मुसुरो बालीमा लाग्ने स्टेमफाइलम डढुवा रोग ( Stemphylium blight) को परिचय तथा व्यवस्थापन प्रविधि
नेपालको सन्दर्भमा ओइलाउने रोग, फेद कुहिने रोग, जरा कुहिने रोग तथा स्टेमफाइलम डढुवा जस्ता रोगहरु मुसुरोमा प्रमुख समस्याको रुपमा देखिएको छ । आर्थिक बर्ष २०४९/५० देखि यो रोग नेपालमा भित्रिएको विश्वास गरिन्छ । हाल आएर नेपालको सबै जसो भुभागमा यो रोगको प्रकोप देखा परेको छ ।
यो रोग स्टेफाइलम बोट्रियोसम नामक जीवाणुद्धारा लाग्ने ढुसीजन्य रोग हो । यो रोग बंगलादेश, इजिप्ट, सिरीया तथा अमेरीकामा समेत देखा परेको प्रतिवेदनमा उल्लेख छ । बंगलादेशमा त यो रागले मुसुरोबाली नै सखाप भएको रेर्कड छ । बंगलादेश तथा भारतमा भएको अध्ययन अनुसन्धानबाट यो रोगले झण्डै ६२% सम्म उत्पादनमा ह्रास ल्याउन सक्छ, अझ कोसा लाग्ने बेलामा रागको प्रकोप देखा परेमा सम्पूण बाली नै नष्ट हुन सक्छ ।
यसको आकार:
लारोन (२००२) तथा सूटोन (१९९८) को मतानुसार स्टेमफाइलम डिमाटीएसिएस कोनिडीयोफोस् साधारण खालको वा कहिलेकाही हाङ्गा भएको कोनिडिया देखिन्छ तर यसको हाइफेय् चम्किलो देखि गाढा खैरो रंगको देखिन्छ । कोनिडियाको आकार १२–२०ह१५–३०mm को हुन्छ । स्टेमफाइलम कोलोनिज् विभिन्न मिडियामा उत्पादन गर्न सकिन्छ । आलुको डेक्सट्रोज अगर (Potato dextrose agar)मा २५० सेण्ट्रीग्रेडको तापक्रमा राख्दा ५ दिनमै उत्पादन गर्न सकिन्छ ।
कस्तो अवस्थामा स्टेमफाइलम बाँच्न सक्छन्:
यो रोग विभिन्न हावापानीमा हूने बालीहरुमा जस्तो कि कपास, गोलभेंडा, लसून, आँप, नासपति, तोरी, प्याज, पालक, अल्फाअल्फा, क्लोभरमा अस्थायी आश्रयस्थल बनाई बस्न सक्छन् । त्यसैले यो जीवाणु जस्तो सुकै कठीन परिस्थितिमा पनि सजिलै बाँच्न सक्छन् । यो जीवाणु लामो समयसम्म ठण्डी मौसममा बाँच्न सक्छन् र छोटो अवधिको गर्मी मौसममा असख्य जीवाणु उत्पन्न गर्न सक्छन् । यो रोगले ग्रसित मुसुरोको ठुटाहरु नै रोगको जोरन(inoculums) रहने मुख्य श्रोत हुन् । यसको कोनोडिया मुसुरोको ठुटाबाट कुहिएको मल( plant debris) मा उत्पन्न हुने भएकाले यो रोग फैलनमा यसको महत्वपूर्ण भूमिका रहेको छ । ढुसिका जीवाणुहरु ८ महिनासम्म जीवित रहन सक्ने भएकाले बसन्त ऋतूमा हुने बालीहरुमा सफलतापुर्वक आक्रमण गर्छन् र जीवनचक्र चलाउछन् । यो रोग उत्पन्न हुनमा तथा फैलनमा उपयुक्त हावापानी तथा वातावरणको पनि उतिकै भूमिका रहेको छ ।
१ . तापक्रम
औसत तापक्रम १८–२२ डिग्री सेन्ट्रीग्रेड तथा बिहानको समयमा ८५–९०% सापेक्षिक आद्रता तर दिनको मध्ययान्न समयमा ५० भन्दा बढी सापेक्षिक आद्रता हुन जरुरी छ ।
