परिचय

वानस्पतिक चित्रण 

मस्याङ सानो पात भएको, हाँगा हाल्ने, फूल फुल्ने, कोसा हाल्ने र फेरी फूल फुल्ने, घामको प्रकाशले वृद्धि विकासमा असर गर्ने कोसेबाली हो । मस्याङ एकवर्षीय बाली हो जसको जरा १ मिटर गहिरोसम्म जान सक्छ । पातको स्वरुप तीन पातीय हुन्छ जसको लम्बाई ६-९ से.मि. लामो हुन्छ । फूल पहेंलो हुन्छ। कोसाहरू ७-१२ से.मि. लामो हुन्छ जसमा ६-१० ओटा दाना हुन्छन् । दानाको रंग रातो, कालो, हरियो, पहेंलो, खैरो हुन्छ ।

mungbean

 

नेपालमा मस्याङ खेती विस्तार नहुनुको कारण 
  • यो बालीको जात विकास नहुनु । 
  • देशका विभिन्न ठाउँमा मस्याङका स्थानीय जात भएतापनि तिनीहरुको अध्ययन अनुसन्धान व्यापक रुपमा नहुनु । 
  • बालीको महत्त्वको बारेमा किसान स्थरमा जनचेतनाको कमी। 
  • किसान स्तरमा मूल्य अभिवृद्धि सम्बन्धी तालिमको कमी। 
  • बालीको उन्नत उत्पादन प्रविधि सम्बन्धी ज्ञान र प्रसारमा कमी। 
  • यो बालीलाई जीविकोपार्जन र खाद्य सुरक्षाको दृष्टिकोणले कृषिको विशेष कार्यक्रममा समाबेश गर्न नसक्नु ।
मस्याङ बालीको उपयोगिता 
  • मस्याङ बाली कोसेबाली भएको हुनाले तराई क्षेत्रमा गोबर मल नहुने ठाउँमा धान खेती गर्नु अघि हरियो मलको रुपमा प्रयोग गरिन्छ । यसको जरामा लाभदायी शाकाणुले गिर्खा बनाउने हुनाले माटोमा नाइट्रोजन मल थपी अन्य बालीको उत्पादन बढाउने काम गर्दछ । 
  • गाईवस्तुको लागि यो बाली पौष्टिक रुपले उपयोगी मानिन्छ । 
  • पहाडको भिरालो, कम मलिलो जग्गामा पनि यसको खेती हुनाले माटोको बनोट सुधार गरि पहिरो जाने सम्भावनालाई कम गर्न मद्दत गर्दछ । 
  • हरियो कोसालाई तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ भने कोसा सुकेपछि दानालाई दालको रुपमा प्रयोग गर्न सकिन्छ । 
  • मगर र नेवार समुदायले चाड पर्व, विवाह उत्सवमा मस्याङको दालबाट विभिन्न परिकार जस्तै बटुक, बारालाई प्रमुख परिकारको रुपमा राख्दछन् । 
  • स्थानीय बजारमा मस्याङबाट बन्ने परिकार जस्तै बटुक, बारा, मस्यौरा बनाई बेच्ने हुँदा आय-आर्जनको हिसाबले पनि निकै लोकप्रिय मानिन्छ ।
मस्याङको पौष्टिक महत्व 

मस्याङ बाली पौष्टिक हिसाबले धेरै नै महत्व राख्दछ । यसबाट कार्बोहाइड्रेट, प्रोटिन, खनिज, भिटामिन जस्ता स्वास्थ्यलाई चाहिने महत्वपूर्ण तत्वहरू पाउन सकिन्छ । मस्याङबाट पाहिने महत्वपूर्ण तत्वहरू यस प्रकार रहेका छन् । 
कार्बोहाइड्रेट              ५८.२-७२% 
प्रोटिन                       १८.३-३२.२% 
खरानी                       ३.५-४.९% 
तेल                           ०.१-०.५% 
फाइबर                      ३.६-५.५%

