परिचय

इस्कुस कलिलो फलको लागि खेती गरिने तरकारी हो । यो बहुवर्षिय लहरे बाली हो । इस्कुसबाट  कार्बोहाइड्रेट, खनिज बस्तुमा क्याल्सियम, फोस्फरस, फलाम र प्रोटिन तथा भिटामिन सी प्राप्त हुन्छ । इस्कुसको उद्गम स्थान मध्य अमेरिकाको उष्ण तथा ओसिलो प्रदेश मानिएको छ । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका देशहरुमा इस्कुसको खेती र उपभोग व्यापक रुपमा गरिन्छ । नेपालको पूर्वी तथा मध्य पहाडी भागमा यसको खेती व्यापक रुपमा हुन्छ । इस्कुसको ब्यवसायिक उत्पादनका लागि ईलाम जिल्ला प्रसिद्ध छ ।

vegetable    chayote

जातहरु

इस्कुस झाँगिएर बेरिँदै थाँक्रोमा चढ्ने, लहरे, बहुवर्षिय बाली हो । यसको लहरा १२–१५ मिटरसम्म लामो र धेरै शाखा लहरा तथा उप–शाखा लहरायुक्त हुन्छ । इस्कुसमा भाले फूल र पोथी फूल अलग–अलग हुन्छन् । भाले फूल झुप्पामा हुन्छन् भने पोथी फुलएउटा मात्र हुन्छ । भाले फूल र पोथी फूल एउटै आँखलामा हुन्छन् । इस्कुसको फलको भेट्नुपट्टिको भाग केही सानो हुन्छ । कुनै कुनै जातका फलमा मसिना काँडाहरु हुन्छन् । कुनै कुनै जात काँडारहित चिल्ल हुन्छन् । फल खण्ड–खण्ड परेको हुन्छ ।

आवश्यकता

इस्कुसको लागि न्यानो तथा ओसिलो हावापानीको आवश्यकता पर्दछ । मध्यम स्तरको वर्षा हुने ५०० देखि १५०० मिटरसम्मको उचाई इस्कुस खेतीको लागि उत्तम मानिन्छ । रातको तापक्रम केही चिसो र न्यानो दिन हुने ठाउँमा इस्कुसको उत्पादन बढी हुन्छ ।

इस्कुसको लागि लामो समयसम्म चिस्यान कायम रहने, जैविक तथा प्रांगारिक पदार्थयुक्त माटो उत्तम हुन्छ । माटो खुकुलो, पानी नजम्ने र पी.एच. मान ५.२–६.५ सम्म भएको हुनुपर्दछ ।

नर्सरी व्यवस्थापन

इस्कुसको बेर्ना उत्पादन तीन प्रकारबाट गर्न सकिन्छ । तरुलको जस्तै इस्कुसका जरामा सेलाहरु हुन्छन् । ती सेलाहरुबाट नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ । दोश्रो इस्कुसका लहराहरुको कलमी सारेर जरा पलाएपछि नयाँ बिरुवा उत्पादन हुन्छन् । तेश्रो र सबभन्दा सजिलो तथा व्यावसायिक तरिका हो । छिप्पिएका इस्कुसका फल रोपेर । इस्कुसका फलमा एउटा मात्र बीउ हुन्छ र छिप्पिएको इस्कुसको फलबाट बिरुवा उम्रन्छन् । यस विधिमा छिप्पिएका इस्कुसका दानालाई १ भाग माथि देखिने गरेर २ भाग बालुवामा छोपेर छायाँ वा घाम नलाग्ने ठाउँमा राखिदिनाले बिरुवा उम्रेर आउँछ । यिनै बिरुवालाई पछि मुख्य खेतमा सारिनुपर्दछ ।

जग्गा तयारी

इस्कुस मुख्य स्थानमा लगाउने समय जाडो सकिएपछि हो । माघ–फागुनमा इस्कुसको बेर्ना वा जरै समेतको लहरा वा पुराना बोटबाट गानासहित उखेलेको लहरा वा इस्कुसको फलबाट तयार भएको बेर्ना लगाउनु पर्दछ । तुषारो नपर्ने क्षेत्रमा यस भन्दा केही अगाडि पनि विरुवा रोप्न सकिन्छ। तर विरुवाको विकास भने गर्मी बढ्न थालेपछि मात्र हुन्छ ।

