परिचय

रामतोरिया उष्ण र उपोष्ण क्षेत्रको महत्वपूर्ण तरकारी बाली हो । यसका कलिला फल तारेर वा तरकारी पकाएर खाइन्छ । यसलाई सलाद र सुप बनाउनमा पनि प्रयोग गरिन्छ । डाँठ र फलमा हुने रेसालाई कागज उद्योगमा प्रयोग गरिन्छ । यसको सेवनले खाना पचाउनमा सहयोग गर्दछ । रामतोरियाको उद्गम स्थल अफ्रिका एसियाका वा एसियाका उष्ण क्षेत्रहरू हुन् । नेपालका सबै जिल्लाहरूमा यसको खेती हुन्छ । तराई र मध्य पहाडी क्षेत्रमा यसको व्यावसायिक रूपमा खेती हुन्छ । वसन्त ग्रीष्मयाममा बजारमा रामतोरियाको माग बढी हुन्छ ।

okra   okra

जातहरु

नेपालमा रामतोरियाका धेरै स्थानीय र बजारमा पाइने उन्नत जातहरूको खेती गरिन्छ । सरकारी तहबाट खेती गर्न सिफारिस गरिएका जात पार्वती र अर्को अनामिका हुन् ।

पार्वती
यो २०५१ सालमा उन्मोचित भएको धेरै उत्पादन दिने, अगौटे जात हो । यो नेपालको तराई, मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको छ । यो जातले पातको नसा पहेंलिने रोग (Okra yellow vein mosaic virus) सहन सक्दछ । यसको फल मध्यम हरियो हुन्छ । बीउ रोपेको ५०–६० दिनमा पहिला फल टिप्न सकिन्छ ।

अर्का अनामिका
यो २०६७ सालमा उन्मोचित गरिएको खुला सेंचित जात हो । नेपालका तराई, मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको छ ।

आवश्यकता

रामतोरिया गर्मी मौसमको बाली हो । यसको सफल खेती गर्न उच्च तापक्रम, तेजिलो घाम र ओसिलो हावा भएको ४ महिनाको बाली अवधि चाहिन्छ । शीतोष्ण क्षेत्रमा यसको खेती गर्मी मौसममा गरिन्छ । यसको बोटको वृद्धि, फूल्ने र फल्न २५–३० डि.से. तापक्रम उपयुक्त हुन्छ । दिउँसोको तापक्रम ४२ डि.से. भन्दा माथि पुगेपछि फूल झर्न थाल्दछन् । यसले तुषारो खप्न सक्दैन । रामतोरियाको खेती धेरै किसिमका माटोमा गर्न सकिन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको र पानी अडाउन सक्ने बलौटे दोमट वा दोमट माटोमा यसको खेती राम्रो हुन्छ । माटोको ६.०–७.५ पी.एच. मान उपयुक्त हुन्छ ।

जग्गा तयारी

रामतोरियाको बीउ प्रतिरोपनी ७५० ग्राम लाग्दछ। रामतोरिया तरकारीको लागि तराईमा ग्रीष्ममा उत्पादन गर्न माघमा लगाईन्छ । पहाडमा यो चैत-वैशाखमा लगाईन्छ । रामतोरियालाई माटोको उर्वराशक्ति, जात र लगाउने समयलाई ध्यानमा राखेर रोप्ने दुरी निर्णय गरिन्छ । वर्षा मौसमको बालीको लागि लाईनदेखि लाईन ६० से.मि. देखि १०० से.मि. र बोट-बोटको दुरी १५-२० से.मि. राखिन्छ। बीउ १-२ से.मि. गहिराइमा रोपिन्छ ।

उच्च पहाडमा रामतोरियाको बीउ वैशाख–जेठमा रोपेर असार– साउनमा बाली लिइन्छ मध्य पहाडमा फागुन देखि असारसम्म बीउ रोप्ने र जेठ देखि असोजसम्म बाली लिन सकिन्छ । तराईमा माघ देखि असारसम्म बीउ रोपेर वैशाख देखि असोजसम्म कलिला फल टिप्न सकिन्छ ।

हिउँदे बालीका लागि ड्याङ नबनाईकन हार–हारको बीचमा ५० से.मि. र बोटको बिचमा ३० से.मि. फरकमा दुई–दुई दाना बीउ २–३ से.मि. गहिराइमा रोपिन्छ । वर्षे बालीका लागि १२० से.मि. चौडाइका ड्याङ बनाउने दुई ड्याङको बीचमा ३० से.मि. खाली राख्ने जसमा १५ से.मि. गहिरो कुलेसो पर्दछ । एक ड्याङमा दुई हारमा बीउ रोपिन्छ । हार – हारको बीचमा ६० से.मि. बोट–बोटको ३० से.मि. फरकमा २÷२ दाना बीउ रोप्दा राम्रो हुन्छ । बीउलाई २४ घण्टा पानीमा भिजाएर पछि पानी ओबाएपछि रोप्नुपर्दछ ।

गहिरो गरी ३–४ पटक जोतेर माटो तयार गरिन्छ । तेस्रो जोताइ गर्दा गोबर मल राखिन्छ र अन्तिम जोताइ गर्दा रासायनिक मल राखिन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

एक रोपनी जमिनको लागि १००० के.जी. गोबर मल, ८ के.जी. युरिया, ६ के.जी. डी.ए.पी. र ३ के.जी. पोटास चाहिन्छ । बीउ रोप्नुभन्दा २–३ हप्ता पहिला गोबर मल राखिन्छ । डी.ए.पी. र पोटासको पूरै मात्रा र युरियाको आधा मात्रा अन्तिम जोताइ गर्दा राखिन्छ । बाँकी महिना पछि र अर्को १.२५ के.जी. बीउ रोपेको २ महिनापछि गोड्ने, थप मल दिने र सिंचाइ दिने गरिन्छ ।