उत्पत्ति तथा क्षेत्र 

मस्याङ (Rice bean) को वैज्ञानिक नाम Vigna umbellata [Thunb] Ohwi and Ohashi हो । मस्याङ बालीको उत्पत्ति इन्डो चाइनामा भएको हो। यो महत्त्वपूर्ण कोसेबाली हो । यसको खेती तराई देखि उच्च पहाडसम्म गरिन्छ । मस्याङको खेती उत्तर एसियाको चाइना, लावस, थाईल्याण्ड, भारत र नेपालमा सफल रुपमा गरिन्छ भने अन्य देश जस्तै अस्ट्रेलिया, पूर्वी अफ्रिका, ब्राजिल, मेक्सिको, होन्डुरसमा पनि खेती गरेको पाइन्छ । नेपालमा यसको खेती गरिने ठाउँ अनुसार यसको नाम मस्याङ, झिलिंगे, गुरोस अथवा सिल्टुंग भन्ने गरिन्छ । यो वर्षे बाली विशेषगरि पहाडी क्षेत्रका किसानहरुले व्यावसायिक रुपमा भन्दा पनि दालको रुपमा प्रयोग गर्नको लागि लगाएको पाइन्छ । पहाडी क्षेत्रको खेतीयोग्य नभएको, सुख्खा, रुखो जग्गामा यसको खेती गरिन्छ । पहाडी तथा मध्य पहाडी क्षेत्रमा एकल बाली भन्दा पनि मकैसँग मिश्रित बाली र धान खेतको आलीमा यसको खेती गरिन्छ । नेपालमा खेती गरिने कोसेबाली जस्तै मुसुरो, भटमास, चना, मुंग प्रमुख बाली हुन् भने मस्याङ क्षेत्रफल र उत्पादन थोरै भएको बाली हो । अन्य कोसेबालीको क्षेत्रफल उत्पादन बढेको देखिन्छ भने मस्याङको खेती त्यति विस्तार नभएको हुनाले क्षेत्रफलको आँकडा पनि पर्याप्त छैन । मस्याङ बाली खेती हुने जिल्लाहरुलाई क्षेत्रफलको आधारमा वर्गीकरण गरिएको छ । 

  • कम क्षेत्रफलमा खेती गरिएका जिल्लाहरू (४० हे. भन्दा कम) मकवानपुर, प्युठान, कास्की, धादिङ, चितवन, पर्वत, सल्यान, गोर्खा, इलाम, तेह्रथुम, तराईका जिल्लाहरू र उच्च पहाडी क्षेत्र 
  • मध्यम क्षेत्रफलमा खेती गरिएका जिल्लाहरू (४०-९० हेक्टर): बाजुरा, बझांग, दोलखा 
  • धेरै क्षेत्रफलमा खेती गरिएका जिल्लाहरू (९० हे. भन्दा धेरै): रामेछाप, सिन्धुली, तनहुँ, लमजुङ्ग, पाल्पा, गुल्मी, अर्गाखाँची, बाग्लुङ, दाङ, नुवाकोट, सिन्धुपाल्चोक, स्याङ्जा (श्रोतः लिबर्ड २००७, गौतम, २००७) 

मुसुरो, मास, अरहर सजिलै उपलब्ध हुने हुँदा दालको रुपमा बढी प्रयोग भएको पाइन्छ भने मस्याङ दालको रुपमा भन्दा पनि चाडपर्वमा समुदायबाट बटुक मस्यौरा बनाउनको लागि प्रयोग हुन्छ ।

आवश्यकता

हावापानी र माटो

मस्याङ विभिन्न हावापानीमा खेती गर्न सकिन्छ । मस्याङको खेती ७०० देखि १४०० मीटर उचाईसम्म न्यानो दक्षिण फर्किएको क्षेत्रमा सफल रुपमा गर्न सकिन्छ भने २००० मिटरको उचाईमा पनि खेती गरेको पाइन्छ । २५ देखि ३५ डिग्री सेन्टिग्रेड तापक्रम, वार्षिक १००० देखि १५०० मिलि मीटर वर्षा मस्याङ खेतीको वृद्धि विकास र कोसा बन्नको लागि राम्रो मानिन्छ तर फूल फुल्ने बेलामा धेरै पानी परेमा कोसा विकासको लागि हानि गर्ने र उत्पादनमा नोक्सान गर्ने गर्छ ।

