परिचय

तरकारीहरूमा मुला एक निकै प्रचलित जरे तरकारीबाली हो । मुलालाई खेतबारीमा रोपेर एकल खेती वा अरु बालीसंगै मिसाएर वा अरुबालीको छेउछाउमा लगाउने चलन नेपालमा छ। मुला मध्य वा पश्चिम चीन या भारतबाट उत्पत्ति भएको मानिन्छ। यो क्षेत्रमा यसको प्रयोग प्राचीनकालदेखि भएको पाइन्छ । जङ्गली मुलाहरू भूमध्यसागरीय क्षेत्रमा पनि पाइन्छ । मुलाको प्रयोग काँचै वा अन्य तरकारीसित मिसाई पकाएर वा अचार बनाई वा सिन्की बनाएर गरिन्छ। पछि सुकाएको मुलाको चाना प्रयोग गरिने चलन पनि छ । यसको रसले पाचन प्रक्रियामा मद्दत पुऱ्याउँछ । मुलामा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ र मुलाको टाउकोमा तल्लो भागमा भन्दा सात गुना बढी भिटामिन ‘सी’ पाइन्छ । त्यस्तै क्याल्सियम ६ गुना बढी, फस्फोरस ३ गुना बढी, भिटामिन ‘ए’ तीस गुना बढी पाइन्छ । मुलामा पानीको मात्रा ९० प्रतिशत र प्रायः सबै पौष्टिक तत्वहरू पाइन्छ । नेपालमा सेता र राता दुवै प्रकारका मुला पाइन्छन् । कार्बोहाईड्रेट र खनिज तत्व सेतो मुलामा भन्दा रातो मुलामा बढी पाइन्छ ।

तरकारीको रुपमा प्रयोग गरिने मुला बिरुवाको मोटो जरा हो । सर्वप्रथम बीउबाट मसिनो लामो जरा आउँछ । त्यसपछि त्यस जरामा बिरुवाले खाद्यवस्तु जम्मा गर्दै जान्छ र खानलाईकको जरा तयार हुन्छ । मुला बिरुवालाई यसो नियालेर हेरेमा ३ भाग स्पष्ट छुट्याउन सकिन्छ । पहिलो टाउको जसमा छोटो डाँठ र पातहरू पर्दछन् । दोश्रो भाग घाँटी-जसमा हाइपोकोटाइलबाट विकसित भाग, जसबाट जरा पलाउँदैन, तेश्रो जरा भाग-जुन खास जरा हो, जसबाट साना मसिना जरा पलाउँछ । मुलाका विभिन्न जातहरूलाई जातीय स्वभाव र गुण अनुसार दुई भागमा विभाजन गरिएको छ । ती हुन् (१) एशियाली वा उष्ण प्रदेशीय मुला (२) युरोपेली वा समशीतोष्ण प्रदेशीय मुला, युरोपेली थरिका मुला सानो र कम पीरो हुन्छ ।

3

जातहरु

यो जातको मुला नेपालमा धेरै प्रचलित छ । यसको जरा सेतो हुन्छ र तलतिर टुप्पिँदै गएको हुन्छ । यसको जरा सेतो, सरदर ४० से.मि. लामो र मोटाइ ८–१० से.मि. र मध्यम कसिलो हुन्छ । एउटा मुलाको तौल ३००–४०० ग्रामको हुन्छ । यो मुला केही पिरो र गुलियो हुन्छ । यसको पात गाढा हरियो, काटिएको हुन्छ र पात तेर्सो जान्छन् । बीउ छरेको सरदर ४५–५० दिनमा जरा खान लायक हुन्छ । हत्तपत्त यसको जराको काठ नपस्ने भएकोले यसलाई सबैले मन पराउँछन् । यसको सरदर उत्पादन १.३ मे.टन प्रति रोपनी हुन्छ । यो जात तराई, पहाड र उच्च पहाडका लागि सिफारिस गरिएको छ । यो जात ४०–४५ दिनमा तयार हुन्छ र २०४६ सालमा उन्मोचित गरिएको हो ।

यो नेपालको स्थानीय जात हो । यो जात पछौटे जात हो र ढिलो तयार हुन्छ । बीउ छरेको ७०–८० दिनमा मुला तयार हुन्छ । यसको पात हरियो, सीधा र पातको नसा पनि रातो खालको हुन्छ । यो जात ३०–४० से.मि. लामो, मोटो, माथिबाट तल सानो हुँदै गएको, बाहिरी भाग रातो र सेतो मिसिएको हुन्छ र मुला गुलियो हुन्छ । यो मन्द पिरो हुन्छ । फुल गुलाबी सेतो र बीउ सानो र चेप्टो हुन्छ । यो जातको मुला करिब २ टन प्रति रोपनी उत्पादन हुन्छ । यो खासगरी पहाडी क्षेत्रमा खेती गरिन्छ र यसलाई २०५१ सालमा उन्मोचित गरिएको हो ।

यो मुला गर्मी याममा लगाउन हुने र चाँडो जरा तयार हुने अघौटे जातको मुला हो । बीउ छरेको ३५ देखि ४५ दिनमा बाली तयार हुन्छ । पात झुस नभएको, हरियो, सीधा र नकाटिएको हुन्छ । यो जातको मुलाको जरा १५ से.मि. लामो, मोटाइ ७ से.मि. गुलियो, सेतो र केही पिरो हुन्छ । यसको उत्पादन करिब १.४ मे. टन प्रति रोपनी हुन्छ । यो जात मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । यो २०५१ सालमा उन्मोचित गरिएको हो ।

यो बढी तापक्रम सहन सक्ने ढिलो हुने पछौटे जात हो । यसको बीउ छरेको ५०–५५ दिनमा बाली तयार हुन्छ । मुला करिब २५ से.मि. लामो तथा ४ से.मि. व्यास भएको हुन्छ माथिबाट तलसम्म केही सानो हुँदै गएको र सेतो रंगको हुन्छ । पात खस्रो, गाढा हरियो चिरिएको र ठाडो हुन्छ । यो जात मध्य पहाडको लागि सिफारिस गरिएको छ र २०५१ सालमा पञ्जीकरण गरिएको हो । यसको मंसिर देखि माघमा बीउ छर्न सकिन्छ तथा उत्पादन करिब १ टन प्रति रोपनी हुन्छ ।

यो जातको मुला जापानबाट आएको उन्नत मुलामध्ये सबैभन्दा पुरानो जात हो । यसको रंग सेतो हुन्छ तथा यसले बढी तापक्रम सहन सक्छ । यो एक पछौटे जातको मुला हो । बीउ छरेको करिब ६० दिनमा बाली तयार हुन्छ । यो जात ३५ से.मि. लामो, मोटाइ ६–८ से.मि.., माथिबाट तल साँगुरिदै गएको हुन्छ । यसको पात सीधा र हल्का हरियो हुन्छ । मुला केही पिरो हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ र यसलाई २०५१ सालमा उन्मोचित गरिएको हो ।

नेपालमा खेती गरिंदै आएका वर्णशंकर जातहरू धेरै छन् । अल सिजन ह्वाइट, मिनोअर्ली लङ ह्वाइट, एनी सिजन, ग्रीन वो, ग्रीन नेक, लङ ह्वाइट मिनोङ, वी. एन ४२९, सिन्जिन, वाई आर ह्वाइट स्प्रिङ, ट्रपिकल क्रस आदि हुन् । भारतीय जातहरूमा पुसा हिमानी, पुसा चेतकी, पुसा रेशमी र पन्जाब सफेद हुन् भने अन्यमा ह्वाइट आइसिकल, चाइनिज रातो आदि मुलाका प्रमुख वर्णशंकर जातहरू हुन् ।

आवश्यकता

मुलाको सफल खेतीको लागि १८-२४ डि.से. सम्मको तापक्रम र उचित प्रकाशको आवश्यकता पर्छ । माटोको चिस्यान ६०-७० प्रतिशत र माटोमा प्रशस्त पौष्टिक तत्वको उपस्थिति पनि यसको खेतीको लागि नभई नहुने कुरा हो । उचित वातावरणीय अवस्था नभएमा मुलाको डुकु निस्कने, मुला सानो डल्लो फल्ने, पिरोपनाको मात्रा वढ्ने, जरा फाट्ने आदि जस्ता समस्या देखा पर्दछन् ।

जग्गा तयारी

मुला ड्याङ ड्याङमा रोपिने तरकारी हो। कहिलेकाही सानो मुला वा साग खाने हेतुले छर्ने गरेको पनि देखिन्छ । यसको दुरी जात जात अनुसार फरक छ । सानो एक महिना जतिमा बाली तयार हुने जात जस्तै चालिस दिने मुला भएमा बाक्लो रोप्नु आवश्यक छ । ठूलो उष्ण प्रदेशीय वा एशियाली जातका मुला ४५×२५ से.मि. को स्थानान्तरणमा लगाउँदछन् । यस्तो स्थानान्तरणमा लगाउन तयार गरी राखेको खेतमा ७५ से.मि. को फरकमा लामा लामा ड्याङ बनाइन्छ र हरेक ड्याङमा ४५ से.मि. को फरकमा २ लाईनमा बीउ खसालिन्छ । यसमा प्रतिरोपनी २५०-३०० ग्राम बीउ लाग्दछ ।

मुला खेतीको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ । यसको लागि २०-३० से.मि.को गहिराइमा राम्ररी २-३ पटक जोतेको जमिन उपयुक्त मानिन्छ। यसरी खनेको जग्गामा एक टन प्रतिरोपनीका दरले गोबर मल चारैतिर पर्ने गरी हाल्नुपर्छ। डल्ला फोरेपछि रसायनिक मल प्रतिरोपनी ५ के.जि. नाइट्रोजन, ३ के.जि. फोस्फोरस र ४ के.जि. पोटास हाल्नुपर्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मुलाको प्रायः सबै किसिमको माटोमा खेती गर्न सकिन्छ तर राम्रो जैविक पदार्थ भएको हल्का बलौटे दोमट माटो नै उपयुक्त हुन्छ ।

बीउ रोपेपछि उपयुक्त माटोको चिस्यान र तापक्रममा उम्रन शुरु गर्दछ । यसका साथै झारहरू पनि बढ्न शुरु हुन्छन्, तिनीहरूको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नका लागि गोडमेलको आवश्यकता पदर्छ । गोडमेल गर्दा झरपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने र युरिया मलले टपड्रेस गरी माटोको उकेरा दिने |
वर्षाको बालीलाई सिंचाइको आवश्यकता पर्दैन । माटोमा चिस्यान कम भएमा ३–४ पाते हुँदा हल्का सिंचाइ गर्नु आवश्यक हुन्छ । मुलालाई बढी चिस्यान र बढी सुख्खा पनि हुनु हुँदैन ।

रोग व्यवस्थापन

मुलालाई घाउ लागेमा या प्लास्टीकमा राख्दा यो रोग लाग्छ । यो रोग नलागोस भन्नको लागि एक ठाउँबाट अर्को ठाउँमा लाँदा ५–१०⁰ से.तापक्रम कायम गर्नुपर्छ ।

यो रोग ढुसीबाट हुन्छ । प्रायः यसको लक्षण बोरोन तत्वको कमी भएको माटोमा बढी भेटिन्छ । यसको आक्रमणले मुलामा बढी क्षति पुर्याउँछ । यो रोग लागेमा जराको वृद्धि हुँदैन र ससाना मसिना जरा नजिकबाट रोगले आक्रमण गर्दछ र मुलामा कालो दाग देखिन्छ । रोगको आक्रमण बढ्दै गइसकेपछि जरा तथा बिरुवाको वृद्धि हुँदैन जसले गर्दा कालो दाग मुलाको भित्री भागसम्म फैलिन्छ । यो रोग माटोमा धेरै वर्षसम्म रहिरहने हुनाले मुला, सलगम तथा अन्य जरेबाली खेती गरिरहेको जग्गामा घुम्ती बाली प्रणाली अपनाउनु पर्दछ जस्तै प्याज, लसुन, खुर्सानी आदि ।

यो रोग जराबाहेक बोटको अन्य भागहरूमा लाग्छ । पातको तल्लो सतहमा र डाँठहरूमा समेत सेता धूलोका थोप्लाहरू देखिन्छन् । रोग लागेको जम्मे डाँठ, फूलको साइज नराम्रोसँग बढेर जान्छन् । बोटहरू होचा पातहरू साना देखिन्छन् । बोटहरू सामान्य रूपमा बढ्न सक्दैनन् । यसबाट बच्न रोग लागेको भाग बटुलेर जलाउने, लामो समय सम्म घुम्ती बाली लगाउनु पर्दछ ।

यो रोग फ्युजारियम ढुसीबाट हुन्छ र तापक्रम बढी भएमा लाग्छ । हरेक वर्ष एकै ठाउँमा मुला लगाएमा यसको प्रकोप बढी हुन्छ ।

बाली कटानी तथा भण्डारण

मुला बाली तयार भएपछि (डुकु आउनु अघि) नभाँचिने र घाउ नलाग्ने गरी उखेल्नुपर्छ । राम्रोसँग माटो पखाली, कलिलो पात मात्र राखी जुटको बोरामा राखेर बिक्रीका लागि लानुपर्छ । मुलाको माग अनुसार उखेली बेच्ने हुनाले भण्डारणको धेरै जरुरत पर्दैन |

सन्दर्भ सामग्री

सन्दर्भ

जरेबाली समूह तरकारी खेती प्रविधि
तरकारी खेती प्रविधि
चैत, २०६८
नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा
सिंहदरबार, काठमाडौं नेपाल
Asian Food and Agriculture Cooperation initiative