परिचय

परिचय

बहुउपयोगी जनावर घोडाको नेपालमा उपयोग कृषि क्षेत्रमा प्रत्यक्ष गरिएको नदेखिएतापनि कृषी सामाग्री र उत्पादीत बस्तु ढुवानीमा घोडा, खच्चरले सडक यातायात नभएका क्षेत्रमा सघाईरहेका छन । यसबाहेक घोडा खच्चर व्यापारीक सामाग्री ढुवानी, छोटो दुरीमा यात्रु ओसार पसार, पर्यटन क्षेत्र र ब्यतिगत यातायातमा पनि उपयोग भईरहेको छ । जैबिक बिबिधताको धनी हाम्रो देशमा ५ किसिमका घोडाहरु पाइएता पनि रैथाने घोडाको जातहरुमा जुम्ली घोडा एकमात्र रहेको छ र यसलाई खाद्य तथा कृषि संगठन (FAO) मा सुचिकृत गरिएको छ । रैथाने जातहरुको संरक्षणहुन सकेन भने एकातिर जैबिक बिबिधता ह्रासहुदै जाने त छदैछ भने अर्कोतर्फ स्थानीय मानिसहरुको जिबिकोपार्जनका माध्यमहरु समेत संकुचन हुदै जाने र स्थानीय बाताबरणमा समेत नकारात्मक असर पर्न जाने शंभावना रहन्छ । यीनै तथ्यहरुलाई ध्यानमा राखी जुम्लीघोडाको संरक्षण, प्रबर्दन र बिकासमा सघाउ पुरयाउन यो प्रचार सामाग्री तयार गरी यहांहरुको हातमा पुरयाईएको छ ।

1

 

जुम्ली घोडाको विगत र हालको अवस्था 

जुम्ला लगाएत हिमाली र दुर्गम समेत रहेका मध्य पश्चिम नेपालका जिल्लाहरुमा परापूर्वकाल देखिनै यातायातका साथै मौसमी बसाईसराईका क्रममा हुने व्यापारका शिलशिलामा यहांका जनताहरुबाट घोडाको व्यापक प्रयोग भई आएको पाईन्छ । खच्चर उत्पादन गरी मालसमानढुवानी का लागी बिकी गर्दा यहाका कृषकहरुले निकै आकर्षक मूल्य प्राप्त गर्ने गरेका कारण पनि यहा हुने जुम्ली घोडीलाई एक अचल सम्पति जस्तैगरी राख्ने गरेको देखिन्छ । विगतमा जुम्लामा बिमानस्थल कालोपत्रे नहुदासम्म सो ठांउमा सरकारी तवरबाटै आयोजना हुने घोडा दौड प्रतियोगिता र त्यहा देखिने ब्यापक जनसहभागिताले समेत यसको महत्वलाई उजागर गरेको छ । हिउदमा जाडो छल्न दाडं, नेपालगंज , कैलाली, कन्चनपुर सम्म जादा घोडा समेत उल्लेख्य बिकीहुने गरेको बर्दियाको गोलाघाट र दार्चुलाको जल्जीबीमा लाग्ने मेलामा जुम्ली घोडाको ठूलो माग रहने र त्यहा बिक्री गर्न लगिएका घोडाहरु भारतीय व्यापारीहरुले भारतमा समेत पुरयाउने गरेको पाईन्छ । त्यसैगरी जुम्ली घोडाको माग डोल्पामा पनि निकैहुने गरेको कृषकहरुले बताएकाछन । एकातिर यातायातको लागी कमश बाटो खुल्दै गएर गाडी चल्न शुरु भई सकेपछि यसको उपयोग केहि घटदै गएको छ भने अर्कोतिर यूवाहरुले घोडापालनको कठिन कार्यलाई निरन्तरता दिन नसक्दा हालका बर्षहरुमा घोडाहरुको संख्या कमहुदै गएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

