पशुहरु मध्ये बाखा एक परिचित, हुर्काउन सजिलो तथा सर्व धार्मिक सम्प्रदायले मन पराउने घरपालुवा जनावर हो । विश्वमा बाखाको कुल संख्याको ९२.५% एसिया र अफिका महादेशमा रहेको तथ्याङ्क पाइएको छ । यसरी बाख्रापालन मुख्यत अल्पविकसित तथा अविकसित राष्ट्रहरुमा केन्द्रित रहेको पाइन्छ । बाखाहरुले राष्ट्रिय अर्थतन्त्रमा खेल्ने भूमिका एकदमै महत्वपूर्ण छ । मुलुकमा हाल ९२ लाख वाखाहरु रहेका छन् जसबाट वार्षिक रुपमा लगभग ५३ हजार टन मासु उत्पादन भईरहेको छ । यसमध्ये ५ देखि १० प्रतिशत विदेशी (शुद्ध वा वर्णशंकर) छन् भने बाँकी रैथाने हुन्। यसले के देखाउँछ भने बाखाका प्रजातिमध्येमा सबैभन्दा बढी योगदान रैथानेबाटै उपलब्ध हुन्छ । हाम्रो देशमा बाखाहरु बहुउद्देश्यीय उपभोगका लागि पालिन्छन् । यिनीहरुले विशेषगरी हिमाली र पहाडी भेगमा मासु, मल तथा भारवाहकका रुपमा योगदान प्रदान गर्दछन् । यसबाहेक पनि यिनीहरुका अन्य थुप्रै उपयोगहरु छन्, जस्तै छाला, हाड तथा रौं वा ऊन, पश्मिना । मुलुकका उच्च हिमाली भागहरुमा यिनीहरुलाई धेरैजसो भारी बोक्नका लागि प्रयोग गरिन्छ । मुलुकमा यिनीहरुको सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता पनि रहेको छ । देशका ५०% भन्दा बढी (५१.३%) घरपरिवारले बाख्रापालन गर्दछन् । यो तथ्याङ्क पहाडको मामिलामाअझै अधिक छ । Oli and Gatenby (1990) ले उल्लेख गरे अनुसार पूर्वी पहाडी भेगमा करिब ८५% भन्दा बढी कृषक घरपरिवारमा बाख्रापालन हुन्छ, जहाँ यिनीहरु पशुपालन मार्फत् हुने आम्दानीमा भैसीपछिको दर्जामा पर्दछन् । खसीबाखाको मासु (जसलाई मलकमा चलन चल्तीको भाषामा 'मटन' भनिन्छ तर 'चेभन' भनिनु पर्ने हो) देशकै सबैभन्दा महँगो मासु हो र यसको माग अत्याधिक रहेको छ । यो एक अति लोकप्रिय मासु हो र यसलाई मुलुकको धेरैजसो जनसमुदायले उपभोग गर्ने गर्दछन् । यसका साथै पछिल्लो २० वर्षयता मासुको मूल्य निकै बढेको छ र यो मूल्यवृद्धि अन्य प्रजातिको मासुको तुलनामा खसीबोकामा अझ धेरै देखिन्छ जसले मुलुकमा यसप्रकारको मासुको अत्याधिक मागलाई उजागर गर्दछ ।
मुलुकमा हालसम्म पहिचान भइसकेका र वर्गिकृत गरिएका जम्मा चारवटा बाखाका नश्लहरु छन् । तिनीहरु तराई, खरी, सिन्हाल र च्याङ्ग्रा हुन्। यसभन्दा बाहेक मुलुकको खरीबाखाहरुमा केही उपजाति वा उपप्रकारहरु पनि पहिचान भएको छ । Kunwar (2000) ले मुलुकका पहाडी भेगमा पालिने खरी बाखाहरुको अध्ययनबाट यो नतिजा निकालेका छन् कि खरी बाख्राको कूल जनसंख्याभित्र पनि तीन प्रकारका भिन्दाभिन्दै उपजाति (सानो, मध्यम र ठूलो) अस्तित्वमा रहेका छन् । शरीरको आकारको आधारमा साना उपप्रकारहरु पूर्वी क्षेत्रमा पाइन्छन् भने ठूला प्रकारहरु पश्चिम क्षेत्रमा पाइन्छन् । च्याङ्ग्रा तिब्बती मुलबाट आएको हिमाली बाखा हो र यसलाई मुख्य रुपमा मुलुकको उत्तरी सीमानामा २४०० मिटरमाथिको उँचाईमा पालिन्छ । यिनीहरु साना र रोगसंग लड्न सक्ने क्षमताका हुन्छन् र यिनीहरुको शरीरमा एकपत्र लामो ऊन अनि अर्को भित्री पत्र नरम काश्मिरी वा पश्मिना भनिने ऊन हुन्छ । वार्षिक रुपमा प्रति च्याङग्रा २५० ग्राम गुणस्तरको, १५ देखि १८ माइकोन पातलो पश्मिना प्राप्त हुन्छ। नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने च्याङग्रा पश्मीनाबाट बनेका बस्तुहरुबाट नेपालका पश्मीना उद्योगले ठुलो आय आर्जन गर्न सक्ने सम्भावना अत्यन्तनै बढी भएकोले हिमाली भेगका च्याङग्राको विकास गर्नुपर्ने नितान्त आवश्यक्ता देखिन्छ । सिन्हाल उच्च पहाडी भेगमा हुने बाखा हो जसलाई सामान्यतया १५०० देखि ३००० मिटरमाथिको उँचाईमा बरुवाल भेडासँगै पालिन्छ । यिनीहरु सामान्यतया कालो रङ्गका हुन्छन् यद्यपि सेतो र खैरो छिर्केमिर्के पनि प्रशस्तै पाइन्छन् । तराई बाखाहरु तराईका समथर भूभागमा एवं मेची देखि महाकाली सम्म र गर्मी हावापानीमा पाइने जातको बाखा हो। पहाडी बाखा (खरी बाखा) मुलुकका प्रमुख बाखा नश्लहरु मध्येको एक हो र यो बढी पाठापाठी जन्माउने तथा वातावरण अनुकूलताका लागि परिचित छ । यिनीहरुलाई पश्चिम पहाडतिर खरी बाखा र पूर्वी पहाडतिर पहाडी बाखा भनिन्छ ।




