परिचय

च्याउको परिचय

सामान्यतया च्याउ भन्ने वित्तिकै हामीलाई छाता जस्तो आकारको जमिन वा मक्किएको पराल वा काठमा उम्रने हुर्कने भन्ने लाग्दछ । च्याउ एक प्रकारको वनस्पति नै हो । यो सेतो धागो जस्तो ढुसीबाट विकसित हुँदै पछि गएर च्याउको आकार लिन्छ । च्याउलाई ढुसीको पूर्णरुप पनि भनिन्छ । च्याउ एक सुक्ष्म जीवाणु हो । यो माटोमा उम्रने विरुवा होइन केवल धागो जस्तो ढूसी मात्र हो । यसलाई अंग्रेजीमा fungus भनिन्छ । यसको धागो जस्तो आकारको अवस्थालाई माईसेलिएम भनिन्छ । यही धागो जस्तो ढूसीबाट च्याउ आकारको ठूलो fruiting body निस्कन्छ । यसरी च्याउ निस्कनको लागि आवश्यक खुराक substrate, तापक्रम र सापेक्षिक आद्र्रता ठीक मात्रामा हुनु जरुरी छ । प्रकृतिमा अनेकौ जातका च्याउहरु जंगलमा उम्री राखेका हुन्छन् । ती च्याउहरु कुनै विषालु हुन्छन तर कुनै कुनै अतिनै स्वाष्टि हुन्छन् र खान हुन्छ । जंगली च्याउहरुमा कुन चाँही च्याउ खान हुने र कुन चाँही खान नहुने त्यसै भन्न सकिदैन । हाम्रो गाउँघरका पुर्ख्यौली रुपमा खाँदै आएको मानिसहरुले खान हुने र नहुन च्याउ सजिलैसंग चिनेका हुन्छन् । यो सीप बाबु बाजेबाट उनीहरुका छोरा छोरीहरुले सिक्दछन । ती जंगली च्याउहरु टिपेर बाँसको पिरंगीमा राखेर काठमाडौको वजारमा बेच्ने चलन अझ पनि जारी नै छ । तर यस्तो च्याउहरु मध्ये पनि कुनै कुनै विषालु परेर यस्तो च्याउ खानेहरु विरामी भएर अस्पतालहरुमा आएको पनि निकै पाईन्छ ।

आजको संसारमा जंगली च्याउ भन्दा पनि कृतिम तरीकाले च्याउ उमारेर खाने चलन निकै बढेको छ । लगभग ४०–५० जातको च्याउहरु उमार्ने प्रविधि विभिन्न देशमा भैसकेको छ । तर हाम्रो देशमा जम्मा चार (४) प्रकारको च्याउको खेती गर्ने प्रविधि विकास भईसकेको छ । यी हुन्
१. गोब्रे च्याउ (White button)
२. कन्ये च्याउ (Oyster mushroom)
३. मृगे च्याउ (Shitake)
४. पराले च्याउ (Straw mushroom)
यी बाहेक दुधे तथा रातो च्याउको खेति नेपालमा फाट्टफुट्ट रुपमा गरेको पाईन्छ |

उक्त बिभिन्न जातको च्याउहरु उमार्नको लागि भिन्न तापक्रम र मौसमको आवश्यकता पर्दछ । गोब्रे र कन्ये च्याउ काठमाडौ उपत्यका र मध्य पहाडी भेगमा राम्रोसंग उम्रन्छ, भने पराले च्याउ तराईको गर्मी मौसममा उम्रन्छ । त्यस्तै सिताके च्याउ उच्च पहाडी भेग र मध्य पहाडमा राम्रो भएको पाइएको छ । कन्ये च्याउ तराईमा पनि जाडो महिनामा राम्रो उत्पादन भैरहेको छ । यसरी यी चार प्रकारका  च्याउहरु नेपालको पहाडी र तराई भेगमा उमार्न सकिएको छ र यी चारै प्रकारका च्याउ उत्पादन गर्न यसको प्रविधि र बीउ नेपालमै उपलव्ध छ |

च्याउको जीवनचक्र
यहाँ  चित्रमा देखाइए अनुसार च्याउ छाता आकारको हुन्छ । छाताको भित्रपट्टि पत्रपत्र जस्तै हुन्छ र त्यसमा नै च्याउको बीउ वन्दछ । च्याउको बीउ गोलाकार, च्याप्टो वा लाम्चो आकारको ज्यादै मसिनो, आँखाले नदेखिने धूलो जस्तो हुन्छ । यसलाई स्पोर्स भनिन्छ । यही बीउ चाँहीदो खुराक, तापक्रम र आवश्यक पानीको मात्रा पाएपछि उम्रेर धागो जस्तो ढूसी वन्दछ । यही ढूसीबाट च्याउ निस्कन्छ । यसरी प्रकृति (जंगल) मा च्याउको जीवनचक्र चलिरहेको हुन्छ । तर कृत्रिम तरीकाले च्याउ खेती गर्दा त्यसको जीवनचक्र भिन्न हुन्छ ।

सिताके च्याउको परिचय

सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईन्छ । यो च्याउलाई नेपालको विभिन्न भागमा विभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा उम्रिराखेको हुन्छ र वर्षायाममा जंगलबाट संकलन गरी काठमाडौको बजारमा वेच्ने गरेको समेत देख्न पाईन्छ । तर हिजो आज जंगली अवस्थाको यो च्याउ बजारमा पहिले भन्दा कम देखिन थालेको छ । यस च्याउको बैज्ञानिक नाम लेन्टिनस (Lentinus edodes)  र अंग्रेजी भाषामा सिताके भन्ने गरिन्छ । करिब ३०० बर्ष अगाडि चीनका बैज्ञानिकहरुले कृत्रिम तरीकाबाट यसको खेतीको शुरुवात गरेका थिए भने हाल जापानमा समेत यसको प्रशस्त मात्रामा खेती हुने गरेको छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । तर, काठको अभावले गर्दा यस प्रविधिलाई अगाडि बढाउन सकिएन र यसको उत्पादन खाली अनुसन्धानमा मात्र सीमित रहन गयो । हाल कृषि प्रविधि केन्द्रको अनुसन्धान कार्य अन्तर्गत पुनः सिताके च्याउ खेतीको परीक्षण आरम्भ गरिएको छ र यसका लागि गाऊँ घरमा पाइने छिटो छिटो बढ्ने जातका रुखहरुका मुढाहरुलाई उपयोग गरिएको छ । उक्त परीक्षणबाट प्राप्त परिणाम अनुसार उत्तिस, सौर, लाकुरे, माउदा आदि रुखका मुढाहरुमा सिताके उम्रन सक्ने पाइएको छ । तसर्थ, बन बिकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहहरुले प्राप्त गर्ने काठहरुमा यो च्याउको खेती गर्न सम्भव देखिएको छ ।

बिश्वका विभिन्न देशहरुमा सिताके च्याउ खेती हुने गरेको पाइन्छ । सिताके च्याउ सबैभन्दा पहिले चीनमा उत्पादन गरिएको हो भने आजसम्म पनि यो च्याउको सबैभन्दा बढी उत्पादन हुने देश चीन नै रहेको छ । सिताके च्याउ उत्पादन गर्ने अन्य देशहरुमा जर्मनी, बेल्जियम, अष्ट्रेलिया, क्यानडा आदि छन् । एसियामा जापान, कोरिया, ताइवान, सिंगापुर, मलेशिया, चीन आदि मुख्य रुपमा सिताके च्याउ खेती हुने देश हुन् । हाल भूटानमा पनि यसको खेती गर्न थालिएको छ । सिताके च्याउको खेती विभिन्न देशमा स्थानीय रुखका मुढाहरुमा गर्ने गरेको पाइन्छ । हालसम्ममा काठमाडौ र पोखरा क्षेत्रका जंगलहरुमा पाईने छिटो बढ्ने ५–६ जातका रुखहरु यसको खेती प्रयोजनमा उपयुक्त पाईएका छन् ।

कन्ये च्याउको परिचय

कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्रता ८० प्रतिशत हुनु पर्छ । भौगोलिक दृष्टिकोणले ८००– १४०० मिटर उचाई भएको ठाउँमा चैत्र महिनादेखि कार्तिक महिनासम्म र सोभन्दा कम उचाई भएको स्थान जस्तै तराईमा कार्तिकदेखि माघसम्म यसको खेती सफल हुनेछ । काठमाण्डौं उपत्यकामा यसको खेती फाल्गुणदेखि कार्तिक महिनासम्म गर्न सकिन्छ । तर हाल जाडोमा पनि उम्रने जातको बीउ पाइने भएकोले जाडोमा पनि यसको खेती गर्न सकिन्छ ।

दुधे च्याउको परिचय

दुध जस्तै सेतो भएकोले यसलाई दुधे च्याउ भनिएको हो र  अंग्रेजीमा(Milky mushroom) भनिन्छ भने बैज्ञानिक नाम (Calocybe indica )हो । यस दुधे च्याउको खेती गर्मी मौसममा गर्नु पर्दछ । यस च्याउको खेती गर्न काठमाण्डौं उपत्यकामा जेष्ठ महिना देखि भाद्र महिना सम्म र तराई र भित्रि मधेसमा जाडो महिना बाहेक अन्य समय उपयुक्त मानिएको छ । यस च्याउको खेती धानको पराल, गहुँको छ्वाली, मकैको ढोड, तोरीको गट्टे आदिमा गर्न सकिन्छ तर उपयुक्त भने धानको परालमा नै देखिएको छ ।    

उपयुक्त तापक्रम
तापक्रम नियन्त्रण गरि खेतीको तापक्रम थाहा पाएर मात्र कुन खेती  हुदाँ च्याउ खेती गर्दा ढुसी फैलाउन २०–३० से. ग्रे. र च्याउ फलाउन २८ से. ग्रे. देखि ३५ से ग्रे तापक्रम र औसत आद्रता ८०–८५ प्रतिशत हुन आवश्यक छ । उमार्ने मध्यामको पि एच ६.५–७.५ सम्म राम्रो मानिएको छ 

 

रातो च्याउको परिचय तथा महत्व

परिचय
औषधिय गुणले भरिपूर्ण रातो रंगको च्याउलाई नेपालीमा रातो च्याउ, अंग्रेजीमा (Red mushroom), र जापानिज भाषामा रेशी (Reshi)भनिन्छ । यसको  बैज्ञानिक नाम (Ganoderma) हो । यसको डाँठ कालो रंगको हुन्छ । कुनै कुनै च्याउको छाता गाढा रातो रंगको पनि पाईएको छ । यो च्याउ समुद्री सतहबाट एक हजार मिटर देखि अठ्ठार सय मिटर उचाइ भएका पहाडी भुभाग भएका जंगलमा उम्रेको पाईएको छ । काठमाण्डौ उपत्यकाको फूल्चोकी, शिवपुरी, नागर्जुन, सुन्दरीजल, चन्द्रागिरी, लेले, सूर्य विनायक तथा उपत्यका बाहिर टिष्टुङ्ग, पालुङ्ग, दामन आदी ठाउँमा पनि पाइएको छ ।
यसलाई जंगलबाट संकलन गरि ल्याएर त्यसैबाट बीउ तयार गरि यसको खेती र अनुसन्धान भईरहेको छ । नेपालमा यसका नेपाली, जापानिज, फिलिपिनी र बेल्जीयम जातका रातो च्याउको केही मात्रामा व्यवसायिक रुपमा खेती भई रहेको छ । यसको बजार मुल्य अरु च्याउको तुलनामा महंगोमा बिक्रि भइरहेको र यसको माग दिन प्रतीदिन बढि रहेको पाइएको छ ।

रातो च्याउको उपयोगिता 
यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभई बिभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका विरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसंग लड्ने क्षमतामा बृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ र यौन बर्धक पनि मानिएको छ । 

च्याउको महत्व

च्याउ खेतीका फाईदाहरु

  • सानो लगानीबाट बढी फाइदा लिन सकिने बाली हो ।
  • च्याउमा विभिन्न प्रकारको पौष्टिक तत्व पाइन्छ ।
  • च्याउमा मासुमा सरह एमिनो एसिड पाइन्छ ।
  • च्याउमा भिटामिन बी भएकोले कोलेस्ट्रोल समस्या भएकालाई सहयोग पुर्याउँछ ।
  • दिनहुँ च्याउ सेवन गर्नाले क्यान्सरमुटु र किड्नीको रोग कम लाग्छ भन्ने अनुसन्धानले पुष्टि गरेको छ ।
  • मधुमेह रोग हुनेले कार्बोहाइड्रेट कम भएकाले खान हुने साथै मोटो मानिसलाई बोसो घटाउन उपयोगी हुन्छ ।
  • च्याउमा एस्कोर्विड एसिडपान्टोथेनिक एसिडनियासिनफोलिक एसिड पाउने हुनाले विभिन्न रोगसँग लड्ने क्षमता बढी हुन्छ ।
  • च्याउमा पाउने प्रोटिनले पचाउन र पाचन प्रणालीमा समेत सहयोग गर्दछ ।

च्याउको पौष्टिकता
नेपाली समाजमा च्याउलाई खानामा उच्चस्थान दिइएको छैन । वाहुनहरुले त यसलाई खान नहुने खानामा राखेको छ । तर यसको स्वाद अत्यन्तै स्वादिष्ट भएको हुँदा बाहुनले च्याउ खाए पो स्वाद पाउँछ भन्ने उखान चल्तीमा पनि छ । च्याउमा अत्यन्त महत्वपूर्ण पौष्टिकतत्वहरु पाइन्छन् । च्याउमा मुख्य गरेर प्रोटिनभिटामिन र विभिन्न मिनरल्स (धातु) पाइन्छ । च्याउको प्रोटिनमा पनि विभिन्न प्रकारको एमिनोएसिड्स पाइन्छ र तिनीहरु हाम्रो शरीरको लागि नभइनहुने तत्व हुन् । भिटामिनमा एबीर सी प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै खनिज पदार्थमा क्याल्सियमफोस्फोरस आदि पाइन्छ । त्यसैले च्याउलाई एक पौष्टिक खानाको रुपमा लिन सकिन्छ ।

च्याउमा पाइने पौष्टिक तत्वहरु

क्र. सं.

