परिचय

परिचय

उत्पति तथा वितरण

ओखरको उत्पति उत्तर पश्चिम हिमालयको समुन्द्र सतहको १२०० देखि २५०० मिटरसम्मको पहाडी भूभागमा भएको मानिन्छ । उत्तर पश्चिम हिमालय भन्नाले ईरान देखि संभवतः कर्णाली प्रदेशको भूभागसम्म लाई पनि मान्न सकिन्छ । किनकि नेपालको कर्णाली क्षेत्रको उच्च पहाडमा रैथाने जातका कम कडापन भएका देखि कडा हाडे सम्मका ओखर परापुर्व काल देखि पाईने गरेको छ । त्यसैगरी नेपालको महभारत पर्वतको आसपासमा पनि जहाँतहीँ जंगली हाडे ओखर पाईनुको कारणले नेपाल पनि ओखरको उत्पति स्थल हो भन्ने बलियो प्रमाण हो । तर उन्नत जातको ओखर भने ईङ्लिस र पर्सियन जातीका पातलो हाड भएका दाँते ओखर चार दशक पहिले नै नेपालमा भित्रिएर विभिन्न सरकारी फार्म केन्द्रहरुमा लगाईएको थियो र आज तिनै फार्म केन्द्रबाट उत्पादन भएका विरुवाबाट नै नेपाल राष्ट्र् भरी फैलिएको छ । साथै नेपालको सुदूर पश्चिम जिल्लाका निजि नर्सरीहरुले प्रशस्त मात्रामा विरुवा उत्पादन गरी रहेका छन ।

वानस्पतिक  बर्गिकरण

ओखर हिंउदमा पात झर्ने पतझड फलफूल हो । यसको फल सुख्खा हुने भएकोले Dry fruit nut भन्ने पनि गरिन्छ । पर्सियन ओखर भनेर चिनिने juglandaceae परिवार अन्तर्गत पर्ने,यसको वैज्ञानिक नाम Juglans regia L., अग्रेंजी नाम walnut र नेपाली नाम ओखर हो । हालसम्म यसका करिब २१ जाती रहेको पाईन्छ।  

नेपालमा ओखर विरुवाको श्रोत

नेपालमा दशकौं देखि ओखर विरुवाको उत्पादन मुख्यगरी सुदूरपश्चिमका बैतडी देखि मध्यपश्चिमका जुम्ला,हुम्ला,डोल्पा जिल्लाहरुमा निजिस्तरमा प्रशस्त बिरुवा उत्पादन गरिरहेका छन । सुदूरपश्चिमको बैतडीमा सरकारीस्तरमै मुख्य श्रोत केन्द्र स्थापना गरिएको छ भने मार्फा,सोलु,किर्तिपुर फार्ममा पनि ओखरका बिरुवा उत्पादन गर्ने गरिन्छ । तर पनि अझै शुद्ध माउबोटको व्यवस्था आवश्यक मात्रामा गर्न सकिएको छैन ।

जातहरु

ओखरका प्रमुख जातहरु

. स्थानिय हाडे ओखर: कडा बोक्रा भएको नेपालको पहाडी भुभागको जंगलमा पाईने जंगली खोखरको पनि आफ्नै विशेषता रहेको छ । यसको बीउबाट बिरुवा बनाई कलमी गर्नको लागी उत्तम खाल्को मुलबृत्त (Root stock) हुन्छ । यसका टिम्बरबाट राम्रा गुणस्तरका काठका बस्तुहरु (फर्निचर, ठेकी, ठेका, आरी, ब्यारल (रक्सि राख्ने भाँडो) आदी बन्दछन ।त्यसैले यस जातीलाई पनि बचाई राख्नु हाम्रो दायित्व हो ।

. थिनसेल: नेपालमा सदियौं देखि पाईदै आएको पातलो बोक्रा भएको जसलाई स्थानिय थिनसेल ओखर पनि भन्ने गरिन्छ ।

. थिनसेल (Thin shell): यो नाम गरेको ओखर चाँही क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो । यसको बोक्रा हाम्रो स्थानिय थिनसेल भन्दा हलुका नरम खाल्को हुन्छ ।

. आशले (Ashley): यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

. हार्टले (Hartley): यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

. फ्रान्क्वेट (Franquete): यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

. पायने (Payne): यो पनि क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

. परताप (Partap): भारतको हिमांन्चल प्रदेशमा विकास गरिएको जात हो ।

. गोविन्द (Govind): भारतको हिमांन्चल प्रदेशमा विकास गरिएको जात हो ।

१०. के.१२ (K-12): भारतको हिमांन्चल प्रदेशमा सन् २००७ मा विकास गरिएको जात  हो । यो जातको ओखर उच्च गुणस्तरको मानिएको छ ।यसमा ५८ प्रतिशत भन्दा बढी गुदी पाईन्छ ।

आवश्यकता

हावापानी

ओखर बालीले तुषारो देखि हल्का हिंउसम्म सहन सक्दछ तर अत्यधिक हिंउ पर्ने स्थानमा काण्डमा असर गर्ने गर्दछ । त्यसैगरी गर्मी मौसममा अधिक गर्मी हुने स्थानमा पनि ओखर बाली लगाउन उपयुक्त हुदैन । त्यसैले ओखरको जात हेरी समुन्द्र सतहबाट १००० देखि २५०० मिटरसम्ममा सफलतापुर्वक ओखर खेती गर्न सकिन्छ । ओखर खेतीको लागी जातिय विशेषको आधारमा बार्षिक ७०० देखि १५०० घण्टा चिलिङ आवश्यक पर्दछ । बार्षिक बर्षा ७६०मि.मि. सम्म भएमा यसको खेती राम्रो हुन्छ ।

