परिचय

परिचय

तेलहन बाली नेपालको प्रमुख नगदे बाली हो । यसको खेती नेपालको तराई, मध्य पहाड तथा केही मात्रामा उच्च पहाडमा पनि गरिन्छ । यसको क्षेत्रफल तथा उत्पादन तराईमा खासगरी चितवन, नवलपरासी तथा दाङमा सबभन्दा बढि छ । वर्षे तेलहन बाली अन्तर्गत, बदाम एक प्रमुख बाली हो । यस बालीको आफ्नै किसिमको, स्वास्थ्यलाई फाइदा गर्ने किसिमको गुणहरु रहेको पाइन्छ । एक ग्राम बदामले ५.८ किलो क्यालोरी शक्ति दिन्छ । यसमा ४८ देखि ५० प्रतिशत सम्म उच्चकोटीको तेल, २६ देखि २८ प्रतिशत प्रोटिन, २० प्रकारका आवश्यक खनिज तत्व र ७ प्रकारका भिटामिन उपलब्ध हुन्छ । यसमा प्रशस्त मात्रामा खाद्यान्न रेसा तथा क्यान्सर (अर्बुद रोग) र मुटुरोग विरुद्ध उपयोगी रसायन पाइन्छ ।

peanut    peanut

वर्गीकरण
  • स्थानीय नाम बदाम 
  • वैज्ञानिक नाम : एराचिस हाइपोजिया एल. 
  • परिवार : लेगुमीनोसी 
  • उप-परिवार : प्यापीलीओनोसी 
  • जाति : रोजेल्स 
  • क्रोमोजोम संख्या: ४० 
  • खेती गरिने क्षेत्र: उष्णकटिबंधीय, उप-उष्णकटिबंधीय र न्यानो शितोष्ण क्षेत्रहरु 
  • उत्पति : ब्राजिल (दक्षिणी अमेरिका) 
  • बढी खेती गरिने देशहरु भारत, चीन, अमेरिका, सेनेगल, इन्डोनेसिया, नाइजेरिया, म्यानमार, सुडान, अर्जेन्टिना 
  • नेपालमा यसको बढी खेती गरिने जिल्लाहरु बाँके, सल्यान, म्याग्दी, काभ्रेपलान्चोक, बर्दिया, गोरखा, सर्लाही, नवलपरासी, रुपन्देही, तेह्रथुम, कास्की, पर्सा, सिन्धुली, रोल्पा 
  • प्रयोग : स्न्याक्स, खाजा, तेल, वनस्पति घिउ, पिना-पशुको आहार, मलखाद, 
  • बीउमा ५०% तेलको मात्रा हुने । प्रोटिन २६-२८%, स्यचुरेटेड फ्याट्टी एसिड-१९%, मोनो अनस्यचुरेटेड फ्याट्टी एसिड-४८%, पोली अनस्यचुरेटेड फ्याट्टी एसिड- २०%

जातहरु

जातहरु

नेपालमा १० वर्षको विभिन्न चरणका सफल अनुसन्धान पछि नवलपुर बदाम १ जात उन्मोचन गरि तराई, भित्री मधेश र मध्य पहाडको (समुन्द्री सतह वाट १४० देखि १५०० मिटर उचाई सम्मको लागि सिफारिस गरिएको छ । उक्त जातको बदाम ३०-३५ दिनमा फूल फुल्छ भने १२५ देखि १३० दिन सम्म तयार हुने गर्दछ । यस जातमा प्रति बोटमा ३४-४० कोसा लाग्ने गर्दछ भने प्रति कोसा २ ओटा दाना हुने गर्दछ । यसमा पातमा लाग्ने दुसिजन्य रोगसँग लड्ने क्षमता हुनुको साथै सुख्खा सहन सक्ने क्षमता रहेको छ । यस नवलपुर बदाम १ जातको दाना, अन्य बदामको जात भन्दा ठुलो र हल्का सेतो गुलाबी रंग र गोलो आकारको हुने गर्दछ । यस जातमा (४७.२७%) तेलको मात्रा र ३४.२२% प्रोटिनको मात्रा पाइन्छ । यस जातको मुख्य आकर्षणको बिषय भनेको यसमा रहेकको उत्पादकत्व क्षमता साथै ठुलो र पुस्ट दाना हुने रहेको छ । यसको उत्पादकत्व २.५ देखि २.८ टन प्रति हेक्टर रहेको छ ।

