परिचय

परिचय 

गाई एक सामाजिक, आर्थिक एवं सांस्कृतिक महत्व बोकेको नेपालको पशुजन्य सम्पति हो । एक तथ्यांक अनुसार हाम्रो देशमा ७२.२६ लाख गाईवस्तु छन् (Statistical Information, 2011) । ति मध्ये १५ प्रतिशत विदेशी (शुद्ध वा वणशंकर) छन् भने बाँकी रैथाने छन् । हाल मुलुकमा चौपायाको जनसंख्या ऋणात्मक दिशामा गइरहेको छ तथापि दूधजन्य वा दुहुनो गाईका संख्या भने क्रमशः बढ्‌दै गएको पाइन्छ । 
गाईवस्तुले मानिसका लागि खाद्य पदार्थ अर्थात दूध प्रदान गर्दछ भने कृषिजन्य कार्यहरुका लागि र भारवाहनका लागि शक्ति वा उर्जाको कार्य गर्नुका साथै माटोको उर्वराशक्ति कायम राख्न र वृद्धि गर्न मल प्रदान गर्दछ । यसबाहेक पनि यिनीहरुका थुप्रै फाइदाहरु छन्, जस्तैः छाला, हाड, ऊन आदि। हाम्रो देशमा यिनीहरुको सांस्कृतिक तथा सामाजिक महत्व पनि उत्तिकै छ । विशेषगरी ग्रामीण घरहरुमा गाईवस्तुलाई गोबरग्यासको स्रोत पनि मानिन्छ । मुलुकभरका ७५ प्रतिशत भन्दा बढी (७६.६%) घरमा गाईपालन गरिन्छ । पशुधनको कुल गार्हस्थ्य उत्पादनमा भैसीपछिको दोस्रो स्थानमा गाईवस्तु नै पर्दछन् जसको पछि क्रमशः बाखा, कुखुरा, भेडा र हाँसपालन पर्दछन् । यी उत्पादनहरुमा सबैभन्दा ठूलो योगदान दूधबाट (४७%) र त्यसपछि मासुबाट (३१%), यातायातमा (१६%), अण्डाबाट (५%), छालाबाट (०.८%) र ऊनबाट ( ०.२%) प्राप्त भएको छ । गाईवस्तुलाई ग्रामीण गरिबी निवारणको एउटा मुख्य माध्यमको रुपमा पनि लिइन्छ ।

हाम्रो देशमा हालसम्म ७ किसिमका रैथाने गाईवस्तुको नश्ल पहिचान भएका छन् । तिनीहरु क्रमशः लुलु, पहाडी, सिरी, खैला, अछामी, तराई तथा हिमाली याक हुन् । लुलु गाई मुख्यगरी मुस्ताङ जिल्लामा पाइन्छ यद्यपि यिनीहरुलाई डोल्पा र मनाङ जिल्लामा पनि न्यून संख्यामा पाउन सकिन्छ । पहाडी गाई प्रायः सबै पहाडी जिल्लाहरुमा पाइन्छ भने सिरी चाँहि मुख्यतः इलाम जिल्लामा पाइन्थ्यो। खैला गाई पश्चिम नेपालको लोकप्रिय नश्ल हो जुन डोटी, डॅडेलधुरा र बैतडी जिल्लामा पाइन्छ। याक चाहिँ मुलुकको हिमाली क्षेत्रभरी सर्वत्र पाइन्छ ।

विशेषता

नस्लको सकारात्मक गुण / विशेषता 

दूध उत्पादनको हिसाबले रैथाने गाई देशी नश्लभन्दा कम उत्पादन दिन्छ तर यसको अन्य धेरै गुण वा विशेषताहरु छ । जस्तैः बलियोपन, स्थानीय विकट अवस्थामा पनि अनुकूलता, सामान्य व्यवस्थापन भएको ठाउँमा पनि उत्पादन गर्न सक्ने क्षमता आदि । हामीकहाँ यी सकारात्मक विशेषताहरुलाई सही ढंगले पहिचान भएको पनि पाइँदैन र विदेशी नश्ललाई अनावश्यक प्राथमिकता पनि दिइएको देख्न सकिन्छ ।

                                                             टेबल  : रैथाने नश्लका गाईवस्तुका सकारात्मक गुण / विशेषताहरु

gai

 

नस्लहरु

नस्ल पहिचान

नेपालमा पाइने रैथाने गाईवस्तुमध्ये लुलु गाई बाहेक प्रायः सबै जेबु प्रकारका र जुरो भएका छन् । यिनीहरुलाई दूध, मल, भारवहन, छाला र यातायातका लागि पालन गरिन्छ । यिनीहरु विदेशी नस्लका तुलनामा कम दूध उत्पादक हुन्छन् तथापि यिनीहरु अन्य नस्ल भन्दा पश्चिमाञ्चल विकास क्षेत्रमा भैंसीको जनसंख्या उच्च रहेको छ। जनसंख्याको हिसाबमा पूर्वाञ्चल तथा मध्यमाञ्चल विकास क्षेत्रमा बाखाको संख्या धेरै देखिन्छ । त्यसैगरि भेडा पश्चिमाञ्चल, सुंगुर पूर्वाञ्चल तथा कुखुरा मध्यमाञ्चल विकास क्षेत्रमा अधिक संख्यामा पाईन्छन् । 

नेपालमा पहिचान भइसकेको पशुपक्षीको चारित्रीकरण भइसकेको छ । खासगरी बाहिरी शारिरीक बनोटलाई आधार मानि चारित्रिकरण गरिएपनि केही प्रजातिहरुमा क्रोमोजमस्तरमा स्थानीय वातावरण र व्यवस्थापनमा राम्ररी अनुकूलित हुन सक्छन् र तुलनात्मक रुपमा रोग र परजीवी प्रतिरोधक हुने देखिन्छन् । नेपालमा पहिचान भएका गाईवस्तुको नश्लहरु तराई, पहाडी, लुलु, अछामी, सिरी, खैला र याक हुन्। रैथाने नश्लका गाईवस्तुहरु राम्रोसँग स्थानीय वातावरण अनुकूल हुन सक्ने भएकाले र यिनीहरु पर्यावरणीय दृष्टिकोणले पनि प्रभावकारी हुने भएकाले मुलुकभरका तराई देखि पहाड तथा उच्च हिमाल सम्मका सबै पर्यावरणीय क्षेत्रहरुमा यिनीहरुको पालन गरिन्छ ।