माटो

ओखर खेतीको लागी पानीको निकास राम्रो भएको,पानी नजम्ने तर चिस्यान रहिरहने, प्राङ्गारिक पदार्थ प्रशस्त भएको, ३ मिटरसम्म गहिरो माटो भएको, पाँगो देखि चिम्ट्याईलो दुमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच. ६ देखि ७ सम्ममा राम्रो उत्पादन लिन सकिन्छ ।

नर्सरी व्यवस्थापन

ओखरको विरुवा प्रशारण

ओखरको विरुवा प्रशारण
ओखरको विरुवा प्रशारण गर्नु पनि एउटा महत्वपुर्ण पाटो हो । अन्य फलफूलको तुलनामा ओखरको प्रशारणमा केही जटिलता छ । यसको लैङ्गिक प्रशारण तथा बानस्पतिक प्रशारण दुवै तरिकाबाट गर्न सकिन्छ । दुवै तरिकाको बर्णन यस प्रकारको छ ।

बीउबाट विरुवा प्रशारण (लैङ्गिक प्रशारण)
सामान्यतः ओखरका विरुवा बीउबाट प्रशारण गर्ने गरिन्छ । भलै यसको फल फल्ने ७—८ बर्ष लामो समय लाग्दछ । बीउबाट प्रशारण गर्नको लागी बीउको शुद्धता अनिवार्य हुन्छ । यदी बीउ अशुद्ध भएमा ठूलो धोखा हुन पुग्दछ ,किनकी लामो समयको फल उत्पादन पछि मात्र थाहा पाइन्छ । त्यसबेला हाडे ओखर पर्न गएमा ठूलो मेहनत खेर जान्छ । त्यसैले दाँते ओखर नै हो भन्ने शुद्ध जात एकिन भए पछि मात्रै वीउको जोहो गर्नु पर्दछ । वीउ छिप्पिएको र ताजा (सोही वर्ष फलेको) हुनु अनिवार्य हुन्छ । पुरानो वीउको उमार शक्ति एकदमै कम हुने गर्दछ । ओखरको फल भदौ/असोजमा पाक्ने गर्दछ । छिप्पिएको बीउलाई एक हप्ता सुकाएर जतिसक्दो चाँडो जमिनमा रोपेमा उमार शक्ति पनि धेरै हुने (८०%) र उम्रने समय पनि चाँडो हुन्छ ।

तर माथी भनिए जस्तै तुरुन्तै रोप्न सकिएन भने बीउ उपचार गरी सुख्खा र चिसो स्थानमा बीउ भण्डारण गर्नु पर्दछ । पछि बीउ रोप्नु भन्दा दुइ महिना अगाडी बीउलाई स्ट्रार्र्टीफिकेशन (stratification) अर्थात चिसो उपचार गरेर बीउको बोक्रा फुटेर टुसाउन थाले पछि जमिनमा रोप्न सकिन्छ । यसरी बीउबाट लैङ्गिक प्रशारण गर्न सकिन्छ ।

वानस्पतिक प्रशारण (लैङ्गिक प्रशारण)
जातिय शुद्धता र फल लागि सकेको स्वस्थ माउ बोटबाट हाँगा वा मुना (Dormant bud) लिई जरा भएको अर्को मूलबृत्त (rootstock) मा जोडेर नयाँ बिरुवा तैयार गरिन्छ भने त्यसलाई वानस्पतिक प्रशारणबाट तैयार भएको बिरुवा भनिन्छ । यस्तो प्रकारको बिरुवा पूर्ण रुपमा माउको गुण बोकेको जातिय शुद्धता हुन्छ । त्यसै गरी फल पनि चाँडै लाग्ने हुन्छ । तर नेपालमा अलैङ्गिक प्रशारण विधिबाट उत्पादित बिरुवा आबश्यक संख्यामा पाउन गाह्रो छ, किनकी हाम्रा सरकारी फार्म तथा निजी नर्सरीहरुमा कलमी विरुवा उत्पादन संख्या साह्रै न्यून रहेको छ । यसो हुनुमा प्रविधिक कार्यको झन्झटिला श्रृङ्खलाहरु र दक्ष जनशक्तिको अभावले हुन गएको हो । तर यी कुराहरु परिपुर्ति गर्ने हो भने कलमी विरुवा धेरै उत्पादन गर्न सकिन्छ । यस्ता विरुवालाई नै प्राथमिकता दिनु पनि पर्दछ ।

ओखरमा वानस्पतिक  प्रशारणका (कलमी गर्ने) तरिका

(१) शुद्ध माउ बोटको व्यवस्थापन
नर्सरीको स्थापना पुर्ब जातिय शुद्धता भएको ओखरका माउ बोटहरु नर्सरीको लागी मात्र भनी लगाएको हुनु पर्दछ । किनकी त्यस माउ बोटबाट पुर्ण फल उत्पादनको आशा गर्न सकिदैन, कनिभने त्यसबाट फल्ने हाँगा तथा मुनाहरु कलमीको लागी प्रयोग हुन्छन् । त्यसैले नर्सरी धनीले कम्तिमा पनि ५/१० गोटा माउ बोट हुर्काएको हुनु पर्दछ ।

