जुम्ला लगाएत हिमाली र दुर्गम समेत रहेका मध्य पश्चिम नेपालका जिल्लाहरुमा परापूर्वकाल देखिनै यातायातका साथै मौसमी बसाईसराईका क्रममा हुने व्यापारका शिलशिलामा यहांका जनताहरुबाट घोडाको व्यापक प्रयोग भई आएको पाईन्छ । खच्चर उत्पादन गरी मालसमानढुवानी का लागी बिकी गर्दा यहाका कृषकहरुले निकै आकर्षक मूल्य प्राप्त गर्ने गरेका कारण पनि यहा हुने जुम्ली घोडीलाई एक अचल सम्पति जस्तैगरी राख्ने गरेको देखिन्छ । विगतमा जुम्लामा बिमानस्थल कालोपत्रे नहुदासम्म सो ठांउमा सरकारी तवरबाटै आयोजना हुने घोडा दौड प्रतियोगिता र त्यहा देखिने ब्यापक जनसहभागिताले समेत यसको महत्वलाई उजागर गरेको छ । हिउदमा जाडो छल्न दाडं, नेपालगंज , कैलाली, कन्चनपुर सम्म जादा घोडा समेत उल्लेख्य बिकीहुने गरेको बर्दियाको गोलाघाट र दार्चुलाको जल्जीबीमा लाग्ने मेलामा जुम्ली घोडाको ठूलो माग रहने र त्यहा बिक्री गर्न लगिएका घोडाहरु भारतीय व्यापारीहरुले भारतमा समेत पुरयाउने गरेको पाईन्छ । त्यसैगरी जुम्ली घोडाको माग डोल्पामा पनि निकैहुने गरेको कृषकहरुले बताएकाछन । एकातिर यातायातको लागी कमश बाटो खुल्दै गएर गाडी चल्न शुरु भई सकेपछि यसको उपयोग केहि घटदै गएको छ भने अर्कोतिर यूवाहरुले घोडापालनको कठिन कार्यलाई निरन्तरता दिन नसक्दा हालका बर्षहरुमा घोडाहरुको संख्या कमहुदै गएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
दार्चुलाको जल्जीबीमा लाग्ने मेलामा पहिला जुम्लाबाट मात्र करिब ६०० को हाराहारीमा बर्षेनी बिकीहुने गरेकोमा हाल आएर मुश्किलले १०० सम्ममात्र घोडाहरु त्यहा बिकीकालागी लगिने गरेको पाईन्छ । यसका साथै जुम्लामै समेत स्थानिय व्यापारीहरुले खरिद गरी डोल्पा, मुगु र हुम्ला लगाएत छिमेकी जिल्लाहरुमा केही संख्यामा बिकी गर्ने गरेको स्थानीय कृषकहरु बताउछन । जिल्ला पशुसेवा कार्यालयको अनुमानित तथ्यांक अनुसार हाल जुम्लामा घोडाको संख्या करिब ६ हजारको हाराहारीमा रहेको पाईएको छ । जुम्लाको इतिहासमै पहिलो पटक ०७० असार १ देखि ४ गतेसम्ममा प्राकृतिक बिपत्तिका कारण चरन (पाटन) क्षेत्रमा चराउन छोडीएका घोडा, घोडी र खच्चर गरी करिब ७०० बढीको संख्यामा मृत्यू भई कृषकहरुको करोडौको क्षतिहुन पुग्यो । यसले समेत एकातिर जुम्ली घोडाको संख्या घटन पुग्यो भने अर्कोतर्फ यो घटनाले कृषकहरुमा घोडापालन प्रति नैराश्यता फैलाउन सक्ने देखिन्छ ।
हालैका बर्षहरुमा समूदायमा आधारित जुम्लीघोडा संरक्षणका कार्यहरुको शुरुवात गरिएकाले यसको संरक्षण र विकासमा सघाउ पुग्नेअपेक्षा गर्न सकिन्छ ।