परिचय

परिचय

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो। कृषिका प्रमुख क्षेत्रहरु मध्ये अन्न बाली, पशुपन्छी पालन जस्तै मत्स्य पालन पनि एक महत्वपूर्ण क्षेत्र हो। नेपालमा मत्स्य पालन कार्यले एउटा भरपर्दो र विकासशिल क्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ। मत्स्य पालन कृषि क्षेत्रका अन्य बाली भन्दा बढी नाफामुलक हुनाले यस व्यवसाय प्रति कृषक व्यवसायीहरुको आकर्षण बढी रहेको छ। मुख्य आम्दानीको स्रोत वा व्यवसायीको रुपमा अपनाइएको माछा पालनलाई व्यवसायिक माछा पालन भनिन्छ । व्यवसायिक माछापालन बढी सघन हुन्छ, उत्पादन लागत बढी हुन्छ, उत्पादन बढी हुन्छ र उत्पादन प्रकृयामा समस्याहरु पनि आउन सक्दछन् । त्यसैले कुनै पनि सघन खेतीबाट अधिकतम प्रतिफल प्राप्त गर्न त्यस व्यवसाय संग सम्बद्ध सबै पक्षको उचित समन्वय तथा कुशल व्यवस्थापनको आवश्यकता पर्दछ। यसको मुख्य उद्देश्य अधिकतम लाभ लिने रहेको छ ।

मध्ये पहाडको बेसी देखी तराईको फाँट सम्म न्यानो हावापानी भएको ठाँउ, जहाँ पानीको तापक्रम लामो अवधि सम्म २० डि.से. भन्दा माथि हुन्छ, त्यस्तो ठाउँमा माछा पालनको लागी ७ जातको कार्प माछाहरुको मिश्रित माछा पालन सिफारिस गरिएको छ। ती ७जात मध्ये ३ जात (रहु, नैनी र भाकुर) स्वदेशी माछाहरु हुन् र बाँकी ४ जातका माछाहरु (कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प र ग्रास कार्प) विदेशी माछाहरु हुन् ।

महत्व
  • माछा स्वादिलो तथा पौष्टिक खाद्य वस्तु भएकोले माछा खानाले शरिर तन्दुरुस्त र स्वस्थ रहन्छ । 
  • माछा पालनबाट अन्न वाली (धान, गहुँ, मकै) भन्दा बढि आम्दानी हुने भएकोले कृषकहरुको आयश्रोत बढाउन मद्दत गर्छ। 
  • माछा संगसगै एकिकृत धान, तरकारी, फलफुल तथा पशुपालन गर्दा प्रति ईकाइ जग्गाबाट एकै समयमा दोहोरो, तेहोरो वाली लिनुको साथै उत्पादन लागत समेत कम भई बढि आम्दानी हुने गर्छ। 
  • प्रयोगमा नआई बगी राखेको पानी, जलाशय, प्रयोगमा नआएका सेपिलो तथा धापिलो जग्गाको माछा पालनमा प्रयोग भई आयस्तर बढाउनका साथै खाद्य सुरक्षामा मदत पुयाउंछ । 
  • माछा पालनबाट रोजगारीको अवसर बढ्छ । 
  • माछाको उत्पादन खर्च अन्य मासुको भन्दा कम लाग्ने भएकोले सस्तोमा उपलव्ध गराउन सकिन्छ । 
  • खेर गईरहेको जलश्रोतको सदुपयोग भई राष्ट्रिय आयमा बढोत्तरी हुन जान्छ । 
  • समग्रमा जलाशयहरुको वातावरण अनुकुल उपयोगीता बढाउन, मत्स्य श्रोत संरक्षण र प्रबर्द्धन गर्न आय आर्जनबाट कृषकहरुको जिवन स्तर उकास्न सहयोगी सिद्ध हुने हुनाले माछापालनको महत्व रहेको छ।
साईजका अधारमा कार्प माछाको बर्गीकरण

नेपालमा साईजका अधारमा कार्प माछालाई निम्न बमोजिमले बर्गीकरण गर्न सकिन्छ : 

 

  • ह्याच्लिङ्ग : कार्प माछाका फुलबाट निस्केकाकरिब ५ दिनसम्मका बच्चाहरुलाई 'ह्याच्लिङ्ग' भन्ने चलन छ । ह्याच्लिङ्गलाई नर्सरी पोखरीमा हुर्काएर फ्राई भुरा उत्पादन गरिन्छ । 
  • फ्राई : ह्याच्लिङ्गलाई हुर्काएर१-२ इन्च लम्बाई भएका माछाका बच्चा वा भुरालाई 'फ्राई' भन्ने चलन छ । 
  • फिंगरलिङ्ग : २ इन्च भन्दा ठुलो र करिब ४ ईन्चसम्म लम्बाई भएका माछा भुरालाई फिंगरलिङ्ग भन्ने चलन छ । 
  • छरी माछा : करिब २५-७५ ग्राम साईजका (विशेषतः नैनी र रोहु जात) माछा खाने उद्देश्यको लागि प्रयोग हुन थालेको छ । यो साईजका माछालाई 'छरी वा छडी' माछा भन्ने चलन छ ।
  • पोस्ट फिंगरलिङ्ग : हाल १ के.जी. भन्दा ठुला साईजका खाने माछाका माग राम्रो छ र यस्तो साइजका माछाको बजार भाउ पनि राम्रो छ । यस्ता साईजका खाने माछा उत्पादन गर्नको लागि एक वर्ष पुराना ५०-२०० ग्राम साईजका माछा स्टक गर्न आवश्यक हुन्छ । व्यवसायिक रुपमा ठुला साईजका खाने माछा उत्पादन गर्ने मत्स्य कृषकहरुले यस्ता ठुला साईजका माछा आफ्नै पोखरीमा उत्पादन गरी उत्पादन पोखरीमा स्टक गरी ठुला साईजका खाने माछा उत्पादन गर्ने प्रचलन बढ्न थालेको छ । तर हाल यस्ता एक वर्ष पुराना ५०-२०० ग्राम साईजका माछालाई कुनै खास नाम दिइएको छैन । त्यसकारण यो उमेर साईजका माछालाई यो लेखमा 'पोस्ट फिंगरलिङ्ग' भनी परिभाषित गरिएको छ । 
  • खाने माछा : खानको लागि उपयोग गरिने विभिन्न जातका र विभिन्न साईजका माछाहरुलाई 'खाने माछा' भन्ने चलन छ । 
  • माउ माछा : मत्स्य बिज उत्पादन गर्ने उद्देश्यले पालन गरिएका र आवश्यक उमेर पुगेको माछालाई 'माउ माछा' भनिन्छ ।

विशेषता

कार्य माछामा पाइनेपोषक तत्वहरू
nutrition

 

जातहरु

कमन कार्प

नेपालमा पालिएका कमन कार्प दुई किसिमका छन् । एउटाको शरीर भरी कत्ला हुन्छ भने अर्काको शरीरमा कम कत्ला हुन्छ । पुरा कत्ला भएकोलाई जर्मन कार्प र कम कत्ला भएकोलाई इजरायली कार्प वा मिरर कार्प पनि भनिन्छ । यसको शरीर दायां बायां चेप्टिएको लाम्चो, ओटमा अगाडि (पछाडि गरी दुई जोडा जुंगा हुन्छन् । टाउको सानो, मुख बाहिर (भित्र तन्काउन सक्ने हुन्छ, शरीरमा जोडी पखेटा -२ (कान नजिक र पेटमा), एकल पखेटा-३ (ढाड, मलद्वार नजिक र पुच्छर) हुन्छन् । पखेटामा तिखा तिखा काडां हुन्छन् । यो माछा ५० से.मि. सम्म लामो र १८ किलो सम्म तौल भएको पाईएको छ । २०-२५० से. तापक्रममा यो माछा राम्रो फस्टाउछ र ६ महिना देखि १ वर्षमा यो माछा परिपक्व हुन्छ । प्राकृतिक वा अर्धकृत्रिम तरिकाले पोखरीमा फुल पारी बच्चा कोरल्छ । यो माछा सर्वभक्षी भएकोले सुक्ष्म जीवाणु, जलाशयको पिंधमा हुने कीरा, कुहिएका झारपात आदि सबै बस्तु खान्छ र माछाको लागि तयार गरिएको कृत्रिम आहारा प्रशस्त खान सक्दछ । वर्षभरी पालन गर्दा यो माछा १-१.५ के.जी. सम्मको हुन्छ। यो माछा मिश्रित, एकिकृत अथवा एकजातिय मत्स्य पालन प्रविधिबाट सबै किसिमका जलाशयहरुमा पाल्न सकिन्छ ।

cp

 

ग्रास कार्प 

ग्रास कार्प माछाको जीउ लाम्चो र डोलो खालको हुन्छ र टाउको चौडा हुन्छ । यसको माथिल्लो ओठ लामो हुन्छ, जुंगा हुदैन र पुरै शरीर एकनासका ठुल्ठुला कत्लाले ढाकेको हुन्छ । शरीरको माथिल्लो भाग खैरो र हरियो रङ्गको हुन्छ र तल्लो भाग सेतो हुन्छ । यसले पोखरीको पानीमा फुल पार्दैन। कृत्रिम प्रविधि द्वारा प्रजनन् गराईन्छ । माछा भुराले वनस्पति र पोखरीको झारपात र घांस खान्छ । त्यसैले यस माछालाई घांस खाने माछा (ग्रास कार्प) भनिएको हो २५-३०° से. तापक्रममा राम्रो फस्टाउंछ र २-३ वर्षमा परिपक्व हुन्छ । यो माछा झण्डै १ मीटर लामो र ५० के.जी. सम्मको पनि हुन सक्दछ । एक वर्षसम्म राम्रो संग पाल्दा १.२-२ के.जी. सम्मको हुन्छ । यो माछालाई बढी घांस पात भएको जलाशयमा पाल्न उपयुक्त हुन्छ । खासगरी मिश्रीत माछा पालन गर्दा यसले माछा उत्पादन बढाउनमा बढी योगदान दिन्छ किनभने यसले घांस खाएर हरियो मल धेरै दिएर अरु माछाको लागि प्राकृतिक आहारा उत्पादन गर्न समेत सघाउ पुऱ्याउंदछ ।

gc

 

