परिचय
बन्दाको खाने भाग पातहरू मिलेर बनेको डल्लो हो जसलाई बन्दाकोपी भनिन्छ । बन्दाकोपी काँचै सलाद बनाएर, तरकारी पकाएर, परौंठा बनाएर वा प्रशोधित अवस्थामा प्रयोग गरिन्छ । तामाको जस्तै बन्दाको पनि अचार बनाइन्छ जसलाई किम्ची भनिन्छ । बन्दाको औषधीय महत्व पनि हुन्छ । यसमा अल्सर निको पार्ने र अर्वुद रोग प्रतिरोध गर्ने गुण हुन्छ । काउली बाली समूह तरकारीको उद्गमस्थल पश्चिमी युरोप, साइप्रस र उत्तरी भूमध्यसागरीय क्षेत्र हुन् जहाँबाट संसारका अन्य देशहरूमा फैलिएको मानिन्छ । नेपालका सबै जिल्लाहरूमा यिनीहरूको खेती गरिन्छ । आन्तरिक र निर्यात बजारका लागि मौसमी र बेमौसमी खेतीको विस्तारबाट कृषक परिवारको आम्दानी मनग्य बढाउन सकिन्छ । डाँठको ब्यास एक से.मि. वा सो भन्दा बढी भएका दुई महिनाका बन्दाका बोटले १.५ देखि २ महिनासम्म ५–६ डि.से. तापक्रम पाएमा कोपी नलगाईकन डुकु निकाल्ने र फुल्ने गर्दछ । कोपी टिप्ने बेला भएका परिपक्व बोटले ९–१४ डि.से. तापक्रम पाएमा डुकु निकाल्ने र फुल्ने गर्दछन् । बन्दा लगाउने समय नमिलेमा शीतोष्ण क्षेत्रमा बन्दाले कोपी नलगाईकन डुकु मात्र निकाल्छ ।

