परिचय

परिचय

नेपालमा तोरी बाली पछि सबभन्दा बढी क्षेत्रफल ओगटेको तेलहन बाली मध्ये आलस एउटा हिउँदे बाली हो । यसको वैज्ञानिक नाम Linum usitatissimum L. हो। यो Linaceae परिवार अन्तर्गतको एक वर्षीय विरुवा हो । आलसका खेती गरिने र जंगली गरी करिब १०० प्रजातिहरु रहेका छन् । आलसको उत्पति दक्षिण पश्चिम एशिया र युरोपको भूमध्यरेखीय क्षेत्रमा भएको मानिन्छ । आलस तेलको लागि र रेशाको लागि खेती गरिन्छ । अग्लो, हाँगा नहुने जात उच्च गुणस्तरको रेशा उत्पादनको लागि खेती गरिन्छ । अग्लो जातलाई फ्लेक्स भनिन्छ । फ्लेक्सको बीउ अलि ठूलो र तेलको मात्रा कम हुन्छ । यो जात खासगरी चिसो ठाउँमा लगाउने गरिन्छ । धेरै हाँगा हुने, बोट होचो र बीउ साना हुने जात तेल उत्पादनको लागि प्रयोग हुन्छ । बीउको रङ हल्का खैरो, पहेंलो र सेतो हुन्छ । आलसको फूलहरुको रङ पनि कुनै सेतो र कुनै निलो हुन्छ । आलस नेपालमा करिब ६० हजार हेक्टरमा खेती हुने गरेको थियो । हाल करिब १२२१२ हेक्टर क्षेत्रफलमा मात्र खेती हुने गरेको छ । सम्पूर्ण तराई क्षेत्रमा धान बालीपछि यसको खेती छरुवा अर्थात घुसुवा बालीको रुपमा गरिंदै आएकोछ । यसलाई गहुँ, तोरी आदि खेती गर्न नसकिने सिमान्त जग्गामा लगाउने चलन छ । आलसले सुख्खा सहने, खेती गर्न सजिलो, बाहिरी सामाग्री कम आवश्यक पर्ने, रोग कीराको प्रकोप कम हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकोले किसानहरुको आम्दानी बढाउन यसको खेती उपयुक्त देखिन्छ । आलसलाई गरिबको बाली भनेर पनि चिनिन्छ । यसको खेती चोखो बालीको रुपमा, मिश्रित बालीको तथा अन्तरबालीको रुपमा र घुसुवा बालीको रुपमा धान बाली पछि गरिन्छ । सिराहा, सुनसरी, रौतहट, मोरङ्ग, उदयपुर, नवलपरासी, रुपन्देही आदि प्रमुख आलस उत्पादन हुने जिल्लाहरु हुन् ।

flax   flax

महत्व तथा उपयोगिता 

 नेपालमा आलस धेरै जसो खाने तेलको रुपमा प्रयोग गर्ने गरिन्छ । आलसको तेल हेर्दा पहेंलो, खैरो रङको हुन्छ र खादा अलि तितो स्वाद र वासना आउँछ । यसको बीउमा ३३-४७% सम्म तेल पाइन्छ । आलसको तेलमा लिनोलेनिक अम्ल (६६%) धेरै हुने भएकोले तुरुन्त सुक्ने गुण हुँदा औद्योगिक प्रयोजनमा खपत हुन्छ। यसको तेल खासगरी रङ्गरोगन, छाप्ने मसी, प्याड मसी, लिनोलियम, तेलका कपडा आदि बनाउनमा प्रयोग गरिन्छ । आलसको तेललाई १२५°C तापक्रममा उमालेमा तेल बाक्लो रङमा परिणत हुन्छ । यसको तेल खानामा त्यति उपयुक्त हुँदैन र स्वास्थको लागि अहितकर हुन्छ । तर यसको बीउ निकै पौष्टिक हुने भएकोले स्वास्थ्यलाई फाइदा गर्ने हुँदा हल्का भुटेर त्यसै खाने प्रचलन छ । यसको पिनामा ३६५ प्रोटिन पाइने र ८५% प्रोटिन सजिलै पच्ने हुँदा पशुपन्छीको दानामा उपयुक्त हुन्छ । पिनालाई प्राङ्गारिक मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पिनामा ५% नाइट्रोजन, १.४% फास्फोरस र १.८% पोटासियम पाइन्छ । तोरी पिना भन्दा महगोमा बिक्छ । यसको डाँठ, हाँगाबाट राम्रो गुणस्तरको रेशा तयार हुन्छ । यसको रेशा निकै बलियो र खप्ने हुन्छ । यी रेशाहरु ऊन, सिल्क, कपाससँग मिसाएर कपडा बनाउने, नोटको कागज, दमकलको पानी फाल्ने पाईप बनाउने तथा सेनाका धेरै सामाग्रीहरु बनाउन प्रयोग गरिन्छ । यसको डाँठ, परालबाट कागज तथा प्लाष्टिक बनाउने गरिन्छ ।