लगाउने समय 

मस्याङ जेष्ठ १५ देखि असार १५ सम्म लगाउन सकिन्छ ।

कृषि इन्पुट

बीउदर 

बीउको लागि प्रयोग गर्न प्राय बोटको माथिल्लो भागमा लागेको कोसा भन्दा बीच भागमा भएका परिपक्व, रोग कीरा नलागेका कोसाहरू टिपेर, दाना निकालेर घाममा राम्ररी सुकाई प्रयोग गर्नु पर्दछ । मस्याङको बीउ सजिलोसँग नउम्रने हुँदा रातभरि १०-१२ घण्टा पानीमा भिजाएर पनि लगाउन सकिन्छ । यसो गर्दा बीउ राम्रोसँग उम्रने र बाली एकनासको हुने गर्छ । सामान्यतया किसानले बीउ छरेर र मिश्रित वा अन्तरबाली गर्दा बीउको दुरी मिलाई रोपेर दुई तरिकाले मस्याङ खेती गर्दछन् । बीउ छर्दा प्रति हेक्टर ३० देखि ४० के.जी. र रोपेर लगाउँदा १५-२५ के.जी. प्रति हेक्टर स्वस्थ बीउको आवश्यकता पर्दछ ।

जग्गा तयारी

जग्गाको छनोट 

मस्याङ खेती सुख्खा भिरालो जग्गा र समथर बारीमा गर्न सकिन्छ । यसलाई खेती गर्न मलिलो जग्गा चाहिँदैन । मस्याङ विभिन्न माटोमा खेती गर्न सकिन्छ जस्तै कालो, रातो, पहेंलो तर हल्का मलिलो रातो माटोमा खेती राम्रो हुन्छ । धेरै मलिलो माटो र घाम नलाग्ने ठाउँमा खेती गर्दा बोटको धेरै वृद्धि विकास हुने, झाँगिने र उत्पादन कम हुन्छ ।

खेती प्रणाली 

मस्याङ खेतीमा नेपाली किसानहरुले धेरै अपनाएको मिश्रित र अन्तरबाली प्रणाली हो । अन्तरबाली प्रणालीमा किसानले मकैको बीच बीचमा मस्याङको बीउ रोप्ने गर्दछन् । मस्याङलाई एकल बालीको रुपमा व्यापक खेती नगरीएता पनि हरियो कोसालाई तरकारीको रुपमा खानको लागि घरको करेसा बारी र थोरै जग्गामा भने एकल बालीकै रुपमा पनि खेती गर्ने चलन छ । मध्य र सुदूरपश्चिम क्षेत्रमा किसानले धान खेतको आलीमा सानो दाना भएको मस्याङको जात लगाउने गर्दछन् ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद व्यवस्थान 

मस्याङ खेती आफैमा कोसेबाली समूहको भएको हुनाले प्राय किसानले रसायनिक मल प्रयोग गरेको पाइदैन । मकै बालीमा मस्याङ लगाउँदा मकैलाई प्रयोग गरेको रसायनिक मलले नै मस्याङ बालीलाई वृद्धि विकासमा सहयोग गर्दछ । एकल बाली लगाउँदा रसायनिक मल २०:४०:२० के.जी. नाइट्रोजन, फोसफरस र पोटास प्रति हेक्टर अथवा ५ टन गोबर मल प्रयोग गर्नु पर्दछ । मस्याङ बालीमा साखा हागा र कोसा लागोस भनेर बालीको टुप्पोहरू हटाउने चलन पनि प्रचलित छ । एकल बाली प्रणालीमा हाँगाहरू जमिनमा लत्रने र ढुसीजन्य रोग लाग्ने हुँदा थाक्रा हाल्नु पर्दछ ।

सिँचाई 

मस्याङ बालीले सुख्खा सहन सक्ने हुँदा अन्य कोसेबाली जस्तो सिँचाई गरिराखु पर्दैन । लगाउने बेला बीउ उम्रन सक्ने चिस्यान भएमा बालीको वृद्धि विकास राम्रोसँग हुन्छ । पानी जम्ने वा धरै चिस्यान भएमा जरा कुहिएर मर्ने र सेतो कपासे ढुसी लाग्ने हुन्छ तसर्थ बालीको स्वस्थ विकासको लागि पानी निकासको राम्रो प्रबन्ध मिलाउनु पर्ने हुन्छ ।

