परिचय

परिचय

भटमास एक वर्षे बाली हो । यो नेपालको द्रोस्रो दलहन बालीमा पर्दछ । यसलाई मकै तथा धानको आलीमा पनि लगाईन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन(४५%–५०%) पाईन्छ । प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसलाइ गरिबहरु मासु पनि भनिन्छ । भर्खरै हुर्किदै गरेको बच्चाहरुलाई पिठो बनाई आहाराको रुपमा खुवाइन्छ । यसमा भिटामिन बी, सी, तथा ई पाउनुका साथै शरिरका लागि चाहिने थुप्रै खनिज तत्वहरु पाईन्छन । यसको खेती तराई (२०%),पहाड तथा हिमाल  (८०%) अर्थात मकै लगाउन मिल्ने (२००–२००० मिटर) मा गर्न सकिन्छ । तापनि यसको लागि मध्य पहाड उपयुक्त ठाउँ हो । यसमा ओमेगा–३ नामक बोसो पदार्थ पाइन्छ । यसमा लिनोलेनिक अम्ल पनि पाइन्छ  जुन दिमागलाई सक्रिय बनाउनुका साथै रक्तचाप पनि घटाउँछ । यसको तेलबाट वनस्पती घ्यूँ बनाइन्छ । यसबाट निसकेको पिनालाई पशुपन्छीको आहाराको रुपमा प्रयोग गरिन्छ । यसका हरिया तथा सुकेको पातलाई गाई भैसीलाई खुवाउनुको साथै हरियो मलको रुपमा पनि प्रयोग गरिन्छ । यसले वायूमण्डलीय नाइट्रोजनलाइ जमिनमा सञ्चित गरेर राख्छ जसले गर्दा माटो उर्बरा शति बढछ । त्यसैले गर्दा यसलाई घुसुवा बालीको रुपमा पनि प्रयोग गरिन्छ ।

यसको उत्पति पूर्वी एसियामा मानिए तापनि कोरियामा यसको जङगली जातहरु प्रशस्त मात्रामा पाइन्छन । यसको खेती समान्यतया अमेरिका, चीन, ब्राजिल, मेक्सिको तथा रुसमा गरिन्छ । नेपालमा प्रायः कालो जातका भटमासको बढी खेती गरेको पाइन्छ ।  

जातहरु

जातहरु

नेपालमा सिफारिस गरिएका केहि जातहरु तथा तिनको सिफारिस गरिएको क्षेत्र तल टेबलमा देखाइएको छ ।

जातहरु पाक्न लाग्ने समय (दिन) उत्पादकत्व सिफारिस गरिएको क्षेत्र
१. हार्डी १२४ २.४ तराई तथा भित्री तराई
२. रैनसम १४५ १.0 मध्य पहाड तथा उपत्यका
३. सेती १५० १.0 मध्य पहाड तथा उपत्यका
४. कब १२३ २.५ तराई तथा भित्री तराई
५. लुम्ले भटमास–१ १३८–१४७ १.७ समुद्रको सतह देखि ४००–१६००मिटर उचाइ सम्म, मध्य पहाड
६. तरकारी भटमास–१ १२० २.५ समुद्रको सतह देखि ८००–१३६० मिटर उचाई सम्म, मध्य पहाड
७. पुजा १२५ १.६ तराई , भित्री तराई तथा मध्य पहाड

स्रोत : राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम ,खजुरा , बाकेँ 

आवश्यकता

हावापानी 

यो तातो हावापानीमा हुर्किने भएकाले खेतीको लागि २६.५–३० डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ । बीउ उम्रिनको लागि १६.५ डिग्री सेन्टिग्रेड भन्दा बढी तापक्रम चाहिन्छ । यो चिसो नसहने भएकाले यसको खेती गर्न कम्तिमा १० डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ । यसलाइ कम तापक्रम भएमा फुल ढिलो फुल्ने भएकाले  दिनको १४ घण्टा प्रकाश पर्ने ठाउँमा रोप्नुपर्छ ।

माटो

भटमास खेतीका लागि ६–७.५ पि.एच. भएको मलिलो दोमट माटो उपयुतक्त हुन्छ । क्षारीय माटोमा बीउ कम उम्रिने हुदाँ यसको वृद्धि तथा विकास घटछ । विरुवाले पानी जमेको नसहने हुनाले पात पहेलो भइ मर्छ । अतः यसलाई क्षारीय माटो तथा पानी जम्ने ठाउँबाट बचाउनुपर्छ ।

बीउ दर

समान्यतया बीउ दर बीउको आकार प्रकार,रोप्ने समय, अङकुरण प्रतिशत इत्यादिमा निर्भर गर्छ । ८० % अङकुरण प्रतिशत भएको भटमासलाई ६० किलो प्रति हेक्टर मसिनो दानाको बीउको लागि तथा ७०–८० किलो प्रति हेक्टर मोटो दानाको बीउको लागि उपयुक्त हुन्छ । ढिलो रोप्दा ७०–८० किलो प्रति हेक्टर मसिनो दानाको बीउ राम्रो हुन्छ । 

बीउको उपचार

माटोमा रहेको ढुसी जन्य रोगहरुबाट बचाउन काप्टान, थिराम जस्ता ढुसीनाशक औषधी ४–५ ग्राम प्रति किलो बीउमा मिसाउनुपर्छ ।

राइजोबियम उपचार

भटमास एक कोसेबाली भएकोले यसले वायुमण्डलीय नाइट्रोजनलाइ माटोमा सञ्चय गर्छ । यसको जरामा रहेका  गिर्खाहरुमा राइजोबियम ब्याक्टेरिया तथा लेगहेमोग्लोबिन नामक तत्वले वायुमण्डलीय नाइट्रोजनलाई माटोमा सञ्चय गर्न मदत गर्छ । बिरुवामा प्रशस्त मात्रामा वायुमण्डलीय नाइट्रोजन सञ्चय गर्न बीउलाई उपचार गरिन्छ । बीउ उपचार गर्न राइजोबियम जापोनिका नामक ब्याक्टेरिया उपयुतm हुन्छ । यसका लागि निम्न तरिका अपनाउन सकिन्छ :

  • १ लिटर सफा पानीमा २०० ग्राम चिनी वा सखर हाली उमाल्ने ,
  • १०–२० मिनेट तताउदा खैरो रङग भएपछि चुलोबाट हटाइ छहारीमा राखेर सेलाउने ,
  • राम्ररी सेलाइ सकेपछि १ हेक्टर जग्गाको लागि ६० किलो बीउ र १ किलो राइजोबियम जापोनिका नामक ब्याक्टेरिया मिसाउने ,
  • यदि पानी बढी भएमा ४–५ किलो चुन त्यस मिश्रणमा मिसाउने ,
  • यसरी मिश्रणलाई हलुका समान्य तापक्रममा सुकाउने ,
  • यसरी उपचार गरेको बीउलाई २४ घण्टा भित्र छर्नु उपयुक्त हुन्छ ।

नोट : बाझो वा खेती नगरेको जग्गामा भटमासको बिउलाई समान्य भन्दा ५–८ गुणा राइजोबियम मिसाउनु उपयुक्त हुन्छ । 

जग्गा तयारी

जग्गाको तयारी

समान्यतया खेतलाइ एक चोटी गहिरो जोत्नुपर्छ । त्यसपछि २ पटक हलुका जोती सम्याउनुपर्छ । माटोलाइ

खुकुलो बनाइ डल्लाहरुलाइ फुटाउनुपर्छ । माटोमा भएको झारपातलाई सफा गर्नुपर्छ । बीउ छर्ने बेलामा माटोमा चिस्यान हुनुपर्छ । चिस्यानको कमी भएमा बीउ ढिलो तथा कम उम्रिने हुन्छ । चिस्यानको कमी भएमा सिँचाइ दिनु आवश्यक हुन्छ ।

रोप्ने समय

 प्रायः जसो भटमासका जातहरु प्रकाशसँग संवेदनशील हुन्छन । यसलाई फुल फुल्ने बेलामा कम प्रकाश चाहिन्छ । रोप्ने समय यसका लागि महत्वपूर्ण मानिन्छ । त्यसैले यसलाई जेष्ठ २५ देखि असार ७ गते सम्म लगाउन उत्तम हुन्छ । ढिलो बीउ छर्दा बिरुवा सानो भइ फुल तथा दाना कम लाग्ने हुन्छ । छिटो रोप्दा पनि बिरुवा हलकै बढेर झाङगिन्छ तथा पहेलो मोजाइक भाइरसको संक्रमण बढछ ।

 दुरी

बीउ देखि बीउ सम्मको दुरी : ५–१० से.मि.

लाइन देखि लाइन सम्मको दुरी : ५०–६० से.मि.

