भेंडाहरु मुलुकको, विशेषगरी पहाड र हिमालका लागि एउटा महत्वपूर्ण पशुधन हो । मुलुकमा ८.० लाख भेंडाहरु रहेका छन् । यसमध्ये ५ देखि १० प्रतिशत विदेशी (शुद्ध वा वर्णशंकर) छन् भने बाँकी रैथाने हुन् जसले यो देखाउँछ कि सबैभन्दा बढी योगदान रैथानेबाटै उपलब्ध हुन्छ । यिनीहरुलाई मुख्यतः ऊन, मासु, मल र भारी बोक्ने काममा (विशेषगरी पहाड र हिमालमा) का लागि पालिन्छ। यसबाहेक यिनीहरुका अन्य उपयोग पनि छन्, जस्तै छाला, हाड र रौं । त्यसभन्दा बाहेक यिनीहरुको मुलुकमा सांस्कृतिक र सामाजिक महत्व पनि उत्तिकै छ । मुलुकका लगभग ३ % (३.४%) घरपरिवारले भेंडापालन गर्दछन् । भेंडापालनको मुख्य कार्य ऊन उत्पादन हो । यिनीहरुको ऊनलाई राडीपाखी बनाउन प्रयोग गरिन्छ । यिनीहरुको ऊनलाई अझ नरम र उत्कृष्ट बनाउन अन्य धेरै विदेही नश्लका भेंडाहरु (पोलवार्थ, मेरिनो, बोर्डर लिसिस्टर, रामबोइलेट र रोमनी मार्स) लाई मुलुकमा आयात गरिएको थियो र स्थानीय नश्लसँग वर्णशंकर (क्रसब्रीड) गराइएको थियो । धेरैजसो वर्णशंकर कार्य विदेशी पोलवार्थको बरुवल जातको स्थानीय भेंडासँग गरिएको थियो । वर्णशंकर कार्यले वर्णशंकरित भेंडामा ऊन उत्पादन वृद्धि गर्न त सफल भयो तर वर्णशंकरित भेंडाको ऊनलाई प्रयोगमा ल्याउन (कात्न र कोर्न) समस्या आयो । त्यसैले वर्णशंकर कार्य लामो समयसम्म टिक्न सकेन ।
मुलुकमा हालसम्म पहिचान भएका र चारित्रीकरण भएका जम्मा चारवटा भेंडाका नश्लहरु छन् । तिनीहरु लामपुच्छ्रे, कागे, बरुवाल र भ्याङ्गलुङ्ग हुन् । भेंडाको अनुमानित कुल जनसंख्यामध्ये ४% भ्याङ्गलुङ्ग, ६३% बरुवल, २१% कागे र १२% लामपुच्छ्रे छन् । करीब ८४% भेंडाहरु पहाडी क्षेत्रमा पाइन्छन् भने बाँकी चाँहि तराईमा छन् । लामपुच्छ्रे बाहेक अन्य तीन नश्ललाई क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ । रैथाने मध्येमा भ्याङ्गलुङ्गमात्र एक नश्ल हो जसले गलैंचाका लागि उपयुक्त ऊन उत्पादन गर्दछ । यिनीहरु उच्च पहाड र घुम्ती बसाइँ प्रणाली हुने स्थानहरुमा अवस्थित पाइन्छन् । लामपुच्छ्रेहरु तराईका जिल्लाहरुमा अवस्थित पाइन्छन् र सामान्यतया मासुका लागि पालिने पशु हुन् । कागे भेंडाहरु भित्री उपत्याका र न्युन पहाडतिर पाइन्छन् । यिनीहरुले खस्रो ऊन उत्पादन गर्दछन् । मध्यपहाडतिर पाइने बरुवल भेंडा चाँहि रैथाने नश्ल मध्ये प्रमुख हो ।