२ . चिस्यान
यो रोग संक्रमण हुन हावामा ९०% भन्दा बढी सापेक्षिक आद्रता साथै लामो समयसम्म पातहरु ओसिलो हुन जरुरी छ । प्याजमा कम्तीमा १६ घण्टा सम्म संतृप्त(क्बतगचबतभम) वातावरण भएमा रोग उत्पन्न हुन थाल्दछ यदि चिस्यान ७६% छ भने ३२ घण्टा पछि कोनिडिया उम्रन थाल्दछ ।
३ . प्रकाश
मुसुरो बालीमा यो रोगको संक्रमण र विकासको लागी औषतमा ७.७ घण्टा वा त्यो भन्दा कम प्रकाश हुन जरुरी छ ।
रोगको लक्षणहरु
- शुरुमा पातहरु चम्किलो खैरो देखि टान रङ्गको थोप्ला देखिन्छन् र पछि बढ्दै ठुलो आकारको थोप्ला देखिन्छन् र पातको सम्पुर्ण भागमा २/३ दिन भित्र फैलिन्छ ।
- संकमित पात तथा हांगाहरु हल्का (धमिलो) पहेलो (blighted dull yellow)हुदै जान्छन् ।
- केहि दिनमै संक्रमित पातहरु झर्दै जान्छन् ।
- डाँठ तथा हागाहरु तलतिर बागिन्छन्, सुक्दै जान्छन्, बिस्तारै डाँठ हागाहरु खैरो सेतो रङ्गमा परिणत हुन्छ तर संक्रमित कोसाहरु तथा डाँठहरुमा सेतो त्यान्द्राहरु बसेको प्रष्ठरुपमा देखिन्छ ।
रोग नियन्त्रण
१. कृषि जैविक तरीकाबाट
- कम्तीमा ३ बर्षको घुम्ती बाली प्रणाली अपनाउने ।
- स्ट्रेप्टोमाइसेस आधारीत जैविक ढुसीनासक विषादीको बीउ उपचार गर्ने
- बालीको घनत्व कम गर्ने, बीउ दर घटाउने तथा निकासको राम्रो प्रबन्ध मिलाउने
- अत्याधिक मात्रामा युरीया मल प्रयोग नगर्ने
- ९०% कोसा पाकेका बाली काटी हाल्ने
- रोग निरोधक जातहरु लगाउने जस्तै बारी मुसुरो ४, बारी मुसुरो ३, सिमल र स्ट्रेमफाइलम डढुवा नर्सरी परिक्षण बाट रोग सहन सक्ने जातहरु आईएलएल २५७३, आईएलएल १६७२, आईएलएल ८००९, आरएल ३९, आरएल ६९, आरएल ७० आदि ।
- कात्तिक तस्रो हप्ता (२०–२५गते) रोपेको मुसुरोमा यो रोग ज्यादै कम पाईयो भने मंसिर पहिलो हप्तामा रोपेको मुसुरोमा यसको प्रकोप बढी पाईयो ।
- रोगी मुसरोको ठुटाहरु जमिनमुनि गाड्ने वा डढाउने
- एक हार देखि अर्को हारको दूरी ३० से.मी. मा मुसुरो रोपेमा यो रोगको प्रकोप कम देखिएको छ ।
२. रासायनिक तरिकाबाट
- रोग लाग्न सुरु भएपछि ढुसीनासक विषादीहरु रोबरोल (५० डब्लु पी) वा डाइथेन एम ४५(०.२%) २ ग्राम एक लिटरको पानीमा मिसाई ७ दिनको अन्तरालमा ३/४ पटकसम्म छर्ने वा टीन्ट (२५० इ.सी.) ०.०५% का दरले छरेमा यो रोगको नियन्त्रण गर्न सकिन्छ ।
- अरु थुप्रै ढुसिनासक विषादीहरु जस्तै क्लोरोथालोनिल, मेन्कोजेब, डेबुकोनाजोल, प्रोसिमिडोन तथा इप्रोडिन स्ट्रेमफाइलम रोग नियन्त्रण गर्न प्रभावकारी देखिएका छन् ।
- जैविक विषादी बोजो तथा टिम्बुरको प्रयोगबाट पनि यो रोग नियन्त्रण गर्न सकिन्छ ।