परिचय
विज्ञहरूले नेपालमा पहिचान भएका करिव १ सय परिवार अन्तर्गत पर्ने १ हजार २ सय ७१ प्रजातिका च्याउ रहेको बताएका छन् । जसमध्ये करिब १ सय ४७ खानयोग्य, ७३ औषधिय गुण भएका र करिब १ सय बिषालु प्रकृतिका छन् । कतिपय च्याउहरू न त खानयोग्य न त औषधिय गुण भएका कुनै प्रयोजनमा प्रयोगमा नआउने, काम नलाग्ने प्रकृतिका पनि रहेको पाइन्छ । वर्षायामको समयमा एकैचोटी एक्कासी भर्रर च्याउहरू धेरै संख्यामा देखापर्नु, कहिलेकाहिं च्याउहरू अनौठो किसिमले वृत्ताकार बनाएर उम्रनु, कुनै ठाउँमा उम्रेको च्याउ त्यस क्षेत्रका स्थानीय बासिन्दाले उपभोग गर्दा केहि नहुने तर त्यहि च्याउ अन्यत्र क्षेत्रमा उमे्रको अवस्थामा त्यस क्षेत्रका स्थानीयले उपभोग गर्दा असर पर्ने पनि हुन सक्ने (खानयोग्य च्याउ उम्रिएको ठाउँमा विषालु च्याउहरू पनि सँगै उम्रन सक्ने भएकोले) लगायतका अनौंठा प्रकृतिका रुपरंग च्याउमा देख्न पाइन्छ । कुनै पनि बिषाक्त च्याउहरूको असर खाई सकेपछि मात्र देखा पर्दछ । यसले शारीरिक क्रिया तथा प्रक्रिया र स्नायु प्रणालीमा बिभिन्न किसिमका असरहरू गर्न थाल्दछन् । यसले शारीरिक आलस्यता बढाउने, गल्ने, पेट/आमाशय दुखाउने, वान्ता गराउने, पिसाव धेरै गराउने, रिङ्गटा लाग्ने, दिशा लगाउने, पसिना निकाल्ने, शारीरिक शुष्कता बढाउने, रक्त विकृत गर्ने, जिब्रो सुन्निने, श्वास नली बन्द गर्ने, शरीरको तापक्रम बिस्तारै घट्दै जाने (Okuzawa, 2007) र अन्ततोगोत्वाः मृत्यु समेत गराउन सक्छ । बिषालु च्याउमध्ये कसैले मृत्यु नै गराउन सक्छन् (i.e. deadly poisonous जस्तै Aminita phalloides, A. pantherina, A. muscaria, Inocybe patlouillardii, Cortinarious speciosissimus, C. orellanus, Entoloma sinuatum, Lepiota morgana, Agaricus xanthodermis आदि) भने कुनैले हल्का नशा मात्र लगाउने हुन्छ, कुनैले वान्ता गराउने, पेट दुखाउने, टाउको दुखाउने, जिब्रो सुन्निएर आउने, आदि गराउँदछ । मृत्यु नै गराउन सक्ने साधारणतया तीन समूहका बिषालु च्याउहरूसँग जहिले पनि सचेत रहनु पर्दछ । जस अन्तर्गतः
१. अमानिटा (Amanita sps) :
साधारणतया अमानिटा जातमा पर्ने धेरै प्रजातिहरू अत्यन्त बिषालु हुन्छन् । यिनीहरू हुर्कने क्रममा अण्डाकारको डल्ले च्याउ जस्तो देखिन्छन् र परिपक्क भएपछि प्यारासुट जस्तो छातामा बिकसित हुन्छन्, जुन प्रजाति अनुसार बिभिन्न रंगको हुन सक्छ । यिनीहरूमा सेतो गिल्स हुन्छ, डाँठ कचौरामा उम्रिएको हुन्छ र डाँठको बीचतिर औंठी हुन्छ । छातालाई काटेर कालो रंगको कागजमा केहि घण्टासम्म थिचेर राख्दा बिजाणुको सेतो छाप देखा पर्दछ । बर्षाको पानीले औंठी तथा कचौरा बिगार्न सक्ने भएकोले कत्ले च्याउ छुट्याउन गिल्स र छाताको आकारलाई मुख्य आधार बनाइनु पर्दछ ।
