परिचय

परिचय र महत्व

सिलाम Perilla (Perilla frutescens) एक वर्षीय वास्नादार तेलहन बाली हो । यसको बोटको उचाई १५० से.मी. सम्म हुन्छ भने पात गोलो, हरियो र झुसिलो हुन्छ भने टुप्पोतिर खुम्चिँदै गएर टुंडो निस्किएको हुन्छ । सिलामको डाँठ चारपाटे हुन्छ र यसको डाँठपनि झुसिलो हुन्छ । सिलामको फूल सेतो रंगको हुन्छ जसको लम्बाई ३-४ एम.एम. को हुन्छ। यसको पत्रदल ३ एम.एम. को हुन्छ । सिलाम खेती यसको दाना उत्पादनको लागि गरिन्छ। १,००० दाना सिलामको तौल जम्मा ४ ग्राम मात्र हुन्छ । यसको दाना सेतो र कालो रंगका हुन्छन् । 
सिलामको उत्पति छिमेकी राष्ट्र भारत र चीनमा भएको मानिन्छ। हाल भारत, चीन, जापान र कोरियामा यसको व्यापक रुपमा खेती हुने गरेको पाइन्छ । एसियाको दक्षिण-पूर्वी राष्ट्रहरुमा पनि यसको खेती हुँदै आएको छ । विश्वमा सिलामको सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्र दक्षिण कोरिया हो। दक्षिण कोरियामा प्रति वर्ष ३७,०००-५०,००० हेक्टर जमिनबाट २८,००० देखि ३७,००० टन उत्पादन लिइराखेको पाइन्छ । जापानमा पनि १,०३० हेक्टर जति जमिनमा सिलामको खेती हुँदै आइरहेको छ (Singh and Bharti, २०१४)। नेपालको हकमा सिलामलाई मुख्य बालीको रुपमा लिइँदैन र यसको खेती पनि थोरै क्षेत्रफलमा मात्र गर्ने गरिन्छ। नेपलमा सिलामलाई कोदोसँग मिश्रित बालीको रुपमा खेती गरिंदै आएको छ र यसलाई धेरै कृषकहरूले थोरै क्षेत्रफलमा खेती गर्दै आएको पाइन्छ ।

p   p

विशेषता र महत्व 

सिलाम पोषण तथा औषधीय गुणको हिसाबले महत्वपूर्ण बाली हो । सिलामलाई नियमित उपभोग गर्दा मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति विकास गर्न मद्दत पुग्छ भन्ने विश्वास गरिन्छ । यसको सेवनले दम, डाइबेटिज, क्यान्सर र डिप्रेसनका बिरामीहरुलाई फाइदा पुग्दछ। प्रति १०० ग्राम सिलमाका दानामा पाइने पोषक तालिकामा उल्लेख गरिएको छ ।

0

 

जातहरु

जातहरु 

नेपालमा सिलामको खेती धेरै पहिले देखि हुँदै आएता पनि यसका जातहरू दर्ता भएका छैनन् । सेतो सिलाम र कालो सिलाम गरेर दुई प्रकारका सिलामहरू खेती गरिएको पाइन्छ भने नेपालमा खेती गरिने सिलामका सबै जातहरू रैथाने जातहरू हुन् ।

आवश्यकता

हावापानी 

सिलाम खेतीको लागि उपोष्ण प्रदेशीय देखि समशितोष्ण र शितोष्ण प्रदेशीय हावापानी उपयुक्त हुन्छ । पानी जम्ने स्थान सिलाम खेतीको लागि उपयुक्त हुँदैन भने धेरै चिसो तथा तुसारो पर्दा यसको बोट मर्न सक्दछ ।

माटो 

सिलाम खेती गर्नको लागि प्राङ्गरिक पदार्थ बढी भएको र पानी नजम्ने माटो उपयुक्त हुन्छ । यो बाली लगाउनको लागि माटोको पि.एच. ५.५ देखि ६.५ राम्रो हुन्छ भने बलौटे दोमट माटोमा यसको उत्पादन राम्रो हुन्छ ।

बाली लगाउने समय 

सिलाम समुन्द्री सतहबाट १२०० मिटर भन्दा माथि वैशाख देखि जेठ महिनामा लगाइन्छ भने समुन्द्री सतहबाट ८००-१२०० मिटर सम्म जेठ देखि असार महिनामा लगाइन्छ ।

सिँचाई 

सिलामको खेती गर्दा सिँचाई गरेको पाइँदैन तर बीउ छरेको समयमा माटोमा चिस्यान कमी रहेको खण्डामा सिँचाई गर्नु आवश्यक हुन्छ । तर सिँचाई गर्दा पानी जम्न दिनु हुँदैन । यदि लामो समयसम्म खडेरी परेको अवस्थामा फूल फुल्ने समयमा पनि सिँचाई गर्दा राम्रो हुन्छ ।

