परिचय

परिचय

नेपालमा माछापालन क्षेत्र खाद्य तथा पोषण सुरक्षा, ग्रामीण रोजगारी र आर्थिक विकासका लागि एक महत्वपूर्ण क्षेत्रको रूपमा उदाउँदै गएको छ। विभिन्न माछाका जातहरू प्रवर्द्धन र विस्तार भइरहेका छन्, तीमध्ये स्ट्राइप्ड क्याटफिस (Pangasianodon hypophthalmus), जसलाई सामान्यतया पांगासियस वा बैखी भनिन्छ, उच्च उत्पादन क्षमता, विभिन्न पानीका अवस्थासँग अनुकूलनशीलता तथा बजार मागका कारण विशेष ध्यान आकर्षित गरिरहेको छ। यो प्रजातिले छिमेकी देशहरू भारत, बङ्गलादेश र भियतनाममा राम्रो उत्पादन क्षमताको प्रदर्शन गरिसकेको छ।

पंगासियस माछा गरम हावापानीमा पालन गरिने, हावाबाट साँस फेर्न सक्ने र छिटो बढ्ने माछा हो। यो माछा कम अक्सीजनमा पनि बाँच्न सक्ने भएकोले कार्प माछाको तुलनामा धेरै बढी घनत्वमा पोखरीमा राखेर संतुलित दाना मात्र पाल्न सकिन्छ। यो माछाको उत्पादन भियतनाममा ३०० मेट्रिक टन प्रति हेक्टरको दरले भएको पाइन्छ। नेपालमा यो माछाका भुरा भारतबाट ल्याएर केही कृषकहरुले पालन गरी रहेका छन् र नेपालमा यसको उत्पादन प्रति हेक्टर २०-६० मेट्रिक टनसम्म उत्पादन भई रहेको छ।

Pangasius

 

नेपालमा पांगासियस माछा किन?

पांगासियस माछा पालन (Striped Catfish farming) नेपाली किसानहरूका लागि विशेषगरी तराई क्षेत्रमा एक राम्रो अवसर बन्न सक्ने सम्भावना छ, जहाँको मौसम र पानीको अवस्था तातो पानीका माछाहरूको लागि निकै उपयुक्त मानिन्छ। यसलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुका केही प्रमुख कारणहरू यस्ता छन्:

  •  छिटो वृद्धि दर: राम्रो व्यवस्थापनमा ६ देखि ८ महिनामा ८०० ग्रामदेखि १.२ केजीसम्म तौल पुग्न सक्छ।
  • दाना रूपान्तरण दर (FCR): FCR सामान्यतः १.३ देखि १.८ को बीचमा रहन्छ।
  • बजार सम्भावना: सस्तो, बिँडी नभएको सेतो मासुप्रति उपभोक्ताको बढ्दो आकर्षण।
  • अनुकूलन क्षमता: मध्यम गुणस्तरको पानीमा पनि सजिलै बाँच्न सक्ने क्षमता।
प्याकेज अफ प्राक्टिसको उद्देश्य

यस समग्र अभ्यास प्याकेजको उद्देश्य पंगसियस माछा पालनमा संलग्न कृषक, प्राविधिक, विस्तारक तथा अन्य सरोकारवालाहरूका लागि पूर्ण मार्गदर्शन उपलब्ध गराउनु हो। मुख्य उद्देश्यहरू यसप्रकार छन्:

  • नेपालमा स्ट्राइप्ड क्याटफिश पालनका लागि मानकीकृत र दिगो खेती प्रविधि प्रवर्द्धन गर्नु।
  • राम्रो व्यवस्थापन र योजना मार्फत फार्मको उत्पादनशीलता र नाफा वृद्धि गर्नु।
  • राम्रो माछापालन अभ्यास (Good Aquaculture Practices - GAqP) अपनाएर खाद्य सुरक्षा, वातावरण संरक्षण र जनावरको स्वास्थ्य सुनिश्चित गर्नु।
  • फार्मलाई प्रमाणिकरण, लगानी, तथा इनपुट र आउटपुट बजारसँग जोड्न सहयोग पुर्‍याउनु।

विशेषता

पंगास माछा पालनका राम्रा पक्षहरु
  • भियतनाममा यो माछा वार्षिक करिब ३०० मेट्रिक टन प्रति हेक्टर उत्पादन गरेको पाईन्छ। नेपालकै कृषकहरुले हाल करिब ६० मेट्रिक टन प्रति हेक्टर सम्म उत्पादन लिई रहेका छन् ।
  • यो माछाले हावाबाट आक्सिजन लिएर सास फेर्न सक्ने भएकोले ०.१ मिलिग्राम प्रति लिटर आक्सिजन भएको पोखरीको पानीमा पनि बाँच्न सक्ने क्षमता हुन्छ। लक्षित उत्पादकत्वको आधारमा प्रति हेक्टर जलाशयमा यो माछा ६५ हजारदेखि ४ लाख गोटासम्म पालन गर्न सकिन्छ ।
  • यो माछा कम आक्सिजन भएको पानीमा पनि बाँच्न सक्ने भएकोले जिउँदो माछाको रुपमा बजारमा विक्री गर्न सजिलो हुन्छ ।
  • करिव १५ ग्राम साईजको एडभान्स फिंगरलिङ्ग पोखरीमा राखेर व्यवस्थित तवरले पालन गरियो भने ६ देखि ८ महिनामा ८००-११०० ग्रामसम्म वृद्धि हुन सक्छ ।
  • यो माछाको मासुमा कार्प माछाहरुका जस्तो मसिना काँडाहरु (Y-bone) नहुने भएकाले यो माछा खाँदा काँडा अड्किने डर हुँदैन।

आहार व्यवस्थापन

प्याङ्गासियस माछा पालनमा फिडको महत्व

प्याङ्गासियस पालनमा कुल उत्पादन लागतको ६०–७०% हिस्सा फिडमा खर्च हुन्छ। प्रभावकारी फिड व्यवस्थापनले:

  • छिटो र समान वृद्धि,
  • राम्रो FCR (Feed Conversion Ratio),
  • मृत्यु दर र तनाव कम,
  • नाफा वृद्धि सुनिश्चित गर्छ।
वृद्धि चरण अनुसार फिडका प्रकार
चरण फिड प्रकार क्रुड प्रोटिन (%) पेलेट आकार
फ्राइ (०–५ ग्राम) स्टार्टर फिड (पाउडर/पेलेट)
३२–३५%
०.५–१ मि.मी.
फिङ्गरलिङ (५–५० ग्राम)
ग्रोअर फिड
२८–३२% १–२ मि.मी.
जुभेनाइल (५०–३०० ग्राम)
फिनिसर फिड
२६–२८%
३–४ मि.मी.
एडल्ट (>३०० ग्राम) कम प्रोटिन फिड २४–२६%
४–६ मि.मी.