२. नक्कली गुच्छी च्याउ (False morels) :
यिनीहरू चाउरी परेका हुन्छन् र छाता दिमाग जस्तो गुडुल्किएको हुन्छ । यिनीहरू कालो, सेतो र खैरो, रातो, आदि रंगमा पाइन्छन् । झट्ट हेर्दा गुच्छी च्याउ जस्तो देखिएता पनि दुईवटा आधारमा यिनीहरू गुच्छी च्याउ भन्दा फरक हुन्छन् । यिनीहरूको छाता ठाउँ ठाउँमा बाहिरतिर केहि फुकेको जस्तो देखिन्छ, तर गुच्छी च्याउमा भने खाल्डा खुल्डी परेको हुन्छ । यिनीहरूको छाताको तल्लो किनारा डाँठको वरीपरी स्वतन्त्र रुपमा झुण्डिएका देखिन्छन् भने गुच्छी च्याउमा छाताको तल्लो किनारा डाँठमा जोडिएको हुन्छ ।
३.साना खैरा च्याउहरूः
यस समूह अन्तर्गत पर्ने धेरै प्रजातिहरू हानिकारक हुँदैनन्, कुनै कम विषालु, जसले हल्का नशासम्म लगाउने हुन्छन् भने कुनै चाहीं अत्यन्त खतरनाक हुन्छन्, जसले ज्यानै समेत लिने गर्दछ । यिनीहरूको प्रजाति पहिचान गर्न सरल तरिका नभएकोले सबै साना खैरा च्याउहरू उपभोग नगर्नु नै सुरक्षित हुने उपाय मान्न सकिन्छ । साधारणतया यी तीन समूहका च्याउहरू नै लगभग सबैजसो च्याउ उपभोगबाट हुनसक्ने मृत्युको कारक हुने गर्दछ । अझ त्यसमा पनि
अमानिटा’ जात अन्तर्गतका प्रजातिहरूको समूहले लगभग ९०% हिस्सा ओगट्छ । यी तीन समूह बाहेक अरु पनि बिषालु च्याउहरू पाइन्छन् जसले नशा लगाउने, पखाला लगाउने, टाउको दुखाउने, वान्ता गराउने, मांशपेशी दुखाउने, पेट दुखाउने, आदि गराउन च्याउ सङ्कलन तथा उपभोगका सावधानी सम्बन्धी जानकारी सक्छ र यिनीहरूले ज्यानै भने लिंदैनन् बरु च्याउ सेवन गरेको २४ घण्टापछि आफैं असर कम भएर जान्छ ।
१. बनपाखा, कान्ला, खोल्साखोल्सी, पाखोबारी, बन छेउछाउ लगायत बनजङ्गल क्षेत्रमा यत्रतत्र उम्रने च्याउहरू कस्तो प्रकृतिको हो, सहि पहिचान गर्न गाह्रो हुने भएकोले सबै च्याउहरू एउटै टोकरी अर्थात भाँडोमा संकलन नगरी बिभिन्न प्रजातिका च्याउहरू छुट्टाछुट्टै अलगअलग भाँडोमा संकलन गर्ने गर्नु पर्दछ किनभने कहिलेकाहि खानयोग्य च्याउहरू उम्रिएको ठाउँमा बिषालु च्याउहरूको स्पोर खसेर खानयोग्य च्याउ सँगै उम्रिएका पनि हुन सक्छन्, यसरी संकलन गरी ल्याइएता पनि संकलनकर्ता आफैंलाई संकलित च्याउ खानयोग्य हो होइन् भन्ने सम्बन्धमा एकिन गर्न सक्ने खुबी भए तापनि थप ढुक्क हुनको लागि विषाक्त च्याउ छुट्याउन च्याउ खाने पारखीहरू, च्याउ विज्ञहरू अथवा वन जङ्गलका छेउछाउमा बसेका वंशानुगत अनुभव भएका अनुभवी सङ्कलनकर्तासँग सहकार्य गर्ने, उनीहरूसँग परामर्श लिने, आफुलाई थाहा भएको कुरा जानकारी गराउने जस्ता वानीको विकास गर्नु पर्दछ । कहिलेकाहि च्याउ संकलन गर्ने बेलामा अन्य प्रजातिहरूको स्पोर बनिसकेर परिपक्क भएको रहेछ भने हावा मार्फत स्पोर आँखामा पर्न सक्ने पनि हुन सक्छ भने कहिलेकाहि विषालु च्याउहरू नचिनेर हातले छुँदा पनि संकलनकर्ता आफैलाई असर गर्न सक्दछ । विषालु च्याउ छोइएको शंका लागेमा सोहि हातले अन्य खानयोग्य च्याउ संकलन गर्नु पूर्व साबुन पानीले सफासँग हात धोइहाल्नु पर्दछ । त्यसैले च्याउ संकलन गर्दा विशेष ध्यान दिनु पर्दछ ।
२. बनजङ्गलबाट संकलन गरी ल्याइएका च्याउहरूको हकमा खान योग्य च्याउ नै हो भन्ने पूर्ण रुपमा एकिन भएमा सफा गरी पखालेर राम्ररी पकाएर मात्र उपभोग गर्नु पर्दछ, काँचै खाँदा विभिन्न नकरात्मक असर देखाउन सक्छ । उपभोग गर्नको लागि आफूलाई ढुक्क नलागी कहिकतै अलिकता पनि शंका रहन्छ भने सकेसम्म त त्यस्ता च्याउहरू सेवन नगर्नु नै उचित मानिन्छ, खानै परे पनि संकलित च्याउमा विष भएको वा नभएको छुट्टयाउन नजर लगाई अन्दाजको भरमा नसकिने भएकोले खानयोग्य छ भनेर चिनिएको च्याउ आफूले पहिलो पटक खाइँदैछ भने विचार गर्नको लागि पहिले थोरै मात्रामा खाएर विचार गर्ने, २४ घण्टासम्म कुनै नकरात्मक असर नदेखिएमा भने अलिकता बढी खान सकिन्छ, यद्यपि जङ्गली च्याउ एकै व्यक्तिले कहिले पनि पाइयो भनेर धेरै खानु हुँदैन, कम्तिमा २००३०० ग्रामसम्म खाए शरीरलाई चाहिने प्रतिदिनको क्यालोरी पर्याप्त हुन्छ अर्थात् पुग्दछ ।
३. पहिचान भएका बजारमा बेच्न राखिएका जङ्गली च्याउहरू (बर्षायामसँगै काठमाडौं उपत्यकामा ३० भन्दा बढी प्रजातिका जङ्गली च्याउहरू बेच्न राखिएको पाइएको विज्ञहरू बताउँछन्), खान हुने भनी पहिचान भई प्रमाणित भएका जङ्गली च्याउहरू, कृतिम तरिकाले व्यावसायिक वा आनो लागि खानको लागि खेती गरिएका च्याउ जस्तो कन्ये, गोब्रे, पराले, सिताके, रातो च्याउ, आदि भने निर्धक्कसँग खाए हुन्छ, यी च्याउमा प्रशस्त मात्रामा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व पाइन्छ । तर खानयोग्य भए तापनि जङ्गली च्याउको हकमा कहिल्यै पनि एकै व्यक्तिले धेरै मात्रामा खाने गर्नु हुँदैन ।
४. जङ्गलमा पाइने खान हुने, खान नहुने र बिषालु च्याउ छुट्याउन सर्वसाधारण मानिसले नसक्ने भएकाले नचिनेको, थाहा नभएको च्याउ खानाको रुपमा कहिल्यै पनि प्रयोग गर्नु हुँदैन । नचिनेको च्याउ बिषालु पनि पर्न सक्छ र पकाएर, पोलेर खाएमा ज्यान जान पनि सक्छ । पकाउँदा अथवा खरानी राखेर उमाल्दैमा च्याउमा भएको बिष काटिन्छ भन्ने हुँदैन । बिषालु हो होइन भनी छुट्याउन च्याउ विशेषज्ञ, वंशाणुगत संकलनकर्ताबाट मात्र सम्भव हुन सक्छ । च्याउ उपभोगको लागि सुरक्षित छ छैन भन्ने कुरा च्याउ खाने पारखीबाट पनि थाहा हुन सक्छ ।
५. साधारणतया कुनै प्रजातिको च्याउमा औंठी (annulus) र कचौरा (vulva) दुवै भएको (तर औंठी वा कचौरामध्ये कुनै एउटा भएको च्याउ भने खानयोग्य पनि हुन सक्छ जस्तैः Amanita chepangiana, A. caesarea, Volvariella volvacea मा कचौरा भएको हुन्छ, जुन खान योग्य छ), छाता तथा डाँठमा आउटग्रोथ जस्तो देखिने वार्टहरू भएका, छाता तथा डाँठमा धेरै बुट्टाहरू÷कत्लाहरू भएका, सुगन्धित, रङ्गीविरङ्गी देखिने, अकस्मात रङ्ग परिवर्तन हुने, छिप्पिदै जाँदा रङ्ग बदलिंदै जाने, हल्का चोट लाग्दा समेत रङ्ग बदलिने, देख्दा धेरै चम्किला (सेतो, रातो, पहेंलो, निलो, आदि) आकर्षक देखिने (साधारणतया चम्किलो नभइकन फुस्रो रङ्गका देखिने च्याउहरू कम विषालु हुनसक्ने), काला रङ्गका च्याउहरू, रुख÷गोबरमा, वासमा उम्रने च्याउहरू प्रायः विषालु हुन सक्छन् ।
६. अमानिटा जातका (प्यारासुट जस्तो छाता र सेतो गिल्स भएको, औँठी र कचौरा दुवै भएको) जस्ता देखिने च्याउहरू (तर अमाटिका ३ प्रजातिका च्याउहरू जस्तैः Amanita caesaria, A. chepangianaभने खानयोग्य पाइएको छ किनभने एकदमै निकटमा पर्ने एउटै जाति (genus) का सबै प्रजाति (species) हरू खानयोग्य वा विषालु हुन्छन् भन्ने हुँदैन), साना खैरा च्याउहरू, तथा नक्कली गुच्छी च्याउ जस्ता च्याउहरू कहिल्यै पनि उपभोग गर्नु हुँदैन (यस किसिमका च्याउहरूबारे पहिचान गर्न सकिने सरल तरिका माथि उल्लेख गरिसकिएको छ) । स्वादिष्ट मानिने साथै व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने जङ्गलमा पाइने च्याउका केहि प्रजातिहरू जस्तैः हुँदैन (३ प्रजाति), Laetiporus sulphureus, Pleurotus (४ प्रजाति), Cantharellus (४ प्रजाति), गुच्छी च्याउ (Morchella६ प्रजाति), Scleroderma texens, Termitomyces (७ प्रजाति), Boletus edulis, Craterellus connucopioides, Tricholoma matsutake, यार्सागुम्वा (Ophiocordyceps sinensis), आदि मानिन्छन् ।
