परिचय

परिचय

पशुहरु मध्ये बाखा एक परिचित, हुर्काउन सजिलो तथा सर्व धार्मिक सम्प्रदायले मन पराउने घरपालुवा जनावर हो । विश्वमा बाखाको कुल संख्याको ९२.५% एसिया र अफिका महादेशमा रहेको तथ्याङ्क पाइएको छ । यसरी बाख्रापालन मुख्यत अल्पविकसित तथा अविकसित राष्ट्रहरुमा केन्द्रित रहेको पाइन्छ । बाखाहरुले राष्ट्रिय अर्थतन्त्रमा खेल्ने भूमिका एकदमै महत्वपूर्ण छ । मुलुकमा हाल ९२ लाख वाखाहरु रहेका छन् जसबाट वार्षिक रुपमा लगभग ५३ हजार टन मासु उत्पादन भईरहेको छ । यसमध्ये ५ देखि १० प्रतिशत विदेशी (शुद्ध वा वर्णशंकर) छन् भने बाँकी रैथाने हुन्। यसले के देखाउँछ भने बाखाका प्रजातिमध्येमा सबैभन्दा बढी योगदान रैथानेबाटै उपलब्ध हुन्छ । हाम्रो देशमा बाखाहरु बहुउद्देश्यीय उपभोगका लागि पालिन्छन् । यिनीहरुले विशेषगरी हिमाली र पहाडी भेगमा मासु, मल तथा भारवाहकका रुपमा योगदान प्रदान गर्दछन् । यसबाहेक पनि यिनीहरुका अन्य थुप्रै उपयोगहरु छन्, जस्तै छाला, हाड तथा रौं वा ऊन, पश्मिना । मुलुकका उच्च हिमाली भागहरुमा यिनीहरुलाई धेरैजसो भारी बोक्नका लागि प्रयोग गरिन्छ । मुलुकमा यिनीहरुको सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता पनि रहेको छ । देशका ५०% भन्दा बढी (५१.३%) घरपरिवारले बाख्रापालन गर्दछन् । यो तथ्याङ्क पहाडको मामिलामाअझै अधिक छ । Oli and Gatenby (1990) ले उल्लेख गरे अनुसार पूर्वी पहाडी भेगमा करिब ८५% भन्दा बढी कृषक घरपरिवारमा बाख्रापालन हुन्छ, जहाँ यिनीहरु पशुपालन मार्फत् हुने आम्दानीमा भैसीपछिको दर्जामा पर्दछन् । खसीबाखाको मासु (जसलाई मलकमा चलन चल्तीको भाषामा 'मटन' भनिन्छ तर 'चेभन' भनिनु पर्ने हो) देशकै सबैभन्दा महँगो मासु हो र यसको माग अत्याधिक रहेको छ । यो एक अति लोकप्रिय मासु हो र यसलाई मुलुकको धेरैजसो जनसमुदायले उपभोग गर्ने गर्दछन् । यसका साथै पछिल्लो २० वर्षयता मासुको मूल्य निकै बढेको छ र यो मूल्यवृद्धि अन्य प्रजातिको मासुको तुलनामा खसीबोकामा अझ धेरै देखिन्छ जसले मुलुकमा यसप्रकारको मासुको अत्याधिक मागलाई उजागर गर्दछ । 


मुलुकमा हालसम्म पहिचान भइसकेका र वर्गिकृत गरिएका जम्मा चारवटा बाखाका नश्लहरु छन् । तिनीहरु तराई, खरी, सिन्हाल र च्याङ्ग्रा हुन्। यसभन्दा बाहेक मुलुकको खरीबाखाहरुमा केही उपजाति वा उपप्रकारहरु पनि पहिचान भएको छ । Kunwar (2000) ले मुलुकका पहाडी भेगमा पालिने खरी बाखाहरुको अध्ययनबाट यो नतिजा निकालेका छन् कि खरी बाख्राको कूल जनसंख्याभित्र पनि तीन प्रकारका भिन्दाभिन्दै उपजाति (सानो, मध्यम र ठूलो) अस्तित्वमा रहेका छन् । शरीरको आकारको आधारमा साना उपप्रकारहरु पूर्वी क्षेत्रमा पाइन्छन् भने ठूला प्रकारहरु पश्चिम क्षेत्रमा पाइन्छन् । च्याङ्ग्रा तिब्बती मुलबाट आएको हिमाली बाखा हो र यसलाई मुख्य रुपमा मुलुकको उत्तरी सीमानामा २४०० मिटरमाथिको उँचाईमा पालिन्छ । यिनीहरु साना र रोगसंग लड्न सक्ने क्षमताका हुन्छन् र यिनीहरुको शरीरमा एकपत्र लामो ऊन अनि अर्को भित्री पत्र नरम काश्मिरी वा पश्मिना भनिने ऊन हुन्छ । वार्षिक रुपमा प्रति च्याङग्रा २५० ग्राम गुणस्तरको, १५ देखि १८ माइकोन पातलो पश्मिना प्राप्त हुन्छ। नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने च्याङग्रा पश्मीनाबाट बनेका बस्तुहरुबाट नेपालका पश्मीना उद्योगले ठुलो आय आर्जन गर्न सक्ने सम्भावना अत्यन्तनै बढी भएकोले हिमाली भेगका च्याङग्राको विकास गर्नुपर्ने नितान्त आवश्यक्ता देखिन्छ । सिन्हाल उच्च पहाडी भेगमा हुने बाखा हो जसलाई सामान्यतया १५०० देखि ३००० मिटरमाथिको उँचाईमा बरुवाल भेडासँगै पालिन्छ । यिनीहरु सामान्यतया कालो रङ्गका हुन्छन् यद्यपि सेतो र खैरो छिर्केमिर्के पनि प्रशस्तै पाइन्छन् । तराई बाखाहरु तराईका समथर भूभागमा एवं मेची देखि महाकाली सम्म र गर्मी हावापानीमा पाइने जातको बाखा हो। पहाडी बाखा (खरी बाखा) मुलुकका प्रमुख बाखा नश्लहरु मध्येको एक हो र यो बढी पाठापाठी जन्माउने तथा वातावरण अनुकूलताका लागि परिचित छ । यिनीहरुलाई पश्चिम पहाडतिर खरी बाखा र पूर्वी पहाडतिर पहाडी बाखा भनिन्छ । 
 

