सुंगुरहरु नेपालका एक महत्वपूर्ण पशुधन हुन् । मुलुकमा हाल ११ लाख सुंगुरहरु रहेका छन् । देशमा रहेका कुल संख्या मध्ये २०% विदेशी नश्लमा सुंगुर (शुद्ध वा वर्णशंकर) छन् भने बाँकी रैथाने हुन् । यस तथ्याङकबाट प्रष्ट हुन्छ कि धेरैजसो सुंगुरमा भएको योगदान रैथाने नश्लबाटै प्राप्त हुन्छ । नेपालमा सामान्यतया सुंगुरहरु मासुका लागि पालिन्छ जसले मानव जिवनलाई चाहिने अपरिहार्य प्रोटिनलाई धेरै हदसम्म पुरा गर्छ। अझ विशेष गरी हिमाली तथा पहाडी जनजिवनमा यसको भुमिका निकै महत्वपूर्ण छ । मुलुकमा यिनीहरुको सामाजिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । धेरै समुदायहरुमा बंगुर वा सुंगुरहरुलाई सामाजिक जमघट तथा चाडबाडहरुमा प्रयोग गरिन्छ । केही समुदायहरुमा त सुंगुरलाई प्रायः विवाहउत्सवहरुमा उपहारस्वरुप पनि दिने चलन छ । मुलुकका करिब १०% (९.९%) घरपरिवारमा सुंगुरपालन गरिन्छ । यो तथ्याङ्क पहाडीभागमा र जनजाति समूहमा अझ बढी पाइन्छ ।
सुंगुरहरुले सानो पशुधनका रुपमा नेपाली जनता, मुख्यगरी गरिब तथा बढी मूल्य र व्यवस्थापन खर्चका कारण ठूला पशुपालन गर्न नसक्ने कृषकहरुका निम्ति जीविका निर्वाह गर्न ठूलो योगदान दिएका छन् । सुंगुरहरुलाई प्रायजसो भान्साका बाँकी बचेका खाना वा रछ्यान खुवाएर पालिएको पाइन्छ । सुंगुरको मासु, जसलाई अंग्रेजीमा 'पोर्क' भनिन्छ, विगतमा मुलुकका केही विशेष समुदायले मात्र उपभोग गर्ने गर्दथे। तर हाल आएर यो प्रचलनमा परिवर्तन आउँदै छ र विगतमा सुंगुर नछुने वा मासु नखाने जातजातिहरुले पनि अहिले यो मासु उपभोग गर्न थालेका छन् । यसले सुंगुर पालन उत्पादनलाई विगतमा भन्दा अहिले धेरै प्रभावकारी र आकर्षक बनाएको छ । नेपालमा हालसम्म पहिचान भएका तीनवटा रैथाने सुंगुरका नश्लहरु छन् जसको बारेमा आगामी पृष्ठहरुमा विस्तृत रुपमा व्याख्या गरिएको छ । तिनीहरु हुर्रा, च्वाँचे र बामपुड्के हुन् । तराईमा पाइने हुर्रा सुंगुरले कुल सुंगुर जनसंख्याको २३% भागको प्रतिनिधित्व गर्दछ । पहाडमा पाइने च्वाँचे सुंगुरले कुल जनसंख्याको ५८% भाग ओगट्छ । बामपुड्के सुंगुर वा सानो बँदेल चाँहि जंगली प्रजाति हो तर यसलाई जंगली र घरपालुवा दुवै अवस्थामा पाउन सकिन्छ ।