बाली चक्र, खेती प्रणाली 

आलस प्राय धान पछि हिउँदमा खेती गरिन्छ । अन्य वर्षेबालीसँग पनि बाली चक्र अपनाएर खेती गर्न सकिन्छ । लगातार आलस खेती नगरेर तोरी, चना, मसुरो, गहुँ, जौ बालीसँग बाली चक्र मिलाउँदा दुबै बालीका रोगका जीवाणुहरु नाश हुन पुग्छन् । आलस चोखो बाली, अन्तरबाली, मिश्रित बाली, घुसुवा बालीका रुपमा खेती गरिन्छ । आलस खेतीबाट बढी मुनाफा प्राप्त गर्न खनजोत गरी मलखाद, सिँचाइ आदि दिई एक्लो चोखो बालीको रुपमा खेती गर्दा ३१ क्विन्टल प्रति हेक्टरसम्म उत्पादन भएको पाइएको छ । आलसलाई असिंचित जग्गामा चना, मसुरो, गहुँ, जौ आदिसँग अन्तरबालीको रुपमा (२-३ : १) खेती गर्न सकिन्छ । अन्तरबालीको रुपमा खेती गरिदा कूल उत्पादनमा स्थिरता आई धेरै मुनाफा प्राप्त गर्न सकिन्छ । आलसलाई चनासँग खेती गरिदा चनाको ओइलाल्याउने रोग, कोसा खाने कीराको प्रकोप घटाउन सकिन्छ । यसरी चना खेतीको जोखिमबाट बचाउन सकिन्छ । आलसको जरा गहिरो गरी जाने हुँदा चना, मसुरोसंगै खेती गर्दा मलखादको थप आवश्यकता पर्दैन । आलसलाई चना, मसुरो, गहुँ, जौ, सूर्यमुखी, आलुसँग अन्तरबालीको रुपमा खेती गरिदा २-३ लाइन आलस र १ लाइन अरु बाली गरी लगाउन सकिन्छ । घुसुवा पद्धतिबाट खेती गर्दा धान फूलेपछि दुध भरिने बेलामा आलसलाई सिधै धान खेतमा छरिन्छ । खेत चिसो भएर जोत्न गाह्रो हुने खेतमा यो पद्धति उपयुक्त हुन्छ । यसरी खेती गर्दा धानको संचित चिस्यानको पूर्ण सदुपयोग हुन आउँछ, तर मलखाद, सिँचाइ, बाली संरक्षण आदिको व्यवस्था गरिंदैन त्यसैले उत्पादन निकै कम हुने गरेको छ । आलस खेती अधिकांश धान खेतमा खनजोत बेगर गर्ने गरेको पाईन्छ ।

जातहरु

जातहरु

नेपालमा स्थानीय जातहरुको खेती गरिदै आएको छ । तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, सर्लाहीमा आलसको जातीय छनोट कार्य शुरु गरिएको छ । हालसम्म कुनै पनि उन्नत जात खेतीको लागि सिफारिस गरिएको छैन । छिमेकी मुलुक भारतमा बढी फल्ने जातहरु जस्तै गरिमा, गौरव, हीरा, जीवन, स्वेता, शेखर, रश्मी, निला, मिरा आदि सिफारिस गरिएका छन् । यिनीहरुको उत्पादन क्षमता २०-२५ क्विन्टल प्रति हेक्टर रहेको छ । आलस करिब १३० देखि १५० दिन भित्र बाली पाकेर तयार हुन्छ ।