विशेषता

सकारात्मक गुण/विशेषताहरु 

सामान्यतया रैथाने नस्लका बाख्राहरु मासु उत्पादनका लागि विदेशी वा आयातित भन्दा कम उत्पादक हुन्छन् । तथापि यिनीहरुको अरु थुप्रै सकारात्मक विशेषताहरु छन्, जस्तै : रोगसंग लड्ने क्षमता भएको, स्थानीय कठोर हावापानीको अवस्थामा पनि अनुकूल, र कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्नु आदि। सबै पहिचान भएका रैथाने बाख्राहरुले परम्परागत चरन व्यवस्थामा अनुकूलता प्राप्त गरेका छन् र यिनीहरुले चरनमै ६-८ घन्टा बिताउँछन् । यिनीहरुले खेतबारी र भान्साघरको फोहर, कृषिजन्य सहउत्पादनहरु र कम गुणस्तरीय चरनलाई पनि सहजै बहुमूल्य मासु, दूध र ऊनमा परिणत गर्दछन् । खसीबाख्राको मासु बजारमा पाइने मध्ये सबैभन्दा महँगो मासु हो र प्रायः सबै जातजातिले प्राथमिकताका साथ उपभोग गर्ने मासु पनि हो । यो स्थिरमुद्रा वा विदेशी मुद्राको स्रोत पनि हो । यी सकारात्मक विशेषताहरुलाई सही तवरले पहिचान हुन नसकको र त्यसकारणले विदेशी नस्लका बाख्राहरुलाई अनावश्यक रुपमा बढी महत्व दिइएको पाइन्छ ।

 सिन्हाल बाख्राहरु समुद्रसतहबाट १५०० देखि ३००० मिटरबीचको उँचाईको उच्च हिमाली क्षेत्रमा पनि हुर्कन सक्दछन् । यो बाख्रा रैथानेमध्येको सबैभन्दा ठुलो जात हो । त्यस्तैगरी खरी बाख्रा रैथानेमध्ये बढी पाठापाठी जन्माउन सक्ने क्षमता भएको नस्ल हो र यो बाख्रा नदितट देखि मध्यपहाडसम्म (समुद्रसतहदेखि ११०० मिटरमाथि) का विविध कृषिजन्य पर्यावरणीय क्षेत्रमा अनुकूल हुन सक्दछन् । यिनीहरुले सामान्यतया १२ देखि १४ महिनामा पहिलो बेत जन्माउँछन् भने बेतहरुको अन्तर ९ महिनाको हुन्छ । यो नश्लमा जुम्ल्याहा पाठा जन्माउनुलाई सामान्य मानिन्छ भने तिम्ल्याहा र चौम्ल्याहा जन्म पनि लगभग सामान्य नै हुन्छ। यो नश्ललाई सरकारी तथा गैर-सरकारी संस्थाहहरुले मुलुकको गरिबी निवारण गर्नका लागि वृहद रुपमा प्रयोग गर्ने गर्दछन् किनकि अन्न उपभोगको मामिलामा अन्न बालीहरु यिनीहरुले मानवजातिसँग विरलै प्रतिस्पर्धा गर्दछन् । 
तराई बाख्राहरु मुलुकको दक्षिणी उष्ण समथर भूभागमा उपयुक्त हुन्छन् । यिनीहरुको नश्लभित्रै पनि ठूलो विविधता देख्न सकिन्छ । यिनीहरुले तराईको अत्याधिक वर्षा हुने स्थानहरु देखि सुख्खा हावापानीमा समेत राम्ररी अनुकूलता प्राप्त गरेका छन् । यिनीहरुको पहिलो बेत १५-१६ महिनाको उमेरमा हुने गर्दछ भने बेत अन्तर ९-१० महिनाको हुन्छ । च्याङ्ग्राहरु नेपालको हिमालपारी समुद्रसतहदेखि २४०० मिटरमाथिको क्षेत्रमा पाउन सकिन्छ भने यिनीहरुलाई घुम्ती चरन व्यवस्था अन्तर्गत पालन गरिन्छ । यिनीहरुको घुँडासम्म पुग्ने खस्रो तर सर्लक्क परेको लामो रौं हुन्छ जसको भित्रपट्टी नरम ऊनको पत्र रहेको हुन्छ । यिनीहरु गुणस्तरीय काश्मिरी ( पश्मिना) उत्पादनका लागि प्रसिद्ध छन् । यिनीहरुले वार्षिक सरदर ३००-११३० ग्राम ऊन उत्पादन गर्छन् भने पश्मिना उत्पादन सरदर ११५-१७० ग्राम हुन्छ । पश्मिनाबाट बन्ने पछ्‌यौरा वा सल नरम, न्यानो र आरामदायी हुन्छ र यसको मूल्य ३,००० अमेरिकी डलरदेखि १५००० अमेरिकी डलरमाथि पुग्दछ। यी बाख्राहरु सडक सुविधा विरलै पाइने उपल्लो हिमाली डाँडाकाँडामा यातायातको साधानको रुपमा पनि परिचित छन् ।

                                                        टेबल  : रैथाने नस्लका बाख्राहरुको सकारात्मक गुण/विशेषताहरु

we

नस्लहरु

पहिचान
pahichan

 

तराई बाख्रा (Terai Goat)

तराई बाख्राहरु उज्याला रङ्गका (प्रायः सेतो) चौपाया हुन् जुन मुलुकको तराई क्षेत्रमा पाइन्छन् । यिनीहरु मासुका लागि लोकप्रिय बाखा हुन् । संरक्षणका दृष्टिकोणले हेर्दा यिनीहरु संकटमा परेका देखिन्छन्, किनकि यिनीहरुलाई अत्याधिक रुपमा भारतीय ठूलो खालका बाखाहरु (जमुनापारी, बिटल र बारबारी) सँग क्रस वा वर्णशंकर गराइएको कारण यिनीहरुलाई विशुद्ध रुपमा पाउन मुस्किल पर्दै गएको छ । यिनीहरुलाई शारीरिक वाह्य बनावट र क्रोमोजोमस्तरमा चारित्रिकरण गरिएको छ ।

terai

 

खरी बाखा (Khari Goat)

खरी बाखा मुलुकको पहाडी भेगमा पाइने देशमा विद्यमान रहेको बाखाको प्रमुख नश्ल हो (टेबल १) । पश्चिम पहाडहरुमा पाइने खरी बाखा र पूर्वी पहाडहरुमा पाइने पहाडी बाखा एकै नश्लका बाखा हुन् । यिनीहरुले मुलुकको कूल वाखासंख्याको ५६% भाग ओगट्छन् । यिनीहरु एकदमै उत्पादक नश्लका हुन् जस्मा जुम्ल्याहा सन्तान उत्पादन गर्ने क्षमता एकदमै प्रचुर हुन्छ र बेत अन्तर पनि छोटो हुन्छ । संरक्षणका दृष्टिले यिनीहरु सामान्य अवस्थामा छन् । यिनीहरुको शारीरिक वाह्य बनावट फेनोटाइपिक र क्रोमोजोमस्तरमा चारित्रिकरण गरिएको छ ।

khari

 

सिन्हल बाख्रा (Sinhal Goat)

सिन्हाल बाख्राहरु मुलुकको उच्च पहाडी क्षेत्रको दक्षिण भागतिर र दक्षिणी पहाडहरुको उत्तरी भागतिर पाइन्छन् । स्थानीय बाखाको नश्लमध्ये यिनीहरु सबैभन्दा ठुला हुन्छन् र यिनीहरुले कुल बाखाको जनसंख्याको १६% भागको प्रतिनिधित्व गर्दछन् । यिनीहरुलाई शारीरिक वाह्य बनावटको स्तरमा वर्गिकृत गरिएको छ । कृषकहरुले यिनीहरुलाई प्राकृतिक वासस्थानमै संरक्षण गरिरहेका छन् तैपनि कृषकहरुलाई यसको बारेमा अझ सशक्तिकरणको आवश्यक्ता छ । संरक्षणका दृष्टिले यिनीहरु संकटग्रस्त छन् । यो नश्ल सामान्य व्यवस्थापन प्रणाली भएको तथा घुम्ती बसाइँ हुने स्थानहरुमा खासगरी उच्च पहाडहरुमा मासु र भारी बोक्ने साधनका लागि उपयुक्त मानिन्छन् ।

sinhal
च्याङ्ग्रा बाखा

च्याङ्ग्राहरु मुलुकको उच्च हिमाली भेगमा पाइन्छन् । यिनीहरुलाई घुम्ती बसाइँ सराई हुने क्षेत्रतिर भारी बोक्ने पशुका रुपमा पनि पालिन्छ । यिनीहरुले मुलुकको कुल बाखाको १% भाग मात्र ओगटेका छन् । यिनीहरुलाई मासु र पश्मिना उत्पादनका लागि प्रयोग गरिन्छ, तर यिनीहरुको पश्मिना उत्पादन क्षमताको पूर्णरुपमा उपयोग हुन सकेको छैन ।

chyangra

 