 

फिड दिने दर र आवृत्ति
माछाको तौल फिड दर फिड दिने आवृत्ति
फ्राइ (०–५ ग्राम)
८–१०%
दिनमा ३–४ पटक
फिङ्गरलिङ (५–५० ग्राम) ५–६% दिनमा २–३ पटक
जुभेनाइल (५०–३०० ग्राम) ३–४% दिनमा २ पटक
एडल्ट (>३०० ग्राम) २–२.५% दिनमा १–२ पटक

 

फिड व्यवस्थापन सुझावहरू
  • बिहान र बेलुकीजस्तो चिसो समयमा फिड दिनुहोस्
  • खुवाउने व्यवहार अवलोकन गरी १५–२० मिनेटपछि बाँकी फिड भए परिमाण घटाउनुहोस्।
  • फ्राइ र फिङ्गरलिङलाई फिडिङ ट्रे वा रिङ प्रयोग गरी फिड लिनुहोस्।
  • दैनिक फिड रेकर्ड राख्नुहोस् (ढाँचा परिशिष्टमा दिइएको छ)।
फिड रूपान्तरण अनुपात (FCR)
  • FCR = प्रयोग गरिएको कुल फिड (किलो) ÷ माछाले बढाएको तौल (किलो)
  • राम्रो FCR = १.५ – १.८ (सही व्यवस्थापनमा)
  • उच्च FCR भए फिड गुणस्तर कमजोर, बढी फिड, वा पानी गुणस्तर बिग्रिएको संकेत हो।
स्थानीय रूपमा उपलब्ध फिड सामग्री
सामग्री  पोषणीय भूमिका
धानको भूस ऊर्जा, फिलर
तोरीको खली प्रोटिन, बोसो
सोयाबिन मिल उच्च प्रोटिन स्रोत
फिस मिल जनावर प्रोटिन (महँगो तर प्रभावकारी)
गहुँको पिठो बाइन्डर, ऊर्जा
भिटामिन/मिनरल प्रिमिक्स आवश्यक सूक्ष्म पोषक तत्व

 

फिड भण्डारणका नियमहरू
  • सुख्खा र हावापसार हुने कोठामा राख्ने।
  • जमिनबाट केही उचालेर (प्यालेट/र्याकमा) राख्ने।
  • उत्पादन मितिदेखि १–२ महिनाभित्र प्रयोग गर्ने।
  • मुसा, पानी र घामबाट बचाउने।
सामान्य गल्तीहरू
  • बढी फिड → पानी प्रदूषण र उच्च FCR
  • अनियमित फिड → तनाव र वृद्धि कम
  • म्याद सकिएको फिड → रोग र कमजोर वृद्धि
  • कम अक्सिजन भएको समयमा फिड → मृत्यु दर बढ्ने
प्रोबायोटिक र एडिटिभ (वैकल्पिक)
  • प्रोबायोटिक: पाचन सुधार र फोहोर कम गर्न।
  • इन्जाइम: नपच्ने सामग्री पचाउन मद्दत गर्न।
  • जडिबुटी एडिटिभ: लसुन, बेसार जस्ता पदार्थले रोग प्रतिरोध क्षमता बढाउन सक्छ।
संक्षिप्त अभ्यासहरू
  • वृद्धि चरण अनुसार उपयुक्त गुणस्तरीय फिड प्रयोग गर्ने
  • सही समयमा, सही परिमाणमा फिड दिने।
  • दैनिक फिड रेकर्ड राख्ने।
  • राम्रो FCR कायम राख्ने।
  • बढी फिड नगरी पानी गुणस्तर जोगाउने।

स्वास्थ्य व्यवस्थापन

स्वास्थ्य व्यवस्थापनको महत्व

स्वस्थ माछा नै नाफामूलक प्याङ्गासियस पालनको आधार हो। रोग फैलिँदा:

  • ठूलो संख्यामा माछा मर्छन्,
  • वृद्धि सुस्त हुन्छ,
  • उपचार खर्च बढ्छ,
  • बजार प्रतिष्ठामा असर पर्छ।
प्याङ्गासियसका सामान्य रोगहरू
रोग कारण  लक्षण रोकथाम 
मोटाइल एरोमोन्सास सेप्टिसेमिया (MAS) Aeromonas hydrophila रातो दाग, घाउ, पेट फुल्ने पानी सुधार, एन्टिबायोटिक (भेटेनरी परामर्श अनुसार)
एडवर्डसिएलोसिस
Edwardsiella tarda
आँखा बाहिर आउनु, रगत जम्ने औषधि मिसाइएको फिड, पोखरी डिसइन्फेक्ट
ह्वाइट स्पट (Ich)
Ichthyophthirius multifiliis
छालामा सेतो दाग, भित्तामा घस्रनु नुन स्नान वा फर्मालिन (विशेषज्ञको सल्लाहमा)
ट्राइकोडिनियासिस Trichodina spp.
शरीर चिपचिपो, गिल क्षति
नुन वा चुना प्रयोग
फङ्गल इन्फेक्सन Saprolegnia spp. पखेटा वा घाउमा कपासजस्तो सतह मिथिलिन ब्लु वा नुन स्नान
तनाव सिन्ड्रोम खराब पानी/ह्यान्डलिङ अचानक मृत्यु, सतहमा आउनु तत्काल एरेसन, फिड कम गर्नु
रोग रोकथामका उपायहरू

1. राम्रो पोखरी तयारी

-पोखरी राम्ररी सुकाएर चुना हाल्ने।

-प्रारम्भिक मल प्रयोग गरी प्ल्याङ्कटन बनाउने।
 

2. स्वस्थ बीउ मात्र स्टक गर्ने

-सही अनुकूलन (Acclimatization) गर्ने।

- विभिन्न स्रोत वा आकारका बीउ मिसाउने नगर्ने।
 

3. पानी गुणस्तर कायम राख्ने

-दैनिक DO र तापक्रम जाँच गर्ने।

-हप्तामा pH र अमोनिया जाँच गर्ने।
 

4. फिडको गुणस्तर

-ताजा र प्रदूषणमुक्त फिड प्रयोग गर्ने।

- बढी फिड नगर्ने र FCR निगरानी गर्ने।


5. नियमित अवलोकन

- दैनिक माछाको व्यवहार जाँच्ने।

जैविक सुरक्षा व्यवस्थापन
 कारक  जैविक सुरक्षा उपाय 
फार्म प्रवेश आगन्तुक सीमित गर्ने, फुटबाथ प्रयोग गर्ने, फार्म भित्र विशेष कपडा/बुट प्रयोग गर्ने
बीउ र इनपुट मात्र प्रमाणित वा चिनिएका आपूर्तिकर्ताबाट ल्याउने
उपकरण प्रत्येक प्रयोगपछि जाल, डोल, बकेट डिसइन्फेक्ट गर्ने
पानी स्रोत फिल्टर गरिएको, बसालिएको पानी प्रयोग गर्ने
मरेका माछा तुरुन्त हटाएर जमिनमा गाड्ने वा कम्पोस्ट बनाउने
अभिलेख सबै इनपुट, उपचार र मृत्यु रेकर्ड राख्ने

 

स्वास्थ्य निगरानी तालिका
आवृत्ति क्रियाकलाप
दैनिक माछाको व्यवहार, खुवाउने अवस्था र मृत्यु जाँच
हप्तामा १ पटक
पानी गुणस्तर जाँच र परजीवी परीक्षणका लागि जाल नमुना
महिनामा १ पटक स्वास्थ्य स्थिति र पोखरी सरसफाइ निरीक्षण
कुनै तनावपछि प्रोबायोटिक वा तनाव कम गर्ने उपाय लागू गर्ने
रोग रोकथामका उपाय (विशेषज्ञको सल्लाहमा मात्र)
  • नुन (NaCl): २–३ ppt (१५–३० मिनेट स्नान)
  • पोटासियम पर्माङ्गनेट (KMnO₄): २–३ ppm (पोखरी सफा गर्न)
  • फर्मालिन: २०–२५ ppm स्नान (ह्वाइट स्पट उपचारका लागि)
आपतकालीन योजना
समस्या तात्कालिक कदम
ठूलो संख्यामा मृत्यु एरेसन बढाउने, आंशिक पानी फेर्ने, पानी परीक्षण गर्ने
ग्यास बबल रोग सतहमा बनेको फोहर हटाउने, फिड रोक्ने
रोग फैलावट प्रभावित पोखरी अलग गर्ने, भेटेनरीलाई देखाउने, उपचार गर्ने

उत्पादन

उत्पादन

माछा बिक्री साईजको भएपछि माछा झिकेर बिक्री गर्न सकिन्छ। एउटै पोखरीमा धेरै पटक जाल तान्दा माछाको तौल घट्ने हुनाले एउटा पोखरीमा करिब सात दिन जाल तानेर माछा सकाउन उपयुक्त हुन्छ ।

