परिचय

परिचय

तिल परापूर्वकाल देखि खेती हुँदै आएको तेलबाली हो । अथर्व वेदमा तिलको वर्णन पाइन्छ । दक्षिण पश्चिम अफ्रिका तिलको उदगम थलो मानिएको छ । भारत, चीन, सुडान, बर्मा, मेक्सिको प्रमुख तिल उत्पादक देश हुन् । तिलको बैज्ञानिक नाम Sesamum indicum L. हो र यो Pedaliaceae परिवार अन्तर्गत पर्छ । यो एक वर्षीय बिरुवा हो । तिल नेपालमा तराई, भित्री मदेश, मध्य पहाडको बेसी तथा टारहरुमा खेती हुँदै आएको छ । यसको कूल क्षेत्रफल ८२४० हेक्टर रहेको छ । तिलको बढी क्षेत्रफल मधेश प्रदेश (रौतहट, सर्लाही, सप्तरी, सिराहा, बारा, धनुषा, महात्तरी आदि), सुदुरपश्चिम प्रदेश (कंचनपुर, कैलाली), वागमती प्रदेश (चितवन, नुवाकोट) मा रहेको छ । तिल खास-खास पकेट क्षेत्रमा लगाउने गरिन्छ । झापा, रुपन्देहीमा पनि तिलको क्षेत्र राम्रै रहेको छ । नेपालमा ३ किसिमका तिल पाइन्छन् । सेतो बीउ हुने जुन वर्षात पछि छरिन्छ र छोटो प्रकाश अवधि रुचाउने हुन्छ । अर्को कालो बीउ हुने जुन वर्षे सिजनमा छरिन्छ र लामो प्रकाश अवधि आवश्यक पर्छ । खैरो बीउ भएको अर्को जात वसन्ते सिजनमा लगाइन्छ र बैशाखा तिल भनिन्छ । यिनीहरु मध्ये कुनै चाँडो पाक्ने (७०-७५ दिन) र कुनै ढिलो पाक्ने (१३५-१४५ दिन) हुन्छन् । बीउको रङमा पनि विविधता देखिन्छ । निख्खर कालो, हल्का कालो, खैरो, हल्का रातो, सेतो, फुस्रो आदि भएको हुन्छ । कालो रङको तिलको बीउ पुजा कर्ममा चढाउने चलन छ । खैरो रङको बीउ अचार, चटनीमा रुचाइन्छ । सेतो रङको तिल लड्डु बनाउन प्रयोग गरिन्छ । खैरो तिल चाँडो पाक्ने र दुवै सिजन वर्षा तथा बसन्त ऋतुमा (वैशाख) मा लगाउन सकिन्छ । विभिन्न प्रकारका स्थानीय तिलका जातहरु पाइन्छन । कुनै प्रशस्तै हाँगा हुने र कुनै एउटामात्र मूल हाँगा हुने जातहरु पाइन्छन् । 
तिलको बीउमा ४६ देखि ५२ प्रतिशतसम्म तेलको मात्रा र १८-२० प्रतिशत प्रोटिन पाइन्छ । तिलको तेल खानाको पकवानमा, औषधि बनाउन, मालिस गर्न आदिमा प्रयोग गरिन्छ । तिलको तेल वनस्पिति ध्यु उद्योगमा ध्युको गुणस्तर बढाउन प्रयोग गरिन्छ । कम गुणस्तरको तेलबाट साबुन, रङरोगन, किटनाशक विषादी आदि बनाइन्छ । तिलको तेलमा ओलिक र लिनोलेयिक अम्ल केही बढी मात्रामा पाइन्छ । यसको तेल सफा, रङविहिन, कुनै पनि गन्ध नआउने र चिसोमा पनि नजम्ने खालको हुन्छ । यो तेल छिटो तथा सजिलै बिग्रने पनि हुँदैन । तिलको तेलले अरु सुगन्ध तथा बास्ना शोषण गर्न सक्ने हुँदा बास्नादार तेल (अत्तर आदि) बनाउनमा प्रयोग गरिन्छ । तिलको बीउ भुटेर चीनी, गुडसँग मिसाएर लड्डु बनाउने तथा अन्य मिठाईका परिकारमा प्रयोग गरिन्छ । तिलको धार्मिक महत्व पनि उत्तिकै छ । हिन्दुहरुको पुजाकर्ममा तिल नभई हुँदैन । तिलको पिना निकै पोसिलो हुने हुनाले कामदार मानिस र दुधालु पशुलाई पनि खुवाउन सकिन्छ । तिलको पिनालाई प्राङ्गारिक मलको रुपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । पिनामा ६.०-६.२%. नाईटोजन, २.०-२.२%. फास्फोरस र १.०-१.२% पोटास पाइन्छ । झारपातको प्रकोप हुने खेतबारीमा तिलको खेती गर्दा झारपातहरु नियन्त्रण हुन आउँछ । पात तथा डाँठ नरम हुने हुँदा हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । सुकेको डाँठ आगो बाल्न पनि प्रयोग हुन्छ ।

