नाकाबाट बर्सेनि हजारौ किलो अकबरे खुर्सानी भारततर्फ निर्यात हुनेगरेको छ । आ. व.२०६२र६३ मा धरान कृषि बजार उपज बजार स्थलबाट रु. १ करोड २० लाख सम्मको व्यापार भएको तथ्यांक छ । उत्पादनको आधा परिमाण नेपालमा खपत हुने र बाँकि भारतमा निर्यात हुने गरेको बताइन्छ । अकबरे खुर्सानी महँगो भाउमा बिक्री हुने भएकोले कृषकहरुको लागि राम्रो आम्दानीको श्रोत बनेको छ । यसमा धेरै रोगहरुलाई निको पार्ने गुण भएकोले यस्कोे महत्व बढी रहेको छ । प्रति इकाइ क्षेत्रफलमा यसको उत्पादन पनि राम्रो हुने भएकोले कृषकहरुको लागि आम्दानीको राम्रो श्रोत बन्न सक्ने प्रवल संभावना देखिन्छ ।
जातहरु
नेपालमा २०–२५ खालका पिरो खुसार्नीको खेती हुने गरेको पाइन्छ । अकबरे पनि पिरो खालेमा पर्दछ जसको ६–७ किसिमका छन । अकबरे खुसार्नी ठूलो डल्ले, सानो डल्ले, गोलो लाम्चे, चिप्लो डल्ले आदि आकारका हुन्छन् ।
आवश्यकता
यो साधारण तया गोलभेडा खेती गर्न सकिने हावापानी भएको स्थानमा उत्पादन गर्न सकिने भए पनि उच्च पहाड देखि तराईमा समेत उत्पादन गर्न सकिने बाली हो । यसको वृद्धि विकासका लागि १८–३२ डिग्री सेन्टिग्रेट तापक्रममा उपयुक्त हुने तर ३५ डिग्री से. ग्रे. भन्दा बढी तापक्रम, धेरै चिसो र तुषारो सहन नसक्ने तथा फल नलाग्ने किसिमको बाली हो । यसको लागि न्यानो आद्रता भएको हावापानी उपयुक्त हुन्छ । पाक्ने बेलामा र¨ चढ्न बढी तापक्रम र अलि सुख्खा हावापानी चाहिन्छ । यस्को बोट २ मीटरसम्मको हुन्छ । एक पटक लगाएको बोट १०–१५ वर्ष सम्म उत्पादन दिन्छ ।
नर्सरी व्यवस्थापन
नर्सरी ब्याड ढिलो गरिलगाउँदा तुषारोले नोक्सान हुने भएकोले समयमै असोज देखि मंसिरसम्म प्लाष्टिकको गुमोज बनाई व्याडमा बीउ छर्नु पर्दछ। । ब्याड बनाउने जमिनलाई राम्रोसँग खनजोत गरी त्यहाँ रहेका झारपात तथा ढुङालाई हटाई माटोलाई मसिनो भुरभुराउँदो बनाउनु पर्दछ । ब्याड बनाउँदा हिउँदमा ६ इन्च र वर्षातमा १० इन्च अग्लो र १ मीटर चौडाइको बनाएर उक्त ब्याडमा सेतो प्लाष्टिकले हावा नपस्ने गरी छोपेर १५/२० दिन सम्म घाम लाग्न दिनु पर्दछ । त्यस पछि उक्त प्लाष्टिक हटाएर ४ इन्चको फरकमा आधा इन्च गहिरोे लाइन बनाई १–१ इन्चको फरकमा बीउ खसाल्नु पर्दछ । उक्त बीउलाई मसिनो माटो, खरानी वा गोठेमलले छोप्नु पर्दछ । त्यसमाथि सुकेको पराल वा गँहुको छवालीले छापो दिनुु पर्दछ । मौसम अनुसार र माटोमा चिस्यानकोे अवस्था हेरि १ दिन बिराएर सिँचाइ गर्नु पर्दछ । बीउ टुसाउन थाले पछि छापो हटाइदिनु पर्दछ । यदि जाडो मौसम भएमा तुषारो तथा रातीको कम तापक्रमको असरबाट बचाउनको लागि गुमोजमा पुरै प्लाष्टिक ओढाउनु पर्दछ । वर्षा याममा बेर्नालाई पानीवाट बचाउन अग्लो प्लाष्टिक घरमा वा प्लाष्टिकको एक पाखे छानो भएको घर भित्र वा टाँडे नर्सरीमा बेर्ना जमाउनु पर्दछ । खुर्सानीको जात र मौसम अनुसार अगौटे जात ३–४ हप्तामा र पछौटे जात २ महिनासम्ममा सार्नको लागि तयार हुन्छ । बेर्ना सार्नु १ हप्तापहिले नै बेर्ना दह्रोे बनाउनका लागि छहारी वा प्लाष्टिक हटाउने, सिँचाइ बन्द गर्नुका साथै बेर्नालाई जरखरयाउनु पर्दछ । खुर्सानी बालीमा धेरै किसिमका चुसाहा कीरा लाग्ने र उक्त कीराहरुले भाइरस रोग सार्ने हुनाले नर्सरी ब्याड जालीघर भित्र लगाउँदा धेरै हद सम्म कम भएको पाइएको छ । नर्सरीमा बेला बेलामा ढुसी तथा ढुसीजन्य रोगहरुवाट बचाउन जैबिक बिषादी निप्रोट (ट्राइकोडरमा भिरिडी ढुसि) ३–५ ग्राम प्रति लीटर पानीको दरले वा ढुसीनाषक विषादी,वेभिस्टिन १ ग्राम प्रति लीटर पानीको दरले मिसाएर छर्नु पर्दछ । पशुमूत्रमा वनस्पतिहरु कुहाएर तयार गरिएको गितीमल, चियामल आदि नियमित रुपमा छर्नु पर्दछ ।
जग्गा तयारी
राम्ररी तयार गरेको जमिनमा विरुवालाई रोप्दा लाइन देखि लाइनको दुरी डेढ हात र बिरुवा देखि विरुवाको दुरी एक हात हुने गरि रोप्नु पर्दछ । यसरी रोप्दा वर्षातको समयमा १ फीट उँचाइको ड्याङ बनाएर र हिउँदमा सिधै खेतबारीमा १/१ फीटका खाल्टो बनाएर तल दिए अनुसारको मलको समिश्रण राखेर रोप्नु पर्दछ । विरुवा रोप्दा व्याडमा माटोले छोपिएको जति भागलाई मात्र खाल्टोमा रोप्नु पर्दछ । यसरी रोप्दा १ रोपनीमा १२०० बेर्ना लाग्छ ।
बाली व्यवस्थापन तथा हेरचाह
विरुवाको तल्लो भागमा आएका बाक्ला पातहरु तथा पहेलो पातहरु र नचाहिने मुनालाई नियमित रुपमा हटाइउनु पर्दछ । तर यो खुर्सानी वालीमा एक पटक लगाएको बेर्नाबाट राम्रो व्यवस्थापन गरेमा १०–१५ वर्षसम्म पनि उत्पादन लिन सकिने भएकोले प्रशस्तमात्रामा गोठेमल, पिना प्रयोग गर्नु पर्दछ । हरेक जाडो सयम पछि विरुवालाई राम्ररी काँट छाँटगरी माथि उल्लेख भए अनुसार थप मलजल पर्दान गर्नु पर्दछ । साथै मल्टीप्लेक्स वा भेजीमिक्सको स्प्रे पनि गर्नु पर्दछ । उच्च पहाडमा बोटलाई जाडो बाट बचाउन परालको छानो हाल्नु पर्दछ वा हल्का पराल बोटमा जाडो यामभरि राख्नु पर्दछ । तराई तथा तल्लो पहाडी भेकमा एक वर्ष भन्दा वढी वाली लिन सकिंदैन ।
रोग कीराको एकिकृत व्यबस्थापनका उपायहरु
व्यवसायिक रुपमा अकवरे खुर्सानी खेती गर्ने कृषकले एकिकृत रुपमा रोग तथा कीराको नियन्त्रण गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :
- प्रारम्भिक अवस्थामा नै प्रति बोट १–१.५ ग्राम केल्डान वा डर्सवान मल माटोसँग मिलाएर प्रयोग गरेमा थ्रिप्स, लाही र सेतो झिंगालाई नियन्त्रण गर्न सकिन्छ ।
- करिव १५–२० दिनको अन्तरमा डेसिस वा रोगर १.५ मि.ली प्रति लिटर पानीमा राखेर राम्रोसँग छर्नु पर्दछ।
- इन्डोसल्फान वा मालाथिएन डेसिस वा नीमका विषादी २ मि.लि.प्रतिलिटर पानीमा मिसाएर छर्नाले फलको गवारो र पात खाने कीरालाई राम्ररी नियन्त्रण गर्न सकिन्छ ।
- पानीको राम्रो निकासको व्यवस्था गरेमा जरा कुहिने तथा आइले रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
- फियूजारियम ढुसीबाट हुने ओइलिने रोगको लागि दुई तीन बर्ष बाली चक्र अपनाउनु पर्दछ, जसका लागि जुनेलो, बाजरा, धान बालीहरु लगाउनु पर्दछ, तर । कपास, सुर्ति, आलु, भिन्डी, टमाटर जस्ता एउटै बर्गका बाली लगाउनु हुदैन ।
- एन्थ्राक्नोज र पातको थोप्ले रोगको नियन्त्रणका लागि बेभिस्टिन १ ग्राम या डाईथेन एम.४५ वा डाईथेन जेड ७८ २ ग्राम वा कपरअक्सिक्लोराइड ( व्लाइटौक्स ५०) २ ग्राम प्रति लिटर पानीको दरले मिलाएर स्प्रे गर्नु पर्दछ।
- पात गुजमुज पर्र्ने रोग चुसाहा किराको कारणले सर्ने भएकोले उक्त रोगको प्रकोप कम गर्न गहुंत तथा वनस्पतिक विषादि नियमित रुपमा १० दिनको फरकमा छर्कने र दैहिक किटनाशक डेसिस/रोगर १.५ मि.ली. प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ ।