रामतोरिया बीउ उम्रेपछि बोट सँगसँगै प्रशस्त झारपात पनि उम्रन थाल्दछ। यसको पहिलो गोडाई एक-डेढ महिनामा झारपात नियन्त्रण गर्न आवश्यक छ। बोट बढीसकेपछि पातले जमिनको सतह ढाक्ने हुँदा त्यति झारपात आउँदैन । तरकारी उत्पादनको लागि माघमा लगाइएको रामतोरियामा बराबर सिंचाईको आवश्यकता पर्दछ । बाली अवधिमा ७-१० पटक सिंचाई गर्नुपर्छ। मनसुनी वर्षा शुरु हुनुअघि नै १-२ पटक सिंचाईको जरुरत पर्दछ ।

सुख्खा गर्मी मौसममा काठको धूलो, पराल, रुखका सुकेका पात वा कालो पोलिइथाइलिनको छापो  हाल्दा उत्पादन बढ्छ |

रोग व्यवस्थापन

पातको नसा पहेंलिने रोग
यो भाइरसबाट लाग्ने खतरनाक रोग हो । पातका नसाहरू पहेंला हुन्छन् । सेतो झिँगाले रोगी बोटबाट स्वस्थ बोटमा भाइरसहरू सार्दछ र पूरै बगैँचा पंहेलो देखिन्छ ।

रोकथाम

  • रोगी बोटहरू उखेलेर जलाउनुपर्दछ ।
  • रोग निरोधक जात जस्तै पार्वती, अर्को अनामिका लगाउनु पर्दछ ।
  • मालाथियन ०.१% वा नुभान ०.०४% बीउ उम्रेको १५ र ३० दिनमा दुई पटक छर्कनुपर्दछ ।

धूलो ढुसी रोग (Powdery mildew)
पातमा खैरा सेता धूले दागहरू देखापर्दछन् । खैरो सेतो धूलोले बोट ढाकिन्छ । पात पहेंलिन्छन् र ओइलाउँदछन् । बेभिस्टिन, ०.५–१ ग्राम प्रतिलिटर मिसाई छर्केमा रोगको रोकथाम गर्न सकिन्छ ।

कीरा व्यवस्थापन

छिर्के गवारो (Spotted bollworm)
लाभ्रेले मुना, कोपिला, फुल र चिचिला प्वाल पारेर भित्र–भित्र खाइदिन्छन् तथा चिचिलाहरू झर्दछन् । फल खान लायक हुँदैन ।

रोकथाम

  • फलहरू छिटो टिप्नुपर्दछ
  • घाउ लागेका फलहरू जम्मा गरेर माटोमा गहिरो गरी गाड्नुपर्दछ ।
  • साइपरमेथ्रिन २ मि.लि प्रतिलिटर पानीमा छर्कनुपर्दछ ।

फडके (Leaf hopper)
यसका माउ र बच्चा दुवैले पातको तल्लो सतहमा बसेर रस चुस्दछन् । पातको किनारबाट पहेंलिन्छ र पछि खैरो–रातो रंगको हुन्छ । मालाथियन (०.०५%), फेन्भेलेरेट (०.०२%) वा साइपरमेथ्रिन (०.०२%) ले बालीमा छर्कनुपर्दछ ।

बाली कटानी तथा भण्डारण

बाली लिने
रामतोरियाका कोसाको लम्बाइ ५ देखि २० से.मि.सम्म हुन्छ । कोसा ७–१० से.मि. लामा र कलिला उच्च गुणस्तरका हुन्छन् । टिप्न ढिलो गरेमा गुणस्तर घट्दै जान्छ । प्रत्येक २–३ दिन बिराएर कोसा टिप्नुपर्दछ । फुल लागेको ५–७ दिनमा कोसाको उपयुक्त टिप्ने समय हुन्छ । टाढाको बजारको लागि साँझपख बाली टिप्नुपर्दछ ।

उत्पादन
रामतोरिया रोपेको ७०-१०० दिनमा कोशा पटक-पटक गरी टिप्नुपर्छ। ताजा उपयोगको लागि कोसा नछिप्पिएको कमलो अवस्थामा टिपिन्छ। एक रोपनीमा सरदर ६ सय किलो उत्पादन हुन्छ ।

उत्पदानोपरान्त गरिने क्रियाकलापहरु

लम्बाइका आधारमा कोसाको वर्गीकरण गरिन्छ । ६–८ से.मि. लामा कोसा टाढाको बजारको लागि छनोट गरिन्छ । यो भन्दा लामा कोसाहरू स्थानीय बजारमा लगिन्छ । सबै आकर्षण नभएका फलहरू हटाइन्छ । कोसा टिपेपछि ठन्डा ठाउँमा राख्नुपर्दछ । टाढाको बजारको लागि कागजका कार्टुनमा राखेर ढुवानी गर्नुपर्छ । तापक्रम ७–१० डि.से. र ९०–९५% सापेक्षित आद्र्रताको अवस्थामा ७–१० दिन राख्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ

फलबाली समुह तरकारी खेति प्रविधि

तरकारी खेती प्रविधि चैत, २०६८

नेपाल सरकार

कृषि तथा सहकारी मन्त्रालय

कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा

सिंहदरबार, काठमाडौं नेपाल

Asian Food and Agriculture Cooperation initiative

तरकारी खेती प्रविधि पुस्तक 
(परिमार्जित संस्करण २०८१)

तरकारीबाली विकास केन्द्र, खुमलटार