रोप्ने तरिका

५०–६० से.मि.को लाइन बनाई सिड ड्रिलको मदतले बीउ छर्नुपर्छ । सिड ड्रिल उपलब्ध नभएको खण्डमा हलोको पछाडीबाट बीउ छर्दै जानुपर्छ । बीउ छर्दा जमिनको सतहबाट ५–७ से.मि. गहिराइ हुनेगरी छर्नुपर्छ । बीउ धेरै गहिरो गरी राप्यौ भने ढिलो उम्रिने तथा बीउमा ढुसीजन्य रोग लागि कुहिने समस्या देखापर्छ । कुनै बेला रोप्ने बितिकै पानी पर्दा जमिनको सतह कडा बन्छ जसले गर्दा पनि गहिरो रोपेको बीउ उम्रिदैन ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद व्यवस्थापन

राम्रो उत्पादन पाउनका लागि भटमासमा मलखाद व्यवस्थापन गर्न जरुरी हुन्छ । राम्ररी कुहिएको कम्पोष्ट मल तथा गोठे मल १० टन प्रति हेक्टर बीउ छर्नुभन्दा एक हप्ता अगाडी छर्न उपयुतm हुन्छ । रासायनिक मल छर्दा निम्न मात्रामा छर्नुपर्छ ।

  • नाइट्रोजन प्रति हेक्टरमा ३० क्विन्टल भटमास फल्न करिब ३०० किलो नाइट्रोजन माटोबाट ह«ास हुन्छ । भटमास एक कोसेबाली भएकोले यसले माटोमा नाइट्रोजन सञ्चय गर्छ । त्यसैले २०–३० किलो प्रति हेक्टर भए पुग्छ । 
  • फसफोरस:  भटमास फसफोरस धेरै मात्रामा चाहिन्छ । विरुवालाई फसफोरस लामो समयसम्म चाहिन्छ । खास गरी कोसा लाग्ने तथा दाना परिपक हुने बेला फसफोरस चाहिन्छ । यसले बिरुवाको जरामा गिर्खाहरु बढाइ त्यसमा ब्याक्टेरियाको मात्रा बढाउछ । भटमासलाई ४०–५० किलो फसफोरस प्रति हेक्टर चाहिन्छ ।
  • पोटास:  भटमासलाइ अरु कोसेबाली भन्दा बढी पोटास चाहिन्छ । खासगरी पोटास बिरुवालाई बढने बेलामा बढी चाहिन्छ । त्यसपछि त्यसको मात्रा घटदै जान्छ । अतः पोटास ४०–५० किला प्रति हेक्टर चाहिन्छ ।
  • ११. सिँचाइ व्यसवस्थापन
  • भटमास वर्षे मौसममा लगाउने हुदा प्रायः जसो अन्य बालीभन्दा कम सिँचाइ चाहिन्छ । समान्यतया फुल फुल्ने बेलामा एक चोटी सिँचाइ आवश्यक हुन्छ । यदि सिँचाइको राम्रो व्यवस्था भए २ पटक फुल फुल्ने समय तथा कोसा लाग्ने बेलामा सिँचाइ दिदा राम्रो हुन्छ । धेरै वर्षा भएको बेलामा पानीको निकास गर्नु उपयुक्त हुन्छ ।

 

झारपात व्यवस्थापन

वर्षा मौसममा खेतमा धेरै झारपात आउने हुन्छ । त्यसैले भटमास भएको खेतमा धेरै झारपात पलाउछ । भटमास झारपातसँग धेरै संवेदनशील हुन्छ । झारपातले करिब ४०–४५ % सम्म उत्पादन घटछ ।

भटमासमा देखिने केही मुख्य झारपातहरु 

  • सामा
  • कोदेझार
  • मोथे
  • दुबो

यी झारपातहरुको व्यवस्थापन पहिलो चोटी बीउ छरेको २० दिनमा तथा दोस्रो चोटी बीउ छरेको ४०–४५ दिनमा गर्नु आवश्यक हुन्छ । झारपातहरुलाई खुर्पाको मदतले उखेल्न सकिन्छ । खेतमा पानी भएको वा पानी परेको दिनमा हातले उखेल्न सकिन्छ । अहिले धेरै कामदारको कमी हुने भएकोले बजारमा पाइने झारपातनाश्क  विषादीको प्रयोग गर्न सकिन्छ । भटमास खेतीको लागि बजारमा पाइने झारपातनाश्क  विषादीहरु निम्न हुन् ।

  • फलुक्लोरालिन (बेसलिन) : यो बीउ छर्नु भन्दा अगाडी नै छर्ने झारपातनाश्क विषादी हो । यो १ किलो विषादी ८००–१००० लिटर पानीमा मिसाइ प्रति हेक्टर जग्गामा छर्न सकिन्छ । बीउ छर्नुभन्दा अगाडी जमिनको सतहको ३–४ से. मि. भिज्ने गरी छर्नुपर्छ ।
  • मेट्रिबुजिन (सेनकर) : यो बीउ उमिन्रुभन्दा अगाडी नै छर्ने झारपातनाश्क विषादी हो । यसले फराकिलो पात भएको तथा एकबर्षीय झारपातलाइ नियन्त्रण गर्छ । १ किलो विषादीलाई ८००–१००० लिटर पानीमा मिसाइ प्रति हेक्टर जग्गामा छर्नुपर्छ ।
  • नाइट्रोफेन (टोक–२५) :  यो पनि बीउ उमिन्रुभन्दा अगाडी नै छर्ने झारपातनाश्क विषादी हो । यसले फराकिलो पात भएको तथा एकबर्षीय झारपातलाइ नियन्त्रण गर्छ । १.५–२ किलो विषादीलाई ८००–१००० लिटर पानीमा मिसाइ प्रति हेक्टर जग्गामा छर्नुपर्छ । यसका लागि माटोमा चिस्यान हुनुपर्छ ।
घुम्ती तथा घुसुवा बाली

भटमासलाई घुसुवा बालीको रुपमा मकै ,कोदो ,धान ,तील आदि प्रयोग गरिन्छ । भटमास एक कासेबाली भएकोले यसलाई मकै बालीसँग घुसुवा बालीको रुपमा लगाउदा मकैको उत्पादन बढछ । मकै बालीसँग लगाउदा मकैको लाइन देखि लाइन सम्म दुरी १ मिटर राख्नुपर्छ । मकैको एउटा लाइनमा भटमासको ३ वटा लाइन रोप्न सकिन्छ । यसरी रोप्दा भटमासको उत्पादन प्रति हेक्टर १०–१२ क्विन्टल हुन्छ । यसलाई तराई तथा भित्री तराईमा धान खेतको आलीमा लगाउने गरिन्छ । यसलाई अन्तरबालीको रुपमा जुनेलो, कपास, उखु लगाइन्छ । धेरै वर्ष एउटै बाली वा कुनै बाली काटिसकेपछि त्यो ठाउँमा यसलाई घुम्ती बालीको रुपमा लगाउने गरिन्छ । भटमाससँग प्रयोग गरिने केही घुम्ती बालीहरु निम्न हुन् :

भटमास –आलु

भटमास –गहुँ

भटमास –गहुँ –आलु

भटमास –चना

भटमास – खैनी

रोग व्यवस्थापन

बीउ तथा बेर्ना कुहिने रोग

लक्षण
धेरै गहिरो बीउ रोप्दा वा बीउ माथि निस्किन नपाउदै कुहिन्छ । यो ढुसिजन्य रोगको कारणले गर्दा हुन्छ । जमिन भित्र ओसिलोपना भएकोले बीउमा ढुसी पलाइ उम्रिन पाउदैन ।

रोकथाम
बीउ छर्नुभन्दा पहिला बीउलाई काप्टान वा थिराम ४.५ ग्राम प्रति किलो बीउमा मिसाएर उपचार गर्नुपर्छ ।

सिन्दुरे रोग

लक्षण
यो रोग लागिसके पछि पातमा खैरो रङगको ढुसी देखिन्छ । पछि पुरै पात खैरो रङगको ढुसीले ढाकिन्छ ।

१

रोकथाम ः यो रोग प्रतिरोधात्म जस्तै हार्डी तथा अकुर जातका भटमास लगाउनुपर्छ । डाइइथेन एम–४५को २.५ किलो विषादी १००० लिटरमा घोली छर्नुपर्छ

एन्थ्राकनोज

लक्षण
यो रोग एक क्लेटोट्राइकम टरुनकैटम नामक ढुसीले गर्दा लाग्छ । यो रोग लागेपछि कोसा पहेलो भइ सुकेर जान्छ । यसले गर्दा कोसामा बीउ लाग्दैन ।

१

रोकथाम
यो रोग देखापर्ना साथ जिनेब २.५ किलो प्रति हेक्टर जग्गाका लागि १००० लिटर पानीमा मिसाइ छर्नुपर्छ ।

पहेलो मोजाइक रोग

लक्षण
यो रोग लागेपछि  पातहरु पहेलो हुने तथा पातमा छिटपुट पहेलो थोपाहरु देखिन्छ । यो रोग सार्ने सेतो झिङगा हो । यो रोग सुरुमा देखापरेमा उत्पादन असाध्यै घटछ । यो रोग करिब विरुवा रोपेको २ महिना पछि देखापरेमा उत्पादन खासै घटदैन ।

१

रोकथाम
 यो रोग नियन्त्रण गर्न सेतो झिङगालाइ नियन्त्रण गर्नु आवश्यक देखिन्छ । सेतो झिङगालाइ नियन्त्रण गर्न मेटासिसटोक्स २५ इ सी को १ किलो १००० लिटर पानीमा घोली प्रति हेक्टरमा १० -१० दिनको अन्तरमा २ महिना सम्म छर्नुपर्छ ।

किरा व्यवस्थापन

भटमास झुसिल्कीरा

पहिचान

पुतली व्यस्क हुदा पहेलो रातो रङग मिसिएको हुन्छ । पछि पखेटा पलाएपछि माथिल्लो पखेटामा कालो दाग हुन्छ । लार्भाको शरीरमा रौले ढाकी  पिठ्यू र पेटमा कालो तथा बीचमा पहेलो रातो रङग देखिन्छ । लार्भाको शरीर ३–४.५ से.मि. हुन्छ ।

१

  लार्भा

१

 व्यस्क  

२

क्षतिको लक्षण  :हरिया पातहरु खाएर नाङगो पात मात्र बाँकी राख्ने

रोकथामको उपायहरु : पातमा बसी खाइरहेका लार्भाहरुलाई जम्मा गरी नष्ट गर्ने । खेतमा धेरै देखिए पछि ०.००४% साइपरमेथ्रिन वा डेल्टामेथ्रिन किरा छिपिन्न नपाउदै हाल्ने वा ०.१% कर्बाइल वा ०.०५% को फेनिटोथायन वा ०.००४% फेनभेलरेट छर्नुपर्छ ।

सुर्तिको पात खाने लार्भा

पहिचान :पुतलीको पखेटामा सेता तथा खैरा बाङगाटिङगा दागहरु हुन्छ । लार्भाको शरीरमा सेता धर्साहरु तथा त्यसमा  त्रिभुजाकार कालो दाग भएको थोप्ला छेउछेउमा हुन्छ ।

१

क्षतिको लक्षण : पातहरुलाई प्वाल बनाएर खाने तथा बेर्ना अवस्थामा भएको बोटलाइ निष्क्रिय बनाउछ ।

व्यवस्थापन : लार्भा तथा फुललाइ टिपेर नष्ट गर्ने । स्पोडो ल्युरको प्रयोग गर्ने । जैविक विषादीको रुपमा पाइने अजाडीराक्टीन ५ इसी को ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्ने । बी.टी. १.५ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्ने । सुर्ती, तितेपाती तथा नीमबाट बनेको विषादीको प्रयोग गर्ने । यदि किराहरुको संख्या अनियन्त्रित रुपमा बढेमा ०.१% कर्बाइल वा ०.०५% को फेनिटोथायन वा ०.०५% मालाथियन वा डाइक्लोर्भेस विरुवामा छर्ने ।

ग्रिडल खप्टे किरा

पहिचान : यो किराको टाउको र जीउ पहेलो रङगको हुन्छ तथा पुच्छरनिर कालो दाग हुन्छ । टाउकोको एन्टेना कालो लामो तथा चुच्चो परेको हुन्छ ।

१
वयस्क

१

क्षति

क्षतिको लक्षणहरु:  लार्भाले भटमासको काण्डमा प्वाल पारिदिन्छ । काण्डको भित्री भाग सबै खाएर सुरुङग बनाइदिन्छ र बिरुवाको काण्ड, पात सबै ओइलाएर जान्छ । लगभग यसले जमिनबाट १५–२५ से.मि. बिरुवा टनेल बनाउछ ।

व्यवस्थापन :