नस्लको स्थिति 

खरी बाख्रा बाहेक अन्य नस्लका बाख्राहरु तराई, च्याङग्रा र सिन्हाल संरक्षणका दृष्टिकोणले बढी संकटमा परेका छन् । तराई बाख्राहरुलाई भारतीय नस्लका बाख्राहरुसँग व्यापक रुपमा वर्णशंकर वा क्रसब्रीड गराइएको कारण यिनीहरुलाई शुद्धरुपमा पाउन गाहो भइसकेको छ । सिन्हाल र च्याङ्ग्रा बाख्राहरुको संख्या क्रमिक रुपमा घट्‌दै गइरहेको छ । यि दुई जात पनि एक आपसमा कस भई विभिन्न वर्णशंकर उत्पादन भई रहेका छन्, एवं जातिय शुद्धतामा कमिक रुपमा असर आइरहेको छ र यिनीहरुको संरक्षणका लागि विशेष ध्यान पुर्याउनु आवश्यक भएको छ ।

टेबल : संरक्षणका दृष्टिकोणले रैथाने नस्लका बाख्राहरुको स्थिति
b

उत्पादन

तराई बाख्रा

तराई बाख्रा मासुका लागि प्रसिद्ध मध्यम प्रकारको बाख्रा हो । यिनीहरुले एक बेतमा औसत १.४ पाठापाठी जन्माउँछन् । यिनीहरु रोगका किरासंग लड्ने क्षमता भएका तथा गर्मी हावापानीमा सूहाउदो छन् । यिनीहरु प्रजनन्‌का लागि वयस्क उमेर करिब ८ देखि १० महिनामा हासिल गर्दछन् भने पहिलो सन्तान उत्पादन १३ देखि १५ महिनामा हुने गर्दछ । सन्तान उत्पादन वा बेतको अन्तर एक वर्षभन्दा छोटो (३३६) हुन्छ जसलाई एक राम्रो गुण मानिन्छ । यिनीहरु एक वर्षको उमेरमा २० केजी तौल हुने मध्यम किसिमका बाख्राहरु हुन् ।

खरी बाख्रा

खरी बाख्रा मुलुकको प्रमुख बाख्रा नस्ल हो। यिनीहरु राम्रो पाठापाठी उत्पादन गर्ने क्षमता भएका उत्पादनशील नश्ल हुन् र यिनीहरुको जुम्ल्याहा पाठापाठी पाउने सम्भावना अधिक हुन्छ । यिनीहरुले प्रति बेत औसत १.६ सन्तान जन्माउँछन् भने बेत अन्तर मूलतः एक वर्षभन्दा कम हुन्छ । यिनीहरुले प्रजनन् वयस्कता ७ देखि १० महिनामा हासिल गर्दछन् भने पहिलो सन्तान उत्पादन १२ देखि १७ महिनाको उमेरमा हुन्छ  । यिनीहरु एक वर्षको उमेरमा १६ केजी तौल हुने मध्यम/साना किसिमका बाख्राहरु हुन्  ।

सिन्हाल बाख्रा

सिन्हाल बाख्राहरु उच्च पहाडका हावापानीको लागि सुहाउदो र भारवाहक पशुका रुपमा पनि उपयोगी हुन्छन् । यिनीहरु मुलुककै सबैभन्दा ठूलो बाख्राका नस्ल हुन् र यिनीहरुलाई मासु तथा भारी बोक्नका लागि विशेष गरी प्रयोग गरिन्छ । यिनीहरु त्यति उत्पादनशील नस्ल होइनन् । यिनीहरु धेरै रोगसंग लड्ने क्षमता भएका प्रतिकुल हावापानीमा पनि पाल्न अनुकुल हुन्छन् । यिनीहरुको प्रजनन् वयस्कता करिब १० देखि १५ महिनामा प्राप्त हुन्छ भने पहिलो बेत १५ देखि २० महिनाको उमेरमा हुन्छ  । बेतको अन्तर एक वर्षभन्दा कम (३२५ दिन) हुन्छ । यिनीहरु स्थानीय जातका बाख्राहरु मध्ये ठुलो बाख्रा हुन् । यिनीहरुको तौल एक वर्षको उमेरमा २२ केजी हुन्छ ।

च्या‌ङ्ग्रा बाख्रा

च्याङ्ग्राहरु उच्च पहाड तथा हिमाली क्षेत्रका लागि मासु र सामान ओसारपोसारको लागि उपयुक्त जात हो । यिनीहरु कम उत्पादनशील नस्लका बाख्रा हुन्। यिनीहरु रोगसंग लड्ने क्षमता भएका र असामान्य हावापानीमा सजिलै घुलमिल हुनसक्ने बाख्राहरु हुन् । पाठापाठी प्रजनन्का लागि वयस्क हुने उमेर १५ देखि १९ महिनामा प्राप्त गर्दछन् भने पहिलो पटक २० देखि २४ महिनामा जन्माउँछन् । बेत अन्तर लगभग एक वर्षको (३००-४०० दिन) हुन्छ । यिनीहरु मध्यम प्रकारका बाख्राहरु हुन् जसको तौल एक वर्षको उमेरमा तराई बाख्राको समान (२० केजी) हुन्छ  ।

 
टेबल  : रैथाने बाख्राको फरकफरक उमेरको शारीरिक तौल (केजी) (परिमाणहरु औसतमा सामान्य घटबढसहित)

ss

 

 

