तिल परापूर्वकाल देखि खेती हुँदै आएको तेलबाली हो । अथर्व वेदमा तिलको वर्णन पाइन्छ । दक्षिण पश्चिम अफ्रिका तिलको उदगम थलो मानिएको छ । भारत, चीन, सुडान, बर्मा, मेक्सिको प्रमुख तिल उत्पादक देश हुन् । तिलको बैज्ञानिक नाम Sesamum indicum L. हो र यो Pedaliaceae परिवार अन्तर्गत पर्छ । यो एक वर्षीय बिरुवा हो । तिल नेपालमा तराई, भित्री मदेश, मध्य पहाडको बेसी तथा टारहरुमा खेती हुँदै आएको छ । यसको कूल क्षेत्रफल ८२४० हेक्टर रहेको छ । तिलको बढी क्षेत्रफल मधेश प्रदेश (रौतहट, सर्लाही, सप्तरी, सिराहा, बारा, धनुषा, महात्तरी आदि), सुदुरपश्चिम प्रदेश (कंचनपुर, कैलाली), वागमती प्रदेश (चितवन, नुवाकोट) मा रहेको छ । तिल खास-खास पकेट क्षेत्रमा लगाउने गरिन्छ । झापा, रुपन्देहीमा पनि तिलको क्षेत्र राम्रै रहेको छ । नेपालमा ३ किसिमका तिल पाइन्छन् । सेतो बीउ हुने जुन वर्षात पछि छरिन्छ र छोटो प्रकाश अवधि रुचाउने हुन्छ । अर्को कालो बीउ हुने जुन वर्षे सिजनमा छरिन्छ र लामो प्रकाश अवधि आवश्यक पर्छ । खैरो बीउ भएको अर्को जात वसन्ते सिजनमा लगाइन्छ र बैशाखा तिल भनिन्छ । यिनीहरु मध्ये कुनै चाँडो पाक्ने (७०-७५ दिन) र कुनै ढिलो पाक्ने (१३५-१४५ दिन) हुन्छन् । बीउको रङमा पनि विविधता देखिन्छ । निख्खर कालो, हल्का कालो, खैरो, हल्का रातो, सेतो, फुस्रो आदि भएको हुन्छ । कालो रङको तिलको बीउ पुजा कर्ममा चढाउने चलन छ । खैरो रङको बीउ अचार, चटनीमा रुचाइन्छ । सेतो रङको तिल लड्डु बनाउन प्रयोग गरिन्छ । खैरो तिल चाँडो पाक्ने र दुवै सिजन वर्षा तथा बसन्त ऋतुमा (वैशाख) मा लगाउन सकिन्छ । विभिन्न प्रकारका स्थानीय तिलका जातहरु पाइन्छन । कुनै प्रशस्तै हाँगा हुने र कुनै एउटामात्र मूल हाँगा हुने जातहरु पाइन्छन् ।
तिलको बीउमा ४६ देखि ५२ प्रतिशतसम्म तेलको मात्रा र १८-२० प्रतिशत प्रोटिन पाइन्छ । तिलको तेल खानाको पकवानमा, औषधि बनाउन, मालिस गर्न आदिमा प्रयोग गरिन्छ । तिलको तेल वनस्पिति ध्यु उद्योगमा ध्युको गुणस्तर बढाउन प्रयोग गरिन्छ । कम गुणस्तरको तेलबाट साबुन, रङरोगन, किटनाशक विषादी आदि बनाइन्छ । तिलको तेलमा ओलिक र लिनोलेयिक अम्ल केही बढी मात्रामा पाइन्छ । यसको तेल सफा, रङविहिन, कुनै पनि गन्ध नआउने र चिसोमा पनि नजम्ने खालको हुन्छ । यो तेल छिटो तथा सजिलै बिग्रने पनि हुँदैन । तिलको तेलले अरु सुगन्ध तथा बास्ना शोषण गर्न सक्ने हुँदा बास्नादार तेल (अत्तर आदि) बनाउनमा प्रयोग गरिन्छ । तिलको बीउ भुटेर चीनी, गुडसँग मिसाएर लड्डु बनाउने तथा अन्य मिठाईका परिकारमा प्रयोग गरिन्छ । तिलको धार्मिक महत्व पनि उत्तिकै छ । हिन्दुहरुको पुजाकर्ममा तिल नभई हुँदैन । तिलको पिना निकै पोसिलो हुने हुनाले कामदार मानिस र दुधालु पशुलाई पनि खुवाउन सकिन्छ । तिलको पिनालाई प्राङ्गारिक मलको रुपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । पिनामा ६.०-६.२%. नाईटोजन, २.०-२.२%. फास्फोरस र १.०-१.२% पोटास पाइन्छ । झारपातको प्रकोप हुने खेतबारीमा तिलको खेती गर्दा झारपातहरु नियन्त्रण हुन आउँछ । पात तथा डाँठ नरम हुने हुँदा हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । सुकेको डाँठ आगो बाल्न पनि प्रयोग हुन्छ ।