सङ्कलनपूर्व तयारी
कार्य समय
फिड रोक्ने सङ्कलनभन्दा १ दिन अघि
माछाको स्वास्थ्य जाँच सङ्कलनभन्दा २–३ दिन अघि
उपकरण सफा गर्ने सङ्कलनभन्दा १ दिन अघि
खरिदकर्ता/ढुवानी मिलाउने सङ्कलनभन्दा १–२ दिन अघि
पानीमा अक्सिजन पुर्‍याउने सङ्कलनको दिन

 

सङ्कलनका विधिहरू
विधि  कहिले प्रयोग गर्ने कैफियत
आंशिक सङ्कलन माछाको आकारमा भिन्नता धेरै हुँदा साइन नेट प्रयोग
पूर्ण सङ्कलन अधिकांश माछा बजार योग्य भएपछि पोखरी सुकाउने वा ठूलो साइन नेट प्रयोग
छनोट सङ्कलन बजार माग वा सम्झौताअनुसार क्रमिक स्टकिङ प्रणालीमा सामान्य

 

सङ्कलनपछिको व्यवस्थापन (फार्ममा)

 1. छनोट र ग्रेडिङ:

-माछालाई आकार र गुणस्तर अनुसार छुट्याउने।

-घाइते, सानो वा मृत माछा अलग गर्ने।

2. सफा गर्ने:

-माछालाई सफा पानीले धोएर माटो र फोहोर हटाउने।

3. तौल गर्ने:

-प्रमाणित तराजु प्रयोग गर्ने र खरिदकर्तासँग पारदर्शिता कायम राख्ने।

4. अस्थायी राख्ने (आवश्यक भएमा):

-हावा वा अक्सिजन भएको ट्याङ्कमा राख्ने।

बजारमा ढुवानी
पाटो  निर्देशिका
ढुवानीको माध्यम प्लास्टिक ड्रम, फायबर ट्याङ्क वा इन्सुलेटेड बक्स
अक्सिजन आपूर्ति डिफ्यूजर वा शुद्ध O₂ प्रयोग गर्ने
पानीको तापक्रम < २८°C; आवश्यक परे चिसो पानी प्रयोग गर्ने
माछा घनत्व छोटो दूरीमा ८०–१०० किग्रा/म³, लामो दूरीमा कम राख्ने

 

समस्या र समाधान
समस्या  समाधान
तनाव र चोट चिसो समयमा सङ्कलन गर्ने, माछालाई बिस्तारै सम्हाल्ने
बजार मूल्य कम सहकारी वा समूहमार्फत बिक्री गर्ने
ढुवानीमा मृत्यु बढी अक्सिजन र कम घनत्वमा ढुवानी गर्ने
ढुवानी ढिलाइले माछा बिग्रनु खरिदकर्तासँग पूर्वसम्झौता गर्ने र बरफ प्रयोग गर्ने

 

पोखरीको तयारी

पोखरीको तयारी

अन्य माछा पालनमा गरिने पोखरीको तयारी जस्तै यसमा पनि पोखरी सुकाएर चुन प्रति कठ्ठा जलाशयमा १०-१५ के.जी. घर पोत्ने चुन छर्नु पर्दछ। यदि पोखरीमा धेरै मात्रामा मलिलो हिलो जम्मा भएको छ भने त्यसलाई बाहिर निकाल्नु पर्दछ अनि मात्र चुन छर्नु पर्दछ। चुन छरेपछि आवश्यक गहिराईमा पानी भर्नु पर्दछ। कार्प पालन जस्तो पंगास पालनमा मल हाल्नु हुदैन।

स्थल छनोटको महत्व र मापदण्ड

पंगसियस पालनको सफलता मुख्यतया उपयुक्त स्थल छनोट र राम्रो डिजाइन गरिएका पोखरी निर्माणमा निर्भर गर्दछ। राम्रो  स्थल छनोट नगर्दा पानी व्यवस्थापनमा समस्या, उत्पादन कम हुनु, र रोगको जोखिम बढ्न सक्छ। राम्रो स्थलले पोखरी व्यवस्थापन सजिलो बनाउँछ, वर्षभरी पानीको निरन्तर आपूर्ति सुनिश्चित गर्छ र इनपुट तथा बजारसम्म पहुँच सहज बनाउँछ।
 

कारक

सिफारिस गरिएको मापदण्ड
भूमि बनोट ताल निर्माण र निकास सजिलो होस् भनेर समतल भूमि।
माटोको प्रकार माटोमा २०% भन्दा बढी क्ले(Clay) भएको माटो वा क्ले मिश्रित माटो, जसले पानी राम्ररी धारण गरोस्
पानीको स्रोत गुणस्तरीय पानी (बोरवेल, खाल्डा, खोला/नाला)
पानीको गुणस्तर pH ६.५ देखि ८.५ सम्म,प्रदूषण वा औद्योगिक/कृषि फोहोर नहोस्।
पानीको मात्रा उत्पादन अवधिभर २४ घण्टा निरन्तर पानीको उपलब्धता सुनिश्चित गर्नुहोस्
पहुँच र यातायात सामग्री ल्याउन र बजारसम्म सजिलै पुग्न सकिने राम्रो सडक पहुँच
उचाइ र जलवायु उत्पादनका लागि उपयुक्त तापक्रम (औसत २५–३५ डिग्री सेल्सियस) भएको तातो क्षेत्र, जस्तै तराई क्षेत्र, प्राथमिकता दिनुहोस्।

 

पोखरी निर्माण

पोखरी निर्माण तथा व्यवस्थापन

यसको पालनको लागि ४-६ फिट गहिरो पानी हुने पोखरी चाहिन्छ। यो माछा भएको पोखरीमा पटक पटक जाल तान्यो भने माछाको तौल घट्दै जान्छ। त्यसकारण पोखरीको जलाशय क्षेत्रफल यसप्रकारले राखु पर्दछ कि त्यो पोखरीमा तयार भएको माछा बढीमा ७ पटक बिक्री गर्दा सकियोस्। यसरी नेपालको अवस्थामा करिब ४-१० कठ्ठा जलाशय क्षेत्रफल भएको उत्पादन पोखरी बनाउदा उपयुक्त देखिन्छ । 
बजारमा करिब १-३ ग्राम साईजका पंगास भुरा उपलब्ध हुन्छ र यो साईजका भुरालाई कम्ति ५० ग्राम साईजको हुर्काएर मात्र उत्पादन पोखरीमा राखु पर्दछ। त्यसकारण आवश्यक क्षेत्रफल भएका भुरा हुर्काउने पोखरीहरु पनि चाहिन्छ ।

ताल निर्माण प्रक्रिया

ताल निर्माण सफल बनाउन सही तरिका र सावधानी अपनाउनु अत्यन्त महत्वपूर्ण हुन्छ। यसले उत्पादन क्षमता बढाउने र दीगो ताल व्यवस्थापन सुनिश्चित गर्ने काम गर्दछ। ताल निर्माणका मुख्य चरणहरू यस प्रकार छन्:

1.सर्वेक्षण र डिजाइन

ताल निर्माण स्थलमा जमिनको नापजोख गरी सीमा निर्धारण गरिन्छ। तालको रूपरेखा, बाँध, खाल्डा र प्रवेश मार्गको डिजाइन तयार गरिन्छ। राम्रो डिजाइनले पानीको बहाव र निकास सहज बनाउन मद्दत पुर्‍याउँछ, जसले तालको दिर्घायु र कार्यक्षमता सुनिश्चित गर्दछ।

