सेटारिया (Setaria sphacelata)
जात: खुमल बन्सो
खुमल बन्सो सेटेरिया नेपालको तराई देखि उच्च–पहाडसम्ममा लगाउन सकिने एक वहुवर्षीय घाँस हो । यो चरनको लागि पनि उपयोगी हुन्छ । यो घाँसको “हे” (सुकाएर) साइलेज गुन्द्रुक बनाएर पनि खुवाउन सकिन्छ । पौष्टिकताको दृष्टिकोणले यसमा क्रुड प्रोटिन १२–१४ प्रतिशत पाइन्छ । जातीय गुणहरू खुमल बन्सो सेटेरिया सोझो डाँठ गरेको करिब २–३ मिटर अग्लो गाँज हाल्ने वहुवर्षीय घाँसेबाली हो । पातहरू ३०–५० सेन्टिमिटरसम्म लामा र १–२ सेन्टिमिटर चौडा हुन्छन् । डाँठको नोड (आँख्ला) बाट जरा निस्कन्छ । यसको लामो डाँठमा गोलो सिलिन्डर जस्तो फूल फुल्छ, जुन करिब २५ सेन्टिमिटरसम्म लामो हुन्छ ।
