परिचय

परिचय

मखमली फूललाई अंग्रेजीमा Globe amaranth भनिन्छ । यसलाई बोलीचालीको भाषामा सुपारी फूल पनि भन्ने गरिन्छ । मखमलीफूल खेती धेरै पहिला देखि गर्दै आइरहेको भएतापनि आजभोली यसको खेती व्यावसायिक रुपमा नै हुन थालेको छ । हिन्दुहरुको विशेष पर्व तिहारमा मखमली फूलको आवश्यकता पर्ने भएकोले मखमली फूलको बजार सुनिश्चित छ । यो फूल कहिल्यै नओइलाउने भएकाले तिहारमा दिदि वहिनीहरुले आफ्‌ना दाजुभाईहरुलाई यसको माला लगाई दिई दीर्घायुको आशिर्बाद दिने चलन रहेको छ । यसरी यसको धार्मिक महत्व पनि रहेकोले यसको माग अझ बढ्दै गईरहेको छ ।

makhmali     makhmali

जातहरु

जात

नेपालमा प्रचलित जातहरुमा निम्न दुई मुख्य मानिन्छ ।
१) फिक्का बैजनी
२) सेतो

आवश्यकता

हावापानी र माटो

मलमली फूलको खेती काठमाडौं उपत्यकाका साथै अन्य स्थानहरुमा पनि सफलतापूर्वक गर्न सकिन्छ । यसको खेतीको लागि मध्य पहाडको १००० मीटर देखि १५०० मीटर सम्मको बलौटे दोमट माटो भएको र बर्षातको पानी नजम्ने खालको जग्गा उपयुक्त मानिन्छ । यसको जरा धेरै मसिना र बोट कमजोर हुने भएकोले बोट हुर्कन बढ्न बलौटे दोमट माटो नै उपयुक्त हुन्छ ।

नर्सरी व्यवस्थापन

बीउ राख्ने तरिका

मलमलीको बीउ राख्नु भन्दा केही समय अगाडी माटो, बालुवा र कम्पोष्टमल २:१:१ का दरले मिलाई केहि समय व्याडमा हल्का सिंचाई गरी प्लाष्टिकले छोपेर राख्ने र माटोलाई कुटोले हल्का चलाई लाईनमा बीउ खसाल्ने र बीउ खसालेपछि मधुमासले छोपीदिनु पर्छ । यसो गर्दा बीउलाई उम्रनका लागि सजिलो हुन्छ र बीउछोपी सकेपछि जुटको बोराले छोपी हजारीको सहायताले हल्का सिंचाई गर्नु पर्दछ । बिरुवा उम्रि सकेपछि १ ग्राम प्रतिलिटर पानीमा ढुसिनाशक बिषादीले बेर्नालाई ड्रेचिङ्ग गर्नु पर्दछ ।

जग्गा तयारी

जमीनको तयारी र बेर्ना रोप्ने तरिका

जेठ महिनामा राखिएको बेर्ना १ महिना अर्थात असार महिनामा रोप्न उपयुक्त हुन्छ । जसकोलागि जमीनको माटो अनुसार कम्तीमा २ पटक राम्रोसंग खनजोत गरी जमीनको अन्तिम तयारीमा नै पाकेको कम्पोष्टमल प्रति रोपनी ३०-३५ डोको राखी जोत्नु पर्दछ । साथै पिना, बोनमिल जमीनको तयारीमा नै प्रयोग गर्न सकिन्छ । यसपछि जमीनलाई १५-२० से.मी. माथी उठाई बिचमा ३० से.मी. हिंड्न मिल्ने बाटो राखि एक मीटर चौडाईको Plot मा बोट देखि बोट ३० से.मी. र लाईन देखि लाईन ४५ से.मी. (खुला जग्गामा) राखि बेर्ना रोप्नुपर्दछ । यसो गर्दा प्रति रोपनी १३०० बेर्ना रोप्न सकिन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

सिंचाई तथा पानीको निकास

 बेर्ना रोप्ने बित्तिकै पानी दिनु पर्दछ । जमीनको अवस्था तथा आवश्यकता हेरी बिहान र बेलुका पानी नजम्ने गरी सिंचाई गर्नु पर्दछ । पानी जम्ने अवस्था भएमा कुलेसो काटी निकासको व्यवस्थापन गर्नु पर्दछ । अन्यथा जरा कुहेर बिरुवा मर्ने सम्भावना हुन्छ ।

गोडमेल

 माटो खुकुलो भएमा बिरुवाको विकास राम्रो हुने भएकोले झारपात निकाली १०-१५ दिनको फरकमा गोडमेल गरि राख्नु पर्दछ ।

रोग व्यवस्थापन

रोग

मखमली फूलको लागि बढी पानी भएमा जरा कुहिने, ओईलाउने र मर्ने भएकोले राम्रो निकासको प्रवन्ध मिलाउनु पर्छ । बोटको पातमा थोप्ले रोगले आक्रमण गर्ने भएकोले बेभिस्टिन/क्रिनोक्सिल गोल्ड २ ग्राम प्रति लिटर पानीमा मिलाई १५-१५ दिनको फरकमा स्प्रे गर्नु पर्छ । यसो गर्दा रोग नियन्त्रण हुन्छ ।

किरा व्यवस्थापन

किरा

 मखमली फूलमा लाग्ने किरा मध्ये फेद काट्‌ने किराको प्रकोप बढि देखिन्छ, जसका लागि फूल फुल्नु अगाडि नै १५ दिनको फरकमा २ पटक किटनाशक विषादी नुभान, मल्टीनिम  मध्ये कुनै एक २ मिली प्रति लिटर पानीमा मिलाई स्प्रे गर्नुपर्दछ ।

बाली कटानी तथा भण्डारण

फूल टिप्ने / उत्पादन

मखमली फूल पटक पटक गरी टिप्न सकिने भएकोले बेर्ना सारेको ९० दिनबाट फूल टिप्न शुरु गरी लगातार ३ महिना सम्म टिप्न सकिन्छ । बोटको साइज अनुसार उत्पादन फरक फरक हुन जान्छ ।
१) ठूलो साइजको बोट
बोटको लम्बाई : ७५ से.मी.
हाँगा संख्या : २५
फूल संख्या : ३५०

२) मिडियम साइजको बोट
बोटको लम्बाई : ६० से.मी.
हाँगा संख्या: २०
फूल संख्या : २००

३) सानो साइजको बोट
बोटको लम्बाई : ५० से.मी.
हाँगा संख्या :  १५
फूल संख्या : १००


एक वटा माला तयार गर्न ७० देखि ७५ वटा धुँगा आवश्यक पर्दछ । मखमली फूल तिहारमा मात्र बढी प्रगोग हुने हुँदा उक्त समयमा माला तयार गरी बिक्री गर्न सकेमा बढी फाइदा लिन सकिन्छ । एउटा माला २० देखि ३० रुपैया सम्म बिक्री हुने गरेको छ । खुल्लामा पनि यसको खेती गरी राम्रो उत्पादन लिन सकिने र लागत कम लाग्ने भएकोले निम्नआयस्तरका किसानहरुले पनि खेती गरी राम्रो आम्दानी लिन सक्छन् ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

वार्षिक प्रगति प्रतिवेदन
(आ.व. २०७४/०७५)

पुष्प विकास केन्द्र गोदावरी, ललितपुर