(२) रुटस्टक उत्पादन
ओखरमा वानस्पतिक  प्रशारण (कलमी गर्ने) गर्नको लागी सर्वप्रथमतः मूलबृत्तको लागी हाडे ओखरको वीउको व्यवस्था गर्नु पर्दछ, दाँते ओखरको रुटस्टक बनाउँदा धेरै महगोँ पर्न जान्छ । यस हाडे ओखरलाई नर्सरी व्याडमा उमारेर एक वर्ष हुर्काएर कान्छी औंलाको साईज भए पछि कलमी गर्नको लागी उपयुक्त हुन्छ ।

(३) कलमी गर्ने तरिका
ओखरमा धेरै तरिकाले कलमी गर्न सकिन्छ,तर पनि कलमी गर्ने दक्ष व्यक्तिले हाँसिल गरेको शिपको आधारमा कलमी सफल हुनुमा ठूलो भुमिका रहन्छ । त्यसैले जसले जुन तरिकाले गर्दा सफल बढी हुन्छ त्यसैलाई नै प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

(क) टङ्ग वा वाईप ग्राफ्टिङ्ग (Tongue or wipe grafting)
यसलाई जिब्रे कलमी पनि भन्ने गरिन्छ, किनकी यस तरिकामा जिब्रो जस्तो आकारमा ताछिन्छ । नेपालका सरकारी तथा निजी नर्सरीका कामदार (grafter) हरुको हातमा लामो समय देखि दक्षता हाँसिल गरेर बसेका तरिका हो । ओखरमा यस तरिकामा कलमी गर्दा ६० देखि ७० प्रतिशतसम्म कलमी सफल भएको पाइएको छ । यसको लागी माघ फागुन महिना उपयुक्त हुन्छ । पहिले पहिले यस तरिकामा कलमी गर्दा जरा उखेलेर माटो बिहीन अवस्थामा bench grafting कलमी गरी केही समय राख्नको लागी न्यानो घर (callus house) को व्यबस्था गरिएको हुन्थ्यो भने हालको समयमा सिधै नर्सरी व्याडमा नै (in-situ) कलमी गर्ने प्रचलनमा आएको छ । यसले खर्च पनि कम र कामको र समयको बचत पनि भएको छ । यस तरिकामा रुटस्टकलाई जमिनबाट १५ देखि २० से.मि.को उचाईमा करिब एक ईन्च लामो छड्के गरी ताछिन्छ र ताछेको बीच भागबाट हल्कासंग एक से.मि.जति चिरिन्छ, त्यसै गरी २ देखि ३ आख्लो (मुना) भएको ४/५ ईन्च लामो र समान साइजका सायनलाई पनि सोही तरिकाले ताछ्ने र चिर्ने गरिन्छ, अनी यसलाई एकआपसमा चिरिएको भागमा घुसाईन्छ । त्यसपछि प्लास्टिकको टेपले हावा/पानी नपस्ने गरी बाध्ने गरिन्छ । यो तरिका निकै पुरानो हो र नेपालका धेरैजसो नर्सरीले यो विधिबाट कलमी गर्ने गरेको पाईन्छ । तर यस विधिबाट सायनको खर्च धेरै हुने भएकोले धेरै हाँगाको आवश्यकता पर्दछ ।

त्यसैगरी वाईप ग्राफ्टिङ्ग मा पनि माथी उल्लेख गरेजस्तै गरी ताछे ता पनि बीचको भागमा चाँही चिरिदैन र ताछेको भागलाई एक आपसमा बोक्रा बोक्रा मिल्नेगरी जोडेर बाँधिन्छ । यो तरिका निकै पुरानो भएता पनि नेपालका धेरैजसो नर्सरीले यो विधिबाट कलमी गर्ने गरेको पाईदैन ।

(ख) चिप वडीङ्ग· (Chip budding)
यो पनि निकै प्रचलित विधि हो ,र यो विधिबाट कलमी गर्दा पनि ७०-७५ प्रतिशत सफलता पाईएको छ । पश्चिमा मुलुकमा धेरै प्रचलित विधि हो । नेपालमा पनि केही नर्सरीहरुले मात्र यस विधिबाट कलमी विरुवा उत्पादन गरेका छन् । यो विधिमा सायनको धेरै किफायत हुने भएकोले राम्रो मानिन्छ ,र असफल रुटस्टकलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

कलमी पछिको विरुवाको हेरचाह

यो विषय एकदम् महत्वपुर्ण र संवेदनशिल अवस्था हो । यो अवस्थाको रेखदेखमा हेलचक्राई गरेमा वर्षभरीको मेहनत पुरै खेरजान्छ । त्यसैले यस समयमा बिशेष ध्यान दिनु पर्दछ ।

(१) जनावर र केटाकेटीबाट जोगाउने
कलमी गरेको व्याडमा जनावर तथा केटाकेटीहरुबाट बचाउनु पर्दछ । यिनीहरुले कलमी गरेको भाग चलाउने, हल्लाउने गरेमा कलमी सफल हुँदैन ।

