परिचय

परिचय

सामान्य अर्थमा कुहाइएको (Palatable fermented feed) खाद्य वस्तु जुन उग्राउने पशुहरुलाई हरियो घाँसको अभाव हुँदा खुवाउन सकिन्छ, त्यहि खाद्यवस्तुलाई साईलेज भनिन्छ । अर्थात प्रशस्त हरियो घाँस पाइने समयमा घाँसलाई गुन्द्रुक वा सिन्की जस्तै तरिकाले हावा वा अक्सिजनको उपस्थिति बिना खाडल वा प्लाष्टिकको थैलाहरुमा बन्द गरी कुहाएर ३/४ महिना पछि सुख्खायाममा अर्थात कार्तिक देखि चैत्र महिनासम्म हरियो घाँसको आपुर्ति गर्न चिस्यान सहितको भण्डारण गरी राखिएको, उग्राउने पशुहरुको खाद्यवस्तुलाई साईलेज भनिन्छ ।

विशेषगरी मकै, सोरगम, ज्वार, वाजरा, जै तथा अन्य अन्नबालीहरु, स्थानीय खर घाँस, एकदलिय एक वर्ष तथा बहुवर्षे विकासे घाँसहरु (टियोसेन्टी, नेपियर आदि) र दालबाली तथा दुइदलीय घाँसहरु (बोडी, सिमी, भटमास, गहते, सिल्टुंग, अल्फाल्फा, लुसर्न, क्लोभर आदि) मिसाएर साईलेज बनाउन सकिन्छ । साईलेज बनाउन निम्न कुराहरुको आवश्यकता पर्दछ ।

व्यवस्थापन

घाँसको छनौट

साईलेजको लागि मकै घाँसको छनौट गर्दा भरसक फल फलिसकेको, फलमा शारीरिक परिपक्वता भएको  (Physiological maturity) पूर्ण खण्ड (Full dent) फल वा डाँठमा प्रशस्त गुलियो पसेको र धेरै मात्रामा पातहरु भएको, धेरै शुष्क पदार्थ (Dry matter) भएको अवस्थालाई छान्नु पर्दछ ।

घाँसको तयारी

माथि उल्लेखित घाँसहरु (उपलब्धताको आधारमा) पानी वा सित ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई घाँस काट्ने च्याफ कटर वा गडासो वा खुकुरीले करिब एक अंगुल वा ३ से.मि. लम्बाई बराबरका टुक्रा पारी डाँठ फुट्ने गरी मुग्रिलाले कुट्नु पर्दछ ।

साईलेज बनाउने विधिहरु

१) साना प्लाष्टिकका थैलाहरु

टुक्रा पारिएको घाँसहरुलाई राम्रोसँग मिसाई ६ के.जी. अट्न सक्ने प्लाष्टिकका करिब ३० माइक्रोन बाक्लो, ६० से.मि. लम्बाई र ४० से.मि. चौडाई भएका थैलाहरुमा भरी राम्रोसँग खांदनु पर्दछ ताकी सबै हावा बाहिर निक्लन सकोस । घाँस भरिएको थैलालाई राम्रोसँग हावा र पानी नपस्ने गरी बन्द गर्ने र मुसा वा अन्य जनावरले हानी नोक्सानी गर्न नसक्ने गरी भण्डारण गर्ने ।

२) ठुला प्लाष्टिकका थैलाहरुमा

यसमा ठुला प्लाष्टिकका ट्युबहरु प्रयोगमा ल्याइन्छ । २.४ देखि ३.६ मिटरको परिधि भएका र आवश्यकता अनुसार लम्बाई भएका प्लाष्टिकका ट्युबहरुमा तरिका नं. १ मा जस्तै साईलेज बनाउन सकिन्छ । यो विधिमा भण्डारण गर्न अलि ठुला कोठाहरुको आवश्यकता पर्दछ ।

३) थुप्रो बनाएर

यो विधि अति नै सरल र सजिलो छ । प्लाष्टिकलाई (करिब ०.१ मिलिमिटर बाक्लो) समतल जमिनमा बिछाउने, तयार पारिएको घाँसको टुक्रालाई बिछाइएको प्लाष्टिक माथि थुपार्ने । वरिपरिको प्लाष्टिकको किनारालाई माथि लगी राम्रोसँग कसिनेगरी बाध्ने, दवाव दिने र सिल गर्ने । वरिपरिबाट माटोले आधा भन्दा बढी पुरिदिने ।