3      3

बाली चक्र, खेती प्रणाली 

तिल खेती प्रायः एकल बालीको रुपमा लगाउने गरिन्छ । वर्षामा तिल र हिउँदमा तोरी, चना, मसुरो, आलस आदि लगाउने गरिन्छ । बैशाखा तिल धानको ब्याडमा वा धान खेती पछि लगाइन्छ । कहिले काही मकै, अडहर, झुसेतिल, बदाम, सूर्यमुखीसँग अन्तरबाली वा मिश्रित खेती पनि गर्ने गरिन्छ । भारतमा कपास, मुग, मास, बदाम आदि बालीसँग अन्तरबाली वा मिश्रित खेती गर्ने गरिन्छ । भारतमा एक लाइन तिल र २ वा ३ लाइन मुँग लगाउँदा फाइदा देखिएको छ । सर्लाहीमा वर्षा सिजनमा एक लाइन सूर्यमुखी र ३ लाइन तिल लगाउँदा राम्रो नतिजा पाइएको थियो । त्यस्तै तिल तथा झुसेतिलको मिश्रित बाली प्रणालीमा झुसेतिल ५ किलो र तिल २.५ किलो प्रति हेक्टर बीउ प्रयोग गर्दा उत्साहजनक उत्पादन तथा फाइदा पाइएको थियो । वर्षायाममा मकै बालीसँग घुम्ते खेती गरेमा झारपातको राम्रो नियन्त्रण हुन आउँछ ।

जातहरु

तीलका जातहरु
बालीको जात पाक्ने दिन उत्पादन (टन/हे) सिफारिस क्षेत्र
नवलपुर खैरो तील १ ८५  १.२  सिरहादेखि नेपालगञ्जसम्मका तराई
नवलपुर झुसे तील १ १०३  ०.६५  तराई र भित्रीमधेश

आवश्यकता

हावापानी 

तिल न्यानो हावापानी भएको तराई देखि १२५० मिटरसम्म अग्लो उष्ण तथा समशितोष्ण प्रदेशमा खेती गर्न सकिन्छ । बोटको वृद्धि तथा उत्पादनको लागि गरम हावापानी आवश्यक पर्दछ । यसको बीउ उम्रन, बिरुवाको वृद्धि तथा विकास हुन २५-२७० सेल्सीयस तापक्रम चाहिन्छ । लामो खडेरी तथा लगातार वर्षा र पानी जम्ने अवस्था यसको खेतीको लागि हानिकारक छ । यो बालीको राम्रो उत्पादनको लागि ५००-६५० मिलिलिटर वर्षा आवश्यक हुन आउँछ । केही हदसम्म तिल बालीले सुख्खा सहन सक्छ । फूल खेल्ने अवस्थामा कम तापक्रम (चिसो) भएमा फूलमा कोसा नलागी झर्छ । असिना तथा तुषारो दुवै तिलले सहन सक्दैन । यसको खेती वर्षा सिजन तथा सिंचित क्षेत्रमा बसन्त मौसममा पनि गर्न सकिन्छ ।

माटो

पानीको राम्रो निकास भएको सबै खाले माटोमा तिल खेती गर्न सकिन्छ । पानी जम्ने जग्गामा तिलको खेती गर्नु हुँदैन । दोमट तथा बलौटे दोमट माटो उपयुक्त मानिन्छ । हल्का अम्लीय तथा हल्का क्षारिय (पी.एच. ५.५ देखि ८.० सम्म) माटो राम्रो मानिन्छ । लवणयुक्त माटोमा तिलको खेती गर्न सकिंदैन ।

