परिचय

परिचय

कुनै पनि राष्ट्रको विकासका लागि स्वस्थ जनशक्ति तथा उपलव्ध प्राकृक्तिक श्रोत साधनको उपयोग आवश्यक हुन्छ । स्वस्थ जनशक्तिको उत्पादनका लागि पोषणयुक्त आहाराको महत्वपुर्ण योगदान हुन्छ । प्रोटीन शारिरीक तथा मानसिक विकासका लागि अपरिहार्य पोषक तत्व हो। सामान्य मानिसलाई ४५ ग्राम प्रोटीन प्रति दिन आवश्यक पर्दछ जसको एक तिहाई भाग प्राणीजन्य श्रोतबाट प्राप्त हुनु पर्दछ । यसप्रकार करिब ५.५ किलो प्रोटीन प्रति व्यक्ति प्रति वर्ष आवश्यक हुन आउंदछ। माछा सर्वोत्तम एवं सस्तो प्राणी प्रोटीनको रुपमा विश्वभरी नै प्रख्यात छ। कुनै राष्ट्रले माछाबाट नै प्राणी प्रोटीनको आवश्यकता पुरा गर्न चाहन्छ भने त्यहां माछाको उपलब्धता करिब २८.५ के.जी. प्रति व्यक्ति प्रति वर्ष आवश्यक हुन्छ । नेपाल प्राणी प्रोटीन आपुर्तिमा निकै कमजोर राष्ट्र हो। यहांको कुल आवश्यकताको करिब ५० प्रतिशत मात्र परिपुर्ति हुन सकिरहेको छ, जसमा मत्स्यको योगदान २० प्रतिशत मात्र छ । नेपालमा माछाको उत्पादन करिब २.७ के.जी. प्रति व्यक्ति प्रति वर्ष मात्र छ । जबकि विकसित मुलुकहरुमा यसको उपयोग २८ के.जी प्रति व्यक्ति प्रति वर्ष छ भने विकासशिल राष्ट्रहरुमा करिव १.१ के. जी. प्रति व्यक्ति प्रति वर्ष रहेको छ । मत्स्य प्रोटीन अन्य प्रोटीनको तुलनामा अधिक पाचनयोग्य तथा एमिनो एसीडको मात्रा मानव शरिरलाई आवश्यक अनुपातमा रहेको हुंदा यसको पुर्ण उपयोग हुने गर्दछ, साथै माछामा ओमेगा ३, फ्याट्टीएसिड अधिक मात्रामा उपलव्ध हुने भएको हुंदा यसलाई स्वस्थकर मासुको रुपमा चिकित्सकहरुद्वारा प्रमाणित गरिएको छ । यसैकारणले गर्दा प्रेशर, कोलेस्ट्रोल, मुटुका विरामीहरुले समेत यसको सेवन गर्न सक्दछन्, खासगरी गर्भावस्थामा माछाको अधिक सेवन गर्दा शिशुको बुद्धि तिक्ष्ण हुनुका साथै स्वस्थ तथा निरोगी हुन्छ तथा यसको नियमित सेवनले विभिन्न रोगहरुबाट बचावट गर्नका साथै तिक्ष्ण बुद्धि बनाउन एवं बुद्धावस्थामा भुल्ने लक्षणबाट समेत बचाई मानसिक एवं शारिरीक रुपले स्वस्थ जनशक्ति निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ, फलस्वरुप माछाको माग नेपाल लगायतका मुलुकहरुमा बढ्दै गई रहेको छ।

एकिकृत मत्स्य पालनका नमुनाहरु 

एकिकृत मत्स्य पालन विभीन्न वस्तुहरुको समन्वयात्मक उत्पादन वाट पुर्ण रुपमा गर्न सकिन्छ भने केही वस्तु संग मात्र एकिकृत गरि आंशिक रुपमा समेत गर्न सकिन्छ । जस्तै पोखरीको लागि आवश्यक पर्ने मल ठीक संख्यामा पशुपालन गरि प्रदान गर्न सकिन्छ तथा पशुपालनका लागि आवश्यक आहारा अन्नवाली वा घांस उत्पादन गरि गर्न सकिन्छ। घांस वा बाली उत्पादनका लागि पोखरीको मलीलो माटोको प्रयोग गर्न सकिन्छ। एकिकृत मत्स्य पालनका केही नमुनाहरु निम्नानुसार हुन सक्दछन : 

  • माछा साथ पशुपालन, 
  • माछा साथ तरकारी तथा फलफुल उत्पादन, 
  • माछा साथ घांस खेती, 
  • डीलमा अन्न बाली उत्पादन, 
  • डीलमा काठ तथा दाउरा उत्पादन, र 
  • धान खेतमा मत्स्य पालन ।

विशेषता

फाइदाहरु

fish production

fish production

 

