परिचय

गाजर चिसो मौसममा हुने जरे बाली हो । यो बाली उष्ण र उपोष्ण क्षेत्रमा जाडो मौसममा र शीतोष्ण क्षेत्रमा वसन्त, ग्रीष्म र शरद ऋतुमा लगाइन्छ । यो ज्यादै महत्वपूर्ण तरकारी तथा सलाद बालीको रूपमा चिनिन्छ । यसको खपत हरेक वर्ष बढ्दै गइरहेको छ । गाजर सलादको रूपमा काँचै खान पनि सकिन्छ र अरू तरकारीका रूपमा, अचारको रूपमा, गाजर हलुवा, जुस आदि बनाएर खान सकिन्छ । यो अल्फा र विटा क्यारोटिन Alpha and Beta Carotene (भिटामिन ए. बन्ने कच्चा पदार्थ) प्रचुर मात्रामा पाइने जरे तरकारी बाली हो । गाजरको जरामा सुक्रोजको मात्रा बढी पाइन्छ । गाजरको पोषण तत्वको मात्रा रोप्ने तरिका र नाइट्रोजनको मात्रामा भर पर्दछ । गाजरमा भिटामिन ए लगायत थायमिन, रिवोल्फादिन, नियासिन र फोलिक अम्ल पनि प्रसस्त मात्रामा पाइन्छ । अझ गाजरको पातमा जराभन्दा बढी भिटामिन, फलाम, फस्फोरस एवं क्याल्सियम पाइन्छ । नेपालमा भिटामिन ए को कमी भएका जिल्लाहरूमा गाजरको प्रचार–प्रसार भएमा आँखासम्बन्धी रोग नियन्त्रण गर्न यसको ठूलो योगदान हुनेछ । गाजरलाई औषधिका रूपमा पनि प्रयोग गरिएका उदाहरण पाउँछौं । यो खाएमा पिसाबको मात्रा बढ्ने र यूरिक एसिडलाई निको पार्छ । गाजरमा जीवाणुबाट हुने रोगलाई कम गर्न सकिने औषधीय गुण छ । मृगौलाको रोगलाई लाभदायक हुन्छ। बढी प्रोटीन भएको खाना खाँदा गाजर खाएमा प्रोटिनलाई सन्तुलन राख्न मद्दत गर्दछ । गाजरको बीउबाट निकालिएको तेल खाद्यपदार्थहरू वासनादार बनाउन उपयोग गरिन्छ । यसको तेलले पाचन रसको स्राव गराउने र पेटमा ग्यास भरिएमा उपयोगी हुन्छ ।

carroy   carrot

जातहरु

न्यूकुरोडा जात नेपालमा भित्राइएका जातहरूमध्ये नयाँ हो । तर यस जातिले विस्तारै लोकप्रियता प्राप्त गर्दैछ । यो जातको माग बढ्दैछ । नेपालमा खेती गरिने गाजरका जातहरू निम्नानुसार छन्ः

नान्टिस फोर्टो

यो जातको भित्री र बाहिरी भाग सुन्तला रङको हुन्छ र चिल्लो हुनुका साथै टुप्पो बोधो हुन्छ । रोपेको ९०–१०० दिनमा बाली सकिने हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको जात हो । जराको लम्बाइ १५–२० से.मि. हुन्छ र यसलाई २०४६ सालमा उन्मोचित गरिएको हो ।

कुरोदा मार्क

यो वर्णशंकर जात हो । जरा हल्का सुन्तला रंगको, चिल्लो र एकनासको हुन्छ । यस्को रोप्ने समय असार देखि कात्तिक हो र बोटको उचाइ १० से.मि. हुन्छ । यो जातको उत्पादन ३५० के.जी. प्रति रोपनी हुन्छ । बीउ रोपेको ५०–६० दिनमा बाली लिन सकिने हुन्छ । यो तराई र मध्य पहाडको लागि सिफरिस गरिएको छ र २०६७ सालमा पञ्जीकृत गरिएको हो ।

नेपा ड्रिम

यो वर्णशंकर जात हो र यसको बोट ५७.५ से.मि. हुन्छ । बीउ रोपेको १२० दिनमा बाली लिन सकिने हुन्छ । यसको उत्पादन करिब १ मे. टन प्रति रोपनी हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ र यो २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

