थिन नेपियर (Pennnisetum perpureum)
जातः हात्ती घाँस १
हात्तीघाँस–१, नेपियर घाँस, उखु जस्तो देखिने एक वहुवर्षीय घाँस हो । एकपटक लगाएपछि ४–५ वर्षसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ । अरू घाँसको दाँजोमा बढी हरियो घाँसको उब्जा यस घाँसबाट पाइन्छ र पहिलो वर्षमा लाग्ने उत्पादन खर्चबाहेक पछि उत्पादन लागत अति कम हुन्छ । यो उष्ण तथा समोष्ण जलवायुमा हुने घाँस हो । यसले ठण्डा र तुसारो सहन गर्न सक्दैन तर केही सुख्खा सहन सक्छ । तराई तथा मध्य–पहाडी क्षेत्रका गरम हावापानी भएको क्षेत्रमा यिनीहरूले बाह्रै महिना हरियो घाँसको उब्जा दिन्छन्। धेरै चिसो हुने उच्च–पहाडी क्षेत्रमा शरद ऋतु लागेपछि करिब तीन महिनासम्म यिनीहरू प्रायः सुषुप्त अवस्थामा रहन्छन् । हात्तीघाँस–१ नेपियरलाई काउपी, ग्लाइसिन जस्ता अन्य घाँसहरूसँग मिसाएर खेती गर्न सकिन्छ । पौष्टिकताका दृष्टिकोणले यो घाँस केही कमसल खालको हुनुका साथै छिप्पिएमा यसको डाँठ ज्यादै कडा हुने गर्छ । साधारणतया नेपियर घाँसमा ८–१० प्रतिशत क्रुड प्रोटिन पाईन्छ ।
जातीय गुणहरू
हात्तीघाँस–१ धेरै ठुलोे ड्याङ हुने बहुवर्षीय र दह्रो जरा प्रणाली हुने उखुजस्तो देखिने घाँस हो । यसको स्टोलनबाट नयाँ बिरुवाहरू निस्कन्छन् र एउटा गाँजमा २०–३० वटा बिरुवाहरू हुन्छन्। बिरुवाहरू २–३ मिटरसम्म अग्ला हुन्छन्। पातको लम्बाई ३०–१२० सेन्टिमिटर हुन्छ भने चौडाइ १–५ सेन्टिमिटर हुन्छ । बिरुवाको टुप्पाबाट फूलको झुप्पा निस्कन्छ । झुप्पा करिब ३० सेन्टिमिटर लामो हुन्छ र केही सेतो क्रिम रङको हुन्छ । त्यसमा अति मसिनो भुवा जस्तो बिउ लाग्छ । एउटा फूलको झुप्पाबाट ३० वटासम्म बिउ पाइन्छ । बिउमा उमार शक्ति कम भएकाले यसको टुक्रा सारेर वानस्पतिक प्रसारण गर्ने गरिन्छ ।
