परिचय

परिचय

सुंगुरहरु नेपालका एक महत्वपूर्ण पशुधन हुन् । मुलुकमा हाल ११ लाख सुंगुरहरु रहेका छन्  । देशमा रहेका कुल संख्या मध्ये २०% विदेशी नश्लमा सुंगुर (शुद्ध वा वर्णशंकर) छन् भने बाँकी रैथाने हुन् । यस तथ्याङकबाट प्रष्ट हुन्छ कि धेरैजसो सुंगुरमा भएको योगदान रैथाने नश्लबाटै प्राप्त हुन्छ । नेपालमा सामान्यतया सुंगुरहरु मासुका लागि पालिन्छ जसले मानव जिवनलाई चाहिने अपरिहार्य प्रोटिनलाई धेरै हदसम्म पुरा गर्छ। अझ विशेष गरी हिमाली तथा पहाडी जनजिवनमा यसको भुमिका निकै महत्वपूर्ण छ । मुलुकमा यिनीहरुको सामाजिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । धेरै समुदायहरुमा बंगुर वा सुंगुरहरुलाई सामाजिक जमघट तथा चाडबाडहरुमा प्रयोग गरिन्छ । केही समुदायहरुमा त सुंगुरलाई प्रायः विवाहउत्सवहरुमा उपहारस्वरुप पनि दिने चलन छ । मुलुकका करिब १०% (९.९%) घरपरिवारमा सुंगुरपालन गरिन्छ । यो तथ्याङ्क पहाडीभागमा र जनजाति समूहमा अझ बढी पाइन्छ ।

सुंगुरहरुले सानो पशुधनका रुपमा नेपाली जनता, मुख्यगरी गरिब तथा बढी मूल्य र व्यवस्थापन खर्चका कारण ठूला पशुपालन गर्न नसक्ने कृषकहरुका निम्ति जीविका निर्वाह गर्न ठूलो योगदान दिएका छन् । सुंगुरहरुलाई प्रायजसो भान्साका बाँकी बचेका खाना वा रछ्यान खुवाएर पालिएको पाइन्छ । सुंगुरको मासु, जसलाई अंग्रेजीमा 'पोर्क' भनिन्छ, विगतमा मुलुकका केही विशेष समुदायले मात्र उपभोग गर्ने गर्दथे। तर हाल आएर यो प्रचलनमा परिवर्तन आउँदै छ र विगतमा सुंगुर नछुने वा मासु नखाने जातजातिहरुले पनि अहिले यो मासु उपभोग गर्न थालेका छन् । यसले सुंगुर पालन उत्पादनलाई विगतमा भन्दा अहिले धेरै प्रभावकारी र आकर्षक बनाएको छ । नेपालमा हालसम्म पहिचान भएका तीनवटा रैथाने सुंगुरका नश्लहरु छन् जसको बारेमा आगामी पृष्ठहरुमा विस्तृत रुपमा व्याख्या गरिएको छ । तिनीहरु हुर्रा, च्वाँचे र बामपुड्के हुन् । तराईमा पाइने हुर्रा सुंगुरले कुल सुंगुर जनसंख्याको २३% भागको प्रतिनिधित्व गर्दछ । पहाडमा पाइने च्वाँचे सुंगुरले कुल जनसंख्याको ५८% भाग ओगट्छ । बामपुड्‌के सुंगुर वा सानो बँदेल चाँहि जंगली प्रजाति हो तर यसलाई जंगली र घरपालुवा दुवै अवस्थामा पाउन सकिन्छ ।

नस्लहरुको स्थिति 

 बामपुड्के घरपालुवा अवस्थामा लोपोन्मुख छन् भने जंगली अवस्थामा चाँहि अझै पाउन सकिन्छ । संरक्षणका दृष्टिकोणले च्वाँचे सामान्य अवस्थामा छ भने हुर्राहको संख्या घट्दै छ तसर्थ यिनीहरुको संरक्षणका लागि ध्यान दिनु जरुरी छ । 


टेबल  : संरक्षणका हिसाबले रैथाने नश्लका सुंगुरहरुको स्थिति

s

विशेषता

सकारात्मक गुण / विशेषताहरु 

सामान्यतया रैथाने नस्लहरु विदेशी भन्दा मासु उत्पादनको हिसाबले कम उत्पादक हुन्छन् । यद्यपि यिनीहरुका अन्य थुप्रै सकारात्मक विशेषताहरु छन्, जस्तैः तगडापन, स्थानीय कठोर वातावरणमा पनि अनुकूल र कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्नु आदि ।