जातहरु

एकिकृत माछा पालन गर्न मिल्ने जातहरु

एकिकृत माछा पालनका लागि सबैभन्दा उपयुक्त माछा प्रजातिहरू ती हुन् जसले पानीबाट फिटोप्लाङ्कटन (phyto plankton), जोप्लाङ्कटन (zoo plankton) र ब्याक्टेरिया (Bacteria)  खाएर आहार लिन्छन्। एकीकृत माछा पालनको उद्देश्य भनेको मलको प्रयोग गरेर पानीमा प्लाङ्क्टन (plankton)  उत्पादन गर्नु हो, जुन माछाका लागि प्राकृतिक आहार हो। ती माछा प्रजातिहरू जसलाई मानिसहरूले खाने र जसले फिटो र जोप्लाङ्क्टनलाई राम्रोसँग उपयोग गर्छन्, एकीकृत माछा पालनको लागि उत्कृष्ट हुन्छ।

१. रोहु

२. कत्ला

३. मृगल

४. सिल्वर कार्प

५. कमन कार्प

६. ग्रास कार्प

 

रोग तथा समस्याहरु

ई.यु.एस (Epizootic Ulcerative Syndrome) रोग

लक्षण : 

  • यो रोग एफेयानोमाइसिस भन्ने ढुसीबाट लाग्छ । शुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ । सो ठाउँमा कत्ला झर्न गई खाल्टो भएको घाउ देखिन्छ। ठाउ र पुच्छरको नजिक भागमा घाउँहरु देखिन्छ । ढाड र पुच्छरको नजिकमा घाउहरु देखिन्छन । जाडोको समयमा स्थानीय जातका माछामा यो रोग वढी लाग्दछ । विकासे माछा मध्ये नैनी र भाकुरमा मात्र यो लागेको पाइएको छ । 

ई.यु.एस (Epizootic Ulcerative Syndrome) रोग :
नेपालमा हाल यो रोगको संक्रमण कृषकहरुको पोखरीमा व्यापक मात्रामा देखिएको छ । यो रोगलाई रातो घाऊ हुने रोग पनि भनिन्छ। खासगरी पानीको तापक्रम २०°C भन्दा कम भएको जाडोको सिजनमा पानीको पींधमा बस्ने र स्थानीय जातका माछाहरु जस्तैः सिद्रा, हिले, नैनी, माागुर आदिमा देखापर्दछ । पानीको तापक्रम बढ्दै गएमा यो रोगको प्रकोप घट्दै जान्छ तर जीवाणु भने पोखरीको पानीमा रहिरहन्छ र पुनः पानीको संक्रमण गरेको ठाउँमा रातो धब्बा हुनु, घाउ हुनु, कत्ला नाश हुनु र यसले गर्दा माछाको बृद्धि नहुने र माछा कमजोर भई अन्यमा मर्न पनि सक्छ।

नियन्त्रण व्यवस्थापन :

  • नियमीत अन्तरालमा पोखरी सुकाई त्यहााबाट जंगली माछाहरु निर्मूल पार्ने र घरपोत्ने चुनको प्रयोग १५-२० के. जी./ कठ्ठाको दरले हाल्ने । 
  • रोगको प्रकोप हेरी एक हप्ताको अन्तरालमा बढीमा ३ पटकसम्म चुनको प्रयोग गर्ने। 
  • पोटासियम पर म्यागनेटको ०.२५-२ एमजी/ लिटर पाईएकोले प्रयोग गर्ने। 
  • माछा मार्ने जाललाई पोखरीमा प्रयोग गरिसकेपछि राम्रोसंग सुकाएर वा एन्टीसेप्टीक रसायनले उपचार गरेरमात्र पुनः प्रयोग गर्ने। 
  • पोखरीको पींधमा बस्ने माछाका जातहरु जस्तैः नैनी, माागुर, रोहु आदि माछाहरुलाई जाडो महिनामा सकभर पोखरीमा नराख्ने ।
  • 3
आर्गुलस (माछाको जुम्रा)

लक्षण 

  • माछाको शरीरको यो माछाको टाउको पखेटा र पुछरमा टासिएको हुन्छ। 
  • यसले रगत चुस्ने भएकोले जिउमा घाउ तथा खटीरा देखा पर्दछ । 
  • माछाको शरिरको कुनैभागमा पनि लाग्न सक्छ। संक्रमित भएको माछा पोखरीमा अस्वभाविकरुपमा छट्पटाउने, उफ्रिने र अचेत हुनेहुन्छ 
  • संक्रमण गरेको ठाउँमा रातो धब्बा हुनु, घाउ हुनु, कत्ला नाश हुनु र यसले गर्दा माछाको बृद्धि नहुने र माछा कमजोर भई अन्यमा मर्न पनि सक्छ । 

