प्याज एकदलीय, पूर्णतया परसेचित बाली हो ।यसको बैज्ञानिक नाम एलियम सेपा (Allium Cepa L.) हो। प्याजको गानो भनेको प्याजको पात हो जुन पातको फेदमा खाद्यपदार्थ जम्मा भई बनेको हन्छ । प्याज, लसुन, सेलोट, छ्यापी आदि एकै परिवार एलिएसी (Alliaceae) अन्तर्गतका बालीहरू हुन्। प्याजका उत्पत्ति मध्य एसिया (इरान, पाकिस्तान, अफगानिस्तान आसपासका क्षेत्र) मा भएको मानिन्छ। पुरातत्व तथा पुराना साहित्यका अध्ययनले प्याजको इतिहास करिब ५००० ईस्वी पूर्व रहेको पाइन्छ । प्याजको खेती भने मिश्र देशमा २००० वर्षअघि शुरु भएको पुरातात्विक अध्ययनबाट देखिन्छ तथा मिश्रको पिरामिड बनाउने कर्मीहरूलार्ई सम्भवत : प्याज समेत खुवाइएको इतिहास पाइन्छ। त्यसैगरी पुराना ग्रीस तथा रोमनहरुले प्याजको प्रयोग गरेका प्रशस्त उदाहरण पाइन्छन। नेपालमा पनि यसको खेती धेरै अगाडी देखि गर्दै आएको भए पनि ब्यावसायिक रुपमा अगाडी बढाउनु पर्ने देखिन्छ ।आर्थिक वर्ष २०७५/०७६ मा प्याजको कुल क्षेत्रफल १९८२१ हेक्टर, उत्पादन २३९०२४ मे.टन. र उत्पादकत्व १२.१ मे.टन. रहेको छ । प्याज गाना तथा पातका लागि खेती गरिन्छ । प्याजमा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन आदि तत्व पाइन्छन्।१०० ग्राम प्याजको सेबन बाट प्राप्त हुने तत्वहरुको विवरण विस्तृत विवरण निम्नानुसार छ ।
- कार्बोहाइड्रेट- ११.१ ग्राम
- प्रोटीन - १.२ ग्राम
- चिल्लो पदार्थ - ०.१ ग्राम
- क्याल्सियम - १८० मिलिग्राम
- फस्फोरस - ५० मिलि ग्राम
- फलाम - ०.७ मिलिग्राम
- भिटामिन (बी-१) - ०.०८ मिलिग्राम
- भिटामिन (बी-२) - ०.०१ मिलिग्राम
- भिटामिन- सी) - ११ मिलिग्राम
- भिटामिन (ए) - २५ आई.यू
- शक्ती - ४९ किलो क्यालोरी
- पानी - ८५ ग्राम
प्याजको खेती यसको गानो तथा पातका लागि गरिन्छ।यो सबैजसो तरकारीमा मिसाएर पकाइन्छ। विश्वका धेरै जसो देशका खानाका परिकारहरूमा प्याजको प्रयोग हुने गरको छ।प्याजलाइ काँचै पनि खानासँग तथा सलादका रूपमा खाइन्छ। हाल प्याज बट्टा बन्दी, चिस्याएको (Frozen), अचार, धूलो, लेप, सुख्खा, ताजा आदि विभिन्न रूपमा बजारमा बाह्रै महिना किन्न पाइन्छ । प्याजमा धेरै किसिमका औषधिय तत्व पाइन्छन् जसले गर्दा विभिन्न किसिमका रोगमा यसको प्रयोग गरिएको पाइन्छ । पाचन पक्रियामा, रुघाखोकीमा र घाउ लागेमा यसको प्रयोग गरिनुका साथै मुटु तथा चिनी रोगमा पनि प्याज उपयोगी भएको पाइन्छ । यसका अलावा प्याजमा सुन्निने, दम रोक्ने, रगतमा कोलेस्ट्रोल घटाउने, अर्बुद रोग तथा एन्टी अक्सिडेन्ट (Anticancer, Antioxidant) गुण समेत रहेको पाइएको छ । मौरी, बारुला, कमिला आदि किराले टोकेमा यसको रस दल्नाले पिडा कम हुन्छ। प्याजमा एक किसिमको एलीनेज (Allinase) नामक इन्जाइम हुन्छ जसले एमिनो एसीड सल्फोअक्सिडेज (Sulphoxides) बनाउछ, जसबाट सल्फारिक एसिड (Sulphuric Acid) बन्छ । यसबाट पुन : सिन प्रोपानेथीयल एस अक्साइड (Syn-propanethial-S-oxide) नामक ग्याँस बन्छ जुन हावामार्फत आँखामा पुग्छ जसका कारण प्याज काट्दा आँखा पिरो हुन्छ । पानीमा डूबाएर प्याज काट्ने वा फ्रिजमा केही बेर चिसिन दिएर प्याज काटेमा आँखा पिरो हुनबाट बच्न सकिन्छ । बिश्वमा भारत, चीन तथा अस्ट्रेलिया पहिलो, दोस्रो तथा तेस्रो धेरै प्याज उत्पादन गर्ने देश हुन्।








