जातहरु

जात

टियोसेन्टी (Euchlaena maxicana Schrad)
जातः मकैचरी

मकैचरी–१ टियोसेन्टी घाँस वर्षा ऋतुमा लगाइने एक महत्वपूर्ण घाँस हो । यो मकैजस्तै, तर मकै भन्दा बढी गाँज हाल्ने र उत्पादन दिने जातको घाँस हो । यसलाई काटेर ताजा घाँस अथवा साइलेज बनाएर पनि खुवाउन सकिन्छ । पोषकताका दृष्टिकोणलेयो घाँसमा क्रुड प्रोटिन १३–१४ प्रतिशत पाइन्छ र कुनै विषालुपना पाइन्न ।

Euchlaena-maxicana-Schrad_

जातीय गुणहरू
मकैचरी–१ टियोसेन्टी घाँस एक तथा दुई वर्षीय मकैजस्तै देखिने ३ मिटरसम्म अग्लो हुने घाँसेबाली हो । यसको साउनबाट प्रसस्त हाँगाबिँगा निस्कन्छ र एक पटक घाँस काटेपछि फेरि पलाएर आउँछ । यसलाई तराई तथा मधेसमा बढी वर्षा हुने क्षेत्रमा पनि सफलतापूर्वक लगाउन सकिन्छ । यसको बोटको टुप्पोमा मकैको भाले फूल (धान–चमर) को गुच्छा जस्तै फूल लाग्छ र पोथी फूल बेग्लै फुल्छ । यसको बिउ चुच्चो परेको र मकैको दानाजत्रै साइजको, सेतो, ध्वाँसे वा कालो रङको हुन्छ । बिउको बाहिरी खोस्टा कडा हुन्छ । पाकेको बिउ गाईबस्तुले खाएमा पचाउन सक्दैन र गोब्राएको बिउबाट बिरुवा टुसाएर उम्रन्छन् । एक गुच्छामा ६–१६ वटामात्र दाना हुन्छन् भने एक किलोमा २५००–४००० बिउ हुन्छ ।

व्यवस्थापन

हावापानी तथा माटो

मकैचरी–१ टियोसेन्टी घाँसलाई उष्ण तथा समाशीतोष्ण जलवायु चाहिन्छ । यसलाई नेपालको तराई तथा मध्य–पहाडी क्षेत्रमा सफलतापूर्वक लगाउन सकिन्छ । नेपालको १,५०० मिटर उचाइसम्ममा यसले राम्रो उब्जा दिएको पाइन्छ । सबै किसिमको माटामा यसको खेती गर्न सकिए तापनि पानीको राम्रो निकास भएको हलुका दोमट माटामा यसको खेती राम्रो हुन्छ । यसले केही मात्रामा जमेको पानी पनि सहन सक्दछ ।

जमिनको तयारी

बिउ छर्नको लागि जग्गा राम्रोसँग खनजोत गर्नुपर्दछ । यसलाई प्रशस्त मलको खाँचो पर्दछ । प्रति हेक्टर १० टन कम्पोस्ट वा गोबरको मल राख्नुका साथै ८० के.जी. नाइट्रोजन र ४० के.जी. फस्फोरस र ३० के.जी. पोटास हाल्नुपर्दछ |

लगाउने समय

वर्षा ऋतुमा गरिने मुख्य घाँसेबाली भए तापनि वर्षको कुनै पनि समयमा यसको खेती गर्न सकिन्छ । ग्रीष्म कालीन हरियो घाँसको उब्जा लिन यसलाई वैशाखदेखि असारसम्ममा छर्नुपर्दछ ।

बिउको मात्रा

प्रति हेक्टर ३०–४० के.जी. बिउ लाग्छ । छरुवा विधिले वा ४० सेन्टिमिटरको फरकमा लाइन बनाएर ३० सेन्टिमिटरको फरकमा एक बोटदेखि अर्को बोटको दुरी हुने गरी माटोमा करिब ३–४ सेन्टिमिटर गहिरो गरी बिउ रोप्नुपर्छ ।

सिँचाई

माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ गरेमा बढी उब्जा लिन सकिन्छ ।

उत्पादन

बिउ छरेको ५५–६० दिनमा पहिलो कटाई लिन सकिन्छ र त्यसपछि ३५–४० दिनमा दोस्रो कटाई लिन सकिन्छ । यसरी २–३ कटाईमा ३५–४५ टनसम्म हरियो घाँसको उत्पादन लिन सकिन्छ । हरियो घाँसको बढी उत्पादन लिनका लागि कृषि अनुसन्धान परिषद्ले यस घाँसलाई बोडी वा अन्य कोसे जातका घाँस बालीसँग मिसाएर छर्न सिफारिस गरेको छ । बिउ उत्पादनका लागि खेतीगर्दा बिउ कात्तिकतिर पाक्दछ र प्रति हेक्टर ०.७– १.३ टनसम्म बिउ पाउन सकिन्छ ।