परिचय

परिचय

रेन्बो ट्राउट चिसो तथा सफा पानीमा हुर्कन सक्ने एक अत्यन्तै उत्तम माछा हो । ट्राउटको ब्यवसायीक उत्पादनको लागी प्रशस्त मात्रामा चिसो र कंचन पानी बाहेक प्राणीजन्य प्रोटिनयुक्त आहाराको आवश्यकता पर्दछ । ट्राउट माछामा पाईने ओमेगा-३ (Omega-3) भन्ने तत्व स्वास्थ्यको लागि अतिउत्तम हुनको अतिरिक्त ट्राउट स-साना काँढाहरू (Intra-muscular 'Y' bones) बाट बिमुक्त हुनाले खान सजिलो, स्वादिलो र सुरक्षित मानिन्छ ।रेन्बोट्राउट माछाको शरीरको छेउछेउमा (sides) चांदिको रंग र जीउमा गुलाबी तथा गाडा रातो रंगको लामो धर्सा र पछाडि भाग तथा पुच्छरमा कालो थोप्लाहरूले ढाकेको हुन्छ जस्ले गर्दा यो माछा चित्रकारिता (Painting) गरेको जस्तो सुन्दर देखिन्छ । साना माछाहरूले सूक्ष्म प्राणीजन्य जीवाणु (zooplankton) खाने गर्दछ र ठूलो माछाले किराहरू (मलस्क), भिंगेमाछाहरू (कस्ट्रेसीयन), माछाको फुल, मिनोज तथा ट्राउट लगायत अरू साना माछाहरू खाने गर्दछ । ट्राउट माछाले खाना भुईं नजिक खान्छ र करिब ७५% समय भुईंमानै बिताउंदछ । यो माछा सरदर ४-६ बर्ष सम्म बांच्दछ र सरदर तौल ३.६ कि.ग्रा. हुन्छ । बढीमा २५.८ कि.ग्रा.सम्मको तौल भएको तथ्यांक छ । 

r
वातावरणीय आवश्यक्ता 

यो माछा शून्य देखि २५ डि. से. सम्म तापक्रम भएको पानीमा बाँच्न सक्छ तर उत्पादनको लागि भने २० डी.से. भन्दा कम तापक्रम, अक्सिजन ७ मी.ग्रा. प्रतिलिटर भन्दा बढी र पीएच ६.५-८.५ चाहिन्छ । रेन्बोट्राउट माछाको सबैभन्दा राम्रो वृद्धिको लागि १६-१८ डी. से. र प्रजनन्‌को लागि ९-१४ डी. से. तापक्रम उपयुक्त हुन्छ । यो माछा हुर्कने पानीको तापक्रम सकभर एकनासको अर्थात धेरै फरक तापक्रम नहुने  भएमा राम्रो हुन्छ साथै पानी प्रशस्त, सफा र निरन्तर बगिरहने हुनु पर्दछ । 
 

पोषक तत्वहरू
imp

 

ट्राउटमाछा व्यवसायको सम्भावना र अवसर

 नेपाल चिसोपानीको धनी देश भएकोले चिसोपानीमा हुने माछाको व्यवसायिक खेतीगर्ने ठूलो सम्भावना रहेको छ । खासगरी हिमाली तथा पहाडी भेगमा चिसो पानीको स्रोत प्रसस्त छन् । ति भेगका जनताहरूको जीविकोपार्जनको लागि आयस्रोतका अवसरहरू कम रहेको र खाद्यान्न बाली लगाउन कठिन भएको अवस्थामा रेन्बोट्राउट जस्तो चिसो पानीमा हुने माछाको खेतीगर्न सकिने संभावना छ । त्यस क्षेत्रमा रेन्बोट्राउट माछाको व्यवसायिक खेती प्रवर्धन गर्न सकिएको खण्डमा भएमा त्यस भेगका जनताहरूले जिवीकोपार्जनको लागि रोजगारी पाउन सक्ने र आय बृद्धिहुने तथा स्वस्थकर प्राणी प्रोटिन समेत उपभोग गर्न पाउने छन् । साथै राष्ट्रिय स्तरमै माछाको उत्पादनमा बृद्धिहुने भएकोले ट्राउट माछा पालनको सम्भाव्यता अध्ययनगरी यसको अधिराज्यभर व्यापक व्यवसायिक खेतीगर्न सकिन्छ । सुरूमा यसको लगानी बढी लाग्ने भएकोले कृषकहरूले लगानी गर्न आंट गर्न सक्दैनन् । त्यसैले सरकारी वा अन्य माध्यमबाट सहयोग तथा वित्तिय संस्थाहरू बिशेष सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुन आवश्यक देखिन्छ । घरायसी मागहरू बाहेक ठूला होटलहरू तथा बिदेशी बजारमा समेत माग भईरहेको परिप्रेक्षमा ट्राउटमाछाको व्यवसायीक खेतीको ठूलो सम्भावना देखिन्छ । हाल निजी क्षेत्रमा थोरै कृषकहरूले सानो स्केलमा रेन्बोट्राउटको खेती गरीरहेको हुनाले उत्पादन कम भई प्रतिस्पर्धा कम रहेकोछ । निजी स्तरमा प्रति कि.ग्रा. रू. ७००-९०० मा रेन्बोट्राउट माछा बिकी वितरण भईरहेको छ । निजी क्षेत्रबाट व्यवसायिक रूपमा बढी उत्पादन गर्न सकेमा उद्योग स्थापना हुनसक्ने र स्वदेश तथा विदेशमा खपत गराई यसको आयात प्रतिस्थापन भई निर्यात प्रवर्धन समेत हुनेछ । साथै राष्ट्रकै ठूलो आम्दानीको स्रोत बन्न सक्ने र स्वदेशमै रोजगारीको व्यवस्था हुनसक्ने छ । यो माछा मांसाहारी भएकोले माछालाई बढी प्रोटिनयुक्त दाना दिनुपर्दछ । साथै दानामा प्राणीजन्य प्रोटीनको मात्रा आवश्यक हुनाले दाना मंहगो हुन्छ र माछाको मूल्य पनि अरू माछाको तुलनामा महंगो हुन आउँछ । 
 

छनौट तथा प्रजनन् व्यवस्थापन

परिचय

पोथी माछाको अण्डालाई भाले माछाको बीर्य (milt) भित्रै वा बाहिर निषेचन गराई माछाका भुराहरू जन्मनुलाई मत्स्य प्रजनन् भनिन्छ । नेपालमा रेन्बोट्राउट माछाको प्रजनन् कृत्रिम तरिकाबाट गराईन्छ । एक बर्ष उमेर पुरा भई दुई वर्ष उमेर पुरा उमेर नपुगेका ट्राउट माछालाई १ प्लस (१) भनिन्छ । दुई बर्ष उमेर पुरा भई तीन बर्ष उमेर पुरा नपुगेका ट्राउट माछालाई २ प्लस (२) भनिन्छ1 । ट्राउटको भाले पोथी दुबै १ प्लस भएपछि प्रजनन्‌को लागि योग्य हुन्छन् । नेपालमा यो माछाको प्रजनन् बर्षको एक पटक मात्र भएको रेकर्ड पाईन्छ । नेपालको अवस्थामा ट्राउट माछाले आफ्‌नो जीवनभर दुई पटक मात्र प्रजनन् गर्छ भने अन्य देशहरूमा एउटै माछाबाट पाँच-छ पटकसम्म प्रजनन् गरेको रेकर्डहरू पनि पाइन्छ। तर ५ बर्ष भन्दा बढी उमेर भएपछि प्रति माउ फुलको संख्या एवं गुणस्तरमा कमी हुदै जाने हुन्छ । ट्राउटको प्रजनन कार्तिकको दोस्रो हप्ता पछि शुरू भई माघको दोश्रो हप्तासम्म हुने गरेको रेकर्ड छ । माछाको साईज पहिलो बर्षको अन्त्यसम्ममा ५००-८०० ग्रामको हुन्छ । सामान्यतया उक्त साईजको एउटा पोथी ट्राउटले १२००-२००० गोटा सम्म फुल दिन्छ भने दोश्रो प्रजनन्‌मा ८००-१५०० ग्राम साईजको एउटा पोथीले २५००-४००० गोटा सम्म फुल दिन्छ । यस सम्बन्धी अनुसन्धान मत्स्य अनुसन्धान महाशाखा गोदावरी र मत्स्य अनुसन्धान केन्द्र, त्रिशुलीमा गरिदै आएको छ भने निजीस्तरमा पनि कृषकहरूको सहभागितामा अनुसन्धान कार्यहरू सन्चालन गरिदै आएको छ । 
व्यवसायिक रूपमा रेन्बोट्राउटको खाने माछा तथा माउ माछा उत्पादनको लागि १४-२० डि.से. सम्मको तापक्रम राम्रो हुन्छ भने प्रजनन तथा भुरा उत्पादनको लागि पानीको तापक्रम ९-१४ डि. से. हुनु पर्दछ । पानीको तापक्रम ९ डि.से. भन्दा कम भएमा कोरलिन (hatch) हुन बढी समय लाग्दछ र १४ डि. से भन्दा बढी भएमा चांडै कोरलिन्छ हुन्छ । समय भन्दा चांडो कोरलिएमा भुरा कमजोर हुन्छ । रेन्बोट्राउट माछाको प्रजनन्‌को लागि माउमाछाको राम्रो व्यवस्थापन गर्नु पर्दछ । माउमाछालाई पोषणयुक्त दाना दिई राम्रोसँग हेरचाह गर्नुपर्दछ । प्रजनन्‌को लागि निम्नानुसार कार्यहरू गर्नुपर्दछ ।

