तेलहन बाली नेपालको प्रमुख नगदे बाली हो । यसको खेती नेपालको तराई, मध्य पहाड तथा केही मात्रामा उच्च पहाडमा पनि गरिन्छ । यसको क्षेत्रफल तथा उत्पादन तराईमा खासगरी चितवन, नवलपरासी तथा दाङमा सबभन्दा बढि छ । वर्षे तेलहन बाली अन्तर्गत, बदाम एक प्रमुख बाली हो । यस बालीको आफ्नै किसिमको, स्वास्थ्यलाई फाइदा गर्ने किसिमको गुणहरु रहेको पाइन्छ । एक ग्राम बदामले ५.८ किलो क्यालोरी शक्ति दिन्छ । यसमा ४८ देखि ५० प्रतिशत सम्म उच्चकोटीको तेल, २६ देखि २८ प्रतिशत प्रोटिन, २० प्रकारका आवश्यक खनिज तत्व र ७ प्रकारका भिटामिन उपलब्ध हुन्छ । यसमा प्रशस्त मात्रामा खाद्यान्न रेसा तथा क्यान्सर (अर्बुद रोग) र मुटुरोग विरुद्ध उपयोगी रसायन पाइन्छ ।