टेबल : रैथाने नस्लका सुंगुरहरुको सकारात्मक गुण/विशेषताहरु

o

नस्लहरु

नस्ल परिचय

मुलुकका रैथाने नश्लका सुंगुरहरुले सुंगुर जनसंख्याको ८०% भाग ओगट्छन् । विदेशी मुलका नश्लले कुल जनसंख्याको १९% भाग ओगट्छन् । पहिचान गरिएका तथा अन्तराष्ट्रिय स्तरमा दर्ता भएको रैथाने नश्लहरु हुर्रा, च्वाँचे र बामपुड्‌के हुन् । यी मध्ये च्वाँचेले कुल जनसंख्याको प्रमुख भाग ओगटेको छ भने यिनीहरुलाई पहाडीभेगमा पाउन सकिन्छ । यिनीहरु कालो रङ्गका हुन्छन् । हुर्रा सुंगुरहरु तराई क्षेत्रमा पाइन्छन् भने यिनीहरुको रङ्ग खियाजस्तो खैरो हुन्छ । बामपुड्‌के वा सानो बँदेल चाँहि जंगली प्रजाति हो जुन संसारभरमै सबभन्दा सानो सुंगुर प्रजातिको रुपमा चिनिन्छ । यिनीहरुलाई इपिस्टिन (Epstein, 1977) ले 'पिग्मी हग' (Pigmy hog) अर्थात् बामपुड्‌के सुंगुर भनेका छन् । यिनीहरु खिया रङ्ग देखि कालो रङ्गसम्ममा पाइन्छन् । यी रैथाने सुंगुरहरु प्रजनन् गुण, जस्तैः प्रति बेत बच्चा संख्या, छिटो एंव सानो उमेरमै वाली जाने, छोटो बेत अन्तर आदिका लागि धेरै राम्रा हुन्छन् यद्यपि यिनीहरुको शारीरिक तौल विदेशी नश्लको तुलनामा कम हुन्छ ।

पहिचान 

टेबल : रैथाने बंगुरको नस्ल पहिचान

sungur

हुर्रा सुंगुर (Sus domesticus)

हुर्रा सुंगुरहरु तराई क्षेत्रमा (उष्ण तथा उपोष्ण प्रदेशीय हावापानी) पाइन्छन् र यिनीहरुलाई मुख्यगरी मासुका लागि प्रयोग गरिन्छ । हुर्रा सुंगुरहरुले कुल विद्यमान जनसंख्याको २३% भाग ओगट्छन् तथा यिनीहरु तराई क्षेत्रमा पालिन्छन् । यिनीहरु खियारङ्गका हुन्छन् । यिनीहरु तगडा मजबुत हुन्छन् तथा फोहर वा रछ्यान खुवाएर पनि सजिलै हुर्काउन सकिन्छ । यिनीहरुलाई बाहिरी शारीरिक बनावट (फेनोटाइपिक) तथा क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ । यिनीहरुको जनसंख्या घट्‌ने क्रममा छ त्यसैले यिनीहरुको संरक्षणका उपायहरु अवलम्बन गरिनु जरुरी देखिन्छ ।

hurrah

 

च्वाँचे (Sus domesticus)

च्वाँचे सुंगुरहरु तल्लो तथा मध्य पहाडी क्षेत्रहरुमा पाइन्छन् तथा यिनीहरु फोहर वा भान्छामा फालिएका वा उब्रेका फोहोर खाएर पनि राम्रो उत्पादन दिने क्षमता राख्दछ । स्थानीय नश्लमध्ये च्वाँचे सुंगुरले कुल जनसंख्याको ५८% भाग ओगटेको छ तथा यिनीहरु पहाडी भूभागमा दिगोपन पालिन्छन् । यिनीहरु कालो रङ्गका हुन्छन् । यिनीहरु रोगसंग लड्ने शारीरिक क्षमता भएका तथा स्थानीय हावापानी एंव वातावरणमा राम्ररी सुहांउदो र उत्पादन दिने हुन्छन् । यिनीहरुलाई बाह्य शारीरिक बनावट र क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ । संरक्षणको दृष्टिकोणले यिनीहरु संकटमा परेका छैनन् ।

chwache
बामपुड्‌के (Sus domesticus)

