नेपालमा तोरी बाली पछि सबभन्दा बढी क्षेत्रफल ओगटेको तेलहन बाली मध्ये आलस एउटा हिउँदे बाली हो । यसको वैज्ञानिक नाम Linum usitatissimum L. हो। यो Linaceae परिवार अन्तर्गतको एक वर्षीय विरुवा हो । आलसका खेती गरिने र जंगली गरी करिब १०० प्रजातिहरु रहेका छन् । आलसको उत्पति दक्षिण पश्चिम एशिया र युरोपको भूमध्यरेखीय क्षेत्रमा भएको मानिन्छ । आलस तेलको लागि र रेशाको लागि खेती गरिन्छ । अग्लो, हाँगा नहुने जात उच्च गुणस्तरको रेशा उत्पादनको लागि खेती गरिन्छ । अग्लो जातलाई फ्लेक्स भनिन्छ । फ्लेक्सको बीउ अलि ठूलो र तेलको मात्रा कम हुन्छ । यो जात खासगरी चिसो ठाउँमा लगाउने गरिन्छ । धेरै हाँगा हुने, बोट होचो र बीउ साना हुने जात तेल उत्पादनको लागि प्रयोग हुन्छ । बीउको रङ हल्का खैरो, पहेंलो र सेतो हुन्छ । आलसको फूलहरुको रङ पनि कुनै सेतो र कुनै निलो हुन्छ । आलस नेपालमा करिब ६० हजार हेक्टरमा खेती हुने गरेको थियो । हाल करिब १२२१२ हेक्टर क्षेत्रफलमा मात्र खेती हुने गरेको छ । सम्पूर्ण तराई क्षेत्रमा धान बालीपछि यसको खेती छरुवा अर्थात घुसुवा बालीको रुपमा गरिंदै आएकोछ । यसलाई गहुँ, तोरी आदि खेती गर्न नसकिने सिमान्त जग्गामा लगाउने चलन छ । आलसले सुख्खा सहने, खेती गर्न सजिलो, बाहिरी सामाग्री कम आवश्यक पर्ने, रोग कीराको प्रकोप कम हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकोले किसानहरुको आम्दानी बढाउन यसको खेती उपयुक्त देखिन्छ । आलसलाई गरिबको बाली भनेर पनि चिनिन्छ । यसको खेती चोखो बालीको रुपमा, मिश्रित बालीको तथा अन्तरबालीको रुपमा र घुसुवा बालीको रुपमा धान बाली पछि गरिन्छ । सिराहा, सुनसरी, रौतहट, मोरङ्ग, उदयपुर, नवलपरासी, रुपन्देही आदि प्रमुख आलस उत्पादन हुने जिल्लाहरु हुन् ।