च्या‌ङ्ग्रा बाख्रा

च्याङ्ग्राहरु उच्च पहाड तथा हिमाली क्षेत्रका लागि मासु र सामान ओसारपोसारको लागि उपयुक्त जात हो । यिनीहरु कम उत्पादनशील नस्लका बाख्रा हुन्। यिनीहरु रोगसंग लड्ने क्षमता भएका र असामान्य हावापानीमा सजिलै घुलमिल हुनसक्ने बाख्राहरु हुन् । पाठापाठी प्रजनन्का लागि वयस्क हुने उमेर १५ देखि १९ महिनामा प्राप्त गर्दछन् भने पहिलो पटक २० देखि २४ महिनामा जन्माउँछन् । बेत अन्तर लगभग एक वर्षको (३००-४०० दिन) हुन्छ । यिनीहरु मध्यम प्रकारका बाख्राहरु हुन् जसको तौल एक वर्षको उमेरमा तराई बाख्राको समान (२० केजी) हुन्छ  ।

 
टेबल  : रैथाने बाख्राको फरकफरक उमेरको शारीरिक तौल (केजी) (परिमाणहरु औसतमा सामान्य घटबढसहित)

ss

 

 

अन्य जानकारी

अवस्था, चुनौती र सुधारको सम्भावना

मुलुकमा बाख्राको वर्तमान अवस्था तथा उपयोगलाई विश्लेषण गर्दा अनुमान गर्न सकिन्छ कि यो प्रजातिको भविष्यको सम्भाव्यता अझै आशाप्रद छ । यसको बहुउपयोगका साथ साथै अत्यन्त गर्मी देखि अत्यन्त ठन्डासम्मको विविध हावापानीमा पनि अनुकूल हुने तथा कम हेरचाहको अवस्थामा पनि उत्पादन गर्ने जस्ता कारणले गर्दा बहुउपयोगी पशुका रुपमा रहेका रैथाने बाख्राहरुले सरकारी कार्यक्रम योजनामा पनि उच्च प्राथमिकता पाउने गर्दछन् । यसका सकारात्मक गुणहरुका बावजुद पनि शारीरिक तौल र बजार तौलजस्ता कुरामा यिनीहरु सीमित मात्र रहेका पाइन्छन् । कम शारीरिक तौल वृद्धि र बजार तौलले यो प्रजातिलाई तीब्र वा अर्ध-तीब्र व्यवस्थापन प्रणालीमा तुलनात्मक हिसाबले आर्थिक रुपमा कम फाइदाजनक बनाई रहेको छ । 
कृषि अनुसन्धान केन्द्र, पाख्रीबास, नार्कले पहाडी बाख्राको शारीरिक तौल वृद्धिको सुधार गर्न छनोट प्रजनन् कार्यक्रम प्रारम्भ गरिसकेको छ । फार्ममा र किसानको घरदैलोमा भएका अनुसन्धानका नतिजाबाट बाख्राहरुमा अनुवंशकीय वृद्धि भएको कुरा छनौट प्रविधिले तथा त्यसका लागि विकसित गरिएको छनौट अनुसुचीले देखाउछ । यो अनुसूची एकैपटक धेरै जन्मेका पाठापाठीको जुम्ल्याहा ४ र ६ महिनाको शारीरिक तौलमा आधारित छ । यो विकास गरिएको छनोट अनुसूचीलाई मुलुकको पूर्वी भागदेखि पश्चिम भागसम्मका खरीबाख्राहरुमा लागू गरिनु पर्दछ । सबैभन्दा चाखलाग्दा कुरा यो छ कि भारतमा पनि मासुजन्य बाख्राहरुको विकास गर्न यस्तै किसिमको प्रजनन् कार्यक्रम कार्यान्वयनमा ल्याईएको थियो । (NCA, 1976)। यस्तै प्रकारले बाँकी तिन रैथाने बाख्राहरु (च्याङ्ग्रा, सिन्हल र तराई) मा पनि योजनाबद्ध प्रजनन् कार्यक्रम सुरु गरिनु पर्दछ । यस्ता योजनाहरुलाई सरकारी योजनामा पनि अभिलिखित सकिएको छ । यद्यपि यिनीहरुको कार्यान्वयन पक्ष भने वास्तवमै कमजोर छ ।