बामपुड्के सुंगुरहरु संसारकै सबभन्दा सानो सुंगुरका नश्लको रुपमा चिन्छि । यिनीहरुलाई घरपालुवा र जंगली दुवै अवस्थामा पाउन सकिन्छ तर हाल आएर यिनीहरु घरपालुवा रुपमा विरलै पाइन्छन् अनि यिनीहरु लोपोन्मुख अवस्थामा छन् तर पनि यस सम्बन्धि थप अनुसन्धान र अध्ययन हुन जरुरी छ । यिनीहरुको वयस्क शरीरको तौल २० केजी सम्म हुन्छ ।

bampudke

 

उत्पादन

हुर्रा सुंगुर 

हुर्रा तराई र भित्री उपत्यकाहरुको हावापानीको लागि उपयुक्त एंव रोगसंग लड्न सक्ने क्षमता भएको सुंगुरको जात हो । यिनीहरुले प्रजनन्का लागि वयस्कता औसत ११ महिनाको उमेरमा प्राप्त गर्छन् भने पहिलो सन्तान उत्पादन १४ महिनामा हुने गर्दछ। दुई बेतको अन्तर ६ महिनाको हुन्छ । यिनीहरुले प्रतिबेत प्रति बच्चा औसत ०.८ केजी तौलका ७ वटा सम्म जन्माउँछन् । जन्मेदेखिको १४ महिनाभित्र यिनीहरुको पहिलो ब्याउने समय हुन्छ । जन्मँदा कुल पाठापाठी संख्या ७ हुन्छ भने माउबाट छुटाउँदाको बेलासम्ममा बच्चासंख्या औसत ५.७ रहेको पाइएको छ । औसत बेत अन्तर ५.६ महिना पाइएको छ (टेबल ४) । यिनीहरुले एक वर्षको उमेरमा ४२ केजी शारीरिक तौल हासिल गरिसकेका हुन्छन् । हुर्रा सुंगुरहरु रैथाने नश्लहरुमध्येका सबैभन्दा ठूलो आकारको सुंगुर हो। र हेर्नमा यो जंगली बदेल जस्तै देखिन्छ ।

च्वाँचे सुंगुर 

च्वाँचे सुंगुर पहाडी क्षेत्रमा मासु उत्पादनका लागि उपयुक्त हुने नश्लको सुंगुर हो । यिनीहरु रोगसंग लड्ने क्षमता भएका तथा घर पछाडीको खाली ठांउको लागि सुहांउदो सुंगुरहरु हुन् । यिनीहरुले प्रजनन् वयस्कता ७ महिनाको उमेरमा प्राप्त गर्दछन् भने पहिलो पाठापाठी ११ महिनामा जन्माउँछन् । बेत अन्तर ६ देखि ९ महिना (औसत ७.४ महिना) को हुन्छ । यिनीहरुले एक बेतमा ०.७ केजी औसत तौलका ७ वटा सम्म बच्चा जन्माउँछन् भने माउ छुटाउने  
बेलासम्ममा औसत ६ बच्चा बांकी रहन्छन् । यिनीहरुको जन्मदेखि २३६ दिनमा ब्याउने उमेर पुगिसकेको हुन्छ । यिनीहरु ब्याउँदाको औसत बच्चा संख्या ६.३ र माउबाट छुटाउँदासम्मको बच्चा संख्या औसत ४.६ मापन गरिएको छ । दुई बच्चाको बेत अन्तर ५ महिना पाइएको छ ( टेबल ४) । यिनीहरुले एक वर्षको उमेरमा ३२ केजी शारीरिक तौल हासिल गरिसकेका हुन्छन् । च्वाँचे बंगुरहरु रैथाने नश्लमध्ये मध्यम कोटीका सुंगुरहरु हुन् (टेबल ५)।