आवश्यकता

हावापानी 

आलस उष्ण प्रदेशीय जलवायु देखि शितोष्ण प्रदेशीय जलवायुसम्म खेती गरिन्छ । रेशाको लागि खेती गरिंदा चिसो हावापानी उपयुक्त हुन्छ भने तेलको लागि खेती गरिदा न्यानो (गरम) हावापानी उपयुक्त मानिन्छ । फूल फुल्ने बेला ३२ डिग्री सेन्टिग्रेट भन्दा बढी तापक्रम हुन गएमा आलसको कोसा बन्नमा व्यवधान पुग्दछ । यसको खेती तराई देखि पहाडका बेसी र टार (७००-८०० मिटर) हरुमा गर्न सकिन्छ । यसको बीउ उम्रन ४-२० डिग्री सेन्टिग्रेट तापक्रम चाहिन्छ । आलस बालीले तुसारो सहदैन । यसको खेतीको लागि वार्षिक ४५०-७५० मि.लि. वर्षा आवश्यक पर्छ । धेरै पानी पर्ने क्षेत्र आलस खेतीको लागि उपयुक्त मानिदैन । यसको बीउ बन्ने बेला देखि पाक्ने बेलासम्म सुख्खा मौसम उपयुक्त हुन्छ । 

माटो 

आलसको खेती पानी नजम्ने, गहिरो चिम्टाइलो माटोमा राम्रो हुन्छ । बलौटे र पानी जम्ने माटो उपयुक्त हुँदैन । धान खेतको चिस्यान अडिने माटो आलस खेतीको लागि सुहाउँदो हुन्छ । आलस बाली अम्लीय देखि तटस्थ (५.०-७.०) पी.एच. मान भएको माटोमा खेती गर्न सकिन्छ ।

सिँचाइ 

आलसमा २ पटक सिँचाइ गर्न सके उत्पादन दोब्बर हुन सक्छ । तर सिँचाइ गर्दा पानी नजम्ने गरी हल्का सिँचाइ दिनु पर्छ। पहिलो सिँचाइ छरेको ३५ दिन पछि र दोश्रो छरेको ६५ दिन पछि दिनु पर्छ । तीन पटकको सिँचाइ (३५, ५५ र ७५ दिनमा) उत्पादन बढाउन निकै प्रभावकारी सिद्ध भएको छ । आलसको हाँगाहरु पलाउने बेला, फूल फुल्ने बेला र बीउ छिप्पिने बेला सिँचाइ आवश्यक हुन्छ । एक पटकमात्र सिँचाइ दिन सक्ने अवस्था छ भने फूल फुल्नु भन्दा अगाडि दिदा राम्रो हुन्छ । नेपालमा आलस आकासे पानीको भरमा खेती गर्ने चलन छ ।

कृषि इन्पुट

बीउ उपचार 

बीउबाट सर्ने तथा माटोबाट सर्ने रोगहरुको नियन्त्रणको लागि आलसको बीउलाई बेभिष्टिन १.५ ग्राम वा थिराम ३ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर छरे पछि बीउ राम्ररी उम्रने र बोटको आवश्यक सङ्ख्या कायम हुने हुँदा १०-१५% सम्म उत्पादन बढने हुन्छ । प्राङ्गारिक उत्पादनको लागि विषादी प्रयोग नगरी बीउलाई ट्राइकोडर्मा ४ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नु पर्छ ।