सिँचाइ 

 तिल वर्षामा लगाउने बाली हो । वर्षातमा थप सिँचाइ आवश्यक पर्दैन । बसन्त ऋतुमा छरेको बैशाखा तिललाई भने सुख्खा मौसम हुने हुँदा सिँचाइ दिन सके उत्पादन बढन सक्ने हुन्छ । तिललाई खास छरेको ७ दिन पछि, फूलको कोपिला बन्ने बेला (छरेको २५ दिन पछि), फूल खेल्ने बेला (छरेको ३५ दिन पछि), कोसा लाग्ने बेला (छरेको ५५ दिन पछि) र दाना भरिने बेला (छरेको ६५ दिन पछि) सिँचाइको बढी आवश्यकता पर्छ । सिँचाइ हल्का गर्नु पर्छ, पानी जमाउनु हुँदैन ।

कृषि इन्पुट

बीउ दर र छर्ने तरिका 

तिलको खेती छरुवा तथा लाइन तरिकामा चोखो खेती गर्न ३-६ के.जी. बीउ प्रति हेक्टर (१००-२०० ग्राम प्रति कठ्ठा वा १५०-३०० ग्राम प्रति रोपनी) आवश्यक पर्न आउँछ । राम्रो उत्पादन लिनको लागि ३३ बोट प्रति वर्ग मिटर जमिनमा हुनु जरुरी छ । तिलको बीउ धेरै सानो हुने भएकोले छर्दा सुख्खा माटो, बालुवा वा धुलो गोबर मल मिसाई बराबरी पर्ने गरी खेतबारीमा छर्नु पर्छ । बीउ छर्दा लाइनमा लगाउन सके गोडमेल तथा अन्य कृषि कर्म गर्न सजिलो हुनुको साथै विरुवाको सङ्ख्या पनि एकनाशले मिलाउन सकिन्छ । लाइनमा लगाउँदा ३० से.मी. को फरकमा रोप्नु पर्छ । बीउ रोप्दा २-३ से.मी.को गहिराईमा मात्र पुर्नु पर्छ । पछि बेर्ना उम्र पछि १५ से.मी.को फरकमा बेडाउनु पर्छ । यो बेडाउने काम बीउ छरेको १५-२० दिन भित्रै अर्थात ३-४ पाते विरुवाको अवस्थामा गरी सक्नु पर्छ । बीउ उम्रन प्रशस्त चिस्यान चाहिन्छ । बीउ क्याप्टान वा थिराम वा वेभिष्टिन २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरे पछि मात्र छर्नु पर्छ । यसरी बीउबाट सर्ने रोगबाट बालीलाई बचाउन सकिन्छ । छर्ने बेला माटोमा चिस्यानको मात्रा कमी भएमा बीउलाई ६ घण्टासम्म भिजाएर २ घण्टा छायाँमा सुकाई छर्दा राम्रो उमारशक्ति हुने पाइएको छ ।

खेती गर्ने समय 

तिलको खेती वर्षा शुरु भए पछि गर्ने गरिन्छ । तिल प्रायः रहर, बदाम, मकैसँग मिश्रित खेतीको रुपमा लगाउने गरिन्छ । मध्य तराईका जिल्लाहरुमा श्रावणको अन्तिम वा भदौको दोश्रो हप्तासम्म पनि तिल छर्ने गरिन्छ । तराईका केही जिल्लाहरुमा धान पछि फाल्गुन तिर संचित चिस्यानमा तिल छरिन्छ र जेष्ठ, असारमा काटिन्छ, यस सिजनमा गरिने तिल खेतीलाई बैशाखा तिल भन्ने गरिन्छ । तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, सर्लाहीमा गरिएको परीक्षण नतिजा अनुसार श्रावण अन्तिम हप्ता देखि भदौ १५ सम्म तिलको वर्षामा छर्ने उपयुक्त समय देखिएको छ । श्रावण २४ गते छर्दा ५५० के.जी. प्रति हेक्टर उत्पादन भएको छ भने चाँडो असार आखिर तिर (३७० के.जी.) र भदौ अन्ततिर छर्दा (१५० के.जी.) उत्पादनमा ह्रास देखिएको छ ।

जग्गा तयारी

जमिनको तयारी 

तिलको बीउ सानो हुने भएकोले राम्ररी उम्रन मसिनो माटो पार्नु पर्छ । जमिनको तयारी माटोको किसिम, त्यस ठाउँको हावापानी र जमिनमा लगाइएको अघिल्लो बालीमा भर पर्दछ । दुई तीन पटक जोती पाटा लगाई खेतबारी सम्मो पार्नु पर्छ । जमिनमा पानी जम्ने होचो ठाउँ बनाउनु हुँदैन । झारपातका अवशेषहरु हटाउदा राम्रो हुन्छ । धेरै पानी पर्ने ठाउँमा ड्याग बनाएर तिल छर्दा राम्रो हुन्छ वा बीच बीचमा कुलेसो बनाई पानीको निकास मिलाउनु पर्छ ।

