कलमी शब्द फलफुल बालीमा धेरै समय अगाडि देखी प्रचलित भएतापनि तरकारी वालिमा यसको प्रयोगको इतिहाँस धेरै पुरानो छैन । सधन रुपमा तरकारी वालिको खेती गर्दे जाँदा माटोबाट सर्ने रोगहरु(ढुसीजन्य तथा ब्याक्टेरियाजन्य) तथा निमाटोडको प्रकोप फलखाने तरकारी बालीहरु( गोलभेडा, भण्टा, खुर्सानी, लौका, खरवुजा, काँक्रो आदि)मा ब्यापक रुपमा देखिन थालेपछि बिश्वका बिकसित देशहरु( जापान,कोरिया, नेदरल्याण्ड, अमेरिका, वेलायत आदि) ले रोग अबरोधक रुटस्टकमा कलमी गरि तरकारी उत्पादन गर्न थाले । बिश्वका धेरैजसो बिकसित देशहरुले हालका दिनमा ६० प्र्रतिशत भन्दा बढी फलखाने तरकारी खेति गरिने जमिनमा कलमी गरिएका बिरुवा प्रयोग गर्दछन् भने नेपालमा बिगत २ बर्षबाट गोलभेडाको ब्याक्टेरियाबाट ओईलाउने रोग र निमाटोड नियन्त्रणको लागि बंगलादेशवाट आयतित जंगली भण्टा (Solanum sisimbrifolium) को रुटस्टक प्रयोग गरी गोलभेडामा कलमीको शुरुवात नेपाल कृषि अनुसंधान परिषदको पहलमा वागवानी अनुसंधान केन्द्र मालेपाटन पोखराले, पोखरा आसपास तथा स्यांजा जिल्लाका केही भेगका किसानहरुलाई यो प्रबिधि बारे तालिम दिई अनुसंधानका कार्यहरु गरेको पाइन्छ ।
तरकारी बालीमा कलमी प्रविधि
परिचय
तरकारी बालिमा कलमी गर्नाको मुख्य उद्वेश्य भनेको माटोबाट सर्ने रोगहरु नियन्त्रण गर्ने भएतापनि बाली अनुसार यसका उद्वेश्यहरु निम्नअनुसार छन्:
- खुर्सानी, भण्टा तथा गोलभेडा : ब्याक्टेरियावाट ओईलाउने रोगको प्रकोप कम गर्न, निमाटोडको प्रकोप कम गर्न, फ्युजेरियम दुसीवाट ओईलाउने रोग कम गर्न ।
- काँक्रो, तरवुजा र खरवुजा : फ्युजेरियम दुसीवाट ओईलाउने रोग कम गर्न, कम तापक्रम सहन सक्ने बनाउन ।
जानकारी
तरकारी बालीमा निम्नअनुसारका कलमीका बिधिहरु प्रचलित छन्
- क्लेफ्ट बिधि
- ट्युव बिधि
- पेग बिधि
- एप्रोच बिधि
काँक्रोः फर्सीको रुटस्टक
तरवुजा: कुभिण्डोको रुटस्टक
खरबुजा:लौकाको रुटस्टक
भण्टा: S. integtifolium, S.turvum, S. sisimbrifolium को रुटस्टक लगायत अन्य कर्मसियल रुटस्टक
गोलभेडा: S. sisimbrifolium, L.pinpinel, L.hirsutum लगायत गोलभेडा तथा भण्टाका कर्मसियल रुटस्टक
तरकारीको कलमी फलफूलको भन्दा कठिन कार्य भएकोले गर्दा कलमीबाट बढी भन्दा बढी सफलता हासिल गर्न निम्न कुराहरुमा ध्यान दिन जरुरी छ :
- कलमी कहिलेपनि चर्कोघाममा बसेर गर्न हुदैन
- कलमी गर्ने रुटस्टक र सायनको मोटाई एकनाश हुनुपर्दछ
- कलमी गर्दा काटिएको भाग एक आपसमा राम्रोसंग जोडिएको हुनुपर्दछ
- कलमी गरिसकेपछि बिरुवालाई २८ देखि ३० डिग्रिसेन्टीग्रेड तापक्रम र ९० प्रतिशत भन्दा बढी आद्रता भएको ठाउँमा राख्नुपर्दछ
- कलमी गरिसकेपछि बिरुवालाई ग्राफ्ट युनियन बन्न दिन ५ दिन जति छाहारी दिनुपर्दछ र ग्राफ्ट युनियन बनिसकेपछि बिस्तार घाममा देखाउने कार्य गरी एक हप्तामा पुर्णरुपले छाहारी र प्लाष्टिक हटाई बिरुवालाई बाहिरी वाताबरणमा घुलमिल गराउनुपर्दछ ।