सिग्मा

यो पनि वर्णशंकर जात हो र यसको उचाइ ५७.६ से.मि. हुन्छ । यो जात १२० दिनमा बाली तयार हुन्छ र उत्पादन १ मे. टन प्रति रोपनी हुन्छ । यो तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ र २०६६ सालमा नै पञ्जीकृत गरिएको हो ।

न्यू करोदा

यो पनि वर्णशंकर जात हो र बोटको उचाइ १२–१५ से.मि. हुन्छ । यो जात रोपेको १०० दिनमा बाली तयार हुन्छ । यसको उत्पादन ३ मे.टन प्रति रोपनीसम्म हुन्छ । यसलाई तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ र यसलाई २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

आवश्यकता

गाजर खेती प्रायः सबै किसिमको माटोमा गरिन्छ तर गहिरो, खुकुलो र दोमट माटोमा राम्रो हुन्छ । चाँडो बाली उत्पादनको लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ । धेरै अम्लीय माटोमा गाजरको वृद्घि विकास राम्रो हुँदैन । अध्ययनअनुसार ५.०–६.३ पी.एच.मा राम्रो भएको पाइएको छ । धेरै गह्रौं खालको माटोमा चुना हालेर बढी उत्पादन लीन सकिन्छ ।

मुलाजस्तै गाजर पनि तराई र मध्य पहाडमा जाडो मौसममा खेती गरिन्छ भने उच्च पहाडमा गर्मी याममा खेती हुन्छ । बीउको उमार र जराको वृद्घि माटोको तापक्रमले असर गर्छ । बीउ उम्रनको लागि ७.२ डि.से. देखि २३.९ डि.से. सेल्सियस आवश्यक पर्दछ । वैज्ञानिकहरूको अध्ययन अनुसार सबभन्दा ठूलो जरा १०.०–१५.६ डि.से. तापक्रममा पाइएको छ र १५.६–२१.१ डि.से. को बीचमा जराको विकास राम्रो भएको पाइएन तर रंग भने राम्रो पाइएको छ । अर्को परीक्षण अनुसार पूर्वीय जात (जापानिज, कोरियन) तराईमा राम्रो हुन्छ भने पश्चिमी जातहरू पहाडी तथा उच्च पहाडी भागमा जहाँ ४.८⁰–१०⁰से तापक्रममा राम्रो भएको पाइएको छ । बीउ उत्पादन पनि धेरै चिसो क्षेत्रमा मात्र हुन्छ । बीउ उत्पादनका लागि पनि ४.८–१० से. तापक्रम ४ देखि ६ सप्ताह चाहिन्छ अनि मात्रै बीउको लागि डुकु आउँछ ।

जग्गा तयारी

गाजर खेतीको लागि जमिन गहिरो गरी खनेको हुनु आवश्यक छ। माटोको अम्लीयपना ६.५ जति हुनुपर्छ। ज्यादै अम्लीय जमिनमा जरा बढ्न सक्दैन । पाकेको गोबर मल वा कम्पोष्ट एक टन प्रतिरोपनी हाल्नुपर्छ गाजरमा काँचो गोबरको प्रयोगबाट जरा विभाजित हुन्छ । रसायनिक मलको हकमा ५ किलो डि.ए.पी. र २ किलो म्युरेट अफ पोटास जग्गा तयारीमा हालिन्छ ।

काठमाडौं उपत्यकामा यसको खेती बाह्रै महिना गरिन्छ। यसको परम्परागत समय भने उच्च पहाडमा जेठ-साउनमा रोपी साउन-असोजमा उखेलिन्छ । मध्य पहाडमा यसलाई भदौ-असोजमा लगाई मंसिर-पुसमा बाली लिइन्छ । तराई क्षेत्रमा यसलाई असोज-कार्तिकमा लगाई मंसिर-माघमा उखेलिन्छ ।