- पातको तल्लो भागमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सल्फर पाउडरकोे प्रयोग गर्नुपर्छ ।
- चैत्र बैशाखको घाममा खेतबारी जोतेर १०–१५ दिनसम्म सुकाउनु पर्दछ जसले गर्दा माटोमा रहने रोग तथा कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।
खुर्सानी रोप्दा ५ किलो कुहेको गोठेमल/कम्पोष्ट मल वा २०० ग्राम गडयौलेमल, ५ ग्राम डी.ए.पी., ५ ग्राम पोटास र ५ ग्राम कृषिचुन प्रति बोटका दरले बेर्ना सार्नुभन्दा २–३ दिन अगाडी खाल्डोमा राखी राम्ररी माटोमा मिलाउनुपर्छ । भेडा मलबाट पनि बढी फाईदा भएको पाइन्छ, तसर्थ उपलब्ध भए सम्म राम्ररी पाकेको भेडाको मल प्रयोग गर्नु पर्दछ । अकबरे खुर्सानी लामो अवधिको बाली भएकोले मलखादमा यूरीया, डी.ए.पी., पोटास, कृषि चुन ५–५ ग्राम, मल्टीप्लेक्स ३ ग्राम प्रति बोटका दरले १५, ३०, ४५ र ६० दिनमा प्रयोग गर्नु पर्दछ । आवश्यकता हेरीकाने भेजीमिक्स ३ मि.लि. वा मिराकुलान, मल्टीप्लेक्स आदि २–३ मि.लि. प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्नु पर्दछ ।
माटोको चिस्यान हेरेर जाडो याममा १५/२० दिनमा र गर्मी याममा ८/१० दिनमा सिँचाइ दिनुपर्छ । यस बालीले माटोमा धेरै चिस्यान नसहने भएकोले निकासको व्यवस्था पनि गर्नु पर्दछ । समय समयमा झारपातलाई हटाउने र गोडमेल गरेर माटो खुकुलो पार्ने गर्नाले जराहरु छिटो बढ्दछन। खास गरी वर्षातको समयमा बेर्ना सारेको ५०–६० दिनसम्म झारपातको राम्रोसंग नियन्त्रण गर्नुपर्दछ ।
सुख्खा समयमा जहाँ पानीको अभाव हुन्छ, त्यस्ता तठाउँमा बिरुवा सारेपछि फेंदमा सोतर वा परालको छापो दिनु ज्यादै उपयूक्त हुन्छ । छापो राख्नाले सुख्खा समयमा जमिनमा चिस्यान कायम राख्न मद्दत गर्दछ, साथै खेर गएको पानीको संकलन तथा प्रयोग गर्ने र छापोको प्रयोग गर्नाले विरुवालाई सुख्खा समयमा जोगाउन सकिन्छ ।
बाली कटानी तथा भण्डारण
अकबरे खुर्सानी बेर्ना रोपेको ६०–८० दिनमा फल लाग्न शुरु गर्दछ र लगातार २–४ महिनासम्म टिप्न सकिन्छ । तल्लका फलहरुटिप्नको लागि उपयुक्त हुँदै गर्दा माथिल्लो भागमा फूल फुली रहेको हुन्छ। त्यसकारण नियमित रुपमा फल टिप्नु पर्दछ । प्रत्येक टिपाइ पछि विरुवालाई काँट छाँट, गोडमेल, तथा सरसफाई गरेर थप मलजल गर्नु पर्दछ । साथै रोग कीराको नियन्त्रण गर्नु पर्दछ। राम्रो स्याहार सुुसार तथा व्यवस्थापन गरेमाप्रति रोपनी ३०० देखि ८०० किलोसम्म उत्पादन लिन सकिन्छ । यस बालीको उत्पादनका लागि प्रति रोपनी रु ४००० देखि ५००० सम्म खर्च लाग्दछ । यदि प्रति किलो रु १५० देखि २०० का दरले बिक्रि भएमा रु ४५००० देखि ७०००० प्रति रोपनी आम्दानी हुन्छ । सुख्खा : सुख्खा खुर्सानीको उत्पादन १ देखि २.५ क्वीन्टल प्रति रोपनी हुन्छ । यो खुर्सानी ठकि समयमा सुरक्षितसंग टिपेर राम्रो संग प्याकेजिङ गरेमा पनि लामो दूरीसम्म निर्यात गर्न कठिन हुन्छ । तसर्थ यसलाई टिप्दा हासियारीका साथ टिप्नुका सार्थै राख्दा हावादार कोठामा राम्रोसंग फिंजाएर राख्नु पर्दछ । टाँढाको बजारमा लैंजादा प्लाष्टिकको क्यारेट वा बाँसको टोकरी (ढक्की) मा २०–२२ कि.ग्रा. सम्म राखेर लैजानु राम्रो हुन्छ । बढी पाकेको खुसार्नी निर्यात योग्य हुँदैन । विगतमा बैशाख ज्येष्ठ तथा असोज कार्तिकमा बढी मूल्यमा किनबेच भएको पाइएको छ ।