पौष्टिक तत्वहरू

प्रतिशत मिलिग्राम
 प्रति १०० ग्राम

पानीको मात्रा

९०.८९९१.२

प्रोटिन

२८३०

चिल्लो पदार्थ

१६१७.६

कार्बोहाइड्रेट

५४.८५६.४

कच्चा रेसा

१०.९११.०

खरानी

९.८१०.२

फलाम

१२०१२२

क्याल्सियम

३४३५

फस्फोरस

जातहरु

कन्ये च्याउका जातहरु

प्लुरोटस साजोर–काजु (Pleurotus sajor-kaju) : जातको च्याउको खेती सामान्यतया परालमा ८००–१४०० मिटरको उचाइमा चैत्रदेखि कार्तिक महिनासम्म २०–३०० सेन्टिग्रेड तापक्रममा र सो भन्दा कम उचाइमा कार्तिकदेखि माघ महिनासम्म २०–३०० सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ । यसका लागि सापेक्षिक आर्द्रता ८०% हुनु पर्दछ । यसको पूर्ण र राम्रोसँग फल्ने अवस्था २८० सेन्टिग्रेड तापक्रम मानिन्छ ।

प्लुरोटस ओइस्ट्राटस :  हिउँदको जाडो मौसममा प्लुरोटस ओइस्ट्राटस जातको कन्ये च्याउको खेती गर्दा बढी आम्दानी लिन सकिन्छ । यो जातको च्याउको खेती भदौ असोज महिनाबाट गर्दा राम्रो हुन्छ । यसका लागि १५–२०० सेन्टिग्रेडको तापक्रम राम्रोहुन्छ र सापेक्षिक आर्द्रता ८०% भन्दा बढी हुनु पर्दछ । प्रायः जसो कन्ये जातका च्याउहरु फल्न औसत तापक्रम २३० सेन्टिग्रेड उपयुक्त भएको पाइन्छ । प्लुरोटस साजोर–काजु र प्लुरोटस ओइस्ट्राटस जातका च्याउको खेती गर्न कस्तो–कस्तो हावापानीको आवश्यकता पर्दछ ।

आवश्यकता

गोब्रे च्याउ खेति गर्ने मौसम तथा स्थान

खेती गर्ने ठाउँ
अरु तरकारी खेती जस्तो च्याउ खेती जमीनमा गर्न सकिदैन । यसको लागी घरको कोठा वा अलग्गै टहरा बनाई भित्र गर्नु पर्ने हुन्छ । आजकल सस्तोमा बनाउन सकने प्लाष्टिकको टनेल, छ्वाली वा परालले छाएको छाप्रो, अथवा जस्ता राखेको टहरोमा यो च्याउको खेती गर्न सकिन्छ । कसै कसैले पुराना घरहरुमा खेती गरेका छन भने कसैले नयाँ घरमा सिमेन्ट फ्लोर भएको घर भित्र पनि च्याउ खेती गर्ने गरेका छन । यसरी च्याउ खेतीको लागि घर भित्र वा छाप्रो, टहरोको व्यवस्था गर्नु जरुरी छ ।

 खेती गर्ने मौसम
 उच्च पहाडी स्थानदेखि लिएर तराईको फराकिलो फाँटमा समेत यसको खेती गर्न सकिन्छ । तर ठाउँ अनुसार उपयुक्त मौसम भने छान्नु पर्दछ । पहाडी इलाकामा आषाढ–श्रावणमा मल तयार गरी बीउ छरेमा आश्विन देखि मंसिर महिनासम्म च्याउ फल्दछ । पौष–माघमा कम्पोष्ट (मल) तयार गरी बीउ छरेमा फाल्गुणदेखि बैशाखसम्म च्याउ फल्छ । तराइको क्षेत्रमा हिउँद याममा मात्र गोब्रे च्याउ फल्न सक्दछ । तराईमा कार्तिकको अन्तसम्ममा मल तयार गरी बीउ छरको खण्डमा पौष र माघमा च्याउ उत्पादन गर्न सकिन्छ ।

सफल च्याउ खेती गर्न केही तल दिएका प्रविधिहरु अनुशरण गर्न जरुरी छन् ।

क) कम्पोष्ट मल बनाउने

ख) च्याउ रोप्ने कोठा सफा गर्ने

ग) ब्याड वनाउने

घ) बीउ छर्ने

ङ) माटोको उपचार र ब्याडमा माटोले छोप्ने – क्रेसि· गर्ने )

च) च्याउ टिप्ने

रातो च्याउको लागि उपयुक्त हावापानी

यसको खेती २२ देखि ३१ डि.से. तापक्रम भएको ठाउँमा गर्न सकिन्छ तर उपयुक्त तापक्रम २५ देखि २८ डि.से. र सापेक्षिक आद्र्रता ८० देखि ९५ प्रतिशत हुनु पर्दछ । बढि तापक्रम भएमा रोग कीरा लाग्ने संम्भावना हुन्छ । खेती गर्ने ठाउँ बढि ओसिलो हुनु आवश्यक छ ।

कृषि इन्पुट

कन्ये च्याउ खेतीको लागि आवश्यक सामाग्री

१) ड्रम बा फोसी पोटासी
२) प्लाष्टिक बाटा र बाल्टीन
३) भुस्सा काट्ने कैंची
४) मट्टितेल स्टचोभ वा चूलो
 ५) प्लाष्टिक सिट
६) प्लाष्टिक ब्याग
७) पराल
८) च्याउको बीउ

 

 पराले च्याउको खेतीका लागि आवश्यक सामग्रीहरु

 पराले च्याउको खेती पराल, केराको पात, कपासका टुक्राहरु, उखुको वोक्रा तथा अन्य पदार्थहरुमा गर्न सकिन्छ । यो च्याउ खेती गर्नका लागि निम्न सामग्रीहरुको आवश्यकता पर्दछ ।
१. च्याउ खेती गर्ने ठाउँ– घरको कोठा, फुसको छाप्रो, जस्ता पाताको छाना भएको टहरो अथवा रुखको छहारी २. सब्सट्रेट – पराल वा केराको पात वा अन्य पदार्थ
३. बीउ– पराले च्याउको बीउ अर्थात स्पान
४. पराल भिजाउने भाँडो – फलामका ड्रम वा सानो पोखरी
५. व्याड बनाउने सामान –बाँस वा काँठ वा ईटा वा ढुंगा आदि
६. ब्याड छोप्ने सामाग्री – प्लास्टिकको सिट

खेति गर्ने तरिका

रातो च्याउको खेती प्रबिधि

गाउँघरमा पाइने उत्तिस काठको मुढामा यस च्याउको खेती गर्न सकिन्छ । रुख ८ देखि १० वर्ष जति उमेरको हुनु पर्दछ । रुखलाई पालुवा आउनु अगाडि अर्थात कात्तिक मंसिरमा काट्नु पर्दछ । काठको मुढाको लम्बाइ १५ से.मी. र गोलाई करिब २० देखि २५ से.मी. हुनु आवश्यक छ । यसरी तयार पारिएको काठको मुढालाई प्लाष्टिकको झोला (कन्य च्याउ रोप्ने झोला जस्तो) भित्र राखी झोलाको मुख बाँधेर ड्रममा कन्य च्याउको पराल बफ्याए जस्तै गरि करीब ३ देखि ४ घण्टा सम्म बफ्याउँनु पर्दछ । बफ्याउँदा ड्रमको बाहिरी भागमा हातले छुन नसकिने तातो हुनु पर्दछ ।

काठको मुढालाई बफ्याए पछि चिसो बनाउनका लागि सुरक्षित स्थानमा राख्नु आवश्यक छ । काठको मुढा चिसो भएपछि प्लाष्टिकको मुख खोली रातो च्याउको बीउ सुरक्षित साथ छर्नु पर्दछ । काम गर्ने व्यक्ति, स्थान आदी सफा हुनु अति आवश्यक छ । बीउ छरि सकेपछि सफा २० देखि २५०से. तापक्रम भएको कोठामा मुढामा ढुसी फैलाउन राख्नु पर्दछ । करिब अढाई महिनामा काठको मुढामा  ढुसी फैलिई सक्दछ । ढुसी फैलिई सकेपछि प्लाष्टिकको झोला हटाई काठको मुढालाई माटो भित्र गाड्नु पर्दछ । माटो भित्र गाडेको २ देखि ३ महिना भित्र च्याउ उम्रन शुरु गर्दछ । च्याउ उमार्ने ठाउँमा सापेक्षित आद्र्रता ९० प्रतिशत भन्दा माथि भएको र उज्यालो हुनु आवश्यक छ । पौष–माघमा यस च्याउको बीउ रोपेमा जेष्ठ–आसाढमा च्याउ उत्पादन शुरु हुन्छ र वर्षमा २ बाली लिन सकिन्छ । 

गोब्रे च्याउको लागि  कम्पोष्ट मल बनाउने तरिका

कम्पोष्ट मल घाम र पानीबाट बच्ने किसिमले ओत लागेको स्थानमा बनाउनु उचित हुन्छ । कम्पोष्ट बनाउन सबभन्दा पहिले पराललाई २ टुक्रा पारेर १ दिन पहिले पानीमा भिजाउनु पर्छ । भोलिपल्ट पराललाई चाङ लगाउनुपर्दछ । यसको लागि एउटा काठको ५/५ फिटको फ्रेमको आबश्यक पर्दछ । कम्पोष्ट बनाउँदा परालसंग यूरिया र एमोनियम सल्फेटको सबै मात्रा मिसाउनुपर्छ । यो मल परालको चाङ बनाउँदा तह-तह गरेर राम्रोसंग छर्नुपर्छ । कम्पोष्ट बनाउँदा कच्चा पदार्थलाई करिब ४/४ दिनको फरक पारेर जम्मा ८ पटक पल्टाएपछि कम्पोष्ट मल तयार हुनेछ ।

 कम्पोष्ट मल बनाउने कच्चा पदार्थहरु

निम्न ४ चार प्रकारका कम्पोष्ट मलहरु बनाई गोब्रे च्याउ खेती गर्न सकिन्छ ।

कम्पोष्ट (क)

सि.नं

 कच्चा पदार्थ

परिमाण

मिसाउने समय

१.

पराल.

१००० के.जी

१ दिन अगाडी भिजाउने

२.

युरिया

५ के.जी

पराल  भिजाएको २४ घण्टापछि पराल चाङ लगाउने बेला

३.

एमोनियम सल्फेट

२० के.जी.

पराल भिजाएको २४ घण्टापछि पराल चाङ लगाउने बेला

सुपरफोष्फेट(ट्रिपल)

७ के.जी.

दोसो पल्टाईमा

५.

कृषि चून

३० के.जी.

चौथो पल्टाईमा

कीरा र रोगको औषधी

 

छैटौं पल्टाईमा

 

कम्पोष्ट (ख)

सि.नं.

 

कच्चा पदार्थ

परिमाण

मिसाउने समय

१.

 

पराल

१००० के.जी

१ दिन अगाडी पानीमा भिजाउने

२.

 

यूरिया

५ के.जी

दुवै मल मिसाएर

३.

एमोनियम

१६ के.जी पराल

सल्फेट चाङ लगाउँदा तह गरी हाल्ने

 

डि.ए.पी

७ के.जी

दोश्रो पल्टाईमा हाल्ने

 

५.

 

कृषि चून

३० के.जी

चौंथो पल्टाईमा

६.

 

रोग र कीराको औषधी

 

छैठौं पल्टाईमा

 

कम्पोष्ट (ग)

सि.नं.

कच्चापदार्थ

परिमाण

मिसाउने समय

१.

पराल

१००० के.जी

१ दिन अगाडी पानीमा भिजाउने

२.

यूरिया

११.५के.जी.

परालको चाङ लगाऊँदा हाल्ने

३.

डि.ए.पी.

७ के.जी.

दोश्रो पल्टाईमा

४.

कृषि चून

३० के.जी.

चौंथो पल्टाईमा

५.

रोग र कीराको औषधी

 

छैठौं पल्टाईमा ।

 

कम्पोष्ट (घ)

स.नं.

कच्चा पदार्थ

परिमाण

मिसाउने समय

१.

पराल

१००० के.जी

१ दिन अगाडि पानीमा भिजाउने

२.

कुखुराको मल 

१५० के.जी.

परालको चाङ लगाऊँदा हाल्ने

३.

डि.ए.पी.

७ के.जी.

दोश्रो पल्टाईमा

४.

कृषि चून

३० के.जी.

चौथो पल्टाईमा

५.

रोग र कीराको औषधी

 

छैठौं पल्टाईमा

 

अन्य आवश्यक सामाग्रीहरु

१. फर्मालिन १ लिटर

२. नुभान १०० एम.एल.

३. डेरोसाल ५० ग्राम

त्यसपछि तल उल्लेख गरिए अनुसार समय समयमा राम्रोसंग मिसिने गरी पल्टाउनु पर्छ । राम्रो स्तरको मल तयार हुन करीब २८ दिन लाग्नेछ ।

 क) पहिलो पल्टाईमा चाङ लगाएको ५ पाँचौ दिनमा काठको फ्रेमलाई संगैको भुईमा राख्ने अनि कम्पोष्ट मलको वाहिर भित्रको पराल मिसाएर हाल्दै पल्टाउने गर्नुपर्छ । यस बेला केही पनि नहाल्ने ।
 ख) दोस्रो पल्टाई १० दशौं दिनमा गर्ने र यसबेला सिफारिस गरिए अनुसारको सुपर फोस्फेट तह तह गरी छर्कने र मल पल्टाउने ।
ग) तेस्रो पल्टाई् १३ दिनमा गर्नुपर्छ । यस पटक केही पनि नराख्ने ।
 घ) चौथो पल्टाई १६ दिनमा गर्नुपर्छ । यस वेला कृषि चून चाहिने मात्राको राख्दै मल पल्टाउने ।
 ङ) पाँचौ पल्टाई १९ दिनमा गर्ने तर यसबेला केही मिसाउनु पर्दैन ।
 च) छैटौं पल्टाई २२ दिनमा गर्नुपर्छ । तर यसवेला कीरा र रोग नाशक औषधीहरु जस्तै नूभान १ एम. एल. र डेरोसाल १/२ ग्राम प्रति लिटर पानीको दरले करीव २० लिटर जति झोल तयार गरी स्प्रे गर्नु जरुरी छ । किनभने तयार हुन लागेको कम्पोष्ट केही हानिकारक जिवाणुहरु तथा किराहरुलाई नियन्त्रण गर्नु पर्दछ ।
 छ) सातौं पल्टाई २५ दिनमा गर्नुपर्छ । यसबेला केही मिसाउनु जरुरी छैन ।
 ज) आठौ पल्टाई २८ दिनमा गर्नुपर्छ । यस पटक कम्पोष्ट तयार भैसकेको हुन्छ ।

 तयार भएको कम्पोष्टलाई पाकेको मल पनि भन्दछन् । यो खैरो कालो रङको हुन्छ । तयार कम्पोष्ट मलमा केही पनि मिसाउनु पर्दैन । तर यसबेला मलको चिस्यान ( पानी)को मात्रा ७० प्रतिशत र पि.एच.करीव ७७.५ हुनुपर्दछ । अलिकति कम्पोष्ट हत्केलामा लिएर मुठ्ठाले थिचेर हेर्दा पानीको एकदुई थोपा निस्केमा अथवा हत्केला मात्र भिजेमा मलमा पानीको मात्रा ठीक रहेछ भन्ने जानु पर्दछ । यदि पानीको थोपाहरु धेरै चुहिने भएमा अर्को एक दुई पल्टाई गरेर बढी भएको पानी निखार्नु पर्दछ । यदि पानीको मात्रा ठीक भएमा व्याड बनाउने काम शुरु गर्नु उचित हुन्छ । यसबेला यसमा एमोनिया ग्यासको गन्ध हुनु हुँदैन । मलको राम्रो बास्ना आउनु पर्छ पराल निकालेर तान्दा सजिलैसंग चुँडिएर जान्छ । मलको पि.एच. नाप्न पि.एच. पेपर प्रयोग गर्नु पर्छ ।