(२) चोरमुना हटाउने
तापक्रम बढेसंगै रुटस्टकबाट मुनाहरु बारम्बार पल्हाईरहन्छन् । त्यस्ता मुनाहरुले जोडिन लागेका कोषहरुलाई सुकाइ दिन्छन् र कलमी सफल हुँदैनन् । त्यसैले बारम्बार त्यस्ता चोरमुनाहरु हटाइरहनु पर्दछ । तर यदी पछिसम्म पनि कलमी गरेको सायन नहल्हाइकन सुकेको छ भन्ने एकिन भएमा एउटा पालुवा मुना छोडीदिनु पर्दछ । त्यो अर्को सालको लागी रुटस्टक बनाउन सकिन्छ ।

(३) सिंचाइको उचित प्रबन्ध गर्ने
कलमी गरेको नर्सरी व्याडमा हमेसा चिस्यान भइरहनु पर्दछ । चिस्यानको कमी भएमा भर्खर जोडिएका कोषहरु पनि सुक्ने गर्दछ र कलमी असफल हुने गर्दछ । तर पानी जमी रहनेगरी चाँही सिँचाइ गर्नु हुदैन।

(४) सरसफाइ
नर्सरी हमेसा सफा भइरहनु पर्दछ । घाँस, झारपातले माटोमा भएको मलखाद सोस्ने भएकोले विरुवालाई खाद्यतत्वको प्रतिकुल प्रभाव पर्नजान्छ भने प्रकाश र हावाको राम्रो संचार हुन नपाई विरुवा कमजोर बन्न पुग्दछ । त्यसैगरी बढी झारपातमा रोग तथा किराको आश्रयस्थल बनी विरुवामा कीरा तथा रोगबाट हुने संक्रमणले थप समस्याहरु पैदा गरिदिन्छ ।

(५) प्लास्टिक हटाउने
कलमी गर्दा बाँधेको प्लास्टिक  तीन महिना पछि अनिबार्यरुपमा हटाउनु पर्दछ । यदी ढिलो भएमा प्लास्टिक ले कलमी भाग कस्सिएर डाँठको भित्र गड्न गई विरुवा भाँचिन जान्छ र मेहनत खेर जान्छ । प्लास्टिक  खोल्नको लागी ल्बेडले साबधानीपुर्बक चिरेर फुकाउन सकिन्छ ।

(६) टेका दिने
कलमी गरेको हाँगाबाट नयाँ पालुवा पल्हाए पछि हावा हुरीले नयाँ पालुवा भाँचिन सक्छ, त्यसको लागी विरुवालाई निगालो वा बाँसको भाटाहरुले टेका दिएर सुतरी डोरीले हल्का खुकुलो गरी बाधीँ दिनु पर्दछ ।

(७) रोग कीराको नियन्त्रण
नर्सरी भन्नाले यो स्थान निकै संवेदनसिल स्थान हो । त्यहाँ ससाना विरुवा लगाईएको र हुर्काईएको हुन्छ । त्यस्ता स्थानमा रोग तथा किराको संक्रमण र आक्रमण भयो भने मेहनत र खर्च हुन सक्दछ ।त्यसमा संवेदनसिल भएर रेखदेख गर्नु पर्दछ । यदी त्यस्ता वस्तुहरुले असर गरेको छ भने तुरुन्तै नियन्त्रणका उपायहरु अपनाउनु पर्दछ ।

जग्गा तयारी

स्थानको छनौट

ओखर खेती गर्नको लागी समतल जग्गा देखि २०डिग्री भिरालो जग्गासम्ममा गर्न सकिन्छ । त्यसैगरी खेतबारीको डिल,सिमानामा पनि लगाउन सकिन्छ साथै खरबारी,सार्बजनिक जमिन,सामुदायिक बनहरुमा पनि खेती गर्न सकिन्छ ।

बगैंचा रेखांकन

बगैंचा रेखांकन
ओखरको बोट धेरै ठुलो हुने भएकाले रेखांकन गर्दा विशेष ध्यान पुर्याउनु पर्दछ । यदी बगैचामा अन्य फलफूल पनि लगाउने हो भने होंचा बोट हुने फलफूललाई दक्षिण तर्फ र ओखरका बोटलाई उत्तर तर्फ लगाउनको लागी रेखांकन गर्नु पर्दछ । रेखांकन गर्दा विरुवा देखि अर्को विरुवाको दूरी १० मिटर कायम गर्नु पर्दछ । यसरी प्रति हेक्टर १०० गोटा विरुवा लाग्दछ । ओखर बगैंचा रेखांकन गर्दा सामान्यतः कण्टुर वा गह्रा कान्ला प्रणाली अपनाउनु नै उपयुक्त हुन्छ । रेखांकन गर्दा ए फ्रेम,प्लान्टिंग बोर्ड प्रयोग गर्नु पर्दछ ।

खाडल खन्ने, पुर्ने

खाडल खन्ने, पुर्ने
बिरुवा लगाउनु भन्दा दुई महिना अगाडी नै खाडल खनेर राख्नु उपयुक्त हुन्छ । खाडल तैयारी गर्दा खाडलको गहिराई र गोलाई एक एक मिटरको खन्नु पर्दछ । माथिल्लो सतहको माटो मलिलो हुने भएकोले त्यसलाई एकापट्टी र तल्लो सतहको माटो उर्वर नहुने भएकोले जमिनको सतहमा नै मिलाई दिनु पर्दछ । यसरी माथिल्लो सतहको माटोमा राम्ररी पाकेको गोबर मल एक डोको,युरिया १०० ग्राम,डि.ए.पी.२०० ग्राम,पोटास १००ग्राम प्रति खाडलका दरले राम्ररी मिसाई पुर्नु पर्दछ । खाडल पुर्दा जमिनको सतह भन्दा एक फिट अग्लो हुने गरी थुप्रो पार्नु पर्दछ ।

विरुवा रोप्ने

ओखरको विरुवा पुस माघ महिनामा रोप्ने बाली हो । विरुवा रोप्दा प्लान्टिंग बोर्डको सहायताले खाडलको केन्द्र बिन्दुमा पार्नु पर्दछ । जरालाई नखुम्च्याईकन रोप्नु पर्दछ । जरा नखल्बलिनको लागी र नयाँ पालुवालाई सपोर्टको लागी विरुवासंगै टेका दिनु अनिवार्य हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

मलखाद

ओखरलाई मलखाद दिने समय हिँउदको काँटछाँट पछि गर्नु पर्दछ । मलखाद दिने तरिकामा विरुवाको हाँगा फैलावटको आधारमा त्यसको सिधा तल एक फिट चौडा,एक फिट गहिरो बोटको गोलाकारमा कुलेसो खनी त्यसमा मलखाद हाली माटोले पूरी दिनु पर्दछ । मलखादको मात्रा फल नलागेको बोटलाई एक डोको मल, फल फली सकेको बोटलाई २ डोको गोबर मल र रसायनिक मलको हकमा तल दिइएको टेबुलको मात्रा अनुसार उमेरको आधारमा र बोटको फेंदबाट तल दिइएको दूरी अनुसार मलखाद दिनु पर्दछ ।

 

१बर्षे

२बर्षे

३बर्षे

४बर्षे

५बर्षे

६बर्षे

७बर्षे

८बर्षे

९बर्षे

१०बर्षे

नाइट्रोजन

१००ग्राम

२००ग्राम

३००ग्राम

४००ग्राम

५००ग्राम

५००ग्राम

६००ग्राम

६००ग्राम

७००ग्राम

९००ग्राम

फस्फोरस

५०ग्राम

१००ग्राम

१५०ग्राम

२००ग्राम

२५०ग्राम

३००ग्राम

३५०ग्राम

४००ग्राम

४५०ग्राम

५००ग्राम

पोटास

५०ग्राम

१००ग्राम

१५०ग्राम

२००ग्राम

२५०ग्राम

३००ग्राम

३५०ग्राम

४००ग्राम

४५०ग्राम

५००ग्राम

काण्ड देखिको दुरी

.५मि.

.०मि.

.५मि.

.०मि.

.५मि.

.५मि.

.५मि.

.०मि.

.०मि.

.०मि.

 

 

मल्चिङ तथा सिंचाई

मल्चिङ वा छापो दिने
विरुवा रोपी सकेपछि विरुवालाई नछुने गरी बाक्लो गरी खर वा पराल वा झारपातले छापो दिनु पर्दछ । यसरी छापो दिंदा माटोमा चिस्यान लामो समयसम्म कायम रहन्छ भने झारपात पनि नियन्त्रण हुन्छ अर्थात कम उम्रने गर्दछ ।

सिंचाई
विरुवा रोपी सके पछि तत्कालै सिंचाई गर्नु पर्दछ । बाक्लो गरी मल्चिङ दिएको खण्डमा एक पटक सिंचाई गरे पछि हप्ता दश दिनसम्म चिस्यान रहीरहन्छ । विरुवा राम्ररी नसरेसम्म चिस्यानको ख्याल गर्नु पर्दछ । त्यसैगरी मलखाद दिईसके पछि ,फूल फुल्ने समयमा पनि अनिवार्य सिंचाई गर्नु पर्दछ ।

तालिम तथा काँटछाँट

ओखरको बोटलाई विशेषगरी परिबर्तित अगुवा प्रणाली (Modified Leader System) र केन्द्रीय अगुवा प्रणाली (Central Leader System) मा तालिम गर्ने गरिन्छ । ओखरको बोटलाई धेरै काँटछाँटको आबश्यकता पर्दैन तर काँटछाँट गर्दा विशेष ध्यान दिनु पर्दछ, किनकि यसको पालुवा आउने,फुल फूल्ने आँखा केबल हाँगाको टुप्पातिर मात्र हुन्छ । त्यसैले टुप्पा तिर बढी काँटछाँट गरेमा फल उत्पादन शुन्य हुन सक्दछ ।

रोग व्यवस्थापन

खैरो पात थोप्ले रोग (Anthracnose)

यो पनि ढुसी जन्य रोग हो । यो Gnomonia leptostyla नामक ढुसीले विशेषगरी उच्च तापक्रम र उच्च आद्र्रता भएको मौसममा यसको प्रकोप बढी हुन्छ । यसले शुरुमा पातमा मसिना काला थोप्लाहरु देखा पर्दछ र क्रमस डाँठ तथा फलमा पनि कालो दागहरु देखा पर्दै फलहरु नपाक्दै झर्न थाल्छ । यसको बढी प्रकोप भएमा फल पुरै झरेर शुन्य पनि हुन्छ ।

