फूल अर्थात पुष्पको प्रयोग हाम्रो परम्परागत संस्कृतिको एक अभिन्न पाटो हो । घरमा देवीदेवताको पूजा गर्न होस् वा मठमन्दिरमा भगवानलाई चढाउन होस्, फूलको प्रयोग अनादि कालदेखि नै चलि आईरहेको हाम्रो परम्परा हो । आधुनिक सभ्यताको विकास सँगसँगै फूलको प्रयोग विवाह, जन्मदिन जस्ता विशेष अवसरहरुमा मात्र नभएर भेटमा, विदाईमा, प्रेममा, खुशीमा, दुःखमा आफ्नो भावना प्रदर्शन गर्ने उत्कृष्ट माध्यम बनेको छ । नेपालको सन्दर्भमा राणाकालिन समयमा दरबारहरुमा शौखको रुपमा शुरु भएको पुष्प व्यवसायले वि.सं. २००७ पछि मात्र सर्वसाधारणमा पहुँच पाएको देखिन्छ । अझ भन्नुपर्दा नेपालमा पुष्प क्षेत्रको संगठित एवं व्यवस्थित विकास क्रम २०४८/४९ देखि भएको पाईन्छ । हाल पुष्पका विभिन्न उपक्षेत्रहरु (कट फ्लावर, कट फोलिएज, नर्सरी, आलंकारिक विरुवा, भू-परिदृश्य निर्माण, पुष्प सजावट आदि) को उल्लेखनीय विकास भईसकेको भएतापनि आम जनमानसमा फूल खेती भन्नाले सयपत्री फूल खेती भन्ने छाप रहेको छ । विशेष गरेर नेपालको सांस्कृतिक, सामाजिक एवं धार्मिक परिवेशसँग जोडिनुको साथै तराईदेखि हिमालसम्म सहज रुपमा खेती गर्न सकिने भएकोले सयपत्री फूलसँग नेपालीको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
नेपालमा अन्य कृषि बाली जस्तो व्यवसायिक रुपमा योजनाबद्ध तरिकाले सयपत्री खेती गर्ने प्रचलन नभएको र भईरहेको व्यवसायिक खेती समेत तिहार लक्षित मात्र रहेको हुँदा तिहारको समयमा मागभन्दा आपूर्ति बढी भई उचित मूल्य नपाईरहेको अवस्था छ । यसको अलावा सस्तो उत्पादन लागतको भारतीय फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले समेत नेपाली कृषकहरु उत्साहित हुन सकिरहेका छैनन् । हाम्रो देशको हावापानीमा सयपत्री खेती वर्षभरी नै गर्न सकिने भएकोले योजनाबद्ध ढंगले नेपाली बजारको माग बमोजिम आपूर्ति हुने गरि व्यवस्थित खेती गर्नुपर्ने देखिन्छ । त्यसैले नेपालमा व्यवसायिकताको प्रशस्त सम्भावना रहेको सयपत्री खेती सम्बन्धी विविध प्राविधिक पक्षहरुमा सरोकारवाला कृषक एवं प्राविधिकहरुको ज्ञान सीप थप अभिवृद्धि गर्ने प्रयास स्वरुप सयपत्री फूल खेती प्रविधि सम्बन्धी जानकारीहरु यो पुस्तिकामा सविस्तार प्रस्तुत गर्ने जमर्को गरिएको छ ।



