मलखाद 

जमिनको तयारीको बेला वा एक महिना पहिला नै प्रशस्त कम्पोष्ट, गोबर मल राख्दा बढी उत्पादन लिन सकिन्छ । बढी उत्पादन लिनको लागि प्रागारिक मलको साथै रसायनिक मलको हकमा ४० के.जी. नाईट्रोजन, ३० के.जी. फास्फोरस र २० के.जी. पोटास प्रति हेक्टरका दरले प्रयोग गर्न सिफारिस गरिएको छ । नाईट्रोजनको आधा मात्रा र फस्फोरस र पोटास मलको पुरै मात्रा अन्तिम जमिन तयारीको बेलामा प्रयोग गर्ने र बाँकी नाईट्रोजन गोडमेल गरे पछि टपड्रेस गर्नु पर्छ । नाईट्रोजनलाई ०.२ प्रतिशतको घोल बनाई स्प्रे पनि गर्न सकिन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

गोडमेल तथा झारपात नियन्त्रण 

वर्षामा तिलको वृद्धि ढिलो हुने भएकोले झारपातले बालीलाई जित्न पुग्दछ । तसर्थ झारपात आउने खेतमा बाली सानै अवस्थामा हुँदै झारपात उखेखु पर्छ । पहिलो गोडाई छरेको १५-२० दिन भित्र गर्नु अति जरुरी छ । झारपात गोडाईको बेला पनि बाक्लो विरुवा १५ से.मी. को फरकमा छाट्नु पर्छ । झारपात प्रकोप बढी भएमा दोश्रो पटक पनि हातले गोडमेल गर्नु पर्छ ।

रोग व्यवस्थापन

फाईलोडी 

कारक ढुसीः क्यान्डीडाटस फाईटोप्लाज्मा 
रोग सार्ने कीराः ज्यासीड (ओरोसियस एल्बिसिंकटस) 
मुख्य लक्षणहरु : 

  • विरुवाको फूल फुल्ने भागहरुमा पातको झुप्पो जस्तो आकारका बनावटहरुको विकास भएको देखिन्छ । 
  • तिलको सबैभन्दा माथिल्लो भागमा साना-साना पातहरु र पूर्ण विकसित नभएका फूलहरुको झुप्पो देखिन्छ र उक्त फूलहरु पूर्ण रुपले बाँझो हुन्छन् । 
  • फूलको पुङ्गकेशर (स्टामेन) - पात जस्तो, भाले भाग (एन्थर) हरियो र पोथी भाग (ओवरी) शुट जस्तो बनावटमा परिणत हुन्छन् । 
  • बिरुवाहरुको इन्टरनोड सानो हुने र बिरुवा झाडी जस्तो झुप्पो आकारमा देखिने ।

व्यवस्थापन विधिः 

  • उन्नत तथा रोग अवरोधी जातको बीउ प्रयोग गर्ने । 
  • रोगमुक्त (स्वस्थ) अथवा वेभिस्टिन २ ग्राम/के.जी.ले उपचार गरेको बीउको प्रयोग गर्ने । 
  • समयमै बाली लगाउने । 
  • रोगी बोट देखिएमा उखेलेर हटाउने साथै खेतलाई झारपात मुक्त राखे । 
  • निमको बीउबाट बनेको विषादी (५%) वा निम तेल (२%) को दरले छर्ने । 
  • इमिडाक्लोप्रिड ६०० एफ.एस. ७.५ एम.एल. के.जी.ले बीउ उपचार गर्ने । 
  • ज्यासीड नियन्त्रणको लागि क्विनाल्फस २५ इ.सी. ८०० एम.एल./एकर अथवा थायोमेथोक्जाम २५ डब्लु.जी. ४० ग्राम/एकर अथवा इमिडाक्लोप्रिड १७.८ एस.एल. ४० एम.एल./एकर ४०० लिटर पानीमा मिसाई छर्ने ।
3

 

अल्टरनेरिया पात डढुवा 

कारक ढुसीः अल्टरनेरिया सिसामे 
मुख्य लक्षणहरु : 