नियन्त्रण व्यवस्थापन 

  • परिजीवीले आक्रमण गरिसकेपछि नियन्त्रण गर्नुभन्दा यसलाई रोकथाम गर्नु नै बेश हुन्छ । 
  • पोखरीको पानी नियमीतरुपमा बाहिर बगाउने र राम्ररी सुकाउने आदि कार्यले पनि यो परिजीवीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । 
  • संक्रमित पोखरीमा प्रयोग गरिएको उत्पादन सामग्रीहरु जस्तै जाल, हापा, भुराहरु तथा माछाहरु अन्यत्र स्थानान्तर गर्दा वा प्रयोगमा ल्याउदा राम्ररी सुकाएर वा उपचार गरेर मात्र गर्ने। 
  • पोखरीमा बाासको वा काठको पोल ठड्याएर गाडीदिएमा संक्रमीत माछाले सो पोलमा आफ्‌नो शरिरलाई रगडिई परिजीवीबाट छुटकारा पाउन कोशिश गर्छ। 
  • disease
सेतो थोप्ले रोग

लक्षणहरु

  • शरीरको बाहिरी भागमा सेतो थोप्लो देखा पर्दछ
  • ढाड र जिउमा छाला पातलो भई घाउ देखिन्छ

औषधि उपचार

  • संक्रमित माछालाई २-३% नुन पानीमा (२-३ ग्राम नुन प्रति १०० मी.लि. पानी) २-३ मिनेटसम्म राख्नु पर्छ । सो उपचार एक हप्तासम्म गर्नु पर्दछ । 
  • फर्मालिन १५ पि.पि.एम. र मालाकाईट ग्रिन ०.०२ पि.पि.एम पानीमा मिसाएर बनाईएको झोलमा ३०-६० सेकेन्ड सम्म संक्रमित माछालाई राखी संक्रमण नभएको पोखरीमा राख्ने र इक परजीवी नियन्त्रण नभएसम्म हरेक दोश्रो दिन यो उपचार विधि प्रयोग गर्नु पर्छ । 
  • गर्मियाममा फर्मालिनको प्रयोगबाट अक्सिजनको कमी हुने सम्भावना भएकोले यसलाई प्रयोग गरेको २४ घण्टा पछि स्वच्छ र सफा पानी लगाई दैनिक कम्तीमा ५०% पुरानो संक्रमित पानीलाई नयाँ स्वच्छ पानीले विस्थापित गराउनु पर्दछ । 
  • पोखरीमा मलखादको प्रयोग भरखरै गरिएको छ भने फर्मालिनको प्रयोग गर्नु हुँदैन । 
  • यो परजीवी लाग्न नदिन पोखरीमा भुरा राख्नु अगावै ५०० कि.ग्रा. प्रति हेक्टरको दरले चुना प्रयोग गर्नु पर्दछ । 
  • सक्रमण भई मरेका माछालाई पोखरीबाट झिकी जमिन मुनि गाड्नु पर्दछ ।

d

उत्पादन

उत्पादन विधि
उत्पादन विधि

फिंगरलिङ माछा पोखरीमा राख्नका लागि जुन र जुलाई महिना सबैभन्दा उपयुक्त मानिन्छ। तर, जलवायु र पोखरीमा पर्याप्त पानीको उपलब्धतामा भर पर्नाले फिंगरलिङ राख्ने समय फरक-फरक हुन सक्छ। तापक्रम १८ देखि २० डिग्री सेल्सियसभन्दा कम हुँदा माछाको वृद्धि सीमित हुन्छ। जाडो महिनामा माछाको वृद्धि सुस्त हुन्छ भने वर्षायाममा माछा छिटो बढ्ने गर्छ। जाडो र सुख्खा महिनामा पोखरीमा पानीको सतह निकै कम हुन्छ। त्यसैले जाडोपछि, अर्थात् वर्षायाममा फिंगरलिङ राख्न सल्लाह दिइन्छ र पोखरीमा पानीको अभाव हुनुअघि माछा निकाल्नुपर्छ।सामान्यतया, फिंगरलिङ राखेपछि १२ महिनामा माछा निकालन सकिन्छ। तर, जहाँ पोखरी ८ देखि ९ महिना मात्र पानीले भरिएको रहन्छ, त्यहाँ फिंगरलिङ अप्रिलमा राखेर नोभेम्बर वा डिसेम्बरमा माछा निकाल्न सकिन्छ।कम्पोजिट माछा पालनमा ३, ४ वा ६ प्रजातिका माछाहरू राख्न सकिन्छ, बजारमा फिंगरलिङको उपलब्धता अनुसार। एकीकृत पशुपालन-माछा पालन प्रणालीमा सतह, मध्य सतह र तल्लो सतहमा खाने माछाहरूलाई समावेश गरिन्छ। ३ प्रजातिमा कटला, रोहु र मृगलको अनुपात ४:३:३ हुन्छ। ४ प्रजातिमा कटला, रोहु, मृगल र कमन कार्पको अनुपात ३:३:३:२ हुन्छ। ६ प्रजातिमा कटला, रोहु, मृगल, सिल्भर कार्प, ग्रास कार्प र कमन कार्पको अनुपात १.५:२:१.५:१.५:१.५:२ हुन्छ।कटला र सिल्भर कार्प सतहमा खाने माछा भएकाले यी दुईको संयुक्त अनुपात ३० देखि ३५ प्रतिशतभन्दा बढी हुनु हुँदैन। रोहु मध्य सतहमा खाने माछा हो, जसलाई ३ देखि ४ मिटर गहिराइ भएको पोखरीमा १५ देखि २० प्रतिशत अनुपातमा राख्नुपर्छ। मृगल र कमन कार्प तल्लो सतहमा खाने माछा हुन्, जसको अनुपात ४० देखि ४५ प्रतिशतसम्म राख्न सकिन्छ। ग्रास कार्प ५ देखि १० प्रतिशत मात्रै राख्नुपर्छ, र यसलाई जमिनको घाँस, तरकारीको फोहर, केराको पात वा जल वनस्पतिले खुवाउन सकिन्छ।Central Inland Fisheries Research Institute र ICAR Research Complex for NEH Region, बारापानीले हास-माछा एकीकृत प्रणालीका लागि ६००० फिंगरलिङ प्रति हेक्टर र सुँगुर-माछा एकीकृत प्रणालीका लागि ६००० देखि ७००० फिंगरलिङ प्रति हेक्टर सिफारिस गरेका छन्।