७. जङ्गली बिषालु च्याउलाई किरा, कमिला, खरायो, लोखर्केआदिले पनि साधारणतया नखाने हुदा त्यस्ता चोंखा (केहिले पनि नखाएका) च्याउलाई मानिसले पनि खानु हुदैँ न । यद्यपि कुनै कुनै जनावर वा किरा (जस्तैः चिप्ले किरा, खरायो आदि) ले अत्यन्त विषालु मानिने च्याउ समेत खाने भेटिएकोले त्यस्ता जनावर वा किराले खाएर छोडेको च्याउ मानिसले पनि खानु हुँदैन। किराले समेत खाएको छ भनेर सोहि प्रजातिको किराले नखाएको अन्य च्याउ वा चाँदीको वस्तुमा कुनै असर गरेन भन्दैमा (च्याउ पकाएको भाँडोमा चाँदीको सिक्का वा चाँदीबाट बनेको कुनै वस्तुसँगै राखेर पकाएमा चाँदीको रङ्गमा परिवर्तन आयो भने विषालु च्याउ हुन सक्छ भन्ने परम्परागत धारणा रहि आएकोले), पकाएको जङ्गली च्याउ खाँदा धेरै स्वादिष्ट भयो भन्दैमा (किनकी कुनै विषालु च्याउहरू अत्यन्त स्वादिष्ट पनि हुने बताइएको छ, धेरैजसो जंगली च्याउहरू पकाएर खाँदा स्वादिष्ट नै हुन्छन्), च्याउ खान हुने खालको नै हुन सक्छ भनेर किटान गर्न मिल्दैन् ।
८. धेरै छिप्पिएका, सड्न शुरु भई किरा लागेका र ओइलाएका जङ्गली च्याउ खान हुँदैन। संकलन गरी ल्याइएका ताजा च्याउ मात्र खाने बानी बसाल्नु पर्दछ । त्यसैले सङ्कलन गर्दा किटान भएका खानयोग्य च्याउ धेरै मात्रामा पाइएता पनि ठिक्क मात्रामा संकलन गर्नु पर्दछ, संकलन गरी ल्याइएको च्याउ बासी भएमा त्यसको रुपरङ्ग नै बिग्रिएर बनावट नै भिन्न किसिमको देखिने भएकोले त्यसमा अन्य बाह्य सूक्ष्म जिवहरू bacteria लगायत अन्य ढुसी moulds को संक्रमण हुन सक्ने भएकोले कहिल्यै पनि बिग्रन शुरु गरेका बासी च्याउ सकभर सेवन नगर्नु नै बेस हुन्छ । च्याउहरू छिटो बिग्रने र कुहिएर जाने i.e perishableप्रकृतिको हुने भएकोले सकभर च्याउहरू ताजा नै खानु राम्रो मानिन्छ ।
९. च्याउलाई काट्दा कुनैमा दूध जस्तो सेतो रस आउने, छातामा मसी जस्तो थोपा देखिने च्याउ खानु हुँदैन, यस्तो च्याउ विषालु मानिन्छ यद्यपि स्थानीय जेष्ठ नागरिकहरूका अनुसार छाताको टुप्पोको भाग कालो देखिने कुनै कुनै च्याउ खान हुने हुन सक्छन् । मिठो बास्ना आउने (च्याउहरूमा फलफल, मूला, माछाको गन्ध जस्ता गन्धहरू अनुभव गर्न सकिने भएकोले) अधिकांश च्याउहरू प्रायः खानयोग्य हुन्छन् । चिल्लो छाता भएका र छाता चुच्चो परेका केही जातिका च्याउहरू जस्तैः Amanita, Hygrophorus, Suillus, Psilocybe, Paneolus, आदि विषालु हुन्छन्, यस्ता च्याउहरू सकेसम्म खान हुँदैन ।