नियन्त्रण
यो मौसमी रोग भएकोले पानी नपर्ने,सुख्खा मौसम भएमा प्रकोप पनि कम हुन्छ । यदी समय समयमा बर्षा भएमा चाँडै संक्रमण हुन्छ । यसको लागी नयाँ पालुवा आए पछि १ पटक तामायुक्त ढुसीनाशक विषादी कपरअक्सिल्कोराइड २ ग्राम प्रति लिटर पानीका दरले पुरै बोट भिज्ने गरी स्प्रे गरी दिनु पर्दछ । दोश्रो पटक फलको चिचिलो लागे पछि १ प्रतिशतको बोर्डोमिक्सचर बोट पुरै भिज्ने गरी स्प्रे गरेमा यो रोग पुर्ण नियन्त्रण हुन्छ ।

गलगांड रोग (Crown gall)

गलगांड रोग (Crown gall)
यो गलगाँड रोग Agrobacterium tumefaciens नामक शाकाणु (Bacterium) बाट लाग्ने गर्दछ ।ओखर बगैंचामा खासै देखा नपरे ता पनि सधै एकै स्थानमा नर्सरी विरुवा उत्पादन गरी राखेमा यो रोग नर्सरीबाट सर्न सक्ने हुन्छ । त्यसैले विरुवा उत्पादन गर्ने नर्सरी २–३ बर्षमा जग्गा परिवर्तन गरी रहनु पर्दछ । यदी नर्सरी वा बगैचामा यो रोग देखा परेमा विरुवा उखेली जलाई दिनु पर्दछ । यो रोगको लक्षणमा जमिनको सतह नजिकको काण्डमा सेतो खैरो नरम मकैको दाना जस्तो गिर्खा देखा पर्दै ,यो गिर्खा बढ्दै ठूलो गाँड जस्तो कालो खैरो रंगको हुन्छ ।

नियन्त्रण
यसको उपचार महंगो हुने हुनाले उपचार तिर लाग्नु भन्दा लक्षण देखा परेमा उखेली जलाई दिनु नै उपयुक्त हुन्छ र त्यस ठाँउको माटोलाई लामो समयसम्म घाममा सुकाउने र त्यस खाडलमा घुस्यान (पात पतिंगर) पोलेर माटो उपचार पछिमात्र पुन विरुवा रोप्नु पर्दछ । त्यसै गरी संक्रमित जग्गामा नर्सरी विरुवा उत्पादन गर्नु हुदैन ।

ओखरको डढुवा रोग (walnut blight)

ओखरको डढुवा रोग (walnut blight)
यो रोग Xanthomonas campestris var. juglandis नामक शाकाणु (Bacterium) बाट लाग्ने गर्दछ । धेरै बर्षा हुने, हुस्सु कुइरो लाग्ने गर्दा यसको संक्रमण बढ्ने गर्दछ । यसले पात, फूल र फलमा आक्रमण गर्दछ । यो रोगको लक्षणमा पातमा पानीले भिजेको जस्तो दाग देखिने र पछि हरियो पहेंलो घेरा बनाइ खैरो कालो धब्बा देखिन्छ । रोगको प्रारम्भमा कलिला फल झर्दछन् । पछि फल ठुलो भए पछि लागेमा फल कालो भइ चाउरिन्छन् ।

नियन्त्रण
लक्षणको शुरुमै पहिचान गरी १ पटक तामायुक्त ढुसीनाशक विषादी कपरअक्सिल्कोराइड २ग्राम प्रति लिटर पानीका दरले पुरै बोट भिज्ने गरी स्प्रे गरी दिनु पर्दछ । दोश्रो पटक १ प्रतिशतको बोर्डोमिक्सचर बोट पुरै भिज्ने गरी स्प्रे गरेमा यो रोग नियन्त्रण हुन सक्दछ ।

टुप्पा सुक्ने रोग (Die-back)

टुप्पा सुक्ने रोग (Die-back)
यो रोग एक प्रकारको ढुसिबाट लाग्ने गर्दछ । यसको लक्षणमा शुरुको अवस्थामा पातमा अनियमित खैरा थौप्लाहरु देखिन्छन्,थोप्लाहरु बढेर पुरै पातमा ढाकिन्छन् । पछि पातहरु झरेर हाँगाहरु नाङ्गा हुन्छन् । त्यसै गरी कलिला हाँगाहरु टुप्पाबाट कालो हुँदै सुक्दै जान्छन् । ससाना विरुवा मर्न पनि सक्छ ।

नियन्त्रण
रोगको लक्षण देखापर्ना साथ कपरअक्सिल्कोराइड् धुलो विषादी २ग्राम प्रति लिटरको दरले १५ दिनको फरकमा २—३ पटक स्प्रे गर्ने । हिंउदको काटछाँट पछि काटिएको भागमा बोर्डो पेष्ट लगाइ दिने र बोटमा बोर्डो मिक्स्चर स्प्रे गरि दिएमा बर्षामा रोगबाट बचाउन सकिन्छ ।

किरा व्यवस्थापन

ओखरको खपटे (Walnut weevil)