2.उत्खनन र आकार दिने काम

निर्धारित डिजाइनअनुसार जमिन खोदिन्छ। पानीलाई जमीन सतहभन्दा माथि राख्नुपर्ने भएमा, बाँधको भित्री सतहमा HDPE सिट लगाएर माटोको उत्खनन कम गरिन्छ। तालको तल्लो भाग समतल बनाएर निकास तर्फ थोरो ढलान राखिन्छ जसले पानीको निकास सहज हुन्छ।

3.कम्प्याक्सन

तालको तल्लो भाग र बाँधलाई चुहावट तथा ढलानबाट बचाउन माटो राखिन्छ। चुहावट धेरै भएमा माटोको लाइनिङ वा HDPE सिट प्रयोग गरी थप सुरक्षा प्रदान गरिन्छ।

4.इनलेट/आउटलेट फिटिङ

पानीको नियन्त्रणका लागि PVC वा कंक्रीट पाइप जडान गरिन्छ। शिकारी वा जंगली माछा प्रवेश नपरोस भनेर जाली लगाइन्छ।

5.बाँध संरक्षण

बाँधमा घाँस रोपेर कटानबाट बचाइन्छ। खाना खुवाउने, जाल लगाउने र अनुगमन गर्न सकिने बाटो बनाइन्छ।

6. सुकाउने र चुनापानी हाल्ने काम

निर्माण सम्पन्न भएपछि तालको तल्लो भाग राम्रोसँग सुकाइन्छ। माटोको pH अनुसार चुनापानी हालिन्छ जसले माछापालनका लागि अनुकूल वातावरण तयार गर्दछ।

pond

 

सघन प्रणालीका लागि थप पूर्वाधारहरु
  • एरिएशन सिस्टम: अक्सिजन आपूर्तिका लागि प्याडलह्वील वा ब्लोअर आधारित प्रणालीहरू।
  • सेडिमेन्टेसन ट्याङ्की: तालमा प्रवेश गर्ने पानीको उपचारका लागि।
  • रिजर्भ्वार पोण्ड: पानीको भण्डारण तथा उपचारका लागि।
  • फिड सेड र स्टोरेज: सुक्खा फिडको सुरक्षा तथा भण्डारणका लागि।

पोखरी व्यवस्थापन

पानीको व्यस्थापन

यो माछा बढी घनत्व र बढी दाना ख्वाएर पालिने भएकोले पानीको गुणस्तर छिटो बिग्रिन्छ र पानीको गुणस्तर राम्रो बनाई राख पोखरीमा सफा पानी हालेर फोहर पानी बगाउनु पर्दछ । ५० मेट्रिक टन प्रति वर्ष उत्पादन गर्नको लागि प्रति हप्ता करिब ३०% पानी फेर्नु पर्दछ। पानी कति फोहर भएको छ र कति पानी फेर्नु पर्छ भन्ने कुरा पानी हेरेर पनि निर्धारण गर्नु पर्दछ। यसको साथै पंगास माछा भएको पोखरीमा पानीको तापक्रम २० डिग्री सेल्सियस भन्दा कम हुन दिनु हुदैन। यसको लागि जाडो महिनामा बोरिङको पानी हाली राखु पर्दछ ।

पानीको गुणस्तरको महत्व

पांगासियस पालनमा पानीको गुणस्तर कायम गर्नु अत्यन्त आवश्यक छ, जसले निम्न पक्षहरूमा महत्वपूर्ण योगदान पुर्‍याउँछ:

  • माछाको स्वास्थ्य र रोगप्रतिरोधी क्षमता सुधार गर्ने
  • तीव्र वृद्धि र खाना उपयोगक्षमता बढाउने
  • मृत्यु दर र रोगको जोखिम घटाउने

स्ट्राइप्ड क्याटफिश तुलनात्मक रूपमा दिगो माछा हुन्, तर लामो समयसम्म पानीको गुणस्तर खराब रहँदा तनाव बढ्न सक्छ, वृद्धि ढिलो हुन सक्छ र फिड कनभर्शन रेसियो (FCR) बढी हुन सक्छ।

पानीको गुणस्तर सूचक र तिनका उपयुक्त सीमा
प्यारामिटर 

उपयुक्त दायरा

कैफियत
तापक्रम २७–३२°C २०°C भन्दा तल र ३५°C भन्दा माथि वृद्धि कम हुन्छ।
डिसोल्भ्ड अक्सिजन (DO) >३ mg/L २ mg/L भन्दा कम हुँदा एरेसन प्रयोग गर्नुपर्छ
pH ७.०–८.० आवश्यकता अनुसार चुना हाल्ने
अमोनिया (NH₃)
<०.०५ mg/L
०.१ mg/L भन्दा बढी विषालु हुन्छ
नाइट्राइट (NO₂⁻) <०.२ mg/L बढी भए गिलमा क्षति
क्षारीयता (Alkalinity) ८०–१५० mg/L (CaCO₃ रूपमा)

स्थिर pH का लागि आवश्यक

पारदर्शिता (Transparency) २०–३० सेमी (सेच्ची डिस्क मापन) कम भए प्ल्याङ्कटन बढी, धेरै भए मल हाल्न आवश्यक
कडा पन (Total Hardness) १००–२०० mg/L खनिज उपलब्धता र अस्मोरेगुलेशनका लागि आवश्यक

 

पानी गुणस्तर परीक्षण
प्यारामीटर  आवृत्ति विधि
तापक्रम दैनिक (बिहान) डिजिटल थर्मोमिटर
अक्सिजन (DO) दैनिक DO मीटर वा रासायनिक टेस्ट किट
pH हप्तामा १ पटक pH मीटर वा pH स्ट्रिप
अमोनिया/नाइट्राइट हप्तामा १ पटक टेस्ट किट वा प्रयोगशाला परीक्षण
पारदर्शिता हप्तामा १ पटक सेच्चि सेक्की डिस्क

 

पानी गुणस्तर व्यवस्थापनका अभ्यासहरू

 1. चुन हाल्ने (Liming)

-अम्लीयता न्यूनीकरण र पोखरीको उत्पादकत्व सुधारका लागि।

-कृषि चुना (CaCO₃) वा क्विक लाइम (CaO) प्रयोग गर्न सकिन्छ।

-मात्रा माटोको pH अनुसार निर्धारण गर्नुपर्छ।

2.  एरेसन

अक्सिजन स्तर बढाउने र माछालाई तनावबाट बचाउने।

विधि: -प्याडलव्हील एरेटर (विद्युत वा सौर्य)

        -आपतकालीन अवस्थामा हातले पानी छ्याप्ने।

3.  फोहोर र मल व्यवस्थापन

जम्मा भएको फोहोरले अमोनिया बढाउँछ र DO घटाउँछ।

व्यवस्थापन: - हप्तामा १०–२०% पानी फेर्ने

                 - प्रोबायोटिक वा फोहोर हटाउने सामग्री प्रयोग गर्ने।

4. मल प्रयोग (आवश्यक भए मात्र)

कम उत्पादक पानीमा प्ल्याङ्कटन उत्पादनका लागि प्रयोग:

-गोबर: ५००–१००० के.जि./हे./महिना

-युरिया: २० के.जि./हे./महिना

-DAP: १५ के.जि./हे./महिना

5.  प्रोबायोटिक प्रयोग

पानी र माछाको आन्द्रा स्वास्थ्य सुधारका लागि।

मात्रा: सामान्यतया १–२ के.जि./हे./हप्ता (निर्माताको निर्देशन अनुसार)।

पानी फेर्ने निर्देशिका
पालन प्रणाली  सिफारिस गरिएको पानी फेर्ने दर
अर्ध-तीव्र पोखरी
महिनामा १०–२०% पानी फेर्ने
तीव्र एरेसन भएको पोखरी हप्तामा २०–३०% पानी फेर्ने

