परिचय

परिचय र महत्व 

भागो (Cannabis sativa) लाई भाङ वा सिलाङ्गो पनि भनिन्छ । यो पोथ्रा वर्गमा पर्ने कडा, बास्नादार र सिधा हाँगा हुने वनस्पति हो । यसको उत्पति मध्य एसियाबाट भएको पाइन्छ । भाँगोका हाँगाहरू फेद र टुप्पोमा बाहेक अन्य ठाउँमा बिचमा खाली हुन्छन । यसका पातहरू जहिले पनि तीनवोटा पातको समूहमा रहन्छन । पात निस्केन ठाउँबाट तीनवोटा पातहरू निस्किन्छन् जसमध्ये बिचको पात अलि फक्रेको फस्टाएको हुन्छ भने छेउका दुइ पातहरू बिचको तुलनामा अलि छोटो र सानो हुन्छन् । यो वनस्पतिको हाँगाको माथि केही लामो कमलो डाँठमा हल्का पहेंलो हरियो रङगको फूल फुल्दछ र यसै फूलमा पछि फल लाग्दछ । भाँगो बाँस जस्तै छिटो बढने बाली हो र यो बोट पाँच मिटरसम्म अग्लो हुन्छ । भाँगो र गाँजा एकै परिवारका हुँदा मानिसहरुमा भाँगो पनि गाँजा जस्तै नसालु पदार्थ हो कि भन्ने लागे पनि भागोमा गाँजामा हुने टेट्राहाइड्रो-क्यानाबियोलको मात्रा जम्मा ०.३ प्रतिशत मात्र हुन्छ र यो गाँजा जस्तो लाग्ने हुँदैन ।

3
बालीको हालको अवस्था 

भाँगोको खेती युरोप र एसियाका विभिन्न राष्ट्रहरुमा गरेको पाईन्छ । विश्वमा सबैभन्दा बढी भाँगोको खेती हुने राष्ट्र चीन हो। हाल चीनमा १ लाख ६० हजार हेक्टर जमिनमा भाँगोको खेती गरेको पाइन्छ । पश्चिम नेपालमा समुन्द्री सतह देखि १५०० देखि ३००० मिटरसम्म विभिन्न जिल्लाहरू जस्तै बझाङ्ग, बाजुरा, दैलेख, जाजरकोट, रोल्पा, रुकुम, म्याग्दी, बाग्लुङ र दार्चुलामा खेती गर्ने गरेको पाइन्छ भने यी मध्ये पनि सबैभन्दा बढी खेती हुने जिल्ला दार्चुला हो। नेपालमा यसको खेती फाइबर र दाना दुबै प्रयोजनका लागि गरिन्छ । नेपालमा धेरै ठाउँमा अचार वा औषधीय प्रयोजनका लागि आँगन वा बारीको डिलमा २-४ बोट लगाउने प्रचलन बढी छ तर कानुनी रुपमा यसको खेती गर्न पाइँदैन ।

विशेषता

भाँगोको विभिन्न औषधीय गुणहरू रहेका छन् । यसको पातको रसबाट मानिसका विभिन्न समस्याहरू जस्तै भोक नलाग्ने, शरीरका मांशपेशीको दुखाइ, महिनावारीको समयमा धेरै रगत बग्ने, निन्द्रा कम लाग्ने, धनुष्टंकार, पेट दुखे र पखाला लाग्ने जस्ता समस्याको उपचार गरिन्छ भने रगत बग्ने समस्या, अपच, पेटमा जुका, यौनशक्तिमा कमी आएमा भाँगोको दानाबाट तयार पारिएको चुर्णको प्रयोग गरिन्छ । यसको आफ्नै सांस्कृतिक महत्व पनि छ । होली र शिवरात्री जस्ता अवसरमा यसको लड्डु बनाएर पनि खाने गरिन्छ । भाँगोको औद्योगिक महत्व पनि रहेको छ । यसको बोक्राबाट धागो निकालेर कपडाहरू पनि बुनिन्छ । भान्सामा भाँगोको अचारको स्वाद मन नपराउने व्यक्तिहरू पनि कमै भेटिन्छन् ।

bhago

 

जातहरु

जातहरु 

नेपालमा भाँगोका जातहरू दर्ता गरिएका छैनन् । तर सानो भाँगो र ठुलो भाँगो भनेर दुई प्रकारका भाँगो प्रचलनमा छन् ।