पोखरीको तयारी

स्थल छनोट

कुनै पनि जलाशयमा माछा हुर्काइ नियन्त्रित अवस्थामा गरिने उत्पादन कलालाई मत्स्यपालन भनिन्छ । नियन्त्रित अवस्थामा माछा पालनका लागि नियन्त्रण गर्न सकिने उत्पादन क्षेत्रको आवश्यकता पर्दछ । नियन्त्रित अवस्थामा माछा पालन गर्न पोखरी एक प्रमुख उत्पादन क्षेत्र हो । तराई क्षेत्रको गाउँघरमा विभिन्न धार्मिक, सामाजिक कार्यका लागि खनिएका पोखरीहरु मध्ये अधिकांश हाल मत्स्य पालनको लागि उपयोग भईरहेका छन् । तर माछा पालनको लागि उपयुक्त स्थल छनौट सम्बन्धि ज्ञानको अभावमा गलत स्थलको छनोटको कारणले निकै ठूलो संख्यामा निर्माण गरिएको पोखरीहरुमा मत्स्य पालन त्यति सफल हुन सकिरहेको छैन भने कतिपय पोखरीहरु मत्स्य पालनको लागि रुग्न वा मृत अवस्थामा छन् ।

पोखरी निर्माणमा स्थल छनौटको महत्व 

  • पोखरीको उत्पादन क्षमता तथा उपयोगिता स्थल छनौटमा भर पर्दछ । 
  • पोखरी निर्माण गलत स्थानमा भईसकेपछि त्यस जग्गाको अन्य उपयोग हुन सक्दैन । 
  • पोखरी निर्माण गर्न निकै खर्च लाग्दछ । गलत स्थानको चयन हुन गएमा लगानी डुब्न सक्दछ। 
  • स्थलको छनौट माथि नै मत्स्य पालन व्यवसायको सफलता वा असफलता निर्भर गर्दछ ।
  • पोखरीको निर्माण खर्च स्थल छनौट माथि प्रत्यक्ष रुपले निर्भर गर्दछ । स्थल छनौटले संचालन खर्चलाई समेत प्रभावित गरिरहेको हुन्छ । त्यसकारणले मत्स्य पालनको लागि पोखरी निर्माण स्थल चयन गर्दा मुख्यतया निम्नलिखित गुणहरु माथि विचार पुऱ्याउनु पर्दछ, जस्तै पानीको श्रोत, माटोको बनोट, जलवायु, जमिनको बनोट, यातायात, बजार, हेरचाह तथा सुरक्षा ।
पानीको श्रोत

राम्रो माटोमा पोखरी निर्माण गरी चुहावटलाई न्युनतम ०.५ से.मी. दिन राख्न सकिन्छ । त्यसै गरी तराई क्षेत्रको वार्षिक वाष्पिकरण १.५ मीटर देखि १.८ मीटर सम्मको पाइन्छ । अर्थात् दैनिक करिब ०.५ से.मी. औसत वाष्पिकरणबाट हास हुने देखिन्छ । यसप्रकार पोखरी जस्तोसुकै राम्रो माटोमा बनाइएको भएतापनि न्युनतम दैनिक करिब १ से.मी. पानीको हास हुने गर्दछ। तसर्थ पानी यति मात्रामा उपलव्ध हुन सक्नु पर्दछ, जसले गर्दा चाहिएको बखत पानी भर्नेको साथै पानीको दैनिक हासलाई समेत पुरा गर्न सकोस् । पानीको नियमित श्रोतको अभावमा अर्थात् बर्षातको भरमा पोखरी संचालन गर्ने हो भने पोखरीको गहिराई न्युनतम ४.५ मीटर हुनु पर्दछ, जुन आर्थिक दृष्टिकोणले लाभदायक हुन सक्दैन । पानीको भरपर्दो श्रोत भनेको इच्छाइएको बेलामा न्युनतम प्रयास तथा खर्चबाट आवश्यक परे जति पानीको आपुर्ति गर्न सकियोस् । यस्तो श्रोत मुल, ताल, रिजर्भायर, आर्टिजन, बोरिङ्ग, व्यक्तिगत कुलो,भरपर्दो नहर हुन सक्दछ । इनार, खोला तथा स्यालो बोरिङ्गबाट मात्र पानीको आपुर्ति गर्दा थप खर्च लाग्ने हुन्छ जसले गर्दा व्यवसाय त्यति आकर्षक रहन जादैन। यस्तो श्रोत आकस्मिक अवस्थामा प्रयोग गर्न वा वैकल्पिक श्रोतको रुपमा मात्र उपयोगी हुन सक्दछ । तर ह्याचरी संचालन तथा भुरा उत्पादन गर्नका लागि यस्तो श्रोत समेत उपयोगी हुन्छ । पानीको मात्रा निर्धारण गर्दा सुख्खा समयको हिसाब गर्नु राम्रो हुन्छ । पानीको मात्रा कम भएमा उत्पादनलाई प्रभावित गर्दछ । ७ क‌ट्ठाको पोखरीको लागि पानीको नियमित श्रोत भएमा ०.४ लि. से. पानीको बेग हुनु पर्दछ तथा ५-७ हर्ष पावरको पम्पले दैनिक ४५ मिनेट वा हप्तामा ५ घण्टा पानी थप्नु पर्ने हुन्छ ।

माटोको बनोट

पोखरीको निर्माणमा माटोको महत्वपुर्ण भुमिका हुन्छ किनकी पोखरीको उत्पादकत्व तथा पानी अड्ने क्षमता प्रत्यक्ष रुपमा माटोबो बनोट माथि निर्भर गर्दछ। चिम्ट्याइलो माटो पानी अडाउन सबभन्दा राम्रो माटो हो। तर यसका कणहरु पानीमा तैरी राख्ने भएकोले पोखरीको पानीलाई धमिलो पारी प्रकाशलाई अवरुद्ध पार्नुका साथै आवश्यक पोषक तत्वहरुलाई आफुमा बांधी पोखरीलाई अनुत्पादक बनाउंदछ । तसर्थ चिम्ट्याइलो दोमुट माटो मत्स्य पालनको लागि सबैभन्दा बढी उपयुक्त मानिन्छ । बलौटे माटोको पानी राख्न सक्ने क्षमता कम हुन्छ । साथै सोबाट तयार पारिएको डिल कमजोर हुन्छ । तसर्थ बलौटे माटो भएको स्थानमा पोखरी निर्माण गर्नु हुदैन ।

ee

 

जलबायु

हरेक स्थानमा हरेक किसिमका माछा पाल्न सकिदैन । खास किसिमका माछाको राम्रो सम्बर्द्धनको लागि खास किसिमको जलवायुको आवश्यकता पर्दछ । कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन् । यसको बृद्धिको लागि १८० देखि २२० से. सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ । ७महिना भन्दा कम समय यो तापक्रमको मान उपलव्ध हुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुँदैन । कार्प माछा पालनमा प्रकाशले समेत मुख्य भुमिका निर्वाह गर्दछ । तसर्थ जुन क्षेत्रमा बढी समय सम्म सुर्यको प्रकाश पाइन्छ, माछाको बृद्धि त्यति नै बढी पाइन्छ । हाम्रो देशमा तराई तथा भित्री मधेश कार्प मत्स्य पालनका उपयुक्त क्षेत्र हुन् । तसर्थ स्थल छनौट गर्दा उक्त स्थानको जलवायुलाई समेत विचार गर्नु पर्दछ, अन्यथा पालन कार्य असफल हुन सक्छ ।

यातायात तथा बजार

उत्पादनका लागि आवश्यक बस्तुहरु उत्पादन केन्द्र सम्म पुऱ्याउनका लागि बाटोघाटो नितान्त आवश्यक हुन्छ । अन्यथा अतिरिक्त खर्च (Overhead cost) बढेर जानुका साथै व्यवस्थापन कार्य समेत निकै कठिन हुन्छ । उत्पादनका लागि आवश्यक सामग्रीहरु चाहिएको बखत सजिलैसंग उपलव्ध हुन सक्ने तथा उत्पादित वस्तु सजिलैसंग बिक्री हुन सक्ने बजार हुनु नितान्त आवश्यक हुन्छ । उत्पादन स्थलबाट बजारको दुरी जति बढी हुन्छ तथा यातायातको जति असुविधा हुन्छ फाइदाको मात्रा त्यति नै कम हुन्छ, किनकी लागत खर्च बढी लाग्ने तथा उत्पादित वस्तु सस्तोमा बिक्री गर्नु पर्ने वा बजारसम्म पठाउंदा बढी खर्चिलो हुन्छ । तसर्थ पालन स्थलको छनौट गर्दा बाटो घाटो या यातायातको सुविधा तथा नजिक भन्दा नजिक बजार भएमा उपयुक्त मानिन्छ ।

पोखरी निर्माण

पोखरीको आकार प्रकार

पोखरीको आकार उपयोगको आधारमा सानो वा ठूलो हुन्छ। भुरा हुर्काउनको लागी सानो तथा खाने माछा उत्पादनको लागी ठूलो पोखरी बनाउन राम्रो हुन्छ । उपयोगको आधारमा निम्नानुसार साईज राख्न सकिन्छ; 
नर्सरी पोखरी ( ०.०५ ०.२ हे.) 
माउ पोखरी (०.२ - ०.५ हे.) 
उत्पादन पोखरी (०.२ ३.० हे.) 


सानो पोखरीमा व्यवस्थापनको कार्य सरल हुन्छ तर प्रति ईकाइ जलाशय खर्च बढी लाग्दछ तथा जग्गाको अनुपातमा कम जलाशय प्राप्त हुन्छ । पोखरीको साईज व्यवस्थापन गर्न सक्ने क्षमताको आधारमा ठूलो भन्दा ठूलो राख्नु फाईदाजनक हुन्छ । पोखरी बनाउंदा वर्गाकार पोखरी किफायती हुन्छ भने आयताकार पोखरी व्यवस्थापन गर्न सरल हुन्छ । धेरै ठूला वर्गाकार पोखरी बनाउन सकिदैन । तसर्थ लम्बाई तथा चौडाई विचको अन्तरलाई न्युन राखी (यथासंभव) डिजाइन गर्नु पर्दछ। लम्बाई र चौडाई बिच जति ठूलो अन्तर हुन्छ डिलले त्यत्तिनै बढि क्षेत्रफल ओगट्छ र जलाशय त्यत्तीनै कम प्राप्त हुन्छ। डिलको चौडाई ५० मिटर भन्दा बढी राख्दा जाल तान्ने कार्य कठिन हुन्छ ।

3

डिलको बनावट

डिलको बनावट यस्तो हुनु पर्दछ जस्ले बाढीबाट पोखरीलाई सुरक्षित राख्न सकोस साथै पोखरीको पानीको चापलाई धान्न सकोस र पानीलाई बाहिर चुहिनबाट बाचावोस । डिल बनाउँदा निम्नलिखित कुराहरु माथि विचार गर्नु पर्दछ ।

dil
पानी प्रवेशद्वार तथा निकास

पोखरीमा पानी भर्न तथा पानी निकाल्नको लागी प्रवेश तथा निकासद्वारको व्यवस्था गरिन्छ । जसको माध्यमबाट पोखरीमा भर्न वा सुकाउन सकिन्छ भने माछालाई भाग्न बाट बचाईन्छ र माछाका शत्रुलाई प्रवेश गर्नबाट वन्चित गरिन्छ । पानीको प्रवेशद्वार माथिल्लो भागमा तथा निकासद्वार सबभन्दा होचो स्थानमा बनाउनु पर्दछ । पोखरीको माटो काट्दा स्लोपमा काट्नु पर्दछ । तथा पोखरीको एउटा विन्दु सबभन्दा गहिरो हुनु पर्दछ । त्यहीनै पानीको निकासद्वार बनाईन्छ । पानीको प्रबेश तथा निकासद्वारको साईज पोखरीको साईज माथी भर पर्दछ । प्रवेशद्वार तथा निकास बनाउन ईट्टा, सिमेन्ट, पोलिथिन पाईप आदीको प्रयोग गर्न सकिन्छ । 

वर्म लाईन : 
ठूलो पोखरी बनाउदा डिलहरुलाई सुरक्षित राख्नका लागी साथै व्यवस्थापनलाई सरल बनाउनका लागी पेटी छाडिन्छ जसलाई वर्मलाईन भनिन्छ । वर्मलाईन १-३ मिटरको पेटी पोखरीको डिलको भित्र पट्टी चारै तिर राखेर मात्र माटो काट्‌ने कार्य गरिन्छ । 

carp

 