छर्ने दुरी र बीउ दर 

खनजोत गरी छरुवा तरिकाबाट खेती गर्दा ३०-४० केजी बीउ प्रति हेक्टर आवश्यक पर्न आउँछ । लाइनमा लगाउँदा २५-३० के.जी. बीउ प्रति हेक्टर आवश्यक पर्छ । मसुरो, चना, रायो, जौ सँग मिश्रित खेती गर्दा ४-५ के.जी. बीउ प्रति हेक्टर भए पुग्छ । आलसलाई लाइनमा लगाउँदा २०-३० से.मी.को फरकमा लाइन कोरी बीउ छर्नु पर्छ । लाइनमा लगातार बीउ खसाल्ने गर्नु पर्छ । नेपालमा आलस खडा धान भित्र घुसुवा बालीको रुपमा छरिने हुँदा १०-१५ के.जी. बीउ प्रति हेक्टर आवश्यक पर्छ । आलसलाई छर्दा २-३ से.मी. गहिरोमा पर्ने गरी छर्नु पर्छ । बीउ सकभर कम गहिराईमा मात्र पुर्नु पर्छ । नत्र कम उम्रिने हुन्छ । माटोमा प्रशस्त चिस्यान भए कम गहिरो गरी छर्नु राम्रो हुन्छ । जग्गा तयार गरेपछि सकभर तुरुन्त बीउ छरी हाल्नु पर्छ । अन्यथा चिस्यान घटदै जान्छ ।

छर्ने समय 

बाली सकभर चाँडो लगाउने । चाँडो लगाउँदा रोग, कीराको प्रकोपबाट बचाउन सकिन्छ । धान काट्नु भन्दा १०-१५ दिन अगाडि मात्र छर्नु पर्छ । आलस छर्ने समय धानको पाक्ने समयमा भर पर्छ । सकभर कार्तिक महिनाभर छर्दा चिस्यान पुग्ने र रोग, कीरा कम लाग्ने हुन्छ । ढिलो छरेमा उत्पादन घट्ने हुन्छ ।

जग्गा तयारी

जमिन तयारी 

जमिनको तयारी राम्रोसँग गरी माटो मसिनो पार्नु पर्छ । जमिन सफा र झारपात मुक्त पार्नु पर्छ । राम्रो उत्पादन लिन खेतलाई ३-४ पटक जोती पाटा लगाई मसिनो पार्नु पर्छ । बीउ साना हुने भएकोले डल्ला भएमा उम्रिन गाह्रो हुन्छ । यसरी जग्गा तयारी गरी छरेको खेतमा झारपात कम हुने र आकाशको पानी परेमा पनि चिस्यान केही लामो समयसम्म संचित रहने हुने हुँदा बाली सप्रिन्छ ।

मलखादको प्रयोग 

आलसमा रसायनिक तथा प्राङ्गारिक मलको मात्रा मिलाएर हालेमा राम्रो उत्पादन लिन सकिन्छ । मलखाद जग्गाको अन्तिम जोताईमा माटोमा मिलाउनु पर्छ । कुहिएको गोबर मल, कम्पोष्ट मल उपलब्ध भएसम्म जमिन तयारीको बेला प्रयोग गर्नु पर्छ । सिँचाइको सुविधा भएको ठाउँमा नाइट्रोजनको आधा र फस्फोरसको पुरै मात्रा जग्गा तयारीको बेलामा राखे र बाँकी आधा नाइट्रोजन पहिलो सिँचाइ गरेपछि यानि छरेको ३५ दिन पछि टपड्रेसिग गर्नु पर्छ । सिंचित जग्गामा ६० के.जी. नाइट्रोजन र ३० के.जी. फस्फोरस, असिंचित जग्गामा ३० के.जी. नाइट्रोजन र १५ के.जी. फस्फोरस प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्छ । आलस बालीले नाइट्रोजन मलको असर राम्रो देखाउँछ भने फस्फोरस मलको खास असर देखाउँदैन । तैपनि सन्तुलित मलखादको प्रयोग गर्नु आवश्यक छ । प्राङ्गारीक उत्पादनका लागि भर्मिकम्पोष्ट २५ क्विन्टल प्रति हेक्टरका दरले प्रयोग गर्न सकिन्छ । सिंचित जग्गामा आधा भर्मिकम्पोष्ट जमिन तयारीको बेला र बाकी आधा पहिलो सिँचाइसंगै दिनु पर्छ । असिंचित जग्गामा पुरै भर्मिकम्पोष्ट शुरुमा नै जमिन तयारीको बेला प्रयोग गर्नु पर्छ । धान भित्र घुसुवा बाली लगाउँदा आलस बीउ छर्नु भन्दा २-३ दिन अगाडि १० के.जी. नाइट्रोजन अर्थात् २० के.जी. यूरिया प्रति हेक्टर जमिनमा छर्नु पर्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

