जातहरु

जात

स्टाइलो (Stylosanthes guinensis)
जातः पाल्पा स्टाइलो 

पाल्पा स्टाइलो घाँस तराई तथा मध्य–पहाडी क्षेत्रका रुखो, पाखो, खोलाको बगर तथा वृक्षरोपण क्षेत्रमा पनि लगाउन सकिने वहुवर्षीय कोसे घाँसेबाली हो । स्टाइलो हल्का छायाँमा पनि हुन सक्ने भएकाले यसको खेती वृक्षरोपण गरिएको ठाउँमा सफलतापूर्वक गर्न सकिन्छ । कोसे घाँसेबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने र जमिनमाथि झाङ्गिएर भुइँ पनि राम्ररी ढाक्ने भएकाले यसको प्रयोग पहिरो गएको स्थानमा भू–क्षय रोक्न पनि हुने गरेको छ । पौष्टिकताका दृष्टिकोणले साधारणतया सुख्खा पदार्थका आधारमा स्टाइलोमा १४–२१ प्रतिशत क्रुड प्रोटिन पाइन्छ ।

Stylosanthes guianensis)

जातीय गुणहरू
पाल्पा स्टाइलोको खेती १४००–१५०० मिटर उचाइसम्म गर्न सकिन्छ । धेरै ठन्डी हुने क्षेत्रमा स्टाइलोमा बिउ लाग्दैन । स्टाइलोका प्रजातिअनुसार कुनै एक वर्षीय तथा कुनै बहुवर्षीय हुन्छन् । कुनैकुनै स्टाइलो पोथ्राको रूपमा तथा कुनै बुट्यानको स्वरूपमा हुन्छन्। कसैकसैको डाँठमा झुस हुन्छ भनें कसैको डाँठ चिल्लो हुन्छ । यसको बिउ सानो हुन्छ र एक किलोमा करिब ३,००,०००–५,००,००० सम्म बिउका दानाहरू हुन्छन्।

व्यवस्थापन

हावापानी तथा माटो

पाल्पा स्टाइलोलाई उष्ण तथा समशीतोष्ण जलवायु चाहिन्छ । यसलाई तराईदेखि मध्य–पहाडको १५०० मिटरसम्ममा लगाउन सकिन्छ । पाल्पा स्टाइलोले प्रायः तुसारो खप्न सक्दैन तर केही हदसम्म सुख्खा खप्न सक्छ । यसलाई पानी जम्ने स्थानमा खेती गर्न सकिँदैन । वर्षमा ५००–६०० मिलिलिटर देखि १८००–२००० मिलिलिटरसम्म वर्षा हुने क्षेत्रमा यसलाई लगाउन सकिन्छ । पाल्पा स्टाइलो विभिन्न किसिमका माटोमा लगाउन सकिन्छ । प्रायः यसका लागि पानी नजम्ने, दोमट, भिरालो माटामा उपयुक्त हुन्छ । योमकवानपुरमा बगरको ढुङ्गे र बलौटे माटोमा पनि राम्रो फस्टाएको छ भने पाल्पाको रातो माटोमा पनि राम्रै उब्जा दिइएको पाइन्छ तर बिउका लागि हो भने यसकोखेती १३०० मिटर माथिल्लो उचाइमा गर्न सकिंदैन ।

जमिनको तयारी

पाल्पा स्टाइलोलाई पानी नजम्ने भिरालो माटो चाहिन्छ । यो घाँस केही हल्का दोमट माटोमा राम्रो फस्टाउँछ । बिउ छर्नका लागि माटोलाई २–३ पटक जोतेर छर्न सकिन्छ । यसलाई नयाँ खनेको बाटोको छेउछाउ, खोलाको बगर, पहिरो आएको ठाउँमा पनि खनजोत नगरीकनै छर्न सकिन्छ । यसलाई खनजोत गर्न नसकिने ठाउँमा साधारण कुटोले खोस्रेर पनि बिउ छर्न सकिन्छ । यसरी बिउ छर्दा लाइन लाइनमा एकएक मिटरको फरकमा डोब बनाएर पनि बिउ छर्न सकिन्छ । साधारणतया हाम्रो परिवेशमा घाँसेबालीमा मलखादको प्रयोग गरिदैँन तापनि उन्नत तरिकाले यसका खेती गर्नुपरेमा सुरुको वर्षमा २५ के.जी. नाइट्रोजन मल र त्यसपछि वर्षै पिच्छे ६० के.जी. फस्फोरस र ३० के.जी. पोटास मल प्रतिहेक्टरको दरले छर्न सकेमा राम्रो उब्जा लिन सकिन्छ ।