आवश्यकता

हावापानी

बदाम बाली अवधिमा, ७५० देखि १५०० मिलिमिटर सम्म वर्षा हुने गर्मी हावापानि हुने क्षेत्रमा बदाम खेती राम्रो हुन्छ । २० देखि ३५ सेल्सियस तापक्रम हुने तराइ, भित्री मधेश तथा मध्य पहाडी टारहरुमा नदिको छेउछाउ, पानिको निकास राम्रो भएको बलौटे दोमट जग्गामा बदाम खेती सफलताका साथ गर्न सकिन्छ ।

माटो 

यसको खेती गर्न पानी नजम्ने र निकासको उचित ब्यवस्था भएको बलौटे दोमट माटोको छनौट गर्नुपर्दछ ।

सिचाइँ 

खासगरी मनसुन वर्षा शुरू भएपछि बदाम रोपिन्छ । बाली अवधिभरी वर्षा भइरहने हुनाले सिँचाइको आवश्यकता पर्दैन तर कोसा लाग्ने वेला अर्थात रोपेको ६०-७० दिनमा सुख्खा/खडेरी भएमा एकपटक सिँचाइ गर्न आवश्यक हुन्छ । माटोमा चिस्यान कमी भएमा सुइरो माटो भित्र पस्न नसकी उत्पादन घट्न जान्छ ।

कृषि इन्पुट

बीउ उपचार 

एक किलोग्राम बीउमा थाईरम १.५ ग्राम वा बेभिष्टीन २ ग्रामका दरले मिसाइ उपचार गर्नु पर्दछ । 

बीउ दर तथा रोप्ने तरिका 

सबै बदाम एकै किसिमका हुँदैनन् । बीउको मात्रा, बदामको जातीय गुण र माटोको उर्वराशक्तिमा भर पर्छ । एक हेक्टरका लागि ७० किलो दाना अथवा १०० कि.ग्रा. कोसा बीउ लाग्दछ । लाइन देखि लाइन बिचको दुरी ४० से.मि. तथा बोट देखि बोटको दुरी १५ से.मि. कायम गर्नु पर्दछ ।

रोप्ने समय 

तराई र भित्री मधेशमा मौसमी वर्षा शुरू भएपछि जेष्ठ १५ देखि असार १५ सम्म बदाम लगाउन सकिन्छ भने मध्य पहाडको हकमा बैशाखको दोश्रो हप्ता देखि जेष्ठको दोश्रो हप्ता सम्म लगाउने गरिन्छ । रोप्ने बेलामा माटोमा प्रशस्त मात्रामा चिस्यान हुन आवश्यक हुन्छ।

जग्गा तयारी

बाली चक्र 

बदाम-गहुँ, मकै-बदाम-तोरी, बदाम-मसुरो, बदाम-चना, बदाम-हिउँदे तरकारीको बाली चक्र र अन्तरबालीमा बदाम र मकै ९२:१० को अन्तरबाली फाइदाजनक पाईएको छ ।

जमिनको तयारी 

जमिनको छनौट पछि माटोको किसिम हेरी दुई तिन पटक खनजोत गरी पाटा लगाइ माटो बुरबुराउदो पार्नु पर्दछ । कम्पोष्ट तथा राम्ररी पाकेको गोबर मल बदाम रोप्न एक महिना अगाडि पहिलो जोताइमै माटोमा मिसाइदिनु पर्दछ ।

