जातहरु

जात

सेटारिया (Setaria sphacelata)
जात: खुमल बन्सो

खुमल बन्सो सेटेरिया नेपालको तराई देखि उच्च–पहाडसम्ममा लगाउन सकिने एक वहुवर्षीय घाँस हो । यो चरनको लागि पनि उपयोगी हुन्छ । यो घाँसको “हे” (सुकाएर) साइलेज गुन्द्रुक बनाएर पनि खुवाउन सकिन्छ । पौष्टिकताको दृष्टिकोणले यसमा क्रुड प्रोटिन १२–१४ प्रतिशत पाइन्छ । जातीय गुणहरू खुमल बन्सो सेटेरिया सोझो डाँठ गरेको करिब २–३ मिटर अग्लो गाँज हाल्ने वहुवर्षीय घाँसेबाली हो । पातहरू ३०–५० सेन्टिमिटरसम्म लामा र १–२ सेन्टिमिटर चौडा हुन्छन् । डाँठको नोड (आँख्ला) बाट जरा निस्कन्छ । यसको लामो डाँठमा गोलो सिलिन्डर जस्तो फूल फुल्छ, जुन करिब २५ सेन्टिमिटरसम्म लामो हुन्छ ।

 (Setaria sphacelata)

 

व्यवस्थापन

हावापानी तथा माटो

यसलाई समोष्ण जलवायुमा तराई तथा मध्य–पहाडमा सफलतापूर्वक लगाउन सकिन्छ । साधारणतया यसले तुसारो खप्न सक्ने र छहारीमा हुने भएकाले नेपालको मध्य–पहाडी क्षेत्र तथा तुसारो पर्ने ठाउँमा यो घाँस उपयोगी सावित हुन सक्दछ ।

जमिनको तयारी

यसको खेती विभिन्न किसिमको माटोमा गर्न सकिन्छ तापनि पानी नजम्ने हलका दोमट माटो यसको खेतीको लागि उपयुक्त मानिन्छ । जमिनको तयारी गर्दा प्रशस्त मात्रामा कम्पोस्ट मल राख्नुका साथै प्रतिहेक्टर नाइट्रोजन १०० के.जी. र फस्फोरस ५० किलोकोदरले खेतमा राख्नुपर्छ ।

लगाउने समय

सिँचाइको सुविधा भएमा वर्षको कुनै पनि समय बिउ छर्ने वा बिरुवा रोप्न सकिन्छ, आकाशे भरमा खेती गर्दा वैशाख देखि असार तथा कात्तिकमा बिरुवा रोप्नुपर्छ |

बिउको मात्रा

प्रतिहेक्टर ८–१० के.जी. बिउ लाग्दछ । बिउलाई नर्सरीमा उमारेर पनि सार्न सकिन्छ । साधारणतया यसलाई हाँगाको टुक्रा सारेर लगाइन्छ । प्रति हेक्टर १–५ क्विन्टल अर्थात ५०००० स्लिपको आवश्यकता पर्छ । बिरुवा रोप्दा ४०–५० से.मी. को लहरमा ३० से.मी. फरक पारी रोप्नु पर्छ ।

सिँचाई

यसले चिस्यान मन पराउँछ तर पानी जम्न दिनुहुँदैन । सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उब्जा लिन सकिन्छ । त्यस्तै स्थानीय तथा अन्य घाँसहरूलाई ढाकेर बढ्न दिँदैन तापनि सुरुको अवस्थामा अनावश्यक झारपातहरू गोडमेल गरेर हटाइ दिनुपर्दछ ।

उत्पादन

बिरुवा रोपेको साढे दुई तीन महिनापछि पहिलो पटक घाँस काट्न लायक हुन्छ । एक वर्षमा ७–८ पटकसम्म हरियो घाँस काट्न सकिन्छ । सालाखाला वर्षको ६०–८० टन र उन्नत प्रविधिमा १५० टनसम्म हरियो घाँसको उब्जा लिन सकिन्छ । बिउ छिप्पिने र पाक्ने समय केही फरक फरक हुने भएकाले बिउ उत्पादन गर्न केही कठिन हुन्छ । साधारणतयाः प्रति हेक्टर १००– १५० किलोसम्म बिउ उत्पादन गर्न सकिन्छ ।