बामपुड्के सुंगुर 

बामपुड्के सुंगुर रोगसंग लड्ने क्षमता भएका घरपालुवा एंव जंगली दुवै अवस्थामा विघमान रहेको सुहांउदो सुंगुर हो। यिनीहरुले प्रजनन्‌का लागि वयस्क उमेर ६ महिनामा प्राप्त गर्दछन् भने पहिलो बेत ११ महिनामा जन्माउँछन् । वेत अन्तर ५ महिनाको हुन्छ । यिनीहरुले एकपटकमा ०.६ केजी तौलका औसत ५ वटा बच्चा जन्माउँछन्। यिनीहरुले गुणस्तरीय मासु उत्पादन गर्दछन् जुन मुलुकको सुंगुर खाने समुदायहरुको प्राथमिकतामा पर्दछ । बामपुड्के सुंगुरहरु रैथाने सुंगुरहरुमध्येको सबैभन्दा सानो आकारको सुंगुर हो र यसको वयस्क तौल करिब २० केजी हुन्छ ।

अन्य जानकारी

रैथाने सुंगुरपालनको वर्तमान अवस्था र सम्भावना

देशमा सुंगुरको मासुको उत्पादन क्रमिक रुपमा दिनानुदिन बढ्‌दै गइरहेको छ । सुंगुरको मासुको बढ्दो मागका बावजुद घेरैजसो समुदायहरुमा सुंगुरपालनलाई रैथाने सुंगुरले कुल जनसंख्याको ८०% जनसंख्यालाई समेटेको छ । रैथाने नस्लका सुंगुरहरुलाई कम लगानीमा सफलतापूर्वक पाल्न सकिने साथसाथै विदेशी नश्लका सुंगुरहरु भन्दा नेपाली हावापानीमा घुलमिल हुने क्षमताका हुन्छन् । विदेशी मुलुकका विभिन्न भागहरुमा सुंगुरको मासु अति लोकप्रिय छ । विदेशी नश्लको भन्दा कम मासु उत्पादक भए तापनि रैथाने नस्लहरु उपभोक्ताको अत्याधिक रोजाईमा पर्दछन् । रैथाने नस्लरुको अन्य थुप्रै सकारात्मक गुणहरु छन्, जस्तैः रोगसंग लड्ने क्षमता र स्थानीय कठोर हावापानीमा पनि अनुकूल हुन सक्नु आदि । रैथाने नश्लहरुले कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्ने क्षमता प्रदर्शन गरिसकेका छन् जुन अवस्था विदेशी नश्लमा यस्ता गुणहरु नगन्य मात्रामा पाइन्छ । उदाहरणका लागि, रैथाने सुंगुरहरु (च्वाँचे र हुर्रा) पहाडी र तराई क्षेत्रका पिछडिएका वर्गले रछ्यान खुवाएर हुर्काउँछन् । यिनीहरुले पहाड र तराई क्षेत्रका ग्रामीण जनजिवन जिविकोपार्जनमा अपरिर्हाय भूमिका खेलेका हुन्छन् । केही पहाडी आदिवासी समुदायहरुमा यिनीहरुको धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्वहरु पनि यिनीहरुलाई संरक्षण गरिराख्नु पर्ने केही थप विशेषता हुन् । यी रैथाने नस्लहरुलाई कायम राख्नका लागि विशेष कार्यक्रम तथा प्रजनन नीतिहरु हुनु जरुरी छ । 
रैथाने नस्लका सुंगुरहरुको मासु उत्पादनमा ज्यादै ठूलो योगदान दिएका छन् । वर्तमान समयमा धेरैजसो जातिका मानिसले घरपालुवा (च्वाँचे र हुर्रा) भन्दा जंगली सुंगुर (बँदेल) उपभोग गर्ने गर्दछन् । बँदेलको मासु स्वादका लागि लोकप्रिय छ । पाँचतारे होटेलहरु तथा विभिन्न समारोहहरुमा यसको ठूलो मागका कारण बँदेल (जंगली सुंगुर) पालन एउटा व्यापारिक उद्योगका रुपमा बढ्न सक्ने देखिन्छ । बंदेलको मासु ससेज उत्पादनको लागि निकै नै लोकप्रिय न्छ । त्यसभन्दा बाहेक यी पशुहरुले मल प्रदान गर्दछन् जसलाई माटोको उर्वराशक्ति बढाउन प्रयोग गरिन्छ । कृषकहरुले अहिले आर्थिक अवस्था उकास्न तथा जीविका निर्वाह गर्न ठूलो संख्यामा सुंगुरपालन गर्न थालेका छन् । सुंगुरपालनको तीव्र वृद्धि हुनुका बावजुद कृषकहरु सुंगुरमा प्रजनन् समस्याहरु साथै बँदेलमा भाले पोथीको संसर्गमा निकै कठिनाइ हुने गरेको देखिन्छ ।