भावी माउ माछाको छनौंट 

प्रजनन् गराउने उद्देश्य अनुरूप स्वस्थ, शारीरिक बनौट मिलेको र पोसिलो दाना खुवाई भुरा उत्पादन गर्न पालिने माछालाई भावी माउ माछा भनिन्छ । भावी माउको छनौट गर्दा सकभर कोरल्न राखेको फुलबाट आँखा देखिएको बेलामा छान्न राम्रो हुन्छ । तर नेपालमा भुरा अवस्थाबाट भावी माउ छनौट गरिदै आएको छ । भुराबाट भावी माउ छनौट गर्दा एलभिनले शरिरमा रहेको पहेलो पोषक पदार्थ ग्रहण (yolksac absorve) गरे पछिको भुराको मुख खुलेपछि प्रोटिनयुक्त संतुलित गुणस्तरीय दाना खुवाउँदै आएको २ ग्रामदेखि माथिका स्वस्थ, फुर्तिसाथ पौडने, डोलो सुडौल शरीर, पखेटाहरू नबिग्रेको, चम्किला आँखा, इन्द्रेणी रंगको भुराहरू छनौट गर्दै माउमाछा तयार गर्नु पर्दछ । यसरी माउमाछाको लागि छुट्याइएको भुरालाई भुरा हुर्काउने बिधि अनुसार हेरचाह गर्दै जानु पर्छ । प्रजनन् गरीसकेपछिका माउ माछाको हेरचाह गर्नु पनि त्यतिकै आवश्यक हुन्छ । जसले गर्दा त्यही माउ अर्को साल पनि प्रजनन्‌मा प्रयोग गर्न सकिन्छ । यदि राम्रोसंग हेरचाह गरिएन भने अर्को सालको लागि अयोग्य, रोगी, बेसाइज, ठीक समयमा परिपक्व नहुने, फुल तथा मिल्ट राम्रो नदिने माछा माउ बनाउन पर्ने हुन सक्छ। नेपालमा खासगरी करिव २ बर्ष र ३ बर्ष उमेर भएका माउ माछाबाट मात्र फुल लिने काम भएको छ ।

 

भाले पोथी माउ माछाको पहिचान र हेरचाह 

पहिलो सेक्सुअल चिन्ह (First sexual dimorphism) को आधारमा अनुमानित ५०० ग्राम भन्दा माथि दुई बर्ष उमेर पुग्न लागेका माउ माछाहरू भाद्र महिनाको अन्तिम सम्ममा छुटयाउनु पर्दछ (तालिका १) । सो छुट् याइएको भाले पोथी अलग्गै राखी आवश्यक दानापानी दिएर राम्रो हेरविचार गरी पाल्नुपर्दछ । साथै पानीको तापक्रम पनि पहिलो पटक माउ छुट्याएपछि लिदै जानु पर्छ यसरी पानीको तापक्रम १३ डिग्री से. पुगी तल झर्ने क्रम शुरू हुन लाग्दा सम्ममा ह्याचरीको व्यबस्थापन तयारी पूर्ण भैसकेको हुनु आवश्यक छ । 


तालिका  पहिलो सेक्सुअल चिन्हको आधारमा भाले पोथी पहिचान गर्ने तरिका

m ad f3

                            भाले                                                                                पोथी

फुल दिन परिपक्व भएको माउमाछा छनौट 

कार्तिकदेखि दोस्रो सेक्सुअल भिन्नता (Second sexual dimorphisms) को आधारमा फुल निचोर्न योग्य परिपक्व भाले पोथी छुट्‌याई प्रजनन् गराउनु पर्दछ । परिपक्व भाले पोथी निम्नाअनुसार छुट्याउन सकिन्छ । 
१ परिपक्व पोथीको पेट फुलेको र नरम हुन्छ (चित्र ३)। जनेन्द्रिय (vent) गुलाबी रंगको भई अलिकति बाहिर निस्केको हुन्छ । 
२. पोथी माछाको पेट जनेन्द्रिय भन्दा केही माथि थिच्दा सजिलै सगं पहेंलो फुल निस्कन्छ (चित्र ४) । 
३. भालेको पेट जनेन्द्रिय भन्दा केही माथिबाट तलतिर निचोर्दै जाँदा जनेन्द्रियबाट सेतो दूध निस्किन्छ जस्लाई मिल्ट भनिन्छ । 
यसरी छनौट गरिएका परिपक्व भाले पोथी माउहरूलाई ह्याचरीमा आरामदायक अवस्थामा राखिन्छ । पोथी माछाको जनेन्द्रियबाट फुल निस्केको आधारमा उही दिन वा भोली पल्ट फुल संकलन गर्ने दिन यकिन गरिन्छ । 
प्रजनन् सफल हुन सही तरिकाले फुल संकलन गर्ने दक्ष प्राविधिक चाहिन्छ ।

we

 

पोथीबाट फुल संकलन

प्रजनन्‌को लागि रेसवेबाट परिपक्व पोथी छनौट गरी प्लास्टिकको टबमा राख्नु पर्दछ । फुल संकलन गर्ने प्लास्टिकका स-साना बाटाहरू कपडाले सुख्खा गरी पुछ्नु पर्दछ । पानीको संसर्गमा आएपछि बीर्य चांडो क्रियाशिल भई फुल निषेचन हुन नपाउँदै छिटै मर्दछ । त्यसैले भिजेको भाँडोमा फुल संकलन गर्ने गरेमा फुल बिग्रन्छ । फुल संकलन गर्ने भाँडो सुख्खा हुनुपर्दछ। टबबाट पोथी माछा झिकेर रूमालले माछाको सबै शरीर सुख्खा हुने गरी पुछ्नु पर्दछ । भिजेको शरीरबाट फुल संकलन गरिरहेको बेलामा पानी झरी फुल बिग्रन सक्छ । शरीर पुछिसकेपछि रूमालले पोथीको टाउको छोपेर एक हातले माछा (पुच्छरको माथिल्लोभाग) समात्ने तथा अर्को हातले पेल्भिक फिनको पछाडि तल्लो पेट भेन्टतिर बिस्तारै बिस्तारै थिचेर फुल निचोर्ने र एउटा प्लास्टिकको बाटा अथवा कुनै भांडोमा सकंलन गर्ने (चित्र ६)। बढी पाकेको फुलले फुल निस्कने ठाउँ रोकेको हुन सक्छ जस्लाई फ्याकेर मात्र राम्रो फुल संकलन गर्नु पर्दछ । पाकेको फुल अलिकति मात्र दबाब दिएमा सजिलैसंग बाहिर निस्कन्छ । पाकेको फुलको रंग पहेंलो देखि सुन्तला रंगको भई अपारदर्शी translucent हुन्छ । केही फुल पानीमा खसाल्दा यदि दूध जस्तो सेतो रंगको हुन्छ भने बढी पाकेको (over right) फुल भनेर चिनिन्छ र ती फुल निषेचित हुन सक्दैनन् । एउटा पोथीले करिब १००० देखि ४००० गोटा सम्म फुल दिन्छ । फुल दिने संख्या माछाको साईज, उमेर, स्वास्थ तथा हुर्कदों वातावरण आदिमा भर पर्दछ । केही विदेशी मुलुकहरूमा (जस्तै जापान) फुलदिन तयारी माउलाई बेहोस पार्ने औषधिद्वारा (एनेस्थेसिया) वेहोस पारेर फुल संकलन गरिन्छ । वेहोस पारेर फुल निचोरेमा माउलाई तनाव (stress) पर्दैन र सजिलैसंग फुल निचोर्न सकिन्छ । यो तरिका भाले माउ माछालाई पनि प्रयोग गरिन्छ । नेपालमा भने यो तरिका मत्स्य अनुसन्धान केन्द्रहरूमा मात्र सिमित मात्रामा प्रयोगमा आएको छ ।

t

 

भालेबाट मिल्ट (बीर्य) संकलन गर्ने 

फुल संकलन गर्ने बित्तिकै भालेबाट मिल्ट मिसाई हाल्नु पर्दछ । टबबाट भाले माछा झिकेर रूमालले माछाको सबै शरीर सुख्खा हुने गरी पुछ्नु पर्दछ । एक हातले रूमालले टाउकोतिर छोपेर माछा समात्ने र अर्को हातले तल्लो पेट बिस्तारै बिस्तारै थिचेर मिल्ट एउटा बिकरमा संकलन गर्नु पर्दछ । अथवा सोझै प्लास्टिकको बाटामा सकलित फुल माथि नै मिल्ट मिसाउन पनि सकिन्छ । एकभन्दा बढी भालेबाट मिल्ट संकलन गरेर प्रयोग गरेमा निषेचन राम्रोसंग हुने संभावना बढ्छ ।

 

फुल निषेचन 

परिपक्व पोथीबाट संकलन गरिएको फुलमा भालेबाट संकलित मिल्ट मिसाउने । फुलमा भालेको मिल्ट सोझै मिसाउन सकिन्छ, जसलाई सुक्खा निषेचन तरिका (dry fertilization method) भनिन्छ । सो भन्दा अगावै फुललाई ०.९ प्रतिशत (१० लिटर पानीमा ९० ग्राम खाने नुन) को नुनपानीको झोलले सफा गरेपछि फुलमा नै मिल्ट राखेर पनि निषेचन (fertilization) गरिन्छ । यस तरिकालाई भिजेको निषेचन तरिका (wet fertilization method) भनिन्छ । राम्रोसंग निषेचन गराउनको लागि चराको प्वाँखले बिस्तारै चलाउनु पर्दछ । फुल र मिल्ट राम्ररी मिसिसकेपछि नुनपानीको झोलले पखाल्नुपर्दछ । निषेचित फुललाई हरियो फुल (green egg) भनिन्छ। यो निषेचित फुललाई २ मिनेट सम्म राख्ने र बिस्तारै सादा पानी (फुल कोरलन गर्न प्रयोग गरिने पानी) ले ३ देखि ४ पटक सम्म पखाल्ने । जवसम्म सफा पानी आउँदैन तवसम्म पखाल्नु पर्दछ । राम्रोसगं पानीले सफा गरी सकेपछि तयारी ट्रे मा फुल बिस्तारै खन्याउने  र प्वाँखले ट्रेको चारैतिर फिंजाउने। पानीमा राख्ने बितिकै फुलले पानी सोस्न थाल्छ र फुलेर कडा बन्दछ । यो प्रकियाको लागि लगभग २० मिनेट भन्दा बढी लाग्छ (सकभर १ घण्टा भएमा राम्रो) यसलाई "water hardening" भनिन्छ । यो प्रकियामा फुलको साईज लगभग २० प्रतिशत बढ्छ । यसरी राखेका फुल राम्रो र नराम्रो सजिलैसंग छुट्याउन पनि सकिन्छ । फुल बिग्रेको छ भने अरु फुललाई धक्का नहुने गरी चिम्टीले टिप्नु पर्दछ । राम्रो फुल हल्का सुन्तला वा पहेंलो रंगको हुन्छ भने बिग्रेको फुलको रंग सेतो हुन्छ । यसरी "water hardening" गरेको फुललाई एटकिनमा ईन्कुबेशनको लागि राख्न तयार हुन्छ ।