पोखरी व्यवस्थापन

व्यवस्थापन

प्रकारहरू

माछा साथ हांस पालन 

हांसको विकास पानी भएमा राम्ररी हुने गर्दछ । हांसले पानीमा भएका किरा फटेङ्ग्रा, ठूला वनस्पती, भ्यागुता तथा भ्यागुताको बच्चा, घोंघी तथा जंगली स-साना माछाहरु खाई दिन्छ जुनकि पोखरीमा भई रहेमा उत्पादनमा प्रतिकुल प्रभाव पार्दछ । हांसको मलमुत्र तथा खेर जाने दानाले पोखरीलाई अधिक उत्पादनशील बनाउंदछ । हांस पानीमा तैरिंदा पानीमा अक्सिजन घोल्न एरेटरको काम गर्दछ साथै पोखरीको सुन्दरतालाई समेत बढाउंदछ । हांस पालन गर्दा विकासे जातका हांस पाल्नु उचित हुन्छ । नेपालमा पेकिङ्ग (सेतो), हङ्गकङ्ग क्रस (खैरो तथा टाटेपाटे) एवं खाकी क्याम्पवेल (खाकी) जातका विकासे हांस उपलव्ध छन् । जुनकि मासु तथा अण्डा दुबैको लागि उपयुक्त छ । एक कट्ठा जलाशयको लागि १५-२० गोटा हांस पाल्नु उपयुक्त हुन्छ। एउटा हांस बस्नको लागि २ वर्ग फिट स्थानको हिसाबले खोर बनाउनु पर्दछ । हांसका शत्रुहरुबाट जोगाई राख्न साथै हांस निश्चित स्थानमा मात्र खेल्ने गरी पोखरी भित्र घेरा हाल्नु पर्दछ । २ देखि ३ महिनामा एउटा हांसबाट करिब ६ किलो मल तथा २ किलो मासु प्राप्त गर्न सकिन्छ । हांस साथ एकिकृत मत्स्य पालनमा दाना, मलको प्रयोग बीना नै ३ टन/हे. सम्म उत्पादन हासिल गर्न सकिन्छ । हांस ४ हप्ताको भई सके पछि मात्र पानीमा छाड्नु पर्दछ तथा हांस छाडीने बेला सम्म माछाको साइज २५ ग्राम नांधीसकेको हुनु पर्दछ ।

duck and fish

 

माछा साथ बंगुर पालन

पोखरीको डिलमा खोर बनाएर बंगुर पालन गरिन्छ जसले गर्दा बंगुरको मल त्यसै खेर नगई उत्पादन बढाउनुका साथै बातावरणलाई दुषित हुनबाट बचाउंछ । बंगुरको मल मानिसले अन्य प्रयोजनमा प्रयोग गर्दैनन् साथै छुनमा समेत घीन मान्दछन् । यस्तो अवस्थामा पोखरीको डीलमा खोर बनाउंदा केही बाल्टीन पानी हालेर मललाई पानीमा पठाउन सकिन्छ । बंगुरलाई दिइएको दानाको करिब ३०% भाग पच्न बांकी नै हुन्छ जुनकी माछाको लागि राम्रो आहाराको काम गर्दछ । नेपालमा विकासे जातका बंगुरहरु योर्कशायर हैम्पशायर तथा लैण्डरेश छन् । बंगुरलाई मलको कारखाना समेत भन्ने गरिन्छ । एउटा बंगुरले ६ महिनामा २५० किलो सम्म मल दिन्छ साथै सोही अवधिमा ६० किलो मासु दिन्छ । 

fp


 

माछा साथ कुखुरा पालन

पोखरीको डिलमा कुखुरा खोरको निर्माण गरी कुखुरा समेत पाल्न सकिन्छ । दुई तल्ले घर बनाई माथी कुखुरा तथा तल बंगुर पाल्दा अझ बढी फाइदा लिन सकिन्छ । यसमा कुखुराको मल बंगुरको दाना बन्दछ भने बंगुरको मल माछाको दाना बन्दछ । कुखुरा पालन मात्र गर्दा समेत सोबाट प्राप्त हुने मल पोखरीलाई निकै फाइदाजनक हुन्छ । कुखुरा बोइलर वा लेयर जुनसुकै पनि पाल्न सकिन्छ । यसको अलावा मल प्राप्त गर्न सकिने कुनै पनि पशु डिलमा पाल्न सकिन्छ । जस्तैः गाई, भैंसी, बाखा, परेवा, रेशम किरा, आदि । धेरै संख्यामा पशुहरु पालिएका भए गोबर ग्यांस संचालन गरि खाना पकाउने, बत्ती बाल्ने कार्य गर्नुका अलावा पचेको स्लरी पोखरीलाई मलीलो पार्न प्रयोग गर्न सकिन्छ ।

fandp

 