गोडमेल 

सिलामलाई गोडमेलको त्यति आवश्यकता पर्दैन । तर बालीको उचाई २० से.मी. पुगेपछि बाली लगाएको स्थानमा गोडमेल गर्दा राम्रो हुन्छ । मिश्रित बालीको रुपमा सिलामको खेती गर्दा गोडमेल गरेको पाइँदैन ।

कृषि इन्पुट

बीउ दर र रोप्ने तरिका 

सिलामको तौल निकै कम हुन्छ । यसको हजार दानाको तौल झण्डै ४ ग्राम हुने हुँदा बीउको मात्रा पनि कम लाग्दछ । प्रति हेक्टर क्षेत्रफलमा दुई लाख बिरुवा लगाउन सकिन्छ भने त्यसका लागि नर्सरी राखेर खेती गर्दा प्रति हेक्टर ८०० देखि १,००० ग्राम (४०-५० ग्राम प्रति रोपनी) सम्म बीउको आवश्यकता पर्दछ । सिधै छरेर खेती गर्दा प्रति रोपनी ३०० ग्राम सम्म बीउको आवश्यकता पर्दछ। (स्रोत : स्थानीय कृषक) ।

जग्गा तयारी

जमिनको तयारी 

सिलाम बाली दुई तरिकाले खेती गरिन्छ । प्रायःजसो यसलाई मिश्रित खेतीको रुपमा लगाइन्छ भने कतै कतै एकल बालीको रुपमा पनि खेती गरिन्छ । मिश्रित बालीको रुपमा खेती गर्दा पहिले नै भएको बालीलाई कुनैपनि असर नपर्ने गरि उक्त ठाउँमा भएको झारपात हटाएर बाली लगाउन जमिन तयार गरिन्छ । उदाहरणको लागि मकै लगाइरहेको जमिनमा कोदो र सिलाम खेती गर्नु परेमा झारपात तथा मकैका पुराना पातहरू हटाएर जमिन तयार गरिन्छ भने एकल बालीको रुपमा खेती गर्दा माटोमा मल मिलाएर बुर्बुराउँदो हुनेगरि जोतेर झारपात हटाउनु पर्दछ । खेती गर्ने जमिनमा पानी जम्न नदिनको लागि निकासको व्यवस्था गर्नु अपरिहार्य छ ।

मलखाद

सिलाम खेतीको लागि प्रति रोपनी ५०० के.जी. कम्पोष्ट मलको आवश्यकता पर्दछ । बाली लगाउने क्रममा प्रति रोपनी २ के.जी. नाइट्रोजन, १.५ के.जी. फस्फोरस र १ के. जी. पोटास दिनु पर्दछ भने सागको रुपमा प्रयोग गर्नको लागि पातहरू टिपेको खण्डमा प्रति रोपनी ३.५ के.जी. नाइट्रोजन र २.५ के.जी. फस्फोरस टप ड्रेस गर्नु पर्दछ ।

रोग व्यवस्थापन

डाउनी मिल्डिउ

लक्षण 
पातको माथिल्लो भागमा पहेंलो एक दिने कुखुराका चल्लाको रौं जस्तै रङ्गको साना थोप्लाहरू देखा पर्दछ । 
ति थोप्लाहरू बढदै गएर पुरै पातलाई ढाक्दै जान्छ र पातहरू खैरो बन्दै जान्छ । 
रोग लागेको केही समयपछि पात सुकेर खस्दै जान्छ र बिरुवा नै मर्दछ ।

समाधानको उपाय 
रोगका लक्षण देखिएमा उक्त पात बिरुवाबाट हटाइहाल्ने । 
सिधै पातहरुमा पानी पर्ने गरि सिँचाइ नगर्ने र हावा छिर्ने ठाउँ रहनेगरि बिरुवाहरू लगाउने । 
कपरयुक्त ढुसीनासक विषादी प्रयोग गर्दा यसको नियन्त्रण गर्न सकिन्छ ।

 

ओइलाउने रोग

लक्षण 
बिरुवाका कलिला पातहरू दिँउसोको समयमा ओइलाउने र साँझमा सामान्य देखिन्छन् । रोग बढदै जाँदा बिरुवा पूर्ण रुपमा ओइलाउँदछ र मर्दछ ।