मलखादको मात्रा तथा प्रयोग 

राम्रो सँग पाकेको गोबरमल वा कम्पोष्ट मल प्रति हेक्टर ६ देखि ८ मे.टन प्रयोग गर्न बदाम खेतीको लागि फाईदा जनक हुन्छ । मलखादको मात्रा माटोको उर्वराशक्ति तथा लगाइने बालीको किसिममा भर पर्दछ । तापनि बदाम बालीमा रासायनिक मलखादको मात्रा नाइट्रोजन २० किलो, फस्फोरस ४० किलो तथा पोटास २० किलो प्रति हेक्टर सिफारिस गरिएको छ । विशेषगरी बदामको सुइरो पस्ने बेला देखि कोसा वृद्धि हुनेबेला क्यालसियम र सल्फर तत्वहरु बोटलाई उपलब्ध हुन आवश्यक हुन्छ । जिप्सम (क्याल्सियम सल्फेट) मल ३०० देखि ४०० किलो प्रति हेक्टर फूल फुल्ने बेला प्रयोग गर्दा उत्पादनमा वृद्धि भएको पाइएको छ । कम्पोष्ट मल बीउ रोप्न एक महिना अगाडि र अन्य तत्वहरु नाइट्रोजन, फसफोरस तथा पोटास युक्त मलहरु जमिनको अन्तिम तयारीमै प्रयोग गर्नु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

गोडमेल 

बदाम अन्यबालीको तुलनामा बेग्लै किसिमको हुन्छ। यसमा हाँगामा फूल फुल्छन र कोसाको बृद्धि माटोभित्र हुन्छ। माटोमा सुइरो पस्न तथा कोसाको राम्रो बृद्धि-विकाशको लागि माटो खुकुलो बनाउनु आवश्यक हुन्छ । त्यसैले माटोको किसिम हेरी एक वा दुईपटक गोडमेल गर्नु पर्दछ । गोडमेलमा बढी ज्यामी लाग्ने भएकोले बदाम रोपेको ४८ घण्टा भित्र पेन्डिमिथालिन नामक झारनाशक विषादी २-३ एमएल प्रति लि. पानीमा मिसाई फल्याटपेन नोजल भएका स्प्रेयरले माटोमा छरेमा एक महिनासम्म झारहरु आउदैन । फाटफुट आएको झारलाई ३५ दिनभित्र उखेलेमा उत्पादन अझै राम्रो भएको पाइएको छ । अथवा, लासो ४ एम.एल. र प्रति लि. पानीमा झोल बनाइ रोपेको २ दिनभित्र छरेमा झारहरु एक महिनासम्म आउँदैन । एक हेक्टरको लागि ५०० एम.एल. पानीको आवश्यकता हुन्छ ।

रोग व्यवस्थापन

बीउ तथा बेर्ना सडन कम्प्लेक्स (Seed rot/Seedling disease complex) 

कारक ढुसीः राइजोक्टोनिया सोलानी, फ्युजारियम सोलानी, पिथियम अल्टिमम, पिथियम माइरियोटेलम, पिथियम डेब्रानियम, पिथियम एफानीडरमाटम, पिथियम बटलेरी 
मुख्य लक्षणहरु : 

  • यो रोगले विशेषगरी चार वटा चरणमा बिरुवालाई आक्रमण गर्दछ । बीउ कुहिने, उम्रनुपुर्व बेर्ना कुहिने, उम्रिसकेपछि बेर्नाको सड्ने र बेर्ना डढ्ने आदि यस रोगका प्रमुख लक्षणहरु हुन् ।
  • बीउ तथा उम्रनु पूर्व बिरुवा सडन हुने लक्षण माटो मुनिनै हुने हुदा, धेरजसो बदाम लगाएको ठाउँमा बदाम नउम्रिने र जग्गाहरु ठाउँ-ठाउँ मा खाली जस्तो देखिने हुन्छ । 
  • बेर्ना उम्रीसके पश्चात हुने बेर्नाको सडन र बेर्ना डढने वा कुहिने रोगमा बेर्नाको तल्लो पट्टिको कोलार भागमा सडन देखिने र बेर्ना ढल्ने साथै जरामा पनि ढुसीले आक्रमण गर्ने हुँदा बेर्ना पुरै कुहिने देखिन्छ । मुख्यतः पानी जम्ने र निकासको राम्रो व्यवस्था नभएको जग्गामा यो रोगको आक्रमण तथा क्षति (२५-५०%) बढी हुन्छ। 