गोडमेल र झारपात नियन्त्रण 

छरेको ३५ दिनसम्म बालीलाई झारपातबाट मुक्त राखु पर्छ । आलसको विरुवामा साना साना पात हुने हुनाले जमिन ढाक्न नसक्ने हुँदा झारपातले छिटै ढाक्न सक्छ । झारपातले २५-४०% सम्म उत्पादनमा कमी ल्याउँछ । आलसमा झारपात हातले उखेली हटाउनु पर्छ । लाइनमा लगाएको बालीमा २ लाइन बीचमा कुटोले वा मेशिन चालित गोडने यन्त्रबाट झारपात हटाउन सकिन्छ । बाली चक्र अपनाउदा पनि झारपातको अलि कम समस्या हुन सक्छ । झारपात नियन्त्रण गर्न झारनाशक विषादी आइसोप्रोट्युरान ७५ डब्लु.पी. १.२५० लिटर ५०० लिटर पानीमा मिसाई बीउ छरेको २ दिन भित्र वा पहिलो सिँचाइ पछि प्रति हेक्टरका दरले सम्पूर्ण जमिनको सतह भिज्ने गरी छर्नु पर्छ । प्राङ्गारिक उत्पादनको लागि २ पटक कुटो तथा यन्त्रबाट गोडमेल गरी झारपात व्यवस्थापन गर्नुपर्छ । झारनाशक विषादी प्रयोग गर्नु हुँदैन । 

बाली कटानी तथा भन्डारण

बाली पाकेको पहिचान, कटानी तथा भण्डारण 

आलसको पात सुके पछि जब ९० प्रतिशत जति बोटमा कोसाहरु खैरा, पहेला हुन थाल्छन र कोसा भित्रको बीउ चम्किने हुन्छ तब बाली पाकेको समझनु पर्छ र कटानी शुरू गर्नु पर्छ । आलसलाई हँसियाले काटी वा हातले उखेली जम्मा गर्नु पर्छ । काटेको बालीलाई मुठा पारेर खलियानमा ३-४ दिन सुकाए पछि गोरु वा ट्याक्टरले कुल्चाएर (दाई गरेर) वा लठ्ठीले चुटेर वा थ्रेसरको सहायताले पनि बीउ झार्न सकिन्छ । चुटने, थ्रेसिग गर्ने काम सकभर बिहान पख ओस नओबाउदै गर्नु पर्छ । धेरै सुकेको बेला चुटदा बीउको खोस्टामा असर पुग्छ । बाली पाक्ने बेला वर्षा भएमा बीउको चमकमा असर पुग्ने र ढुसीको सक्रमण बढन जाने हुन्छ । त्यसैले बाली पाके पछि काट्‌ने, उखेल्ने गरी हाल्नु पर्छ । बीउलाई सफा गरेर २-३ दिन घाममा सुकाए पछि मात्र भण्डारण गर्नु पर्छ । सुकेको बीउमा करिब ६-१० प्रतिशत चिस्यान कायम हुन आउँछ । सुकेको र चोटपटक नलागेको बीउ १० वर्षसम्म पनि भण्डारण गर्न सकिने र बीउको उमारशक्ति पनि कायमै रहने हुन्छ ।

उत्पादन 

असिंचित जग्गामा सरदर २००-४५० के.जी. बीउ प्रति हेक्टर उत्पादन हुन्छ । सिँचाइ सुविधा दिन सके १२००-१५०० के.जी. बीउ प्रति हेक्टर उत्पादन हुन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

- डा. तारा बहादुर घिमिरे  मुख्य वैज्ञानिक, एग्रोनोमी (सेवा निवृत)

नेपाल कृषि अनुसन्धान परिषद्, सिहदरबार प्लाजा, काठमाण्डौ

तेलहन बाली खेती प्रविधि