ईन्कुबेसन 

फुलहरू कडा भैसकेपछि ट्रेहरू एक माथि अर्को तह-तह खप्टाएर राख्ने र माथिल्लो ट्रेलाई एउटा खाली ट्रेले छोपेर सबै ट्रेहरूलाई डोरीले बाँधेर ईन्कुबेशनको लागि ईन्कुबेटरमा पानीको निरन्तर बहाव दिएर राख्नुपर्दछ । यसरी ईन्कुबेशनको एक खण्डमा करिब १० गोटा ट्रेहरू एक माथि अर्को खप्टाएर राख्न सकिन्छ । पानीले कडा भैसकेका निषेचित फुलहरू निषेचन भएको ४८ घण्टाभित्र एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्न सकिन्छ । तर यो कार्य जोखिमपूर्ण भएकोले दक्ष प्राबिधिकको आवश्यकता पर्दछ । ईन्कुबेसन टैंकको एक कुनाबाट पानी च्याम्वरको तल्लो ट्रेबाट जालीदार ट्रेमा भएको फुलहरूलाई एरिएसन गर्दै माथिको ट्रेबाट अर्को च्याम्वरमा भएको फुल ईन्कुबेशनमा एरिएसन गर्दै बाहिर निस्कन्छ ।

आँखा उम्रेका फुलहरू 

फुल भित्र आँखा देखापरेपछि त्यसलाई "आइ स्टेजको फुल" (Eyed Egg)  भनिन्छ। निषेचित फुलहरूमा आंखा उम्रने समय पानीको तापक्रममा भर पर्ने हुन्छ । तापक्रम कम हुँदा बढी दिन लाग्छ र बढी हुँदा थोरै दिन लाग्ने हुन्छ । आंखा विकसित नभएसम्म फुलहरू चलाउन वा एक ठाउँबाट अर्को ठाउँमा सार्नु हुँदैन । आँखा उम्रेका फुलहरू ढुवानी गर्न अति उपयुक्त मानिन्छ । ढुवानी गर्दा बरफले चिसो गराइएका बाकसमा राखेर पठाउनु पर्दछ । जापानबाट यही तरिकाबाट रेन्बोट्राउट माछा भित्राईएको हो।

आहार व्यवस्थापन

परिचय

रेन्बोट्राउट (Oncorhynchus mykiss) ले प्राकृतिक अवस्थामा पानीमा पाईने किरा, स-साना क्रष्टेसियन्स तथा स-साना माछा खान्छ । तर यो माछालाई भुरा देखि माउसम्म उच्च प्रोटिनयुक्त कृत्रिम दाना खुवाएर पाल्न सकिन्छ । रेन्बोट्राउट माछा बढी घनत्वमा उच्च प्रोटिनयुक्त दाना खुवाएर रेसवे, पोखरी, केज र ठूला ट्याङ्कहरूमा पालिन्छ । रेन्बोट्राउट माछालाई चाहिने जति प्रोटिन आपूर्ति गर्न माछाको धुलो र भिंगें माछा प्रयोग गरिएको हुन्छ । नेपालमा पनि दिगो रूपमा रेन्बोट्राउट माछा पालन विकास गर्न गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर उच्च मूल्य परेता पनि पोषिलो दाना प्रयोग गर्न जरूरी हुन आउंछ । धेरै जसो देशहरू जहाँ प्रसस्त माछाहरू पाईन्छ त्यहाँ पनि trash fish बाट बनाईने ओसिलो दाना वातावरण अनूकल नभएकोले रेन्बोट्राउट माछालाई शुष्क कुड्‌का दाना (dry pallet feed) नै खुवाएर पालिन्छ । हरेक जीवित प्राणीलाई जस्तै माछालाई पनि वृद्धि विकास, प्रजनन् र अरू कियाकलापहरूको लागि शक्तिको आवश्यकता पर्दछ । यो शक्ति माछाले खानाबाट नै प्राप्त गर्दछ । रेन्बोट्राउट माछा वृद्धिको लागि १९.१-२०.८ कि. जूल/ग्रााम कुल शक्ति (Gross energy) को आवश्यकता पर्दछ । माछा एउटा शिताष्म रगत प्राणी भएको हुनाले यसको शरीरको तापक्रम यो बस्ने पानीको तापक्रम सरह नै हुन्छ । त्यसैले यसलाई शरीरको तापक्रम स्थिर राख्नको लागि शक्तिको आवश्यकता पर्दैन ।

दाना बनाउनु अगाडिको तैयारी 


(क) गुणस्तरीय कच्चा खाद्य पदार्थको छनौटः बजारबाट ल्याईएको कच्चा पदार्थहरूको गुणस्तर निरक्यौल गरेर मात्र दाना बनाउनु पर्छ। फोहर ढुसी परेको खाद्य पदार्थ दानामा प्रयोग गर्दा माछाको स्वास्थमा प्रतिकूल असर पर्न जान्छ । कमसल खालको भिंगे माछा प्रयोग गरेमा बाहिरी आवरण (chitin) बढी हुन्छ जसले माछाको पाचनक्रियामा प्रतिकूल असर पार्दछ । शक्ति स्रोतको रूपमा प्रयोग हुने गर्छु, पिना र ढुटो पनि स्तरीय हुन आवश्यक छ । 
(ख) कच्चा पदार्थहरूमा रहेका वा मिसिएका कुहिएका, सडेगलेका अखाद्य पदार्थहरू हटाउन राम्ररी केलाएर सफा गर्नु पर्दछ, जस्तै बालुवा, मुसाको लिंड, माटो, ढुङ्गा ईत्यादि । 
(ग) बर्षात र चिसो समयमा कच्चा पदार्थमा जलाँशको मात्रा बढी हुने हुनाले दाना बनाउनु अघि घाममा राम्ररी सुकाउनु पर्दछ । 
(घ) झिङ्गे माछालाई पानीमा राम्ररी पखालेर घाममा सुकाउने झिङ्गे माछामा बालुवा, साना ढुङ्गा, माटो का टुकाहरू मिसिएको हुनसक्छ । त्यसैले यसलाई राम्ररी केलाएर, पानीमा पखालेर, घाममा सुकाएर मात्र दाना बनाउनु पर्दछ । सोझै घाममा सुकाउँदा मुसा किरा आदिले दुख दिने हुनाले सोलार ड्राएर (चित्र २) मा सुकाएमा यी समस्याहरूबाट निराकरण पाउन सकिन्छ । 
(ङ) राम्ररी सफा गरिएको सबै कच्चा खाद्य पदार्थहरूलाई पिठो पिंध्ने मेसिन  मा पिसेर पिठो बनाउन पर्दछ ।

feed

 

दाना बनाउँदा बिचार गर्नु पर्ने कुराहरू 

काँचो भटमासमा trypsin inhibitor भएको हुनाले यसलाई सीधै दाना बनाउन प्रयोग गर्नु हुँदैन । यसले माछाको वृद्धि कम गर्दछ । trypsin inhibitor लाई नष्ट पार्न भटमास भुट्नु पर्दछ। पिसिएको कच्चा पदार्थहरू राम्ररी मिसिनु पर्दछ । कच्चा पदार्थहरू राम्ररी नमिसिएमा कुड्‌का दाना (pellet) को गुणस्तरमा एकरूपता हुदैन जस्तै, कुनै पेलेटमा प्रोटिन बढी हुन्छ भने कुनैमा कार्बोहाईड्रेट अथवा कुनैमा लिपिड । रेसादार पदार्थ (fiber) जस्तो धानको ढुटो १० देखि १५ प्रतिशत मात्र प्रयोग गर्नुपर्दछ । बढी फाईबर भएको पदार्थले स्वाद कम गर्ने हुनाले दानामा कमै मात्रामा प्रयोग गर्नुपर्दछ ।

ओसिलो र शुष्क पेलेट (Moist and Dry Pellet) 

पेलेट आहारा मुख्यतया दुई किसिमको हुन्छ, ओसिलो र शुष्क । दुवै किसिमका आहाराको आफ्‌नै विशेषता एवं गुणहरू हुन्छ । ओसिलो पेलेटमा जलांसको मात्रा २५ देखि ३५ प्रतिशत सम्म हुन्छ र शुष्क पेलेटमा बढीमा १३ प्रतिशत हुन्छ । ओसिलो पेलेट आहारा फ्रिजमा भण्डारण गर्नु पर्दछ भने शुष्क पेलेट भण्डारण गर्दा कोठाको तापक्रम २० डि. से. देखि २५ डि. से. सम्ममा राख्नुपर्दछ । शुष्क पेलेट आहारा ९० दिनसम्म प्रयोग गर्न सकिन्छ तर ओसिलो पेलेट आहारा ६० दिन भित्र प्रयोग गरिसक्नु पर्दछ । ओसिलो पेलेट आहारा शुष्क पेलेट आहाराभन्दा बढी स्वादिलो हुन्छ । क्रुड फ्याटको मात्रा ओसिलो पेलेट आहारामा २० प्रतिशत हुन्छ भने शुष्क पेलेट आहारामा ७ प्रतिशत भन्दा कम हुने गर्छ। आहाराको भौतिकी र पोषकीय गुणको आधारमा ओसिलो पेलेट आहारा पानीमा तुरून्त डुब्छ र चांडै घुल्दछ पानीमा तर शुष्क पेलेट दाना बिस्तारै डुब्छ र चांडै घुल्दैन । रेन्बोट्राउटले डुबेको दाना खादैन। त्यसकारण ट्राउट माछाको लागि ओसिलो दानाको प्रयोग त्यति व्यवहारिक देखिदैन । ओसिलो पेलेट आहारा हातले खुवाउन सकिन्छ भने शुष्क पेलेट आहारा हातले खुवाउनको साथै स्वचालित मेसिन (auto feeder) प्रयोग गरि दिन सकिन्छ ।