सिताके च्याउको काठको मुढामा गरिने खेती

काठको छनौट
विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठहरुमा गर्ने गरिएको पाइन्छ तर, नेपालमा गरिएका हालैका अनुसन्धानहरुबाट प्राप्त नतिजा अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएकाले गाऊँ घरमा यी जातका रुख मध्ये जुन जातको पाइन्छ त्यही रुखका काठहरु छनौट गर्नु पर्दछ ।

काठका मुढाहरु कटान गर्ने
 च्याउ खेती गर्नका लागि काठका मुढाहरु कटान गर्दा रुखको उमेर ५–१० वर्ष भएको हुनु पर्दछ । काठको मुढाको साइज १ मिटर लामो र १०–१५ सेन्टिमिटर गोलाई भएको हुनु पर्दछ । काठ काट्दा मुढामा र बोक्रामा केही सामान्य चोट लाग्न दिन हुँदैन । काठ जाडो महिनामा काट्नु पर्दछ । मंसिर महिनाको अन्तिम हप्ता सबैभन्दा राम्रो समय मानिन्छ । काठको मुढाको बोक्रा फाल्नु हुँदैन ।

काठका मुढाहरु सुकाउने
 रुखबाट आफुलाई चाहिने जति काठका मुढाहरु काटीसकेपछि त्यसलाई एक महिना वा २०–३० दिनसम्म सुकाउनु पर्दछ । काठहरु सुकाउदा सिधा द्धाममा नसुकाई रुखको छहारी वा सेडमा वा स्याउला वा पराले छोपेर सुकाउन पर्दछ । सुकाएको काठमा चिस्यान ४०–४५ प्रतिशत कायम हुनुपर्दछ । चिस्यान यो भन्दा बढी भएमा धेरै ढूसी उमे्रर काठ चाडै सढ्छ भने चिस्यान त्यो भन्दा कम भएमा च्याउ राम्रोसंग उम्रिदैन ।

 काठका मुढाहरुमा प्वाल पार्ने तरीका
काठको मुढामा च्याउ जाडो मौसममा रोप्नु पर्दछ । रोप्ने बेलामा वायुमण्डलीय तापक्रम १०–२० डि.से. हुनु पर्दछ भने सापेक्षिक आर्द्रता ७०–८० प्रतिशत हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा प्वालको गोलाई १ सेन्टिमिटर वा एक औला र गहिराइ १ सेन्टिमिटर वा १ औला हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा ४ औला अर्थात ५ सेन्टिमिटरको फरक पारेर बनाउनु पर्छ । काठको एक टुप्पोबाट अर्को टुप्पोसम्म एक लाइन प्वाल पारेपछि अर्को लाइनमा प्वाल पार्दा पहिलो लाईनबाट ३ औला तल पार्नु पर्दछ । दोस्रो लाइनका प्वालहरु पहिलो लाइनको प्वालहरुको वीचमा पर्ने गरी बनाउनु पर्दछ ।

 काठका मुढाहरुमा बीउ रोप्ने तरीका
काठका मुढाहरुमा प्वाल पार्ने काम सकिएपछि वीउ रोप्ने तयारी गर्नुपर्दछ । वीउ रोप्नलाई निम्न सामानहरु आवश्यक पर्दछ ।
१) काठमा प्वाल पार्ने ड्रिलिंग मेसिन वा बर्मा  – १

२) १– १.५ से.मि. साइजको ड्रिल विट            २

३) पाराफिन वाक्स (कोरा मैन)                  आधा के.जी.

४) मैन पगाल्ने सानो दिक्चि वा कराई           १

५) एउटा छोटो कपडाले बेरेको सिन्को           १

६) सिताके च्याउको बीउ                       चाहिने जति

७) बीउ निकलेर हाल्ने बाटा                     १

आवश्यक प्वालहरु पारी सकेपछि बीउ रोप्ने काम गर्नु पर्छ । सिताके च्याउको वीउ काठको धूलोमा बनाएको हुनुपर्छ । यो बीउ सिसीबाट निकाली एउटा भाँडामा राख्नु पर्दछ । बूढी औला जत्रो एक टुक्रा बीउ लिएर काठका प्वालमा राख्नु र औलाले विस्तारै थिचेर भित्र पठाउनु पर्छ । यसरी काठको प्वाल वीउले भर्नुपर्छ । काठको सबै प्वालमा वीउ भरेपछि एउटा भाँडामा मैन तताई राख्नु पर्छ र त्यो तातो मैनको झोलले प्वाल टाल्नुपर्छ । यसको लागि एउटा सिन्कोमा कपडा बेरेर प्रयोग गरे राम्रो हुनेछ । सबै काठका मुढाहरुमा एकसाथ प्वाल पार्ने र सबै प्वालमा वीउ राख्दै जाने र अन्तमा मैनले प्वाल टाल्नु पर्दछ । यति गरेपछि सिताके च्याउको बीउ रोप्ने काम समाप्त हुन्छ । यो च्याउको ढूसी काठको बोक्रा भित्र क्याम्बीयम भन्ने तहमा फैलन्छ । काठको बोक्राले यो ढूसीलाई बचाइ राख्छ र च्याउ निस्कने बेला काठको बोक्राले ठूलो मद्दत पुर्यांउदछ ।

 वीउ रोपेका काठका मुढाहरुको हेरचाह
यी काठका मुढाहरु राख्ने ठाऊँ राम्रो हुनु अति जरुरी छ । ठाउ“ छान्दाखेरि धेरै घाम नभएको छायाँ भएको ठाऊँ हुनु पर्दछ । त्यसैले छाना मात्र भएको छाप्रो हुनु बेश हुन्छ वा रुखका छहारीमा राख्न पनि सकिन्छ । वीउ रोपेको १ महिनासम्म यी काठहरु चांग लगाएर राख्नुपर्छ । एक महिना पछि यसलाई चारवटा चारतिर राखेर चारपाटे बनाई र एक पछि अर्को तह गर्दै चाङ लगाउनु र दिनको एकपल्ट काठमा हजारीले पानी हाल्नुपर्छ । धाराबाट पानी आइरहेको छ भने विस्तारै पाइपबाट पानी दिई काठलाई भिजाउन सकिन्छ । यसरी राखेको काठ एक महिनापछि माथिको तल तलको माथि पारी पल्टाई दिनुपर्छ । यसरी वीउ भएको काठका मुढाहरुमा नौ महिनासम्म स्याहार गर्दै जानुपर्छ । काठमाडौको अवस्थामा काठलाई मंसिरमा काटी पौष एक महिनाभरी सुकाएर मात्र माघ महिनामा वीउ रोप्दा ठीक हुन्छ । वीउ रोपेपछि ८ महिना (फाल्गुन–भदौ) सम्म हरेक महिनामा पल्टाउदै रहने र त्यसपछि च्याउ फलाउनलाई छाप्रोमा राम्रोसंग मिलाएर राख्नुपर्छ ।

च्याउ फलाउने तरीका
वीउ रोपेका मुढाहरुमा ढूसी राम्रोसंग फैलिएपछि यी मुढाहरु च्याउ पलाउने छाप्रो वा छहारीमा राख्नु पर्दछ । यसबेला काठका मुढाहरु पहिले जस्तो भुईमा नराखीकन ठाडो पारेर राख्नु पर्दछ । यसको लागि एउटा वा दुइवटा बा“स छाप्रोको लम्बाई अनुसार छाप्रोको बीचमा दाया“ बाया“ काठको अडेस लगाएर राख्ने । अनि यही बा“सलाई सपोर्ट गरी ढूसी भएका मुढाहरु ठाडो पारेर अडेस लगाई लहरै मिलाएर राख्नु पर्दछ । यसरी एउटै बा“समा दुबै पट्टीबाट दुई लाइन काठका मुढाहरु राख्न सकिन्छ यसैबेला छाप्रोको छेउमा एउटा सानो पोखरी बनाई पानी जम्मा गर्ने अनि यी काठहरुलाई ठाडो पारेर राख्नु पर्छ । त्यसको लागि एक पटक पोखरीको पानीमा १२ देखि २४ घण्टासम्म डुबाउने अनि वाँस माथि सोझै ठडाएर राख्ने र मुढा भिज्ने गरी दिन दिनै पानी हाल्दै गर्नु पर्छ । यसरी काठहरु ठाडो पारेर राख्दा काठमा घाम छिर्न दिनु हुँदैन र काठ राखेको ठाऊँ ओसिलो हुनु पर्दछ । केही दिनपछि वीउ रोपेको काठको विभिन्न भागबाट सानो सानो च्याउ उम्रन थाल्दछ । यी उम्रेका च्याउ ठूलो हुनलाई ४ देखि ६ दिन लाग्दछ ।

एउटा मुढामा एक वर्षमा ३ पटकसम्म च्याउ फल्दछ । एक चोटी च्याउ फलिसकेपछि दिन दिनै पानी दिएर ती मुढाहरुलाई ४०–६० दिनसम्म चाङ लगाएर राख्नु पर्दछ । पटक पटक गरी काठका मुढाहरुबाट च्याउ फलाउने कोशिस गर्नु पर्छ । मौसम अनुसार श्रावणदेखि फाल्गुणसम्म च्याउ फल्ने सम्भावना रहन्छ । तर ज्यादै जाडो हुने महिना पुष र माघमा भने खासै फलेको देखिएन । माथि उल्लेखित प्रविधिहरु काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरीका र समयमा गरेको खण्डमा उक्त काठहरुबाट महंगो सिताके च्याउ फलाउन सकिन्छ । यस च्याउ खेतीमा सफलता पाउनको लागि उल्लेखित कार्यहरु होसियारीका साथ समयमा कार्यान्वयन गरेमा महंगो च्याउ उत्पादन गरी आर्थिकस्तर सुधार गर्न सकिने निश्चित छ ।

दुधे च्याउको खेति

दुधे च्याउ खेती गर्दा सबैभन्दा राम्रो धानको पराल नै हो ।  ताइचुङ्ग धानको पराल चाडै नगल्ने भएकोले  निकै      
राम्रो मानिएको छ । पराल नयाँ र राम्रोसँग सुकेको हुनुपर्दछ । हरियो परालमा दुधे च्याउ फल्दैन ।

१. सर्वप्रथम पराललाई १–१.५ इन्चसम्मको टुक्रामा काट्ने र बीउको मात्रामा मिलाउने पराल जोख्ने । ५ कि.ग्रा. सुख्खा पराललाई २५० ग्राम च्याउको बीउ आवश्यक पर्दछ ।    
२. ३० मिनेट जति सफा पानीमा काटेको पराल भिजाउने ।            
३. ५–६ घण्टा वा एक रात छायाँमा पानी तर्काउने ।                          
४. हातले थिच्दा चिसो मात्र हुने गरि पानीको मात्रा मिलाउने ।                           
५. मःम बफ्याए जसरि पराल बफ्याउने । (तापक्रम ३०–१०० से.)                    
६. २ घण्टा समय सम्ममा बफ्याउने ।                                                 
७. पराल चिसो भएपछि १८” –२२” को प्लास्टिक ब्यागमा पराल बीउ (करिब ६ इन्च) गरि 
   तह तह मिलाई बीउ रोप्ने वा छर्ने थिच्ने र मुख बाँध्ने । 
८. प्लास्टिक ब्याग वा डल्लो वा Ball मा २०–२५ वटा वरपर सुइरोले प्वाल पार्ने ।
९. डल्लोलाई भुइँमा मात्रै वा डोरीको सहायताले झुण्डाउने ।
१०. कोठाको तापक्रम २०–३० से. हुने गरि मिलाउने ।
११. तीन हप्ता देखि एक महिनामा परालमा सेतो ढुसीले ढाक्दछ ।
१२. ढुसीले ढाकेपछि उपचार गरेको माटोले १–१.५ इन्च वाक्लो गरि छोपी दिने यसलाई              
    (Casing)भनिन्छ ।
१३. प्लास्टिकको मुखमा हल्का पानी छम्किने ।
१४. यस समयमा तापक्रम २८–३५से. आवश्यक पर्दछ ।
१५. १०–१५ दिन भित्रमा स–साना च्याउ देखिन सुरु हुन्छ ।
१६. एक हप्ता भित्रमा च्याउ टिप्न योग्य हुन्छ ।
१७. एक पटक लगाएको च्याउको डल्लोमा २–३ पटकसँग च्याउ फुल्दछ ।
१८. च्याउ खेती गरिएको स्थानमा सर सफाई राम्रो नभएमा रोग कीराले दुःख  दिन  सक्दछ । 

कन्ये च्याउको खेति गर्ने तरिका

कन्ये च्याउ खेती गर्नको लागि सफा र राम्रो कुन्यू लगाएको पराल हुनु पर्दछ । परालमा हरियोपन भएको खण्डमा ढूसी फैलन गाह्रो पर्दछ । आफुलाई चाहिने जति राम्रो पराल जोखिसकेपछि करिब २–३ इन्च लामो टुक्रा पार्नु पर्छ । यो पराल टुक्रा पार्नको लागि भुस्सा काट्ने कैंची ( चुलेसी) प्रयोग गर्न सकिन्छ । टुक्रा पारेको पराललाई कमसेकम दुई घण्टासम्म सफा पानीमा भिजाउनुपर्छ अर्थात रातभरी भिजाए पनि हुन्छ । भिजाइसकेको पराललाई ठूलो बाटा वा भाडोमा सफा पानी राखी राम्रोसंग पखाल्नु पर्दछ । पखाल्दा पखाल्दै पानी धमिलो भने भने फेरि सफा पानी फेर्नु पर्दछ ।
 यसरी पखालिसकेपछि परालको पानी तर्कन दिन २–४ घण्टा राख्नु पर्दछ । परालबाट पानी तर्काउनको लागि १ मिटरमा काठको फ्रेम राखेर बनाई त्यो जाली भुईबाट उठाई भुईमा नछुने गरी राख्नु पर्छ । त्यस माथि भिजेको पराल राख्दा पानी चाडै तर्किन्छ । पानी तर्काइसकेको पराललाई हत्केलामा एकमुठ्ठी लिई थिचेर हेर्दा यदि पानीका थोपाहरु ननिस्की खाली हत्केला मात्र भिज्यो भने त्यसमा पानीको मात्रा ठीक रहेछ भनि यकीन गर्न सकिन्छ । यदि पानीको थोपाहरु धेरै निस्केको देखियो भने त्यसलाई अरु १–२ घण्टा पानी तर्काउन राख्नु पर्छ ।

पराले च्याउ खेती गर्ने सकिने ठाउँहरु

खेती गर्ने सकिने ठाउँहरु
पराले च्याउ खेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरको वाहिर खेतबारी, रुखको छहारी वा खरका छाप्रोहरु अर्थात टहरा (सेड) मा गर्न उपयुक्त हुन्छ । त्यसैले यो च्याउको खेती गर्नको लागि विशेष प्रकारको घर चाहिदैन । गाऊँमा आफ्नै घरका छेउछाउमा घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सिधा घाम र धेरै हावाले लाग्ने ठाउ“ भने उपयुक्त हुँदैन । च्याउ खेती गर्न माटोको सतह अरु जमिनभन्दा अलि अग्लो भएको हुनुपर्छ । जमिनमा पानी जम्न दिनु हुँदैन च्याउको व्याड वनाउने सतहमा ईटा वा ढुंगाको लाइन छापेर वा काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाहरुको चाङ लगाउनुपर्दछ । च्याउको व्याडको चारैतिर सानो कूलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको व्याडमा मुसा र अन्य कीराहरु जान सक्दैनन् । साथै यसले च्याउको व्याडलाई ओसिलो बनाई राख्दछ । ठाऊँको किफायत गर्नका लागि ३ तल्ला गरी ब्याड बनाउन सकिन्छ । यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ ।

पराले च्याउ खेती गर्ने सबस्ट्रेट तयार गर्ने विधि

पराले च्याउको खेती हातले काटेको परालमा गरिन्छ । च्याउ खेती गरिने पराल राम्रोसंग सुकेको हुनुपर्छ । नया“ सफा परालमा च्याउ खेती राम्रो हुन्छ । केराको बोटमा सुकेको पातहरु पनि परालको सट्टा प्रयोग गर्न सकिन्छ । यसरी राम्रो सुकेको केराको पात र पराल तह–तह गरेर राखेमा झन् बढी मात्रामा च्याउ फल्ने सम्भावना हुन्छ । सबभन्दा पहिले परालको छेउ र टुप्पो काट्नुपर्छ र पराल वा केराको पातलाई मुठा बनाउनुपर्छ । त्यसपछि परालको लम्बाई एक हात लामो (४० सेन्टिमिटर) गरी पराल काट्ने कैंचीले काट्नुपर्छ । काटेको पराललाई हातले समात्न भ्याउने गरी मुठा (१०–११ सेन्टिमिटर) बनाई बाँध्नपर्छ । केराको पातलाई पनि पराललाई जस्तै गर्नुपर्दछ । परालका मुठाहरु फलामको ड्रममा वा सानो पोखरी बनाई पानी जमाएको सफा पानीमा लगभग १०–१२ घन्टा अर्थात एक रात भिजाउनुपर्छ । यसरी भिजाइ सकेपछि परालका मुठाहरु पानीबाट बाहिर निकाल्ने र त्यसलाई भिरालो ठाऊँमा २– ४ घन्टासम्म राखी बढी भएको पानी तर्काउनुपर्छ ।

 

सिताके च्याउको काठको धूलोमा खेती गरिने प्रविधि

सिताके च्याउ काठमा मात्र नभई काठको धूलोमा पनि उमार्न सकिन्छ । विभिन्न देशमा भिन्दा भिन्दै प्रकारको काठको धूलो प्रयोग गरी यसको खेती गरिन्छ । कडा काठ (हार्ड उड) हुने जातका विरुवाट प्राप्त हुने काठको धूलो मुख्य रुपमा यसको खेती गर्ने प्रयोजनमा आउने गरेको छ । च्याउ खेतीका लागि बेग्लै मेसिन प्रयोग गरी काठको धूलो बनाउने चलन छ । मलेशियामा खयर जातका काठको धूलोमा खेती गरिन्छ भने सिंगापुरमा ओखर जातका काठहरुबाट बनाउने गरिन्छ । यसरी काठको धूलोमा सिताके च्याउ खेती विभिन्न देशहरुमा गरेको पाइन्छ । उदाहरणको लागि थाइल्याण्ड, चीन, सिंगापुर, मलेशिया, इण्डोनेशिया, कोरिया, जापान र अन्य यूरोपीय देशहरु छन् ।
 साधारणतयाः सिताके च्याउ खेती गर्न फर्निचर बनाऊँदा निस्केको काठका टुक्राहरुलाई प्रयोग गरी काठको धूलो वनाउने मेसिनबाट धूलो बनाई प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा भने सःमिलहरुबाट काठको धूलो ल्याई सिताके च्याउ उत्पादन गर्न सक्ने सम्भावना निकै छ । काठको धूलोमा गरिने सिताके च्याउ खेती प्रविधि काठमा गरिने तरीका भन्दा धेरै नै फरक छ । यो वेग्लै किसिमको प्रविधि हो

 १. काठको धूलोको प्रयोग
एकै जातको काठको धूलो हुनु अत्यन्त जरुरी हुन्छ । हाम्रो देशमा काठ चिर्ने सःमिलहरु ठाऊँ ठाऊँमा पाइन्छ र त्यसबाट निस्केको काठको धूलो प्रशस्त मात्रामा पाइन्छ । तर ती काठका धूलो विभिन्न प्रकारका काठबाट निस्कने हुँदा तिनीहरु सिताके च्याउ खेती गर्न उपयुक्त मानिदैनन् । त्यसैले एकै जातका काठ मात्रै चिर्ने सःमिलहरुबाट काठको धूलो लिनुपर्ने हुन्छ ।

२. काठको धूलो वनाउने तरीका
 प्रायः जसो देशमा सिताके च्याउ खेती गर्नु भन्दा पहिलो काठको धूलो बनाउने मेसिनको बन्दोवस्त गरिन्छ । त्यसबाट आवश्यक पर्ने काठको धूलो निकालिन्छ र अनि मात्रै च्याउ खेती गर्न थालिन्छ । तर हाम्रो देशमा कुनै कुनै सःमिलहरुले मात्र उत्तिस जातको काठ प्रयोग गर्ने गर्दछन् । केही मात्रामा एउटै जातको काठ मात्रै चिर्ने सःमिलहरु पनि पाइन्छ । हाम्रो देशमा सिताके च्याउ खेती गर्ने सकिने काठहरुमा उतिस, कटुस, सौर आदि हुन् । यी जातका काठ चिर्ने सःमिलहरुबाट काठको धूलो संकलन गरी च्याउ खेती गर्न सकिन्छ ।

३. काठको धूलोको समिश्रण

काठको धूलोमा निम्न प्रकारका पदार्थहरु मिसाउनु पर्दछ ।

१) काठको धूलो – ७६० ग्राम

२) चामलको भुस – १०० ग्राम

३) गहुँको चोकर – १०० ग्राम

४) क्यालसियम कार्बाेनेट – २० ग्राम

५) जिप्सम – २० ग्राम

६) पानीको मात्रा – ६०–६५ प्रतिशत

यी सबै पदार्थहरु तराजुमा अलग अलग जोखेर काठको धूलोसंग मिसाउने अनि बिस्तारै पानीको मात्रा मिलाएर काठको धूलो तयार गर्नु पर्छ ।

 ४. थैला बनाउने तरीका
सिताके च्याउ खेती गर्नको लागि पोलिप्रोपिलिन जातको पोलिथिनको थैला चाहिन्छ । प्लाष्टिक थैलाको साइज १४ इन्च लम्बाई र ६.५ इन्च चौडाई हुनुपर्दछ । राम्रोसंग मिलाई सकेको काठको धूलो पोलिथिनको झोलामा हातले कोचेर राख्नु पर्दछ । झोलामा काठको धूलो अलिकति नभरिदै प्लाष्टिकको झोलाको मुखनिर एउटा घाँटी राख्नु पर्दछ उक्त घाँटी प्लाष्टिकले बनाईएको हुन्छ । प्लाष्टिकको घाँटी बनाउन नसकेको खण्डमा १ इन्चको हाइडसिन्टी पोलिथिन पाइपको टुक्रा राखे पनि हुन्छ । यो घाँटीकोप्वालबाट ब्यागको मुख बन्द गरी यसमा कपासको बिर्को हाल्नुपर्दछ ।

 ५. स्टेरिलाइज गर्ने तरीका
यसरी बनाएको काठको धूलो भरेको झोलालाई ड्रममा राखेर वफाउन पनि सकिन्छ तर अटोक्लेभमा राखेर राम्रोसंग स्टेरिलाइज गर्नु राम्रो हुन्छ । सयौं पाकेट बनाउनु  पर्ने अवस्थामा वाफ च्याम्बरबाट नै बनाउनु उपयुक्त हुन्छ । पानी उमालेर वाफ वनाऊँदा २–३ घण्टासम्म च्याम्बर तताउन लाग्छ र अर्को ५–६ घण्टा वाफ तयार पार्न लाग्दछ । थोरै पाकेटहरु बनाउनु पर्दा अटोक्लेभमा १५ पाउण्डको प्रेसरमा २–३ घण्टा अटोक्लेभ गर्नुपर्दछ । ड्रममा बफाऊँदा खेरी कमसेकम ६–८ घण्टासम्म बफाउनु पर्ने हुन्छ ।

६. बीउ रोप्ने र ढूसी फैलाउने तरीका
 सफा, सानो र अध्यारो कोठामा स्प्रीट स्प्रे गरेर वीउ रोप्नु पर्छ । वीउ हाल्दा पाकेटको मुखमा भएको कपास झिकेर हाल्ने र राम्रोसंग फेरि बन्द गरिदिने अनि ती पाकेटहरु सफा कोठामा र्याकमा वा भूईमा लहरै राख्न सकिन्छ । यी थौलाहरुलाई ४ महिनासम्म इन्कूवेट गरेर राख्नु पर्दछ ।

७. म्याच्युरेसन गर्ने तरीका
 प्लाष्टिक पाकेटमा ढूसी राम्रोसंग फैलिएपछि (४ महिनामा) बीच बीचमा बिर्को खोलेर हावाको संचालन राम्रो गराउनु पर्छ । त्यसपछि ती सेतो ढूसी खैरो रंगको भएर जान्छ र त्यसमा खटिरा जस्तो फोका फोका देखिन थाल्छ जसलाई “बम्प्स” भनिन्छ ।

८. प्लाष्टिक खोल्ने धेरै बम्प्सहरु देखिन थालेपछि पाकेटबाट प्लाष्टिक च्यातेर निकाल्ने र पाकेटलाई भुइमा राख्ने अनि दिनको दुइ पल्ट राम्रोसंग पानी दिदै जानुपर्छ । अनि च्याउकोसानो सानो फोका निस्कन्छ र ४–६ दिन भित्रमा च्याउ तयार हुन्छ ।

९. टिप्ने बिधि
 पाकेटबाट निस्केको च्याउ हातले राम्रोसंग टिप्नुपर्छ । काठको धूलो नआउने गरी हातले थिचेर विस्तारै तानु पर्छ ।

कन्ये च्याउको पराल बफाउने तरीका

पराल बफाउनेको लागि ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नु पर्दछ । ड्रममा तल पट्टि ६ इन्चसम्म पानी राखी त्यसमा ३–४ वटा ईटा ठड्याएर राख्ने । अनि त्यसको माथि जाली अथवा प्वाल प्वाल परेको चक्का राख्नुपर्छ । अनि मात्र परालले ड्रम भर्नुपर्दछ । ड्रमको मुखमा प्लाष्टिकले राम्रोसंग छोपेर डोरीले बाध्नुपर्छ । ड्रमको माथिबाट वाफ आउन थाले पछि कम से कम आधा घण्टा (३० मिनेट) सम्म पराललाई बफाउनु पर्दछ । यसरी बफांउदा परालमा भएका हानिकारक कीरा र जीवाणुहरु नष्ट हुन्छन् । बफाएको पराललाई चिसो नहुदै प्लाष्टिकको धोक्रामा वा ड्रममा नै राखेर चिसो पार्नुपर्दछ 

कन्ये च्याउ रोप्ने तरीका

कन्ये च्याउ रोप्नको लागि प्लाष्टिकको १२”* २६” अथवा १६”* २६” (इन्च) साइजको थैला लिनु पर्छ । च्याउको बीउ प्लाष्टिकको थैलामा रोप्दा एक तह पराल, एक तह बीउ राख्दै हातले बेसरी थिच्दै जानु पर्दछ वा बीउ र पराल मिसाएर थैला भरेको खण्डमा पनि राम्रै हुन्छ । थैला भरिसकेपछि यसको मुख सुत्तलीको धागोले बाध्नुपर्दछ । यसमा ४ औंलाको फरकमा प्वाल पार्नुपर्दछ । साथै प्वालहरु पूरा छ खोलेको हुनुपर्दछ । अर्को तरीका, बीउ रोपेपछि चक्कुले ठाउँ-ठाउँमा क्रस अथवा धर्सो गरी काटन पनि सकिन्छ । यो बीउ रोपेको पोकालाई अँध्यारो कोठामा ३ हप्तासम्म राख्नु पर्दछ । यस बेला कोठाको तापक्रम २२–२५ डिग्री सेल्सस हुनुपर्छ । ३ हप्ताभित्र च्याउको ढूसी परालमा फैलिएर सेतो हुन्छ । यसपछि प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुईमा वा र्याकमा राख्नुपर्दछ । भुईमा राख्दा ईटा वा काठको फल्याक तलतिर राखी एक एक वित्ता फरक गरी लाइनमा राख्नुपर्दछ । दिनको २–३ पटक सम्म मसिनो फोहरा जस्तै गरी सफा पानी डल्ला मात्र भिज्ने गरी छर्कनुपर्दछ पानीको मात्रा परालको डल्लामा भन्दा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०–३० डिग्री सेल्सस हुनुपर्छ । कोठा धेरै चिसो भएमा प्लाष्टिक वा पातलो कपडाले छोप्नाले फुल पार्ने झिँगा वा भुसुनाबाट बचाउन सकिन्छ । बलमा ढुसीको विकास हुन तीन हप्ता अर्थात् २१ दिनसम्म राख्नु पर्दछ भने जाडो महिनामा ढुसीको विकास हुन चार हप्ता लाग्न सक्दछ । बललाई नियमित अवलोकन गरी हरियो कालो ढुसी आएमा उक्त भागलाई स्प्रिटले सफा गरेको चक्कुले काटी सो ठाउँमा पनि स्प्रिट लगाउनु पर्दछ र मुसाले च्याउको बीउ धेरै मन पराउने भएकोले मुसाको प्रकोपबाट जोगाउन पटक–पटक निरीक्षण गर्नु पर्दछ ।

 सजोरकाजु जातको कन्ये च्याउमा पानी दिएको ठीक ४–५ दिनपछि साना साना कनिका जस्तो च्याउहरु देखापर्छ । यसको ३–४ दिनमा नै च्याउ टिप्ने बेला हुन्छ । यसबेला कोठामा हावाको संचालन राम्रो हुनुपर्छ र कोठाको झ्याल ढोका खोली उज्यालो पार्नु पर्दछ । यसरी एक पटक च्याउ टिपेपछि अर्को ७–१० दिनसम्म पानी हाल्दै गर्नुपर्छ । त्यति बेला अअर्को च्याउ आउँछ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ ।

च्याउ टिपिसके पछि चारैतिर माडेर त्यहाँ भएका स–साना च्याउका झुस फ्याक्नु पर्दछ र बेस्सरी माथिबाट थिच्नु पर्दछ । यसरी थिचिसके पछि यी डल्लाहरूबाट ७ देखि १० दिनको फरकमा च्याउ फल्दछ र यसप्रकारको एउटा बलबाट तीनपटकसम्म राम्रोसँग उत्पादन लिन सकिन्छ । तीन पटकसम्म च्याउ टिपिसके पछि बललाई २–३ तहमा च्यातेर थिचेर राखेमा फेरी उत्पादन लिन सकिन्छ । व्यापारिक दृष्टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्नु फाइदाजनक हुन्छ । ओष्ट्राटस जातको कन्ये च्याउ झुप्पा झुप्पा गरेर एक पछि अर्को गर्दै लगातार आइरहन्छ । च्याउ आउने अवधि ३५ दिनदेखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा एक के.जी. परालबाट सालाखाला ५००–६०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसंग अपनाएको खण्डमा यो भन्दा बढी उत्पादन हुनेछ । कहिले काँही १०० प्रतिशत नै उत्पादन आउँछ ।

पराले च्याउको बीउ रोप्ने र खेती गर्ने विधि

यी भिजेका परालका मुठाहरु जमिनमा दुई लाइन ईटा अथवा काठ वा बाँसको फ्रेम राखी त्यसमाथि एक तह विछ्याउनुपर्छ । त्यसमा चनाको पीठो (बेसन) एक पसार हातमा लिई परालमाथि लाइन–लाइन गरी छर्किनुपर्दछ । प्रत्येक तहको छेउबाट करीव ५–६ सेन्टिमिटर (चार/पाँच औला जति) भित्र पराले च्याउको बीउ लगभग सुपारीको टुक्रा जत्रो वा बूढी औंलाको टुप्पा जत्रा चारैतिर १०–१२ सेन्टिमिटर (७– ८ औला) को फरकमा राख्दै जानुपर्छ । तर ब्याडको बीचमा भने राख्नु आवश्यक हुँदैन । ती परालका मुठाहरु अर्को तह राख्दा क्रिस क्रस हुने गरी अर्थात दोस्रो तह पहिलो तहको लम्बाईलाई चौडाई पारेर राख्नुपर्दछ । यसरी परालका मुठाहरु एक तहमाथि अर्को तह थप्दै लैजानुपर्छ । माथि उल्लेख गरेझै चनाको पीठो छर्ने र बीउ रोप्ने काम पनि संगसंगै नै गर्दै लैजानु पर्दछ । यी परालका मुठाहरु ५/६ तहदेखि ७/८ तहसम्म अर्थात एक मिटर अग्लो नभएसम्म थप्दै जान सकिन्छ । परालका चाङको वाहिरका छेउहरु एकनासले मिलेको हुनुपर्दछ । नत्र भने च्याउ आऊँदा च्याउ टिप्न गाह्रो हुन्छ ।

गोब्रे च्याउ खेतीका लागि गरिने अन्य गतिविधिहरु

रोप्ने कोठा सफा गर्ने
 व्याड बनाउने कोठामा १ लिटर पानीमा डेरोसाल नामको धूलो औषधी २ ग्राम र नुभान भन्ने कीटनाशक औषधी १ एम.एल.को दरले आफुलाई चाहिने परिमाण जस्तै १० देखि २० लिटर बनाएर १ दिन अगाडि स्प्रे गरेर र कोठालाई बन्द गरिदिनु पर्छ

 ब्याड बनाउने
पाकेको कम्पोष्टको ब्याड बनाऊँदा व्याडको उचाई करिव ६ इन्चको बाक्लो गर्नुपर्दछ र यसलाई हातले थिचेर खदिलो बनाउनु पर्छ, खुकुलो बनाउनु हुँदैन । यसरी थिचेर बनाएको व्याडमा १ वर्गमिटर क्षेत्रफलमा करिव ८० के.जी. कम्पोष्ट प्रयोग हुन्छ ।

 बीउ छर्ने
व्याड बनाउने र बिउ छर्ने काम संगसंगै गरे पनि हुन्छ । बीउ वोटलबाट निकाल्दा आफ्नो हात र बीउ झिक्ने सुईरोलाई स्पिरिटले सफा गरी अर्को सफा भाँडोमा खन्याउनु पर्दछ । भाँडो अथवा थाललाई समेत स्पिरिटले सफा गर्नुपर्दछ । बीउ छर्दा  सबभन्दा माथिल्लो सतहबाट २ इन्च तल एक तह बीउ राखी त्यस माथि कम्पोष्ट मलले छोपी दिनु पर्छ । सवभन्दा माथि केही मात्रामा बीउ छर्न पनि सकिन्छ । यसरी दुई तह वीउ छर्दा एक हजार के.जी. परालवाट तयार भएको कम्पोष्ट मलमा २० बोतल बीउ लाग्छ । बीउ छरिसकेपछि व्याडलाई कालो प्लाष्टिक अथवा डेरोसाल आधा ग्राम र नूभान १ एम.एल. प्रति लिटर पानीमा मिलाएको झोलले उपचार गरिएको अखवार कागजले करीव ६ हप्तासम्म छोपिराख्नु पर्दछ । कोठालाई अँध्यारो बनाएर यसको तापक्रम २५ डि.से. पुर्याउन सकेमा च्याउको बिकास राम्रो भई बढी उत्पादन दिने हुन्छ । करीव २० दिनपछि व्याडभरि नै सेतो ढूसी फैलिएको हुन्छ । त्यसपछि व्याडमा माटोले (केसिंग) छोप्ने काम गर्नुपर्दछ । कागज नसुक्ने गरी दिनको एक वा दुई पटक कागजमा मात्र पानी स्प्रे गर्नुपर्दछ ।

 छोप्ने (केसिङ्ग)
माटो तयार गर्ने तथा माटो भर्ने बीउ छरको एघारौं दिनमा छोप्ने माटो तयार पार्न ध्यान दिनुपर्छ । यसको लागि खेत अथवा बगैंचाको करीव ६–१२ इन्च गहिरोबाट माटो खनेर झिक्नु पर्दछ । छोप्नको लागि दोमट अथवा चिम्टाइलो माटो उपयुक्त हुन्छ । एकसय के.जी. माटोमा २ के.जी. कृषि चून मिसाउनु पर्दछ । माटोका डल्लालाई फोडेर मसिनो बनाएर त्यसलाई फर्मालिन पानीले उपचार गर्नु पर्छ । फर्मलिन पानीको झोल तयार गर्न फर्मालिन २ भाग र पानी ३३ भाग मिसाउनु पर्छ । तयारी झोलले ४/४ इन्चको माटोको तह तहमा स्प्रे गरेर प्लाष्टिकले गुम्सिने गरी करीव ७२ घण्टा छोपेर राख्नु पर्छ । यसपछि तलमाथि गरेर एकपल्ट पल्टाउने र फर्मालिनको गन्ध हटेपछि व्याडलाई यो माटोले छोप्नु पर्दछ । यसरी व्याड छोप्ने माटो केही चिस्यान चएको हुनु पर्छ । एक मुठी माटोलाई हत्केलामा थिचेर हेर्दा माटो डल्लो पर्यो र तल खसाल्दा डल्लो फुट्यो भने माटोमा रहेको चिस्यानको मात्रा ठीक रहेछ भने थाहा हुन्छ । माटोको पि.एच. ७–८ सम्म भएको राम्रो हुन्छ । व्याडमा हल्का थिचेर १.५ इन्च जति बाक्लो हुने गरी छोपी दिनुपर्दछ । यसरी माटोले छोपिदिने क्रियालाई केसि· भनिन्छ । केसि· गरेको ठीक १० दिनसम्म कोठाको तापक्रम २५ डि.से. हुनु जरुरी छ । यसवेला ढूसी भित्रभित्रैवाट जताततै फैलिएर गएको हुन्छ । ठीक एघारौं दिनदेखि कोठाको तापक्रम १४–१८ डि.से.मा झार्नु राम्रो हुन्छ । यसको लागि कोठामा हावा संचालन प्रशस्त गराउनु पर्छ । कोठाको सापेक्षिक आद्र्रता ८० प्रतिशत पुग्नु जरुरी हुन्छ । गोब्रे च्याउ बढी न्यानो तापक्रममा फल्दैन ।

 टिप्ने विधि
माटोले छोपेको ३ हप्ता पुगेपछि व्याडमा साना साना सेतो कनिका जस्तो सानो च्याउहरु देखा पर्न थाल्छ । यसको ठीक ७ दिनमा यी साना साना च्याउहरु ठूलो भै टिप्न लायक हुन्छन् । च्याउ टिप्दा च्याउको कुनै भाग व्याडमा वांकी नरहने गरी टिप्नु पर्दछ । तर तान्नु हुँदैन । किनभने यसको जरा जस्तो तलको भागलाई हल्लाउनु हुँदैन । यसरी च्याउ टिपिसकेपछि देखा पर्न आउने सानो खाल्डोलाई उपचार गरिएको माटोले भरी दिनुपर्दछ । व्याडलाई सुक्न नदिन हरेक दिन हलका पानी दिनुपर्दछ । एक दिन बिराएर आखिरी दिनसम्म दिन गन्ति गर्दा करीव ३.५ महिनासम्म च्याउको उत्पादन लिन सकिन्छ । तर गरम मौसममा यो अवधी घटेर २ महिनासम्म मात्र रहन सक्छ । तैपनि सालाखाला हिसाब गर्दा १ टन परालको कम्पोष्टबाट २००– ४०० के.जी. सम्म ताजा गोब्रे च्याउ उत्पादन हुन सक्छ ।

रोग व्यवस्थापन

 खैरो प्लाष्टर रोग (ब्राउन प्लाष्टर मोल्ड)

च्याउ एक प्रकारको ढूसी भए तापनि यसमा अरु ढूसीहरुबाट रोग लाग्दछ । यस प्रकारको ढूसीहरुले च्याउ उम्रन नदिने मात्र होइन कि उम्रेका च्याउहरुलाई पनि मार्न सक्छ । यस्तै विभिन्न प्रकारका रोगहरु च्याउमा लागी च्याउ उत्पादनलाई वाधा पुर्याउछ ।
गोब्रे च्याउको व्याडमा पनि केही प्रकारका रोगहरुले नोक्सान गर्ने गर्दछन् । ती मध्ये हाल समस्याको रुपमा देखा परका रोगहरु मध्ये यी दुई रोगहरु प्रमुख छन् ।

खैरो प्लाष्टर रोग (ब्राउन प्लाष्टर मोल्ड)
यो रोग पपुला स्पोरा बाइसिन ढूसीबाट लाग्दछ । यो रोग बीउ रोपेको बेलामा परालमा र केसि· गरिसकेको माटोको सतहमा आउँछ । यो रोगको लक्षण व्याडमाथि र केसि· गरेको माटोको माथि पहिले सेतो अनि फिक्का खैरो र·को पछि गाढा खैरो पाउडर जस्तो धूलो देखापर्छ । यो रोग लागेको व्याडबाट च्याउ आउन ढिला हुन्छ र उत्पादन कम हुन्छ । रोग देखा पर्नाको कारणमा पराललाई राम्रोसंग सफा नगरेको र कम्पोष्ट राम्ररी नपाकेको हो । यो विशेष गरेर व्याडको माथि र केसि· गरेको माटोमाथि देखापर्दछ । कोठामा राम्रो हावा सञ्चालन नभएमा यो रोग चाडै फैलिन्छ । रोग नियन्त्रण गर्नको लागि दुई प्रतिशतको फर्मालिनको झोल रोग लागेको ठाउ“मा मात्र छरिदिने अथवा ०.५ ग्राम डेरोसाल प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्छ । औषधी एकपल्ट मात्र छर्केर पनि रोग नियन्त्रण गर्न सकिन्छ । 

हरियो रोग ( ग्रीन मोल्ड)

यो रोग ट्राइकोडर्मा जातका जीवाणुबाट लाग्दछ । यो रोग बीउ रोपेको व्याडमा च्याउ आउने र आइरहेको बेलामा देखापर्दछ । यो रोगको लक्षण व्याडमा हरियो  रंगको प्याच देखापर्दछ । तर धेरै जसो यो जीवाणु च्याउका टुक्राहरु र कुहेका वस्तुको कम्पोष्टमा चाडै बढ्दछ र रोग लागेपछि कम्पोष्टमा च्याउको ढूसी हराएर जान्छ र साना साना च्याउको गेडाहरु आउन छोड्छ । यो रोग चाडै फैलाउनमा राम्रोसंग उपचार नभएको माटो र हावाले मद्दत गर्दछ । सापेक्षिक आद्रता बढी भई चिस्यान बढेमा र तापक्रम बढी भएमा यो रोग चाडै फैलिन्छ । यस रोगको रोकथामको लागि ०.०५ प्रतिशत डेरोसाल एकपल्ट व्याडमा छर्किदिनु पर्दछ ।

किरा व्यवस्थापन

सुलसुले (माइट्स)

सुलसुले (माइट्स) 
सुलसुले च्याउको व्याडमा लाग्दछ । यी सुलसुलेहरु अनेक जातका हुन्छन् र कलमका टुप्पो जस्तै धेरै साना साना थोप्ला जस्तै देखिन्छन् । यिनीहरुले विशेष गरेर च्याउ आउन लागेको ढूसी खाइदिने र कहिलेकाँही आइसकेको च्याउको मािथल्लो छाताको भाग र डाँठ समेत विगारी दिन्छ । यी कीराहरुलाई नियन्त्रण गर्न ०.०५ प्रतिशत देखि ०.१ प्रतिशतको नुभानको झोल व्याडमा छर्किदिनु पर्दछ ।

 

झिंगा

च्याउमा लाग्ने झिंगाहरु विशेष गरेर दुई प्रकारका पाइएको छ । स्किराईन भन्ने झिंगाहरु साना र कालो हुन्छन् । यी झिंगाहरुले अरु रोग ल्याउने काम गर्दछ । यी झिंगाहरुले कम्पोष्ट वा केसि· गरेको व्याडमा फुल पार्दछन् । अनि त्यसबाट लार्भा निस्कन्छ । यी लार्भाहरुले व्याडमा भएको मल र ढूसी खान्छन् जसले गर्दा च्याउ आउन सक्दैन साथै आइसकेको च्याउमा पनि डाँठको टुप्पोबाट प्वाल पारेर भित्र पसी सवै भाग आएर च्याउलाई नोक्सान गर्दछन् । फोराइड फ्लाइज च्याउलाई नोक्सान गर्ने अर्को प्रकारको झिंगा हो । यो झिंगा कालो हुँदैन, यसको लार्भाले च्याउको बीउबाट ढूसी फैलिएको बेलामा ढूसी खाइदिन्छ र कहिलेकाँही मात्र च्याउलाई नोक्सान पार्दछ । यी झिंगाहरुको नियन्त्रणको लागि ०.०५ प्रतिशतको मालाथायन बीउ रोप्नु भन्दा दुई दिन अगाडि र केसिङ्ग गर्नु भन्दा दुई दिन अगाडि छर्किदिनु आवश्यक पर्दछ । यसबाट यी झिंगा र कीराहरुबाट बच्न सकिन्छ

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

कन्ये च्याउको उत्पदानोपरांत गतिविधि

कन्ये च्याउ सुकाएर पनि राख्न पनि सकिन्छ । च्याउलाई यसरी सुकाए राम्रो हुन्छ ।

१. च्याउ टिपेर सफा धागोमा माला गा“सेर कोठाभित्र सुकाउनु पर्छ । च्याउ सुकाउदा कोठाको पश्चिमपट्टिको झ्याल खुल्ला राखी कोठामा राम्रो हावा संचालन गराउनु पर्दछ ।
२. च्याउ घाममा सुकाउनु हुँदैन किनकि घामले च्याउको रंग र गन्ध हराउँछ । तर सोलार ड्राएरमा सुकाऊँदा भने राम्रो हुन्छ ।
३. यसरी सुकाएको च्याउ तातो पानीमा १० मिनेट भिजाई राख्नुपर्छ र त्यसपछि मात्र पकाउनुपर्छ ।

पराले च्याउ उत्पादन गर्ने र टिप्ने विधि

बीउ रोप्ने काम सकिएपछि परालको चाङलाई सेतो प्लास्टिकले छोपिदिनुपर्दछ । प्लास्टिकले छोपेपछि परालको चाङभित्र तापक्रम र सापेक्षिक आद्र्ता बढ्छ तर तापक्रम ३८० सेल्सियसभन्दा बढी बढ्न दिनु हुँदैन । यसको लागि छोपेको प्लास्टिकलाई केही वेर झिकिदिने गर्नु पर्दछ । ४–५ दिनपछि प्लास्टिकले छोपेको निकालिदिने । च्याउको ढूसी खरानी रंगको हुन्छ र यस बखत परालको तहतहमा फैलिएको देखिन्छ । बीउ छरेर १० दिनभित्र साना साना कालो गोलाकार च्याउका झुप्पाहरु देखापर्न थाल्दछन् । यसरी च्याउको गेडा देखेको २–३ दिनभित्र अण्डाकार वा लाम्चो, गोलाकारको च्याउ उत्पादन हुन्छ र च्याउ टिप्ने वेला हुन्छ । यस वेला प्रशस्त हावाको सञ्चालन हुनुपर्दछ । साथै तापक्रम ३५० –४०० सेल्सियस, सापेक्षिक आद्र्ता ८०–९० प्रतिशत हुनुपर्दछ । च्याउ गोलाकारको अवस्थामा हुँदा नै टिपेन भने फक्रेर छाताजस्तो हुन्छ । नफक्रेको च्याउको स्वाद धेरै स्वादिलो हुन्छ । यसरी २–३ दिनसम्म लगातार च्याउ आऊँछ र त्यसपछि वन्द हुन्छ । अर्को पटक च्याउ आउन ६–७ दिनसम्म कुर्नुपर्छ । वीउ रोपेको दिनदेखि १ महिनासम्म च्याउ आऊँछ र त्यसपछि पराल काम लाग्दैन । १५०–२०० मुठा वा २५ के.जी. सुकेको परालबाट २ मिटरको एउटा व्याड वनाउन सकिन्छ । यसका लागि करिव ५ बोतल बीउ चाहिन्छ । यसबाट जम्मा ५–६ के.जी. च्याउ फल्छ । च्याउ फल्दा पहिलोपटकमा नै धेरै (७०–८० प्रतिशत) फल्छ र दोस्रो, तेस्रोपटक थोरै मात्र फल्छ । ब्याड सुकेको अवस्थामा राम्रोसंग पानीले भिजाउनुपर्छ । च्याउ फलेको बेलामा दिनको २ पटक पनि टिप्नु पर्ने हुन्छ किनकि सानो र ठूलो संगसंगै रहेको हुन्छ । होसियारीका साथ ठूलो–ठूलो च्याउ मात्र टिप्नुपर्दछ । सानो च्याउ दिनभरिमा ठूलो हुन्छ । च्याउ टिपिसकेपछि पराल सुकेको छ भने झारीले अलिअलि पानी छर्नुपर्छ र फेरि प्लास्टिकले छोपिदिनुपर्छ । तर च्याउमा लाग्ने गरी पानी हाल्नु हुँदैन । च्याउ टिपेर २४ घन्टासम्म कोठाको तापक्रममा राख्दा ताजा नै रहन्छ तर त्यसपछि पनि राख्नु परेमा चिसो कोठामा (१५–१८ से.) राख्नुपर्छ । तर रेफ्रिजेरेटरमा राख्नु भने हुँदैन । च्याउ टिपेकै दिनमा बेचनु फाइदाजनक हुन्छ ।

 रोग र कीराहरु
 यस च्याउमा नोक्सान गर्ने मुख्य रोग नै जंगली च्याउ (कोप्राइनस) हो । यो पहिलो आऊँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । यो आउना साथै झिकिदिनुपर्छ । यसमा हरियो, पहेंलो, कालो ढूसीहरु आए पनि त्यति नोक्सान गर्दैन र केही गर्नु आवश्यक पर्दैन । यसमा मुख्य नोक्सान गर्ने मुसा हो । अरु कीराहरु सामान्य हुन्छन् र त्यति नोक्सान गर्दैनन् ।

गोब्रे च्याउ टिप्ने तरिका
  • माटोले छोपेको १५-२१ दिनसम्ममा च्याउको मसिनो सेता कोपिलाहरु (डल्ला) उम्रन थाल्दछन् । त्यसको १ हप्ता सम्ममा च्याउ टिप्न तयार हुन्छ । च्याउको साइज ३० देखि ४५ एमएम हुँदा च्याउ टिप्दा राम्रो मानिन्छ ।
  • च्याउ टिप्नु अगाडी साबुनले हात धुनु पर्दछ । च्याउ टिप्दा तीनवटा औलाले डाँठमा समातेर एकपल्ट दाहिने अर्कोपल्ट देब्रेपट्टि हाट बटारेर होसियारपूर्वक खलबल नपारी टिप्नुपर्दछ ।
  • यदि झुप्पा गरी उम्रेको कोपिलाहरुको बिचबाट च्याउ टिप्न परेमा च्याउको डाँठलाई चक्कुले काटी टिप्ने गर्नुपर्दछ र पछी अरु च्याउ टिप्ने बेलामा बाँकि रहेको डाँठहरुलाई निकाल्नु पर्दछ ।
  • च्याउ टिपीसकेपछि उपचार गरेको माटोले खाल्टो भर्ने र पानी दिने गर्नुपर्दछ ।
  • रोग लागेका नराम्रा च्याउहरु टिपी टाढा फाल्नुपर्दछ । यसरी सफाईमा ध्यान नदिएमा च्याउमा विभिन्न रोग र कीराले आक्रमण गर्दछ र च्याउ उत्पादन कम हुन्छ ।
  • च्याउ नाफक्रदै टिप्ने गरेमा बजार भाउ राम्रो पाइन्छ । टिपेको च्याउ १-२ दिनसम्म रेफ्रीजेरेटरमा राख्न सकिन्छ नत्र सोहि दिन बजारमा बिक्रि गर्ने व्यवस्था गर्नु पर्दछ । राम्रोसँग खेती गरेको भएमा २-३ महिनासम्म च्याउ फलिरहन्छ ।
कन्ये च्याउ टिप्ने अवस्था र तरिका

बीउ रोपेको ३ हप्ताभित्र च्याउको ढुसी परालमा फैलिएर सेतो हुन्छ । यस बेला प्लाष्टिक च्यातेर सेतो डल्लोलाई भुइँमा वा र्याकमा खन्नुपर्छ । भुइँमा राख्दा इँटा वा काठको फल्याक तलतिर राखीदिए राम्रो हुन्छ । यस दिनदेखि दिनको २-३ पटकसम्म मसिनो फोहरा जस्तै गरी सफा पानी छर्कनु पर्दछ । पानीको मात्रा परालको परालको डल्लामा भन्दा भुइँमा वा डल्लामा भन्दा भुइँमा वा डल्लाको वरिपरी बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०-३० डिग्री सेल्सियस हुनुपर्छ । पानी दिएको ठिक ४ दिन पछि साना साना कनिका जस्ता च्याउ देखापर्छ । यसको ठिक ४ दिनमा च्याउ टिप्ने बेला हुन्छ । यसबेला कोठामा हावाको संचालन राम्रो हुनुपर्छ । कन्ये च्याउमा गील्स राम्ररी विकास भएपछि छेउतिर घुम्रेको अवस्थामा टिप्नु पर्दछ ।

  • एकपटक च्याउ टिपेपछि अर्को ७-१० दिनसम्म पानी हाल्दै गर्नुपर्छ । त्यतिबेला अर्को च्याउ आउँछ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ । 
  • त्यस्तैगरी अर्को १० दिनपछि तेस्रो पटक च्याउ टिप्न हुन्छ । व्यापारिक दृष्टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्न फाइदाजनक हुन्छ । अन्यथा च्याउ आउने अवधि ६५ देखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा १ के.जी. परालबाट सालाखाला ३००-५०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसँग अपनाएको खण्डमा यो भन्दा बढी पनि उत्पादन हुन्छ ।

 

कन्ये च्याउ खेती गर्दा वा टिप्दा ध्यान दिनुपर्ने कुराहरु
  • च्याउ टिप्दा चक्कुले च्याउको डाँठ र परालको जोर्नीमा काट्नुपर्छ । तर हातले डाँठ समातेर तान्नु हुँदैन ।
  • च्याउ टिपीसकेपछि मात्र पानी दिनुपर्छ । एकपटक च्याउ टिपेपछि दिनदिने पानी छर्कंदै गर्नुपर्छ ।
  • परालको गोलामा जंगली च्याउ आएको वा अरु कालो, हरियो, पहेंलो ढुसी याद गर्नुपर्छ । 

अन्य जानकारी

कन्ये च्याउको खेतीमा देखिने समस्या र समाधानका उपायहरु

च्याउ खेतीका क्रममा विभिन्न किसिमका कीरा तथा अन्य समस्याहरु देखा पर्दछन्। यसलाई सावधानीपूर्वक समाधान गर्नु पर्दछ ।

  • च्याउमा बिभिन्न किसिमका कीरा लाग्न सक्दछ । ती मध्ये बलमा देखिने मसिना झिँगा तथा भुसुनाले बलमा फुल पारी लामो बनी ढुसीलाई नोक्सान पु¥याउँदछ । यसैगरी सुलसुले र कालो कीराले च्याउमा आक्रमण गरी उत्पादनमा हृास ल्याउँदछन्।
  • च्याउमा लाग्ने कीराको व्यवस्थापनका लागि च्याउ राखेको ठाउँमा बेला– बेलामा सफा गर्नु पर्दछ । च्याउको बललाई च्याउ नफलेको बेलामा घाममा सुकाउनु पर्दछ । प्रकोप बढी भई च्याउ नउम्रेको अवस्था भएमा नुभान १ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।

जङ्गली च्याउको समस्या 

  • बलमा कालो खालको जङ्गली च्याउ कोप्रिनस कोमाटस आएको देखिन सक्दछ । उक्त च्याउको डाँठ लामो सुलुत्त परेको हुन्छ र टाउको सानो हुन्छ तर वयस्क भए पछि कालो रङ्गमा परिणत हुन्छ ।
  •  जङ्गली च्याउको व्यवस्थापनका लागि कालो किसिमको च्याउ देखिने बित्तिकै टिपेर टाढा फाल्नु पर्दछ वा गाड्नु पर्दछ र उक्त भागमा स्प्रिटले सफा गर्नु पर्दछ ।
     

बलमा देखिने कालो तथा हरियो ढुसी

  • बलमा कालो तथा हरियो ढुसी देखिन सक्दछ जसले च्याउको उत्पादनमा ह्रास ल्याउँछ ।
  •  कालो तथा हरियो ढुसीको व्यवस्थापनका लागि च्याउ कालो देखिने बित्तिकै टिपेर टाढा फाल्नु पर्दछ वा गाड्नु पर्दछ र उक्त भागहरुमा स्प्रिटले सफा गर्नु पर्दछ ।
  •  कोठामा कार्बनडाइ अक्साइडको असर – कोठामा कार्बनडाइ अक्साइडको मात्रा बढी भएमा कोठामा राम्रोसँग प्रकाश एवं हावा सञ्चालन भएन भने च्याउको डाँठ लामो, मोटो र बाङ्गो भएर च्याउमा विकृति आउँदछ । कोठामा कार्बनडाइ अक्साइडको व्यवस्थापनका लागि कोठामा उज्यालो प्रकाशका साथै राम्रोसँग दोहोरो हावा सञ्चालन हुनेगरी व्यवस्था गर्नु पर्दछ ।

च्याउ कम उम्रने

  • बल सुख्खा भएमा, कोठा भित्र दोहोरो हावा सञ्चालन नभएमा, धेरै गर्मी वा चिसो भएमा, पुरानो बीउ भएमा, गुणस्तरको पराल नभएमा राम्रोसँग ढुसी नआइ बलमा च्याउ ढीलो आउँछ र कम फल्दछ ।
  •  च्याउ कम उम्रने समस्याको व्यवस्थापनका लागि कोठामा तापक्रम तथा सापेक्षित आर्द्रता मिलाउनु पर्दछ । यसका साथै नयां बीउ प्रयोग गर्ने र कोठामा दोहोरो हावा सञ्चालनको व्यवस्था मिलाउनु पर्दछ । गुणस्तरीय परालको प्रयोग गर्नु असाध्यै राम्रो हुन्छ ।

 मुसा

  • च्याउको बीउलाई मूसाले धेरै मन पराउने हुनाले मुसाले दुख दिन सक्दछ । तसर्थ मुसाको समस्या कम गर्न दैनिक निरीक्षण गर्नु पर्दछ । मुसा समात्ने पिँजडा वा मुसाको खोरको प्रयोग गरी मुसा नियन्त्रण गर्नु पर्दछ ।
जंगली च्याउ टिप्दा जोखिम कम गर्न सकिने उपायहरु

 