१०. आनो घर नजिक बनाइएको परालको टौवामा पराल सडेर स्वतः आफैं उम्रने पराले च्याउ (Volvariella volvacea), (च्याउ खाँदै आएका स्थानीय समुदायका अनुसार मसुरे कटुसमा उम्रने कटुसे च्याउ (Pleurotus sp.), भुड्की च्याउ, गुच्छी च्याउ (Morchella sp.), सल्ले च्याउ (Amanita hemibapha), गोबे्र/डल्ले च्याउ (Agaricus bisporus), धमिरोले बनाएको माटोको ढिस्कोमा उम्रिएको च्याउ, आदि) निर्धक्कसँग खान सकिन्छ ।
११. बनजङ्गलको छेउछाउमा बस्ने परम्परादेखि नै वनपाखाबाट संकलन गरी च्याउ खाँदै आएका स्थानीय जेष्ठ नागरिकहरूका अनुसार साधारणतया रुखमा उम्रेको भन्दा माटोमा उम्रने च्याउहरू विषालु भएको भेटिएको छ । उनीहरूका अनुसार च्याउ उम्रने सिजन भनेको वर्षातको समय हो त्यसैले बेमौसममा देखापर्नेच्याउहरू विषालु हुने भएकोले बेमौसममा उम्रने च्याउहरू खानको लागि संकलन गर्नु हुँदैन ।
१२. कलिला बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई जङ्गली च्याउ नख्वाउँदा नै बेस हुन्छ किनकी उनीहरूमा प्रतिरोधात्मक शक्ति immunity power कम हुने गर्दछ । कहिलेकाहि स्वादिष्ट मानिने खानयोग्य च्याउ (जस्तैः Chlorophyllum molybdites)ले समेत कुनै कुनै व्यक्तिमा नकरात्मक प्रतिक्रिया देखाउँछ । व्यक्ति विशेष अनुसार कहिलेकाहि रक्सी पिएपछि खानयोग्य च्याउ खाएमा कुनै कुनै व्यक्तिलाई नकरात्मक असर देखापर्न सक्छ ।
१३. बन जङ्गल छेउछाउ बस्ने स्थानीय व्यक्तिहरूसँग गरिएको अन्तरक्रिया अनुसार फिल्डबाट संकलन गर्नासाथ उक्त च्याउलाई हातको नाडीको भागमा रगड्दा पर्पराएको आभास भयो भने उक्त च्याउ साधारणतः बिषालु हुने पाइएको अन्यथा नपर्पराएको खण्डमा खान हुने गरेको अनुभव गरेको जानकारी उनीहरूबाट पाइएको थियो ।
१४. जङ्गली च्याउ, च्याउ विशेषज्ञहरूसँग नसोधिकन वा गल्तिले वा नचिनिकन बिषालु च्याउ खाइएको रहेछ भने जिब्रो सुन्निने, पेट दुख्ने, बान्ता आउला जस्तो हुने, शरीरको तापक्रम घट्ने, श्वासप्रश्वासमा अवरोध आउने, मुटुको धड्कन गड्बडी हुने, रिंगटा लाग्ने, झम्म पार्ने, र्यालल चुहिने, नाकबाट सिंगान बग्ने, आदिजस्ता लक्षणहरू देखिएमा घरमा गर्न सकिने प्राथमिक उपचार जस्तो कि विरामीलाई ५/६ गिलास मनतातो पानी ख्वाई, दुईवटा औंला मुख भित्र हाली खाएको सबै बिषालु च्याउ निस्कने गरी अधिकतम वान्ता गराउने वा दिशा लाग्ने औषधि (वा अण्डिको तेल) ख्वाउने गर्नु पर्दछ, त्यस्तै अंगारको मसिनो धुलो पानीसँग मिसाई ख्वाई वान्ता गराउने यसले शरीरमा फिजिएको विषलाई सोसेर असर कम गर्ने बताइन्छ (Okuzawa, 2007), यति गर्दा पनि भएन भने विरामीलाई छिटोभन्दा छिटो स्वास्थ्य केन्द्रमा उपचार गराई हाल्नु पर्दछ साथै खाएको विषालु च्याउको केहि अंश लगेर जाँच गराउनु पर्दछ ।