क्रम्बल आहारा बनाउने तरिका 

 ट्राउट माछा भुरालाई विभिन्न कच्चा खाद्य पदार्थहरू मिलाई बनाईने ससाना कण भएको (small particles) आहारालाई क्रम्बल भनिन्छ। पूर्णतया पौडने भुरा (Free swimming fry) र हुर्कोला भुरालाई (fingerlings) विभिन्न साईजको क्रम्बल आहाराको आवश्यकता पर्ने हुदाँ क्रम्बल दाना विभिन्न साईजमा तयार गरिन्छ । यसरी बनाईएको क्रम्बल दानालाई क्रम्बल न. १, क्रम्बल न. २, क्रम्बल न. ३ र क्रम्बल न. ४ गरी विभिन्न साईजहरूमा बर्गिकरण गरिन्छ । यसलाई १सी, २सी, ३सी र ४सी किसिमको क्रम्बल आहारा पनि भनिन्छ । शुरूमा १सी बाट भुरालाई आहारा खुवाउन सुरू गर्दै प्रत्येक १५ दिनमा क्रमश: २ सी, ३ सी. र ४सी दाना खुवाउदै जानु पर्दछ । १सी क्रम्बल दानाको साईज ०.२९-०.५ मि. मि. त्यस्तै २सी क्रम्बल दानाको साईज ०.५-०.८४० मि. मि., ३ सी को साईज ०.८४०-२.३८ मि. मि. र ४सी को साईज १.४१ मि. मि. देखि ३.३६ मि. मि. सम्मको हुन्छ । सबै कच्चा खाद्य बस्तुहरूलाई १८० माईक्रोनको स्टिलको जाली (Steel shive) मा चालेर भुराको आहारा बनाउन सामानहरू तयार गर्नु पर्छ। साधारणतया मेसिनहरूमा यत्रो साईजको आहारा पिस्न समस्या पर्ने हुँदा यस्तो आहारा बनाउन कठिनाई आईपर्ने हुन्छ । दाना बनाउँदा ४२५ माईक्रोनको चालनीबाट दाना बनाउन शुरू गर्नु पर्छ र माछाको मुख साईज (Mouth Gap) र बृद्धि अनुसारको प्रत्येक दुई हप्तामा चालनीको साईज तल देखाए अनुसार बढाउदै लैजानु पर्दछ ।

भुरालाई दिने आहाराको मात्रा, दर र पटक

माछाको मुखको साइजलाई दृष्टिगत गरी मिल्दो साइजको दाना ख्वाउनु पर्दछ । भुरा (भुसुना) निस्केको अथर्थात पूर्ण तैरिने अवस्था (Free swimming fry) पुगेको भुरालाई दुई दिन सम्म उसिनेको अण्डाको पहेंलो भाग अलि अलि गर्दै आहाराको खुवाउने बानी बसाल्नु पर्छ । तेस्रो दिन पछि भुसुनालाई आहारा खाने बानी ठीकसंग नपरेको हुँदा करिब हप्ता दिनसम्म खाए जति आहारा दिनमा १० देखि १२ पटक सम्म दिनु पर्दछ । दोस्रो हप्ता पछि एडभान्स साईज भुरा (०.०५ ग्राम) लाई ७ देखि १० प्रतिशत सम्म आहारा प्रत्येक घण्टामा दिनुपर्दछ । एडभान्स साईज भन्दा माथिका भुरालाई आहारा दिने प्रतिशत र पटक क्रमिक रूपले घटाउदै अर्थात् दुई दुई घण्टामा ४ देखि ६ पटक सम्म दिनको शारीरिक तौलको ३ प्रतिशतका दरले ५ ग्राम साईजको नपुगुन्जेलसम्म आहारा दिनु राम्रो हुन्छ । त्यस पछि हुर्केका माछा (Juvenile fish) अर्थात् ५ ग्राम भन्दा माथि भएपछि माछाको शारीरिक तौलको ३ देखि ४ प्रतिशत सम्म आहारा दिनु राम्रो हुन्छ । आहारा खाएको अनुपातमा माछा कति बढेको छ भनेर हरेक १५-१५ दिनमा वृद्धि जाँच गर्नुपर्दछ र माछा ५ ग्राम भन्दा माथि पुगेपछि ३५ प्रतिशत प्रोटिन भएको आहारा खुवाउनुपर्दछ ।

w

 

ट्राउट माछालाई दाना दिने तरिका 

ट्राउट माछालाई दाना प्रायः हातैले दिईन्छ। दाना ट्याङ वा रेसवेको चारैतिर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाहरूले खान पाएर सबैको वृद्धि विकास बराबर हुन्छ । रेसवेमा दानाको वितरण समान रूपमा भएन वा रेसवेको कुनै भागमा दाना वितरण कम भएको अवस्थामा केही माछा दानाको अभावमा रोगी र कमजोर हुन्छन् र एकै समयमा स्टक गरिएको माछामा वृद्धिदर फरक-फरक हुन्छ । माछालाई दाना ठीक मात्रामा ख्वाउनु पर्दछ । दाना कम भए माछा दुब्लाएर रोगी हुन सक्छ । माछाको बृद्धि विकास राम्रोसंग हुँदैन । माउमाछामा डिम्बाशयको विकास राम्रोसंग हुँदैन । दाना धेरै भए खेर गएर पानी दुषित हुने, उत्पादन लागत बढी लाग्ने हुन्छ । माछाको बृद्धि जांच हरेक १५ दिनमा गर्नु पर्दछ। माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ ।

रोग तथा समस्याहरु

रोग लाग्नाका मूख्य कारक तत्वहरु

प्रतिकुल परिस्थितिको दबावले नै ट्राउट माछा कमजोर हुन गै विभिन्न किसिमको जिवाणुहरुबाट संक्रमित हुन सक्छ । ट्राउट माछामा विभिन्न रोगहरु लाग्नका प्रमुख कारक तत्त्व निम्न हुन सक्छन् : 


क) रेसवे पोखरीहरुको सरसफाईमा ध्यान पुऱ्याउन नसकेमा माछाको दिसा-पिसाव पानीमा जम्मा हुन गई माछाको कान (गिल), छाला तथा मुख भित्र प्रवेश गरी माछालाई रोगबाट संक्रमित पार्न सक्दछ । 
ख) ट्राउट व्यवस्थापन कार्य गर्ने सिलसिलामा माष्ठा समात्ने, छुट्‌याउने, तथा माछा प्रजनन् पश्चातको अव्यवस्थित ओसार पसार उप्रान्त रोग संक्रमणको सम्भावना बढेर जान्छ । 
ग) ट्राउटलाई आवश्यक मात्रा भन्दा बढी आहारा दिएमा रेसवेमा हाईड्रोजन सल्फाईड, अमोनिया र कार्बनडाइ अक्साईड जस्ता हानिकारण ग्यासको संचय हुन में रोग संक्रमणको संभावना रहन्छ । 
घ) ट्राउट पालिएको रेसवेमा पानीको तापक्रम, पी. एच, अक्सिजन तथा कार्बनडाइ अक्साईडको अत्यधिक उतार चढाव भएमा सोको प्रतिकुल प्रभावबाट ट्राउट माछा तनावग्रत भै रोगबाट ग्रसित हुन सक्दछ ।

माछाका हानिकारक शत्रुजीवहरू

माछा पालन गर्दा माछालाई विभिन्न किसिकमका माछाका शत्रु जीवहरु जस्तै मांसाहारी माछा, भ्यागुता, पानी भित्रमा किरा, सर्प, चरा, गगटा, ओत तथा मानिसहरुले प्रत्यक्ष रुपमा नोक्सान गर्ने गर्छ। तसर्थ यिनीहरुबाट बचाउन सके मात्र माछा पालनवाट फाईदा लिन सकिन्छ । 

  • मांसाहारी माछा - मांसाहरी माछा नियन्त्रणको लागी प्रवेशद्वार तथा निकासद्वारमा मसिनो आँखा भएको तार जाली राखी पानी राखे र निकाल्ने गर्नु पर्छ।  
  • सर्प- सर्प नियन्त्रणको लागी पोखरीको डिल सफा राखे, र पोखरीमा सर्पको पासो प्रयोग गर्नु पर्छ। 
  • चरा- चरा नियन्त्रणको लागी पोखरीको विच क्रस गरि रंगीविरंगी प्लाष्टिकको रिवन ठाँउ ठाँउमा वांधि दिनु पर्छ। समय समयमा ठूलो आवाज आउने ढ्या‌ङ्ग्रो बजाएर चरा धपाउने।
  • भ्यागुता – नियन्त्रण गर्न गाह्रो हुने भएकोले ठूला साईजको माछा भुरा स्टक गरि यसवाट बचाउन सकिन्छ ।
फुरूनकुलोसिस (Furunculosis) 

यो रोग एरोमोनास सालमोनिसिडा (Aeromonas salmonicida) ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । यस रोगको सक्रमणको शुरूवातमा माछाको आन्द्राका केही भागहरू सुनिन्छन् र पर्खेटाहरूमा रातोपना देखिन सक्दछ। तर संक्रमण बढ्‌दै गएमा शरीरमा फोकाहरूका साथै गहिरो घाउहरू देखापर्न सक्दछु । यी सुनिएका फोकाहरूमा रगतयुक्त पीप जस्तै झोल भरिएको हुन्छ । यस किसिमको लक्षण धेरै जसो एक बर्षे र परिपक्व ट्राउटमा देखिन सक्दछ । भरखरका भुसुना ट्राउटमा यस्तो लक्षण विरलै मात्र देखा पर्दछ ।

उपचार

  • एन्टिबायोटिक (जस्तै Oxytetracycline) आहारमा मिसाएर खुवाउने।

  • संक्रमित माछालाई छुट्टै ट्याङ्कमा राख्ने।

  • पानीको गुणस्तर सफा, अक्सिजनयुक्त र नियन्त्रणमा राख्ने।

disease

 

कोलुम्नरिज रोग (Columnaris disease) 

फ्लेक्सिबेक्टर कोलुम्नरिज (Flexibacter columnaris syn Cytophaga columnaris) ब्याक्टेरियाको संक्रमणबाट हुर्कोलादेखि विक्रीयोग्य ट्राउट माछामा यो रोग लाग्छ। रेसवे पोखरीमा पालिएका ट्राउट माछाको घनत्व बढी भएमा तथा पानीको तापक्रम बढेको परिस्थितिमा यस रोगको संक्रमणको प्रवल संभावना रहन्छ । यस रोगको शुरूको अवस्थामा रोगी माछाको शरीर, टाउको र पखेंटाको जरा भागमा खैरो, फुस्रो रंगका हल्का टाटाहरू/धब्बाहरू देखिन सक्दछ । रोगको संक्रमण बढ्‌दै गएमा यी टाटाहरूका छेउतिर रातोपना देखिन थाल्दछ र बिस्तारै पूर्णतया गहिरो घाउहरूमा परिणत हुन्छ साथै उक्त घाउहरूमा ढुसी समेत देखिन सक्छ ।

उपचार

  • पोखरी वा ट्याङ्कको पानी सफा र स्थिर तापक्रममा राख्ने।

  • माछामा चोटपटक नहोस् भन्ने गरी सावधानीपूर्वक ह्यान्डल गर्ने।

  • भीडभाड (overcrowding) नगरी पर्याप्त स्थान उपलब्ध गराउने।

ss

 

ब्याक्टेरियल गिल रोग (Bacterial gill disease) 

मिक्जोब्याक्टेरियल (Myxobacterial) ब्याक्टेरियाहरूको संक्रमणबाट खासगरी ट्राउटको भुरामा यो रोग लाग्छ । रेसवे पोखरीमा ट्राउट माछाको घनत्व धेरै भएमा, पोषकत्तत्वयुक्त आहाराको कमी भएमा वा पानीको गुणस्तर विग्रिएको अवस्थाहरू यस रोगका कारक त्तत्व हुन् । यस रोगबाट संक्रमित ट्राउट माछा सुस्त हुन्छन् र पोखरीको एक ठाउँबाट अर्को ठाउँमा छटपटाउदै आवत-जावत गर्नुका साथै पानीमा उफ्रने गरेको अवस्थामा समेत देख्न सकिन्छ । यसरी संक्रमण क्रमशः बढ्दै गएमा माछाको कानेपत्रको (gill lamella) रेशाहरू बाक्लो भै एक आपसमा टाँसिन्छ र त्यसबाट चिल्लो पदार्थ (श्लेष्म) बढी मात्रामा श्राव हुन थाल्दछ। रोगी माछाहरूको दानाप्रति रूची घट्दै जान्छ । यसरी संक्रमणको शुरूवातमा उपचार नगरिएमा माछाको श्वासप्रश्वासमा असुविधा भै मृत्युको संभावना हुन्छ ।

उपचार

  • पोखरीमा माछाको उचित घनत्व कायम राख्ने, भीडभाड नगर्ने।

  • पोषणयुक्त आहार नियमित रूपमा पर्याप्त मात्रामा खुवाउने।

  • पानीको गुणस्तर नियमित परीक्षण गर्दै सफा र अक्सिजनयुक्त बनाइराख्ने।

ss
 

 

पखेटा कुहिने रोग (Fin rot) 

यो रोग एरोमोनास, स्यूडोमोनास तथा भिब्रियो समूह अन्तरगतका ब्याक्टेरियाहरूको संक्रमणबाट हुन्छ । ट्राउट माछालाई सिमेन्टको रेसवे पोखरीमा बढी घनत्वमा राखेर पालिएमा, पोखरीमा खेर गएका दाना तथा माछाको दिशा जम्मा हुदै गएमा, माछाको पखेटा र पुच्छरतिर चोट पटक लागेमा तथा माछालाई असंतुलित 
आहारा दिएको अबस्थामा यस रोगको सम्भावना रहन्छ । टेल रोट भन्नाले माछाको पुच्छरका पखेटाहरू खिएर टुक्रिएर जानु र फिन रोट भन्नाले शरीरका अन्य भागको पखेटा खिईएर जानु हो। यो रोग लागेका माछाको पखेटाको छेउ तिरको भागमा सेतोपना देखिन्छ र संक्रमण बढ्‌दै गएमा पखेटा वा पुच्छरको जरातिरको भाग क्रमशः खिईदै जान्छ । माछा राखिएको पोखरीको संक्रमक पानी तथा रोगी माछाहरू मार्फत यो रोग स्वस्थ माछामा अत्यन्त छिटो फैलिने सम्भावना हुन्छ ।

y

 

प्रोटोजन समुह अन्तरगतका परजीवीबाट हुने रोग 

यी परजीवी एक कोशीय हुन्छन् । यस समूह अन्तरगतका परजीवी जस्तै ट्राईकोडिना (Trichodina), कोस्टिया (Costia), इपिस्टाईलिस (Epistylis), इक्थियोपथिरियस मल्टीफिलिस (Ichthyophthirius multifiliis) तथा चिलोडोनेला (Chilodonella) मुख्यतया माछाको कानेपत्र, शरीर तथा पखेटाहरूमा, हेक्जामिटा (Hexamita) तथा कक्सीडियन (Coccidian) परजीवी आन्द्रामा र मिक्जोवोलस सेरिब्रेलिस (Myxobolus cerebralis) परजीवी माछाको टाउकोको नरम हाड तथा मेरूदण्डमा भेटिन्छन् र यिनै अंगहरूलाई बढी प्रभावित तुल्याँउछन् ।

प्रोटोजोअन तथा ट्रिमेटोड समूह अन्तरगतका परजीवीहरूबाट हुने रोगको रोकथामका उपायहरू 

  • ट्रीकोडिना, इपिस्टाइलिस, कोस्टिया, चिलोडोनेला, डेक्टाइलोगाइरस, गाईरोडेक्टाईलसबाट हुने रोगको रोकथामका लागि माछाको उपयुक्त घनत्व कायम गरी संक्रमित माछालाई २-३ प्रतिशत नुन पानीमा (२ देखि ३ ग्राम नुन प्रति १०० एम एल पानी) ३० देखि ६० सेकेण्ड राखी उपचार गरेपछि साविक पालिएको रेसवे पोखरीमा राख्नु पर्दछ । शुरूमा तयार गरिएको नुन पानीको झोलमा २-३ वटा रोगी माछा राखी माछाको अवस्था जाँच गरेर मात्र सम्पूर्ण संक्रमित माछा नुन पानीमा उपचार गर्नु पर्दछ । 
  • ट्राउट राखिएको रेसवे पोखरीको पानी आउने निकास नजिकको कुलोमा ०.०१ प्रतिशत का दरले नुनका ढिका (०.०१ ग्राम नुनको ढिका प्रति १०० एम एल पानी) अर्थात् १ ग्राम प्रति १० लिटर पानीमा जुटको बोरामा वा कपडामा बाँधी राखी दिनु पर्दछ । यसरी नुनयुक्त पानी रेसवेको पानीमा केही समयको लागि अनवरत प्रवाहित भै राख्ने हुँदा उपरोक्त परजीवीहरूको संक्रमणलाई केही हद सम्म कम गर्न सकिन्छ । यो प्रकृया दिनमा दुई पटक सम्म गर्नु उचित हुन्छ । यस किसिमको उपचारका लागि सर्वप्रथम रेसवे पोखरीको जलाशय को लम्बाई, चौडाई र उचाई मापन गरी पानीको घनत्व यकिन गरी नुनको ढीका कति चाहिन्छ यकिन गर्न सकिन्छ । संक्रमित रेसवे पोखरीको पानी सधै स्वच्छ र सफा राखी पानीको गुणस्तर संतुलित राख्नु पर्दछ । माछालाई आवश्यकतानुसार संतुलित दाना समयमा दिनु पर्दछ । रेसवे पोखरीमा सामान्यतया १५-३० पि. पि. एम. अर्थात् १५-३० मिली ग्राम प्रति लिटर फर्मालिन (formalin) प्रयोग गर्न सकिन्छ ।
  •  विरलिङ्ग रोगको कारक तत्व मिक्जोवोलस सेरिब्रेलिस परजीवीको संक्रमणबाट रेसवे पोखरीको पानीलाई केही हदसम्म सुरक्षित राख्न रेसवे पोखरीको पानी सधै स्वच्छ र सफा राख्नु उचित हुन्छ । यस परजीवीबाट माछा संक्रमित भैसकेको अवस्थामा यस रोगको उपचार गर्न असम्भव हन्छ ।
  • इक्थियोपथिरिएसिस रोगको रोकथामका लागि ५० पि. पि. एम. फर्मालिन तथा ०.०१ पि. पि. एम. मालाकाईट ग्रिनको संयुक्त मिश्रणबाट रेसवे पोखरीको पानीमा उपचार गर्न सकिन्छ। रोगी माछालाई २ देखि ३ प्रतिशत नुन पानीमा ३० देखि ६० सेकेन्ड जति राखेर पनि उपचार गर्न सकिन्छ । रोगी माछा निकै सुस्त वा कमजोर देखिएमा माछालाई रेसवे पोखरीबाट झिक्नु हुदैन र यस्तो अवस्थामा ०.०१ प्रतिशतका दरले नुन पानीको झोल तयार गरी पोखरीमा दिनको ४ पटक सम्म राख्न सकिन्छ । संक्रमण अवधिमा रेसवे पोखरी सफा राखी पानीको प्रवाह बढाउन उचित हुन्छ । 
  • आईफ्लुक परजीवीको संक्रमणबाट ट्राउट माछालाई सुरक्षित राख्न समय समयमा पानीको स्रोत तथा कुलो इत्यादिमा घोंगीहरू भएमा झिकी फ्याल्नु पर्दछ । अन्यथा यस रोगको संक्रमण भै सकेको अवस्थामा उपचार गर्न जटील हुन्छ । 
  • हेक्जामिटेसिस रोग नियन्त्रणका लागि केलोमेल (Calomel) ०.२ प्रतिशत (०.२ ग्राम प्रति १०० एम एल पानी) माछाको आहारामा मिसाई ४ दिन सम्म दिन सकिन्छ । 
  • कक्सिडियोसिस रोगको पहिचान हुनासाथ रेसवे पोखरीको फोहोर बगाई माछाको दिसा र खेर गएको दानाहरू थुप्रिन दिनु हुदैन र तुरून्त उपचार शुरू गर्नु पर्दछ। यस रोगको लागि एम्प्रोलको धुलो सवैभन्दा प्रभावकारी औषधी हो। एक कि.ग्रा. माछाको वजन बरावर ६० मि. ग्रा. एम्प्रोल पेलेट दानामा भटमासको तेल वा पानीसंग मिसाई १४ देखि २४ दिनसम्म खुवाउनु पर्दछ ।
सेप्रोलेग्नीएसिस (Saprolegniasis)

यस रोगलाई वाटर मोल्ड (water mould), स्किन फंगस (skin fungus) वा कटन उल डिजिज (cotton wool disease) पनि भनिन्छ । ट्राउट माछाको शरीरमा घाउ खटिरा भएमा वा माछा कुनै कारणबश तनावग्रस्त भएको अवस्थामा सेप्रोलेग्नियाबाट माछा संक्रमित हुन सक्दछ । संक्रमणको शुरूवातमा रोगका लक्षण देखा पर्दैन तर संक्रमण बढ्‌दै जाँदा संक्रमित माछाको शरीरमा हल्का टाटाहरू देखिन थाल्दछ र क्रमशः यी टाटाहरू घाउमा परिणत हुन्छन् । घाउ भएको ठाउँमा ढुसीको संक्रमणबाट सेतो कपासको झुप्पा देखिन थाल्दछ । ढुसीको संक्रमण मुख्यतया ट्राउटका मृत तन्तु (dead tissues) तथा बिग्रेका फुलहरूमा पाईन्छन् साथै निषेचित फुलहरूमा माटोयुक्त (siltation) पानीको प्रयोग भई रहेमा पनि फुलहरू ढुसीबाट संक्रमित भईरहन्छन् । 