- कलमी गर्न रुटस्टकको चयन गर्दा कलमी गरिएको सायनको बृद्दि विकासमा पार्ने असर तथा आफुले समाधान गर्न चाहेको समस्या प्रति अबरोधी गुणको बिचार गर्न जरुरी हुन्छ
प्रविधि
यो बिधि गोलभेडा , भण्टा तथा खुर्सानीमा प्रयोग गर्न सकिन्छ । यस बिधिको लागि ब्लेड, हाते स्प्रेयर, प्लाष्टिक र छाहारीदिन मान्द्रो वा गुन्द्री आबश्यक पर्दछ । यस बिधिमा यदि S. sisimbrifolium को रुटस्टक प्रयोग गर्ने हो भने उक्त रुटस्टकको ७ देखि १० दिनजति अगाडि वीउ राख्नुपर्दछ । गोलभेडाको रुटस्टक प्रयोग गर्दा ३—४ दिन अगाडि वीउ राखे हुन्छ । यस बिधिमा रुटस्टकको दलिय पात भन्दा ३ सेमी जति माथि ब्लेडको सहायताले २ से.मी सिधा चिरिन्छ । २ देखि ३ वटा मुख्य पात सहितको सायनलाई १.५ सेमी जति भि आकारमा दुवै साईडबाट ताछेर सायनलाई रुटस्टकमा राम्रोसंग मिल्नेगरी राखी क्लिपको सहायताले च्याप्नु पर्दछ र ५ दिन जति छाहारीमा प्लाष्टिक टनेलभित्र राख्नु पर्दछ । वेला बेलामा आद्रता कायम गर्न हाते स्प्रेयरले पानी छर्नुपर्दछ । त्यसपछि बिस्तारै केही समय बिरुवालाई घाममा देखाउने कार्य गर्ने र यसको अबधि बढाउँदै लगि एक हप्तामा पूर्णरुपले बिरुवालाई बाहिरी वाताबरण संग घुलमिल हुन दिनुपर्दछ ।


यस बिधि गोलभेडा, भण्टा, खुर्सानी अादिको लागि उपयुक्त बिधि हो । यस बिधिमा ग्राफ्टिङ्ग ट्युव वा पाईप, ब्लेड,हाते स्प्रेयर, प्लाष्टिक, छायाँदिने मान्द्रो वा गुन्द्री आबश्यक पर्दछ । यदि गोलभेडाको रुटस्टक प्रयोग गर्ने हो भने सायन भन्दा ३—४ दिन अगाडि रुटस्टकको वीउ राख्नु पर्दछ र भण्टाको प्रयोग गर्ने हो भने ७—८ दिन अगाडि राख्न पर्दछ । रुटस्टकमा ५ देखि ७ बटा पात र सायनमा २ देखि ३ वटासम्म पात आएको अबस्थामा कलमी गर्न उपयुक्त हुन्छ । सायनलाई धारिलो ब्लेडले ४५ डिग्रि जति छड्के पारी माथि बाट तल तर्फ काट्ने र रुटस्टकलाई पनि त्यसैगरी तलवाट माथि काट्ने । रुटस्टक र सायन छान्दा दुवैको मोटा्रई एकनाश हुनु आबश्यक छ । रुटस्टक र सायनलाई एकै ठाउँमा राखेर धारिलो ब्लेडले काट्नु पर्दछ । तन्कने रबर वा ग्राफ्टिङ्ग ट्युवलाई रुटस्टकको काटिएको भागतर्फ राख्ने र सायनको काटिएको भागलाई राम्रो संग काटिएको भागमा मिल्ने गरी ट्युव भित्रवाट छिराउने ।
कलमी गरिसकेपछि बिरुवालाई सुक्नबाट बचाउन उचित आद्रता र तापक्रम मिलाई प्लाष्टिकको टनेलभित्र राखी केही दिन (३—५ दिन) सम्म छाहारीको ब्यबस्थापन गरी सुर्यको किरणबाट बचाउने कार्य गर्नुपर्दछ । साथै उचित आद्रता कायम गर्न बजारमा उपलब्ध हाते स्प्रेयरको सहायताले कलमी गरेको भागमा नपर्ने गरेर दैनिक थोरै मात्रामा ४— ५ दिनसम्म पानी स्प्रे गरी टनेल बन्द गर्ने कार्य गर्नुपर्दछ । कलमी सफल भएपछि दैनिक रुपमा केही घण्टाको दरले टनेल खोल्ने कार्य र छाहारी हटाउने कार्य गर्ने र प्रत्येक दिन यस कार्यको अबधि बढाई ७ दिनजति पछि पूर्णरुपवाट टनेल तथा छहारी हटाउने कार्य बिरुवालाई बाहिरी वातावबरण संग घुलमिल गराउनको लागि आबश्यक छ । यस बिधिवाट कलमी गरेमा ९० प्रतिशत भन्दा बढी कलमी सफल भएको पाइएको छ ।