व्यवस्थापन विधिः 

  • उन्नत जातको बीउ प्रयोग गर्ने । 
  • रोगमुक्त (स्वस्थ) अथवा बेभिस्टिन/थाईरम २ ग्राम/के.जी.ले उपचार गरेको बीउको प्रयोग गर्ने । 
  • समयमै बाली लगाउने । 
  • बाली लगाउने जग्गामा पानी जम्न नदिने र निकासको उचित प्रबन्ध गर्ने । 
  • बीउ लगाउनु पूर्व ट्राइकोडर्मा हारजिएनम (१० ग्राम/के.जी.) बीउको दरले उपचार गरेर रोप्ने वा कम्पोस्ट मलमा उक्त ढुसी मिसाएर (३ के.जी./हेक्टर) को दरले फिल्डमा छर्दा रोगको प्रकोप निकै कम हुन्छ । 
  • रोग देखिनासाथ डाइथेन एम. ४५ नामक ढुसीनासक विषादी, २.५ ग्राम/लिटर अथवा साफ (कार्बेन्डाजिम १२% म्यान्कोजेव ६३% डब्लु.पी.) ३ ग्राम/लिटर पानीमा घोली १५ दिनको अन्तरालमा २-३ पटक छर्ने।
peanut
छिटो आउने थोप्ले रोग 

कारक ढुसीः सर्वोस्पोरा एराचिडीकोला 
मुख्य लक्षणहरु 

  • यो रोगले बीउ रोपेको एक महिनामा आक्रमण गर्न शुरू गर्दछ । 
  • बोटका तल्लो पातको माथिल्लो सतहमा गोलो लाम्चो आकारको हल्का गाढा खैरो रङ्गको साना थोप्लाहरु देखिन्छ । 
  • थोप्लाहरुको चारैतिर हल्का पहेंलो रङ्गले घेरिएको हुन्छ । 
  • थोप्लाहरु पातमा, डाँठमा र सुइरोमा देखिन्छन् । 
  • थोप्लाहरु ठुलो आकारको भएमा एक अर्कोसँग जोडिन गइ पात डढेको देखिन्छ ।

व्यवस्थापन विधिः 

  • उन्नत जातको बीउ प्रयोग गर्ने । 
  • रोग अबरोधक जातहरुः आइ.सी.जी.भी. ०५२००, आइ.सी.जी.भी. ०६१८८, आइ.सी.जी.भी. ००४०१ 
  • रोगमुक्त (स्वस्थ) अथवा बेभिस्टिन/थाईरम २ ग्राम/के.जी.ले उपचार गरेको बीउको प्रयोग गर्ने । 
  • समयमै बाली लगाउने । 
  • बाली लगाउने जग्गामा पानी जम्न नदिने र निकासको उचित प्रबन्ध गर्ने । 
  • बीउ लगाउनु पूर्व ट्राइकोडर्मा हारजिएनम (१० ग्राम/के.जी.) बीउको दरले उपचार गरेर रोप्ने वा कम्पोस्ट मलमा उक्त ढुसी मिसाएर (३ के.जी./हेक्टर) को दरले फिल्डमा छर्दा रोगको प्रकोप निकै कम हुन जान्छ । 
  • रोग देखिनासाथ डाइथेन एम. ४५ नामक ढुसीनासक विषादी, २.५ ग्राम/लिटर अथवा साफ (कार्बेन्डाजिम १२% म्यान्कोजेव ६३% + डब्लु.पी.) ३ ग्राम/लिटर पानीमा घोली १५ दिनको अन्तरालमा २-३ पटक छर्ने।
beans

 

ढिलो आउने थोप्ले रोग 

कारक ढुसीः फैसरियोप्सिस परसोनाटा / सर्कोस्पोरिडीयम परसोनाटा 
मुख्य लक्षणहरु : 

  • बोटको तल्लो पातको माथिल्लो र तल्लो सतहमा हलुका खैरो रङ्गको थोप्ला देखिन्छ । 
  • थोप्लाहरु रिंगको आकारको हुन्छ । 
  • थोप्लाहरुको चारैतिर पहेंले नभइ सुकेर डढेको कालो रङ्गको हुन्छ । 
  • यो रोग ढिलो आउने हुँदा बढी नोक्सानी गर्छ । 
  • प्रकोप बढी भएमा पातमा, डाँठमा र कोसामा पनि रोगको लक्षण देखिन्छ । 
  • यो रोग बढी लागेमा पात पुरै अथवा आंशिक रुपले डढेर जान्छ।

व्यवस्थापन विधिः 

  • उन्नत अथवा रोग अवरोधी जातको बीउ प्रयोग गर्ने । 
  • रोग अवरोधक जातहरुः आइ.सी.जी.भी. ९७३२५, आइ.सी.जी.भी. ९५४१६, आइ.सी.जी.भी. ९५४१२, आइ.सी.जी.भी. ९७१००, आइ.सी.जी.भी. ९११०४ 
  • रोगमुक्त (स्वस्थ) अथवा बेभिस्टिन/थाईरम २ ग्राम/के.जी.ले उपचार गरेको बीउको प्रयोग गर्ने । 
  • समयमै बाली लगाउने । 
  • गर्मी सिजनमा गहिरो गरी खेत जोत्ने र खेतमा प्राङ्गारिक पदार्थको प्रयोग बढी गर्ने । 
  • रोगी बोटका ठुटाहरु जम्मा गरी जलाउने वा गहिरो जोताई गरी जमिनमुनि गाड्ने । 
  • घुम्तिबाली/बाली चक्रको नियम अपनाउने । 
  • बाली लगाउने जग्गामा पानी जम्न नदिने र निकासको उचित प्रबन्ध गर्ने । 
  • झारपातको नियन्त्रण समयमै गर्ने साथै धेरै बाक्लो गरी बाली नलगाउने । 
  • बीउ लगाउनु पूर्व ट्राइकोडर्मा हारजिएनम (१० ग्राम/के.जी.) बीउको दरले उपचार गरेर रोप्ने वा कम्पोस्ट मलमा उक्त ढुसी मिसाएर (३ के.जी./हेक्टर) को दरले फिल्डमा छर्दा रोगको प्रकोप निकै कम हुन्छ । 
  • रोग देखिनासाथ डाइथेन एम. ४५ नामक ढुसीनासक विषादी, २.५ ग्राम/लिटर अथवा साफ (कार्बेन्डाजिम १२% + म्यान्कोजेव ६३% डब्लु.पी.) ३ ग्राम/लिटर पानीमा घोली १५ दिनको अन्तरालमा २-३ पटक छर्ने।

किरा व्यवस्थापन

बदामको पात खन्ने कीरा (Groundnut leaf miner)

लार्भा र वयस्क 

  • पूर्ण विकसित लाभ्रेहरु करिब ६ मि.मि. लामो हुन्छन् । 
  • वयस्क पुतली सानो र मैलो रंगको हुन्छ । 
  • यसका अघिल्ला पखेटाको अग्र किनारमा एउटा सानो फिक्का सेतो थोप्लो हुन्छ । 

आक्रमण गर्ने बालीहरु 

  • बदाम, रहर, भटमास आदि, 

क्षतिको प्रकार 

  • मसिना लाभ्रेहरुले बदामको पात भित्र भित्र खन्दै हरियो भाग खान्छ । 
  • यसरी खाएको भाग सेतो कागजजस्तो देखिन्छ । 
  • बढेको लार्भाले वरपरको पातलाई एकै ठाउँमा (पातको भित्र) बसेर खान्छ । 
  • यो कीराको आक्रमण बढी भएमा बदामका पातहरु सुकेका जस्ता देखिन्छन् ।