आवश्यकता

हावापानी 

भाँगो खेतीमा बीउ उम्रनको लागि ४५ डिग्रि फरेनहाइट र सापेक्षित आद्रता बढी चाहिन्छ भने यसले ६५ डिग्रि फरेनहाइटसम्म राम्रो उत्पादन दिन्छ। बिरुवा निस्किसकेपछि यसले खडेरी पनि सहन सक्दछ । भाँगो खेतीका लागि वार्षिक रुपमा २५-३० इन्च वर्षातको आवश्यकता पर्दछ । भाँगो खेतीका लागि उज्यालोको पनि त्यतिकै आवश्यकता हुन्छ । यदि टनेल निर्माण गरेर खेती गर्ने हो भने उपयुक्त मात्रामा प्रकाश छिर्ने व्यवस्था मिलाउन जरुरी छ ।

माटो 

भाँगोलाई धेरै प्रकारको माटोमा खेती गर्न सकिन्छ तर सबैभन्दा राम्रो उत्पादनको लागि पि.एच. ६ देखि ७ रहेको मलिलो माटो आवश्यक पर्दछ । खुकुलो बलौटे दोमट माटो यसको लागि उपयुक्त हुन्छ । भाँगोका जरा माटोको मुनिसम्म फैलने हुँदा खेती गरिने जमिनमा मटाको मात्रा प्रशस्त हुनु पर्दछ । खेती गरिने जमिनको माटो कडा भएमा यसको जरा राम्रोसँग फैलन पाउँदैन । आवश्यकता अनुसारको माटो उपलब्ध हुन नसकेर बिरुवामा तनाव सिर्जना हुँदा यसमा टेट्राहाइड्रो-क्यानाबियोलको मात्रा बढदै जान्छ ।

सिँचाई 

भाँगो खेती गर्नको लागि सजिलो बाली होइन किनभने यसलाई प्रचुर मात्रामा खाद्यतत्व र पानीको आवश्यकता पर्दछ । भाँगोमा सिँचाई गर्दा जमिनमा हल्का चिस्यान हुने गरि निरन्तर सिँचाई गरिरहनु पर्दछ । व्यवसायिक भाँगो खेतीको लागि थोपा सिँचाई गर्नु उपयुक्त हुन्छ । थोपा सिँचाई गर्दा बिरुवाको जरामा मात्र पानी पुग्ने, जथाभावी पानी सिँचाई नहुँदा झार कम हुने हुन्छ भने फोहोरा सिँचाई गर्दा पानी बिरुवाको पातमा रहेर विभिन्न रोगबाट ग्रस्त हुने समस्या कम हुन्छ । 
नेपालमा घरमा अचार खानको लागि बारी वा आँगनको किनारमा २-४ बोट मात्र भाँगोका बिरुवा लगाइने हुँदा सिँचाईमा त्यति ध्यान पुऱ्याइँदैन । मुगु, हुम्ला र जुम्ला जिल्लामा भाँगोलाई आकासे पानीको भरमा सिँचाई गरिन्छ ।

बाली लगाउने समय 

उच्च पहाडमा वैशाख महिनामा र मध्य पहाडमा जेठ देखि असार महिनामा भाँगोको खेती गर्न सकिन्छ । 

बीउको दर र रोप्ने तरिका 

भाँगोको बीउको मात्रा कुन प्रयोजनका लागि रोपिन्छ त्यसमा भर पर्दछ । यदि फाइबरका लागि भाँगोको खेती गर्ने हो भने अलि बाक्लो १ के. जी. प्रति रोपनी छर्न सकिन्छ भने दानाको लागि खेती गर्दा ५०० ग्राम प्रति रोपनी बीउको आवश्यकता पर्दछ ।

गोडमेल 

भाँगो खेती गर्दा उपयुक्त चिस्यान नभएको खण्डमा लट्टेझार, बेथु, धतुरो र सिस्नु जस्ता झारहरुको समस्या देखा पर्दछ । भाँगो खेतीमा झार व्यवस्थापनको लागि खेती सुरुवात गर्ने क्रममा नै बारीमा रहेका सम्पुर्ण झारपात हटाएर जमिन तयार पार्नु पर्दछ । बिरुवा लगाएको एक महिनामा पहिलो पटक र दुई महिनामा दोस्रो पटक झारहरू हटाउनु पर्दछ । भाँगो खेती गरिने जमिनको खाली ठाउँमा ढकुवा बाली लगाएर पनि भाँगोको व्यवसायिक खेतीमा झार नियन्त्रण गर्न सकिन्छ ।

रोग व्यवस्थापन

जरा तथा डाँठ कुहिने रोग

लक्षण 
यो रोगबाट प्रभावित बिरुवाहरू ओइलाएको जस्तो देखिन्छन भने बिरुवाको फैदको डाँठ गल्दै जान्छ । 
ओइलाएका बिरुवा उखेल्दा जराहरू कुहिएर झरेको देखिन्छ । 
डाँठमा सेतो रेसादार माइसेलियम बढदै गरेको देखिन्छ ।