ट्युव बिधिबाट कलमी गरिएको गोलभेडा
यो बिधि लहरे तरकारी वालीहरु( काँक्रो, खरवुजा, तरवुजा आदि) को लागि उपयुक्त बिधि हो । यसमा बाँसको वा फलामको ३० डिग्रि छड्के पारेर काटिएको कलमी गर्ने औजार,ब्लेड, माटो भरेको थैला,प्लाष्टिक, छायाँ दिने मान्द्रो वा गुन्द्रीको आबश्यकता पर्दछ । यस बिधिमा कलमी गर्न रुटस्टकको रुपमा लौकाको वीउ १२ देखि १५ दिन अगाडि रोपिन्छ । साधारतया रुटस्टकको वीउ कति अगाडि लगाउने भन्ने कुरा वीउको कडापन र सुषुप्तता (dormancy) मा भर पर्दछ । यस बिधिमा रुटस्टकको ३ बटा जति मुख्य पात र सायनको वढीमा २ वटा सम्म मुख्य पात आएपछि कलमी गरिन्छ । यदि सायनमा धेरै मुख्य पात आएको छ भने कलमी सफल हुदैन । सबभन्दा पहिला रुटस्टकलाइ माटोवाट उखेलेर बृद्विहुने भाग(दलिय पात भन्दा माथिको मुख्य पातहरु) भाँच्ने काम गर्नुपर्दछ । लगभग २ मिलिमिटर जति ब्यासको २ सेमी गहिरो प्वाल दलिय पातभन्दा माथिबाट ३० डिग्रि जति छड्के पारेर कलमी गर्ने लठ्ठीको सहयोगले पार्ने । सायनलाई पनि ३० डिग्रिजति छड्के पर्ने गरी ब्लेडले मथिवाट तल काट्ने र काटिएको भाग तल पर्ने गरेर रुटस्टकमा घुर्सार्ने । प्लाष्टिकको थैलोमा माटो भरी बिरुवा रोप्ने र प्रति बिरुवा १०० मिलि जति पानी जोडेको भागमा नपर्नेगरी हाल्ने र उक्त बिरुवालाई कलमी घरमा लगि बरिपरीबाट प्लाष्टिकले हावा नछिर्ने गरी छोप्ने र ५ दिन जति छाहारीमा राख्ने । कलमी सफल भएपछि बिस्तार छहारी तथा प्लाष्टिक हटाउने र एक हप्ता जतिमा पूर्णरुपमा हटाउने । कलमी सफल भएपटि पनि ,रुटस्क बाट यदि मुना पलाएमा हटाउने कार्य गर्न आबश्यक हुन्छ । यस विधिवाट पनि ९० प्रतिशतभन्दा बढी कलमी सफल भएको पाइएको छ।

पेग बिधिवाट कलमी गरिएको खरवुजा
यो बिधि केही मात्रामा गोलभेडामा प्रचलित तरिका हो । सफलता प्रतिशत ज्यादा भएतापनि अरु बिधि भन्दा यो विधि केही झन्झटिलो छ । यस बिधिमा ३ देखि ४ वटा मुख्य पात आएका सायन र रुटस्टक छानिन्छ । रुटस्टकमा माथितर्फ र सायनमा तलतर्फ ब्लेडको सहायताले दलिय पात र पहिलो मूख्य पातको वीचमा थोरैभाग काट्ने काम गर्नुपर्दछ । काटिएको भागमा राम्रोसंग फिट हुनेगरी दुवै(रुटस्टक र सायन)को भाग घुसाउने र क्लिपको सहायताले च्याप्ने अनि रुटस्टकको कलमी भन्दा मथिवबाट आएका पात र मुना ब्लेडले हटाउने । त्यसपछि बिरुवालई माटोभरेको थैलोमा रोपी थोरै पानि हालेर कलमी घरमा राख्ने र १० दिनजति पछि सायनको कलमी गरिएको भन्दा तलको भाग काट्ने काम गर्नुपर्दछ ।

एप्रोच बिधिबाट कलमी गरिएको गोलभेडा
सन्दर्भ सामग्री
अरुण काफ्ले
बरिष्ठ तरकारी बिकास अधिकृत
केन्द्रीय तरकारी वीउ उत्पादन केन्द्र खुमलटार