पानी हाल्दा फिल्टर प्रयोग गरी बाहिरी माछा वा रोग प्रवेश रोक्नुपर्छ।

आपतकालीन व्यवस्थापन
समस्या  लक्षणहरू
तात्कालिक कदमहरू
DO कम माछा सतहमा आउँछ, सुस्त देखिन्छ एरेटर चालु गर्ने, आंशिक पानी फेर्ने
अमोनिया बढी
माछा सतहमा आउँछ, रातो गिल, अस्वाभाविक पौडिने
फिड कम गर्ने, जिओलाइट हाल्ने, पानी फेर्ने
pH उतारचढाव बिहान माछा तनावग्रस्त
चुना हाल्ने वा जैविक पदार्थ प्रयोग गर्ने

 

संक्षिप्त सुझावहरू
  • दैनिक निगरानी गर्नुपर्छ, विशेष गरी गर्मी वा बादल भएको मौसममा।
  • पोखरी सफा राख्ने र बढी फिड नगर्ने।
  • प्रत्येक अवलोकन र सुधारात्मक कदम अभिलेखमा राख्ने।

अन्य व्यवस्थापन

दैनिक कार्य व्यवस्थापन सूची

1. बिहान (७–१० बजे)

  • माछाको व्यवहार (गतिविधि, खाना खाने प्रतिक्रिया) अवलोकन गर्ने।
  • रोगका लक्षण वा मृत्यु भएको छ कि छैन जाँच गर्ने।
  • पानीको तापक्रम र घुलनशील अक्सिजन (DO) मापन गर्ने।
  • मरेका माछा हटाउने (तौल र सङ्ख्या रेकर्ड गर्ने)।
  • पानीको सतहको स्तर रेकर्ड गर्ने र आवश्यक परे थप्ने।
  • फिडर/फिडिङ ट्रे/प्लाटफर्म सफा गर्ने र दाना (फिड) को भण्डार जाँच गर्ने।

2. दिउँसो (२–३ बजे)

  • पानीको रंग र पारदर्शिता अवलोकन गर्ने।
  • एरेशन प्रणाली जाँच गर्ने।
  • पोखरीको डिल र निकास संरचनामा चुहावट छ कि छैन निरीक्षण गर्ने।

3. साँझ (४–६ बजे)

  • तालिका र जीवभार अनुसार माछालाई दाना खुवाउने।
  • खुवाइएको दानाको मात्रा र माछाको खाने व्यवहार रेकर्ड गर्ने।
  • मौसमको अवस्था अनुगमन गर्ने।

4. सामान्य दैनिक कार्य

  • फार्म लगबुकमा (फिड, पानीको गुणस्तर, मृत्यु दर) विवरण भर्ने।
  • कुनै पनि असामान्यता भए प्राविधिकलाई जानकारी दिने।
  • उपकरण (जाल, परीक्षण किट, फिडर) सफा र कीटाणुनाशक गर्ने।
प्रमुख कार्यविधिहरू

1.पोखरी तयारी र शिकारी नियन्त्रण

  • पोखरीको पानी निकालेर राम्ररी सुकाउने।
  • पोखरी सुकाउन नसकिएमा महुवा तेलको खली @ २५०० के.जी./हे. वा ब्लीचिङ पाउडर @ २० ग्राम/घन मिटर प्रयोग गर्ने।
  • साँप वा भ्यागुतो प्रवेश रोक्न पोखरीको वरिपरिको भागमा जाली (नेट) लगाउने।
  • चराको प्रवेश रोक्न पोखरीमा जाली (नेट) हाल्ने।

2. भुराको स्टकिङ प्रक्रिया

  • भुरालाई बिस्तारै पोखरीको पानीमा अनुकूल बनाउने।
  • छोड्नु अघि २–३ ppt नुनको पानीमा १–२ मिनेट डुबाउने।
  • भुरा बिहान सबेरै वा बेलुकी ढिलो समयमा पोखरीमा हाल्ने।
  • स्टकिङ घनत्व: ४–६ माछा प्रति मिटर²।

3.  पानीको गुणस्तर निगरानी

  • आवृत्ति: दैनिक तापक्रम र DO; साप्ताहिक pH, NH₃, NO₂ मापन।
  • उपकरण: थर्मोमिटर, DO मिटर, pH मिटर/टेस्ट किट।
  • सबै तथ्याङ्क लगबुकमा रेकर्ड गर्ने।
  • यदि मानक दायराभन्दा बाहिर भए सुधारात्मक कदम चाल्ने।
  1. DO कम भएमा एरेशन गर्ने।
  2. अमोनिया बढेमा आंशिक रूपमा पानी फेर्ने।

4.  खुवाउने व्यवस्थापन

  • दैनिक दाना = जीवभार × FCR लक्ष्य अनुसार गणना गर्ने।
  • माछाको आकारअनुसार दिनमा २–४ पटक दाना खुवाउने।
  • माछाको खाने प्रतिक्रिया र पानीको तापक्रमअनुसार दाना समायोजन गर्ने।
  • फ्राइ/भुराका लागि खाने फ्रेम प्रयोग गरी खाने मात्रा निगरानी गर्ने।

5. स्वास्थ्य र जैवसुरक्षा

  • प्रयोग अघि र पछि सबै उपकरण कीटाणुनाशक गर्ने।
  • आगन्तुक र वन्यजनावरको प्रवेश नियन्त्रण गर्ने।
  • खाने प्रतिक्रिया घट्नु, घाउ, गिलको चाल जस्ता लक्षण निगरानी गर्ने।
वृद्धि विकास र दाना रूपान्तरण दर तालिका
चरण उमेर (दिन) औसत तौल (ग्राम) दाना दर (% जीवभार) FCR
फ्राइ १–३० ०.०२–१.० ८–१२% १.५–१.८
फिङ्गरलिङ ३१–६० १–१५ ५–८% १.४–१.६
जुभेनाइल  ६१–१२० १५–२०० २–४% १.३–१.५
ग्रो–आउट १२१–१८० २००–६०० १.५–३% १.२–१.४
बजार साइज १८१–२४० ६००–१२०० १–२% १.१–१.३

 