झारपात व्यवस्थापन 

मस्याङ बालीमा झारपातको खासै समस्या हुँदैन । एकल बाली लगाएको अवस्थामा अन्य झारपात आएमा २ देखि ३ पटक हातले बाली लगाएको ६ हप्ता र फूल फुल्नु अघि झार निकाल्ने गरेमा बोटको राम्रो विकास हुन्छ । मकैसँग मिश्रित र अन्तरबालीको रुपमा लगाउँदा मकैमा गरिने झारपात व्यवस्थानले मस्याङ बालीलाई सहयोग गर्दछ ।

रोग किरा व्यवस्थापन

सेतो धुले ढुसी (Powdery mildew) 

यो ढुसीबाट लाग्ने रोग हो। २०-३५ डिग्री सेन्टिग्रेड तापक्रम र उच्च सापेक्षित आद्रता भएमा यो रोग लाग्छ । यो रोग लाग्दा सुरुमा सेतो धुलोले पातभरि ढाकेको हुन्छ। विस्तारै पातको रंग पहेंलो र खैरो हुँदै जान्छ र पात बटारिएर सुकेर जान्छ । धेरै रोग लागेको अवस्थामा कोसाहरू लाग्दैन र लागि हाले पनि दाना साना हुन्छन् । यो रोग व्यवस्थापन गर्न बालीलाई अलि ढिलो लगाउने, बाक्लो गरि नलगाउने र कार्बेन्डाजिम ढुसीनासक विषादी १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।

mungbean       mungbean

राइजोकटोनिया डढुवा (Rhizoctonia blight) 

यो ढुसीजन्य रोग हो । रोगको सुरुको अवस्थामा सानो-सानो पानीले भिजेको जस्तो धब्बा बोटको तल्लो भागमा देखिन्छ । सापेक्षित आद्रता बढ्दै गएमा रोग विकास हुदै जान्छ र सम्पूर्ण पात र डाँठमा असर गर्छ र फलस्वरुप कोसाहरू खैरो हुँदै सुक्दै जान्छ । रोगी कोसाहरुमा दानाहरू पुष्ट नहुने र दाना नलाग्ने पनि हुन्छ। रोग व्यवस्थापन गर्न बीउलाई कार्बेन्डाजिम ढुसीनासक विषादी १ ग्राम प्रति के.जी. बीउको दरले उपचार गरि लगाउने, रोगी बोटहरू हटाउने र बाक्लो भएको बोट हटाउनु पर्दछ ।

mungbean   mungbean

सरकोसपोरा लीफ स्पोट (Cercospora leaf spot)

दुसीजन्य सरकोसपोरा लीफ स्पोट रोग लाग्दा पातमा साना साना सुकेका थोप्लाहरू देखा पर्दछ । विस्तारै सुकेका पातहरू झर्दै जान्छ र उत्पादनमा असार गर्छ । रोग व्यवस्थापनको लागि स्वस्थ बीउको प्रयोग नगर्ने, म्यान्कोजेव ढुसीनासक विषादी २.५ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।

mungbean   mungbean

कोसामा लाग्ने गबारो 

कोसामा लाग्ने गबारो धेरैजसो कोसेबालीमा नोक्सान गर्ने कीरा हो । यो कीराको लार्भाले पातलाई दोब्राएर पात खाने, नरम मुनाहरू क्षति गर्ने र अन्तिममा कोसामा प्वाल पारेर दानामा असर गर्दछ । कीरा व्यवस्थापनको लागि पात र कोसामा देखिएका लार्भाहरू हातले टिपेर हटाउने, गर्मीयाममा खेत बारी गहिरो गरि जोत्ने जसले गर्दा सुषुप्त अवस्थामा रहेका प्युपा नष्ट हुन्छन्, निममा आधारित कीटनासक विषादी जस्तै निमारिन २.५ एम.एल प्रति लिटर पानीमा हालेर छर्ने ।

mungbean     mungbean

लाही कीरा 

लाही चुसाहा कीरा भएको हुनाले नरम पात, डाँठ र कोसाबाट रस चुस्ने काम गर्दछ । लाहीले चुसेको भागमा कालो ढुसी मोल्ड विकास हुन्छ जसले गर्दा बोटको वृद्धि विकास कम हुन्छ । लाही कीराको संख्या धेरै भई असर गरेमा पातहरू खुम्चिने, पहेंलो हुने, कोसाहरू पुष्ट नहुने र अन्तिममा बोट नै रोगी भएर ओइलाएको जस्तो देखिन्छ । लाही कीरा व्यवस्थापन गर्न स्थानीय तरिकाले बनाएको झोलमोल १:५, १:१० (झोलमोल र पानीको मात्रा) आधारमा बोटभरि छर्ने, १ लिटर गाईको गहुँतमा ४ लिटर पानी मिसाई एक हप्ताको अन्तरालमा पात र डाँठ भिज्ने गरि छर्ने, निममा आधारित कीटनासक विषादी जस्तै निमारिन २.५ एम.एल प्रति लिटर पानीमा हालेर छर्ने ।

mungbean     mungbean

मस्याङमा लाग्ने गन्दे कीरा 

गन्दे कीराको बच्चा र माउ दुवैले पात, डाँठ र कोसाबाट रस चुसेर नोक्सान गर्दछन् । विस्तारै बोट रोगी जस्तो देखिन्छ । नरम कोसाबाट रस चुसेका कारण कोसाका दानाहरू पुष्ट हुँदैन र खैरो रंगको हुन्छ । रोगी कोसाबाट बनेका बीउहरू खुम्चिएको र उमारशक्ति पनि कम भएको हुन्छ । गन्धे कीरालाई देखासाथ हातले टिपेर हटाउनु पर्छ । निममा आधारित कीटनासक विषादी जस्तै निमारिन २.५ एम.एल. प्रति लिटर पानीमा हालेर छर्ने ।

mungbean

        

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

बाली कटानी 

मस्याङका विभिन्न जात अनुसार १२० दिन देखि १५० दिन सम्म बाली कटानी गर्न सकिन्छ । तराई क्षेत्रमा भन्दा पहाड र मध्य पहाडमा बाली पाक्न केही दिन धेरै लाग्दछ । मकैसँग मिश्रित र अन्तरबाली लगाएका मस्याङका छोटो अवधिका जातहरू मकै तयार हुँदा पाक्छन् भने मध्यम र ढिलो पाक्ने जातहरू ३-४ हप्ता धेरै समय लाग्दछ । मस्याङको कोसा ७५% खैरो रंगमा परिवर्तन भएमा कोसा टिप्ने बेला भयो भन्ने बुझ्नु पर्दछ । मस्याङको कोसा एकै पटक सबै नपाक्ने हुँदा २ देखि ३ पटक टिप्न सकिन्छ । किसानहरुले २-३ पटक कोसा टिप्दा खर्च र समय धेरै लाग्ने हुँदा बोटमा धेरैजसो कोसा खैरो रंगको हुँदा पुरै बोट काटि ३-४ दिन घाममा सुकाएर लौराले चुटेर दाना झार्ने गर्दछन।

 

भण्डारण 

कोसेबाली अन्तर्गत पर्ने सबै बालीमा भण्डारण पूर्व र भण्डारण गर्दा सावधानी नअपनाउँदा रोग र कीराले नोक्सान गर्दछ । मस्याङ बाली भण्डारण गर्नु पूर्व घाममा ३-४ दिनसम्म राम्ररी सुकाएर चिस्यान ९-१०% कायम गरेर भण्डारण गर्नु पर्दछ । खासगरी दालमा लाग्ने खपटे कीरा र ढुसीबाट सुरक्षित राख स्वस्थ बीउ मात्र छानेर राखु पर्दछ। कीराले नोक्सान गरेको बीउलाई एकै ठाउँमा मिसाउनु हुँदैन । राम्ररी नपाकेको बीउलाई अलग्गै राखु पर्दछ र दानाको चिस्यान ९-१०% कायम गरि ओभानो ठाउँमा भण्डारण गर्नु पर्दछ । किसान स्तरमा प्रायः माटोको घैटो, बोरामा राखेर भण्डारण गर्ने चलन छ । जुटको बोरा वा अन्य हावा छिर्ने भाँडामा राख्दा बीउले बाहिरी चिस्यान लिई कीरा र रोगले आक्रमण गर्दछ । तसर्थ बीउको सहि भण्डारण गर्न सुपर ग्रेन ब्याग, मेटल ड्रम वा हावा नछिर्ने माटोको भाँडाहरुमा निम, असुरोको सुकाएको पात, बोझो, टिमुर मिसाएर लामो समय राख सकिन्छ । ३-४ महिनामा एक पटक बीउको अवस्था हेरेर घाममा सुकाएर राखु पर्दछ ।

उत्पादन र उत्पादन क्षमता 

नेपालमा अहिलेसम्म मस्याङको कुनैपनि जात विकास भएको छैन । नेपालको विभिन्न भुगोलमा पाइने मस्याङका स्थानीय जातहरु नै किसानहरुले व्यवसायिक रुपमा नभई खानको हिसाबले खेती गर्दै आइरहेका छन्। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेले विगत ३ वर्ष देखि नेपालमा भएका मस्याङका ९२ ओटा जातहरुको संकलन, वर्गिकरण र अनुसन्धान गरि जात विकास गर्न कार्यक्रम सुरू गरेको छ । किसानले गरेको खेती अनुसार १ देखि १.२ टन प्रति हेक्टर उत्पादन पाइएको छ भने कोसेबाली अनुसन्धान कार्यक्रममा संलग्न १५ ओटा मस्याङको अनुसन्धानबाट (६०९ देखि १७६६ के.जी. प्रति हेक्टर) र औसत उत्पादन १३३२ के.जी. प्रति हेक्टर सम्म पाइएको छ । अनुसन्धानबाट मस्याङका अरू जात जस्तै (सीओ १५६९-२, सीओ १५६४-१, सीओ १५७९-२, सीओ २७६८-२) उत्पादनको हिसाबले राम्रो देखिएको छ ।

अन्य जानकारी

परिकार विविधिकरण

मस्याङ पौष्टिक हिसाबले निकै उपयोगी दलहन बाली हो । यसमा कार्बोहाइड्रेट, प्रोटिन, खरानी, तेल, फाइबर जस्ता महत्वपूर्ण चिजहरू पाइन्छ । मस्याङ दाल, तरकारी, गाईवस्तुको लागि घाँस मात्र नभएर यसबाट बन्ने विभिन्न मूल्य अभिवृद्धिकृत परिकारहरुले गर्दा यसको लोकप्रियता बढ्दो छ । मस्याङबाट बन्ने परिकार जस्तै बटुक, फुलौरा, नमकिनले समुदायमा छुटै विशेष पहिचान बोकेको छ । स्थानीय हाट बजार, होटेल, पसलमा मस्याङबाट बनेका थुप्रै परिकारहरू पाइन्छ जुन आयआर्जनको राम्रो श्रोत हो । मस्याङबाट बन्ने केही परिचित परिकार यस प्रकारका छन् । 
मस्याङको सेल रोटी 
चाहिने सामग्री : मस्याङको पिठो, चामलको पिठो, बेकिंग पाउडर, घ्यू, चिनी 


मस्याङको बिस्कुट 
चाहिने सामग्री : मस्याङको पिठो, मैदा, बटर, चिनी, बेकिंग पाउडर 


मस्याङको बिरम्ला 
चाहिने सामग्री : मस्याङको पिठो, प्याज, अदुवाको पेष्ट, लसुनको पेष्ट, खुर्सानीको धुलो, नुन, घ्यू 


मस्याङको बटुक 
चाहिने सामग्री : मस्याङको पिठो, बेसार, नुन, तेल

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

 लक्ष्मण अर्याल 
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, 
भैरहवा, रुपन्देही

रैथाने बालीहरुको खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र