४) खाडल बनाएर भण्डारण गर्ने

आवश्यकता, सामानको प्रचुरता, प्रबन्ध वा व्यवस्थापन गर्ने क्षमता अनुसारको साईलेज खाडल बनाउनु पर्दछ । सामान्यतया २ मिटर गोलाई र १.५२ मिटर गहिराईको खाडल बनाई ०.१ मिलिमिटर बाक्लो प्लाष्टिक बिछाउने र टुक्रा पारेको घाँस भर्ने र सफा खुट्टाले बेसरी खाद्ने । जमिनको सतह देखि करिब ३०५० से.मि. माथिसम्म भरि राम्रोसँग प्लाष्टिकलाई सिल गर्ने । माटोले वरिपरि तथा माथि पट्टि पुर्ने र पानीको निकास बनाउने ।

५) बार बाँधेर

बाँस, काठको फल्याक, फलामका पाता, टिनको वा आल्मुनियमका पाताबाट गोलाकार वा आयातकार ढाँचामा बार बनाउन सकिन्छ । दुई ओटा पाता जोडिएका ठाँउमा प्लाष्टिक वा रबरले सिल गर्नु पर्दछ ।

उखुको टुप्पोलाई पशु आहारामा प्रयोग गर्ने प्रविधि

उखुको टुप्पामा क्रुडप्रोटिन ३.५% र कुल पाच्य पौष्टिक तŒव ५२.५५% (सुख्खा पदार्थको आधारमा) पाइन्छ । यदि यसलाई १ प्रतिशत युरिया मिसाई साइलेज बनाएमा क्रुडप्रोटिन ७.५% र कुल पाच्य पौष्टिक तत्व ६५% पुग्न जान्छ । यदि ५०% उखुको टुप्पा साइलेज बनाउनमा प्रयोग गरियो भने पनि ५ के.जी. प्रतिदिन प्रतिवस्तु १२० दिनसम्म ५५,००० बस्तुलाई हिउँदमा खुवाउन पुग्छ ।

साइलेज बनाउने तरिका

ऊखुको बोटबाट रस निकाल्न सकिने भाग छुट्याई माथिल्लो पात भएको भागलाई १ इन्च देखि १.५ इन्चको साइजमा टुक्र्याउनु पर्छ । टुक्रा पार्न च्याफकटर प्रयोग गर्न सकिन्छ । च्याफ गरिएको टुक्रामा १ प्रतिशतको यूरिया झोल छर्केर प्लास्टिकको थैलोमा वा जमिनमा बनाइएको १मी.ह१मी.ह१मी. को खाडल अथवा जमिन माथि हावा छिर्न नसक्ने गरी राम्ररी खाँदेर ४ हप्तासम्म छोपेर राख्नु पर्छ ।

सावधानी

साइलेजलाई खुवाउनुभन्दा पहिले १५—२० मिनेट छहारीमा फिजाँउनुपर्ने हुन्छ । जसले गर्दा एमोनिया ग्यास निस्कन्छ र पशुलाई हानी गर्दैन । साइलेज झिकिसकेपछि फेरि हावा नछिर्ने गरी छोप्नुपर्छ ।

साइलेज बनाउँदा लाग्ने खर्च

५०० के.जी. साइलेज बनाउन प्लास्टिक, युरिया मल र ज्यामी खर्च गरी जम्मा रु. १००० । जुन एउटा पशुलाई ५ के.जी प्रतिदिनका दरले १०० दिनसम्म खुवाउन सकिन्छ ।

जानकारी

राम्रो साईलेजमा हुनुपर्ने गुणहरु

रंग

पहेंलो

बास्ना

अमिलो गुन्द्रुक

स्वाद

हल्का अमिलो

पि.एच

३.८ देखि ४.२ सम्म

शुष्क पदार्थ (Dry matter)

३० देखि ४० प्रतिशत सम्म

सुगर

८ प्रतिशत

स्टार्च

२८ भन्दा माथि

खरानी

६ प्रतिशत भन्दा मुनि

चिल्लो पदार्थ

२.८ देखि ३.८ प्रतिशतसम्म

लिग्निन

२.८ देखि ४.१ सम्म

प्रोटिन

७ देखि ९ प्रतिशतसम्म

न्युट्रल डीटरजेट फाइबर (NDF) 

३५ देखि ५५ प्रतिशतसम्म

एसिड डीटरजेट फाइबर (ADF)

२० देखि ३३ प्रतिशतसम्म

अमोनिया

०.९ प्रतिशत भन्दा मुनि

ल्याक्टिक एसिड

४ भन्दा माथि

जम्मा पच्न सक्ने पोषक तत्व

६७ देखि ७४ प्रतिशतसम्म