बेर्ना तयारी
लहरे तरकारीको बेर्ना बेमौसमी खेतीको लागि पोलिपट वा सेल ट्रेमा तयार गरिन्छ भने मौसमी खेतीको लागि सिधै जमिनमा बीउ रोप्ने चलन रहेको छ तर बिरुवाको समुचित वृद्धि विकास गराई उत्पादन बढाउन पोलिपट वा ट्रेमा जमाएको बेर्ना रोप्नु पर्दछ । बीउ राम्रोसँग उम्रन तापक्रम र चिस्यानको आवश्यकता पर्ने हुँदा बेमौसमी खेतीको लागि लहरे तरकारी रोप्दा बीउ टुसाएर रोप्दा छिटै बेर्ना तयार गर्न सकिन्छ । बीउलाई छिटो उर्मान करिव २४ घन्टा बीउलाई भिजाएर उक्त बीउलाई कपडाले पोको पारी तातो नर्सरी वा मलखाडलमा करिब ४८ घन्टासम्म राख्दा बीउको राम्रो अंकुरण हुन्छ ।
उक्त अंकुरण भएको बीउलाई ४ इन्च चौडाइ र ६ इन्च लम्बाई भएको प्लाष्टिक थैलामा वा सेल ट्रेमा लगाएर बेर्ना उत्पादन गर्नु राम्रो हुन्छ । थैलामा माटो, गोबरमल, खरानी र बालुवाको अनुपात २ः२ः१ः१ गर्नु पर्दछ, यदि बालुवा मिसिएको माटो छ भने बालुवाको आवश्यकता पर्दैन । यदि गाउँघरमा साल वा अन्य ठूलो पात भएका बिरुवा छन् भने उक्त पातलाई सोली आकारमा गाँसी माथिको मिश्रण प्रयोग गरेर समेत बिरुवा उत्पादन गर्न सकिन्छ । अंकुरण भएका बीउ प्रति थैला करिब १ से.मि. जतिको गहिराईमा तेर्सो पर्ने गरी एक एक वटा पर्नेगरी रोपी थैला भिज्ने गरी रोपि गुमोजमा हावा नछिर्नेगरी प्लाष्टिकले छोप्ने र बीउ राम्रोसँग उम्रेपछि दिउँसो प्लाष्टिक हटाउने र राति छोप्ने कार्य गर्नुपर्दछ साथै बेला बेलामा हजारीको सहयताबाट पानी नजम्ने गरी सिंचाई गर्नुपर्दछ । बिरुवा ३ देखी ४ पातको भएपछि रोप्न योग्य हुन्छ । यदि बीउलाई ट्रेमा जमाउने हो भने राम्रोसँग कुहिएको करिब १ वर्ष पुरानो कम्पोष्ट वा मधुमासको प्रयोग गरी बीउ रोप्नुपर्दछ ।