                           तालिका : विकास क्षेत्र तथा भौगोलिक विभाजन अनुसार नेपालका पाईने पशुपंक्षीहरुको जनसंख्या

123
 

लुलु गाई (Lulu cattle)

मुलुकमा पाइने एकमात्र जुरोविहिन नस्ल लुलु गाईले उच्चभेगको सुख्खा चिसो वातावरणमा अनुकूलता प्राप्त गरेको छ। यिनीहरु विकट पहाडी भूभागमा पनि हुर्कन सक्छन् तथा सिमित व्यवस्थापनमा पनि उत्पादन दिन सक्छन्। यी नस्लका गाईवस्तुलाई विभिन्न जुरो भएका र याक  सँग वर्णशंकर गराइएका कारण यी नश्लका पशुहरुको संख्या क्रमशः घट्दो क्रममा छ। लुलु गाईहरु संकटमै परिसकेका त होइनन् तैपनि यिनीहरुलाई सुरक्षित गरिनु भने आवश्यक देखिन्छ। ग्रामीण कृषकहरुले यो नश्लका गाईलाई उनीहरुको प्राकृतिक वासस्थानमा संरक्षण गर्न प्रमुख भूमिका निर्वाह गर्दै आएका छन्। यी लुलु गाईको बाहिरी बनावट र डि.एन.ए. स्तरमा चारित्रीकरण गरिएको छ । यो नश्लका गाईवस्तु मुलुकमा एकदमै सीमित संख्यामा छन् तथा यिनीहरुलाई मुस्ताङ जिल्लाको साथै थोरै संख्यामा डोल्पा र मनाङको निश्चित स्थानहरुमा पाउन सकिन्छ । लुलु गाई लोकप्रिय हुनाको कारण यिनीहरुको बलियोपनका साथै कठोर पर्यावरणीय अवस्थामा र सिमित व्यवस्थापनमा पनि दूध उत्पादन गर्न सक्ने क्षमता नै हो। लुलुको भालेलाई लुलु मेह भनिन्छ भने पोथीलाई लुलु मो भनिन्छ । मुस्ताङ जिल्लाका कृषकहरुले विगत ५०० वर्ष देखि यो जातको गाईको पालन गर्दै आएको देखिएको छ । यी पशुहरु युरोपबाट चीन र मंगोलिया हुँदै तिब्बत र नेपाल बसाईं सर्दै आएको हुन सक्ने अनुमान छ (Shrestha and Shrestha, 1998)। लुलु नश्लका गाईवस्तुलाई १९ वर्ष सम्म पालिएको पाईएको छ। यिनीहरुको अधिकतम तौल ६ वर्षको उमेरमा २२७.३ केजी पुगेको पाइएको छ भने अधिकतम शारीरिक लम्बाई ११५ से.मी. र काँधको उचाई  ११७ से.मी. पाइएको छ (Annual Report of ABD, 1994/95)

 

lulu

 

अछामी गाई (Aachami cattle)

अछामी गाईको जनसंख्याले कुल चौपाया जनसंख्याको एउटा सानो भागमात्र ओगटेको छ र यिनीहरुलाई पश्चिम पहाडको अछाम, बझाङ, बाजुरा र डोटी जिल्लामा पाउन सकिन्छ । यिनीहरु विश्वकै सबैभन्दा सानो नश्लका गाई हुन् ।  यिनीहरुलाई 'सानो गाई' वा 'नौमुठे गाई' को नामले पनि चिनिन्छ । यिनीहरुको फेनोटाइपिक स्तरमा चारित्रीकरण गरिएको छ। कृक्षकहरुले यिनीहरुलाई प्राकृतिक वासस्थानमा संरक्षण त गरिरहेका छन् तर पनि यिनीहरुको सुरक्षा र व्यवस्थापन आवश्यक भैसकेको छ । यिनीहरु संरक्षणका दृष्टिकोणले खतरामा छन् । यो नश्ल सिमित व्यवस्थापन भएको स्थानमा, विशेषगरी पहाडी इलाकामा उपयुक्त हुन सक्छन् ।

3

 

सिरी गाई (Siri cattle)

सिरी पूर्वी नेपालको एक लोकप्रिय नस्ल थियो जुन भुटानबाट भारतको सिक्किम र दार्जलिङ हुँदै इलाममा प्रवेश भएको मानिन्छ । पहाडी क्षेत्र, विशेषगरी इलाम जिल्लाको एउटा उत्पादनशील नस्लको सिरी गाई हाल मुलुकबाटै लोप भइसकेको छ (Neopane, 2002) । यिनीहरुलाई पूर्वी नेपालको पहाडमा समुद्रसतहभन्दा १२०० मिटर माथिको भूभागमा पालिन्थ्यो । यिनीहरुलाई स्थानीय गाईहरुसँग वर्णशंकर गराइदै लगिएकाले हाल यिनीहरुको शुद्ध जात लोप भइसकेका छन् । यो नस्लका गाईले दैनिक ६ लिटरसम्म दूध उत्पादन गर्न सक्थ्यो। यिनीहरुको अधिकतम शारीरिक लम्बाई र तौल ९ वर्षको उमेरमा क्रमशः १३४ ±७.५ से.मी. र ३१५.३±०३.१२ केजी हुने गथ्यर्थ्यो। त्यसैगरी काँधको उचाइ १० वर्षको उमेरमा १२८.४३ ±७.९ से.मी.सम्म हुने गर्थ्यो ।

  siri

 

खैला गाई (Khaila cattle)

खैला गाईहरु मुलुकको शिवालिक श्रङ्खला (४०० मि.) देखि उच्च हिमाली क्षेत्र (४००० मि.) सम्म पाइन्छन् । यिनीहरु मुख्यगरी सुदुरपश्चिमका पहाडी क्षेत्रमा पाइएका छन् र यिनीहरुलाई खनजोत तथा कृषि कार्यका लागि राम्रो नस्ल मानिएको छ । यी गाईगोरुहरु पहाडी र लेकाली भूभागमा अनुकूल हुनाको साथै यिनीहरु भिरालो जमिनमा पनि चर्न सक्छन् । यी खैला गाईका उद्गमका बारेमा कुनै लिखित तथ्याङ्क भेटिएको छैन, तथापि यी गाईहरु (डोटेली गाई) डोटी र डंडेलधुरा जिल्लाबाट आएको विश्वास गरिन्छ। कृषि कार्यको अलावा यिनीहरुलाई दूध र मलको लागि पनि उपयोग गरिन्छ। यिनीहरु ठूला कदका र मजबुत हुन्छन् । यिनीहरु सीमित इलाकामा केन्द्रित भएका छन् र थोरै संख्यामा रहेका छन्। यिनीहरुलाई बाहिरी वनावट स्तरमा मात्र चरित्रीकरण गरिएको छ (Neopane and Shaha, 2002) ।

3

 

याक (Bos grunniens or Poephagus grunniens)

याक र नाक हिमाली गाई हुन् र यिनीहरु मुलुकको हिमाली क्षेत्रमा पाइन्छन् । यिनीहरु देशको उत्तरी भागमा अवस्थित रहेको पाइएको छ। पर्वतीय क्षेत्रका बासिन्दाका लागि यी पशुहरु एकदमै महत्वपूर्ण जिन्सीका रुपमा वा उपभोग्य वस्तुका रुपमा रहेका छन्। याक र नाकलाई समूद्रसतहभन्दा ३००० मिटर माथि हिमालपारीको क्षेत्रमा पालन गरिन्छ। यिनीहरुको संख्या घट्दै गएको अनुमान छ त्यसैले यिनीहरुको संरक्षणका लागि ध्यान पुऱ्याउनु आवश्यक देखिएको छ । कृषकहरुले आफ्नै तवरले यिनीहरुको पालनपोषण गर्दै आइरहेका छन् । यिनीहरुको चरित्रीकरण पनि बाहिरी वनावट स्तरमा मात्र भएको छ, पर्वतीय क्षेत्रमा याक (भाले) लाई पहाडी गाईसँग प्रजनन् गराई चौरी (पोथी) र झोप्क्यो (भाले) जन्माइन्छ । नाक (पोथी याक) लाई पहाडी गोरुसँग पनि प्रजनन् गराउन सम्भव छ तर यो चाहिँ त्यति प्रचलनमा छैन् । चौरीहरु उत्तम दूध उत्पादक हुन्छन् भने झोप्क्योहरु चाहिँ नपुसंक वा बाँझो हुन्छन् र यातायात र भारी बोक्नको लागि उत्तम हुन्छन्। चौरी र झोप्क्यो याक र नाक भन्दा धेरै निम्न उचाईमा झर्न सक्छन् । प्राप्त जानकारी अनुसार नेपालको चौरी र झोप्क्यो उत्पादन (जुन एकप्रकारको वर्णशंकर हो) विश्वमै अपूर्व उदाहरण हो। यी रैथाने गाईले मुलुकभरको चौपायाको जनसंख्याको एउटा सानो हिस्सामात्र प्रतिनिधित्व गर्ने भए तापनि यिनीहरु पर्वतीय र पहाडी बासिन्दाका लागि एक अत्यन्त उपयोगी पशुधन हुन् |

yak

 

तराई गाई (Terai cattle)

तराई गाईहरु मुलुकको तराई क्षेत्रमा पाइन्छन्। तराई गाईहरु उज्यालो र हल्का रङ्गका । प्रायः सेता) हुन्छन् । यिनीहरु मुख्यतः सेतो र रातो रङ्गमा पाइन्छन् । यिनीहरुलाई भारवहनका लागि (जोत्न र गाडा तान्न) राम्रो मानिन्छ। यिनीहरु दूध, मल तथा जैविक उर्जाका लागि पनि उपयोगी हुन्छन् । संरक्षणका दृष्टिबाट यी नश्लका पशुहरु पर्याप्त संख्यामा छन् त्यसैले यिनीहरु खतरामा छैनन् । यिनीहरुलाई पनि बाहिरी बनावट स्तरमा चरित्रीकरण गरिएको छ ।

 

terai cattle

 

पहाडी गाई (Pahadi cattle)

मुलुकको कुल चौपाया जनसंख्याको बहुसंख्यक प्रतिनिधित्व गर्ने पहाडी गाई मुख्यगरी कालो रङ्गका हुन्छन् । पहाडी गाईहरु पहाडी क्षेत्रभरी नै पाइन्छन् र यिनीहरु पहाडका गद्दा तथा भिरालो जमिनमा जोत्नका लागि पनि उपयोगी मानिन्छन्। यिनीहरु कठोर र ठन्डा हावापानीमा अनुकूल भएका हुन्छन् र सिमित व्यवस्थापनमा पनि हुर्कन तथा काम गर्न सक्छन् । यिनीहरुलाई दूध र मलका लागि पनि प्रयोग गरिन्छ। संरक्षणको दृष्टिकोणले यी नस्लका पशु सामान्य अवस्थामा छन् । । यिनीहरुको बाहिरी वनावट स्तरमा चारित्रीकरण गरिएको छ ।

pahadi gai

 

उत्पादन

लुलु गाई 

लुलु गाई सानो कदको र कम दूध उत्पादन क्षमता भएको गाई हो। यसले १९५ दिनको दुहुनो अवधिमा औसत १.६ केजी दूध उत्पादन गर्छ । यसले दूध उत्पादन न्यूनतम ०.५ देखि अधिकतम ३.५७ लिटरको हाराहारीमा गर्दछ । सबैभन्दा बढी दूध उत्पादन सातौं दुहुनो वर्षमा पाइएको छ । बाछी भन्दा बाछालाई बढी स्याहार गरिने भएकाले लुलु मो (पोथी) को तौल भन्दा लुलु मेह (भाले) को बढी हुन्छ । प्रायःजसो लुलु गाईको २ देखि १८ वर्षसम्मको औसत तौल १५० केजी देखि २०० केजीको बीचमा हुन्छ भने लुलु साँढेको ६ वर्षमा अधिकतम तौल २२७केजी सम्म हुन्छ । 
यी पशु निकै बलिया हुन्छन् तथा सुख्खा र चिसो ठाउँमा पनि हुर्काउन सकिन्छ । यो रुखो वातावरणमा पनि हुर्कन सक्छ। तथा कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्ने क्षमता राख्दछ । यसले करीब ३.५ वर्षको उमेरमा प्रजनन्‌का लागि वयस्क उमेर हासिल गर्दछन् भने पहिलो बेत वा सन्तान उत्पादन ४ देखि ४.५ वर्षको उमेरमा गर्दछ (टेबल ३)। यो तथ्याङ्क १.५ देिखि २ वर्षको उमेरमा प्रजनन्‌का लागि वयस्क हुने युरोपेली जर्सी र होल्स्टिन फ्रिसियन (Jersey and Holstein Friesian) भन्दा अलि अधिक नै हो। यसको गर्भधारण अवधि ९ महिना (२८० दिन) को हुन्छ। यो चौपाया नश्लहरुको सामान्य सीमाभित्र पर्दछ ।