  • पात र डाँठमा गाढा खैरा साना थोप्ला (कन्सेंट्रीक रिंग) देखापर्ने र कालान्तरमा थोप्लाहरु एक अर्कामा मिल्न गई पात तथा हरियो भाग हरु डढेको जस्तो देखिने हुन्छ । 
  • यो रोग लागेमा बोटको तल्लो पात, पेटीओल, डाँठ र कोसामा पनि गाढा देखि कालो गोलाकार अथवा अण्डाकार, थोप्लाहरु देखिन्छ। 
  • थोप्लाहरु पहेंलो अथवा मरेको क्षेत्रले घेरिएको हुन्छ जसको मध्य भागमा खैरो, सेतो मरेको जस्तो हुन्छ। 
  • रोग तल्लो पातबाट माथिल्लो पातमा बढ्दै जान्छ र पातहरु ओइलाउँदै जान्छन् । 
  • डाँठमा पछि थोप्लाहरु गाढा धर्सा जस्ता हुन्छन् र डाँठ कालो हुन्छ। 
  • तिलको कोसाहरु पुरै पाक्नु भन्दा अगाडि नै फुट्ने र दानाहरु पूष्ट नहुने र सुक्ने गर्दछन् । 
  • हावामा आद्रता बढी भएमा यो रोगको आक्रमण बढ्‌दै जान्छ।

व्यवस्थापन विधि 

  • उन्नत जातको बीउ प्रयोग गर्ने । 
  • बाक्लो गरी तिल नछर्ने । 
  • रोगमुक्त (स्वस्थ) अथवा बेभिस्टिन २ ग्राम/के.जी.ले उपचार गरेको बीउको प्रयोग गर्ने । 
  • रोग देखिना साथ् डाइथेन एम. ४५ नामक ढुसीनासक विषादी, २.५ ग्राम/लिटर पानीमा घोली १० दिनको अन्तरालमा २-३ पटक छर्ने।

   sesame

पाउडरी मिल्डू 

कारक ढुसीः ओइडीयम स्पेसिज, स्फेरोथेका फुलिजिनिया / लेभेलुला स्पेसिज 
मुख्य लक्षणहरु : 

  • यो रोग लागेमा बोटको डाँठ र पातको सतहमा सेतो खरानी जस्तो धुलो पदार्थले ढाकेको हुन्छ जुन पछि गएर क्लिस्टोथेसियामा परिणत हुन्छन् । 
  • यो रोगले फूल र भर्खर लागेको कोसाहरुमा पनि आक्रमण गर्दछ र नपाक्दै कोसाहरु झर्दछन् । 
  • अन्त्यमा पातहरु पहेंलिदै जाने, झर्ने र उत्पादनमा उल्लेख्य कमी हुन जान्छ । 

व्यवस्थापन विधिः 

  • उन्नत जातको बीउ प्रयोग गर्ने । 
  • रोगमुक्त (स्वस्थ) अथवा बेभिस्टिन २ ग्राम/के.जी.ले उपचार गरेको बीउको प्रयोग गर्ने । 
  • समयमै बाली लगाउने । 
  • रोगी बोट देखिएमा उखेली हटाउने साथै खेतलाई झारपात मुक्त राखे । 
  • रोग देखिना साथ सल्फर धुलो अथवा क्याराथेन नामक ढुसीनासक विषादी २.५ ग्राम/लिटर पानीमा घोली ७ दिनको अन्तरालमा २-३ पटक छर्ने।

sesame     sesame

किरा व्यवस्थापन

तिलका पात र कोशामा लाग्ने लार्भा 

लाभ्रे 

-लाभ्रेको शरीर फिक्का, निलो-हरियो रंगको हुन्छ । 
-शरीरमा छोटा र काला थोप्ला र रौं जस्ता अङ्गहरु हुन्छन् जुन टाढाबाट हेर्दा काला थोप्ला जस्ता देखिन्छन् । 
-पूर्ण विकसित लार्भा १७ मि.मि. जति लामो हुन्छ । 

पुतली 

-वयस्क पुतली सानो हल्का खैरो रङ्गको हुन्छ । 
-शरीरको लम्बाई २० मि.मि. हुन्छ भने पखेटाको फैलावट ६६ मि.मि. हुन्छ । 

क्षतिको प्रकार 

-लाभ्रेहरुले शुरूमा तिलका कलिला पातहरु खान्छन्, टुप्पोमा पातहरु बेर्दछन् साथै कलिला डाँठ र कोसा छेडछन् जसले गर्दा उब्जनी कम हुन्छ ।