दार्चुलाको जल्जीबीमा लाग्ने मेलामा पहिला जुम्लाबाट मात्र करिब ६०० को हाराहारीमा बर्षेनी बिकीहुने गरेकोमा हाल आएर मुश्किलले १०० सम्ममात्र घोडाहरु त्यहा बिकीकालागी लगिने गरेको पाईन्छ । यसका साथै जुम्लामै समेत स्थानिय व्यापारीहरुले खरिद गरी डोल्पा, मुगु र हुम्ला लगाएत छिमेकी जिल्लाहरुमा केही संख्यामा बिकी गर्ने गरेको स्थानीय कृषकहरु बताउछन । जिल्ला पशुसेवा कार्यालयको अनुमानित तथ्यांक अनुसार हाल जुम्लामा घोडाको संख्या करिब ६ हजारको हाराहारीमा रहेको पाईएको छ । जुम्लाको इतिहासमै पहिलो पटक ०७० असार १ देखि ४ गतेसम्ममा प्राकृतिक बिपत्तिका कारण चरन (पाटन) क्षेत्रमा चराउन छोडीएका घोडा, घोडी र खच्चर गरी करिब ७०० बढीको संख्यामा मृत्यू भई कृषकहरुको करोडौको क्षतिहुन पुग्यो । यसले समेत एकातिर जुम्ली घोडाको संख्या घटन पुग्यो भने अर्कोतर्फ यो घटनाले कृषकहरुमा घोडापालन प्रति नैराश्यता फैलाउन सक्ने देखिन्छ ।

हालैका बर्षहरुमा समूदायमा आधारित जुम्लीघोडा संरक्षणका कार्यहरुको शुरुवात गरिएकाले यसको संरक्षण र विकासमा सघाउ पुग्नेअपेक्षा गर्न सकिन्छ ।

विशेषता

जुम्ली घोडाका बिशेषताहरु 

बर्षों अघिदेखिनै यहां घोडा पालन गरिदै आएको तथ्यलाई मनन गर्दा, जुम्लामै रहेका घोडीबाट खच्चर उत्पादनका लागी गधा बितरण समेत भएको र कृषक स्वर्यले समेत प्रजननकालागी भाले गधा र भाले घोडामात्र बाहिरबाट ल्याउने गरेको देखीएकोले स्थानीय घोडीहरु रैथाने हुन भन्न सकिन्छ । जुम्लामै प्रजनन भई घोडा र खच्चर उत्पादन हुने गरेकाले यहाका घोडाहरुलाई जुम्ली नामाकरण गरिएको हुन सक्छ । यी घोडाहरु र अन्य ठाउका घोडाहरुको समानता र भिन्नताहरुका बारेमा बिस्तृत अध्ययन अनुसन्धान पछिमात्र थाहा पाउन सकिएला। बाहिरी शारिरीक देखाई लाई आधार बनाई हेर्दा यीनीहरु 
भोटेघोडा (भुटिया जात) को नजिक रहेको भन्न सकिन्छ । मुगुबाट आई जुम्लामा मौसमी वा स्थायी बसोबास गरेका व्यक्तीहरुले तिब्बतबाट भोटे घोडा ल्याउने गरिरहेको देखिएको र जल्जीबी तर्फ जाने घोडा ब्यापारीहरुले बिच बिचमा खरिद बिकी गर्दै पुन जुम्ला आउदा भोटे घोडाहरु समेत मिसीन गएकाले जुम्ली घोडाका बिशेषताहरु भोटे घोडाको नजिक रहेको अनुमानलाई बल पुरयाउछ । 
जुम्ली घोडाका बिशेषताहरु मध्ये मध्यम आकारको, कसिलो शरीर रहेको, मुख्य गरी सेतो, रातो र खरानी (हरेल) रंगको बाहुल्यता रहेको भनी एउटा दस्ताबेजमा उल्लेख भएको छ (कुंवर, २००१) । हालै जुम्लामा गरिएको एक फील्ड शर्भेक्षणबाट प्राप्त नतिजाहरुका आधारमा जुम्ली घोडाका बिशेषताहरुलाई निम्न अनुसार उल्लेख गरिएको छ ।