माछा साथ तरकारी, फलफुल तथा घांस खेती 

पोखरीको डीलको पुर्ण सदुपयोग गर्न डीलमा फलफुल, तरकारी वा घांस खेती गर्न सकिन्छ । फलफुल खेती गर्दा झांगीने खालका ठूला रुख हुने फलफुल लगाउनु हुँदैन अन्यथा पोखरीमा प्रकाशको प्रवेशलाई अवरुद्ध गर्दछ । त्यसैले केरा, मेवा, नरिवल, सुपारी, भुईकटहर जस्ता फलहरु डीलमा लगाउन उपयुक्त हुन्छन् ।तरकारीमा बढी पात हुने तथा पानी जम्न नहुने खालका तरकारी खेती गर्नु बढी फाइदाजनक हुन्छ जस्तै बन्दाकाउली, फुल काउली, गोलभेंडा, भेण्टा, करेला, भीण्डी, खुर्सानी तथा अन्य सागहरु उपयुक्त हुन्छन किनकी यीनको विक्रीबाट प्राप्त हुने लाभको अलावा कुहिएका फल तथा पात माछाको लागि लाभदायक हुन्छन् । वर्षातको समयमा डीलमा लगाइएको खेतीबाट निकै फाइदा लिन सकिन्छ । पोखरीको डीलमा विकासे घांसको खेती गरी ग्रास कार्प माछाको आहारा तथा अन्य पशुहरुको लागि आहारा उत्पादन गर्न सकिन्छ । नेपीयर, पारा, वर्सिम, सुडान, राई तथा जै जस्ता घांसहरु लगाउनु उपयुक्त हुन्छ । यी खेतीहरु गर्दा वर्षेनी पोखरी सफा गर्दा निस्किने मलिलो माटो (Pond humus) ले गर्दा मलखादको प्रयोग बीना नै राम्रो बाली प्राप्त गर्न सकिन्छ साथै पानी समेत नजिक भएकोले अझ बढी सरल हुन जान्छ ।

fish vegetable fruits
डीलमा अन्न, दलहन तथा काठ उत्पादन 

डीलमा अझ खाली स्थान रहन गएमा मकै, मुंग, मटर, मास, भटमास, तोरी, रहर जस्ता वस्तुहरुको खेती गरी उत्पादन लिन सकिन्छ यसले माछाको दानाको लागि आवश्यक पर्ने वस्तुहरु उपलव्ध गराउंदछ । दाउरा वा काठको लागि पोखरीको बाहिरी भागमा सिसौं जस्ता बढी नझांगीने खालका बोट हुर्काउन सकिन्छ तर दुरी यस्तो राख्नु पर्दछ जसले गर्दा प्रकाश अवरुद्ध नहोवोस् । यसका लागि समय समयमा कांटछांट गर्नु आवश्यक हुन जान्छ । प्रकाशलाई अवरुद्ध नगर्न पश्चिमी तथा उत्तरी डीलमा मात्र बृक्षारोपण गर्नु उचित हुन्छ । 
 

अन्य

यसको अलावा हाल निकै लोकप्रीय हुदै गई रहेको रेशमखेतीको कार्य पोखरीको डीलमा सफलताका साथ सम्पन्न गर्न सकिन्छ । किम्बु पानी नअड्ने स्थानमा राम्ररी हुर्किन्छ । तसर्थ, पोखरीको स्लोपमा किम्बुको बिरुवा लगाउंदा डीललाई बलियो बनाउनका साथै बढी पात ग्रास कार्प माछाको आहारा हुन सक्छ साथै रेशमकिराको मलमुत्र पोखरीलाई मलिलो बनाउंदछ तथा प्युपा दानामा मिसाई प्रयोग गर्दा दानाको गुणस्तर बढेर जान्छ । यसको अलावा फल बिक्रीबाट समेत पर्याप्त आम्दानी प्राप्त गर्न सकिन्छ । यसप्रकार आफ्‌नो आवश्यकता तथा झुकाव अनुसार जस्तो किसिमको एकिकृत प्रणाली अपनाउन मन लाग्छ अपनाउन सकिन्छ तर डीलको पुर्ण सदुपयोग हुने व्यवस्था मिलाउनु नितान्त आवश्यक हुन्छ अन्यथा प्राकृतिक श्रोतको समुचित उपयोग हुन सक्दैन ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

व्यवसायिक मत्स्य पालन प्रविधि पुस्तिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रुपन्देही

माछापालन प्रविधि (हाते पस्तिका) पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय, मत्स्य बिकास शाखा १ नं. प्रदेश 

पोखरीमा कार्प माछा पालन प्रविधि मत्स्य विकास केन्द्र, भण्डारा, चितवन

व्यवसायिक माछा पालन प्रविधि पुस्तिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन, बारा