१. रैथाने भैंसीको उत्पादन क्षमता र प्रजनन सुधारको सम्भावना
हाम्रो मुलुकका भैसीहरुको औसत दूध उत्पादन यिनीहरुको वंशाणुगत क्षमताभन्दा तुलनात्मक रुपमा कम पाइन्छ । स्थानीय/रैथाने भैंसीहरुको उत्पादकत्वको विभिन्न अध्ययन अनुसार उचित व्यवस्थापन र पशुपालन विधि अपनाइएको खण्डमा यिनीहरुले एक औसत दुहुनो अवधिमा १००० लिटरभन्दा बढी उत्पादन गर्न सक्छन् । Shrestha and Shrestha (1998) का अनुसार यी भैंसीहरुको दूध उत्पादनमा प्रति औसत दुहुनो अवधिमा ३०० देखि २५०० लिटरसम्मको एउटा बृहत् विविधताको सम्भाव्यता उल्लेख गरेका छन् । यी रैथाने भैंसीहरुले यिनीहरुको बीचमा कुनै प्रकारको विवेचनात्मक छनौटको प्रभाव नहुँदा पनि देखिएको नतिजा नेपालमा भित्राइएका विदेशी पशुवंशकै हाराहारीमा पाइएको छ। रैथाने भैंसीमा हाल देखिआएको दूध उत्पादकत्वको विविधतालाई मध्यनजर गर्दै छनौट वा चयनात्मक पशुपालन कार्यक्रममार्फत् यिनीहरुको उत्पादकत्व वृद्धि गर्न कदम चालिनु आवश्यक छ । दूध उत्पादनमा मात्र होइन, यिनीहरुको आर्थिक कारोबारका सबै तह (मासु, भारवहन तथा जोतः मा ठूलो अन्तर पाइएको छ र यिनको वंशाणुगत गुण र अन्र्तक्रियाका बारेमा ज्यादै कम मात्र जानकारी उपलब्ध छन् । यिनीहरुको उत्पादक स्वभावका बारेमा अनुसन्धान गरिनु जरुरी छ ताकि यी भैंसीहरुको वास्तविक क्षमताको भरपूर उपयोग गर्न सकियोस् ।
मुलुकमा भइरहेका व्यापक वर्णशंकर वा क्रसब्रीड कार्यक्रमहरुका बावजुद नेपालको पहाडि भू-भागहरुमा केवल १०% भैसीहरुमात्र वर्णशंकरित गराइएको पाइयो (Sherchan, 2001।। पश्चिमाञ्चल क्षेत्रमा नमूना लिइएका किसानहरुमध्ये तीन चौथाईभन्दा बढीले रैथाने साँढेहरु प्रयोग गराएको पाइयो भने बाँकीले चाहिं वर्णशंकरलाई प्राथमिकता दिएको पाइयो । वर्णशंकरभन्दा रैथाने साँढेहरुलाई महत्व दिनुका पछाडि पक्कै पनि केही व्यवहारिक कारण हुनुपर्दछ । साथै तिनीहरुको पारम्परिक पशुपालन विधिमा अनुकूल हुन सक्ने खुबी पनि एक कारण हुन सक्दछ । यिनीहरुको विशेषतालाई अध्ययन गरी प्रभावकारी रुपमा वार्षिक कुल गार्हस्थ्य उत्पादनमा (AGDP) प्रयोग गरिनु पर्दछ ।
पश्चिम नेपालतिर भैसीका पाडाहरुलाई सानै उमेरमा मारिने गरिन्छ (Rana et al., 2000) । यो क्षेत्रका कृक्षकहरुले माउको दूध घरकै प्रयोगका लागि वा/तथा तुरुन्त विक्रीका लागि पाडापाडी, विशेषतः पाडाहरुबाट छुटकारा लिने गर्दछन् । ति पाडाहरुमात्र बाँच्न पाउँछन् जसको माउले बच्चाविना दूध दिन मान्दैन। नतिजास्वरुप यसले नकारात्मक छनौटतर्फ डोऱ्याउँछ । यी न्यूनिकरणका लागि) मारिने पाडाहरुको उचित प्रयोग गरी नकारात्मक छनौटलाई रोक्नु अत्यावश्यक भैसकेको छ ।
२. भैंसी प्रजननमा गुणस्तरीय सुधारको आवश्यकता
नेपालमा पाइने यी जलभैंसीहरुको दूध र मासु उत्पादनको आनुवांशिकताप्रति चासो बढ्दै गइरहेको छ तर यो क्षेत्रमा भएका अनुसन्धानहरु भने ज्यादै खण्डित मात्र पाइन्छ । यी अनुसन्धानहरुको मुख्य जोड विभिन्न फेनोटाइपिक र आनुवांशिक मापदण्डको स्थापना गर्नु हो जसले केही हदसम्म भैंसीपालन सम्बन्धी रणनीति विकास गर्नतर्फ कदम चालोस्। धेरै उत्पादक भैंसीहरुको दर्ता, साँढेको माउ पहिचान, आनुवांशिक रुपमा उत्कृष्ट सांढे उत्पादन र कृत्रिम वीर्यरोपण (AI) कार्यकम मार्फत तिनीहरुको व्यापक उपयोग गर्न प्रजनन् क्षमता जाँच जस्ता कार्यक्रमहरुलाई तीव्र पारिनु जरुरी छ जसबाट ठूलो संख्याका ग्रामीण भैंसी उत्पादकहरुलाई समेटेर ग्रामीण भैंसीहरुको उत्पादकत्वमा सुधार ल्याउन सकियोस् । कृत्रिम वीर्यरोपण (AI) कार्यक्रमलाई प्रभावकारी ढङ्गमा संचालन गर्न तथा राष्ट्रियरुपमा औसत भैंसीको बथानलाई सुधार गर्न एउटा उत्कृष्ट प्रजनन्शील भैंसीको बथान तयार गरिनु आवश्यक छ । बढी आणुवांशिक योग्यताका जर्मप्लाजम उत्पादन गर्नु एउटा सुस्त कार्य नै हो किनकि प्रजनन् गुण वंशाणुगत रुपमा जानेको संख्या निकै कम हुन्छ साथै पुस्तान्तर पनि तुलनात्मक रुपमा लामो नै हुन्छ । त्यसैले भैसी उत्पादकहरुलाई भेला गराई प्रजनन् समाज बनाउने, गुणस्तरीय कृत्रिम वीर्यरोपण (AI) सेवाहरु प्रदान गर्ने साथै सही अभिलेख राख्ने र उत्कृष्ट भालेको छनौट गर्ने गरेमा मात्र यो सम्भव हुने देखिन्छ । वर्तमान परिप्रेक्षमा भैसीको प्रजनन्का लागि उत्कृष्ट भालेको विकास वा छनौट भएका नगन्यमात्र उदाहरण पाइन्छ । त्यसैले रैथाने भैसीका बधानमा सुधार वा विकास गर्न प्रजनन् क्षमता जाँच गरिएका साँढेहरु उत्पादन गर्न माउ पहिचान गर्ने कार्यक्रम प्रारम्भ गरिनु पनि अति आवश्यक छ। पोषणको अभाव तथा असन्तुलनता, जुन पोथीहरुमा वयस्कतामा ढिलाई, बाँझोपन तथा गर्भपातका कारण र भालेमा प्रजनन् इच्छामा ह्रास तथा शुत्रकिटमा ह्रास वा गतिशीलताको कमीका कारण बारम्बार भइरहने समस्या हो, यिनीहरुको पनि संगठित अनुसन्धानका लागि प्रयास हुनुपर्ने देखिन्छ ।
३. नेपालमा रैथाने भैंसी उत्पादन सुधारका लागि प्रजनन र कृत्रिम गर्भाधान कार्यक्रम
रैथाने भैसीका नश्लहरुको तुलनात्मक रुपमा कम उत्पादकत्व प्रजनन्कर्ताहरुको लागि ठूलो चिन्ताको विषय बनेको छ । आयातित भारतीय मुलका मुर्रा र निली-रवि नश्लका भैंसीहरुका वर्णशंकरमार्फत् यिनीहरुको दूध उत्पादन वृद्धि गर्न थुप्रै योजनाबद्ध कार्यक्रमहरु विकसित गरिएका छन् । कृत्रिम वीर्यरोपण (AI) कार्यक्रमको पनि प्रयोग गरिएको छ । तर प्रजनन् क्षमता जाँच कार्यक्रम वा भाले निर्धारण योजनालाई भने थोरैमात्र ध्यान दिइएको छ। यो एक दीर्घकालीन प्रजनन् कार्यक्रम हो जुन मुख्यरुपमा दुग्ध उत्पादक गाईभैंसीका लागि उपयोगी हुन्छन् । उत्पादकत्वको विशिष्टताका लागि उत्कृष्ट भाले छनौट नगरी कुनै अन्य प्रजनन् कार्यक्रमहरु संचालन हुन असम्भव छ । त्यसैले यस्ता कार्यक्रमहरुलाई सम्बन्धित निकायहरुबाट सही ध्यान दिइनु पर्दछ । सन् २०००/२००१ मा पशु प्रजनन् महाशाखाले संयुक्त प्रजनन् क्षमता जाँच कार्यक्रम सुरु गरेको भए पनि सम्बन्धित भगिनीसंस्थाहरुबाट आवश्यक सहकार्यमा कमी भएकोले सो कार्यक्रम प्रभावित हुन पुग्यो। यस कार्यक्रमलाई संचालन गर्न तथा सफलता दिलाउन सबै सम्बद्ध सरोकारवालाहरुको संयुक्त प्रयास हुनु अत्यन्तै जरुरी छ अन्यथा भैंसी उत्पादकत्व सुधारका कार्यक्रमहरु छायाँमा नै रहन पुग्नेछन् ।
कृत्रिम वीर्यरोपण (AI) कार्यक्रमलाई प्रभावकारी ढङ्गमा संचालन गर्न तथा औसत स्थानीय भैसीको बथानलाई सुधार गर्न एउटा उत्कृष्ट प्रजनन्शील भैसी बथान तयार गरिनु आवश्यक छ । बढी आणुवांशिक योग्यताका जर्मप्लाज्म उत्पादन गर्नु एउटा सुस्त कार्य नै हो किनकि प्रजनन् गुण वंशाणुगत रुपमा जानेको संख्या निकै कम हुन्छ साथै पुस्तान्तर पनि तुलनात्मक रुपमा लामो नै हुन्छ। त्यसैले भैंसी उत्पादकहरुलाई भेला गराई प्रजनन् समाज बनाउने, गुणस्तरीय कृत्रिम वीर्यरोपण (AI) सेवाहरु प्रदान गर्ने साथै सही अभिलेख राख्ने र उत्कृष्ट भालेको छनौट गर्ने गरेमा मात्र यो सम्भव हुने देखिन्छ । वर्तमान परिप्रेक्षमा भैंसीको प्रजनन्का लागि उत्कृष्ट भालेको विकास वा छनौट भएका नगन्यमात्र उदाहरण पाइन्छ । त्यसैले रैथाने भैसीका बथानमा सुधार वा विकास गर्न प्रजनन् क्षमता जाँच गरिएका साँढेहरु उत्पादन गर्न माउ पहिचान गर्ने कार्यक्रम प्रारम्भ गरिनु पनि अति आवश्यक छ। यंहा समस्यालाई मध्य नजर राखि भैसी अनुवंशकीय सुधार कार्यक्रम (BGIP) अन्तर्गत USAID को सहयोगमा २००९ साल देखि पशु सेवा विभाग र पशु प्रजनन महाशाखाको संयुक्त तत्वाधनमा दुधालु गाई सुधार कार्यक्रमलाई नमुनाको रुपमा लिएर कार्यक्रम सुरु भईसकेको छ । जस अन्तर्गत फार्म गतिविधिहरु जस्तैः ट्यागिङ दुध एनालाइसिसका कार्यहरु पशु सेवा बाट भएको छ भने तथ्यांक व्यवस्थापनको कार्य पशु प्रजनन महाशाखा अन्तर्गत कार्यहरु भईरहेको छ। यसै कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर र भैसी अनुसन्धान कार्यक्रम तरहरा, सुनसरीका अलावा तराईका भैसीको प्रभुत्व रहेका दश जिल्लामा (धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही, नवलपरासी, बारा, पर्सा, कपिलवस्तु र काभ्रे) मा समावेश गरिने छ। कम्तीमा एक जिल्ला वाट १५० रांगोका आमाहरुलाई अध्ययनमा समावेश गरिने छ। छनोट गरिएका उत्कृष्ट रांगोका आमाहरुलाई विदेशबाट ल्याइएका उत्कृष्ट प्रजनन मुल्य भएका विर्यहरु कृत्रिम गर्भाधान गर्ने कार्यको दूत गतिमा थालनी भईसकेको छ। जस्ले गर्दा आफ्नो देशमा उच्च प्रजनन मुल्य भएका रांगोहरु उत्पादन हुने र देशले ठूलो हिस्साको रुपमा वाहिरबाट मगाउने उन्नत मुर्राका विर्यहरु देशमै उत्पादन हुने प्रकृयाले देशका भैसी पालक उन्नत किसानहरु साथै विभाग र नार्कका फार्महरुले वाहिरबाट उन्नत विर्य आयात गरिरहनु पर्ने आवश्यक्ताको अन्त गर्न सकिन्छ। साथै उक्त कार्यक्रमले राष्ट्रलाई ठूलो रुपमा आवश्यक्ता परि बाहिरबाट आयात गरिने विर्य ल्याउदा खर्च हुने अर्थमा धेरै नै न्युनिकरण हुने आशा गरिएको छ