नेपालमा इस्कुस खेती घरको वरपर, रुखका नजिक २–४ बोटको रुपमा मात्र गरिने प्रचलन छ । व्यावसायिक रुपमा इस्कुस खेती गर्न थाँक्रोको आवश्यकता पर्दछ । यसरी थाँक्रो हालेर व्यावसायिक रुपमा खेती गर्न प्रतिरोपनी १०० देखि १५० बिरुवाको आवश्यकता पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

इस्कुसमा खास किसिमको रोग र किराको प्रकोप देखिँदैन । तर जमीनमुनिको सेला वा जरा मुसाले खाइदिएमा बोट मर्दछ । त्यसैले इस्कुसको फेदमा माटोमुनि विषादि प्रयोग गरी मुसा नियन्त्रण गर्नु पर्दछ ।

इस्कुस बहुवर्षिय बाली भएको र बोट थाँक्रोमा झाँगिने भएकाले रोप्ने स्थान र मलखादको प्रयोगमा विशेष ध्यान दिनुपर्दछ । ६०× ६०× ६० से.मि. को खाँडल बनाई प्रत्येक खाँडलमा १ भाग राम्ररी पाकेको वा कुहिँएको गोबर मल र १ भाग माटो राम्ररी मिसाएर पुरै खाँडल भर्नुपर्छ । प्रत्येक खाँडलमा ५० ग्राम कम्प्लेक्स र २५ ग्राम पोटास राम्ररी माटोमा मिसाइदिनु पर्दछ । यस प्रकार इस्कुस रोप्नको लागि खाँडल तयार गर्दा नै मलखादको पनि प्रयोग गर्नु पर्दछ ।

माथि उल्लेख गरे बमोजिम तयार गरिएको खाँडलमा मल र माटो भरेर तयार भएपछि विरुवाको सेला वा बेर्ना तयार गरेको फल पुरै जमीनमा छोपिने गरी रोप्नु पर्दछ । बेर्ना रोप्दा पंक्तिबाट पंक्ति र बोटबाट बोटको फरक २/२ मिटर हुने गरी रोप्नु पर्दछ ।

इस्कुस सार्ने समय माघदेखि चैत्र हो । यो समयमा जमीनमा उचित मात्रामा चिस्यान कायम राखिनुपर्दछ । तर फेदमा पानी जम्नु भने हुँदैन । सुख्खा मौसममा बारम्बार सिंचाईको व्यवस्था गरिनुपर्दछ । गोडमेलको हकमा इस्कुसको फेदमा कुनै झारपात आउन दिनु हुँदैन र माटो खुकुलो राख्नु पर्दछ । थाँक्रोमा अन्य लहराहरु लगाउनु हुँदैन ।

बाली कटानी तथा भण्डारण

गर्मीमा (फागुनदेखि आषाढसम्म) इस्कुसको बोटको बिकास हुन्छ । लहराहरु फैलन्छन् । जब दिनको लम्बाई १३ घण्टादेखि ११ घण्टा करिब हुन थाल्दछ र रातको तापक्रम घट्न थाल्दछ, तब इस्कुसमा फूल लाग्न र फल लाग्न थाल्दछ । साउनदेखि मंसिर–पुससम्म इस्कुसमा फल लाग्दछ । यसले तुषारो खप्न सक्दैन । त्यसैले तुषारो पर्ने ठाउँमा फल लाग्ने समय छोटो हुन्छ ।

इस्कुसको उत्पादन बाली व्यवस्थापन र थाँक्रो दिने प्रक्रियामा निर्भर गर्दछ । एक रोपनीबाट कम्तीमा ३ मे.टन इस्कुस उत्पादन हुन्छ । इस्कुसको कलिला मुन्टाको पनि तरकारी खाइन्छ । जमीनको सेला वा जरा पनि तरकारीको रुपमा वा उसिनेर खान सकिन्छ ।

इस्कुसलाई कलिलो अवस्थामै टिपेर तरकारी खानुपर्दछ वा बजार पठाउनु पर्दछ । साधारण भण्डारणमा पनि ४/५ दिनसम्म राम्ररी भण्डारण गर्न सकिन्छ ।