अछामी गाई 

अछामी गाई संसारमै सबैभन्दा सानो नश्लको गाई हो । यसको दूध उत्पादन क्षमता कम हुन्छ र यसले २२५ दिनको दुहुनो अवधिमा औसत घटबढ १.५ केजीमा ०.२२ केजीसम्म दूध उत्पादन गर्दछ । यसको औसत दूध उत्पादन २ लिटरभन्दा कम देखिए पनि यसको न्यूतनम उत्पादन १ लिटर देखि अधिकतम उत्पादन ४ लिटरसम्म हुन्छ । यसको अर्थ यो हो कि यो नश्लमा हाल उत्पादन गरिरहेको भन्दा अधिक उत्पादन गर्न सक्ने क्षमता राख्दछ । यसले प्रजजन् वयस्कता करीब ४ वर्षको उमेरमा प्राप्त गर्दछन् भने पहिलो बेत ५ वर्षको उमेरमा जन्माउँछन् । यसको गर्भधारण अवधि २८५ दिनको हुन्छ जुन की लुलु र अन्य विदेशी नश्लका गाईहरु सरह नै हो ।

सिरी गाई 

सिरी गाई मध्यम कदको र राम्रो दूध उत्पादन क्षमता भएको गाई हो। यसको दूध उत्पादन २६८ दिनको दुहुनो अवधिमा औसत घटबढ ४.५ केजीसम्म हुने गदर्छ । यो कठीन वातावरणमा पनि हुर्कन सक्छन् र कम भरण प्रणालीमा पनि उत्पादन गर्न सकिन्छ । यसको करीब ३.५ वर्षको उमेरमा प्रजनन्‌को लागि वयस्क हुन्छ भने पहिलो बेत ४ देखि ४.५ वर्षको उमेरमा जन्माउँछ । यो तथ्याङ्क १.५ देखि २ वर्षको उमेरमा प्रजनन्‌का लागि वयस्क हुने युरोपेली जर्सी र होल्स्टिन फ्रिसियन (Jersey and Holstein Friesian) भन्दा अलि अधिक नै हो । यसको गर्भधारण अवधि २९५ दिनको हुन्छ जुनकी अभिलेखहरुमा उल्लेखित तथ्याङ्कसँग मिल्दछ । यो चौपाया नश्लहरुको सामान्य सीमाभित्र पर्दछ ।

खैला गाई 

खैला गाई कम दूध उत्पादन क्षमता तर राम्रो जोत्न सक्ने क्षमता र ठूलो कद भएको गाई हो । यसले १० महिना (३०५ दिन) को दुहुनो अवधिमा दैनिक औसत २.५ केजी दूध उत्पादन गर्दछ । यो बलिया र पहाडी भेगको लागि उपयुक्त हुन्छ । यो कडा वातावरणमा पनि हुर्कन सक्छ तथा सामान्य व्यवस्थापनमा उत्पादन गर्न सक्छ । यो करीब ४ वर्षको उमेरमा प्रजनन्का लागि वयस्क हुन्छ भने पहिलो बेत ४ देखि ५ वर्षको उमेरमा जन्माउँछ । यो तथ्याङ्क १.५ देखि २ वर्षको उमेरमा प्रजनन्‌को लागि वयस्क हुने युरोपेली जर्सी र होल्स्टिन फ्रिसियन (Jersey and Holstein Friesian) भन्दा अलि अधिक नै हो। यसको गर्भधारण अवधि ९ महिना (२८८ दिन) को हुन्छ जुनकी प्रायः जसो आभिलेखहरुमा उल्लेखित तथ्याङ्कसँग मिल्दछ । यो चौपाया नश्लहरुको सामान्य सीमाभित्र पर्दछ । बाछालाई २.५ देखि १५ वर्षको उमेरसम्म खेत जोत्नको लागि प्रयोग गर्नाका हेतु नशलबन्धी गर्नु पर्दछ ।

याक 

याक कम दूध उत्पादन क्षमता भएपनि धेरै घृताङ्स (६.६%) भएको मध्यम कदको हिमाली गाई हो। यसले ५ महिना (१६० दिन) को दुहुनो अवधिमा औसत ०.८ केजी दूध उत्पादन गर्दछ । यो असाध्यै बलिया र ठन्डा हावापानीको लागि उपयुक्त हुन्छ । यो विकट वातावरणमा पनि हुर्कन सक्ने साथै सामान्य व्यवस्थापन भएको ठाउँमा पनि दूध, यातायात, मलका साथै पुच्छर, छाला जस्ता उत्पादनहरु गर्न सकिन्छ । यो करीब ४ वर्षको उमेरमा प्रजनन्का लागि वयस्क हुन्छ र यसको पहिलो बेत ४.५ देखि ५ वर्षको उमेरमा जन्मिन्छ (टेबल ३) । यो तथ्याङ्क १.५ देखि २ वर्षको उमेरमा प्रजनन्‌को लागि वयस्क हुने युरोपेली जर्सी र होल्स्टिन फ्रिसियन (Jersey and Holstein Friesian) भन्दा अलि अधिक नै हो । यसको गर्भधारण अवधि ९ महिना (२५२ दिन) को हुन्छ जुन प्रायः जसो आभिलेखहरुमा उल्लेखित तथ्याङ्कसँग मिल्दछ। सामान्यत नाक (पोथी याक) लाई ब्याएको पहिलो दुई महिनासम्म दुहिदैन ताकि यसको बाछा स्वस्थ हुन सकोस् । Sherchand and Karki (1997) को प्रतिवेदन अनुसार यिनीहरुको औसत दूध उत्पादन १६७ दिनको दुहुनो अवधिमा ६.६ घृताङ्स सहित २२० केजी हुन्छ । याक र नाकको औसत खस्रो ऊन (जसलाई सोलुखुम्बुमा चिपी र मुस्ताङमा छिपाई भनिन्छ) को उत्पादन प्रतिवर्ष ०.१५६ ०.०४ केजी र नरम ऊन (जसलाई सोलुखुम्बुमा पुर मुस्ताङमा खुलु भनिन्छ) को उत्पादन प्रतिवर्ष ०.२१८०.०३५ केजी पाइएकोछ । नरम ऊनलाई राडी, पाखी, स्वेटर आदि बनाउन प्रयोग गरिन्छ भने खस्रो ऊन ग्रामीण इलाकामा डोरी बनाउन प्रयोग गरिन्छ । 

याकको काम गर्न सक्ने समय १०-१२ वर्षको हुन्छ भने झोप्क्यो (पहाडी गाई र याकको कस) को १२-१५ वर्षको हुन्छ । याकले सामान्यतया ५० देखि ६० केजी सम्मको भारी पिठ्यूँमा बोक्छ भने गृष्मकालीन चरनको बेलामा ८० देखि १०० केजी सम्म बोक्दछ । झोप्क्योले सामान्यतः ४०-५० केजी र गृष्मकालीन चरनको बेलामा ६०-७० केजी सम्मको भार बोक्दछ । याक र झोप्क्योले ४-५ घन्टा प्रतिदिनको हिँडाईको हिसाबले दैनिक क्रमशः १०-१२ कि.मि. र ९-१० कि.मि. दुरी तय गर्दछन् । प्रतिदिन २० कि.मि. सम्मको हिँडाईको तथ्याङ्क पनि पाइएको छ । नाक र झोमको औसत गर्भधारण अवधि क्रमशः २५४.४±८.२६ र २५५.९± ८.३७दिनको हुन्छ । नाकको गर्भावस्था अन्य नश्लका गाईको भन्दा तुलनात्मक रुपमा छोटो हुन्छ । सोलुखुम्बु क्षेत्रको एक अध्ययनमा याकको बाछा र बाछीको जन्मँदाको तौल क्रमशः ९.१४°०.२ र ७.२५०.४ केजी पाइएको हो । सन्तान उत्पादनको समय फागुन देखि असारसम्म हुन्छ । मुस्ताङ क्षेत्रको नाकको ३ वटा थूनको दूध उत्पादन सोलुखुम्बु क्षेत्रको भन्दा कम थियो । Annual Report of ABD, 1995/96 को अध्ययन अनुसार चौरीहरुमा १८० दिनको दुहुनो अवधिमा ५०० लिटर दूध उत्पादन भएको पाईयो । त्यस्तै Joshi, 1994 को प्रतिवेदनले १५०-१८० दिनको दुहुनो अवधिमा दूध उत्पादन ६०० देखि ७२० केजी सम्म पाईएको थियो ।

तराई गाई

तराई गाई कम दूध उत्पादन क्षमता भएको मध्यम कदको गाई हो। यसले २४६ दिनको दुहुनो अवधिमा औसत घढबढ २.१ केजी दूध उत्पादन गर्दछ । यो मजबुत र गर्मी हावापानीमा उपयुक्त हुन्छ । यसले प्रजनन्‌का लागि वयस्कता ३.५ वर्षको उमेरमा हासिल गर्दछ भने पहिलो सन्तान उत्पादन ४ देखि ४.५ वर्षको उमेरमा गर्दछ । यो तथ्याङ्क १.५ देखि २ वर्षको उमेरमा प्रजनन्‌का लागि वयस्क हुने युरोपेली जर्सी र होल्स्टिन फ्रिसियन (Jersey and Holstein Friesian) भन्दा अलि अधिक नै हो। गर्भधारण अवधि २९६ दिनको हुन्छ जुनकी प्रायः आभिलेखहरुमा पाइने तथ्याङ्कसँग समान छ। यो चौपाया नश्लहरुको सामान्य सीमाभित्र पर्दछ ।

पहाडी गाई 

पहाडी गाई कम दूध उत्पादन क्षमता भएको साना कदको गाई हो । यसले २४० दिनको दुहुनो अवधिमा दैनिक औसत १.१ केजी दूध उत्पादन गर्दछन । यो बलिया र पहाडी हावापानीमा उपयुक्त हुन्छ । यो विकट अवस्थामा पनि हुर्कन सक्छ र सामान्य व्यवस्थापन भएको स्थानमा पनि उत्पादन दिन सक्दछ । यसको प्रजजन् वयस्क उमेर करीब ४ वर्षको उमेरमा हुन्छ भने पहिलो सन्तान उत्पादन ५वर्षको उमेरमा हुन्छ (टेबल ३) । यो तथ्याङ्क १.५ देखि २ वर्षको उमेरमा प्रजनन्‌का लागि वयस्क हुने युरोपेली जर्सी र होल्स्टिन फ्रिसियन (Jersey and Holstein Friesian) भन्दा अलि अधिक नै हो। गर्भधारण अवधि ९ महिना (२७५ दिन) को हुन्छ जुनकी प्रायः आभिलेखहरुमा पाइने तथ्याङ्कसँग समान छ । यो चौपाया नश्लहरुको सामान्य सीमाभित्र पर्दछ ।

अन्य जानकारी

आगामी सम्भाव्यता 

हाम्रो देशमा पहिचान गरिएका रैथाने गाईको नश्ललाई कम उत्पादनशील मानिँदै आएको छ । यदि विकसित मुलुकहरुको गुणस्तर तहमा तुलना गर्ने हो भने र सीमित वा भनौं एकाध गुणको मात्र कुरा गर्ने हो भने यो कुरा सही पनि हो । उदाहरणका लागि, विकसित मुलुकहरुमा चौपाया वा गाईहरु दूध र मासुका लागि मात्र पालिन्छन् । तर हाम्रो जस्तो विकासोन्मुख मुलुकहरुमा भने यी चौपायाहरु दूध, मल, खेत जोत्न लगायतका धेरै किसिमका कार्यहरुको लागि उपयोग गरिन्छन्। यी रैथाने नश्लको गाईले कम उत्पादन गरे तापनि यिनीको अन्य थुप्रै विशेषताहरु छन् जस्तैः मजबुती, सामान्य व्यवस्थापनमा पनि उपयुक्त, बहुउपयोगी आदि । दूध उत्पादनकै कुरा गर्ने हो भने पनि एकै नश्लका गाईको उत्पादनमा ठूलो अन्तर पाइएको छ । उदाहरणका लागि, रैथाने गाईको दैनिक दूध उत्पादन औसतमा १ देखि २ केजी भन्दा कम हुन्छ तर यो तथ्याङ्क व्यक्तिगत तहमा १ देखि ४ केजी सम्म पुग्ने गर्दछ । यसले के देखाउँछ भने रैथाने गाईका दूध उत्पादन क्षमता बढाउन सकिने प्रचुर सम्भावना छ । यसको लागि नश्लभित्रैबाट छनौट गरी कार्य गर्न सकिन्छ । एउटा सरल छनौट प्रकृया अपनाएरै मात्र पनि रैथाने गाईको उत्पादनशीलतामा बृहद वृद्धि गर्न सकिन्छ । 


रैथाने नस्लका गाईले सामान्य व्यवस्थापनमा पनि उत्पादन गर्न सक्ने क्षमता प्रदर्शन गरिसकेको छ जुन अवस्था विदेशी नश्लका गाईगोरुले सामना गर्न सक्दैनन् । उदाहरण लिनु पर्दा याक, नाक र चौरीले उच्च हिमाली चरनको उपभोग गर्दछन् र नेपालको हिमाली ग्रामीण जनजीवनमा एउटा महत्वपूर्ण भूमिका निवाह गर्दछ । यो हिमाली भीरपाखा र चरनमा सहजै हिँडडुल गर्न सक्छ जुन विदेशी नश्लका गाईले गर्न सक्दैन । यो रैथाने गाईगोरुको धार्मिक, सांस्कृतिक तथा सौन्दयजन्य महत्वहरुले यसको संरक्षण गर्न र राष्ट्रिय सम्पदाका रुपमा लिन थप जोड दिएको छ । एउटा स्तरीय प्रारुप सहित सामुदायिक नश्ल दर्ताका माध्यमबाट रैथाने नश्लको विस्तृत पहिचान गर्न एउटा विशेष कार्यक्रम हुनु जरुरी देखिन्छ । 
खेतबारी जोत्नका लागि रैथाने नश्लका गाईगोरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । जोताहा पशु कृषि क्रियाकलापका लागि मुख्य उर्जाका स्रोत हुन् । गाईगोरु कृषि क्रियाकलापहरुमा व्यापक रुपमा प्रयोग हुने जोताहा पशु हो। याक, नाक र चौरीलाई भारी बोक्नका लागि प्रयोग गरिन्छ तर यिनीहरुलाई उच्च पहाडी र हिमाली भेगमा जोत्नका लागि पनि प्रयोग गरिन्छ । यातायातको अन्य स्रोतको विकल्प न्यून भएको उच्च भूभागमा याक, नाक र चौरी यातायातका महत्वपूर्ण स्रोतका रुपमा रहन सक्छन् भने चौरी, याक र स्थानीय गाई वा नाक र स्थानीय साँढेबीचको कस हो, चाहिँ मध्य पहाडसम्म झर्न सक्छ र यातायातको लागि महत्वपूर्ण भूमिका खेल्दछ । याक चीज मुलुककै लागि विदेशी मुद्रा विनिमयको राम्रो स्रोत हो । याक चीज यसको स्वाद, बास्ना र कडापनका लागि विश्वभर प्रख्यात छ । याक चीज देशका लागि तुलनात्मक लाभ हुने एउटा महत्वपूर्ण उपभोग्य वस्तु हुन सक्ने देखिन्छ । याक र नाकको दुधबाट बन्ने छुर्पी/दुर्खा उत्पादनको लागि पनि प्रख्यात छ । यो बाहेक, यो पशुले प्रशस्त मात्रामा मल पनि प्रदान गर्दछ जसले माटोको उर्वराशक्ति बढाउन र कायम राख्नको लागि प्रयोग गरिन्छ । पहाडी र हिमाली भेगमा रासायनिक मलको प्रयोग त्यति प्रचलनमा छैन । यस सन्दर्भमा पशुमलको योगदान धेरै उपयोगी सिद्ध हुन्छ । यसबाहेक गाईहरु पहाडी र हिमाली भेगको बासिन्दाको खानपानमा पशुजन्य प्रोटिन प्रदान गर्ने एक उपयोगी स्रोत बनेको छ ।

रैथाने गाई मध्ये अछामी साँढेलाई क्रायोप्रिजर्भेशन (cryopreservation) को लागि प्रयोग गरिएको छ । पशुप्रजनन् महाशाखाको आफ्नै एउटा जीन बैंक छ जहाँ अछामी र अन्य केही विदेशी चौपाया, जर्सी र होल्स्टिन फ्रिसियनको वीर्यहरुको क्रायोप्रिजर्भेशन (cryopreservation) गरेको छ । जसबाट रैथाने गाईगोरुको उत्पादनशीलता बढाउनुका साथै संरक्षण पनि गर्न सकिन्छ । महाशाखाले अरु संकटग्रस्त र दुर्लभ रैथाने साढेको वीर्य उत्पादन गर्ने र संरक्षण गर्नका लागि कार्यक्रम विकास गर्ने गर्दछ । भविष्यमा महाशाखाले देशको आवश्यक्तालाई उचित सम्बोधन गर्ने वीर्य उत्पादनको आफ्नै प्रविधि विकास गर्नु पर्ने आवश्यकता ठानेको छ । रैथाने, दुर्लभ र संकटग्रस्त पशुधनजन्य प्रजातिको संरक्षण र विकास गर्न आ.व. २०००/२००१ (सन्) मा एउटा पर्यावरणमैत्री खेत-बगैंचा (eco-farm park) बनाउँने योजना ल्याइएको थियो । सो पर्यावरण मैत्री खेत बगैंचाको प्रस्तावित स्थल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (RARS), लुम्लेमा थियो । यसका सहकर्ताहरु Rare Breed International (RIB), पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान् ( IAAS) थिए । सो कार्यक्रम मुख्य गरी आर्थिक कारणले नै अगाडि बढाउँन सकिएन । जे भए पनि पर्यावरणमैत्री खेत बगैंचाको अवधारणा रैथाने पशुको अनुवंशकीय स्रोत (AnGR) को संरक्षण तथा उपभोगका लागि एउटा व्यवहारिक र एकदमै तर्क संगत अवधारण हो । अछामी गाई जुन संसारकै सबैभन्दा सानो नश्लको गाई हो र यसको कम्मरसम्मको उचाइ १ मिटर भन्दा सानो हुन्छ । यो सामान्य व्यवस्थापन भएका स्थानका लागि उपयोगी हुन्छन् । यो नश्ललाई नेपालको मात्र नभई संसारकै सामान्य व्यवस्थापन भएको ठाउँमा उपयुक्त हुने गुणस्तरीय नश्लका रुपमा विकास गर्न सकिन्छ । त्यस्तै लुलु गाई, जुन सुख्खा र चिसो सहन सक्ने क्षमता र निकै मजबुत हुन्छ यिनीहरु नेपालको पहाडी क्षेत्र मुख्य गरी मुस्ताङ जिल्लाको लागि उत्कृष्ट हुन सक्दछन् । यिनीहरुलाई छनौट पद्दतिमार्फत् दूध उत्पादन क्षमता वृद्धि गरी सुख्खा र चिसो हावापानीमा राम्रो हुने नश्लको रुपमा स्थापना गर्न सकिन्छ ।

नस्लहरुको चारित्रिकरण

बाहिरी वनावटको आधारमा चारित्रीकरण 

यी पहिचान भएका नस्लहरुलाई प्रमुख रुपमा फेनोटाइपिक स्तरमा चारित्रीकरण गरिएको छ यद्यपि यी मध्ये केहीलाई भने क्रोमोजोम र डि.एन.ए. स्तरमा पनि वर्गिकृत गरिएको छ । 


१. लुलु गाई: लुलु गाई उच्च पर्वतीय भूभागमा पाइने सानो कदको Bos taurus चौपाया हो । यो गाई मुलुककै एकमात्र जुरोविहिन चौपाया नश्ल हो। यिनीहरु मुस्ताङ जिल्लामा र मनाङ एवं डोल्पा जिल्लाका केही भागमा पाइन्छन्। यी गाईहरु निकै बलिया हुन्छन् र सुख्खा ठन्डा हावापानीका लागि उपयुक्त हुन्छन् । यिनीहरु कठोर वातावरणमा पनि हुर्कन सक्छन् तथा कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्ने क्षमता राख्दछन्। यिनीहरु पहाडी अवस्थामा उपयुक्त हुने तथा सरदर वयस्क तौल १२५-१५० केजी र छातीको गोलाई ११४ से.मी. भएका साना कदका गाई हुन्। यिनीहरुको काँधको उचाई  पनि अरुभन्दा केही होचो नै हुन्छ (जुरो सम्मको उचाई ८७ से.मी) । यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो टाटेपाटे आदि हुन्छ । कान सीधा र औसत १४ से.मी. लम्बाईको हुन्छ । लुलु गाईको औसत शरीरको लम्बाई, छातीको गोलाई , काधको उचाई, नितम्बको उचाई  कानको लम्बाई तथा शरीरको तौल क्रमशः ९९.४±१.२ सेमी, १४४.२± १.१ से.मी., ८७.२±०.८ से.मी., ८७.७±८०.७ से.मी., १३.८±०.४ से.मी. र १२४.७±८१.८ केजी पाएको थियो (Rana et al., 1996) Takenda et al. (2002) को प्रतिवेदन अनुसार लुलु गाईको सबैभन्दा कम शारीरिक तौलका वर्गमान झारकोट गाउँमा १३०.३±२५.३ केजी, कागबेनीमा १२३.९±८१.८ केजी, छैरोमा १५६.६±४४.२ केजी र टुकुचेमा १८५.६±४९.३ केजी पाइएको थियो । कम र बढी उचाईको भूभागमा पाइने गाईहरुको शारीरिक कदमा उल्लेखनीय फरक पाइयो । 


२ अछामी गाई : अछामी गाई संसारकै सबैभन्दा सानो नश्लको गाई हो। यिनीहरुको काँधको उचाई एक मिटरभन्दा कम हुन्छ। यिनीहरु पहाडी हावापानी र सिमित व्यवस्थापनमा उपयुक्त मानिन्छन्। यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि हुन्छ। कान सीधा र औसत १७ से.मी. लम्बाईको हुन्छ। यिनीहरु सोझा देखि उदण्ड वा अटेरी सम्मको फरकफरक स्वभावका हुन्छन् । अछामी गाईको काँधको उचाई  ९ वर्षको उमेरमा ९०.८±०.९६ से. मी. थियो। त्यस्तैगरी, अधिकतम तौल र शरीरको लम्बाई ८ वर्षको उमेरमा क्रमशः १४९.३±८५.१ केजी र ९८.०७±८१.५२ से.मी. पाइएको थियो ।

 

३ सिरी गाई: सिरी गाईहरु काला र सेता रङ्गका हुन्छन् । यिनीहरुको पूर्ण विकसित कल्चौडा (थून) हुन्छ र यिनीहरु पहाडी कालो गाईभन्दा ठूला हुन्छन्। यिनीहरुको चौडा र चेप्टो निधार, सानो कान तथा अगाडि निस्केको र थोरै माथि फर्केको तिखो सिङ हुन्छन् | पूर्वी पहाडको, विशेषगरी इलाम जिल्लाको एउटा उत्पादनशील नश्ल सिरी गाई हाल मुलुकबाटै लोप भइसकेको छ। यिनीहरुको कद मध्यम आकारको (जर्सी भन्दा धेरै सानो तर तराई र पहाडी गाई भन्दा ठूलो हुन्छ र यिनीहरु दुधालु हुन्छन्। यिनीहरु विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि रङ्गमा पनि भेटिन्छन्। कान सीधा र औसत १७ से.मी. लम्बाईको हुन्छ । यिनीहरु सुधो देखि अर्ध-उदण्डसम्मको फरकफरक स्वभावका हुन्छन् । 


४. खैला गाई: खैला गाई सुदुरपश्चिममा पाइने र खनजोतका लागि (draught animal) उत्तम पशु हुन्। यिनीहरु शारीरिक रुपमा बलिया हुने भएकाले यिनीहरु मालसामान बोक्न र खेत जोत्नका लागि उपयुक्त हुन्छन् । यिनीहरु मुलुकका ठूला रैथाने गाईगोरुको नस्ल मध्येका एक हुन् । करीव ४२% बैला गाईहरु काला र सेता हुन्छन् भने त्यस्तैगरी करीब ६४% गाईहरुको सिङ सीधा र माथितिर फर्केको हुन्छ । यी गाईहरु अटेरी र उदण्ड हुन्छन् अतः यिनको मालिकबाहेक अरुले यिनलाई सहजै तह लगाउन सक्दैनन् ।


५. याक : याक (भाले) र नाक (पोथी) हिमाली गाईगोरु हुन् र यिनीहरु मुलुकको पर्वतीय क्षेत्रमा पाइन्छन् । यिनीहरु मुलुकको उत्तरी भागमा सीमित छन्। यिनीहरु प्रायःजसो कालो रङ्गका हुन्छन् यद्यपि सेतो र हल्का पहे रङ्ग पनि सामान्य मानिन्छ।। यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि हुन्छ । कान सीधा र औसत १४ से. मी. लम्बाईको हुन्छ। पुच्छरको औसत लम्बाई ३७ से.मी. हुन्छ र चमरजस्तो हुन्छ। यिनीहरु सोझो देखि उदण्डसम्मको फरकफरक स्वभावका हुन्छन् । सामान्यतया नाकलाई व्याएको पहिलो दुई महिनासम्म दुहिदैन ताकि यसको नवजात बाछा स्वस्थ हुन सकोस् । याक र नाकको अधिकतम वयस्क तौल क्रमशः ३५५ र ३२५ केजी मापन गरिएको छ । प्रजनन उमेरमा पुग्दा यी पशुहरुको तौल वयस्क तौलको ७०% पुगिसकेको हुन्छ । यिनीहरुले दुई प्रकारका ऊन उत्पादन गर्दछन् खस्रो भुत्ला र मसिनो नरम भुवा। याक र नाकको ऊन उत्पादन क्रमशः १.२ र ०.७ केजी हुन्छ। याक र नाक दुबैको प्रजनन उमेर ३ वर्षको हुन्छ भने पहिलो बेत (सन्तान उत्पादन) ४ वर्षको उमेरमा हुन्छ। गर्भधारण अवधि २५२ देखि २५५ दिनको हुन्छ भने वर्णशंकरको कुनै कुनै अवस्थामा यो २६९ दिनसम्म हुन सक्छ । गर्भधान चक्र अन्य चौपायामा जस्तै नै हुन्छ। यिनीहरुमा कुल बेतको करीब ५% जुल्याहा बाछा जन्मन सक्छन् ।

६ तराई गाई: तराई गाईहरु उज्याला रङ्गका, प्रायः सेता, र तराई क्षेत्रका लागि उपयुक्त हुन्छन् । यिनीहरु प्रायः कालो छालामा सेतो लिपिएजस्ता हुन्छन् । यिनीहरु कम दूधालु हुन्छन् भने खनजोतका लागि असल मानिन्छन् किनकि यिनीहरु तान्न र जोत्न सक्ने क्षमताका हुन्छन् । यिनीहरुको शरीरको रङ्ग कालो देखि सेतो सम्मको विभिन्न रङ्गको अर्थात् कालो, खैरो, खरानी, सेतो, कालो-सेतो, टाटेपाटे आदि हुन्छ। कान सीधा र औसत १८ से.मी. लम्बाईको हुन्छ । यिनीहरु सोझो देखि अर्ध-उदण्डसम्मको फरकफरक स्वभावका हुन्छन् । 


७. पहाडी गाई: चौपायाको बहुसंख्या प्रतिनिधित्व गर्ने पहाडी गाई पहाड क्षेत्रभरी सर्वत्र पाइन्छ र यिनीहरु खनजोतका लागि लाभदायी हुन्छन् । यिनीहरु प्रायः काला रङ्गका हुन्छन् । यिनीहरुको सानो कदका कारण (तौल र जुरोसम्मको उचाइ दुबैको आधारमा यिनीहरु पहाडी डाँडाकाँडामा उपयुक्त मानिन्छन्  । 

           टेबल : रैथाने गाईहरुको चारित्रीक वर्गिकरण (परिमाणहरु औसत से.मी.मा सामान्य घटबढ सहित) (values are means standard errors in cm)

r

 

क्रोमोजोम र डि.एन.ए. स्तरमा वर्गिकरण 

कार्योलोजिकल (Karyological) अध्ययनले बताए अनुसार लुलु गाईको डिप्लोइड (diploid) मा ६० क्रोमोजोम हुन्छन् । भाले लुलु (साँढे) मा एउटा ठूलो सबमेटासेन्ट्रिक (sub-metacentric) X-क्रोमोजोम र एउटा सानो सबमेटासेन्ट्रिक (sub-metacentric) Y-क्रोमोजोम पाइयो । कार्योटाइपिङ  नतिजाले देखाउँछ कि लुलु गाई प्रमुख रुपमा Taurus (जूरो नभएको) किसिममा पर्दछ । Takeda et. al. (2001) ले ३१ गाईको बटा अध्ययन गर्दा लुलु गाईका ३ mtDNA RFLP प्रकार पत्ता लगाए र यसमध्ये मातृवंशबाट हेर्दा २३ वटा Bos Taurus, ६ वटा Bos indicus र २ वटा Bos grunniens प्रकारका पाइयो । यस नतिजाले इंगित यो गर्यो कि Bos taurus प्रकारलाई Bos indicus को मातृवंशसँग निम्न उचाइ क्षेत्रमा क्रस गराइएका रहेछ तथा Bos grunniens सँग उत्तरी भेगको उच्च भूभागमा क्रस गराइएको रहेछ, । Takeda et.al. (2001) को प्रतिवेदनले यो पनि देखाउँछ कि लुलु गाईका न्युनतम १० मातृवंशलाई मुस्ताङ जिल्लामा पालन गरिन्थ्यो। त्यस्तै, विशेषगरी झारकोट र कागबेनी इलाकामा mtDNA ढाँचामा एउटा विशाल भिन्नता पाइएको थियो । 
अन्य नस्लका रैथाने गाईगोरुको हालसम्म डि.एन.ए. स्तरमा वर्गिकरण कार्य गरिएको छैन तसर्थ यो भविष्यमा अध्ययनको एउटा अहम् क्षेत्र हुन सक्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

नेपालका रैथाने घरपालुवा जनावरहरु एक परिचय

 

 नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान 

पशु प्रजनन् महाशाखा

खुमलटार, ललितपुर