समाधानको उपाय 

  • खेतबारीको राम्ररी सरसफाइ गर्ने। 
  • पुराना रोग लागेका बिरुवाहरू हटाउने। 
  • पानीको निकास राम्रो बनाउने । 
  • स्ट्रेप्टोमाइसिन २ ग्राम प्रति लि. पानीमा मिसाएर माटो भिज्ने गरि छर्ने वा बीउ उपचार गर्ने ।

किरा व्यवस्थापन

फेद कटुवा

पहिचान 
यो कीराको वयस्क अवस्था पुतली हो । पुतलीका अगाडिका पखेटाहरू फिक्का गाढा खैरो रङ्गका हुन्छन र मृगौला आकारका दागहरू हुन्छन । पुतलीको पछिल्ला पखेटाहरू धमिलो सेतो रङ्गका हुन्छन । लार्भा अवस्थाले कलिला बोटको फेंद काटिदिन्छ ।

व्यवस्थापन 

  • व्यासिलस थुरिन्जेनेसिस २ ग्राम प्रति लि. पानीमा मिसाएर माटोको उपचार गर्ने । 
  • कीरा लागेको थाहा पाउन साथ कीराहरू खोजि गरेर मार्ने । 
  • खेतमा सिँचाइ गर्ने ।
धमिरा

पहिचान 
यसको शरीर सेतो र नरम हुन्छ । कर्मी र सैनिक गरेर २ प्रकारका धमिरा हुन्छन् । कर्मीको टाउको अलि सानो अण्डाकार हुन्छ भने सैनिकको टाउको कर्मीको भन्दा ठुलो हुन्छ । टाउको फिक्का खैरो रङ्गको हुन्छ ।

व्यवस्थापन 

  • जमिनको सतहमा पर्ने बिरुवाको भागमा चोटपटक लाग्न नदिने । 
  • निमजन्य विषादी वा मालाथियन (१ के.जी.) प्रति रोपनीका दरले माटो उपचार गर्ने । 
  • ०.५ एम. एल. क्लोरोनाइट्रिप्रोल प्रति लिटर पानीमा मिसाइ माटोमा छर्ने ।

बाली कटानी तथा भन्डारण

उत्पादन 

सिलामको उत्पादन प्रति रोपनी ४० के.जी. सम्म लिन सकिन्छ ।

उत्पादनोप्रान्त गरिने क्रियाकलापहरु

बाली भित्र्याउने 

यसको उत्पादन आश्विन महिनाको अन्तिम सातादेखि कार्तिक महिनाको तेस्रो हप्तासम्म लिइन्छ । तर सागको रुपमा प्रयोग गर्दा बिरुवाले राम्रोसँग पात हालेको (२० से.मि. उचाई) अवस्था देखि नै उत्पादन लिन सकिन्छ। तर नेपालमा यो त्यति प्रचलनमा छैन । सिलाम बाली पाक्दा बोटका तलका पातहरू पहेंलिदै जान्छन् र उत्पादन लिने अवस्थामा पुगेका सिलामका बिरुवाको दाना फल्ने भागलाई हातमा लिँदा दाना झर्न थाल्दछ । बाली लिने अवस्थाको बोटलाई फेदबाट काटेर घाम लाग्ने, दाना झर्दा पनि सजिलै उठाउन मिल्ने सफा ठाउँमा सुकाउनु पर्दछ र राम्रोसँग सुकेपछी यसलाई माडेर दाना झारी उत्पादन लिनु पर्दछ ।

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 

विभिन्न देशहरूमा सिलामको उपयोग विभिन्न तरिकाले हुँदै आइरहेको पाईन्छ । जापान र कोरियामा सिलामको पातको अचार, सलाद र विभिन्न परिकारमा स्वादको लागि प्रगोग गरिन्छ । नेपालमा सिलामलाई अचारमा छोपको रुपमा परापूर्वकाल देखि नै प्रयोग गर्दै आइरहेको भएता पनि हाल व्यवसायिक हिसाबले भने सिलामको धेरै परिकार बनाउन थालिएको छ । सिलामलाई भुटेर नुन, खुर्सानी र टमाटरसँग पिसेर स्वादिस्ट चट्नी बनाउन सकिन्छ । यसैगरि नेपालमा मङ्सिर १५ मा सिलाम र चामल मिलाएर खाने परम्परागत चलन पनि रहेको छ । विकसित देशहरुमा सिलामको तेललाई खानामा प्रयोग गर्नुका साथै सुन्दरताका लागि र मसाज गर्न पनि प्रयोग गरिन्छ। तर नेपालमा सिलामको खेती तथा बजार व्यवसायिक हिसाबले अघि बढ्न सकेको छैन ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

 सागर जि.सी., अनिता गौतम, पीताम्बर श्रेष्ठ 
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) 
गैरापाटन पोखरा

रैथाने बालीहरुको खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र