भागो (Cannabis sativa) लाई भाङ वा सिलाङ्गो पनि भनिन्छ । यो पोथ्रा वर्गमा पर्ने कडा, बास्नादार र सिधा हाँगा हुने वनस्पति हो । यसको उत्पति मध्य एसियाबाट भएको पाइन्छ । भाँगोका हाँगाहरू फेद र टुप्पोमा बाहेक अन्य ठाउँमा बिचमा खाली हुन्छन । यसका पातहरू जहिले पनि तीनवोटा पातको समूहमा रहन्छन । पात निस्केन ठाउँबाट तीनवोटा पातहरू निस्किन्छन् जसमध्ये बिचको पात अलि फक्रेको फस्टाएको हुन्छ भने छेउका दुइ पातहरू बिचको तुलनामा अलि छोटो र सानो हुन्छन् । यो वनस्पतिको हाँगाको माथि केही लामो कमलो डाँठमा हल्का पहेंलो हरियो रङगको फूल फुल्दछ र यसै फूलमा पछि फल लाग्दछ । भाँगो बाँस जस्तै छिटो बढने बाली हो र यो बोट पाँच मिटरसम्म अग्लो हुन्छ । भाँगो र गाँजा एकै परिवारका हुँदा मानिसहरुमा भाँगो पनि गाँजा जस्तै नसालु पदार्थ हो कि भन्ने लागे पनि भागोमा गाँजामा हुने टेट्राहाइड्रो-क्यानाबियोलको मात्रा जम्मा ०.३ प्रतिशत मात्र हुन्छ र यो गाँजा जस्तो लाग्ने हुँदैन ।

