ईशापूर्व १०,००० वर्ष अघिदेखि घरपालुवा जनावरको रुपमा भेडापालन गरिंदै आएको भनाई छ । मासु, छाला, ऊन, मल उपलब्ध हुने र यातायातको कठिनाई भएको स्थानमा सामान ढुवानीको लागि समेत उपयोगी भएका कारण मानिसले भेडापालन व्यवसायलाई मन पराएको हुनुपर्दछ । यद्यपी ऊनको उत्पादन र कारोबार लामोसमयसम्म हुन सकेको थिएन । ऊन उत्पादन गर्ने भेडाको जाति ६००० वर्ष ईशापूर्वको हाराहारीमा ईरानमा उपयोगमा ल्याइयो । त्यसपछि पर्सियाको संस्कृति ऊन उत्पादन र व्यापारमा केन्द्रीत हुन थाल्यो। साथै बेबीलोनबासीले ऊनका कपडा उत्पादन गरी प्रयोगमा ल्याउन थाले। ऊनको व्यवसायिक उत्पादन र कारोबार भने मेसोपोटामियाबाट भएको थियो। ऊनको व्यापार अफ्रिका, यूरोप र अन्य मुलुकमा विस्तार हुन थाल्यो ।
घरपालुवा भेडाको विकासबारे विज्ञहरुको एउटै धारण रहेको पाइदैन । सामूहिक दृष्टिकोणबाट ७ जातका जंगली भेडाहरुलाई ४० उपजातमा विभाजन गरिएको छ । यीनीहरु मध्य पनि मध्य एशियाको अर्गली, एसियाको युरियल र एसिया माइनरको मोफलोन नामका तीन वटा जातवाट पाल्तु भेडाको विकास भएको बताइन्छ । अहिले Ovis aries जातको भेडाको बर्चस्व रहेको र यो व्यवसायिक उचाईंमा पुग्न पनि सफल रहेको देखिन्छ ।
भेडाहरु वथानमा वस्न रुचाउछन् । नेपालमा खेतीपातीको थालनी भएसँगै भेडापालन व्यवसाय शुरु भएको हो। पहिलेदेखि यसको महत्व तराईभन्दा पहाडी र हिमाली भेगमा रहदै आएको छ । खास गरी दूध, मासु, ऊन, मल, छाला उत्पादन र सामान ढुवानीको लागि नेपालमा भेडापालन गरिन्छ। लामो समयदेखि पर्वतीय कृषि व्यवसायले नेपालको पहिचान बढाइरहदा हिमाली जिल्लाहरुमा बसोवास गर्ने सबै जातजातीवीच भेडापालन व्यवसाय उल्लेख्य रहदै आएको छ । कतिपय परिवारमा सामाजिक, आर्थिक हैसियत घरमा पालेको भेडा संख्याबाट पनि निर्धारण हुन्छ । गुरुङ्ग, शेर्पा र तामाङ्ग जातीमा भेडाको महत्व अझ बढी रहेको पाइन्छ । पछिल्लो समय अधिकांश हिमाली जिल्लाहरुमा घुम्ती चरन प्रणालीबाट व्यवसाय संचालन भएको हुँदा आहाराको निम्ति कृषकले अतिरिक्त खर्च जुटाउनु पर्ने देखिदैनथ्यो । सो प्रणाली अब खुम्चिदै जान थालेको छ । कृषकको समस्या, आवश्यकतालाई ध्यानमा राखेर नेपाल सरकारले भेडापालन व्यवसाय प्रवर्द्धनका लागि विभिन्न ठाउँमा व्यवस्थित फार्महरु पनि संचालन गरेको छ । ऊन उत्पादन बढाउने, गुणस्तर कायम गरेर ऊनजन्य उद्योगलाई टेवा पुऱ्याउने हेतुले विदेशबाट शुद्ध जातका भेडा, थुमाहरु ल्याएर स्थानीय जातसँग क्रस गराउने व्यवस्था लामो समयदेखि हुँदै आए पनि ऊन उत्पादन बढ्न सकेको छैन । कृषकबाट उत्पादित कम गुणस्तरको ऊन विक्री गर्न कठिनाई परिरहेको अवस्था छ । निश्चित क्षेत्रमा ठूलो परिमाणमा ऊन उत्पादन, संकलन, ग्रेडिङ्ग, प्रशोधन र भण्डारण गर्ने व्यवस्था नहुँदा पनि ऊनको व्यापारमा कठिनाई भएको हो। तथापी भेडापालन बढी हुने क्षेत्रमा कृषक स्वयंमले ऊन कात्ने, ग्रेडिङ्ग गर्ने, प्रशोधन गर्ने, धागो कातेर कपडा बुन्ने स्थानीय प्रविधि अँगाल्दै आएका छन् ।
यसरी स्थानीय तहमा ऊनका सामाग्री उत्पादन र खपत हुने गरे पनि बृहत रुपमा बजारीकरण भएको पाइदैन। राडी, पाखी, वख्खु, कम्बल, टोपी, गलबन्दी लगायत अन्य आवश्यक कपडा स्थानीय तहमा उत्पादन भए पनि यीनीहरुको महत्व र माग घट्दो अवस्थामा छ । सस्तो आयातीत सामाग्रीले बजार भरिन थालेपछि धार्मिक, चाडपर्व, संस्कारजन्य गतिविधिमा बाहेक अन्य अवस्थामा समयमा स्थानीय ऊनका सामाग्री कमै उपयोगमा ल्याइने गरिन्छ । अव्यवस्थित बजारीकरण, न्यून गुणस्तर र परिमाणका कारण कार्पेट उद्यमी अर्को रुपैयाँ बराबरको ऊन विदेशबाट ल्याउन वाध्य छन् जसले ऊन उत्पादनमा संलग्न कृषक निराश बन्दै गएका छन् । तिब्बतबाट आयात हुने ऊनको गुणस्तर स्थानीय भ्याङलुङ्ग र वरुवाल जातका भेडाबाट उत्पादित ऊनभन्दा फरक नहुँदा पनि स्थानीय उत्पादनले बजार पाएको छैन । फेरी घुम्ती चरन प्रणालीमा पालिने भेडापालन व्यवसाय संकटमा पर्न थालेको छ। सामुदायिक बन, राष्ट्रिय निकुञ्ज, आरक्षण क्षेत्र, गाउँपालिकाहरुमा अनेकथरी नियमकानूनले भेडाको चरनक्षेत्र साँघुरिदै गएको छ । तसर्थ कृषकको निराशा र व्यवसायप्रतिको घट्दो आकर्षणलाई पुनः जागृत गराउनु जरुरी देखिएको छ ।






