सिलाम Perilla (Perilla frutescens) एक वर्षीय वास्नादार तेलहन बाली हो । यसको बोटको उचाई १५० से.मी. सम्म हुन्छ भने पात गोलो, हरियो र झुसिलो हुन्छ भने टुप्पोतिर खुम्चिँदै गएर टुंडो निस्किएको हुन्छ । सिलामको डाँठ चारपाटे हुन्छ र यसको डाँठपनि झुसिलो हुन्छ । सिलामको फूल सेतो रंगको हुन्छ जसको लम्बाई ३-४ एम.एम. को हुन्छ। यसको पत्रदल ३ एम.एम. को हुन्छ । सिलाम खेती यसको दाना उत्पादनको लागि गरिन्छ। १,००० दाना सिलामको तौल जम्मा ४ ग्राम मात्र हुन्छ । यसको दाना सेतो र कालो रंगका हुन्छन् ।
सिलामको उत्पति छिमेकी राष्ट्र भारत र चीनमा भएको मानिन्छ। हाल भारत, चीन, जापान र कोरियामा यसको व्यापक रुपमा खेती हुने गरेको पाइन्छ । एसियाको दक्षिण-पूर्वी राष्ट्रहरुमा पनि यसको खेती हुँदै आएको छ । विश्वमा सिलामको सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्र दक्षिण कोरिया हो। दक्षिण कोरियामा प्रति वर्ष ३७,०००-५०,००० हेक्टर जमिनबाट २८,००० देखि ३७,००० टन उत्पादन लिइराखेको पाइन्छ । जापानमा पनि १,०३० हेक्टर जति जमिनमा सिलामको खेती हुँदै आइरहेको छ (Singh and Bharti, २०१४)। नेपालको हकमा सिलामलाई मुख्य बालीको रुपमा लिइँदैन र यसको खेती पनि थोरै क्षेत्रफलमा मात्र गर्ने गरिन्छ। नेपलमा सिलामलाई कोदोसँग मिश्रित बालीको रुपमा खेती गरिंदै आएको छ र यसलाई धेरै कृषकहरूले थोरै क्षेत्रफलमा खेती गर्दै आएको पाइन्छ ।