व्यवस्थापन 
रोगका लक्षण देखिएमा उक्त पात बिरुवाबाट हटाइ हाल्ने । 
पानीको निकासको राम्रो व्यवस्था गर्ने 
ट्राईकोडर्मा धुलोको २ ग्राम प्रति लिटरले बिरुवा वरपरको माटो भिज्ने गरि छर्ने 
कार्बेन्डाजिम २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने

 

पातमा लाग्ने थोप्ले रोग

लक्षण

बिरुवाको पातमा साना साना पानी सुकेका थोप्लाहरू देखा पर्दछन । 
ति थोप्लाहरू बढदै गएर पुरै पातलाई ढाक्दै जान्छ र पातहरू खैरो बन्दै जान्छन । 
रोग लागेको अलि समयपछि पात सुकेर खस्दै जान्छ र बिरुवा नै मर्दछ ।

व्यवस्थापन

खेतबारीको राम्रो सरसफाइ गर्ने पुराना रोगलागेका बिरुवाहरू हटाउने 
पानीको निकास राम्रो बनाउने । 
स्ट्रेप्टोमाइसिन २ ग्राम प्रति के.जी. पानीमा मिसाएर माटो भिज्ने गरि छर्ने वा बीउ उपचार गर्ने ।

किरा व्यवस्थापन

गवारो

पहिचान 
यो कीराको वयस्क अवस्था पुतली हो । पुतलीका अगाडिका पखेटाहरू फिक्का गाढा खैरो रङ्गका हुन्छन र मृगौला आकारका दागहरू हुन्छन । पुतलीको पछिल्ला पखेटाहरू मैला र सेता रङ्गका हुन्छन भने दुबै पँखेटाका किनारमा काला दागहरू हुन्छन । यसको लार्भाले भाँगोको फूल र दानामा असर गर्दछ जसले गर्दा व्यवसायिक नोक्सानी नि हुन्छ । दानामा यसको असर पश्चात दाना कुहिने रोग पनि लाग्दछ ।

व्यवस्थापन 
व्यासिलस थुरिन्जेनेसिस / व्यासिलस कुर्साटाकी २ ग्राम प्रति लि. पानीमा मिसाएर माटोको उपचार गर्ने । 
कीरा लाग्ने समयमा निमको झोलले उपचार गर्ने । 
कीराको नियन्त्रणको अन्तिम अस्त्रको 
रुपमा ०.०५% मालाथियनले वा ०.१% कार्बाराइलले उपचार गर्ने । कार्बाराइलले उपचार गर्दा १% खुदोमा मिसाएर उपचार गर्दा प्रभावकारी हुन्छ ।

लाही

पहिचान

यसको शरीर नरम हुन्छ भने पात चुसेको अवस्थामा हरियो रङ्गको हुन्छ । लाही कीराबाट प्रभावित भाँगोका बिरुवाहरू रङ्ग उडेका र पात खुम्चेका हुन्छन् । लाहीको कारणले गर्दा भाँगोका फल तथा दाना झर्दछन् ।

व्यवस्थापन

१ लिटर गहुँतमा ५ लिटर पानी मिसाएर निरन्तर बिरुवामा छर्किने । 
बारुले परजीवी एफिलिनस मालीको प्रयोग गरेर कीराको जैविक व्यवस्थापन गर्न सकिन्छ । 
१० देखि १५ एम.एल. प्रति लिटर पानीको दरले बिरुवामा "मिनिरल आयल" छर्ने । 
बिरुवामा ०.०५% मालाथियन छर्ने

बाली कटानी तथा भन्डारण

बाली भित्र्याउने 

यसको उत्पादन आश्विन महिनाको पहिलो हप्ता देखि कार्तिक महिनाको पहिलो हप्तासम्म लिइन्छ । भाँगो बाली भित्रयाउने अवस्था यसको दाना हेरेर पहिचान गर्न सकिन्छ । उत्पादन लिनको लागि उपयुक्त अवस्थाको दाना हल्का खैरो रङ्ग देखि कालो रङ्गको हुन्छ । बाली भित्र्याउँदा यसको हाँगा काटेर दुई घाम सुकाई भुईमा कपडा वा कागज बिछ्याएर त्यसमा झारी राम्रोसँग सुकाएर भण्डारण गर्नु पर्दछ ।

उत्पादन 

भाँगोको उत्पादन प्रति रोपनी ४० के.जी. सम्म लिन सकिन्छ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

- सागर जि.सी., अनिता गौतम 
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) 
गैरापाटन, पोखरा

रैथाने बालीहरुको खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र