सिल्भर कार्प 

यो माछा पोखरीको पानीको सबभन्दा माथिल्लो तहमा बस्दछ र पानीको सोही तहमा पाइने फाइटोप्लाङ्कटन (phytoplankton) यो माछाको प्राकृतिक अहारा हो । यस माछाको टाउको सानो र गोलो जीउ लाम्चो, चेप्टो र पेट देखि मलद्वार अगाडि सम्म धारिलो हुन्छ । पुरै शरीर स-साना सेता चांदी जस्ता कत्लाले ढाकेको हुन्छ । यो माछा चांदी जस्तै टल्कने भएकोले सिल्भर कार्प भनिएको हो । यो माछा २५-३०° से. तापक्रममा राम्ररी बढ्दछ । यसको गिलमा मसिनो जाली हुन्छ र यसले पोखरीमा उत्पन्न हुने स-साना वनस्पतिजन्य जीवाणु खाएर चांडो बढ्ने गर्दछ । यो माछा २-३ वर्षमा परिपक्व हुन्छ र यसको प्रजनन् पनि हर्मोन दिई कृत्रिम तरिकाले गराईन्छ । यो माछा ५०-६० से.मी. लामो र ४०-५० के.जी. सम्मको हुन सक्दछ । नेपालमा एक वर्षमा १.५-२ के.जी. सम्मको बनाउन सकिएको छ। रसायनिक मल भन्दा बढी प्राङ्गरिक मल प्रयोग गरेर अथवा मलिलो पुरानो पोखरीहरुमा पाल्दा यो माछाबाट बढी उत्पादन लिन सकिन्छ ।

sc

 

बिगहेड कार्प

यो माछा पोखरीको पानीको बिचको तहमा बस्दछ र पानीको सोही तहमा पाइने जू-प्लाङ्कटन (zoo-plankton) यो माछाको प्राकृतिक अहारा हो । पोखरीमा प्राङ्गारिक र रसायनिक मलको प्रयोग गरी पोखरीको पानीलाई हरियो बनाई यो माछाको उत्पादन गर्न सकिन्छ । दाना वा घाँस बढी मात्रामा प्रयोग गरी माछा उत्पादन गरिने पद्धतिमा यो माछा आवश्यक संख्यामा राखेर पालिएन भने पोखरीको पानीमा जू-प्लाङ्कटनको संख्या अत्यधिक भई पानीमा आवश्यक हरियोपनाको विकास हुन सक्दैन जसले गर्दा एक त पोखरीको पानीमा आवश्यक मात्रामा अक्सीजनको आपुर्ति हुँदैन भने धेरै संख्यामा रहेका जू-प्लाङ्कटनले उल्टै अत्यधिक मात्रामा पोखरीको पानीमा भएको अक्सीजन खपत गरी पालिएका माछालाई अक्सीजनको कमी गराई दिन्छ र पालिएका माछा मर्न पनि सक्छन् ।

bh

 

रोहु

रोहु माछा पानीको गहिराईको बिच भाग बस्दछ । यो माछा मूलतः शाकाहारी माछा हो । यसको मुख्य प्राकृतिक अहारा सडेगलेका झारपात हो । यसको अलावा यो माछाले केही मात्रामा फाइटो-प्लाङ्कटन, जू-प्लाङ्कटन, आदि खाने गर्दछ । यो माछाले दाना पनि धेरै रुचाउने भएकोले दाना र प्राङ्गारिक मल प्रयोग गरेर व्यवसायिक रुपमा पालन गर्न सकिन्छ । २५ ग्राम देखि १ के.जी. भन्दा पनि ठुला साईजका यो माछा खानको लागि उपयोग गरिन्छ तर १ के. जी. भन्दा ठुलो साइजको माछा राम्रो मूल्यमा बिक्री हुन्छ । यो माछाको भुरा पाल्दा पहिलो वर्षमा समान्यतया५०-२०० ग्रामसम्म बृद्धी हुन सक्छ र दोस्रो वर्षमा १ के. जी. भन्दा ठुलो हुन्छ । त्यसकारण ०.५-१.० के.जी. सम्मको रोहु माछा उत्पादन गर्नको लागि एक वर्ष पुराना ५०-२०० ग्रा साइजका माछा पोखरीमा स्टक गरी पाल्न आवश्यक हुन्छ ।

rohu

 

नैनी

नैनी माछा पोखरीको पिंध भाग बस्दछ । यसको मुख्य प्राकृतिक अहारा पोखरीको हिलोमा रहेका सडेगले प्राङ्गारिक पदार्थ, मसिना जीवहरु, आदि हुन् । यो माछाले दाना पनि धेरै रुचाउने भएकोले दाना र प्राङ्गारिक मल प्रयोग गरेर व्यवसायिक रुपमा पालन गर्न सकिन्छ । २५ ग्राम देखि १ के. जी. भन्दा पनि ठुला साईजका यो माछा खानको लागि उपयोग गरिन्छ । छरी माछा उत्पादन गर्नको लागि यो माछा मुख्य जातको रुपमा राखेर पालिन्छ । यो माछाको भुरा पाल्दा पहिलो वर्षमा समान्यतया ५०-२०० ग्रामसम्म बृद्धी हुन सक्छ र दोस्रो वर्षमा १ के. जी. भन्दा ठुलो हुन्छ । त्यसकारण ०.५-१.० के.जी. सम्मको रोहु माछा उत्पादन गर्नको लागि एक वर्ष पुराना ५०-२०० ग्रा साइजका माछा पोखरीमा स्टक गरी पाल्न आवश्यक हुन्छ ।

naini

 

भाकुर

यो माछा पनि बिगहेड कार्प माछा जस्तै पोखरीको पानीको बिचको तहमा बस्दछ र पानीको सोही तहमा पाइने जू-प्लाङ्गटन (zoo-plankton) यो माछाको प्राकृतिक अहारा हो । तर यो माछाले बिगहेड कार्प भन्दा बढी बजार भाउ पाउँदछ । यो माछाले दाना खान पनि राम्ररी रुचाउने भएकोले पोखरीमा प्राङ्गारिक मल, रसायनिक मल र दानाको प्रयोग गरी यसलाई उत्पादन गर्न सकिन्छ । यो माछाले पनि जू-प्लाङ्कटन खाएर पानीमा अक्सीजनको कमी हुनबाट जोगाउँदछ । यो माछाको बृद्धिदर रोहु र नैनी माछा भन्दा बढी हुन्छ तर पोखरीमा यसको बाँच्ने दर कम पाइएको छ । यो माछाको नयाँ फ्राई भुरा असार-श्रावण महिनामा पाईन्छ र व्यवस्थित रुपले पालन गरियो भने कात्तिक महिना सम्ममा २००-३०० ग्राम सम्मको वृद्धि हुन सक्छ । साथै राम्रो ब्यवस्थापन गरियो भने समान्यतया यी साईजका माछाहरु असार-श्रावण सम्ममा १.०-१.५ के.जी. सम्म र काक्तिक मंसीर सम्ममा १.५-२.० के.जी. सम्म बृद्धि हुन सक्छ ।

bhakur

 

आहार व्यवस्थापन

माछाको लागि पोषणको आवश्यकता 


हरेक जिवित प्राणीलाई हुर्कन बढ्न, वृद्धि विकास, प्रजनन् तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि जस्ता क्रियाकलापहरुको लागि पोषक तत्व शक्तिको आवस्यकता पर्दछ । यो शक्ति माछाले आहाराबाटै प्राप्त गर्दछ । 
माछाको आहारालाई दुई भागमा बाड्न सकिन्छ :
प्राकृतिक आहारा 
कृत्रिम आहारा 
हरेक जलाशयको एक खास उर्वराशक्ति हुन्छ जसले गर्दा प्राकृतिक आहारा उत्पादन भई रहेको हुन्छ । उक्त प्राकृतिक आहाराबाट केही मात्रामा माछा उत्पादन हुने गर्दछ तर पोखरीबाट अधिक से अधिक उत्पादन प्राप्त गर्नु हाम्रो उद्देश्य हुने गर्दछ । उत्पादन बढाउन माछालाई बढी आहारा उपलब्ध गराउनु पर्छ । प्राकृतिक उत्पादन बढाउनका लागि मलखादको प्रयोग गरिन्छ जसले गर्दा उत्पादकत्वलाई केही माथि उठाउँछ तर सो भन्दा बढी उत्पादकत्व हासिल गर्न बाहिरबाट आहारा दिनु पर्ने हुन्छ । तसर्थ माछालाई दिइने आहारा कति पौष्टिक छ भन्ने जानकारी आवश्यक हुन्छ । माछाको जात अनुसार खानेबानी फरक भएको हुंदा सोही बमोजिमको आहारा उपलब्ध गराउनु पर्ने हुन्छ । एकै जातको माछा मै पनि अवस्था अनुसार फरक किसिमको दाना आवश्यक पर्दछ। माछाको शरीर विकासको लागि चाहिने आवश्यक तत्वहरु अन्य जिवहरु जस्तै चाहिन्छ र ती तत्वहरु माछाले पोखरीको माटो, पानी, खानाको आहारा, दिइएको मल वा वायुमण्डलबाट प्राप्त गर्दछ । 
जिवनको प्रारम्भिक चरणका सबै कार्प जातका भुराहरुको खाने बानी एउटै हुन्छ अर्थात हरियो लेउ, जुप्लांकटन तथा मसिनो पीनाको दाना खाने गर्दछन् तर औंला जत्रो साइजमा पुग्ने बित्तिकै तिनीहरुको खाने बानी फरक हुँदै गई रहेको हुन्छ। माछाको खाने बानी उसको बस्ने सतह, मुखको बनावट आदिमा भर पर्ने हुन्छ । सिल्भर, विगहेड तथा भाकुर पानीको माथिल्लो भागमा भएको स-साना वनस्पती वा किरा खान्छ भने कमन र नैनी माछा पींधमा पाइने किराहरु, हिलोमा पाइने पोषकतत्वहरु वा बाहिरबाट दिइने दाना रुचाएर खान्छ । ग्रास कार्प पानी भित्र भएको वा बाहिरबाट दिइने घांस खान रुचाउंछ भने रोहु सडे गलेका पदार्थ खान मन पराउंछ ।

प्राकृतिक आहारा

पानीमा वनस्पतिजन्य सुक्ष्मजीवहरु (Phytoplankton) जस्तै: लेउ (Algae), सिनेड्रा अल्ना (Synedra ulna), नाभीक्युला (Navicula), फ्राजिलेरिया (Fragilaria) आदि र प्राणीजन्य सुक्ष्मजीवहरु (Zooplankton) जस्तै: कोनोचिलस (Conochilus), ट्राइकोसर्का (Trichocerca), कालानोइडा (calanoida), डाफनिया (Daphnia) आदिका साथै पानीमा बस्ने क्रस्टासियन (Crustacean) प्रजातिका जीवहरु विशेषगरी गङ्गटा (Crabs), झिंगेमाछा (Lobsters/shrimp), शंखेकिरा, जलीय झारपात आदि पाइन्छ | धेरैजसो माछाहरुको मुख्य आहारा नै पोखरीको पानीमा पाइने यिनै प्राकृतिक आहार हुन् | यि प्राकृतिक आहारले विभिन्न माध्यमबाट पोखरीको सम्पर्कमा आएर उत्पादन वृद्धि गर्न सघाउ पुर्याउँछन् |

यि प्राकृतिक आहाराको वृद्धिदर पोखरी खनिएको माटोको मलिलोपना, पानीको गुणस्तर, जलवायु, पानीको तापक्रम, पोखरी भएको ठाउँको उचाइ, मोहडा आदिमा निर्भर गर्दछ | त्यसैले विभिन्न पोखरीको उत्पादन क्षमता बेग्लाबेग्लै हुन्छ | एकै पोखरीको उत्पादन क्षमता पनि बेग्ला-बेग्लै समयमा फरक फरक हुन सक्छ |

पोखरीको उत्पादन क्षमता बढाउन पोखरीमा प्रांगारिक वा रासायनिक मल प्रयोग गरिन्छ | व्यवसायिक रुपमा मत्स्यपालन गर्दा प्राकृतिक आहाराले मात्र माछाको उत्पादनशीलता बढाउन सकिन्न | यस्तो अवस्थामा माछाको शारीरिक आवश्यकता र जातअनुसार थप कृत्रिम आहार बनाएर माछालाई खान दिइन्छ |

माछाको लागि दाना र घाँसको ब्यवस्था 

माछा भुरा पोखरीमा राखी सकेपछि दैनिक रुपमा माछालाई दाना ख्वाउनु पर्दछ र पोखरीमा यदि ग्रास कार्प माछा पनि राखिएको छ भने उपयुक्त मात्रामा घाँस पनि ख्वाउनु पर्दछ । माछालाई ख्वाइने दाना निम्न बमोजिम बर्गीकरण गर्न सकिन्छ : 


१. आफैले बनाइने समान्य दाना : स्थानिय स्तरमा उपलब्ध हुने बिभिन्न कच्चा पदार्थहरु (जस्तै धानको ढटो, तोरीको पिना, गहुँको पिठो, भटमासको पिना, आदि)  मिसाएर धुलो दाना (mass feed) मत्स्य कृषकले आफ्नै घरमा तयार पारी माछालाई ख्वाउन सक्दछन् । यो दाना बनाउदा तोरीको पिना र भटमासको पिना पिठो जस्तो मसिनो नहुने भएकोले यी पदार्थहरुलाई मिलमा पिनेर धुलो बनाएर मिसाउनु पर्दछ ।

२. पानीमा डुब्ने पेलेट दाना : माथी भनिएका दानाको कच्चा पदार्थहरुको मिश्रणलाई सामान्य पेलेटिङ्ग मेशिनको प्रयोग गरी गेडाको रुपमा दाना बनाउन सकिन्छ । यस्तो गेडा दानालाई अँग्रेजीमा पेलेट (pellet) दाना भनिन्छ । यो दाना बनाउनको लागि करिब रु. ८० हजार देखि रु. एक लाखमा बिजुलीबाट चलाउन सकिने पेलेटिङ्ग मेशिन खरिद गर्न सकिन्छ । यस्तो पेलेट दाना बनाउँदा त्यसमा भिटामिन र मिनरल पनि मिसाएर बनाउन सकिन्छ । यो दानाको प्रत्येक गेडामा दानामा भएका सबै तत्वहरु बराबर मात्रामा रहेको हुन्छ र माछाले यो दाना रहेका सबै तत्व ग्रहण गर्न सक्दछ । यो दाना धुलो दाना जस्तो छिटै गलेर नजाने भएकोले पोखरीमा हालिएको दाना मध्ये करिब ९०% भन्दा बढी दाना माछाले खान्छ र धुलो दाना जति माटोमा मिसिएर मलमा परिणत हुँदैन । यस्ता दाना तयारी दानाको रुपमा नेपालकै केही कुखुरा दाना उद्योगले पनि उत्पादन गर्ने गरेका छन् भने भारतबाट पनि आयात हुने गरिएको छ । 


३. पानीमा तैरिने पेलेट दाना : यो पेलेट दाना पानीमा तैरिने भएकाले डुब्ने पेलेट दाना भन्दा पनि कम नोक्सान हुन्छ । यो दाना प्रयोग गर्दा माटोमा मिसिएर हुने नोक्सान करिब शुन्य प्रतिशत हुन्छ । यो दाना बनाउने क्रममातातोको प्रयोग हुने भएकोले डुब्ने पेलेट दाना भन्दा बढी सुपाच्य हुन्छ । अन्य फाइदा डुब्ने पेलेट दाना जस्तै हुन्छ । तर यो दाना माथीका दुबै किसिमका दानाहरु भन्दा महंगो हुन्छ । यसको लागि आवश्यक पर्ने मेशिन पनि महंगो हुने भएकोले मत्स्य कृषक आफैले यो दाना बनाउन सक्दैन । यस्तो दाना तयार गर्नको लागि दाना उद्योग नै स्थापना गर्नु पर्ने भएकोले कृषक तयारी दाना नै खरिद गर्नु पर्ने हुन्छ । यस्ता दाना नेपालको बुटवलमा हिमदानाको नाम उत्पादन भई रहेको छ भने केही ब्यापारीहरुले भारतबाट पनि आयात गरी बिक्री गर्ने गरेका छन् ।

दाना तयार गर्न तरिका 

मत्स्य कृषक आफैले पनि तयार गरी प्रयोग गर्न सकिने धुलो र डुब्ने पेलेट दानाहरु निम्न प्रकारले कच्चा पदार्थहरु मिसाई बनाउन सकिन्छ :

धुलो दाना बनाउनको लागि तल दिइएका कच्चा पदार्थहरु मध्ये तोरीको पिना र भटमासको पिनालाई मिलमा पिनेर धुलो बनाउनु पर्दछ । धुलोको रुपमा रहेका सबै कच्चा पदार्थहरुलाई माथी तोकिएका मात्रामा राम्ररी मिसाएर विभिन्न प्रोटीन प्रतिशत भएका धुलो दाना बनाउन सकिन्छ । माथी दिईएका विभिन्न किसिममा दाना मिश्रणहरु मध्ये दाना-५, दाना-६ र दाना-८ बाट खाने माछा उत्पादनको लागि डुब्ने खालको पेलेट दाना बनाउन सकिन्छ । पेलेट दाना बनाउदा प्रति १०० के.जी. दानामा करिब २ के.जी. भिटामिन-मिनरल मिक्सचर पनि मिसाउन राम्रो हुन्छ । पेलेट दाना बनाउने पुर्ण जानकारीको लागि थप अध्ययन, अवलोकन र तालिमको आवश्यकता पर्नेछ । विभिन्न किसिमका दानाहरु निम्न अनुसारले माछालाई ख्वाउन सकिन्छ । नर्सरी पोखरीमा ह्याच्लिङ्ग स्टक गरेपछि प्रति लाख गोटा ह्याच्लिङ्गको लागि २ गोटा कुखुराको अण्डा र करिब २५० ग्राम भटमासको पिठो पानीमा घोलेर झोल बनाई प्रति दिन दुई पटक एक हप्ता सम्म छर्नु पर्दछ । नर्सरी पोखरीमा ह्याच्लिङ्ग स्टक गरेको एक हप्ता पछि देखि करिब ३ से.मि. साईजसम्मका भुरालाई दाना-१ ख्वाउनु पर्दछ । 

  • १-२.५ ईन्च साईजका भुराहरुलाई दाना-२ ख्वाउन सकिन्छ । माछा भुराले दाना खाएको र भुराको साईजलाई बिचार गरी प्रति लाख गोटा भुरालाई प्रति दिन १-३ के.जी. सम्म दाना ख्वाउनु पर्दछ । एक दिनको लागि हुने दानालाई बराबर दुई भागमा बाडी एक दिनमा दुई पटक ख्वाउँदा राम्रो हुन्छ । 
  • २-५ ईन्च साईजका भुराहरुलाई माछा भुराको कुल तौलको ७-५% प्रति दिन को दरले शुरुमा दाना-३ र पछि दाना-४ ख्वाउनु पर्दछ । 
  • ४-५ ईन्च साईज देखि १५०-२०० ग्राम साईज सम्मका माछाहरुलाई दाना-५ वा दाना-६ ख्वाउनु पर्दछ । यी दाना माछाको कुल तौलको ५-३% प्रति दिन को दरले ख्वाउनु पर्दछ ।3

     

ग्रास कार्पलाई घाँस ख्वाउने

 पोखरीमा ग्रास कार्प माछा राखिएको छ पर्याप्त मात्रामा घाँस ख्वाउने ब्यवस्था गर्नु पर्दछ । यसको लागि पोखरीको डीलमा नै घाँस लगाउन सकिन्छ । पोखरीको डीलमा लगाउन उपयुक्त हुने घाँसहरु पारा, नैपियर, मोलासेज, आदि घाँसहरु हुन सक्छन् । ग्रास कार्प मुख्य माछाको रुपमा पालिएको छ भने पोखरीको डीलमा मात्र लगाएको घाँसले नपुग्न सक्छ । यस्तो अवस्थामा अन्य जग्गामा पनि घाँस खेति गरी ग्रास कार्पलाई आवश्यक पर्ने घाँसको ब्यवस्था गर्नु पर्दछ । ग्रास कार्प माछाले आफ्नो शारिरिक तौलको बराबर सम्म घाँस एक दिन खान सक्छ । समान्यतया ग्रास कार्पलाई खाने सक्ने जति घाँस प्रतिदिन ख्वाउनु पर्दछ ।

माछालाई दाना र घाँस ख्वाउँदा ध्यान दिनु पर्ने कुराहरु 
  • धुलो दानालाई पानीसंग मुछेर डल्ला बनाए पोखरीमा हाल्नु पर्दछ । भुरा माछालाई दानाको डल्लो नाङ्गलोमा राखेर पोखरीमा हाल्नु उपयुक्त हुन्छ भने ठुलो माछालाई नाङ्गलोको आवश्यकता पर्दैन । 
  • दाना-९ मा यदि तोरीको पिनालाई धुलो पारिएको छैन भने ढुटो र पिनालाई छुटाछुटै राख्नु पर्दछ । प्रत्येक दिनको आवश्यक मात्राको पिनालाई एक दिन अगाडी बाटामा राखेर ढाडिएर गिलो हुने गरी पानी हालेर राख्नु पर्दछ र पोखरीमा हाल्ने बेलामा गिलो पिनामा आवश्यक मात्रामा ढुटो मिसाए डल्ला बनाई पोखरीमा हाल्नु पर्दछ । 
  • डुब्ने पेलेट दाना सुख्खा नै पोखरीमा हाल्न सकिन्छ । यो दाना हालेपछि पोखरीको पिंधमा गएर बस्छ र पिंधमै गएर माछाले दाना खान्छ । तैरिने पेलेट दाना पनि सुख्खा रुपमै हालिन्छ । हावा चलेको बेला यस्तो दाना बगेर हालेको ठाउँ देखि टाँढा जाने हुनाले एचडिपी पाईपको रिङ्ग बनाएर पोखरीमा राखेर त्यसै भित्र दाना दिइयो भने हावाले दानालाई बगाउन सक्दैन । 
  • माछा दाना वा घाँस ख्वाउँदा निश्चित ठाउँमा, निश्चित समयमा, निर्धारित मात्रामा, निश्चित गुणस्तरको दाना प्रत्येक दिन ख्वाउनु पर्दछ । 
  • दाना स्वच्छ र ताजा हुनु पर्दछ तथा दानामा गोबर, माटो आदि मिसाएर ख्वाउनु हुँदैन । 
  • मिश्रित माछा पालन गर्दा ग्रास कार्प माछालाई पहिले घाँस ख्वाई सकेपछि मात्र पोखरीमा अरु माछाहरुलाई दाना दिनु पर्दछ । 
  • प्रत्येक दिन दाना वा घाँस हाल्नु भन्दा अगाडी हिजो हालेको दाना वा घाँस खाए नखाएको अनिवार्य रुपमा जाँच गर्नु पर्दछ ।

रोग तथा समस्याहरु

माछाका हानिकारक शत्रुजीवहरू

माछा पालन गर्दा माछालाई विभिन्न किसिकमका माछाका शत्रु जीवहरु जस्तै मांसाहारी माछा, भ्यागुता, पानी भित्रमा किरा, सर्प, चरा, गगटा, ओत तथा मानिसहरुले प्रत्यक्ष रुपमा नोक्सान गर्ने गर्छ। तसर्थ यिनीहरुबाट बचाउन सके मात्र माछा पालनवाट फाईदा लिन सकिन्छ । 

  • मांसाहारी माछा - मांसाहरी माछा नियन्त्रणको लागी प्रवेशद्वार तथा निकासद्वारमा मसिनो आँखा भएको तार जाली राखी पानी राखे र निकाल्ने गर्नु पर्छ।  
  • सर्प- सर्प नियन्त्रणको लागी पोखरीको डिल सफा राखे, र पोखरीमा सर्पको पासो प्रयोग गर्नु पर्छ। 
  • चरा- चरा नियन्त्रणको लागी पोखरीको विच क्रस गरि रंगीविरंगी प्लाष्टिकको रिवन ठाँउ ठाँउमा वांधि दिनु पर्छ। समय समयमा ठूलो आवाज आउने ढ्या‌ङ्ग्रो बजाएर चरा धपाउने।
  • भ्यागुता – नियन्त्रण गर्न गाह्रो हुने भएकोले ठूला साईजको माछा भुरा स्टक गरि यसवाट बचाउन सकिन्छ ।
माछाका रोगहरु तथा शत्रुहरु

“सामान्य स्वास्थ्यमा आएको जुनसुकै किसिमको परिवर्तनलाई रोग भनिन्छ” तथा त्यस्ता जीवहरु जसले यस्तो परिवर्तन ल्याउन मद्दत गर्दछ लाई जीवाणु भनिन्छ ।

माछामा रोग विभिन्न कारणले लाग्न सक्दछ जस्तै: 

  • वातावरण र त्यसमा आएको परिवर्तन 
  • माछाको दाना आहारामा कमि 
  • पोखरीमा मलखादको बढी प्रयोग 
  • माछालाई चोट पटक लाग्नु 
  • अन्य माछाबाट सरेर 
  • दूषित पानीबाट

 रोगी माछाहरुमा सामान्यतया निम्नलिखित लक्षणहरु देखा पर्दछ । 

  • विस्तारै हिडडुल गर्नु
  • पानीको सतहमा आउनु 
  • जीउ भीत्तामा घस्रनु 
  • विभिन्न भागमा थोप्लाहरु देखिनु 
  • पखेटाहरु कुहिदै जानु तथा कत्ला झर्नु 
  • आँखा बाहिर निस्कनु 
  • शरिरको विभिन्न भागमा घाउ हुनु 
  • माछाको शरीरमा बढी चिप्लो पदार्थ (म्युकस) हुनु
ई.यु.एस (EUS Disease)

यो रोग सर्वप्रथम अष्ट्रेिलियाको क्यून्सलैण्ड भन्ने ठाँउमा सन १९७२ मा नदीका स्थानिय जातका माछाहरुमा देखा परेको थियो र त्यतिवेला यस रोगलाई red spot disease भनियो।


लक्षण : 

  • यो रोग एफेयानोमाइसिस भन्ने ढुसीबाट लाग्छ । शुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ । सो ठाउँमा कत्ला झर्न गई खाल्टो भएको घाउ देखिन्छ। ठाउ र पुच्छरको नजिक भागमा घाउँहरु देखिन्छ । ढाड र पुच्छरको नजिकमा घाउहरु देखिन्छन । जाडोको समयमा स्थानीय जातका माछामा यो रोग वढी लाग्दछ । विकासे माछा मध्ये नैनी र भाकुरमा मात्र यो लागेको पाइएको छ । 

ई.यु.एस (Epizootic Ulcerative Syndrome) रोग :
नेपालमा हाल यो रोगको संक्रमण कृषकहरुको पोखरीमा व्यापक मात्रामा देखिएको छ । यो रोगलाई रातो घाऊ हुने रोग पनि भनिन्छ। खासगरी पानीको तापक्रम २०°C भन्दा कम भएको जाडोको सिजनमा पानीको पींधमा बस्ने र स्थानीय जातका माछाहरु जस्तैः सिद्रा, हिले, नैनी, माागुर आदिमा देखापर्दछ । पानीको तापक्रम बढ्दै गएमा यो रोगको प्रकोप घट्दै जान्छ तर जीवाणु भने पोखरीको पानीमा रहिरहन्छ र पुनः पानीको संक्रमण गरेको ठाउँमा रातो धब्बा हुनु, घाउ हुनु, कत्ला नाश हुनु र यसले गर्दा माछाको बृद्धि नहुने र माछा कमजोर भई अन्यमा मर्न पनि सक्छ।

नियन्त्रण व्यवस्थापन :

  • नियमीत अन्तरालमा पोखरी सुकाई त्यहााबाट जंगली माछाहरु निर्मूल पार्ने र घरपोत्ने चुनको प्रयोग १५-२० के. जी./ कठ्ठाको दरले हाल्ने । 
  • रोगको प्रकोप हेरी एक हप्ताको अन्तरालमा बढीमा ३ पटकसम्म चुनको प्रयोग गर्ने। 
  • पोटासियम पर म्यागनेटको ०.२५-२ एमजी/ लिटर पाईएकोले प्रयोग गर्ने। 
  • माछा मार्ने जाललाई पोखरीमा प्रयोग गरिसकेपछि राम्रोसंग सुकाएर वा एन्टीसेप्टीक रसायनले उपचार गरेरमात्र पुनः प्रयोग गर्ने। 
  • पोखरीको पींधमा बस्ने माछाका जातहरु जस्तैः नैनी, माागुर, रोहु आदि माछाहरुलाई जाडो महिनामा सकभर पोखरीमा नराख्ने ।
  • 3

     

आर्गुलस (माछाको जुम्रा) 

लक्षण 

  • माछाको शरीरको यो माछाको टाउको पखेटा र पुछरमा टासिएको हुन्छ। 
  • यसले रगत चुस्ने भएकोले जिउमा घाउ तथा खटीरा देखा पर्दछ । 
  • माछाको शरिरको कुनैभागमा पनि लाग्न सक्छ। संक्रमित भएको माछा पोखरीमा अस्वभाविकरुपमा छट्पटाउने, उफ्रिने र अचेत हुनेहुन्छ 
  • संक्रमण गरेको ठाउँमा रातो धब्बा हुनु, घाउ हुनु, कत्ला नाश हुनु र यसले गर्दा माछाको बृद्धि नहुने र माछा कमजोर भई अन्यमा मर्न पनि सक्छ । 

नियन्त्रण व्यवस्थापन 

  • परिजीवीले आक्रमण गरिसकेपछि नियन्त्रण गर्नुभन्दा यसलाई रोकथाम गर्नु नै बेश हुन्छ । 
  • पोखरीको पानी नियमीतरुपमा बाहिर बगाउने र राम्ररी सुकाउने आदि कार्यले पनि यो परिजीवीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । 
  • संक्रमित पोखरीमा प्रयोग गरिएको उत्पादन सामग्रीहरु जस्तै जाल, हापा, भुराहरु तथा माछाहरु अन्यत्र स्थानान्तर गर्दा वा प्रयोगमा ल्याउदा राम्ररी सुकाएर वा उपचार गरेर मात्र गर्ने। 
  • पोखरीमा बाासको वा काठको पोल ठड्याएर गाडीदिएमा संक्रमीत माछाले सो पोलमा आफ्‌नो शरिरलाई रगडिई परिजीवीबाट छुटकारा पाउन कोशिश गर्छ। 
  • disease
ट्रिकोडिनम
  •  यो माछाको छाला, गिल र पखेटामा आक्रमण गर्ने एक कोषीय बाहय परजीवि हो
  • यसको संख्या धेरै भएमा माछाको भुरा मार्दछ

लक्षण

माछा दुब्लो हुने, पानीमा बिस्तारै तैरने  फाट्टफुट्ट रुपमा दैनिक माछा भुरा मर्दै जाने यो परजीविको आक्रमणको प्रमुख लक्षण

औषधि उपचार

  • ०.२५ पि.पि.एम.को दरले ट्राईक्लोफेन र डिप्टेरेक्स राख्ने
  • २५ पि.पि. एम को दरले फोर्म्लिन पोखरीमा हाल्ने
  • २–३ प्रतिशतको नुन पानीको झोलमा ५–१० मिनेट डुवाउने
  • ०.२५ पि.पि.एम मालाचाइत ग्रीन प्रयोग गर्ने

 

  •  fvdf    vx
सेतो थोप्ले रोग

लक्षणहरु

  • शरीरको बाहिरी भागमा सेतो थोप्लो देखा पर्दछ
  • ढाड र जिउमा छाला पातलो भई घाउ देखिन्छ

औषधि उपचार

  • संक्रमित माछालाई २-३% नुन पानीमा (२-३ ग्राम नुन प्रति १०० मी.लि. पानी) २-३ मिनेटसम्म राख्नु पर्छ । सो उपचार एक हप्तासम्म गर्नु पर्दछ । 
  • फर्मालिन १५ पि.पि.एम. र मालाकाईट ग्रिन ०.०२ पि.पि.एम पानीमा मिसाएर बनाईएको झोलमा ३०-६० सेकेन्ड सम्म संक्रमित माछालाई राखी संक्रमण नभएको पोखरीमा राख्ने र इक परजीवी नियन्त्रण नभएसम्म हरेक दोश्रो दिन यो उपचार विधि प्रयोग गर्नु पर्छ । 
  • गर्मियाममा फर्मालिनको प्रयोगबाट अक्सिजनको कमी हुने सम्भावना भएकोले यसलाई प्रयोग गरेको २४ घण्टा पछि स्वच्छ र सफा पानी लगाई दैनिक कम्तीमा ५०% पुरानो संक्रमित पानीलाई नयाँ स्वच्छ पानीले विस्थापित गराउनु पर्दछ । 
  • पोखरीमा मलखादको प्रयोग भरखरै गरिएको छ भने फर्मालिनको प्रयोग गर्नु हुँदैन । 
  • यो परजीवी लाग्न नदिन पोखरीमा भुरा राख्नु अगावै ५०० कि.ग्रा. प्रति हेक्टरको दरले चुना प्रयोग गर्नु पर्दछ । 
  • सक्रमण भई मरेका माछालाई पोखरीबाट झिकी जमिन मुनि गाड्नु पर्दछ ।

d

 

गाइरोडेक्टाइलस (Gyrodactylus) र डेक्टाइलोगाइरस (Dactylogyrus)

यी परजीविहरूलाई मोनोजिन ट्रीमाटोड भनिन्छ । यी मध्ये गाइरोडेक्टाइलसले भुराको छाला तथा डेक्टाइलोगाइरसले गिलमा आक्रमण गर्दछ । गाइरोडेक्टाइलस परजिवीको साइज ०.४ मिलिमिटर हुन्छ भने डेक्टाइलोगाइरस परजिवि २ मिलिमिटर सम्म लामो हुन्छ ।

 लक्षणहरु

  • आष्क्रमण भएको स्थानमा घाउ हुन्छ । 
  • माछा भुराले दाना खांदैन र पोखरीको पिंधमा झोक्राएर बस्दछ । 
  • परजीवीको बढी आक्रमण भएको अवस्थामा छालामा धेरै म्युकस आउने हुदा भुराको शरीरमा दुध जस्तो सेतो पदार्थ देखिन्छ । 
  • गिलको टुप्पाको रेशाहरु फुस्रो हुन्छ । 

उपचार

  • पोखरीमा फर्मालिन १५ पी. पी. एम. प्रयोग गर्न सकिन्छ । गर्मीको समयमा यसको प्रयोगबाट अक्सिजनको कमी हुन सक्ने भएकोले पोखरीमा फर्मालिनको प्रयोग गर्ना साथ स्वच्छ पानी लगाउने ब्यबस्था गर्नु पर्दछ । 
  • डिप्टेरेक्स ०.२५ पि. पि. एम पोखरीमा प्रयोग गर्न सकिन्छ । 
  • संक्रमित माछालाई २ देखि ३ प्रतिशत नुन पानीमा १ मिनेट राखी साबिक पालिएको पोखरीमा राख्न सकिन्छ । सम्भव भए उपचार गरिएका माछा भुरालाई अन्य पोखरीमा सार्नु पर्दछ । 
  • संक्रमित पोखरीलाई स्काई ३०० केजी प्रति हेक्टर चुन प्रयोग गर्न सकिन्छ ।
gil

 

उत्पादन

परम्परागत मिश्रित माछा उत्पादन विधि

फरक फरक खाने र बस्ने बानी भएका कार्प जातका माछाहरुलाई जात अनुसारका संख्याको अनुपात मिलाई एउटै पोखरीमा राखी पालन गर्ने तरिकालाई "मिश्रित माछा पालन" भनिन्छ । २०३९ सालमा एशियाली विकास बैंक र यु.एन.डि.पि. को सहयोगमा संचालन गरिएको मत्स्य विकास आयोजना लागु भए पछि नेपालमा मिश्रित माछा पालनले गति लिन थालेको हो । शुरुमा माछा पालन गर्दा ब्यवसायिकताको कमी थियो । विभिन्न साईजका र विभिन्न कार्य जातका भुराहरु (प्रायः जसो फ्राई साईजका) एउटै पोखरीमा राखेर पाल्ने गरिथ्यो र हाल पनि कतिपय मत्स्य कृषकहरु यस्तै किसिमले पालन गर्ने गर्दछन् । यो विधिमा मत्स्य कृषकहरुसंग ठुला साईजका भुरा हुर्काउनको लागि छुटै पोखरीको ब्यवस्था हुँदैन । मत्स्य ह्याचरी वा नर्सरीमा जुन साईजका र जुन जातका भुरा उपलब्ध भयो सोझै ल्याएर उत्पादन पोखरीमा राखी पाल्ने गरिन्छ तथा बिक्रीको लागि तयार भएका माछाहरु झिकेर बेचिन्छ । यो तरिकाले पुर्ण ब्यवसायिक रुपले माछा उत्पादन गर्न सकिंदैन र पोखरीको उत्पादकत्व पनि कम नै हुन्छ । एउटै पोखरी साना देखि ठुला साईजका माछाहरु रहने गरकाले ठुला माछा झिक्नको लागि जाल तान्दा साना माछाहरुलाई चोटपटक लागि मर्ने गर्दछन् । यो विधिमा बिक्री साईजका माछा उत्पादन गर्न लामो समय लाग्ने रचाहेको समयमा पर्याप्त परिमाण माछा बिक्री गर्न कठिनाई हुने गर्दछ ।

छरी माछा उत्पादन विधि

 माथी उल्लेख गरिएको परम्परागत मिश्रित माछा पालनमा भएका विभिन्न कमी कमजोरीहरुका कारणले र कम समयमै माछा उत्पादन गरी बजारमा ल्याउने उद्देश्यले नयाँ माछा पालन प्रविधिको आवश्यकता आइ सकेको थियो । नैनी र रोहु जातका २५ ग्राम साईजका माछा पनि खानको लागि उपयुक्त देखिएकोले मत्स्य कृषकहरुले स्वतस्फुर्त रुपले मुख्य रुपमा नैनी र केही संख्यामा रोहुका फ्राई भुराहरु प्रति कठ्ठा जलाशयमा ५-१० हजार गोटा राखी पालन गर्न शुरु गरे जसबाट ३-४ महिनाकरिब २५ ग्राम साईज केही माछा झिकेर बिक्री गरिन्छ र बाकी माछालाई अझ केही महिना पालन गरिन्छ जसलाई फेरी ३-४ महिना पछि बिक्री गरिन्छ । यसप्रकारले करिब ३-३ महिनाको फरक करिब ३ पटकमा २५-७५ ग्राम साइजका माछा झिकेर बिक्री गरिन्छ । यसरी उत्पादन गरी बिक्री गरिने करिब २५-७५ ग्राम साईजका माछालाई "छरी" वा "छडी" का नामले चिनिन्छ । छडी माछाका साथसाथै एकदम थोरै संख्यामा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प र बिगहेड कार्पका ठुला साईजका माछा भुरा स्टक गरेर थप माछा उत्पादन पनि गरिन्छ । छडी माछा उत्पादन प्रविधि तिब्र गतिमा मत्स्य कृषकहरु माझ लोकप्रिय हुँदै फैलिन थाल्यो । तर यो पद्धतिलाई पुर्ण ब्यवसायिक रुपले संचालन गर्न पनि केही कठिनाई देखा पर्न थाल्यो । यो पद्धतिमा धेरै संख्यामा माछा भुरा स्टक गरी पालन गरिने भएकोले छडी साईजका माछा बिक्री गरेपछि बाकी रहेका माछाले मात्र पनि आवश्यक स्टकिङ्ग घनत्व भन्दा धेरै बढी हुन आउँछ र अत्यधिक स्टकिङ्ग घनत्वको कारणले अधिकांश रुपमा १००-२५० ग्राम साईज भन्दा ठुला साईजका रोहु नैनी माछा उत्पादन हुन गाह्रो पर्दछ । यी १००-२५० ग्राम साईजका माछाको माग स्थानिय बजारमा केही मात्रामा भए पनि काठमाण्डौ र पोखरा जस्ता टाढाका ठुला बजारहरुमा नगण्य माग हुने गरेकोछ जसको कारण यस्ता माछा कम बजार भाउमा बिक्री हुने गर्दछ । पोखरीको उत्पादन क्षमता र ब्यवस्थापनको स्तरको अधारमा छडी माछा उत्पादनको लागि प्रति कठ्ठा निम्न संख्या र अनुपातमा माछा भुरा स्टक गरी पालन गर्न सकिन्छ : 


नैनीको फ्राई भुरा                                                   ४०००-६४०० गोटा 
रोहुको फ्राई भुरा                                                   १०००-१६०० गोटा 
कमन कार्पका पोस्ट-फिंगरलिङ्ग भुरा                         १०-१५ गोटा 
ग्रास कार्पका पोस्ट-फिंगरलिङ्ग भुरा                           १०-१५ गोटा 
सिल्भर कार्पका पोस्ट-फिंगरलिङ्ग भुरा                        ७-१० गोटा 
बिगहेड कार्पका पोस्ट-फिंगरलिङ्ग भुरा                       १०-१५ गोटा

ठुला साईजका मिश्रित कार्प माछा उत्पादन विधि

 माथी दुई किसिमका कार्प माछा उत्पादन विधिमा देखिएका कमी कमजोरीहरुका कारणले ठुला साईजका कार्प माछा उत्पादन गर्ने विधिको उपयोग गरी केही कृषकहरुले बजारको मागमा अधारित व्यवसायिक माछा पालन गर्न थालेका छन् । यो माछा पालन विधिमा विभिन्न कार्प जातका फ्राई वा फिंगरलिङ्ग भुराहरु समयमै ल्याई रियरिङ्ग पोखरी वा पोस्ट-फिंगरलिङ्ग पोखरीमा पालेर माघ महिना भित्रमा आवश्यक संख्यामा ५०-२०० ग्राम साईज पोस्ट-फिंगरलिङ्ग माछा उत्पादन गरिन्छ । यो तरिकाको माछा पालनमा ०.५-२.० के.जी. साईजका माछा उत्पादन गरेर बिक्री गरिन्छ । ठुला साईजका खाने माछाको माग बढी हुने गरेको र महँगो भाउमा बिक्री हुने गरेकोले यो विधि अनुसार पुर्ण ब्यवसायिक रुपले माछा पालन गर्न सकिन्छ । यो तरिकाबाट प्रति कठ्ठा जलाशयमा २५०-३०० के.जी. माछा वार्षिक रुपमा उत्पादन गर्न सकिन्छ । यो तरिकाबाट माछा पालन गर्दा पोखरीको उत्पादन क्षमता र माछा पालन ब्यवस्थापनको आधारमा निम्न अनुपातमा प्रति कठ्ठा जलाशयमा ३००-५०० गोटा पोस्ट-फिंगरलिङ्ग माछा राखी पालन गर्न सकिन्छ : 


(क) दाना र मलमा अधारित उत्पादन विधि मत्स्य पालन कृषकसंग घाँसको उपलब्धता कम मात्रामा भएको तथा दाना र मलको आवश्यक मात्रामा उपलब्ध हुन सक्ने भएमा निम्न अनुपातमा पोस्ट फिंगरलिङ्ग माछा राखी पाल्न उपयुक्त हुन्छ ।

कमन कार्प                      २०% वा ६०-१०० गोटा 
सिल्भर कार्प                    ७% वा २१-३५ गोटा 
बिगहेड कार्प                   २०% वा ६०-१०० गोटा 
ग्रास कार्प                       १३% वा ३९-६५ गोटा 
रोहु                               ३०% वा ९०-१५० गोटा 
नैनी                              १०% वा ३०-५० गोटा 
जम्मा                            १००% वा ३००-५०० गोटा 

 

(ख) घाँस, दाना र मलमा अधारित उत्पादन विधि : यदि कृषकसंग पर्याप्त मात्रामा घाँस उपलब्ध छ भने निम्न अनुपातमा पोस्ट फिंगरलिङ्ग माछा राखी पाल्न उपयुक्त हुन्छ । 
कमन कार्प                      २०% वा ६०-१०० गोटा 
सिल्भर कार्प                    ७% वा २१-३५ गोटा 
बिगहेड कार्प                   १३% वा ३९-६५ गोटा 
ग्रास कार्प                       ३०% वा ९०-१५० गोटा 
रोहु                               २०% वा ६०-१०० गोटा 
नैनी                              १०% वा ३०-५० गोटा 
जम्मा                            १००% वा ३००-५०० गोटा

(ग) मुख्य रुपमा मल र केही मात्रामा दाना/घाँसमा अधारित उत्पादन विधि : यदि कृषकसंग पर्याप्त मात्रामा मल तथा केही मात्रामा मात्र घाँस र दाना उपलब्ध छ भने निम्न बमोजिमले पोस्ट-फिंगरलिङ्ग माछा स्टकिङ्ग गरी पालन गर्न सकिन्छ : 
कमन कार्प                       १३% वा ६०-१०० गोटा 
सिल्भर कार्प                     २५% वा २१-३५ गोटा 
बिगहेड कार्प                    २०% वा ३९-६५ गोटा 
ग्रास कार्प                        १५% वा ९०-१५० गोटा 
रोहु                                १५% वा ६०-१०० गोटा 
नैनी                                १२% वा ३०-५० गोटा 
जम्मा                              १००% वा ३००-५०० गोटा

 
माथी दिइएका पोखरीमा माछा राख्ने संख्या र अनुपात एउटा शुरुवाती सुझावको रुपमा प्रयोग गर्न सकिन्छ । पोखरीहरुको उत्पादन क्षमता र अवस्था फरक फरक हुने गर्दछन् । पोखरीमा माथी लेखिए अनुसार माछा भुरा राखेर पाल्दा अपनाइएका ब्यवस्थापनमा विभिन्न जातका माछाहरुको बृद्धि र उत्पादनको अधारमा प्रत्येक पोखरीको लागि माछा भुराको सबभन्दा उपयुक्त संख्या र अनुपात निर्धाण गर्नु पर्दछ ।

 

 

 

 

 

 

पोखरीको तयारी

माछा पालनको लागि पोखरीका किसिम 

कार्प माछा पालनको लागि पोखरीको आवश्यकता पर्दछ । उपयोगका आधारमा पोखरीहरुलाई नेपालको सन्दर्भमा पाँच प्रकारमा बाँडन सकिन्छ : 


माउ माछा पोखरी : माउ माछा पालन गरिने पोखरीलाई 'माउ माछा पोखरी 'भनिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३-१० कठ्ठा (२-६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । माउ पोखरीहरुमा पानीको गहिराई ४-६ फिट राख्न उपयुक्त हुन्छ । 


नर्सरी पोखरी : याच्लिङ्ग पालन गरी फ्राई भुरा उत्पादन गर्नको लागि प्रयोग गरिने पोखरीलाई 'नर्सरी पोखरी' भनिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा १-६ कठ्ठा (०.७-४.० रोपनी) राख्न उपयुक्त देखिन्छ । नर्सरी पोखरीहरुमा पानीको गहिराई ३-४ फिट राख्न उपयुक्त हुन्छ । 


रियरिङ्ग पोखरी : फ्राई साईजका माछा भुराहरुलाई पालन गरी फिंगरलिङ्ग साईजका माछा भुरा उत्पादन गर्ने पोखरीलाई 'रियरिङ्ग पोखरी' भनिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३-१० कठ्ठा (२-६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । रियरिङ्ग पोखरीहरुमा पानीको गहिराई ४-५ फिट राख्न उपयुक्त हुन्छ ।

पोस्ट-फिंगरलिङ्ग पोखरी : फ्राई वा फिंगरलिङ्ग साईजका माछा भुराहरुलाई पालन गरी पोस्ट फिंगरलिङ्ग साईजका माछा भुरा उत्पादन गर्ने पोखरीलाई 'पोस्ट फिंगरलिङ्ग पोखरी' भन्न सकिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३-१० कठ्ठा (२-६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । यी पोखरीहरुमा पानीको गहिराई ४-६ फिट राख्न उपयुक्त हुन्छ । 


खाने माछा उत्पादन पोखरी : फ्राई वा फिंगरलिङ्ग साईजका माछा भुराहरुलाई पालन गरी पोस्ट फिंगरलिङ्ग साईजका माछा भुरा उत्पादन गर्ने पोखरीलाई 'पोस्ट फिंगरलिङ्ग पोखरी' भन्न सकिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३-१० कठ्ठा (२-६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । यी पोखरीहरुमा पानीको गहिराई ४-६ फिट राख्न उपयुक्त हुन्छ ।

स्थल छनाट 

कुनै पनि जलाशयमा माछा हुर्काइ नियन्त्रित अवस्थामा गरिने उत्पादन कलालाई मत्स्यपालन भनिन्छ । नियन्त्रित अवस्थामा माछा पालनका लागि नियन्त्रण गर्न सकिने उत्पादन क्षेत्रको आवश्यकता पर्दछ । नियन्त्रित अवस्थामा माछा पालन गर्न पोखरी एक प्रमुख उत्पादन क्षेत्र हो । तराई क्षेत्रको गाउँघरमा विभिन्न धार्मिक, सामाजिक कार्यका लागि खनिएका पोखरीहरु मध्ये अधिकांश हाल मत्स्य पालनको लागि उपयोग भईरहेका छन् । तर माछा पालनको लागि उपयुक्त स्थल छनौट सम्बन्धि ज्ञानको अभावमा गलत स्थलको छनोटको कारणले निकै ठूलो संख्यामा निर्माण गरिएको पोखरीहरुमा मत्स्य पालन त्यति सफल हुन सकिरहेको छैन भने कतिपय पोखरीहरु मत्स्य पालनको लागि रुग्न वा मृत अवस्थामा छन् ।

पोखरी निर्माणमा स्थल छनौटको महत्व 

  • पोखरीको उत्पादन क्षमता तथा उपयोगिता स्थल छनौटमा भर पर्दछ । 
  • पोखरी निर्माण गलत स्थानमा भईसकेपछि त्यस जग्गाको अन्य उपयोग हुन सक्दैन । 
  • पोखरी निर्माण गर्न निकै खर्च लाग्दछ । गलत स्थानको चयन हुन गएमा लगानी डुब्न सक्दछ। 
  • स्थलको छनौट माथि नै मत्स्य पालन व्यवसायको सफलता वा असफलता निर्भर गर्दछ ।
  • पोखरीको निर्माण खर्च स्थल छनौट माथि प्रत्यक्ष रुपले निर्भर गर्दछ । स्थल छनौटले संचालन खर्चलाई समेत प्रभावित गरिरहेको हुन्छ । त्यसकारणले मत्स्य पालनको लागि पोखरी निर्माण स्थल चयन गर्दा मुख्यतया निम्नलिखित गुणहरु माथि विचार पुऱ्याउनु पर्दछ, जस्तै पानीको श्रोत, माटोको बनोट, जलवायु, जमिनको बनोट, यातायात, बजार, हेरचाह तथा सुरक्षा ।
पानीको श्रोत

मत्स्य पालनको सफलता पानीको सफल व्यवस्थापन माथि निकै भर पर्दछ । मत्स्य पालनको लागि पानी एक माध्यम हो। पानीको अभावमा सर्वोत्तम माटोमा बनेको पोखरीको समेत उपयोग हुन सक्दैन । पोखरी नजिक पर्याप्त पानी भएको श्रोत भएमा यसले धेरै समस्याको समाधान गर्दछ । पोखरी निर्माण गर्नु भन्दा पहिले पोखरी संचालनको लागि चाहिने पानीको आम्दानी खर्चको लेखा जोखा गरि राख्नु आवश्यक हुन्छ । हाल हाम्रो देशमा मिश्रित माछा पालन लोकप्रिय भईरहेको छ। मिश्रित मत्स्य पालनको लागि पानीको न्युनतम गहिराई १.२ मीटर हुनु पर्दछ । यस गहिराइमा प्राकृतिक आहाराको अधिकतम उत्पादन गराई पानीको तीन वटा सतह प्राप्त गर्न सकिन्छ । मत्स्य पालन अवधि भरी नै यस गहिराइलाई कायम राख्नु पर्दछ । पोखरीबाट नियमित रुपमा पानीको ह्रास समेत भईरहेको हुन्छ । पानीको हास मुख्यतया वाष्पिकरण तथा चुहावटबाट हुने गर्दछ ।

राम्रो माटोमा पोखरी निर्माण गरी चुहावटलाई न्युनतम ०.५ से.मी. दिन राख्न सकिन्छ । त्यसै गरी तराई क्षेत्रको वार्षिक वाष्पिकरण १.५ मीटर देखि १.८ मीटर सम्मको पाइन्छ । अर्थात् दैनिक करिब ०.५ से.मी. औसत वाष्पिकरणबाट हास हुने देखिन्छ । यसप्रकार पोखरी जस्तोसुकै राम्रो माटोमा बनाइएको भएतापनि न्युनतम दैनिक करिब १ से.मी. पानीको हास हुने गर्दछ। तसर्थ पानी यति मात्रामा उपलव्ध हुन सक्नु पर्दछ, जसले गर्दा चाहिएको बखत पानी भर्नेको साथै पानीको दैनिक हासलाई समेत पुरा गर्न सकोस् । पानीको नियमित श्रोतको अभावमा अर्थात् बर्षातको भरमा पोखरी संचालन गर्ने हो भने पोखरीको गहिराई न्युनतम ४.५ मीटर हुनु पर्दछ, जुन आर्थिक दृष्टिकोणले लाभदायक हुन सक्दैन । पानीको भरपर्दो श्रोत भनेको इच्छाइएको बेलामा न्युनतम प्रयास तथा खर्चबाट आवश्यक परे जति पानीको आपुर्ति गर्न सकियोस् । यस्तो श्रोत मुल, ताल, रिजर्भायर, आर्टिजन, बोरिङ्ग, व्यक्तिगत कुलो,भरपर्दो नहर हुन सक्दछ । इनार, खोला तथा स्यालो बोरिङ्गबाट मात्र पानीको आपुर्ति गर्दा थप खर्च लाग्ने हुन्छ जसले गर्दा व्यवसाय त्यति आकर्षक रहन जादैन। यस्तो श्रोत आकस्मिक अवस्थामा प्रयोग गर्न वा वैकल्पिक श्रोतको रुपमा मात्र उपयोगी हुन सक्दछ । तर ह्याचरी संचालन तथा भुरा उत्पादन गर्नका लागि यस्तो श्रोत समेत उपयोगी हुन्छ । पानीको मात्रा निर्धारण गर्दा सुख्खा समयको हिसाब गर्नु राम्रो हुन्छ । पानीको मात्रा कम भएमा उत्पादनलाई प्रभावित गर्दछ । ७ क‌ट्ठाको पोखरीको लागि पानीको नियमित श्रोत भएमा ०.४ लि. से. पानीको बेग हुनु पर्दछ तथा ५-७ हर्ष पावरको पम्पले दैनिक ४५ मिनेट वा हप्तामा ५ घण्टा पानी थप्नु पर्ने हुन्छ ।

माटोको बनोट 

पोखरीको निर्माणमा माटोको महत्वपुर्ण भुमिका हुन्छ किनकी पोखरीको उत्पादकत्व तथा पानी अड्ने क्षमता प्रत्यक्ष रुपमा माटोबो बनोट माथि निर्भर गर्दछ। चिम्ट्याइलो माटो पानी अडाउन सबभन्दा राम्रो माटो हो। तर यसका कणहरु पानीमा तैरी राख्ने भएकोले पोखरीको पानीलाई धमिलो पारी प्रकाशलाई अवरुद्ध पार्नुका साथै आवश्यक पोषक तत्वहरुलाई आफुमा बांधी पोखरीलाई अनुत्पादक बनाउंदछ । तसर्थ चिम्ट्याइलो दोमुट माटो मत्स्य पालनको लागि सबैभन्दा बढी उपयुक्त मानिन्छ । बलौटे माटोको पानी राख्न सक्ने क्षमता कम हुन्छ । साथै सोबाट तयार पारिएको डिल कमजोर हुन्छ । तसर्थ बलौटे माटो भएको स्थानमा पोखरी निर्माण गर्नु हुदैन ।

ee

 

जलबायु 

हरेक स्थानमा हरेक किसिमका माछा पाल्न सकिदैन । खास किसिमका माछाको राम्रो सम्बर्द्धनको लागि खास किसिमको जलवायुको आवश्यकता पर्दछ । कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन् । यसको बृद्धिको लागि १८० देखि २२० से. सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ । ७महिना भन्दा कम समय यो तापक्रमको मान उपलव्ध हुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुँदैन । कार्प माछा पालनमा प्रकाशले समेत मुख्य भुमिका निर्वाह गर्दछ । तसर्थ जुन क्षेत्रमा बढी समय सम्म सुर्यको प्रकाश पाइन्छ, माछाको बृद्धि त्यति नै बढी पाइन्छ । हाम्रो देशमा तराई तथा भित्री मधेश कार्प मत्स्य पालनका उपयुक्त क्षेत्र हुन् । तसर्थ स्थल छनौट गर्दा उक्त स्थानको जलवायुलाई समेत विचार गर्नु पर्दछ, अन्यथा पालन कार्य असफल हुन सक्छ ।

जमिनको बनोट 

जमिनको बनोट भन्नाले पालन स्थल कस्तो छ भन्ने जानकारी दिन्छ । जमिनको बनोट माथि पोखरीको निर्माण खर्च निर्भर गर्नुका साथै संचालन खर्च समेत प्रभावित हुने गर्दछ। साथै जग्गा तथा जलाशयको अनुपातलाई समेत प्रभावित गर्दछ । पहिले देखि नै होचो स्थलमा पोखरी निर्माण गर्दा कम माटो काट्नु पर्दछ। जसले गर्दा निर्माण खर्च कम लाग्दछ । स्लोप परेको जग्गामा पोखरी निर्माण गर्दा पोखरीमा पानी भर्न तथा सुकाउन सजिलो हुन्छ अर्थात खर्च लाग्दैन। पानी निस्कने ठाउं नभएमा पोखरी सुकाउन पम्पको प्रयोग गर्नु पर्दछ । यदि पालन स्थल अग्लो स्थानमा छ भने पानी भर्न समेत पम्पको प्रयोग गर्नु पर्दछ । यी सबैले व्यवस्थापनलाई कठिन तथा संचालन खर्चलाई बढाउंछ । तसर्थ जमिनको बनोट बाढी पैरो नलाग्ने, पानी सजिलै ल्याउन तथा पठाउन सकिने तथा कम माटो काटेरै पोखरी बनाउन सकिने खालको 
भएमा राम्रो हन्छ ।

यातायात तथा बजार 

उत्पादनका लागि आवश्यक बस्तुहरु उत्पादन केन्द्र सम्म पुऱ्याउनका लागि बाटोघाटो नितान्त आवश्यक हुन्छ । अन्यथा अतिरिक्त खर्च (Overhead cost) बढेर जानुका साथै व्यवस्थापन कार्य समेत निकै कठिन हुन्छ । उत्पादनका लागि आवश्यक सामग्रीहरु चाहिएको बखत सजिलैसंग उपलव्ध हुन सक्ने तथा उत्पादित वस्तु सजिलैसंग बिक्री हुन सक्ने बजार हुनु नितान्त आवश्यक हुन्छ । उत्पादन स्थलबाट बजारको दुरी जति बढी हुन्छ तथा यातायातको जति असुविधा हुन्छ फाइदाको मात्रा त्यति नै कम हुन्छ, किनकी लागत खर्च बढी लाग्ने तथा उत्पादित वस्तु सस्तोमा बिक्री गर्नु पर्ने वा बजारसम्म पठाउंदा बढी खर्चिलो हुन्छ । तसर्थ पालन स्थलको छनौट गर्दा बाटो घाटो या यातायातको सुविधा तथा नजिक भन्दा नजिक बजार भएमा उपयुक्त मानिन्छ ।

पोखरी निर्माण

पोखरीको आकार प्रकार


पोखरीको आकार उपयोगको आधारमा सानो वा ठूलो हुन्छ। भुरा हुर्काउनको लागी सानो तथा खाने माछा उत्पादनको लागी ठूलो पोखरी बनाउन राम्रो हुन्छ । उपयोगको आधारमा निम्नानुसार साईज राख्न सकिन्छ; 
नर्सरी पोखरी ( ०.०५ ०.२ हे.) 
माउ पोखरी (०.२ - ०.५ हे.) 
उत्पादन पोखरी (०.२ ३.० हे.) 


सानो पोखरीमा व्यवस्थापनको कार्य सरल हुन्छ तर प्रति ईकाइ जलाशय खर्च बढी लाग्दछ तथा जग्गाको अनुपातमा कम जलाशय प्राप्त हुन्छ । पोखरीको साईज व्यवस्थापन गर्न सक्ने क्षमताको आधारमा ठूलो भन्दा ठूलो राख्नु फाईदाजनक हुन्छ । पोखरी बनाउंदा वर्गाकार पोखरी किफायती हुन्छ भने आयताकार पोखरी व्यवस्थापन गर्न सरल हुन्छ । धेरै ठूला वर्गाकार पोखरी बनाउन सकिदैन । तसर्थ लम्बाई तथा चौडाई विचको अन्तरलाई न्युन राखी (यथासंभव) डिजाइन गर्नु पर्दछ। लम्बाई र चौडाई बिच जति ठूलो अन्तर हुन्छ डिलले त्यत्तिनै बढि क्षेत्रफल ओगट्छ र जलाशय त्यत्तीनै कम प्राप्त हुन्छ। डिलको चौडाई ५० मिटर भन्दा बढी राख्दा जाल तान्ने कार्य कठिन हुन्छ ।

3

 

पोखरीको गहिराई

मिश्रीत माछा पालनको लागि पानीमा तीन वटा सतह पाउनु आवश्यक हुन्छ । पोखरीमा तीन सहत पाउन पानीको न्युनत गहिराई १.२ मिटर हुनु आवश्यक छ । पोखरीको गहिराई स्थानीय जलवायु माथि समेत भर पर्दछ । तसर्थ गर्मी स्थानमा बढी तथा चिसो स्थानमा कम गहिरो पोखरी बनाउनु उपयुक्त हुन्छ । व्यवसायिक रुपमा मत्स्यपालन गर्न पोखरी बनाउंदा २.० मिटर सम्म पानी राख्न सक्ने पोखरी बनाउनु पर्दछ । पोखरी बाट सामान्यतया त्यत्ती मात्रै माटो निकाल्नु पर्छ जती डिल बनाउन उपयोग होस् । जग्गाको कुल क्षेत्रफलको १ तिहाई भाग मात्र डिलले ओगटने हो भने माटो काट्‌ने कार्य ६० से.मी. देखी ७५ से.मी. मात्र गर्नु पर्दछ । त्यसकारण वांछित गहिराई तथा उपयुक्त जलाशय क्षेत्रफल प्राप्त गर्नका लागी निर्माण स्थल पहिले देखिनै गहिरो (३०-६० से.मी.) हुनु आवश्यक देखिन्छ ।

डिलको बनावट

डिलको बनावट यस्तो हुनु पर्दछ जस्ले बाढीबाट पोखरीलाई सुरक्षित राख्न सकोस साथै पोखरीको पानीको चापलाई धान्न सकोस र पानीलाई बाहिर चुहिनबाट बाचावोस । डिल बनाउँदा निम्नलिखित कुराहरु माथि विचार गर्नु पर्दछ ।

dil

 

पानी प्रवेशद्वार तथा निकास 

पोखरीमा पानी भर्न तथा पानी निकाल्नको लागी प्रवेश तथा निकासद्वारको व्यवस्था गरिन्छ । जसको माध्यमबाट पोखरीमा भर्न वा सुकाउन सकिन्छ भने माछालाई भाग्न बाट बचाईन्छ र माछाका शत्रुलाई प्रवेश गर्नबाट वन्चित गरिन्छ । पानीको प्रवेशद्वार माथिल्लो भागमा तथा निकासद्वार सबभन्दा होचो स्थानमा बनाउनु पर्दछ । पोखरीको माटो काट्दा स्लोपमा काट्नु पर्दछ । तथा पोखरीको एउटा विन्दु सबभन्दा गहिरो हुनु पर्दछ । त्यहीनै पानीको निकासद्वार बनाईन्छ । पानीको प्रबेश तथा निकासद्वारको साईज पोखरीको साईज माथी भर पर्दछ । प्रवेशद्वार तथा निकास बनाउन ईट्टा, सिमेन्ट, पोलिथिन पाईप आदीको प्रयोग गर्न सकिन्छ । 

वर्म लाईन : 
ठूलो पोखरी बनाउदा डिलहरुलाई सुरक्षित राख्नका लागी साथै व्यवस्थापनलाई सरल बनाउनका लागी पेटी छाडिन्छ जसलाई वर्मलाईन भनिन्छ । वर्मलाईन १-३ मिटरको पेटी पोखरीको डिलको भित्र पट्टी चारै तिर राखेर मात्र माटो काट्‌ने कार्य गरिन्छ । 

carp

 

पोखरी व्यवस्थापन

पोखरीमा राख्ने माछाको जातको अनुपातको विवरण 

1

 

 

 

 

 

 

 

2

 

 

 

 

 

 

 

 

3

 

 

 

 

 

 

 

 

4

पोखरीमा मलको प्रयोग 
  • कार्प माछाहरुको मिश्रित माछा पालन गर्नको लागि पोखरीको पानीलाई निरन्तर रुपमा हरियो बनाई राख्न आवश्यक हुन्छ । पानीलाई हरियो बनाउनको लागि पोखरीमा मलको प्रयोग गर्न आवश्यक हुन्छ । हरियो पानीमा हामीले पाल्ने कार्प माछको प्राकृतिक आहारा उत्पादन हुन्छ ।
  • पोखरीमा प्राङ्गारिक मल र रसायनिक मल दुबै हाल्नु पर्दछ । 
  • मल हाल्नु भन्दा अगाडी पोखरीको पानीको मलिलोपन (हरियोपन) जाँच गर्नु पर्दछ । सेची डिस्क वा हात डुबाएर जाँच गर्न सकिन्छ । जाँचको अधारमा नियमित रुपमा पोखरीमा मलको प्रयोग गरी पानीलाई उपयुक्त मात्रामा हरियो बनाई राख्नु पर्दछ । 
  • जाँचबाट मल हाल्न आवश्यक देखिएमा प्रति हप्ता प्रति कठ्ठा जलाशयमा ०.५ के.जी. डि.ए.पी. र ०.७ के.जी. युरिया पानीमा राम्ररी घोली पोखरीको पानी चारैतिर बराबर तरिकाले छर्नु पर्दछ । यसको साथै प्रत्येक १५ दिनमा १० के.जी. गोबर मल प्रति कठ्ठा जलाशयमा प्रयोग गर्नु पर्दछ ।
पोखरीमा पानीको गहिराई र गुणस्तर ब्यवस्थापन
  • सफल किसिमले ब्यवसायिक रुपमा माछा पालन गर्नको लागि पोखरीमा पानीको उपयुक्त गहिराई र उपयुक्त गुणस्तर निरन्तर कायम राख्न आवश्यक हुन्छ ।  
  • माथी पोखरीको किसिममा दिईए अनुसारको पानीको गहिराई कायम गर्नको लागि पोखरीमा नियमित रुपमा पानीहाल्नु पर्दछ । 
  • माछा पालनसंग सम्बन्धित पानीको गुणस्तरहरुमा घुलित आक्सीजन, पि.एच., अल्कालिनिटी, हार्डनेस, कार्बन डाई अक्साइड, अमोनिया, नाइट्राइट, हाइड्रोजन सल्फाइड, आदिलाई विशेष रुपमा ध्यान दिनु पर्दछ । 
  • मत्स्य प्राविधिकको सहयोगबाट पानीको गुणस्तर जाँच गराई प्राविधिककै सल्लाह अनुसार आवश्यक व्यवस्थापन गर्नु पर्दछ । 
  • पानीको गुणस्तर बिग्रियो भने माछाको बृद्धि कम हुने, माछामा विभिन्न किसिमका रोग लाग्ने, माछा मर्ने, आदि अवस्था आउन सक्छ ।
पोखरीमा पानीको गहिराई र गुणस्तर ब्यवस्थापन
  • सफल किसिमले ब्यवसायिक रुपमा माछा पालन गर्नको लागि पोखरीमा पानीको उपयुक्त गहिराई र उपयुक्त गुणस्तर निरन्तर कायम राख्न आवश्यक हुन्छ ।  
  • माथी पोखरीको किसिममा दिईए अनुसारको पानीको गहिराई कायम गर्नको लागि पोखरीमा नियमित रुपमा पानीहाल्नु पर्दछ । 
  • माछा पालनसंग सम्बन्धित पानीको गुणस्तरहरुमा घुलित आक्सीजन, पि.एच., अल्कालिनिटी, हार्डनेस, कार्बन डाई अक्साइड, अमोनिया, नाइट्राइट, हाइड्रोजन सल्फाइड, आदिलाई विशेष रुपमा ध्यान दिनु पर्दछ । 
  • मत्स्य प्राविधिकको सहयोगबाट पानीको गुणस्तर जाँच गराई प्राविधिककै सल्लाह अनुसार आवश्यक व्यवस्थापन गर्नु पर्दछ । 
  • पानीको गुणस्तर बिग्रियो भने माछाको बृद्धि कम हुने, माछामा विभिन्न किसिमका रोग लाग्ने, माछा मर्ने, आदि अवस्था आउन सक्छ ।
अक्सिजनको ब्यवस्थापन
  • पोखरीको पानीमा आक्सीजन ग्यास घुलेर रहेको हुन्छ जसलाई उपयोग गरेर माछाले साँस फेर्दछन् । 
  • पानी घुलित आक्सीजन कम भयो भने माछाहरुले पानीको सतहमा मुख ल्याई प्याक प्याक गर्ने गर्दछन् । यसरी धेरै बेरसम्म आक्सीजनको कमी भयो भने धेरै संख्यामा माछाहरु एकै पटक मर्न सम्भावना हुन्छ । 
  • पोखरीमा मलको प्रयोग गरेपछि पानीको रंग हरियो हुन्छ र हरियो पानीमा घाम लागेपछि आक्सीजन ग्यासको उत्पादन भई पानीमा घुल्दछ । पोखरीको पानीमा घुलित आक्सीजनको मुख्य श्रोत नै यही हो । घुलित आक्सीजनका अन्य श्रोतहरु यी हुन् : 
  1. केही मात्रामा हावाबाट पोखरीको पानीमा आक्सीजन घुल्ने गर्दछ । 
  2. बाहिरबाट हालिने 
  • पोखरीको पानीमा भएको आक्सीजनको खपत के के ले गर्दछ ? : 
  1. माछाले 
  2. पानीमा हुने अन्य प्राणीहरुले 
  3. फाइटो प्लाङ्कटन र पानीमा हुने हरियो झारपातले घाम लागेको बेलामा उत्पादन गर्ने र रातीमा खपत गर्ने 
  4. पोखरीमा भएका प्राङ्गारिक पदार्थहरुले कुहिनको लागि 
  • पोखरीमा माछालाई आक्सीजनको कमी हुने कारणहरु यसप्रकार छन् : 
  1. पोखरीको क्षमता भन्दा बढी माछा छ भने केही माछा बिक्री गरेर वा सारेर पोखरीमा माछा पातलो गर्ने । 
  2. बादल, कुहिरो वा छाँयाका कारणले पोखरीमा घाम नलाग्नु । 
  3. पोखरीको पानी अत्यधिक हरियो हन ।
  4. पोखरीमा आवश्यकता भन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्नु । 
  5. अत्यधिक दानाको प्रयोग गर्नु । 
  6. पोखरीमा पानी थोरै हुनु । 
  7. अत्यधिक गर्मी हुनु । 
  8. पोखरीमा माछा भएपनि पानी हरियो नहुनु । 
  9. पोखरीमा जू-प्लाङ्कटन खाने माछा (बिगहेड र भाकुर) भई जू-प्लाङ्कटनको संख्या अत्यधिक हुनु । 
  • पोखरीमा माछालाई आक्सीजनको कमी भयो भने के गर्ने ? 
  1. पोखरीमा एरेटर मेशिन राखिएको छ भने एरेटर मेशिन चलाउने । 
  2. पोखरीमा सफा पानी थप्ने । 
  3. बोरिङ्गको पानी हो भने पानीलाई झरनाको रुपमा पोखरीमा खसाल्ने व्यस्था गर्ने । 
  4. पोखरीको क्षमता भन्दा बढी माछा छ भने केही माछा बिक्री गरेर वा सारेर पोखरीमा माछा पातलो गर्ने । 
  5. घाम नलागेको र आक्सीजनको कमी हुने अवधीमा पोखरीमा दाना मलको प्रयोग नगर्ने ।
माछाको नियमित बृद्धि जाँच 

पोखरीमा पालिएका माछाहरु ठीकसंग बढेको छ वा छैन तथा माछाहरु स्वस्थ छन् कि छैनन् भन्ने कुरा थाहा पाउनको लागि कम्तिमा एक एक महिनाको अन्तरमा जालको सहायताले माछालाई समाती वृद्धि जाँच तथा स्वास्थ्य परिक्षण गर्नु पर्दछ ।प्रत्येक जातका करिब १०-२० वटा माछाहरुको कुल तौल लिएर प्रत्येक जातका माछाका छुटाछुटै औसत तौल निकाल्नु पर्दछ । जात अनुसारका औसत तौलका अधारमा पोखरीमा भएका माछाहरुको अनुमानित कुल तौलको हिसाब गर्नु पर्दछ । यसरी पोखरीमा मौज्दात रहेका माछाका कुल अनुमानित तौलको अधारमा दानाको मात्रा निर्धारण गर्नु पर्दछ । माछाका बृद्धि कम देखिएमा वा माछाका स्वास्थ्यमा केही समस्या देखिएमा मत्स्य प्राविधिकबाट सल्लाह लिएर आवश्यक ब्यवस्थापन कार्य गर्नु पर्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

व्यवसायिक मत्स्य पालन प्रविधि पुस्तिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रुपन्देही

माछापालन प्रविधि (हाते पस्तिका) पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय, मत्स्य बिकास शाखा १ नं. प्रदेश 

पोखरीमा कार्प माछा पालन प्रविधि मत्स्य विकास केन्द्र, भण्डारा, चितवन

व्यवसायिक माछा पालन प्रविधि पुस्तिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन, बारा