                                                                        ट्राउटका बिग्रिएको फुलहरूमा ढुसीको संक्रमण

saprolegniasis

 रोकथामका उपायहरू 

 

  1. ट्राउट माछाको रखरखावमा ध्यान दिनु पर्दछ । माछालाई चोटपटक लाग्नबाट बचाउनु पर्दछ । 
  2. रेसवे पोखरीमा क्षमताभन्दा बढी ट्राउट माछा राख्नु हुदैन । 
  3. ह्याचरीमा फिल्ट्रेशन च्याम्बर मार्फत स्वच्छ र सफा पानीको प्रयोग गर्नु पर्दछ । 
  4. पानीको गुणस्तर नियन्त्रित राख्नु पर्दछ । 
  5. फुलबाट ट्राउट माछाको भुरा कढाउने अवधिमा इन्कुबेशन टबको भित्री प्रवेशमा (inlet) फोम राखी पानी फिल्टर गरिएमा माटोको कणयुक्त पानी (siltation) को समस्या कम गर्न सकिन्छ । 
  6. गर्भित नभएका वा विभिन्न कारणले विग्रेका फुलहरू नियमित हटाउनु पर्दछ । 
  7. नियमित रूपमा ०.०१ प्रतिशत नुनपानी फुल ईन्कुबेशन गरिएको टवमा प्रवाहित गर्नु पर्दछ । 
  8. माछाको ओसार पसार, स्टक तथा माछा छुट्याउने प्रकृया पश्चात २-३ प्रतिशत नुनपानीबाट माछालाई उपचार गर्नु पर्दछ । 
  9. ट्राउट पालिएको रेसवे पोखरीमा स्वच्छ सफा पानी प्रवाहित गरिएमा तथा संतुलित दाना दिएको अवस्थामा यस रोगको संक्रमण केही हदसम्म कम गर्न सकिन्छ । 
  10. हेपाटोमा रोगको रोकथामका लागि ढुसी भएको कच्चा खाद्यपदार्थ तथा संक्रमित तयारी पेलेट दानाको प्रयोग गर्नु हुदैन । ढुसीरहित कच्चा खाद्य पदार्थहरूको प्रयोगबाट ट्राउट माछाको लागि पेलेट दाना बनाउनु पर्दछ । खाद्य पदार्थ तथा तयारी दानालाई ढुसी रहित राख्न हावादार भण्डारण कोठामा बोरा वा प्लास्टिकको भाँडामा राख्नु पर्दछ ।
हेपाटोमा (कलेजो फुल्ने) रोग (Hepatoma disease) 

यो रोगलाई लिभर कारसिनोमा पनि भनिन्छ । यो रोग विशेषतया परिपक्व ट्राउट माछाहरूमा देख्न सकिन्छ । ढुसी परेका कच्चा खाद्य पर्दाथहरूबाट तयार गरिएको पेलेट दाना ट्राउटलाई दिएमा ट्राउटको कलेजोमा अफ्‌लाटाक्सिन (Aflatoxin) जम्मा भएर हेपाटोमा रोग हुन्छ । Aflatoxin B1 युक्त (<1 ppb) दाना ट्राउटलाई खुवाउन प्रयोग भएमा १ बर्षको अवधिमा liver cancer को सम्भावना रहन्छ । हेपाटोमा रोगबाट संक्रमित ट्राउट माछाको कलेजोको आकार बढ्छ । कलेजो रातोबाट फुस्रो रंगको हुन्छ । तथा बढी संक्रमित कलेजोमा गाँठाहरू देखिन सक्दछ ।

hepatoma disease

 

रोकथामका उपायहरु

  1. ढुसीबाट हुने रोगको रोकथामका उपायहरू 
  2. ट्राउट माछाको रखरखावमा ध्यान दिनु पर्दछ । माछालाई चोटपटक लाग्नबाट बचाउनु पर्दछ । 
  3. रेसवे पोखरीमा क्षमताभन्दा बढी ट्राउट माछा राख्नु हुदैन । 
  4. ह्याचरीमा फिल्ट्रेशन च्याम्बर मार्फत स्वच्छ र सफा पानीको प्रयोग गर्नु पर्दछ । 
  5. पानीको गुणस्तर नियन्त्रित राख्नु पर्दछ । 
  6. फुलबाट ट्राउट माछाको भुरा कढाउने अवधिमा इन्कुबेशन टबको भित्री प्रवेशमा (inlet) फोम राखी पानी फिल्टर गरिएमा माटोको कणयुक्त पानी (siltation) को समस्या कम गर्न सकिन्छ । 
  7. गर्भित नभएका वा विभिन्न कारणले विग्रेका फुलहरू नियमित हटाउनु पर्दछ । 
  8. नियमित रूपमा ०.०१ प्रतिशत नुनपानी फुल ईन्कुबेशन गरिएको टवमा प्रवाहित गर्नु पर्दछ । 
  9. माछाको ओसार पसार, स्टक तथा माछा छुट्याउने प्रकृया पश्चात २-३ प्रतिशत नुनपानीबाट माछालाई उपचार गर्नु पर्दछ । 
  10. ट्राउट पालिएको रेसवे पोखरीमा स्वच्छ सफा पानी प्रवाहित गरिएमा तथा संतुलित दाना दिएको अवस्थामा यस रोगको संक्रमण केही हदसम्म कम गर्न सकिन्छ । 
  11. हेपाटोमा रोगको रोकथामका लागि ढुसी भएको कच्चा खाद्यपदार्थ तथा संक्रमित तयारी पेलेट दानाको प्रयोग गर्नु हुदैन । ढुसीरहित कच्चा खाद्य पदार्थहरूको प्रयोगबाट ट्राउट माछाको लागि पेलेट दाना बनाउनु पर्दछ । खाद्य पदार्थ तथा तयारी दानालाई ढुसी रहित राख्न हावादार भण्डारण कोठामा बोरा वा प्लास्टिकको भाँडामा राख्नु पर्दछ ।

उत्पादन

उत्पादन

उत्पादन भन्नाले पोखरी अथवा केजमा शुरूमा जति कि.ग्रा. माछा राखेर हुर्काइयो र फसल लिँदा पहिले राखेको भन्दा जति कि.ग्रा. माछा बढी आएको हुन्छ त्यसलाई त्यस पोखरी/केजको उत्पादन भनिन्छ । उदाहरणको लागि शुरूमा एउटा रेसवे पोखरीमा सरदर १० ग्रामको पाँचसय गोटा भुरा हुर्काइयो । दस महिना पछि त्यस पोखरीबाट सरदर २०० ग्रामको ४०० गोटा निस्क्यो भने त्यस पोखरीको उत्पादन (yield) ७५ कि.ग्रा. हुन आउँछ । अर्थात् शुरूमा राखेको माछाको तौलमा जति थपियो त्यो नै उत्पादन मानिन्छ । 
१० ग्राम ५०० गोटा ५ कि.ग्रा. 
२०० ग्राम × ४०० गोटा ८० कि.ग्रा. 
अर्थात् ८०-५ = ७५ कि.ग्रा. 
ट्राउट माछाको बृद्धिदर पानीको तापक्रम र दानाको गुणस्तरसंग प्रत्यक्ष सम्बन्धित हुन्छ । हुन त ऋतुको परिवर्तन अर्थात् लामोदिन र छोटोदिनले पनि माछाको वृद्धिदरमा केही असर परेको देखिन्छ । पोषणयुक्त दाना आवश्यकता अनुसार उपलब्ध भएमा माछाको बृद्धिदर पानीको तापक्रमसंग सीधै सम्बन्धित हुन्छ । रेन्बोट्राउट १६ देखि १८ डि. से. मा राम्ररी फस्टाउँछ। उक्त तापक्रम निरन्तर जारी रहे ह्याचलिङ्गहरू १४ महिना अर्थात् ५५ हप्तामा विक्रीयोग्य अर्थात् २०० ग्रामको हुन्छ । पानीको तापक्रम अस्थिर अर्थात् कहिले बढी र कहिले कम भएको खण्डमा माछाको वृद्धि प्रभावित हुन्छ । उदाहरणको लागि पानीको तापक्रम १८ डि. से. रहे ९ महिनामा माछा विक्री योग्य अर्थात् २०० ग्रामको हुन्छ । त्यसको ठीक उल्टो सरदर ९ डि. से. रह्यो भने १८ महिना लाग्छ । त्यसकारण कति अवधिमा विक्री योग्य हुन्छ भन्ने कुरा फरक फरक उत्पादन स्थलको फरक फरक तापक्रम माथि निर्भर हुन्छ । सिद्धान्तत माछा विक्री योग्य साईज हुने बित्तिकै बेच्दै जानु पर्दछ । किनकी सबै माछा एकै चोटी विक्री गर्न गाह्रो हुन्छ । रेन्बोट्राउटको खास विक्रीयोग्य साईज २००-२५० ग्राम हो। तर कोही १००-१५० ग्राम साईजको मन पराउँछन् भने कोही ठूलो अर्थात् ४००-५०० ग्रामको मन पराउँछन् । यसरी खाने माछाको साईज उपभोक्ताको आफ्‌नो चाहाना अनुसार फरक फरक हुन्छ । ठूला रेष्टुरेण्ट तथा होटलहरूले नियमित रूपमा २००-२५० ग्रामको माछा आपूर्ति होस् भन्ने चाहन्छन् । नियमित एउटै साईजको माछा दुई तरिकाबाट आपूर्ति गर्न सकन्छि ।

जसरी माछाको वृद्धि तापक्रमसंग सम्बन्धित हुन्छ त्यस्तै गुणस्तरयुक्त दानासंग पनि यसको प्रत्यक्ष सम्बन्ध हुन्छ । बनस्पतिजन्य भन्दा बढी प्राणीजन्य प्रोटिनयुक्त दाना बढी गुणस्तरयुक्त हुन्छ । कम गुणस्तरयुक्त दाना खुवाउनाले माछाको वृद्धि ढिलो हुनुको अतिरिक्त कुपोषणको कारण धेरै माछा रोगी भएर नोक्सान हुनसक्छ । अर्थात् कम गुणस्तरयुक्त दाना ३ कि.ग्रा. उपयोग गरि एक कि.ग्रा. प्याकमा उत्पादन हुन्छ भने उच्च गुणस्तरयुक्त २ कि.ग्रा. दाना भन्दा कम दानाबाट एक कि.ग्रा. माछा उत्पादन हुन्छ । गुणस्तरयुक्त दाना खाएको माछालाई बिक्री योग्य बनाउन ६-७ महिना मात्र लाग्छ र निम्नस्तरको दाना खाएको माछालाई बिक्री योग्य बनाउन कमसेकम ९-१० महिना लाग्छ । त्यसकारण ट्राउट पालन गर्दा गुणस्तरयुक्त दाना खुवाउनु बढी लाभदायक हुन्छ ।

उत्पादन चक्र 

ट्राउटको प्रजनन् नेपालको पहाडी भेगमा कार्तिकको दोश्रो अथवा तेश्रो हप्तामा सुरू भएर माघको अन्तिम हप्ता सम्म संचालन हुन्छ । यसरी रेन्बोट्राउटको प्रजनन् अवधि ४-५ महिना लामो हुन्छ । स्थानीय आवहवा र पानीको तापक्रममा केही हेरफेर हुने भएकोले फरकफरक ठाउँमा प्रजनन् समय केही दिन फरक हुन सक्छ । रेन्बोट्राउट प्रजनन् गर्ने स्थल अर्थात् ह्याचरीको स्थापना गरी भुरा उत्पादन पश्चात खाने योग्य साईज २००-२५० ग्राम बनाउन दोश्रो बर्ष अर्थात् ५५ देखि ६० हप्ता लाग्छ । अण्डाबाट भर्खर निस्केको करिव १५ मी. मी. लामो र ९-१० मी. ग्रा. वजन भएको पोषण थैली (yolk sac) सहितको रेन्बोट्राउटको बाल्य अवस्थालाई अग्रेजीमा Alevins भन्दछन् । पानीको तापक्रम ११-१२ डि. से. भएमा दुई हप्ता भित्र पोषण थैली बिलाएर सुकेर जान्छ र सानो भुरामा परिणत हुन्छ । यो सानो भुरा पौडन शुरू गर्छ । यसरी राम्ररी पौडन सक्ने ससाना भुरालाई अग्रेजीमा Free swimming larvae भन्दछन् । यो अवस्थादेखि भुराले ससाना प्राणीजन्य जीवात्मा र कृत्रिम दाना पनि अलि अलि खाने गर्दछ । Free swimming larvae १८ देखि २० मि. मी. लामो र यसको शारीरिक वजन झण्डै ८० मि. ग्रा.को हुन्छ । उच्च प्रोटिनयुक्त (४८-५० प्रतिशत) दाना खुवाएर नर्सिङ्ग गरेको ४-५ महिनामा विक्री वितरण योग्य हुन्छ । सरदर ०.०५ ग्राम भुरा बनाउन करिव दुई महिना लाग्छ । ससाना भुराहरू निकै खंचुवा हुन्छन् । एकाविहानै देखि साँझसम्म कमसेकम ८ देखि १० पटक खाउन्जेल मसिनो दाना खुवाउनु पर्दछ । यिनीहरूले दिनहुँ शारीरिक तौलको सरदर ८ देखि १० प्रतिशत दाना खान्छन् । सन्तुलित दाना नियमित रूपमा यथेष्ट खाएको भुराहरू छिटो छिटो बढ्छ । त्यसैले भुरालाई दाना खुवाउँदा हतार नगरी धैर्यताका साथ विस्तारै दिनु पर्दछ । 
धेरै जसो कृषकहरूले भुरा अरू केन्द्रबाट किनेर ल्याई आफ्‌नो पोखरीमा हुर्काएर खाने माछा उत्पादन तथा विक्री वितरण गर्दछन् । ह्याचरी संचालन गर्न सक्नेले आफै भुरा उत्पादन् गर्दछन् । यसरी ट्राउट पालन कार्य दुई किसिमले गर्न सकन्छि । १) आंशिक प्रणाली र २) पूर्ण प्रणाली । पहिलो प्रणालीमा तयारी भुरा किनेर ल्याई खाने माछा उत्पादन गर्ने भएकोले उत्पादन चक्र छोटो हुन्छ अर्थात् ७-८ महिनाको हुन्छ । दोस्रो प्रणालीमा आफै भुरा उत्पादन गरेर खानयोग्य साईज बनाएर विक्री वितरण गरिने भएकोले उत्पादन चक्र लामो अर्थात् १४-१५ महिनाको हुन्छ ।

अन्य जानकारी

रेसवेमा गरिने अन्य दैनिक कृयाकलापहरु 
  • नियमित रुपमा पानीको तापक्रम र मात्रा जाँच गर्ने, 
  • ठीक समयमा र मात्रामा दाना दिने, 
  • माछाको मलमुत्र र अन्य फोहोर नियमित रुपमा रेसवे बाट सफा गर्ने, 
  • रोगी माछाको पहिचान गरी उपचार गर्ने, 
  • दानालाई सुख्खा र हावा लाग्ने ठाउंमा भण्डारण गर्ने, 
  • ट्राउट माछा उत्पादन एवं बजार व्यवस्थापन 
  • राम्रो व्यवस्थापन उचित पानीको तापक्रम तथा दानाको नियमित प्रयोग भएमा १० ग्राम साइजको ट्राउटको भुरा १० महिनामा २००-३०० ग्राम भै खान योग्य हुन्छ । सोको लागि बजारको प्रबन्ध गर्नु पर्दछ । 
  • हार्भेष्ट गरिएको माछाको गिल्स र आन्द्राभुँडी तुरुन्तै हटाउनु पर्दछ । 
  • माछाको ओसारपसार गर्दा १ भाग माछामा १ भाग बरफ मिलाएर प्याकिङ गर्नु पर्दछ । 
  • बिक्री नभएको माछा डीप फ्रिजमा राख्ने व्यवस्था मिलाउनु पर्दछ । 

 

स्थल छनोट

पानीको मात्रा (Water quantity) 

एक मे. ट. माछा उत्पादनको लागि अन्दाजी १०० ब. मि. रेसवे पोखरीमा न्यूनतम ५०० घ. मि प्रति दिनको दरले पानीको वहाव निरन्तर रूपमा आवश्यक पर्दछ । यसरी साधारणतया १०.० लि. प्रति सेकेण्ड अटुट रूपमा पानीको बहाव भएको अथवा एक दिनमा ४ देखि ५ पटक पुरा पानी फेरवदल हुने रेसवे पोखरीमा एक वालीमा झण्डै एक मे. ट. ट्राउट माछा उत्पादन गर्न सकिन्छ । साधारणतया कुनै रेसवे पोखरीको उत्पादन क्षमता त्यस रेसवे पोखरीमा स्टक गरिएको माछा भुराको तौल र पानीको मात्रामा भर पर्दछ । 

ट्राउट माछा पोखरी निर्माण तथा डिजाईन गरिने ठाउँमा पानीको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ

  •  ट्राउट फार्म निर्माणको लागि छानिएको स्थलमा बर्षेभरि पर्याप्त मात्रामा उपलव्ध हुन सक्ने पानीको बहाव (Water flow)  हुनु जरूरी छ । 
  • उपलब्ध पानीको गुणस्तर अनुसार प्रजनन् (Breeding) गरेर ह्याचरी (Hatchery) को लागि सुविधा निर्माण गर्ने हो कि खाने माछा मात्र उत्पादनको लागि सुविधा निर्माण गर्ने हो एकिन गर्नु पर्दछ ।
पानीको आवश्यक गुणस्तर (Water quality requirement) 

 पानीको तापक्रम (Water temperature) 

साधारणतया ट्राउट माछा ० देखि २५ डि. से. तापक्रम भएको पानीमा बाँच्न सक्छ। २५ डि. से. तापक्रम भएको पानी ट्राउट माछाको जीवन यापनको लागि अधिकतम तापक्रम मापन हो जसमा यो माछा छोटो अवधि सम्म मात्र बाँच्न सक्दछ । ट्राउट माछाको प्रजनन् तथा ह्याचरी व्यवस्थापनको लागि पानीको तापक्रम ९ देखि १४ डि. से. भित्र हुनु पर्दछ । ट्राउट माछाको वृद्धिको लागि १४ देखि १८ डि. से. तापक्रम भएको पानी उपयुक्त हुन्छ । पानीको तापक्रम २१ डि. से. भन्दा बढी भएमा माछाको आहारा खाने रूचीमा कमी आई माछाको बृद्धिमा कमी आउँछ र माछा मर्न पनि सक्दछ । १६ देखि २० डि. से. तापक्रम भएको पानी ट्राउट माछाको उत्तम वृद्धिको लागि सवैभन्दा वान्छनीय तापक्रम हो। त्यस कारण ट्राउट माछा पालनको स्थल छनोट गर्दा वर्षे भरी २० डि. से. भन्दा कम तापक्रम भएको पानी प्रशस्त मात्रामा उपलब्ध हुने ठाउँमा गर्नुपर्दछ । पानीको तापक्रम ६ महिना भन्दा कम अवधी सम्म १६-१८ डि. से भएमा व्यवसायिक रूपमा ट्राउटमाछा संचालन गर्न फाईदाजनक हुदैन । 
ट्राउट माछा पालनको लागि उपयुक्त पानीको तापक्रमः 
बाँच्नको लागि                            ०-२५ डि. से. 
प्रजनन्‌को लागि                         ९-१४ डि. से. 
वृद्धिको लागि                            १४-२० डि. से. 
उत्तम वृद्धिको लागि                    १६-१८ डि. से. 
स्थल छनोटको लागि                   २१ डि. से. भन्दा कम

यो माछा हुर्कन, पानीको तापक्रम सकभर एकनास (Stable temperature) भएमा राम्रो हुन्छ । ट्राउट माछाको लागि पानीको गुणस्तर व्यवस्थापनमा तापक्रम र घुलित अक्सिजनको (dissolved oxygen) मात्राले महत्वपूर्ण स्थान राख्दछन् । तापक्रममा हुने परिवर्तनले अक्सिजनको उपलव्धता र अमोनिया (NH) निसृत (excrete) हुने दरमा परिवर्तन हुन्छ । उदाहरणको लागि ९ डि. से. बाट १५ डि. से. तापक्रम बढ्दा १०० ग्राम रेन्वो ट्राउट पालिएको वातावरणमा हुने परिवर्तनहरूः 