शारिरीक आकार, तौल र रङ्ग

शारिरीक आकार 
जुम्ली घोडाको बयस्क उमेरको औसत शारीरीक उंचाई (अगाडीको खुर देखि जुरोसम्म) १०८.३ से.मी रहेको पाईएको छ भने एक बर्षमुनीका बछेडा बछेडीको औसत उचाई ६९.६ से.मी. पाईएको छ । त्यसै गरी बयस्क घोडाको औसत शारिरीक लम्बाइ १४५.९ से.मी र एक बर्षमुनीकाको औसत ९२.५ से.मी. रहेको पाईन्छ । टाउकाको लम्बाईको नाप हेर्ने हो भने बयस्कमा ५५ से.मी र बछेडा बछेडीमा ३६ से.मी पाईएको छ । पुच्छर र जगरको लम्बाई भने कांटछाट गरेको अनुसार तलमाथी हुनजान्छ तर पुच्छरको टुप्पाबाहेकको लम्बाई नाप्दा बयस्कको औसतमा ४८.९से.मी. र सानाको ३१ से.मी. पाईएको छ । 


शारिरीक तौल 
नाप्ने फिता प्रयोग गरी घोडाको तौल अनुमान गरिएको थियो । जस अनुसार बयस्कको औसत तौल १९६ कि.ग्रा.पाईयो । समान्यतया यी घोडाहरको औसत तौल २ क्वीन्टलकै हाराहारी रहेको भन्न सकिन्छ । केही संख्यामा मापन गर्दा एक बर्ष मुनिका (४ देखि ८ महिना सम्मका) बछेडा बछेडीको तौल औसतमा ६१ कि.ग्रा. रहेको पाईएको छ । यसरी माथी उल्लेख भएको शारिरीक आकार र तौल समेतलाई बिचार गर्दा जुम्ली धोडा सानो आकारको रहेको भन्न सकिन्छ । शर्भेक्षण थोरै संख्याका पशुमा मात्र गरिएकोले यसलाई बिस्तार गरी यसबारे निर्व्याल गर्न राम्रो हुनेछ । 


शारिरीक रंग 
हुन त जुम्ली घोडामा बिभिन्न रड. भएका घोडाहरु पाईन्छन तै पनि केही रंगको बाहुल्यता रहेको छ । धेरैजसो घोडाहरुमा एउटै रंगको प्रधानता रहेको पाईन्छ भने कुनै कुनैमा मात्र दुई वा बढी रंगको मिश्रण भेटीन्छ । तर जगर, पुच्छर र खुटटाको तल तर्फ एकै रंगको बिकास भएको देखियो । पाइएका प्रमुख शारिरीक रंगहरुमा सेतो, रातो, खरानी र खैरो रंगका छन । खरानी (हरेल) रंगको घोडा उमेर बढदै गएपछि सेतो रंगमा परिबर्तन भएको पाईन्छ । केही घोडाहरु कालो र केहीमा अन्य रंगमा सेतो टाटे वा तारे समेत मिसिएको पाईन्छ ।

1

 

प्रजनन सम्बन्धी केही बिशेषताहरु 

प्रजनन सम्बन्धी केही बिशेषताहरु 
घोडापालक किसानहरुसंगको छलफलमा प्रजनन सम्बन्धी केही तथ्यहरु प्राप्त भएको छ जुन निम्न अनुसार छन । 
• भाले घोडाहरु पोथीको तुलनामा छिटो बयस्क हुन्छन । सामान्यतया पोथीले ३ वर्ष पछिमात्र भाले खोज्छ भने भाले २.५ देखि ३ वर्षमा पोथीमा लाग्न सक्छ । 
• पोथीको गर्भअबधी करिब १ बर्षको हुन्छ । 
• प्रायः गरी गर्मी मौसममा घोडीहरुले भाले खोजेर गर्भवती हुन्छन । समान्यतया १५ देखि १६ बर्ष सम्म घोडीले ब्याएको १ महिना भित्रै भाले खोजिरहन्छन भने यो उमेर पछि भने नियमित रुपमा बर्षेनी भाले खोज्दैनन । 