बैशाख –जेष्ठमा खेतलाइ गहिरो जोत्नुपर्छ । भटमासलाइ मकै, जुनेलोसँग घुसुवा बालीको रुपमा लाउनु हुन्न् । नाइट्रोजन जन्य मल जस्तै युरियाको धेरै प्रयोग नगर्ने । किराको फुल तथा लार्भालाइ संकलन गरि नष्ट गर्नुपर्छ । फोरेट १० जि को १० किलो प्रति हेक्टर वा कार्बाेफयुरान ३ जि को ३० किलो प्रति हेक्टर छर्नुपर्छ । घेरै क्षति गरेमा ०.०३%  डाइमिथोट ३० इ सी वा ०.०५% मिथाइल डेमेटन २५ इ सी को  एक वा दुई पटक छर्नुपर्छ ।

अर्घगोले किरा

पहिचान: व्यस्क किरा मध्यम आकारको हुन्छ । पुतलीको अगाडीको पखेटामा पहेलो थोप्ला हुन्छ । लार्भा हरियो सेतो रङगको हुन्छ  तथा यसको जीउमा हरियो रङगको धर्साहरु हुन्छ ।

१

 लार्भा

क्षतिको लक्षणहरु:  लार्भाले नरम पात, डाँठ खाएर नसाहरु छाडिदिन्छ । यदि क्षति धेरै भयो भने खेतमा बिरुवाको हाँगा मात्र बाँकी हुन्छ ।
२

व्यवस्थापन

किराको लार्भालाइ जम्मा गरी नष्ट गर्नुपर्छ । 

 

पात बेरुवा किरा

पहिचान

यो किरा पहिला बदाममा लाग्ने गथ्र्यो तर अचेल भटमासमा धेरै लागेको पाइन्छ । यसको माउले सिगै वा समुहमा फुल पार्छ । फुलबाट लार्भा निस्केर शत्रुबाट बच्न पातमा बेरेर बस्छ ।

१

क्षतिको लक्षणहरु
पात बेरेर त्यसमा भएको हरियो भाग खान्छ । यसरी हरियो भाग खाइसकेपछि त्यसमा नसा तथा हाँगा मात्र बाकी हुन्छ ।

व्यवस्थापन
सकेसम्म बेरेको पात टिपेर नष्ट गर्नुपर्छ । थायोडान ३५ इ सी को १ लिटरलाइ १००० लिटर पानीमा घोली प्रति रोपनीमा छर्नुपर्छ ।

सेतो झिङगा

पहिचान
यो भटमासको लागि अत्यनत खतरनाक किरा हो । यो सेतो खैरो रङगको हुन्छ । यो एकै ठाउँमा बस्दा सेतो पाउडर जस्तो देखिन्छ ।

क्षतिको लक्षणहरु
 यसले पातमा भएको खाद्य तत्वलाइ चुसेर लिन्छ । यो पहेलो मोजाइक भाइरस सार्छ । पहेलो मोजाइक भाइरस लागेपछि बिरुवाको पात पुरै पहेलो हुन्छ  र कोसा कम लागि उत्पादन घटछ ।

१

व्यवस्थापन

मलाथियन ०.१५ र मेटासिस्टोक्स ०.१५ को मिश्रण बनाइ छर्ने  किरा देखिएमा हरेक १०/१० दिनको अन्तरमा छर्नुपर्छ ।

बाली कटानी तथा भन्डारण

बाली कटाइ तथा चुटाइ

भटमास जब ९०–१४० दिनको पुग्छ तब त्यसलाइ टिप्ने बेला हुन्छ । पातहरु पहेलो भइ ओलाउन थाल्छ तब हातले टिप्ने वा जमिनको माथिबाट भाच्ने वा हसियाले काटनुपर्छ । त्यसपछि भटमासको मुठो बनाई घाममा सुकाउनुपर्छ । राम्ररी सुकिसकेपछि लठठीले चुटी बीउ झार्नुपर्छ । बिउलाई हावामा ओसाइ सफा गर्नुपर्छ । त्यसपछि भटमासको बीउलाइ सुकाइ १०–१२ % आसिलोपना अर्थात दातले थिच्दा कटक आवाज आउदा भण्डारण गर्नुपर्छ ।

 उत्पादन
यसरी राम्रो प्रविधिको अवलम्बन गरी खेती गर्दा  ३०–३५ किलो प्रति रोपनी उत्पादन हुन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

वाली रोग किरा पहिचान पुस्तिका , बाली संरक्षण निर्देशनालय हरिहरभवन, ललितपुर २०७०

कृषि डायरी २०७४

बार्षिक कृषि विकास कार्यक्रम तथा तथ्याङक एक झलक , जिल्ला कृषि विकास कार्यालय जाजरकोट २०७२/७३