जीन बैंक संरक्षण र वर्णशंकर प्रविधिको प्रयोग

पशु प्रजनन् शाखाले केही विदेशी बंगुरमा कृत्रिम गर्भाधान कार्यक्रम सुरुवात गरिसकेको छ । शाखाले आर्थिक वर्ष २०६५/६६ का लागि रैथाने तथा विदेशी बंगुरको वीर्य संकलन, मुल्याङ्कन तथा उत्पादन योजना प्रस्ताव गरेको छ । शाखाको आफ्नै जीन बैंक छ जहाँ केही विदेशी नश्ल ल्यान्डरेस, योर्कशायर र ड्युरोक जातका सुंगुरका सिमेन उत्पादकत्व बंढाउन क्रायोप्रिजर्भ भेसन गरिएको छ । निकट भविष्यमा शाखाले मुलुकका संकटग्रस्त तथा विरलै रैथाने सुंगुरको वीर्य उत्पादन गर्ने लक्ष्य राखेको छ । 
बामपुड्के सुंगुरहरु सबैभन्दा सानो नस्ल हुन् तथा यिनीहरु नेपालमा लोप हुने अवस्थामा छन् । यी विभिन्न रैथाने सुंगुरहरुलाई प्राकृतिक वासस्थानमा संरक्षण गर्नका लागि स्थानीयस्तरमा योजना तथा कार्यक्रमहरु विकास गरी कार्यान्वयन गरिनु अत्यावश्यक छ । हाम्रा रैथाने सुंगुर जनसंख्याको उत्पादकत्व कम छ तसर्थ यिनीहरुलाई विदेशी नस्लसँग वर्णशंकर वा क्रस गराई यिनीहरुको क्षमतावृद्धि गर्नु जरुरी छ । रैथाने नस्लको संरक्षण गर्न तथा विदेशी नश्लसँग वर्णशंकर गराई यिनीहरुको उत्पादकत्व वृद्धि गर्नका लागि कृतिम गर्भाधान उपयुक्त माध्याम हो । पाख्रीबास सुंगुरलाई पूर्वका कृषकहरुले प्रचुर उत्पादकत्व तथा असल मातृत्व क्षमताका कारण नै स्वीकार गरेका हुन् । ओली (१९८५) ले उल्लेख गरेका छन् पाख्रीबास सुंगुरको आगमन संगसंगै पूर्वी क्षेत्रमा किसानहरु आर्थिक क्षमता निकै वृद्धि हुन आएको छ । तर यिनीहरु नै नश्ल निकै कम छ र उत्पादकत्व घट्दै गइरहेको छ । साथै यिनीहरुको उत्पादकत्व पनि घट्दै गएको छ । तसर्थ दोस्रो पुस्ताको विकास गर्नु अपरिहार्य छ । यिनीहरुलाई पूर्वी नेपालका कृषकहरुमाझ एक असल नश्लको रुपमा स्थापित गराउन सकिनेछ ।

नस्लहरुको चारित्रिकरण

शरीरिक बाह्य बनोटको चारित्रीकरण 

१ हुर्रा सुंगुर:  हुर्रा सुंगुरहरु नेपालका पिछडीएका दलित जातजातिले आफ्‌नो जिविकोपार्जनको लागि विशेषत नेपालका तराई क्षेत्रमा छाडा छोडेर पाल्ने गर्दछन् । यिनीहरुको शरीरको रङ्ग पूर्णतः खरानी वा धुस्रो कालो हुन्छ । यिनीहरुको मेरुदण्ड झुकेको हुन्छ । यिनीहरुको औसत वयस्क शारीरिक तौल ४५ केजी हुन्छ तथा यो सुंगुर ४० देखि ५५ केजीको सम्ममा पनि भेटिन्छन् । यिनीहरु टाउकोदेखि पुच्छरको जरासम्मको पूर्ण लम्बाई ७९ से.मी. र छातीको गोलाई ८८ सेमी हुन्छ । यिनीहरुलाई शारीरिक वाह्य बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिएको छ । यिनीहरुको जनसंख्या घट्दै छ त्यसैले संरक्षणका उपायहरु अपनाइनु जरुरी छ ।