अन्य जानकारी

नेपालमा पंगास माछा पालनका चुनौतीहरु
  • चिसो मौसमः यो माछा पालनको लागि पानीको तापक्रम करिव २५-३० डिग्री सेल्सियस उपयुक्त हुन्छ। पानीको तापक्रम २० डिग्री सेल्सियस भन्दा कम भयो भने यो माछाले खान कम गर्दछ तथा विस्तारै कमजोर र रोगी भई मर्न थाल्दछ। नेपालमा यो माछा पालनको मुख्य चुनौती नै चिसो मौसम हो। तराईमा मंसिरदेखि माघसम्मको जाडो याममा पोखरीको पानीको तापक्रम २० डिग्री सेल्सियस भन्दा कम हुने र कहिले कांही १२ डिग्री सेल्सियससम्म झरेको पाईएको छ। यस्तो किसिमको चिसो मौसममा यो माछा प्रायः बाँच्न सक्तैन।
  • बजारको माग र प्रतिस्पर्धाः यो माछाका केही राम्रा गुणहरु भए तापनि नेपाली उपभोक्ताहरुले कार्प माछाहरुको तुलनामा कम मन पराउने गर्दछन्। यसका साथै यो माछा भारतबाट बरफमा राखी सिंगो माछाको रुपमा र भियतनामबाट काँडा झिकी मासु मात्र भएको (फिलेट) फ्रोजेन माछाको रुप सस्तोमा आयात भई रहेको छ। नेपाली सुपर मार्केटहरुमा पंगास माछाको फ्रोजेन फिलेट करिब रु.४५०।- प्रति के. जी. को दरले बिक्री भई रहेको देखिन्छ ।
  • भुराको उपलब्धताः नेपालका सरकारी र निजी क्षेत्रमा यसको भुरा उत्पादन गर्ने तर्फ थोरै सफलता प्राप्त हुन थालेको भएपनि हालसम्म नेपालमै माग अनुसारको पर्याप्त पंगास माछाको भुरा उत्पादन गर्न नसकिएको हुँदा भारतबाट आयातित महंगो भुरामाथि आश्रित रहनु पर्ने नेपाली पंगास पालक मत्स्य कृषकहरुको बाध्यता रहेको छ।
  • गुणस्तरीय दानाको उपलब्धताः व्यवसायिक पालनको लागि यो माछा पूर्ण रुपले दाना उद्योगबाट उत्पादित पेलेट दानामा निर्भर हुने भएको तर नेपालमा गुणस्तरयुक्त पेलेट दानाको उपलब्धता सहज नभएको हुँदा मंहगो मूल्यमा कम गुणस्तरको दाना प्रयोग गर्ने वाध्यताले मुनाफामा कमी हुने सम्भावना देखिन्छ ।
पंगास पालक कृषकहरुलाई सुझाव
  • यो माछा पालन गरेर प्रति इकाई जग्गावाट अन्य माछाको तुलनामा धेरै गुणा बढी उत्पादन लिन सकिने भएपनि यसमा माथि उल्लेखित विभिन्न चुनौतीहरु पनि रहेका छन्। तसर्थ पंगास माछा पालन गरी रहेका वा गर्न ईच्छुक कृषकहरुले निम्न कुराहरुमा ध्यान पुन्याएर मात्र पंगास माछा पालन गर्नु हुन अनुरोध छः
  • पंगास माछा पालन व्यवसाय फाइदाजनक हुनुका साथै जोखिमपुर्ण पनि भएकोले कृषकहरुले यो व्यवसाय शुरु गर्नु अगाडि यस विषयमा दक्ष प्राविधिकको सल्लाह लिई विस्तृत योजना बनाएर मात्र शुरु गर्नु पर्दछ।
  • ईच्छुक कृषकहरुले गुणस्तरयुक्त दाना र भुराको उपलब्धता सुनिश्चित भएर मात्र पंगास पालन शुरु गर्नु पर्दछ। यसको लागि सम्बन्धित सरकारी निकायवाट आवश्यक समन्वय सहजीकरण गर्न आवश्यक देखिन्छ ।
  • नेपालमा पंगास माछा पालनको लागि सवभन्दा ठुलो चुनौती नै जाडो यामका तीन महिना (मंसीर, पौष र माघ) रहेकोले मंसीर महिना अगाडि नै बिक्री योग्य माछाहरुलाई बिक्री गरी सक्ने व्यवस्था मिलाउनु पर्दछ। सकेसम्म जाडोको तीन महिना पोखरीहरुमा पंगास माछा रहन दिनु हुँदैन।
  • चिसो हावापानीको प्रतिकुल असरबाट बचाउने र बजारीकरणको उपयुक्त व्यवस्था गर्न सकियो भने गरम हावापानी भएको मध्य पहाडको बेंशी क्षेत्रमा पनि यो माछा पालन गर्न सकिने सम्भावना छ।
  • सामान्यतयः तराईमा फाल्गुन महिना र मध्य पहाडको बेंशी क्षेत्रमा चैत्र महिनामा भुरा स्टक गरी माछा पालन गर्न सकिने भएकोले साउन-भदौ महिनामा उत्पादन भएको भुरा नर्सरीमा स्टक गर्न सकिन्छ। मंसीर, पौष र माघ महिनाको २० डिग्री सेल्सियस भन्दा कम तापक्रमको चिसो पानीवाट माछा भुरा जोगाउनको लागि तातो पानी आउने बोरिङ्गको पानीको व्यवस्था अनिवार्य रुपले गरेको हुनु पर्दछ र जाडो महिनामा पनि पोखरीको पानीको तापक्रम २० डिग्री सेल्सिय भन्दा तल झर्न दिनु हुँदैन। पानीलाई चिसो हुन नदिनको लागि प्लास्टिक घर वा टनेल भित्र उपयुक्त आकार र साईजका नर्सरी पोखरीहरु निर्माण गरी चिसो मौसममा भुरा राखे व्यवस्था मिलाउनु पर्दछ ।
  • सामान्य अवस्थामा कार्प माछाको तुलनामा उपभोक्ताहरुले पंगास माछाको लागि कम रुची देखाउने भएको हुँदा जिउँदो माछा बिक्री गर्ने अभ्यास गर्न सकिन्छ ।
  • उत्पादित पंगास कात्तिक महिनासम्ममा पोखरीबाट झिकी सक्नु पर्ने र बजारमा एकै पटक धेरै आपूर्ति हुन सक्ने हुँदा विक्रीमा समस्या आउन सक्ने भएकोले माछा वृद्धि हुने महिनाहरुमा निरन्तर रुपमा माछा हार्भेस्ट गर्न (झिक्न) सकिने उत्पादन चक्रको प्रविधि अपनाउनुको साथै उत्पादित माछालाई प्रोसेसिङ/प्रशोधन (ड्रेसिङ, काँडारहित मासु तयार गर्ने) गरी फ्रोजेन रुपमा प्याकेजिङ्ग र ब्रान्डिङ्ग गरी बजारीकरण गर्नु उपयुक्त हुन्छ। प्रशोधित पंगास माछाको बजारीकरण एउटा-एउटा कृषकले भन्दा सामूहिक रुपमा वा कम्पनीको रुपमा संचालन गर्न उपयुक्त हुन्छ ।

बीउ छनोट र स्टकिङ

गुणस्तरीय बीउको महत्व

गुणस्तरीय बीउ (फिङ्गरलिङ) सफल माछा पालनको आधार हो। कमजोर गुणस्तरको बीउ प्रयोग गर्दा:

  • माछाको बाच्ने दर कम हुन्छ, 
  • वृद्धि सुस्त हुन्छ,
  • रोगको जोखिम बढ्छ,
  • उत्पादन असमान हुन्छ।

त्यसैले प्याङ्गासियस माछा पालनमा स्वस्थ, समान आकार र राम्रो जीन भएका बीउ छनोट गर्नुपर्छ।

बीउका स्रोत
  • विश्वसनीय हैचरी वा नर्सरीबाट मात्र बीउ प्राप्त गर्नुपर्छ।
  • ती हैचरीहरूले राम्रो ब्रुडस्टक व्यवस्थापन, स्वास्थ्य परीक्षण र रोग नियन्त्रण गरेको हुनुपर्छ।
  • अज्ञात वा अनधिकृत स्रोतबाट बीउ नकिन्नुहोस्।
राम्रो फिङ्गरलिङका विशेषताहरू
विशेषता राम्रो फिङ्गरलिङ
आकार १०–१५ से.मी. (४–६ इन्च)
गतिविधि सक्रिय, बलियो पौडिने
रङ चम्किलो, दाग नभएको
आँखा सफा, भासिएको छैन
पखेटा पूरा, च्यातिएको वा रातो छैन
शरीर विकृति वा घाउ छैन
समानता सबै माछा करिब एउटै आकार र उमेरका

 

माछा भुरा स्टक गर्ने कार्य

यो माछालाई थोरै मात्रा पानीमा घुलित आक्सिजन भए पुग्ने भएकोले व्यस्थापनको स्तर अनुसार माछा भुरा राखे संख्या निर्धारण गर्न सकिन्छ। हाम्रो अवस्थामा करिब १५-२० हजार गोटा १-२ ग्राम साईजका भुरा प्रति कठ्ठाको दरले पोखरीमा राखेर २ महिनामा ५० ग्राम साईजका बनाउन सकिन्छ। त्यस्तै २५ मेट्रिक टन प्रति हेक्टर प्रति ४-५ महिनामा उत्पादन गर्नको लागि ५०-१०० ग्राम साईजका माछा भुरा करिब ३५-४० हजार गोटा प्रति हेक्टर राखेर पालन गर्न सकिन्छ। यसरी वर्षमा एउटा पोखरीबाट दुई बाली गरी करिब ५० मेट्रिक टन प्रति हेक्टरको दरले उत्पादन लिन सकिन्छ ।

स्टकिङ घनत्व
पालन प्रणाली स्टकिङ घनत्व
अर्ध-तीव्र (एरेसन बिना) ३–१० माछा/मि²
तीव्र (एरेसनसहित) १०–२० माछा/मि²

 

स्टकिङ अघि माछा अनुकूलन

स्टकिङ अघि गर्ने प्रक्रिया:

  • माछा ल्याएको प्लास्टिक ब्यागलाई पोखरीको पानीमा १५–३० मिनेट राख्ने (तापक्रम मिलाउन)।
  • ५–२० मिनेटको अन्तरालमा पोखरीको पानीलाई ब्यागमा विस्तारै हाल्ने।
  •  माछालाई बिस्तारै पोखरीमा छोड्ने।
नेपालको लागि उपयुक्त स्टकिङ समय
  • वसन्त (फागुन–चैत): छिटो वृद्धि हुने अनुकूल मौसम
  • मनसुनको अन्त्य (असार–साउन): वर्षअन्त्यमा उत्पादन लिन उपयुक्त।
  • पुस–माघ: चिसो महिनामा स्टकिङ नगर्नुहोस् (वृद्धि सुस्त र तनाव बढी हुन्छ)।

 

स्टकिङ प्रक्रिया
  1. पोखरी तयारी (चुना, मल, पानी गुणस्तर जाँच) पूरा हुनु
  2. स्वस्थ फिङ्गरलिङ ल्याउनु।
  3. अनुकूलन प्रक्रिया (Acclimatization) पूरा गर्नु।
  4. अभिलेख राख्नु
  • स्टकिङ मिति
  • बीउको स्रोत
  • स्टकिङ संख्यामा माछा
  • औसत तौल र आकार
नर्सरीमा हुर्काउने

यदि बीउ ५ से.मी. भन्दा सानो छ भने, ३–४ हप्तासम्म नर्सरी पोखरी वा हापामा हुर्काएर मात्र मुख्य पोखरीमा सार्ने।

नर्सरी चरण  उद्देश्य
फ्राइदेखि फिङ्गरलिङ (१–३ ग्राम) बाँच्ने दर र वृद्धि सुधार
प्रि-ग्रो-आउट फेज मुख्य पोखरीमा मृत्यु दर घटाउने
स्टकिङ पछि निगरानी
  1. पहिलो ७–१० दिन  माछाको व्यवहार दैनिक अवलोकन गर्नुपर्छ।
  2. निम्न लक्षण देखिएमा तुरुन्तै पानी गुणस्तर जाँच र उपचार गर्नुपर्छ:
  • माछा सतहमा आउनु,
  • सुस्त पौडिनु,
  •  अनावश्यक मृत्यु हुनु।

भुरा खरिद र हुर्काउने कार्य

भुरा खरिद र भुरा हुर्काउने कार्य

हाल पंगासको भुरा भारतबाट भुरा ब्यापारी मार्फत उपलब्ध हुने गर्दछ। यसको भुरा उत्पादनको प्रयास नेपालमा पनि भई रहेको छ। गएको सिजनमा मत्स्य विकास केन्द्र, भण्डारा, चितवनले करिब २ लाख गोटा पंगासको भुरा उत्पादन गरी केही मत्स्य कृषकहरुलाई बिक्री वितरण गरेको छ। क्षेत्रिय कृषि अनुसन्धान परिषद, तरहरा, सुनसरीमा पनि यो माछाको भुरा उत्पादनको अनुसन्धान भई रहेको छ। केही वर्ष भित्र यसको भुरा नेपालमा पर्याप्त संख्यामा उपलब्ध गराउन सक्ने नेपाल सरकारको योजना रहेको छ। 
भारतबाट यो माछाका भुरा बैशाख जेष्ठ महिनामा पाउन शुरु हुन्छ र भदौ सम्म पाइन्छ। यसको भुरा नेपालसम्म आई पुग्दा करिब ४-५ रुपैया प्रति गोटा पर्न जान्छ। भारतमा पुराना भुरा फाल्गुन महिनामा पाइन्छ जुनकि अलि ठुला साईजका हुन्छन् र यस्ता भुरा नेपालसम्म आईपुग्दा प्रति गोटा रु.७। सम्म पर्न जान्छ। फाल्गुनमा खरिद गरिने पुराना भुरा महंगो भएपनि यसले बढ्ने समय बढी पाउने भएकोले उत्पादन बढी लिन सकिन्छ। खरिद गरेका भुरालाई ५० ग्रामसम्म पाल्दा केही मर्न सक्ने भएकाले उत्पादन पोखरीमा राखेर पाल्नको लागि जति संख्यामा ५० ग्राम साईजका भुरा चाहिने हो त्यसको करिब दोब्बर संख्यामा भुरा खरिद गरी भुरा पोखरीमा पाल्नु पर्ने हुन्छ। भुरालाई ३२ प्रतिशत कुड प्रोटीन भएको तयारी दाना ख्वाउनु पर्दछ। यस किसिमको तयारी दाना भारतबाट आयात गरिएको हुन्छ । नेपालको बुटवलमा पनि हिमदानाको नामले यस्तो दाना बनाउने कारखाना छ।

रिपोर्ट र लागत व्यवस्थापन

रिपोर्ट किन राख्ने

प्रभावकारी रिपोर्ट राख्नु नाफामूलक र जवाफदेही माछा पालनको आधार हो। यसले

  • इनपुट र उत्पादन ट्र्याक गर्न
  • उत्पादन र कार्यक्षमता मूल्याङ्कन गर्न
  • मस्या (रोग, फिड रूपान्तरण समस्या) पत्ता लगाउन
  • ट्रेसबिलिटी र नियम पालना गर्न
  • भविष्यका उत्पादन चक्र योजना बनाउन
  • लागत र नाफा/घाटा गणना गर्न सहयोग पुर्‍याउँछ
राख्नुपर्ने रिपोर्टका प्रकार
रिपोर्ट प्रकार उद्देश्य
पोखरी र स्टक डेटा पोखरी आकार, स्टकिङ मिति, संख्या
फिड रिपोर्ट फिड मात्रा, प्रकार र FCR
पानी गुणस्तर रिपोर्ट DO, तापक्रम, pH, अमोनिया आदि
स्वास्थ्य र उपचार रिपोर्ट रोग र औषधि प्रयोगको विवरण
कटानी रिपोर्ट उत्पादन, आकार, मूल्य र खरिदकर्ता
श्रम र इनपुट लागत रिपोर्ट लागत–लाभ विश्लेषणका लागि
मृत्यु दर रिपोर्ट दैनिक मृत्यु र कारण

 

रिपोर्टका नमूना ढाँचा
  • स्टकिङ रिपोर्ट: मिति, बीउ संख्या, औसत तौल, स्रोत, स्वास्थ्य स्थिति
  • फिड रिपोर्ट: मिति, फिड प्रकार, मात्रा, खुवाउने पटक, टिप्पणी
  • दैनिक अवलोकन रिपोर्ट: माछाको व्यवहार, मृत्यु, कारण, गरिएको कदम
  • पानी गुणस्तर रिपोर्ट: मिति, DO, तापक्रम, pH, अमोनिया
  • उपचार रिपोर्ट: रोग, औषधि, मात्रा, अवधि, भेटेनरीको नाम
  • कटानी रिपोर्ट: मिति, मात्रा, औसत तौल, खरिदकर्ता, मूल्य
  • लागत रिपोर्ट: बीउ, फिड, श्रम, स्वास्थ्य, बिजुली/इन्धन आदि
नाफा/घाटा गणना (साधारण ढाँचा)
कोटि मूल्य (रु.)
कुल आम्दानी (बिक्री भएको माछा × बिक्री मूल्य)
कुल खर्च (सबै इनपुट + श्रम + ढुवानी आदि)
नेट नाफा (आम्दानी - खर्च)
सन्तुलित मूल्य/किलो (कुल खर्च ÷ कुल उत्पादन)