रोकथाम 

-यस कीरा लागेको पात डाँठ र फलहरु टिपेर नस्ट गर्न सकिन्छ । 
-यो कीराले धेरै आक्रमण गरेको खण्डमा फेनोट्रोथायान (२०%) झोल वा साईपरमेथ्रिन (२५%) २०० मि.लि. अथवा मालाथायन (५०%) झोल ८०० मि.लि. अथवा -फोलीथायन (५०%) झोल ४०० मि.लि. ४०० लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्नुपर्दछ ।

sesame

 

ऐंजेरू बनाउने झिंगा (Seamum Gall Midge)

लाभ्रे 

  • लाभ्रेको शरीर सानो र हल्का पहेंलो रङको हुन्छ । 

वयस्क 

  • वयस्क झिंगा सानो र लामखुट्टे जस्तो हुन्छ । 

क्षतिको प्रकार 

  • यस झिंगाले बिरुवाको फुल र कलिला कोसामा पसेर खान लाग्छ जसले गर्दा तिनमा (फूल र कलिला कोसामा) ऐजेरु पलाउँछ र यसता ऐजेरु भएको फूल र कोसा केही दिनमा झर्दछन् । 
  • छिप्पिसकेको कोसाहरू यस झिंगाको आक्रमणबाट बच्छन् ।

रोकथाम 

  • यसका लार्भाहरु धेरै ठुलो हुने हुनाले यीनलाई सजिलै देख सकिन्छ अतः यिनलाई टिपेर नस्ट गर्न सकिन्छ । 
  • यो कीराले धेरै आक्रमण गरेको खण्डमा फेनोट्रोथायान (२०%) झोल वा साईपरमेथ्रिन (२५%) २०० मि.लि. अथवा मालाथायन (५०%) झोल ८०० मि.लि. अथवा फोलीथायन (५०%) झोल ४०० मि.लि. ४०० लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले तिलमा फूल फुल्न अगावै छर्नु पर्दछ ।

बाली कटानी तथा भन्डारण

बाली पाकेको पहिचान तथा कटानी, भण्डारण 

तिल एकै समयमा नपाक्नु तथा कोसाहरु चर्केर बीउ बोटबाटै झर्नु प्रमुख समस्याको रुपमा देखिन्छ । तिलका पात तथा कोसाहरु पहेंलो हुन थाले पछि र पात झर्न शुरु गरे पछि बाली पाकेको बुझिन्छ । बोटमा तल पट्टीका कोसाहरु पहिला पाक्छन र क्रमशः माथि छिप्पिदै जान्छन । बोट पहेंलो, खैरो हुन थाले पछि अर्थात दुई तिहाई पात तथा कोसा पहेंलो भए पछि बाली कटानी गरी हाल्नु पर्छ । बाली कटानी पछि साना साना मुठा पारी खेत वा खल्यानमा बोट ठाडो पारी ५-७ दिन सम्म घाममा सुकाउनु पर्छ । तिल काटने काम बिहान पख गर्नु पर्दछ । जसले गर्दा तिल काटदा झरेर नोक्सानी कम हुन्छ । राम्ररी नपाकेको, हरियोमा बाली काटदा बीउमा तेलको मात्रा कम र कम गुणस्तरको हुन्छ । घाममा सुकाएका कोसाहरु चर्किन, फुटन थालेपछि लठ्ठीले अथवा ट्याक्टरले दाईं गरी बीउ निकालिन्छ । बीउलाई राम्ररी सफा गरी २-३ घाम सुकाई भण्डारण गर्नु पर्दछ ।

उत्पादन

 तिलको उत्पादन यसको जात, खेती गर्ने मौसम तथा खेती गर्ने तरिका आदिमा भर पर्दछ । सबै उन्नत प्रविधि अपनाएको खण्डमा ८-१० क्विन्टल बीउ प्रति हेक्टर प्राप्त गर्न सकिन्छ । यसको सरदर उत्पादन ३-५ क्विन्टल प्रति हेक्टर रहेको छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

 डा. तारा बहादुर घिमिरे मुख्य वैज्ञानिक, एग्रोनोमी (सेवा निवृत)

नेपाल कृषि अनुसन्धान परिषद्, सिहदरबार प्लाजा, काठमाण्डौ

तेलहन बाली खेती प्रविधि