२ च्वाँचे सुंगुर : च्वाँचे सुंगुरहरु तल्लो देखि मध्य पहाडसम्म पाइन्छन् र यिनीहरु विशेषगरि छाडा छोडेर पालिन्छ । यिनीहरुमा रोगसंग लड्ने शारीरिक क्षमता तथा स्थानीय वातावरणको लागि सुहांउदो गुण हुन्छन् । यिनीहरु मुख्यतया कालो रङ्गका हुन्छन् । यिनीहरुलाई बाह्य शारीरिक बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिसकेको छ । संरक्षणका हिसाबले यिनीहरु संकटग्रस्त छैनन् । च्वांचे सुंगुरहरु नेपालका पहाडी भेगमा पिछडीएका दलित जातिहरुले छाडा छोडेर पाल्ने गर्दछन् । थारु जातिहरुमा यो सुंगुरविशेष लोकप्रिय पाइएको छ। यो सुंगुर उनीहरलाई घरायसी आम्दानी एंव पोषणका लागि वरदान सावित भएका छन्। च्वाँचे सुंगुरलाई गरिबको सुंगुर पनि भनिन्छ किनकि यिनीहरुलाई पहाडी भेगका पिछडिएका वर्गका मानिसले रछ्यान खुवाई हुर्काउँछन् र यसबाट आफ्‌न जिविकोपार्जन गर्दछन् । यसको यिनीहरुको मेरुदण्ड झुकेको हुन्छ । यसको औसत वयस्क तौल ३५ केजी हुन्छ तथा २५ देखि ४० केजीसम्मको मानमा पनि पाउन सकिन्छ । शरीरको लम्बाई (टाउकोको टुप्पोदेखि पुच्छरको फेदसम्म) ७६ से.मी. हुन्छ भने छातीको गोलाई ८६ से.मी. हुन्छ ।

३ बामपुड्के सुंगुर: बामपुड्के सुंगुरलाई घरपालुवा र जंगली दुवै रुपमा पालिएता पनि हाल आएर यिनीहरुलाई घरपालुवा रुपमा विरलै पाइन्छ । अन्य ठुला जातका सुंगुर/बंगुरहरु बाट यिनीहरु प्रतिस्थापित हुदैछन् पालनपोषणको दृष्टिकोण बाट सजिलो भएतापनि यिनीहरु लोप हुने अवस्थामा छन् । यिनीहरुको औसत वयस्क तौल २० केजी (१८ देखि २५ केजीको मान) हुन्छ । यिनीहरुको शरीरको लम्बाई (टाउकोको टुप्पोदेखि पुच्छरको फेदसम्म) ४५ से.मी. हुन्छ भने छातीको गोलाई ५२ से.मी. हुन्छ  ।

टेबल : रैथाने सुंगुरको शारीरिक आकारप्रकार मर्फोलोजिकल नापतौल (नापतौलहरु औसतमा सामान्य घटबढसहित)

sungur

 

 

क्रोमोजोमस्तरीय चारित्रीकरण

नेपालमा पहिचान भएका दुई सुंगुरहरु (हुर्रा र च्वाँचे) को केरियोटाइपिड संरचना एउटै भएको पाइयो । क्रोमोजोमको संख्या २n-३८ पाइयो जसमा १० मेटासेन्ट्रिक १० सब-मेटासेन्ट्रिक, १२ एटोसेन्ट्रिक, ४ टेलोसेन्ट्रिक र एक जोडा सेक्स क्रोमोजोम (xy) थियो । X क्रोमोजोम मेटासेन्ट्रिक (ठूलो) र Y क्रोमोजोम मेटासेन्ट्रिक (सानो) थियो  । बामपुड्‌के सुंगुरको चाँहि साइटोजिनेटिक अध्ययन गर्न बाँकी नै छ । नेपालमा पाइने विदेशी नश्ल (योर्कशायर, ल्यान्डरेस र ह्याम्पशायर) को मेटाफेज वितरण (metaphase spread) पनि उस्तै किसिमको नै रहेको पाइएको छ । 


टेबल  : रैथाने सुंगुरको क्रोमोजोमस्तरीय चारित्रीकरण

sungur

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

नेपालका रैथाने घरपालुवा जनावरहरु एक परिचय

 

 नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान 

पशु प्रजनन् महाशाखा खुमलटार, ललितपुर