गाँजरको बीउ ढिलो गरी उम्रन्छ । यस्तो ढिलोपनलाई छोट्याउन बीउलाई पानीमा केहि घण्टा भिजाएर रोपिन्छ । यसलाई राम्ररी तयार पारेको जमिनमा लाईनमा वा छरेर रोपिन्छ। लाईनमा रोप्दा एक लाईनदेखि अर्को लाईनको दुरी ४५ से.मि. राखिन्छ । लाईनमा १० से.मि. को फरकमा पर्ने गरी बीउ खसालिन्छ। एक रोपनी जग्गामा २५०-३०० ग्राम बीउ लाग्दछ । माटोको उपयुक्त चिस्यानमा यो एक हप्तामा उम्रन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

गाजरलाई आफ्नो जीवन चक्रमा धेरै चिस्यानको आवश्यकता पर्दछ । चिस्यान कम भएमा उत्पादन कम हुन्छ । पानीको मात्रा धेरै भएमा पनि पात बढी, हुने राम्रोसँग जरा नबढ्ने र बाली तथा बीउ तयार हुन ढिलो हुने हुन्छ । गाजरलाई छर्नेबित्तिकै सिंचाइ गर्नु राम्रो हुन्छ र त्यसपछि हरेक ६ दिनमा सिंचाइ गर्नुपर्दछ तर फोहरा तरिकाबाट सिंचाइ गर्नु राम्रो हुन्छ । छापो हालेमा उम्रन मद्दत गर्दछ ।

रोग व्यवस्थापन

यो पनि पातमा लाग्ने एक किसिमको रोग हो र यो पातको छेउमा लाग्दछ र घुम्रिने हुन्छ । आद्रता बढी भएको बेला यसको प्रकोप बढी हुन्छ । यसमा माथिकै विषादी दिई नियन्त्रण गर्न सकिन्छ ।

यो रोग ढुसीले गर्दा हुन्छ । कहिलेकाहीँ यो प्रमुख रोग बन्दछ । पातमा साना दुलोका दागहरू देखा पर्दछन् । पातको तल्लो भाग खैरो र पर्पल रंग देखा पर्दछ । यसको नियन्त्रणमा गन्धरको धूलो छर्नु पर्दछ ।

 

यो जाडो याममा लाग्ने रोग हो । यो रोगमा पातमा सानो खैरो थोप्ला र पगघार पहेलो हुन्छ । अन्त्यमा पातहरू मर्दछन् र चाउरिन्छन् । यसो हेर्दा तुषारोले खाए जस्तै हुन्छ । यो बीउबाट सर्ने रोग हो र ओसिलो अवस्थामा यसको प्रकोप बढी हुन्छ । यसको नियन्त्रण गर्न थिरम/क्याप्टानले बीउ उपचार गर्नुपर्दछ ।

कीरा व्यवस्थापन

गाजरमा खासै कीराको प्रकोप देखिँदैन तर गाजरलाई झिँगाले कुनै बेला आक्रमण गर्दछ । यो गाजर छर्ने समय हेरफेर गरी नियन्त्रण गर्न सकिन्छ ।

बाली कटानी तथा भण्डारण

छिटो तयार हुने जातको गाजरलाई पूरा विकास भै नसक्दा नै पहिले उखेलिन्छ र उखेलिँदा माटोमा चिस्यानको मात्रा राम्रो हुनुपर्दछ । त्यसपछि छिप्पिएका पातहरू हटाएर राम्रोसँग पखालेर सफा गरी टोकरी या बोरामा हाली बिक्री गर्न लगिन्छ । गाजर खास गरी साधारण तापक्रममा नै बढीमा ७ दिनसम्म रहन सक्छ । शीत भण्डारमा भण्डारण गर्दा १२० से.मि. र ९८ प्रतिशत आद्रतामा गर्नुपर्दछ र यसरी भण्डारण गर्दा लामो समयसम्म राख्न सकिन्छ । सरदरमा गाजरको उत्पादन करिब एक टन प्रति रोपनी हुन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ
जरेबाली समूह तरकारी खेती प्रविधि
तरकारी खेती प्रविधि
चैत, २०६८
नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा

तरकारी खेती प्रविधि पुस्तक 
(परिमार्जित संस्करण २०८१)

तरकारीबाली विकास केन्द्र, खुमलटार