सुर्यमखी एक महत्वपूर्ण तेलहन बाली हो । यो Asteraceae परिवारको परसेंचित बाली हो । यसको वैज्ञानिक नाम Helianthus annus हो । बोट ५–२० फिट सम्म अग्लो र सिधा हुन्छ । फूलको रंग खैरो, गोलाकार तथा १५–३० से. मी. व्यास भएको हुन्छ । यसको एउटा फूलले ३५०–२००० सम्म बीउ उत्पादन गर्छ । यसको दाना कालो, लाम्चो हुन्छ ।विश्वमा खेती गरिने तेलहन बालीहरु मध्ये यो चौथो स्थानमा रहेको छ । यसको उद्गम स्थल दक्षिण अमेरिकाको मेक्सिको मानिएको छ । अमेरिकाबाट स्पेन १६ औं शताब्दीमा र इङलैण्ड, सोभियत संघ तथा भारतमा १९ औं शताब्दीमा आएको हो । नेपालमा १९७८ मा पेरेडोभिक जात रुसबाट ल्याई राष्ट्रिय तेलबाली विकास कार्यक्रम, सर्लाहीमा परिक्षणको रुपमा सुरु गरियो ।नेपालमा तेलबालीको कुल २,१७,८६७ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा सुर्यमुखी २,४९४ हेक्टर क्षेत्रफलमा लगाई उत्पादन २,७५३ मे.टन. र उत्पादकत्व ११०४ के.जी. प्रति हेक्टर रहेको देखिन्छ (कृषि विकास मन्त्रालय, २०७२/०७३) । स्वास्थ्य प्रति जनचेतना बढेकोले नेपालमा यसको क्षेत्रफल बढ्ने सम्भावना छ । विगतका केही वर्ष यता मोर्डन ड्वार्फ(Modern dwarf) पनि निकै लोकप्रिय हुँदै आएको छ । केही जिल्लाहरुमा भारतबाट ल्याएर केही वर्णशंकर जातहरु hybrid पनि लगाई रहेको पाईएको छ । हाल सुर्यमुखी खेती बढ्दै गरेको जिल्लाहरुमा कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, चितवन, सर्लाही, सुनसरी आदि प्रमुख हुन् । यसको क्षेत्रफल नबढ्नुको कारणहरुमा तेल प्रशोधन उद्योगको कमी, जात तथा सिंचाईको कमी, प्रविधि र ज्ञानको कमी र सुगाको क्षति आदि हो ।