क) माछामा हुने परिवर्तनः 

  • ६७.५% चपाचपय दर (Metabolic rate) र अक्सिजन माग (oxygen demand) मा बुद्धि । 
  • ९७.८% दैनिक लम्बाई वृद्धि 
  • ६६.७% दैनिक तौलमा वृद्धि 
  • ९८.५% अमोनिया उत्पादन संभावना 
  • ३३.१% अक्सिजन बहन क्षमता (Oxygen carrying capacity) मा ह्रास 

ख) पानीमा हुने परिवर्तनहरूः 

 

  • १२.८% अक्सिजनको मात्रामा कमि 
  • ५८.८% वातावरणीय unionized अमोनियामा वृद्धि । 
  • ६७.५% अक्सिजनमा कमी (रेसवे बाट निकास हुने पानीमा) 

तालिका . ट्राउट माछा पालनको लागि पानीको उपयुक्त भौतिक र रासायनिक गुणहरूको मात्रा 

t

 

जमिनको किसिम र भिरालोपन 

उत्तम व्यवस्थापनको लागि रेसवे निर्माण गरिने स्थलको भिरालोपन १ देखि ३ प्रतिशतको हुनु पर्दछ । यस्तो किसिमको क्षेत्र नेपालको पहाडी तथा मध्य पहाडी क्षेत्रमा उपलब्ध हुने भएकोले यी ठाउँहरू ट्राउट माछापालनको लागि उपयुक्त हुन्छ । नेपालमा निर्मित सबै ट्राउट माछा फार्महरू यसै क्षेत्रमा भएका भिरालो जमिनमा अवस्थित छन् । डाँडा काँडामा अन्य खेती नहुने त्यसै खेर गईरहेको भिरालो जमिन नजिक पानीको स्रोत छ भने त्यस्तो स्थल छनोट गरी रेसवे  बनाई ट्राउट माछा पालनबाट अधिकतम फाईदा लिन सकिन्छ । साधारणतया ट्राउट माछा रेसवे पोखरी निर्माण गरिने ठाउँको माटोले पानी जम्मा गर्न सक्ने गुण (high water retention capacity भएको हुनु पर्दछ ।

land

 

अन्य कुराहरू 

रेसवे पोखरी निर्माण गरिने क्षेत्रमा यातायातको सुविधा भएको, बिद्युत आपूर्तिको व्यवस्था, बाढी तथा पहिरो जाने संभावना नभएको ठाउँको छनोट गर्नु पर्दछ । रेसवे पोखरी निर्माण गरिने क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था भएको तथा माछाको चोरी निकासी नहुने ठाउँ हुनु पर्दछ । 

  •  यातायातको सुविधा 

ट्राउट फार्म निर्माणको लागि आबश्यक निर्माण सामाग्री, माछा भुरा, माछाको लागि दाना तथा उत्पादन भएको माछाहरू आदि ढुवानीको लागि यातायातको सुविधा भएको स्थल छनौट गर्न सकेमा निर्माण तथा माछा उत्पादन लागत घटाउन सकिन्छ । 
 

  •  बिद्युत आपूर्ति 
  1. ट्राउट फार्ममा निम्न उद्देश्यको लागि बिद्युत आपूर्ति सुविधा भएको स्थल छनौट गर्नु पर्छ । 
  2. माछाको लागि दाना बनाउन 
  3. माछाको लागि दाना तथा कलेजो धेरै दिनसम्म गुणस्तर कायम गरि भण्डारण गर्न । 
  4. औषधीहरू रेफ्रिजिरेटरमा राख्नु पर्ने हुन्छ । 
  5. कसैगरि पानीमा प्राणवायु (अक्सिजन) घट्न गएमा एरियटर प्रयोग गर्नु पर्ने हुन्छ । 
  6. बिक्रीको लागि निकालिएका माछाहरूको गुणस्तर कायम राख्न डिप फ्रिजको प्रयोगको लागि । 
  7. फर्ममा बत्ती बाल्ने सुविधाको लागि । 
  •  बजार व्यवस्था तथा कामदार उपलव्धता 
  1. ट्राउट फार्ममा निम्न उद्देश्यको लागि बजार व्यवस्था सुविधा भएको स्थल छनौट गर्नु पर्छ । 
  2.  निर्माण सामाग्री सहजै उपलव्ध हुन सक्ने । 
  3. माछाको लागि दाना बनाउन चाहिने कच्चा पदार्थ सजिलै पाउन सकिने । 
  4. उत्पादन भएका माछाका भुराहरू तथा खाने माछा सजिलै बिक्री गर्न सकिने । 

 

रेसवे पोखरी निर्माण

निर्माण सामग्री

3

रेखात्मक/लहरे (Linear Type) 

यस प्रकारका रेसवेहरू नापजाँच पानीको बहाव कम भएको ठाउँमा उपयुक्त हुन्छ । शुरूको पोखरीमा प्रयोग भैसकेका पानी तल्लो पोखरीहरूमा पुनः प्रयोग गरिन्छ । माथिल्लो पोखरी सफा गर्दा सबै फोहरहरू तल्लो पोखरीमा जान सक्ने, यसरी तल्लो पोखरीहरूको पानीको गुणस्तर खराब भएर जाने तथा शुरूको पोखरीको माछालाई लागेको रोग अन्य पोखरीका माछाहरूलाई पनि सजिलै सर्न सक्ने सम्भावना भएकोले यस प्रकारका रेसवेहरू ले-आउट भई निर्माण भएका फार्म राम्रो मानिदैन । यस अवस्थामा एक पोखरीमा प्रयोग भैसकेको पानी पुनः अर्को पोखरीमा प्रयोगमा ल्याउनु अघि माछाले निस्कासन गरेको फोहरहरू, खेर गएका दानाहरू फिल्टर गर्ने च्याम्बर तथा एमोनिया तथा अक्सीजनको समस्या समाधानको लागि फिडिङ्ग र ड्रेन क्यानलको (निकाश कुलो) डिजाईन तथा निर्माणमा विशेष ध्यान पुऱ्याउनु अति जरूरी हुन्छ ।

linear

 

समानान्तर (Parallel Type) 

समानान्तर हिसाबले निर्माण गर्ने गरि ले-आउट भएका रेसवेहरूमा हरेक रेसवेमा छुट्टाछुट्टै ताजा पानी आपूर्ति गर्न सकिने हुन्छ । पानीको बहाव अत्यधिक भएको स्थानमा यस प्रकारका रेसवे ले-आउट गरि निर्माण गर्नु राम्रो हुन्छ । यसमा एक पटक प्रयोग भैसकेको पानी पुनः अर्को रेसवेमा प्रयोग गर्नु पर्ने बाध्यता हुँदैन र माछालाई रोगको संक्रमण हुने संभावना पनि कम हुन्छ ।

parallel

 

रेसवेको आकार
w

                                                          आयाताकार लाम्चिलो (Elongated rectangle type)

d

                                                             

                                                           कुलो आकार (Water channel type)

3

                              

                                                             आकार नमिलेको (Irregular shape type)

R

                                                               गोलाकार (Circular)

CIRCULAR

 

रेसवे डिजाईन

उपलव्ध पानीको बहाव अनुसार पोखरीको संख्या हिसाव गर्न कुन उद्देश्यको लागि कति पानीको आवश्यक पर्छ सो को जानकारी हुनु जरूरी हुन्छ, माछा उत्पादन गरिने लक्ष अनुसार विभिन्न रेसवेहरू जस्तै, नर्सरी पोखरी, उत्पादन तथा माउ माछा पोखरी आदिको संख्या तथा साईज किटान गर्नु पर्दछ । नर्सरी पोखरीको लागि साधारणतया १० देखि ५० वर्ग मिटर र माउ तथा उत्पादन पोखरीको लागि ५० देखि १५० व. मि. सम्म क्षेत्रफल भएको रेसवेहरू बनाउनु राम्रो हुन्छ । काम गर्न र सजिलो हेरचाहको लागि रेसवेको चौडाई नर्सरीको लागि ०.७५ १.२५ मिटर र उत्पादन तथा माउ पोखरीको लागि १.२५ ३.०० मिटर सम्म गर्नु राम्रो हुन्छ । पानीको बहाव पर्याप्त भएको खण्डमा उत्पादन र माउ पोखरीको चौडाई अरू बढाउन सकिन्छ । मुख्यतया रेसवेको डिजाईन गर्दा लम्बाई, चौडाई पानीको गहिराई, (L:W:D) ३०:३:१ को अनुपातमा गर्नु राम्रो हुन्छ । रेसवेको पींध, पानीको प्रवेशद्वारबाट निकाशद्वारतर्फ १ देखि ३ प्रतिशतका दरले सलामी (Slop) दिनु पर्दछ, जसले गर्दा माछाले निस्कासन गरेका फोहर, खेर गएका दाना, तथा पानीले बगाई ल्याएको सिल्ट आदि पोखरीबाट बाहिर पठाउन (पोखरी सफा गर्न) सुविधा पुग्दछ । रेसवेजहरू डिजाईन गर्दा उपलव्ध पानीको सक्दो सदुपयोग गर्न सकिने गरि पानीको प्रवेश तथा निकाशद्वारको सतह सोही अनुसार मिलाउनु पर्दछ । पोखरीको भित्रबाट पानीको प्रवेशद्वार र निकासद्वार तर्फ रेसवेको चौडाई बराबरको दुरीमा घटाई साँघुरो वनाउनु बेस हुन्छ, यसले रेसवेको चारैवटा कुनाहरूमा पानी जम्न नदिने हुनाले रेसवेमा अक्सीजनको राम्रो प्रवाह हुने हुन्छ । यसरी माछालाई रोग लाग्ने सम्भावना कम हुन्छ ।

way

                                       पानीको प्रवेशद्वार                                                                  पानीको निकासद्वार

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

रेन्बोट्राउट माछा पालन प्रविधि र अभ्यास 

Manual on Rainbow Trout Fish Farming

नेपाल कृषि अनुसन्धान परिषद् मत्स्य अनुसन्धान महाशाखा

गोदावरी, ललितपुर

 

सन्दर्भ सूचि

रेन्बो ट्राउट माछापालन प्रविधि

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र केन्द्रीय मत्स्य भवन,

बालाजु, काठमाडौं