लगाउने समय

साधारणतया पाल्पा स्टाइलोलाई मनसुन सुरु भएपछि जेठअसारमा छर्नु उपयुक्त हुन्छ । सिंचाइको सुविधा भएको खण्डमा यसलाई फागुनचैत वा असोजकात्तिक महिनातिर पनि छर्न सकिन्छ ।

बिउको मात्रा

राम्रो गुणस्तरको बिउ प्रतिहेक्टर ३–५ के.जी. भए पुग्छ । यदि बिउको अङकुरण शक्ति कम छ, बिउ उपचार गरिएको छैन वा जग्गा रुखो तथा साधारण खनजोत मात्र गरेको छ भने बिउको मात्रा केही बढाउनुपर्छ । राम्ररी खनजोत गरेको जग्गामा बिउ छर्दा बिउ राम्ररी अङकुरण भई बढी बिरुवा तथा उब्जा पाउन सकिन्छ तर बाँझो, पर्ति तथा वृक्षरोपण गरेको क्षेत्रमा खनजोत गर्नु सम्भव हुन्न । यस्तो अवस्थामा पाल्पा स्टाइलोलाई ५०–५५ से.मी. को फरकमा लाईन बनाई माटो खनजोत गरी डल्ला फुटाएर बिउ छरिदिनुपर्छ । यसको बिउ सानो तथा मसिनो हुने भएकाले यसलाई माटोमा २ सेन्टिमिटरभन्दा गहिरो पुरिने गरी छर्नु हुँदैन । बिउलाई बालुवा वा खरानीसँग मिसाएर पनि छर्न सकिन्छ ।

सिँचाई

पाल्पा स्टाइलोलाई आकाशे पानीका भरमा खेती गरिन्छ तर सिँचाइको सुविधा भए माटाको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उब्जा लिन सकिन्छ । त्यस्तै अनावश्यक झारपातहरू गोडमेल गरेर हटाइ दिनुपर्दछ ।

उत्पादन

पाल्पा स्टाइलो साधारणतया छरेको ७०–८० दिनमा घाँस काट्न लायकको हुन्छ र त्यसपछि प्रत्येक डेढ महिनामा दोस्रो कटाइ लिन सकिन्छ । यदि जग्गा केही कमसल छ र बाली त्यति फस्टाउन पाएन भने बिउ छरेको पहिलो वर्ष घाँसबाली काट्न हुँदैन । यसको घाँस काट्दा वा गाईबस्तु चराउँदा ठुटै हुने गरी चराउनु हुँदैन । विशेषतः शरद ऋतुको सुरुमा स्टाइलोलाई ठुटै हुने गरी चराएमा वृद्धि दर रोकिन गई बिरुवा मर्नसमेत सक्छ । पाल्पा स्टाइलोलाई घाँसको रूपमा काटेर, वस्तुभाउ चराएर, हे बनाएर, पनि प्रयोग गर्न सकिन्छ । स्टाइलो भिर पाखा, पहिरो आदिमा पनि सजिलै हुर्कने हुँदा भूसंरक्षणको लागि पनि उपयोगी सावित भएको छ । बिउ सङ्कलन गरीसकेपछि सुकेको पात र बिरुवाको भागहरू निकै पोसिलो तथा गाईवस्तुले ज्यादै रुचाएर खान्छन् । पाल्पा स्टाइलोले सुखा मौसम फागुन, चैत महिनाबाहेक वर्षका अरू सबै महिनामा हरियो घाँसको उत्पादन दिइरहन्छ । यस स्टाइलोलाई उन्नत तरिकाले खेती गरेमा ७०– ९० टनसम्म हरियो घाँसको उत्पादन लिन सकिन्छ । पाल्पा स्टाइलोबाट एक हेक्टरमा १०० देखि १५० के.जी. बिउ पाउन सकिन्छ । बिउ उत्पादनका लागि पाल्पा स्टाइलोलाई १३०० मिटरसम्मको उचाइ उपयुक्त पाइएको छ । पाल्पा स्टाइलोलाई अन्य घाँसहरू जस्तै मोलासेस घाँस, स्थानीय बन्सो, खर आदिसँग पनि मिसाएर लगाउन सकिन्छ । यसरी मिश्रित खेती गर्दा घाँसकोउत्पादन बढी हुनुका साथै स्थानीय घाँसको पोसिलो पनामा पनि वृद्धि हुने गरेको पाइन्छ ।