बाहिरबाटआयात गरिएको विदेशी जातहरु खासगरी पहाड र हिमाली क्षेत्रका स्थानीय बाख्राहरुसंग क्रसवीड गर्नु लाभपद् नहुदा नहुदै पनि क्रसवीड गरिएको र जसको नतिजा त्यति श्रेश्यकर छैन र जुन स्थानीय बाख्राहरुमा सिफारिस पनि गरिएको थिएन । बढ्दो पोषण आवश्यक्तामा खाद्यपदार्थको (दानाको) व्यवस्था र रोगव्याधी रोकथामको उपाय सहजै उपलब्ध नहुन्जेल विशेषगरी पहाड र हिमाली क्षेत्रमा वर्णशंकर वा क्रसब्रीडका लागि विदेशी नश्लको आयातलाई सिफारिस गरिनु जरुरी छैन । संसारभरमै सफल सिद्ध भइसकेको छनौट पद्धति पशु प्रजनन्‌को अति महत्वपूर्ण प्रविधिलाई विकसित पशुपालन तथा रोगव्याधी रोकथामका उपायहरुसहित अपनाइने हो भने कुल जनसंख्यामा वृद्धि नगरिकनै हाल भइरहेका बाख्राहरुको उत्पादकत्व वृद्धि गर्न सकिने अवसर हामी सामु छ । रैथाने नश्लहरुको मूल्यमा अभिवृद्धि दिएर विकासका कार्यक्रमहरुलाई पुर्ननिर्दिष्ट गर्ने आवश्यक्तालाई जोड दिइनु पर्दछ । त्यस्तैगरी रैथाने नश्लको जनसंख्याको महत्व र पशुजन्य उत्पादनको मूल्य अभिवृद्धिमा यिनीहरुको भूमिकालाई समुदायसामु व्याख्या गरिनु पर्दछ । 
रैथाने नस्लभित्र बाह्य शारीरिक बनावटको आधारमा आकारप्रकार र रक्तप्रोटिनमा आधारित विभिन्न उपकिसिम विद्यमान रहेको अध्ययनले देखाउछ अनुसन्धानका नतिजाहरुबाट मुलुकमा विधमान खरी बाख्राहरुमा तिन फरक किसिमको पाइएको छ । त्यस्तै किसिमको अध्ययन अन्य नश्लका रैथाने बाख्राहरुमा पनि सुरुवात गरिनु पर्दछ । यस्ता अध्ययनले निश्चित रुपमा नै नश्ल सुधार कार्यक्रमका साथसाथै स्थानीय समूहको उत्पादकत्वमा ठूलो प्रभाव पार्दछ ।

 

चारित्रिकरण र प्रजनन प्रविधिको सम्भावना

रैथाने बाख्राहरुको मलेकुलर स्तरमा चारित्रीकरण गरिनु भनेको भविष्यको बाख्रा कार्यक्रमका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा नै हो। रैथाने बाख्राहरुलाई हालसम्म डि.एन.ए. स्तरमा अध्ययन गरिएको र बुझिएको छैन । आगामी दिनहरुमा यस प्रकारका अध्ययनहरुको प्रारम्भ गरियो भने त्यसले यिनीहरुको बारेमा जान्ने ठूलो अवसर प्रदान गर्दछ जसले निःसन्देह उत्पादन र उत्पादकत्वलाई गति दिने छ । अझै भन्नुपर्दा यस प्रकारका अध्ययनले रैथाने बाख्राहरुको सकारात्मक गुणहरु, जस्तै रोग प्रतिरोधात्मक क्षमता, मजबुती र विभिन्न हावापानी र हेरचाहको अवस्थामा पनि अनुकूल हुने क्षमता आदिलाई उपयोग गर्न सहयोग गर्दछ । यस्ता गुणहरु मुलुकभित्रका वा अन्य रैथाने बाखाहरु तथा विदेशी नश्लका बाखाहरुका लागि पनि फाइदाजनक सिद्ध हुन सक्छन् । वायोटेक्नोलोजीको प्रगाति, विशेषतः कृत्रिम वीर्यरोपण तथा भ्रूण प्रत्यारोपन प्रविधिलाई बृहदरुपमा उपयोग गरिएको छैन तापनि यो भविष्यमा बाख्रा विकास कार्यक्रमको लागि एक मार्ग बन्न सक्दछ । गुणस्तरीय बीऊका लागि बाखा प्रजनन् केन्द्रहरुको कमीका साथै प्रजनन्शील पशुको तथा खसीको मासुको बढ्‌दो मागले बाखामा कृत्रिम वीर्यरोपण तथा भ्रुण स्थानतरणको व्यापक प्रयोग गर्नुपर्ने आवश्यक्तालाई पुष्टि गर्दछ ।

पशु प्रजनन् महाशाखा, नार्कले यो दिशातर्फ कदम चालिसकेको त छ यद्यपि यसमा अझै धेरै कार्यहरु गर्नुपर्ने देखिन्छ । पशु प्रजनन् शाखा, खुमलटारको सुरुवाती पहलमा वि.सं. २०५३/५४ मा खरी बाखाको फरकफरक प्रकारहरुको विशिष्ट न्युक्लियस समूह (elite nucleus herd) स्थापना गर्ने प्रयास भएको थियो । यसको योजनास्थल कृषि अनुसन्धान केन्द्र (ARS), बन्दिपुरमा थियो । सो कार्यक्रममा सल्यान, धादिङ, तनहुँ र धनकुटाका बाखाको linel समावेश गरियो (Annual Report, ABD, 1997)। तर पिपिआर रोग (PPR) को प्रकोपले गर्दा जुन परिकल्पनाले स्थापना गरिएको थियो त्यो पुरा हुन सकेन । यस प्रकारका योजनाहरुको ठूलो महत्व हुन्छ किनकि मुलुकमा बाखको न्युक्लियस बथान उत्पादन केन्द्र (Nucleus Herd Breeding Center) वास्तवमै एकदम कम वा छँदै छैनन् भन्दा पनि हुन्छ । त्यसैले यस्ता योजनाहरुलाई पुर्नजागरण गराउनु र बाखाको न्युक्लियस उत्पादन केन्द्रहरु स्थापना गराउनु अति नै आवश्यक छ ताकि कृषकहरुले प्रमाणित नश्लका पशुहरु प्राप्त गर्न सकुन् ।

अध्ययनको कमी र सुधारको सम्भावना

यिनीहरुको आकारप्रकार वा मर्कोलोजिकल गुणहरुका बारेमा र हुर्कने तौरतरिकाका बारेमा एकदमै कममात्र जानकारी उपलब्ध छ । यो क्षेत्रको विद्यमान अवस्था बुझ्न तथा सुधारका सम्भाव्यताहरु पहिचान गर्न व्यवस्थित अध्ययनको मूल्याङ्कन भएको पाइँदैन । Neopane (2006) को भनाई अनुसार च्याङ्ग्रा नश्ललाई यसको च्या‌ङ्ग्रा पश्मिना उत्पादनको लागि पूर्ण उपयोग गरिएको छैन र यो एउटा ध्यान केन्द्रित गरिनु पर्ने महत्वपूर्ण क्षेत्र हो। Oli (1986) ले उल्लेख गरेका छन् कि उच्च क्षेत्र वा लेकतिरका च्या‌ङ्ग्रा समेतका प्रजातिहरुको उत्पादन नतिजा तुलनात्मक रुपमा कमजोर रहेको छ । मुलुकको बाखापालन सुधार गर्नका लागि बाख्रापालन सम्बन्धी अन्य सारभूत पक्ष, जस्तै : बाख्रापालनको स्थानीय पारम्परिक ज्ञान, हिमाल र पहाडतिर वंशज्लोप, कमजोर स्वास्थ तथा पोषण व्यवस्थाका कारण हुने बाँझोपन, प्रसवपूर्व तथा प्रसवोपरान्तको मृत्युदर, भित्री तथा बाह्य परजीवीको समस्या, आहारा भण्डारण (मुख्यगरी सुख्खा हिउँदमा), उच्च पहाडहरुमा चरन अभाव, बजारमार्गको अल्पविकास र उत्पादन उपरान्तका कार्यहरु आदिमा ध्यान पुऱ्याइनु पनि जरुरी छ ।

नस्लहरुको चारित्रिकरण

शारीरिक वाह्य बनोटको आधारमा (फेनोटाइपिक) 

१ तराई बाख्रा : तराई बाख्राहरुलाई मुलुकको दक्षिणी भेगको समथर भागमा पालिने गरिन्छ । यिनीहरुको रङ्ग निख्खर सेतो देखि निख्खर कालोसम्म र विभिन्न रङ्गको छिरबिरेसम्मको विविधतामा पाइन्छ । यसको बयस्क शरीरको तौल लगभग ३० केजीसम्मको हुन्छ, जसमा शरीरको लम्बाई ६० से.मी. र छातीको गोलाई ६५ से.मी. सम्मको हुन्छ । काँधको उँचाई (wither height) ५८ से.मी. हुन्छ । शारीरिक तौल बोकाको ३०-३५ केजी र बाख्राको २५-३० केजीसम्मको फरकमा पाइन्छ । यिनीहरु मुख्यतया मासुको लागि लोकप्रिय छन् । यिनीहरुलाई शारीरिक वाह्य बनोट र क्रोमोजोमस्तरमा चारित्रीकरण गरिएको छ । यिनीहरुलाई भारतीय नश्ल (जमूनापारी, बारबारी र बिटल) सँग अत्याधिक वर्णशंकरित गराइएको हुनाले तराई बाख्राहरु शुद्ध अवस्थामा पाउन गाहो छ ।

२ खरी बाख्रा: खरी बाख्रा संख्याको आधारमा मुलुकको प्रमुख बाख्रा नस्लहो र यिनीहरु मुलुकको पहाडी क्षेत्रभर तथा भित्री उपत्यकाहरुमा पाइन्छन् । यिनीहरु पाठापाठी पाउन सक्ने क्षमता भएका र मासुका लागि लोकप्रिय छन् । यिनीहरु साना एवं मझौला शरीरका हुन्छन् र स्थानीय वातावरणमा राम्ररी भिजेका हुन्छन् । यिनीहरुलाई फेनोटाइपिक र क्रोमोजोमस्तरमा वर्गिकृत गरिएको छ । संरक्षणका दृष्टिकोणले यिनीहरु सामान्य अवस्थामा रहेका छन् । यिनीहरुको रङ्ग सेतो देखि कालोसम्म हून्छ । खरी पहाडी बाख्राभित्र पनि रङ्गका आधारमा ६ उपजाति / उपप्रकार पाइएको छ । तिनीहरु सेती, काली, खैरी, घोर्ली, सिंगारी र धोविनी हुन् । सेती निख्खर सेतो रङ्गको हुन्छ । काली निख्खर कालो हुन्छ । खैरीहरु खैरो रङ्गका हुन्छन् । घोर्लीहरु सेतो र अन्य रङ्ग खास कालो वा खैरो मिसिएका हुन्छन् । सिंगारी कालो रङ्गको र अनुहारमा सेतो धर्काहरु भएको हुन्छ । धोविनी खरानी रङ्गको हुन्छ र आकारमा अन्य ५ भन्दा ठूलो हुन्छ । यसको शरीरको तौल ३० केजीसम्मको हुन्छ जसमा शरीरको लम्बाई ६३ से.मी. र छातीको गोलाई ६५ से.मी. हुन्छ । काँधको उँचाई ५६ से.मी. हुन्छ ।