  • सडेका, किराले खाएर वॉकि रहेका, धेरै कलिलो अनि फक्रिसकेका च्याउहरु खानुहुदैंन्।
  • कतिपय प्रजातीहरु (ल्याक्टारियस भोलिमस – दुधे च्याउ) काँचै खान मिल्ने भनेता पनि त्यसरी खानु हुदैन्।
  •  परिपक्व मानिस अथवा सम्भव भएसम्म च्याउ विज्ञ संग परामर्श लिएर मात्र खाने गनुपर्दछ ।
  • च्याउ र दुध, अनि च्याउ र अल्कोहल खॉदा खाना विषाक्त हुन सक्ने भएको कारणले यस्तो संयोजन सकेसम्म गर्नु हुदैन्।
  • दुई वा सो भन्दा वढि प्रजातीका च्याउहरु एकै पटक खानु हुदैन्।
  •  खान हुने च्याउनै पनि यदि कसैले पहिलो पटक खान लागेको हो भने धेरै मात्रामा खान हुदैन्।
  •  खान हुने च्याउको आसपासमा अन्य कुनै विषालु च्याउहरु उम्रेका हुनसक्दछन्जसले गर्दा विभिन्न माध्यमद्वारा विषाक्त कणहरु खान हुने च्याउसम्म पुग्न सक्दछन्। यसकारण कुनै पनि जंगली च्याउ खानु पूर्व लगभग दश मिनेट नुन पानीमा वफाउनु पर्दछ ।
  •  प्लाष्टिकको झोला, टिनको वाकस जस्ता गु् म्सने भॉडामा कहिल्यै पनि च्याउ संकलन गर्नु हुदैन । यसले गर्दा च्याउ गुम्सेर विग्रन सक्दछ, त्यस्तोच्याउ खानु स्वास्थ्यको लागि त्यति राम्रोहुदैन्।
  •  च्याउ पकाउदा दुई – चार थोपा अमिलो राख्नु पर्दछ ।
  •  विषालु च्याउ खाएको शंका लागेमा प्रशस्त मात्रामा मनतातो नुन पानि पिउनु पर्दछ । अमिलो, सतुवा, ऑखे टिमुर र लसुन मिसाएर पिधेर खानु पर्दछ, र जतिसक्दो छिटो स्वास्थ्य केन्द्र  जानुपर्दछ ।

निष्कर्ष
सामान्यतया खान हुने र खान नहुने च्याउ झट्ट हेर्दा दुबै एकै किसिमको जस्तो देखिने (च्याउको सहि पहिचान गर्नको लागि key identifying taxonomical character हरूको अध्ययन गनुपर्र्ने  भएकोले) भएकोले, माथि उल्लेख गरिएका यस्ता किसिमका च्याउहरू विषालु हुन सक्छन् भनिएता पनि उल्लेखित विषयवस्तु अनुरुप अवलम्बन गरेको खण्डमा च्याउ पोइजनिङ्ग हुनबाट केहि हदसम्म कम गर्न सचेत हुन सहयोगी हुन सक्छ । सामान्यतया उल्लेखित विषयवस्तु पूर्णरुपमा वैज्ञानिक नभएकोले पूर्णरुपमा विश्वास गर्न नसकिने अवस्था रहेको र हालसम्म कुनै पनि वैज्ञानिकले ठोस छुट्याउने तरिका अर्थात च्याउमा विष भएको वा नभएको छुट्याउन सकिने त्यस्तो किसिमको किट विकसित गर्न सकेको पाइँदैन, तसर्थ अलिकता मात्रै पनि शंका लाग्दालाग्दै उपभोगको लागि सुरक्षित छ वा छैन भन्ने स्पष्ट किटान नभईकन जोखिम मोलेर जङ्गली च्याउहरूको सेवन गर्नुभन्दा जनसमुदायमा जङ्गली च्याउको विकल्पमा खान हुने जङ्गली च्याउहरूको नयाँ कल्टिभारहरू विकसित गरेर अथवा बजारमा बेच्न राखिने गरिएका अर्थात् व्यावसायिक रुपमा खेती गरिंदै आएका अन्य च्याउका प्रजातिहरूको व्यावसायिक खेतीका लागि प्रोत्साहन गर्ने, यस सम्बन्धी थप अध्ययनअनुसन्धानका कामहरू बढाउँदै लैजानु पर्छ । विषालु जङ्गली च्याउबारे सरोकारवाला निकायहरूले विभिन्न सञ्चार माध्यम मार्फत वा कार्यशाला, गोष्ठी, च्याउ मेला, आदि आयोजना गरेर वा विभिन्न प्रकाशनको माध्यमबाट (जस्तैः पोष्टर, पम्पलेट, ब्रोशर, लिफलेट, पुस्तिका, आदिको माध्यमबाट) लगायत विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गर्नमा ढिलाइ गर्नु हुँदैन ।

यसका अतिरिक्त विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मको पाठ्यक्रममा समय सापेक्ष यस सम्बन्धी विषयवस्तुहरू समावेश गर्दैलैजाने लगायत संकलनकर्ता आफैंले पनि यस सम्बन्धी थप जानकारी लिनको लागि सम्बन्धित विज्ञ अथवा निकायबाट सुझाव लिने गरेमा पनि जोखिम न्यूनिकरणका लागि केहि टेवा पुग्ने देखिन्छ । यसबाहेक जङ्गली च्याउको संकलनको बेला हुन सक्ने एक मात्र सानोभन्दा सानो गल्तीको कारणले बेलाबेलामा जङ्गली च्याउको सेवनबाट ज्यानै समेत जाने गरेका घटनाहरू घट्ने मात्र नभएर दोहोरिने समेत हुँदै आएकोले दुर्घटनाको समाचारको पात्र नहुनको लागि संकलनकर्ता आफैं पनि विषालु च्याउको उपभोगबाट हुन सक्ने सम्भावित जोखीमप्रति सजग र होशियार रहनुपर्ने ठानिन्छ ।

च्याउ संकलनमा लागि ध्यान दिनुपर्ने कुराहरु

परिचय
विज्ञहरूले नेपालमा पहिचान भएका करिव १ सय परिवार अन्तर्गत पर्ने १ हजार २ सय ७१ प्रजातिका च्याउ रहेको बताएका छन् । जसमध्ये करिब १ सय ४७ खानयोग्य, ७३ औषधिय गुण भएका र करिब १ सय बिषालु प्रकृतिका छन् । कतिपय च्याउहरू न त खानयोग्य न त औषधिय गुण भएका कुनै प्रयोजनमा प्रयोगमा नआउने, काम नलाग्ने प्रकृतिका पनि रहेको पाइन्छ । वर्षायामको समयमा एकैचोटी एक्कासी भर्रर च्याउहरू धेरै संख्यामा देखापर्नु, कहिलेकाहिं च्याउहरू अनौठो किसिमले वृत्ताकार बनाएर उम्रनु, कुनै ठाउँमा उम्रेको च्याउ त्यस क्षेत्रका स्थानीय बासिन्दाले उपभोग गर्दा केहि नहुने तर त्यहि च्याउ अन्यत्र क्षेत्रमा उमे्रको अवस्थामा त्यस क्षेत्रका स्थानीयले उपभोग गर्दा असर पर्ने पनि हुन सक्ने (खानयोग्य च्याउ उम्रिएको ठाउँमा विषालु च्याउहरू पनि सँगै उम्रन सक्ने भएकोले) लगायतका अनौंठा प्रकृतिका रुपरंग च्याउमा देख्न पाइन्छ । कुनै पनि बिषाक्त च्याउहरूको असर खाई सकेपछि मात्र देखा पर्दछ । यसले शारीरिक क्रिया तथा प्रक्रिया र स्नायु प्रणालीमा बिभिन्न किसिमका असरहरू गर्न थाल्दछन् । यसले शारीरिक आलस्यता बढाउने, गल्ने, पेट/आमाशय दुखाउने, वान्ता गराउने, पिसाव धेरै गराउने, रिङ्गटा लाग्ने, दिशा लगाउने, पसिना निकाल्ने, शारीरिक शुष्कता बढाउने, रक्त विकृत गर्ने, जिब्रो सुन्निने, श्वास नली बन्द गर्ने, शरीरको तापक्रम बिस्तारै घट्दै जाने (Okuzawa, 2007) र अन्ततोगोत्वाः मृत्यु समेत गराउन सक्छ । बिषालु च्याउमध्ये कसैले मृत्यु नै गराउन सक्छन्  (i.e. deadly poisonous जस्तै Aminita phalloides, A. pantherina, A. muscaria, Inocybe patlouillardii, Cortinarious speciosissimus, C. orellanus, Entoloma sinuatum, Lepiota morgana, Agaricus xanthodermis आदि) भने कुनैले हल्का नशा मात्र लगाउने हुन्छ, कुनैले वान्ता गराउने, पेट दुखाउने, टाउको दुखाउने, जिब्रो सुन्निएर आउने, आदि गराउँदछ । मृत्यु नै गराउन सक्ने साधारणतया तीन समूहका बिषालु च्याउहरूसँग जहिले पनि सचेत रहनु पर्दछ । जस अन्तर्गतः

१. अमानिटा (Amanita sps) :                    
साधारणतया अमानिटा जातमा पर्ने धेरै प्रजातिहरू अत्यन्त बिषालु हुन्छन् । यिनीहरू हुर्कने क्रममा अण्डाकारको डल्ले च्याउ जस्तो देखिन्छन् र परिपक्क भएपछि प्यारासुट जस्तो छातामा बिकसित हुन्छन्, जुन प्रजाति अनुसार बिभिन्न रंगको हुन सक्छ । यिनीहरूमा सेतो गिल्स हुन्छ, डाँठ कचौरामा उम्रिएको हुन्छ र डाँठको बीचतिर औंठी हुन्छ । छातालाई काटेर कालो रंगको कागजमा केहि घण्टासम्म थिचेर राख्दा बिजाणुको सेतो छाप देखा पर्दछ । बर्षाको पानीले औंठी तथा कचौरा बिगार्न सक्ने भएकोले कत्ले च्याउ छुट्याउन गिल्स र छाताको आकारलाई मुख्य आधार बनाइनु पर्दछ ।

२. नक्कली गुच्छी च्याउ (False morels) :
यिनीहरू चाउरी परेका हुन्छन् र छाता दिमाग जस्तो गुडुल्किएको हुन्छ । यिनीहरू कालो, सेतो र खैरो, रातो, आदि रंगमा पाइन्छन् । झट्ट हेर्दा गुच्छी च्याउ जस्तो देखिएता पनि दुईवटा आधारमा यिनीहरू गुच्छी च्याउ भन्दा फरक हुन्छन् । यिनीहरूको छाता ठाउँ ठाउँमा बाहिरतिर केहि फुकेको जस्तो देखिन्छ, तर गुच्छी च्याउमा भने खाल्डा खुल्डी परेको हुन्छ । यिनीहरूको छाताको तल्लो किनारा डाँठको वरीपरी स्वतन्त्र रुपमा झुण्डिएका देखिन्छन् भने गुच्छी च्याउमा छाताको तल्लो किनारा डाँठमा जोडिएको हुन्छ ।

३.साना खैरा च्याउहरूः
 यस समूह अन्तर्गत पर्ने धेरै प्रजातिहरू हानिकारक हुँदैनन्, कुनै कम विषालु, जसले हल्का नशासम्म लगाउने हुन्छन् भने कुनै चाहीं अत्यन्त खतरनाक हुन्छन्, जसले ज्यानै समेत लिने गर्दछ । यिनीहरूको प्रजाति पहिचान गर्न सरल तरिका नभएकोले सबै साना खैरा च्याउहरू उपभोग नगर्नु नै सुरक्षित हुने उपाय मान्न सकिन्छ । साधारणतया यी तीन समूहका च्याउहरू नै लगभग सबैजसो च्याउ उपभोगबाट हुनसक्ने मृत्युको कारक हुने गर्दछ । अझ त्यसमा पनि …अमानिटा’ जात अन्तर्गतका प्रजातिहरूको समूहले लगभग ९०% हिस्सा ओगट्छ । यी तीन समूह बाहेक अरु पनि बिषालु च्याउहरू पाइन्छन् जसले नशा लगाउने, पखाला लगाउने, टाउको दुखाउने, वान्ता गराउने, मांशपेशी दुखाउने, पेट दुखाउने, आदि गराउन च्याउ सङ्कलन तथा उपभोगका सावधानी सम्बन्धी जानकारी सक्छ र यिनीहरूले ज्यानै भने लिंदैनन् बरु च्याउ सेवन गरेको २४ घण्टापछि आफैं असर कम भएर जान्छ ।

१. बनपाखा, कान्ला, खोल्साखोल्सी, पाखोबारी, बन छेउछाउ लगायत बनजङ्गल क्षेत्रमा यत्रतत्र उम्रने च्याउहरू कस्तो प्रकृतिको हो, सहि पहिचान गर्न गाह्रो हुने भएकोले सबै च्याउहरू एउटै टोकरी अर्थात भाँडोमा संकलन नगरी बिभिन्न प्रजातिका च्याउहरू छुट्टाछुट्टै अलगअलग भाँडोमा संकलन गर्ने गर्नु पर्दछ किनभने कहिलेकाहि खानयोग्य च्याउहरू उम्रिएको ठाउँमा बिषालु च्याउहरूको स्पोर खसेर खानयोग्य च्याउ सँगै उम्रिएका पनि हुन सक्छन्, यसरी संकलन गरी ल्याइएता पनि संकलनकर्ता आफैंलाई संकलित च्याउ खानयोग्य हो होइन् भन्ने सम्बन्धमा एकिन गर्न सक्ने खुबी भए तापनि थप ढुक्क हुनको लागि विषाक्त च्याउ छुट्याउन च्याउ खाने पारखीहरू, च्याउ विज्ञहरू अथवा वन जङ्गलका छेउछाउमा बसेका वंशानुगत अनुभव भएका अनुभवी सङ्कलनकर्तासँग सहकार्य गर्ने, उनीहरूसँग परामर्श लिने, आफुलाई थाहा भएको कुरा जानकारी गराउने जस्ता वानीको विकास गर्नु पर्दछ । कहिलेकाहि च्याउ संकलन गर्ने बेलामा अन्य प्रजातिहरूको स्पोर बनिसकेर परिपक्क भएको रहेछ भने हावा मार्फत स्पोर आँखामा पर्न सक्ने पनि हुन सक्छ भने कहिलेकाहि विषालु च्याउहरू नचिनेर हातले छुँदा पनि संकलनकर्ता आफैलाई असर गर्न सक्दछ । विषालु च्याउ छोइएको शंका लागेमा सोहि हातले अन्य खानयोग्य च्याउ संकलन गर्नु पूर्व साबुन पानीले सफासँग हात धोइहाल्नु पर्दछ । त्यसैले च्याउ संकलन गर्दा विशेष ध्यान दिनु पर्दछ ।

२. बनजङ्गलबाट संकलन गरी ल्याइएका च्याउहरूको हकमा खान योग्य च्याउ नै हो भन्ने पूर्ण रुपमा एकिन भएमा सफा गरी पखालेर राम्ररी पकाएर मात्र उपभोग गर्नु पर्दछ, काँचै खाँदा विभिन्न नकरात्मक असर देखाउन सक्छ । उपभोग गर्नको लागि आफूलाई ढुक्क नलागी कहिकतै अलिकता पनि शंका रहन्छ भने सकेसम्म त त्यस्ता च्याउहरू सेवन नगर्नु नै उचित मानिन्छ, खानै परे पनि संकलित च्याउमा विष भएको वा नभएको छुट्टयाउन नजर लगाई अन्दाजको भरमा नसकिने भएकोले खानयोग्य छ भनेर चिनिएको च्याउ आफूले पहिलो पटक खाइँदैछ भने विचार गर्नको लागि पहिले थोरै मात्रामा खाएर विचार गर्ने, २४ घण्टासम्म कुनै नकरात्मक असर नदेखिएमा भने अलिकता बढी खान सकिन्छ, यद्यपि जङ्गली च्याउ एकै व्यक्तिले कहिले पनि पाइयो भनेर धेरै खानु हुँदैन, कम्तिमा २००३०० ग्रामसम्म खाए शरीरलाई चाहिने प्रतिदिनको क्यालोरी पर्याप्त हुन्छ अर्थात् पुग्दछ ।

 ३. पहिचान भएका बजारमा बेच्न राखिएका जङ्गली च्याउहरू (बर्षायामसँगै काठमाडौं उपत्यकामा ३० भन्दा बढी प्रजातिका जङ्गली च्याउहरू बेच्न राखिएको पाइएको विज्ञहरू बताउँछन्), खान हुने भनी पहिचान भई प्रमाणित भएका जङ्गली च्याउहरू, कृतिम तरिकाले व्यावसायिक वा आˆनो लागि खानको लागि खेती गरिएका च्याउ जस्तो कन्ये, गोब्रे, पराले, सिताके, रातो च्याउ, आदि भने निर्धक्कसँग खाए हुन्छ, यी च्याउमा प्रशस्त मात्रामा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व पाइन्छ । तर खानयोग्य भए तापनि जङ्गली च्याउको हकमा कहिल्यै पनि एकै व्यक्तिले धेरै मात्रामा खाने गर्नु हुँदैन ।

४. जङ्गलमा पाइने खान हुने, खान नहुने र बिषालु च्याउ छुट्याउन सर्वसाधारण मानिसले नसक्ने भएकाले नचिनेको, थाहा नभएको च्याउ खानाको रुपमा कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । नचिनेको च्याउ बिषालु पनि पर्न सक्छ र पकाएर, पोलेर खाएमा ज्यान जान पनि सक्छ । पकाउँदा अथवा खरानी राखेर उमाल्दैमा च्याउमा भएको बिष काटिन्छ भन्ने हुँदैन । बिषालु हो होइन भनी छुट्याउन च्याउ विशेषज्ञ, वंशाणुगत संकलनकर्ताबाट मात्र सम्भव हुन सक्छ । च्याउ उपभोगको लागि सुरक्षित छ छैन भन्ने कुरा च्याउ खाने पारखीबाट पनि थाहा हुन सक्छ ।

 ५. साधारणतया कुनै प्रजातिको च्याउमा औंठी (annulus) र कचौरा (vulva) दुवै भएको (तर औंठी वा कचौरामध्ये कुनै एउटा भएको च्याउ भने खानयोग्य पनि हुन सक्छ जस्तैः Amanita chepangiana, A. caesarea, Volvariella volvacea मा कचौरा भएको हुन्छ, जुन खान योग्य छ), छाता तथा डाँठमा आउटग्रोथ जस्तो देखिने वार्टहरू भएका, छाता तथा डाँठमा धेरै बुट्टाहरू÷कत्लाहरू भएका, सुगन्धित, रङ्गीविरङ्गी देखिने, अकस्मात रङ्ग परिवर्तन हुने, छिप्पिदै जाँदा रङ्ग बदलिंदै जाने, हल्का चोट लाग्दा समेत रङ्ग बदलिने, देख्दा धेरै चम्किला (सेतो, रातो, पहेंलो, निलो, आदि) आकर्षक देखिने (साधारणतया चम्किलो नभइकन फुस्रो रङ्गका देखिने च्याउहरू कम विषालु हुनसक्ने), काला रङ्गका च्याउहरू, रुख÷गोबरमा, वासमा उम्रने च्याउहरू प्रायः विषालु हुन सक्छन् ।

६. अमानिटा जातका (प्यारासुट जस्तो छाता र सेतो गिल्स भएको, औँठी र कचौरा दुवै भएको) जस्ता देखिने च्याउहरू (तर अमाटिका ३ प्रजातिका च्याउहरू जस्तैः Amanita caesaria, A. chepangianaभने खानयोग्य पाइएको छ किनभने एकदमै निकटमा पर्ने एउटै जाति (genus) का सबै प्रजाति (species) हरू खानयोग्य वा विषालु हुन्छन् भन्ने हुँदैन), साना खैरा च्याउहरू, तथा नक्कली गुच्छी च्याउ जस्ता च्याउहरू कहिल्यै पनि उपभोग गर्नु हुँदैन (यस किसिमका च्याउहरूबारे पहिचान गर्न सकिने सरल तरिका माथि उल्लेख गरिसकिएको छ) । स्वादिष्ट मानिने साथै व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने जङ्गलमा पाइने च्याउका केहि प्रजातिहरू जस्तैः हुँदैन (३ प्रजाति), Laetiporus sulphureus, Pleurotus (४ प्रजाति), Cantharellus (४ प्रजाति), गुच्छी च्याउ (Morchella६ प्रजाति), Scleroderma texens, Termitomyces (७ प्रजाति), Boletus edulis, Craterellus connucopioides, Tricholoma matsutake, यार्सागुम्वा (Ophiocordyceps sinensis), आदि मानिन्छन् ।

७. जङ्गली बिषालु च्याउलाई किरा, कमिला, खरायो, लोखर्केआदिले पनि साधारणतया नखाने हुदा त्यस्ता चोंखा (केहिले पनि नखाएका) च्याउलाई मानिसले पनि खानु हुदैँ न । यद्यपि कुनै कुनै जनावर वा किरा (जस्तैः चिप्ले किरा, खरायो आदि) ले अत्यन्त विषालु मानिने च्याउ समेत खाने भेटिएकोले त्यस्ता जनावर वा किराले खाएर छोडेको च्याउ मानिसले पनि खानु हुँदैन। किराले समेत खाएको छ भनेर सोहि प्रजातिको किराले नखाएको अन्य च्याउ वा चाँदीको वस्तुमा कुनै असर गरेन भन्दैमा (च्याउ पकाएको भाँडोमा चाँदीको सिक्का वा चाँदीबाट बनेको कुनै वस्तुसँगै राखेर पकाएमा चाँदीको रङ्गमा परिवर्तन आयो भने विषालु च्याउ हुन सक्छ भन्ने परम्परागत धारणा रहि आएकोले), पकाएको जङ्गली च्याउ खाँदा धेरै स्वादिष्ट भयो भन्दैमा (किनकी कुनै विषालु च्याउहरू अत्यन्त स्वादिष्ट पनि हुने बताइएको छ, धेरैजसो जंगली च्याउहरू पकाएर खाँदा स्वादिष्ट नै हुन्छन्), च्याउ खान हुने खालको नै हुन सक्छ भनेर किटान गर्न मिल्दैन् ।

 ८. धेरै छिप्पिएका, सड्न शुरु भई किरा लागेका र ओइलाएका जङ्गली च्याउ खान हुँदैन। संकलन गरी ल्याइएका ताजा च्याउ मात्र खाने बानी बसाल्नु पर्दछ । त्यसैले सङ्कलन गर्दा किटान भएका खानयोग्य च्याउ धेरै मात्रामा पाइएता पनि ठिक्क मात्रामा संकलन गर्नु पर्दछ, संकलन गरी ल्याइएको च्याउ बासी भएमा त्यसको रुपरङ्ग नै बिग्रिएर बनावट नै भिन्न किसिमको देखिने भएकोले त्यसमा अन्य बाह्य सूक्ष्म जिवहरू bacteria लगायत अन्य ढुसी moulds को संक्रमण हुन सक्ने भएकोले कहिल्यै पनि बिग्रन शुरु गरेका बासी च्याउ सकभर सेवन नगर्नु नै बेस हुन्छ । च्याउहरू छिटो बिग्रने र कुहिएर जाने i.e perishableप्रकृतिको हुने भएकोले सकभर च्याउहरू ताजा नै खानु राम्रो मानिन्छ ।

 ९. च्याउलाई काट्दा कुनैमा दूध जस्तो सेतो रस आउने, छातामा मसी जस्तो थोपा देखिने च्याउ खानु हुँदैन, यस्तो च्याउ विषालु मानिन्छ यद्यपि स्थानीय जेष्ठ नागरिकहरूका अनुसार छाताको टुप्पोको भाग कालो देखिने कुनै कुनै च्याउ खान हुने हुन सक्छन् । मिठो बास्ना आउने (च्याउहरूमा फलफल, मूला, माछाको गन्ध जस्ता गन्धहरू अनुभव गर्न सकिने भएकोले) अधिकांश च्याउहरू प्रायः खानयोग्य हुन्छन् । चिल्लो छाता भएका र छाता चुच्चो परेका केही जातिका च्याउहरू जस्तैः Amanita, Hygrophorus, Suillus, Psilocybe, Paneolus, आदि विषालु हुन्छन्, यस्ता च्याउहरू सकेसम्म खान हुँदैन ।

१०. आˆनो घर नजिक बनाइएको परालको टौवामा पराल सडेर स्वतः आफैं उम्रने पराले च्याउ (Volvariella volvacea), (च्याउ खाँदै आएका स्थानीय समुदायका अनुसार मसुरे कटुसमा उम्रने कटुसे च्याउ (Pleurotus sp.), भुड्की च्याउ, गुच्छी च्याउ (Morchella sp.), सल्ले च्याउ (Amanita hemibapha), गोबे्र/डल्ले च्याउ (Agaricus bisporus), धमिरोले बनाएको माटोको ढिस्कोमा उम्रिएको च्याउ, आदि) निर्धक्कसँग खान सकिन्छ ।

११. बनजङ्गलको छेउछाउमा बस्ने परम्परादेखि नै वनपाखाबाट संकलन गरी च्याउ खाँदै आएका स्थानीय जेष्ठ नागरिकहरूका अनुसार साधारणतया रुखमा उम्रेको भन्दा माटोमा उम्रने च्याउहरू विषालु भएको भेटिएको छ । उनीहरूका अनुसार च्याउ उम्रने सिजन भनेको वर्षातको समय हो त्यसैले बेमौसममा देखापर्नेच्याउहरू विषालु हुने भएकोले बेमौसममा उम्रने च्याउहरू खानको लागि संकलन गर्नु हुँदैन ।

 १२. कलिला बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई जङ्गली च्याउ नख्वाउँदा नै बेस हुन्छ किनकी उनीहरूमा प्रतिरोधात्मक शक्ति immunity power कम हुने गर्दछ । कहिलेकाहि स्वादिष्ट मानिने खानयोग्य च्याउ (जस्तैः Chlorophyllum molybdites)ले समेत कुनै कुनै व्यक्तिमा नकरात्मक प्रतिक्रिया देखाउँछ । व्यक्ति विशेष अनुसार कहिलेकाहि रक्सी पिएपछि खानयोग्य च्याउ खाएमा कुनै कुनै व्यक्तिलाई नकरात्मक असर देखापर्न सक्छ ।

 १३. बन जङ्गल छेउछाउ बस्ने स्थानीय व्यक्तिहरूसँग गरिएको अन्तरक्रिया अनुसार फिल्डबाट संकलन गर्नासाथ उक्त च्याउलाई हातको नाडीको भागमा रगड्दा पर्पराएको आभास भयो भने उक्त च्याउ साधारणतः बिषालु हुने पाइएको अन्यथा नपर्पराएको खण्डमा खान हुने गरेको अनुभव गरेको जानकारी उनीहरूबाट पाइएको थियो ।

१४. जङ्गली च्याउ, च्याउ विशेषज्ञहरूसँग नसोधिकन वा गल्तिले वा नचिनिकन बिषालु च्याउ खाइएको रहेछ भने जिब्रो सुन्निने, पेट दुख्ने, बान्ता आउला जस्तो हुने, शरीरको तापक्रम घट्ने, श्वासप्रश्वासमा अवरोध आउने, मुटुको धड्कन गड्बडी हुने, रिंगटा लाग्ने, झम्म पार्ने, र्यालल चुहिने, नाकबाट सिंगान बग्ने, आदिजस्ता लक्षणहरू देखिएमा घरमा गर्न सकिने प्राथमिक उपचार जस्तो कि विरामीलाई ५/६ गिलास मनतातो पानी ख्वाई, दुईवटा औंला मुख भित्र हाली खाएको सबै बिषालु च्याउ निस्कने गरी अधिकतम वान्ता गराउने वा दिशा लाग्ने औषधि (वा अण्डिको तेल) ख्वाउने गर्नु पर्दछ, त्यस्तै अंगारको मसिनो धुलो पानीसँग मिसाई ख्वाई वान्ता गराउने यसले शरीरमा फिजिएको विषलाई सोसेर असर कम गर्ने बताइन्छ (Okuzawa, 2007), यति गर्दा पनि भएन भने विरामीलाई छिटोभन्दा छिटो स्वास्थ्य केन्द्रमा उपचार गराई हाल्नु पर्दछ साथै खाएको विषालु च्याउको केहि अंश लगेर जाँच गराउनु पर्दछ ।

बाली कटानी तथा भन्डारण

सिताके च्याउ टिप्ने अवस्था र टिप्ने तरिका

सिताके च्याउ निस्कने बेला मुढाहरु एकले अर्कोलाई नछुने गरी ठाडो राख्दा सिताके च्याउको आकार राम्रो हुन्छ । च्याउ पलाइरहेको बेलामा हावाको संचार राम्रो हुनुपर्छ । यसबेला प्लाष्टिकले छोप्नुहुँदैन । मुढामा मात्र पर्ने गरी पानी हाल्नुपर्छ ।

च्याउ ठूलो भएपछि, नाफक्रदै, च्याउमा गिल्सको राम्रो विकास भएपछि टिप्नु पर्दछ ।

च्याउ टिप्दा औंलाले डाँठमा समातेर एकपल्ट दाहिने अर्कोपल्ट देब्रेपट्टी हात बटारेर होसियारपूर्वक खलबल नपारी टिप्नुपर्छ ।

च्याउ सुक्खा अवस्थामा टिप्नुपर्छ तसर्थ च्याउ टिप्ने अघिल्लो दिन पानी हाल्नु हुँदैन । 

सबै काठका मुढाहरुमा एकैपल्ट च्याउ आउँदैन । कुनै कुनै मुढामा महिनाको शुरुमा सिताके च्याउ फलेको छ भने अरु मुढाहरुमा २-३ हप्तापछि पनि फल्न सक्छ । यसरी काठका मुढाहरुमा पटक पटक गरी च्याउ फलाउन सकिन्छ । यसरी च्याउ रोपिएका मुढाहरुमा ३ वर्षसम्म पटक पटक गरी च्याउ टिपी रहन सकिन्छ । कडा खालका काठका मुढाहरु जस्तै: बाँझ, खरी जातको रुखका मुढाहरु भए ४-५ वर्षसम्म पनि च्याउ फलाउन सकिन्छ तर उत्तिस, सौर आदि नरम जातका काठ २-३ वर्षपछि काम लाग्दैनन् ।