ओखरको खपटे (Walnut weevil)
बयस्क खपटे कालो—खैरो रंगको,पखेटा कडा र पुच्छरतिर सेतो धर्सो भएको हुन्छ । सुंड चुचो र लामो हुन्छ । यसले नयाँ पालुवा आए पछि पात तथा मुनाहरु खाई क्षती पुर्याउँछ र हाँगा तथा फलको टुप्पा तिर कोतरेर त्यसमा फुल पारी दिन्छ र लार्भा अवस्थामा त्यस स्थानमा प्वालपारी सुरुङ् बनाउदै खाँदै जान्छ । जसले गर्दा टुप्पा सुक्ने,फल परिपक्व नहुदै झर्ने गर्दछ ।

नियन्त्रण
बोटको फेंदको वरिपरी सरसफाई राख्ने, खपटे देखेमा मास्ने, भुँईमा झरेका फललाई संकलन गरी गहिरो गरी गाड्ने र धेरै प्रकोप भएमा रोगर नामक विषादी २ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्कने ।

गबारो (Trunk, shoot borer)

गबारो (Trunk, shoot borer)
खपटे किराले काण्डको वरिपरी ,बोक्रामा फुल पार्दछ र लार्भाको अवस्थामा काण्ड तथा हाँगामा प्वाल पारी छिरेर भित्र भित्रै सुरुङ् बनाउदै जान्छ । यसको धेरै प्रकोप भएमा काण्ड तथा हाँगामा प्वालै प्वाल बन्दछ र हावा हुरी आउदा हाँगा तथा बोट नै ढल्ने गर्दछ । यसले हुर्की सकेको बोटलाई धेरै क्षती पुर्याउदछ । यसको क्षती थाहा पाउनको लागी काण्ड तथा हाँगाबाट काठको धुलो र बिस्टाहरु बाहिरै देख्न सकिन्छ । यदी यस्ता धुलो र बिस्टाहरु देखिएमा तुरुन्तै नियन्त्रणका उपाय अपनाउनु पर्दछ ।

नियन्त्रण
बोटको फेंदको वरिपरी खपटे किरा देखिएमा टिपेर मास्ने । गबारोले प्वाल पारेको ठाँउमा कपासमा मट्टीतेल वा मालाथायन झोल चोपेर तारको सहायताले प्वालको भित्रीसम्म पुग्ने गरी घुसारेर प्वाललाई गीलो माटोले टाली दिनु पर्दछ ।

लाही किरा (Aphid)

लाही किरा (Aphid)
लाही किरा कलिलो मुना र कलिलो पातको तल्लो तहमा बसेर रस चुस्ने गर्दछ । पात, डाँठमा गुलियो र्याल छोड्दछ र त्यसमा कालो ढुसी पैदा हुन्छ, जसलाई कालो ढुसी रोग (sooty mould) भन्ने गरिन्छ । यो लाही किराले निम्त्याउने दोश्रो संक्रमित (Secondary infection) रोग हो । यसको असरले पात तथा डाँठको भाग कालो ढुसीले ढाकी बोटलाई कमजोर र फल गुणस्तरहीन बनाई दिन्छ ।

नियन्त्रण
ढुसी नै पैदा हुन नदिन लाही किराको नियन्त्रण गर्नु पर्दछ ,यसको लागी इन्ट्रापिड विषादी ०.५मि.लि. प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ । दोश्रो ढुसी नियन्त्रणको लागी १% को बोर्डो मिक्स्चर १५ दिनको फरकमा दुई पटक छरेमा नियन्त्रण हुन्छ ।

कोडलिङ् मोथ (Codling moth)

कोडलिङ् मोथ (Codling moth)
बयस्क पुतली खैरो रंगको १ से.मि. लामो हुन्छ । यसले फलको भेट्नोमा फुल पारी दिन्छ र त्यसबाट निस्केका लाभे्रले फलको कलिलो अवस्थामा नै भेट्नोबाट भित्र छिरी फलको गुदी खाने गर्दछ । यसले असर गरेका फलहरुमा मसिना प्वाल देखिन्छ र त्यसबाट कालो बिष्टा निस्केको देखिन्छ ।

नियन्त्रण
यसले असर गर्नु भन्दा पहिले नै मोहिनी पासो (pheromone trap)मा पुतलीलाई आकर्षित गरी मास्नु प्रभाबकारी उपाय हो ।

झिंगा (Husk fly)

झिंगा (Husk fly)
घरेलु झिंगा जस्तै तर त्यो भन्दा केही ठुलो आकारका राता पहेंला पखेटा भएका झिंगा हुन्छ । यसले फलको बोक्रामा कोतरी फुल पार्दछ र लार्भा अवस्थामा फलको गुदी खाई कुहाउने काम गर्दछ । जसले गर्दा फलहरु परिपक्व नहुदैं झर्ने गर्दछ ।

नियन्त्रण
यसको प्रभावकारी नियन्त्रणको लागी बगैंचा सफा राख्ने, झरेका फललाई संकलन गरेर गहिरो गरी गाड्ने र यत्तिले पनि नियनत्रण भएन भने सेभिन (sevin) विषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ ।

बाली कटानी तथा भन्डारण

फल फल्ने उमेर ,फूल तथा फल लाग्ने अवस्था

फल फल्ने उमेर
यदि कलमी गरिएको विरुवा रोपेको खण्डमा ४ वर्ष देखि नै फल लाग्ने शुरु गर्दछ तर बीउबाट तयार गरेको विरुवा रेपिएको हो भने कम्तिमा पनि फल लाग्न ७ वर्ष लाग्दछ । त्यसैले संभव भएसम्म कलमीबाट उत्पादन भएको विरुवा नै लगाउनु उपयुक्त हुन्छ ।

फूल तथा फल लाग्ने अवस्था
ओखर खेती गर्नेले यो तथ्य र अवस्थालाई विशेष तरिकाले बुझ्नु पर्दछ । यो अति महत्वपुर्ण अवस्था हो । ओखरको एउटै बोटमा भाले र पोथी फूल अलग अलग स्थानमा फुल्ने गर्दछ । भाले फुल एक वर्ष पुरानो हाँगाको फेंदमा लामो झुप्पामा झुण्डिएर फुल्ने गर्दछ भने पोथी फुल नयाँ पालुवा आए पछिको टुप्पामा फुल्ने फल्ने गर्दछ ।

त्यसैगरी अर्को बुझ्नु पर्ने महत्वपुर्ण तथ्य भनेको एकै बोटमा फुलेको भाले फूल र पोथी फुल सामान्यतः समान समयमा परिपक्व हुदैनन् । जसले गर्दा परागशेचन कृया प्रभावित हुन पुग्दछ, फलस्वरुप कम फल्ने, चिचिलोमै फल झर्ने समस्या हुने गर्दछ । त्यसैले ओखर खेती गर्दा दुई वा दुई भन्दा बढी जातहरु मिसाएर रोप्नु उपयुक्त हुन्छ । यसले गर्दा कुनै न कुनै अवस्थामा भाले तथा पोथी फूलहरुको परिपक्वतामा समयको मेल खाई परशेचन (Cross pollination) प्रकृया राम्रोसंग भई फल धेरै र गुणस्तरिय फल्दछ ।

त्यसैगरी भाले फूलका परागकण (pollen) अति मसिनो हुने भएकाले परशेचित गर्ने काम हावाको नै प्रभावकारी र महत्वपुर्ण भुमिका हुन्छ । ओखरको फूल पनि चैत महिनामा फुल्ने र हावाहुरीको मौसम पनि त्यसैबेला पर्ने हुनाले निशेचित हुने राम्रो अबसर मानिन्छ ।

hi

hi

थाहा पाउनु पर्ने महत्वपुर्ण कुरा

यसका परागकणहरु २ कि.मि. टाढासम्म हावाले उडाउने गर्दछ । त्यसैले आफ्नो बगैंचामा नरम बोक्रा भएको दाँते ओखर लगाईएको भएता पनि नजिकका जंगलमा हाडे ओखर छन् भने अवश्य नै भाले फूल पोथी फूल परशेचन हुने संभावना रहन्छ । यस्तो अवस्थामा हाडे र दाँते बिच निशेचित भएर फलेको फलको गुणस्तरमा खासै असर पर्दैन । तर त्यस फललाई पुनः विउको रुपमा उपयोग गरी विरुवा उत्पादन गरेमा चाँही हाडे बन्न सक्दछ । त्यसैले विउ उत्पादन गर्नको लागी प्रयोग गर्ने हो भने हाडे ओखर पाईने स्थानबाट कम्तिमा २ कि.मि.पृथकता दूरी कायम गरेर विरुवा लगाउनु पर्दछ ।

फल छिप्पिने अवस्था

नेपालको हावापानी अनुसार ओखरको फल भदौ असोज महिनामा टिप्ने गरिन्छ । यसको फल एकै पटक नपाकीकन पटक पटक गरी पाक्दछ । फलको बाहिरको बोक्रा फाटिएर भित्रको हाड खैरो रंगको देखिएमा फल छिप्पिएको अवस्था हो । फल रुखमा चढेर हल्लाएर पनि झार्न सक्दछ । तर फललाई एकै पटक एकनासले छिप्पाउने हो भने रसायन प्रयोग गर्न सकिन्छ । यसका लागी फल परिपक्व भए पछि फल झार्नु भन्दा १५—२० दिन अगाडी ईथेफन नामक रसायन २००—५००पि.पि.एम. (०.२—०.५ मि.लि. मा प्रति लि.पानी)को घोल बनाई पुरै बोटमा स्प्रे गरिदिनु पर्दछ ।

उत्पादन

उत्पादन

ओखरको उत्पादन श्रृखला हेर्ने हो भने त्यस का जात, हावापानी,बोटको उमेर र खासगरी बगैंचा व्यवस्थापनमा निर्भर गर्दछ । सामान्यतः विजु बोटको परिपक्व अर्थात  अधिकतम् उत्पादन दिने उमेर भनेको १५—२० बर्षको हो भने कलमी विरुवाको परिपक्व हुने उमेर १०—१२ बर्षको हो । त्यस उमेरमा प्रति बोट १५०—२०० के.जी. सुख्खा ओखरको फल प्राप्त गर्न सकिन्छ । तर फलेको बोटको औषत उमेरको उत्पादन हेर्ने हो भने प्रति बोट ४०—५० के.जी.मात्र उत्पादन लिन सकिन्छ । एक के.जी.मा औषत ९०—१०० दाना फल अट्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

ओखर खेती प्रविधि
धनबहादुर थापा
फलफूल विकास अधिकृत