३ च्याङ्ग्रा बाख्रा :च्याङ्ग्रा नस्लका बाख्राहरुलाई उच्च हिमाली र हिमालपारीको क्षेत्रमा पाइने भ्याडलुङ्ग भेडाहरुसँगै समुद्रसतह भन्दा २५०० मिटर माथिको हिमालपारीको भूभागमा पालन गरिन्छ । यिनीहरुलाई कृषकहरु स्वयम्ले प्राकृतिक वासस्थानमा उचित संरक्षण गर्दै आइरहेका छन् । यिनीहरु मासु, पारवहन र पश्मिना (काश्मिरी) उत्पादनका लागि उपयुक्त मानिन्छन् । यिनीहरुको संख्या घट्दो क्रममा छ त्यसैले यसप्रति ध्यान पुऱ्याइनु आवश्यक रहेको छ । यिनीहरुलाई शारीरिक वाह्य चारित्रीकरण बनोट फेनोटाइपिक स्तरमा वर्गिकृत गरिएको छ । यिनीहरुको रङ्ग निख्खर सेतोदेखि निख्खर कालोसम्मको र विभिन्न रङ्गहरुको मिश्रणमा पनि पाइन्छ । यिनीहरुको वयस्क शरीरिक तौल लगभग ३० केजी हुन्छ जसमा शरीरको लम्बाई ६२ से.मी. र छातीको गोलाई ७१ से.मी. हुन्छ। काँधको उँचाई ६२ से.मी. हुन्छ । शारीरिक तौल पोथीमा २९-३२ केजी र भालेमा ३५-४० केजीसम्मको पाइन्छ ।

४ सिन्हाल बाख्रा: सिन्हाल बाख्राहरु उच्च पहाडी बाख्रा हुन् । यसको रङ्गमा कालो, सेतो, खैरो र कालो-सेतो मिश्रितसम्मको विविधता पाइन्छ । वयस्क शारीरिक तौल ३५ केजी हुन्छ । शारीरिक लम्बाई ६९ से.मी. मापन गरिएको छ भने छातीको गोलाई औसतमा ७८ से.मी. पाइएको छ । काँधको उँचाई ५९ से.मी. हुन्छ । भालेको शारीरिक तौल ३५ केजी र पोथीको २९ केजी हुन्छ (टेबल ३) । सिन्हाल बाख्राहरु मुलुकको उच्च पहाडी भेगमा पाइन्छन र यिनीहरु मासु र भारी बोक्ने तथा यातायातको लागि राम्रा मानिन्छन् । यिनीहरु ठूलो आकारका र बलियो हुनुका साथै स्थानीय हावापानीमा एवं असामान्य वातावरण/परिस्थितीमा पनि अनुकूलता प्राप्त गरेका पशु हुन् । यिनीहरुलाई शारीरिक वाह्य बनोट फेनोटाइपिक स्तरमा वर्गिकृत गरिएको छ । यिनीहरुको जनसंख्या घट्दै छ त्यसकारण यिनीहरुको संरक्षणका लागि ध्यान दिनु आवश्यक छ । आयातित नश्लहरुमध्ये जमूनापारी र बारबारी धेरै प्रयोग गरिने विदेशी नश्ल हुन् । अन्य आयातित नश्लहरुमा बिटल, अजमेरी, सानन र किको हुन् । हालका दिनहरुमा दक्षिण अफ्रीकी बोर जातको बाख्रा पनि कसका लागि प्रयोग भइरहेका छन् ।

                                      टेबल  : रैथाने नस्लका बाख्रा हरुको शारीरिक नापतौल (परिमाणहरु औसतमा सामान्य घटबढसहित)

3

 

 

क्रोमोजोमस्तरीय चारित्रीकरण 

तराई र खरी बाख्राहरुको क्रोमोजोमस्तरमा पहिचान भइसकेको छ भने अन्य दुई नश्ल, सिन्हल र च्याङ्ग्रालाई हालसम्म क्रोमोजोमको स्तरमा पहिचान गरिएको छैन । बाख्राहरुमा गरिएको कार्योटाइपिङ (karyotyping) अध्ययनले यो देखायो कि खरी बाखँहरुको ६० वटा क्रोमोजोम हुन्छन् जसमा ५८ एक्रोसेन्ट्रिक र एक जोडी सेक्स क्रोमोजोम हुन्छन् । X क्रोमोजोम सबैभन्दा ठूलो एक्रोसेन्ट्रिक र Y क्रोमोजोम सबैभन्दा सानो मेटासेन्ट्रिक क्रोमोजोम पाइएको छ । त्यसैगरी, कार्योटाइपिङ नतिजाले यो देखायो कि तराई बाखाहरुको ५८ अटोजोम क्रोमोजोम र एक जोडी सेक्स क्रोमोजोम (2n=60) हुन्छ । सेक्स क्रोमोजोममा पनि X क्रोमोजोम ठूलो र मेटासेन्ट्रिक पाइएको थियो भने Y क्रोमोजोम सानो र टेलोसेन्ट्रिक किसिमको थियो । 
                             

                                                   टेबल : रैथाने बाख्राहरुको क्रोमोजोमस्तरीय चारित्रीकरण

ss

 

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

पालका रैथाने घरपालुवा जनावरहरु एक परिचय

 

नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान 

पशु प्रजनन् महाशाखा खुमलटार, ललितपुर