 

बजार र मूल्यवृद्धि

बजारको महत्व र प्रकार

प्याङ्गासियस माछा पालनबाट प्राप्त उत्पादनलाई राम्रो मूल्यमा बिक्री गर्नका लागि बजार व्यवस्थापन अत्यावश्यक हुन्छ। उत्पादन मात्र बढाउनु पर्याप्त हुँदैन, किसानले बजार र मूल्यवृद्धि रणनीति पनि जान्नुपर्छ।

बजारका प्रकार

  • स्थानीय बजार: नजिकका माछा बजार, होटल वा उपभोक्तासँग प्रत्यक्ष बिक्री
  • थोक बजार: बिचौलियामार्फत ठूलो परिमाणमा बिक्री
  • सहकारी वा किसान समूह: संयुक्त रूपमा बजार व्यवस्थापन र मूल्य वार्ता
  • ठेक्का प्रणाली: व्यवसाय वा प्रोसेसिङ कम्पनीसँग पूर्व-सम्झौतामा बिक्री
बजार रणनीति
  • माछाको औसत आकार र गुणस्तर बजार माग अनुसार मिलाउने
  • विभिन्न बजार र खरिदकर्तासँग सम्पर्क राख्ने
  • बिक्री मूल्य र मागको अवस्थाको नियमित जानकारी राख्ने
  • समूह वा सहकारीको माध्यमबाट बढी मूल्य पाउने सम्भावना बढाउने
मूल्यवृद्धि (Value Addition)

प्याङ्गासियस माछाबाट विभिन्न प्रकारका मूल्यवर्धित उत्पादन बनाउन सकिन्छ:

  • माछा फिलेट
  • स्मोक्ड वा प्रोसेस गरिएको माछा
  • रेडी-टु-कुक प्याकेज
  • माछाका फिस बर्गर, नगेट आदि
मूल्यवृद्धिका फाइदा
  • बजारमा बढी मूल्य पाउने
  • नयाँ बजार र ग्राहक वर्गमा पहुँच बढ्ने
  • उत्पादनको माग र स्थायित्वमा वृद्धि
मूल्यवृद्धि गर्दा ध्यान दिनुपर्ने कुरा
  • प्रशोधन गर्दा खाद्य सुरक्षा मापदण्ड पालन गर्नुपर्छ
  • प्रशोधन उपकरण र स्थान सफा र स्वास्थ्यकर हुनुपर्छ
  • प्याकेजिङ र लेबलिङमा सम्पूर्ण जानकारी स्पष्ट दिनुपर्छ
  • बजारको माग र प्रवृत्ति बुझेर उत्पादन तयार गर्नुपर्छ
बजार र बिक्री रिपोर्ट

किसानले प्रत्येक बिक्रीमा निम्न विवरण राख्नुपर्छ:

  • बिक्री मिति
  • बिक्री गरिएको माछाको परिमाण र औसत तौल
  • खरिदकर्ता र बिक्री मूल्य
  • ढुवानी खर्च र अन्य खर्च

वातावरणीय र सामाजिक जिम्मेवारी

जिम्मेवार मत्स्यपालनको महत्व

प्याङ्गासियस पालनमा उत्पादन मात्र बढाउनु लक्ष्य नभई वातावरणीय संरक्षण र सामाजिक जिम्मेवारी समेत महत्त्वपूर्ण हुन्छ। जिम्मेवार अभ्यासले

  • दीर्घकालीन उत्पादनशीलता कायम राख्छ
  • प्राकृतिक स्रोतहरूको संरक्षण गर्छ
  • स्थानीय समुदायमा स्वीकृति बढाउँछ
  • प्रमाणिकरण र निर्यातका लागि तयारी गराउँछ
वातावरणीय उत्तम अभ्यासहरू

1.  पानीको प्रयोग र निकास

  • पानीको दुरुपयोग कम गर्न दक्ष पानी व्यवस्थापन गर्ने
  • पोखरीको फोहोर पानी प्रत्यक्ष नदी वा कुलोमा नछोड्ने
  • निकास पानीलाई माटो जम्ने पोखरी वा जैविक फिल्टरमा प्रशोधन गरेर मात्र बाहिर पठाउने

2. माटो र पोखरी व्यवस्थापन

  • पोखरीका ड्याम र कराराहरूको मर्मत गरी कटान रोक्ने
  • चुना वा रसायनको अत्यधिक प्रयोग नगर्ने
  • जम्मा भएको फोहोरलाई कम्पोस्ट वा तरल मलको रूपमा प्रयोग गर्दै उचित व्यवस्थापन गर्ने

3. रसायन र एन्टिबायोटिकको प्रयोग

  • औषधि आवश्यक परे मात्र र प्राधिकृत व्यक्तिको सिफारिसमा प्रयोग गर्ने
  • कटानी अघि आवश्यक विर्ती अवधि पालना गर्ने
  • रोग नभएको अवस्थामा एन्टिबायोटिकको पूर्व–व्यवहारिक प्रयोग नगर्ने

4. फिड र फोहोर व्यवस्थापन

  • बढी फिड नगर्ने, फोहोर जम्मा हुन नदिने
  • फिडलाई सुख्खा, छायाँ र मुसा–कीराबाट सुरक्षित राख्ने
  • फोहोर कम गर्न र FCR सुधार गर्न फ्लोटिङ फिड प्रयोग गर्ने
जैविक विविधता र रोग नियन्त्रण
  • बाहिरी आक्रामक प्रजाति प्राकृतिक जलाशयमा नछोड्ने
  • रोग फैलिन नदिने गरी जैव–सुरक्षा कायम राख्ने
  • प्याङ्गासियसलाई नदी वा सार्वजनिक पोखरीमा नछोड्ने
सामाजिक जिम्मेवारी

1. रोजगारी र श्रम

  • श्रमिकलाई उचित पारिश्रमिक र सुरक्षित कार्य वातावरण प्रदान गर्ने
  • महिलाहरू र युवालाई रोजगारीमा प्राथमिकता दिने
  • श्रमिकलाई आधारभूत तालिम र सीप विकासका अवसर दिने

2. समुदायसँग सहकार्य

  • छिमेकी समुदायलाई असर पर्ने गतिविधि नगर्ने (जस्तै, आवाज, फोहोर पानी)
  • स्थानीय सहकारी र समूहका कार्यक्रममा सहभागी हुने
  • स्थानीय विद्यालय, स्वास्थ्य शिविर वा कार्यक्रमहरूलाई सहयोग गर्ने
लैङ्गिक समानता र समावेशिता
  • महिलालाई फिडिङ, रिपोर्ट राख्ने र बजार व्यवस्थापनमा सहभागी गराउने
  • तालिम र निर्णय प्रक्रियामा समान पहुँच दिने
  • कमजोर समूहलाई रोजगारी र लाभमा सहभागी गराउने
संक्षिप्त उत्तम अभ्यासहरू
  • पानी, फिड र रसायन जिम्मेवारीपूर्वक प्रयोग गर्ने
  • फार्मको वातावरणीय प्रभाव न्यून राख्ने
  • श्रमिकका लागि सुरक्षित र सम्मानजनक रोजगारी प्रवर्द्धन गर्ने
  • समुदायसँग सहकार्य गर्ने र सहयोग गर्ने
  • प्रमाणिकरण र बजार मापदण्डका लागि तयारी गर्ने

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

भागवत प्रसाद
राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलाशय मत्स्य विकास कार्यक्रम, बालाजु


केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र / Central Fisheries Promotion and Conservation Center