फट्याङग्राको प्रकोपले गर्दा कुनै बर्ष उखुबालीमा ठुलो क्षति भएको देखिएको छ । उखुमा क्षति पुर्याउने फट्याङग्रा, हिरोग्लाइफस बनियान (Hieroglyphus banian) को बयस्क हल्का चम्किलो हरियो–पंहेलो रङ्गको हुन्छ र यसको पखेटा र टाउको माथि तिनवटा कालो रंगको धर्साहरु हुन्छन् । बच्चाहरु पखेटा बिहिन साना तर वयस्क जस्तै हुन्छन् । प्रजनन् योग्य पोथी फट्याङग्राले माटोमुनि विशेष गरी बाझो अग्लोजमिन जस्तैः ढिस्को, आली, ड्याङ्ग आदीमा मध्य भाद्र देखि मंसिरसम्म फुल पार्दछन् । यि फुलहरुबाट वैशाख–जेष्ठतिर पहिलो झर पानी परेपछि बच्चाहरु निस्कन्छन् । यि बच्चा मसिना झारपात खाएर बढ्न लाग्दछन् । अलि ठुला भएपछि यिनीहरु उखु र अन्य बालीमा सर्दछन् । ५/६ पटक काचुली फेरेपछि ७० देखि ८० दिनमा बच्चा फट्याङग्रा वयस्क हुन्छन् । यस कीराको एक वर्षमा एक पुस्ता मात्र निस्कन्छ ।
क्षति र फैलावट
फट्याङग्राले धेरै बालीमा आक्रमण गर्दछ । यसले बिरुवाको पात आराको दाँती जस्तो बनाई छेउबाट खान्छ । धेरै संख्यामा वयस्क र बच्चाहरुले आक्रमण गरेको बेला मुल नसा बाहेक पुरै पात खाएको देखिन्छ जसले गर्दा प्रकाश सश्लेषण प्रभावित भई बिरुवाको बृद्धि कम हुन्छ । यसबाट बालीको उत्पादकत्वमा कमी आउँछ ।
फट्याङग्राको अवस्थिति पत्ता लगाउन निम्नानुसार नियमित अवलोकन गर्ने ।
- पहिलो झरी पश्चात् सडक छेउ छाउ, चरण क्षेत्र, बाँझो जग्गामा फट्याङग्राका बच्चाहरुको आँकलन गर्ने ।
- खेतबारीमा फट्याङग्राको आकलनको लागि एउटा 'T' आकारको लठ्ठी लिएर खेतमा हिड्दै जादा एक बर्ग मिटरमा फट्याङग्राको संख्या आकलन गर्ने ।
- प्रति बर्ग मिटर क्षेत्रमा फट्याङग्राको संख्या १३ हाराहारीमा पुग्न थाले व्यवस्थापन कार्य छिमेकी सबै मिलि अभियानको रुपमा पुरा गर्ने ।
व्यवस्थापन
- चैत्र–वैशाख तिर पहिलो झर पानी पर्नु भन्दा अगाडी खेतबारीका आली १० देखि १५ से.मी. तासेर पुन त्यतिनै हिलो माटो थपिदिनाले फट्याङग्राको फुल धेरै मात्रामा नष्ट हुन्छन् ।
- उखु लगाउनु पूर्व चैत्र वैशाखतिर खेतबारीलाई राम्ररी जोतिदिनाले फट्याङग्राको फल नष्ट हुन्छन् ।
- खुट्टी बालीलाई पनि राम्रोसँग खनजोत र माटो चढाउने कार्य गर्ने ।
- बाँझो जमिनमा धेरै फुल पार्ने र सुरक्षित भएकोले सकेसम्म त्यस्ता ठाँउ कम छाड्ने
- शिकारी चरा जस्तै मैना, काग आदीलाई उखबारीमा आकर्षित गर्न चरा बस्ने ठाउँ -Bird Perch_को व्यवस्था गर्ने ।
- फट्याङग्राको संख्या धेरै भएमा अल्फामेथ्रीन १०% ई.सी. साइपरमेथ्रिन १०% ई.सी. १६०० देखि २००० मि.लि. प्रति ८०० देखि १००० लिटर पानीमा मिसाई १ हेक्टर क्षेत्रफलमा छर्ने ।