रोकथाम 

  • यस कीरा लागेका पातहरु र लार्भा जम्मा गरि नस्ट गर्न सकिन्छ । 
  • यो कीराले धेरै आक्रमण गरेको खण्डमा फेनोट्रोथायान (२०%) झोल वा साईपरमेथ्रिन (२५%) २०० मि.लि. अथवा मालाथायन (५०%) झोल ८०० मि.लि. अथवा फोलीथायन (५०%) झोल ४०० मि.लि. ४०० लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्नुपर्दछ ।

miner   miner

पुतली समूहको अन्य कीराहरू

यो समूहमा सुर्तिको पात खाने लार्भा (Spodoptera litura) पटुवाको झुसिलकीरा (Spilarctia obliqua) बदामको मुनामा लाग्ने गबारो (Anarsia spp), जुका जस्तो लार्भा (Plusia spp), पात बेरुवा (Tortricid Caterpillar), एक प्रकारको झुसिलकीरा आदि कीराहरुले बिरुवाका पात खान्छन् र फेद काट्ने कीराले फेद काट्छन् ।

बाली कटानी तथा भन्डारण

बदाम पाकेको जाँच्ने र खन्ने 

बदाम रोपेको ३० दिनमा फूल लाग्दछ र ५०-९० दिनसम्म सुइरो माटोभित्र पस्ने र कोसा बढने क्रम भईराख्छ । त्यसैले सबै कोसाहरु एकैपटक तयार हुँदैन । पाक्ने बेलामा बदामको बोट केही पहेंलो देखिन्छ । पुराना पातहरु पहेंलियर झर्न थाल्छन । त्यसैले सम्पुर्ण कोसाहरु एकैपटक पाकिसकेको हुँदैन । करिब ७५-८० प्रतिशत कोसाहरु कडा भइसकेको छ र दाना माथि खैरो कागज जस्तो आवरण देखिएको र खोष्टाको भित्री भागमा कालो ध्वाँसे रंगको भइसकेको छ भने बाली तयार भएको थाहा हुन्छ र बाली उखेली हाल्नु पर्दछ । उखेल्न ढिलो भएमा खन्न बढि ज्यामी लाग्छ । पहिले पाकेको कोसा उम्रिन थाल्नुका साथै रोग तथा कीराको प्रकोप बढेर उत्पादन घटन जान्छ । धेरै क्षेत्रफलमा बदाम लगाएमा खन्न सजिलोका लागि एकपटक हल्का सिँचाइ गरेर चार पाँच दिन पछि बोटसहित उखेलेर खेतमै चार घाम सुकाएर कोसा अलग गर्नुपर्छ । काटिएका वा कुहिएका कोसाहरु अलग गरि सुकाएर गोदाममा भण्डारण गर्दा बदाम कुहिदैन ।

भण्डारण 

बदाम खनिसकेपछि ६-७ दिन घाममा सुकाउनु पर्दछ । कोसा हल्लाउँदा खटखटको आवाज आउने र दुइ औंला बीच दानालाई रगडदा दाना माथिको पातलो कागत जस्तो जाली सजिलै जाने भएमा बदाम सुकेको बुझिन्छ । सुकेको बदामको दानामा ८-१० प्रतिशत मात्र चिस्यान रहनु पर्दछ । कोसा फुटेका वा काटेको र ८ प्रतिशत भन्दा बढि चिस्यान भएमा भण्डारण गर्न उपयुक्त मानिंदैन । भण्डारण गर्दा कोसा सहितको बदाम राख जरुरी हुन्छ । हावाको सन्चार राम्रो भएको कोठामा काठको फल्याक माथि बोरामा अथवा भकारीमा भण्डार गर्न उचित हुन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

 डा. सुवाश सुबेदी 
संयोजक/बरिष्ठ वैज्ञानिक नेपाल कृषि अनुसन्धान परिषद् तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, सर्लाही

तेलहन बाली खेती प्रविधि