अन्य बिशेषताहरु 
• चलाख र कठिन ठाउको बाटोमा समेत सजिलै हिडने 
• बलियो र कसिलो शरिर भएको 
• निकै चिसो र गर्मी पनि सहन सक्ने 
• स्थानीय आहारा र चरनमा समेत रमाउने 
• राम्रो गरी पालिएका बयस्क घोडाले ८० देखि १०० कि.गा. सम्मको भार पनि बोक्न सक्छन भने समान्यतया लगातार ६० देखि ७० कि.ग्रा. भारी बोकी ६७ घण्टासम्म नथाकिकन हिंडन सक्ने 
• स्थानीय घोडीबाट जन्मेका खच्चडमा भारवहन क्षमता बढि हुने (१०० कि.गा. सम्म) र हिंउमा समेत भारी बोकी हिडन सक्ने 
• रोग कम लाग्ने

संरक्षण र प्रवर्द्धन

संरक्षण र प्रबर्द्धन

जुम्ली घोडाको संरक्षण र प्रबर्द्धन किन ? 

  • कमी हुदै गएको संख्या घटन नदिई जैविक विविधता कायम राख्न 
  • हाडनाता पजननबाट घोडाको गुणस्तरमा ह्रास आएकाले त्यसबाट बचाई राख्न 
  • देशको दुर्गम विशेष गरी कणर्णाली र वरीपरीको क्षेत्र र भारतको उत्तराखण्ड समेतमा घोडा र खच्चरको आपूर्तिका लागी प्रजनन केन्द्रका रुपमा बिकास गर्न 
  • स्थानीय बासीहरुको आकर्षक आम्दानीको रुपमा रहेको घोडालाई एक जिबिकोपार्जनकै माध्यम बनाइ राख्न 
  • घोडापालनको परम्परागत पद्धतीलाई आधुनिकीकरण र व्यबसायीकरण समेत गर्न सघाउन 


कसरी गर्न सकिएला त संरक्षण ? 
समूदायमा आधारीत संरक्षण र उपयोगको कार्यकम संचालन गर्ने र सो कार्यकमलाई गैह सरकारी क्षेत्र र स्थानीय निकायको समन्वयमा दिगोपना ल्याउन पहल गर्ने 

  • ब्याबसायीक प्रजनन केन्द्र र यसको बजारीकरणका लागी निजी क्षेत्रलाई साझेदारीका कार्यक्रममा संलग्न गराई समूदाय संग आबद्ध गराउन प्रयास गर्ने 
  • घोडा ब्यबस्थापनका प्राविधिक जनशक्ति र पशु आनुवंशिक श्रोत संरक्षण तथा उपयोग सम्बन्धी जनशक्तिको विकास र त्यसको संस्थागत व्यवस्था समेतलाई ध्यान दिने 
  • समूदायको क्षमता विकास गरी सक्षम बनाउने 
  • उच्च पहाड कृषि अनुसन्धान प्रतिष्ठान (Mountain Agriculture Research Institute) मार्फत स्थानीय घोडाको अध्ययन, अनुसन्धान गर्ने बाताबरण बनाई चारीत्रिक गुण तथा आनुवंशिक गुणको पहिचान गरी स्थानिय सम्पतिका रुपमा मान्यता दिलाई Patent Right लिन प्रयास गर्ने
  • स्व स्थान संरक्षण र प्रयोगशालामा विर्य संरक्षण समेत गर्ने 
  • यी क्षेत्रमा भएका चरन क्षेत्रको विकास र संरक्षणका कार्यक्रम एकिकृत गर्ने 
  • समूदायमार्फत प्रतिकुल मौसमबाट अकस्मात हुन सक्ने क्षतिकम गर्न पाटन (खर्क) क्षेत्रमा खुला टहरा निर्माण, मौसम भविष्यबाणीको सुचनामा पहुंच र बिमाको पहुंच पुरयाउने 
  • संरक्षणका प्रयासको प्रचार प्रसार र जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने