हे बनाउने तरिका
पशु पन्छीको प्रकार
विवरणको प्रकार
घाँसको पौष्टिकता र उत्पादनलाई कम हुन नदिई उपयुक्त समयमा हरियो घाँस काटेर घाम वा छायामा सुकाई सुरक्षित गरी राखेको सुकेको घाँसलाई हे भनिन्छ । घाँसको किसिम अनुसार यसलाई लेग्युम हे, नन लेग्युम हे र मिश्रित हे भन्न सकिन्छ । हे बनाउनका लागि नरम खालको डाठ हुने घाँस उपयुक्त हुन्छ । जस्तै दिनानाथ, जै, बरसिम, भेच, बोडी, लुसर्न, गिनी, स्टाइलो, मोल्यासेस, सिग्नल, सिराट्रो, सटेरिया आदि । लगभग १० प्रतिशत जति फूल फूल्ने बेलामा घाँस काटेर घाममा सुकाउनु पर्दछ। पानीमा नभिज्ने र छिटो सुक्ने गरी बनाएको हे राम्रो गुणस्तरको हुन्छ ।
हे बनाउनको लागि उपयुक्त घाँसहरु
हे बनाउनको लागि पातलो डाठ भएका खास गरेर कोसे तथा अकोशे घाँसहरु उपयुक्त मानिन्छन् । जस्तै जै, बर्सिम, लुसुर्न, बाडी, सिमी तथा स्थानीय नरम घासहरु। व्यवसायीक फार्ममा यस्ता घासहरुको खेति गरीन्छ । मोटो डाठ भएका घासहरु मकै ज्वार, बाजरा आदिलाई राम्रोसँग थिचेर टुक्रा बनाएर हे बनाउन सकिए तापनि यिनीहरु साइलेज बनाउन नै उपयुक्त हुन्छन् ।
हे बनाउन घासको उपयुक्त अवस्था
कलिलो अवस्थाको घासमा मा पौष्टिक तत्वहरु अधिकतम मात्रामा हुने तर घाँस नपर्ने हुन्छ । घाँस छिप्पिदै जाँदा पौष्टिक तत्व कम हुँदै जान्छ । त्यसैले हे बनाउँदा घाँसलाई त्यतिखेर काट्नु पर्दछ जतिबेला हरियो घाँसको उत्पादन र त्यस्मा पाइने पौष्टिक तत्वको राम्रो सन्तुलन भएको हुन्छ । हे बनाउनको लागि घाँस फुल्नुभन्दा केही अगावैमा राम्रो हुन्छ ।
व्यवसायीक फार्ममा हे बनाउने तरिका
क) वर्षायाम वा हिउदमा पाइने हरियो घाँसलाई अलिअलि फुल्न लागेको बेलामा काट्नुपर्छ ।
ख) काटेको घाँसलाई ३ देखि ४ दिन घाममा सुकाउनुपर्दछ । दिनको ३,४ पटक सुकाएको घाँसलाई ओल्टाई पल्टाई गर्नुपर्दछ यसले दुवैतिर राम्रोसँग सुक्ने हुन्छ ।
ग) घाँसमा पानीको मात्रा १५ देखि २० प्रतिशतमा झरेपछि हे तयार हुन्छ ।
घ) तयार भएको हे हरियो रंगको र मिठो बास्नायुक्त हुनु पर्दछ । हे हरियो भएमा क्यारोटिन नामक तत्व पाइन्छ जसबाट शरीरमा भिटामिन ए आपूर्ति हुन्छ ।
ङ) तयार भएको हेलाई संकलन गरी बिटा बाधेर सुरक्षितसाथ भण्डारण गर्नु पर्दछ ।
