हरियो घाँसबाट साइलेज बनाउने तरिका

पशु पन्छीको प्रकार

विवरणको प्रकार

वर्षा याममा बढी पानी पर्ने र गर्मी हुने र हिउँदमा ज्यादै कम पानी पर्ने र जाडो हुने भएकोले वर्षा याममा प्रशस्त मात्रामा हरियो घाँस पाइने तर हिउँदमा घाँसको अभाव हुने गरेको पाइन्छ । वर्षा याममा प्रशस्त हरियो घाँस पशुहरुले खान पाउने हुँदा पशुहरु स्वस्थ रहने तथा उत्पादनमा समेत वृद्धि भएको पाइन्छ तर हिउँदमा पानीको कमी तुषारो हिँउ आदिको प्रकोपले गर्दा घाँस उत्पादनमा कमी हन्छ र फलस्वरुप उत्पादन पनि घट्न जान्छ । त्यसैले वर्षायाममा बढी भएको हरियो घाँसलाई संरक्षण गरेर राखी हिँउदमा खुवाउन सकियो भने पशुहरु स्वस्थ हुनुको साथै तिनीहरुबाट प्राप्त हुने दूध मासु ऊनको उत्पादनलाई कायम राख्न वा वृद्धि गर्न सकिन्छ । यसरी हरियो घाँसलाई संरक्षण गरेर राख्ने दुई तरिकाहरु ( सईलेज र हे)  प्रचलित छन् ।

साइलेज

हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेण्टेशन) गरिएको घाँसलाई साइलेज भनिन्छ । यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्न सकिन्छ । वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरुलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुंदा हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ । साइलेज बनाउन उपयुक्त घाँसहरु साइलेज वर्षायाममा प्रशस्त हुने मकै, ज्वार, टियोसेण्टी, बोडी, नेपियर आदि तथा स्थानीय कुनै पनि घासबाट बनाउन सकिने भए तापनि प्रोटीन भन्दा कार्बोहाइड्रेट बढी पाइने घाँसहरुबाट साइलेज बनाउन उपयुक्त हुन्छ ।

असल साइलेजमा हुनुपर्ने गुणहरु

राम्रो खालको साइलेज ढुसी नपरेको

मिठो अमिलो बासना आउने हुनुपर्दछ ।

राम्रो खालको साइलेजको रंग हरियो पहेंलो मिसिएको हुन्छ ।

राम्रो साइलेजको अम्लियपन ३.८ देखि ५ सम्म भएको हुनुपर्छ ।

साइलेज बनाउँदा उत्पादन हुने विभिन्न अम्लहरुमा ल्याक्टीक अम्लको तुलनामा अन्य अम्लको उत्पादन ज्यादै कम हुनुपर्दछ । अन्य अम्लहरु एसिटिक, प्रोपियोनिक र ब्युटाइरिक एसिड हुन्छन् । व्युटाइरिक एसिड बढी हुने हुँदैन यसले नराम्रो बासना उत्पादन गर्दछ । साइलेज भिजेमा यस्तो अम्ल उत्पादन हुन्छ । साइलेजका लागि घास काट्ने उपयुक्त समय साइलेज बनाउनको लागि घास उपयुक्त समयमा काट्नुपर्दछ । यदि घाँसलाई उपयुक्त समयमा काटिएन भने साइलेजको उत्पादन तथा गुणस्तरमा फरक पर्न जान्छ । वर्षायाम तथा हिउदमा प्रशस्त मात्रामा उत्पादन हुने घासहरुको साइलेज बनाउनको लागि काट्ने उपयुक्त समय मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेण्टीमा ५० प्रतिशत बोटमा फूल फुलिसकेपछि र स्थानीय घासहरुलाई फूल फुल्ने बेलामा काट्न उपयुक्त हुन्छ ।

साइलेज बनाउने तरिका

साइलेज कति बनाउनू पर्ने हो, आवश्यकता अनुसार खाडलको साइज बनाउनू पर्दछ । खाडलको एक क्युबिक फिटआयतनमा करीब १८ के.जी. साइलेज अटाउने हुँदा सो अनुसार हिसाब गरी खाडलको आकार बनाउनू पर्दछ । साइलेज बनाउनको लागि घासमा ६५ देखि ७० प्रतिशत पानी हुनुपर्दछ। तर वर्षायाममा हुने घासमा लगभग ८० प्रतिशत जति पानी हुने हुनाले घाँसमा पानीको मात्रा ६५ देखि ७० प्रतिशतमा झार्न घासलाई एक दिनभरी ओइलाउनु पर्दछ । ओइलाएको घासलाई ३ देखि ४ इन्चको टुक्रा बनाउनुपर्छ । खाडलको चारैतिर पाएसम्म प्लाष्टिक नभएमा सुकेको घाँसपात केराको पात वा अन्य पात राम्ररी मिलाएर ओछ्याउनु पर्दछ । ओइलाएर टुक्रा पारेको घाँसलाई खाडलमा हाल्दै बेसरी भारी चिजले खाद्नुपर्दछ र भरसक त्यसै दिन भरिसक्नुपर्दछ । यदि खाडल एकै दिनमा भर्न सकिएन भने बेलुका काम सकिएपछि खाडललाई प्लाष्टिकले राम्ररी छोपेर राख्नुपर्दछ जसले गर्दा वर्षाको पानी खाडलभित्र नपसोस । खाडल खनेको जमीनको सतहभन्दा २ देखि ३ फिट माथिसम्म खाडलभरी भिरालो बनाएर प्लाष्टिकले छोप्नु पर्दछ । यसरी खाडलको मुखलाई भिरालो बनाउँदा वर्षादको पानी खाडलमा पस्न पाउँदैन । प्लाष्टिक माथि माटोले राम्रोसँग छोप्नुपर्दछ। सम्भव भएमा खाडल माथी छाना बनाएमा वेश हुन्छ । खाडलमा राखी खाँदेको २ महिना पछि साइलेज झिकेर खुवाउन सकिन्छ ।

Serial No

10