अगौटे डढुवा (Early blight)

यो आलु र गोलभेडा दुवै बालीको रोग हो। आलुका पातमा थोप्ला र दानामा दाग देखिने गरी संक्रमण गर्दछ भने गोलभेंडामा पात र डाँठको अतिरिक्त फलमा समेत थोप्ला तथा दाग देखिने गरी संक्रमण गर्दछ। नेपालमा अगौटे डढुवाबाट उल्लेखनीय क्षति भएको पाइएको छैन तर प्रायः सबै आलु खेती गरिने क्षेत्रहरू तराई देखि उच्च पहाडमा रोगको आक्रमण भएको पाइन्छ।

रोगको पहिचान
प्रायः तलका छिप्पिएका पातहरूमा स-साना काला थोप्ला देखि आधा इन्च व्यासका विभिन्न आकारका थोप्ला देखिन्छन् । थोप्लाको विकास हुँदै जाँदा थोप्ला भित्र केन्द्रित चक्रहरू (Concentric rings) जस्तो देखिन्छ। रोगग्राही जातमा थोप्लाको बाहिरी भागमा पहेंलो घेरा जस्तो पनि देखिन सक्छ। अनुकूल वातावरण रहिरहेमा थोप्लाहरू एक अर्कामा जोडिन सक्छन, पात सुक्न सक्छ र चाँडै झर्छ। आलुको दानामा पनि रोगको संक्रमण हुनसक्छ । रोगी दानाको संक्रमित सतह अलि दबेको खैरो तथा चाउरिएको जस्तो देखिन्छ । आलुदानाको संक्रमित भागको बाहिरी घेरा थोरै उठेको जस्तो पनि देखिन्छ ।

a
चित्रः अगौटे डढुवाले क्षति पुराएको पात र आलुको दाना


रोगको जीवाणु तथा जीवन चक्र
यो रोग अल्टरनेरिया सोलानी (Alternaria solani) नामक ढुसीबाट हुन्छ। यो ढुसी संक्रमित पात, डाँठ, दाना र माटोमा बाँच्दछ। यो ढुसी खास गरी आद्रता र सुख्खा आलोपालो भैरहने अवस्थामा बिकसीत हुन्छ र स्पोरहरू उत्पन्न हुन्छन्। यो रोग हावा, सिंचाइ, तथा पानीको छिटाबाट फैलिन्छ । बिरुवाको प्राकृतिक छिद्र तथा घाउबाट ढुसीको प्रवेश हुन्छ । सुख्खा मौसम तथा खाद्यतत्व नपुगेको बिरुवामा रोगको संक्रमण ज्यादा भएको पाइन्छ। आलु खन्ने समयमा दानामा संक्रमण शुरु हुन्छ र शीतभण्डारमा नराखिएको आलुमा भण्डारण अवधिभर रोगको विकास भैरहन्छ ।

रोगको व्यवस्थापन

  1. तीन वर्षे बाली चक्र अपनाउने तर बाली चक्रमा सोलानेसि परिवारका बालीहरू समावेश गरिनु हुँदैन ।
  2.  रोग अवरोधी वा सहन सक्ने जात लगाउने।
  3. आलुवारी सफा राख्ने झार तथा नाबो आलु हटाउने।
  4.  सन्तुलित मात्रामा मलखाद प्रयोग गर्ने विशेष गरी फस्फोरस तत्त्वको कमि हुन नदिने ।
  5. सामान्यतया विषादी छर्नु पर्दैन तर विगतमा अगौटे डढुवाबाट १५% भन्दा धेरै पातहरू नष्ट भएको अनुभव छ भने मात्र विषादी प्रयोग गर्नुपर्छ ।
  6. विषादी प्रयोग गर्नु पर्ने अवस्था आएमा कपर अक्सीक्लोराइड २ ३ ग्रा./लि. पानीका दरले बनाइएको घोल १० दिनको अन्तरमा बोट भिज्नेगरी ३ पटक छरेमा रोगको रोकथाम हुन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार