परिचय

परिचय

मुसुरो (Lens culinaris Medikus subsp. culinaris) एक डिप्लोइड (२x=२n=१४ क्रोमोजोम) स्वयम सेंचित प्रजाति हो। सामान्यतया, मुसुरोको डाँठ, फूल, पात, बीउको आकार/रंग आदिको गुणात्मक विशेषताहरू रहेका हुन्छन्। मुसुरोको बीउको आकारलाई दुईवटा समूहः म्याक्रोस्पर्मा वा ठूलो दाना र माइक्रोस्पर्मा वा सानो दानाको प्रजातिमा बाँडिएका पाइन्छ । यसको बोट करिब ७५ से.मी. सम्म अग्लो हुन्छ। मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसेबालीको रुपमा रहेको छ । नेपालमा खेती गरिने दलहन बालीहरुमध्ये मुसुरो सबैभन्दा बढी क्षेत्रफलमा खेती गरिने र सबैभन्दा बढी उत्पादन हुने दलहन बाली हो । आ.व. २०७६।७७ को तथ्याङ्क अनुसार नेपालमा मुसुरो बाली २,१२,८७६ हेक्टर जमिनमा खेती भई कूल उत्पादन २,६२,८३५ मे.टन र औसत उत्पादकत्व १.२३ टन प्रति हेक्टर रहेको देखिन्छ । यसले देशको कुल दलहन खेती गरिएको क्षेत्रफल मध्ये ६२.४८ प्रतिशत क्षेत्रफल ओगटेको छ भने कुल दलहन उत्पादनको करिब ६५.०२ प्रतिशत हिस्सा ओगटेको छ । मुसुरोको दाल नेपालको एक प्रमुख निर्यातयोग्य वस्तु हो र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पनि हो । नेपालमा यसको खेती धान अथवा मकैबालीमा आधारित प्रणालीमा गर्ने प्रचलन रहेको छ । रातो दिउला भएको नेपाली मुसुरो खानमा स्वादिलो, अर्गानिक, चाँडै फतक्क पाक्ने, सुपाच्य प्रोटिन तथा प्रशस्त मात्रामा सूक्ष्म पोषकतत्व पाईने भएकोले अन्तर्राष्ट्रिय बजारमा यसको माग चर्को रहेको छ । मुसुरो खेतीनेपालको तराई, भित्री मधेश तथा २००० मी. उचाई सम्मको पहाडमा पनि गर्न सकिन्छ (न्यौपाने तथा श्रेष्ठ, १९९१)। नेपालमा ९५% मुसुरो खेती तराईको समथर भू-भागमा गरिन्छ जहाँ धान पछि मुसुरो छर्ने वेलामा बढी चिस्यान हुनु वा सुख्खा हुनु बाली स्थापनामा समस्याको रुपमा रहेको छ ।

lentil  lentil

महत्व

मुसुरो उत्पादन प्रविधि गर्ने कारणहरु यसप्रकार छन्

  • आयश्रोत बृदि गर्न
    नेपाल विश्व व्यापार संगठन (WTO) मा आवद्ध भए पश्चात अन्तराष्ट्टिय बजारमा पनि मुसुरो बालीको निर्यात हुने ठुलो अवसर तथा सम्भावना देखिएको छ । खासगरी रातो फक्ल्याटो मुसुरोको दाल छिमेकी मुलुकमा व्यापक माग आएको साथै यसको मूल्य बढी देखिएकोले कृषकहरुको उत्साह बढेको देखिन्छ । समग्रमा देशकै लागी राम्रो आयश्रोत बन्ने सम्भावना छ ।
  • पौष्टिक सुरक्षा तथा दिगो भू–व्यवस्थापन गर्न
    मुसुरोको दाल प्रोटिनको राम्रो स्रोत हुनुको साथै मुसुरो लगाउँदा राईजोवियमले उपचारित बीउको प्रयोगले माटोको उर्वरा शक्तिमा दिगोपन ल्याई खेती प्रणालीेमा पनि सुधार आउने हुनाले बाली विविधिकरण ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

 

मानव स्वास्थको लागी मुसुरोको महत्व

  • नेपाली समाजमा प्राय दाल,भात तरकारीको जोहो गर्ने प्रचलन छ ।
  • प्रति १०० ग्राम मुसुरोको दानामा २०.६ ग्राम प्रोटिन, २.१५ ग्राम चिल्लो पर्दाथ, २.८० ग्राम खनिज पर्दाथ, ६.८३ ग्राम कच्चा रेसा तथा ५६.४ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।
  • मुसुरोको कार्बोहाइड्रेटमा न्युन ग्लाईसेमिक अभिसुचक पाईने भएकाले चिनी रोगीहरुलाई लाभ दायक छ ।
  • यसमा पाइने घुलक रेसाहरुले रगतमा कोलेस्ट्रलको मात्र कम गराई मुटुको रोगीहरुलाई जोखिम मुक्त गराउछ ।
  • घुलक रेसाहरुले कब्जियत हुन दिदैन जसले गर्दा पाचन शक्ति राम्रो हुन्छ ।
  • मुसुरोको दालले मुत्रासयमा हुने पथ्थरी फुटाउने हुदा पथ्थरी रोगीलाई फाइदा गर्छ ।

 

कृषि उधोग स्थापना

 कृषि उधोग स्थापना गरी मुसुरोलाई व्यवसायिक रुपमा खेती गर्न सकिन्छ । बीउ उत्पादन उधोगबाट गुणस्तरीय बीउ उत्पादन गर्न सकिन्छ साथै उधोगको स्थापनाबाट बजार भाउ घटबढको समस्याबाट समेत छुटकारा पाइन्छ ।

जातहरु

हालसम्म सिफारिस भएका उन्नत जातहरु

हालसम्म सिफारिस भएका उन्नत जातहरु

जात

पाक्ने दिन

उत्पादन क्षमता (मे.टन प्रति हे.)

सिन्दुर

१४८

१.५

सिम्रिक

१४३

१.५

सिमल

१४३

४.१

शिशिर

१५०

२.०

शिखर

१४३

३.५

खजुरा मुसुरो १

१२५

१.२

खजुरा मुसुरो २

१३०

१.२

शीतल

१३४

१.५

 

कुन जात कहाँ लगाउने
  • तराई/भित्री मधेश, मध्य पहाड :

           सिमल, सिखर, सिम्रीक, सिसिर तथा सितल

  • मध्य तथा सुदुर पश्चिम तराई :

            खजुरा मुसुरो १, खजुरा मुसुरो २

आवश्यकता

हावापनी र माटो 

मुसुरो नेपालमा हिउँदे बालीको रुपमा खेती गरिन्छ । यो बालीले धेरै हदसम्म तुषारो तथा अत्याधिक चिसो हावापानी सहन गर्न सक्छ र यसलाई समुन्द्र सतहबाट ३ हजार मिटरको उचाइसम्म सफलतापूर्वक खेती गर्न सकिन्छ । मुसुरो खेतीका लागि १५-२५० सेन्टिग्रेड तापक्रम र माटोको पि.एच. ५.५ देखि ७.० सम्म भएको बलौटे दोमट वा दोमट माटो उपयुक्त मानिन्छ भने यसको वनस्पति वृद्धिको समयमा चिसो तापक्रम र परिपक्वताको समयमा तातो तापक्रम चाहिन्छ ।

सिंचाई

 मुसुरो बालीमा आवश्यक भएमा एक वा दुई सिंचाई दिन सकिन्छ ।

कृषि इन्पुट

बीउको मात्रा र उपचार

बीउको मात्रा

 मुसुरोको बीउ एकल बालीको लागी ३० के.जी. तथा धानभित्र घुसुबा बालीको लागी ४० के.जी. प्रति आवश्यक पर्दछ । त्यसर्थ १ देखि १.३ के.जी. प्रति कट्ठाको दरले छर्नुपर्दछ ।

बीउको उपचार

ओइलाउने रोगबाट बचाउनको लागी वेभिष्टिन २ ग्राम प्रति के.जी. मुसुरोको बीउमा राम्ररी मिलाउनु पर्दछ । त्यसपश्चात् राइजोवियम कल्चरबाट उपचार गर्नु छ भने ढुसीनाशक विषादीद्धारा बीउ उपचार र ५–७ दिन अघि नै गरी सक्नुपर्दछ ।

 

   राइजोवियमद्धारा बीउ उपचार गर्ने तरीका
  • एक प्याकेट राईजोवियम (२०० ग्राम) प्रति १० के.जी. बीउलाई पर्याप्त हुन्छ । यसको लागी ५० ग्राम गुड वा चिनी आधा लिटर पानीमा घोली उमाल्नु पर्दछ ।
  • उमालेको पानी चिसो भएपछि एक प्याकेट राइजोवियम कल्चर मिसाइ दिनुपर्दछ ।
  • बाल्टीमा १० के.जी. बीउ राखी राम्रोसँग मिलाउनु पर्छ ताकि सबै बीउमा राईजोवियम कल्चर टाँसियोस् ।
  • उपचार गरेको बीउ ८ देखी १० घण्टासम्म छायाँमा सुक्न दिने र बीउ उपचार सकभर साँझपख गर्ने ताकि बीउ अर्को दिन छर्न सकियोस् ।

जग्गा तयारी

मुसुरो लगाउने स्थान र छर्ने समय
  • तराई/भित्री मधेशः कार्तिक पहिलो हप्ता देखि मंसिरको दोश्रो हप्ता सम्म (तर मध्य पश्चिम तराईमा छर्ने समयमा चिस्यानको समस्या हुने र फाल्गुण महिनामा तापक्रम बढ्ने भएकोले जबरजस्ती पाक्ने समस्या हुने भएकोले कार्तिक मसान्त सम्ममा छरी सक्नु पर्दछ) (अक्टोबरको अन्तिम हप्ता देखि नोभेम्बर १-१५ सम्म)। 
  • मध्य पहाडीः असोजको दोस्रो हप्ता देखि कार्तिकको दोस्रो हप्ता (सेप्टेम्बर अन्तिम हप्ता देखि अक्टोवर अन्तिम हप्ता)।
रोप्ने दूरी

एक बोटदेखि अर्को बोटको दूरी ५ से.मी. र एक लाइनदेखि अर्को लाइनको दूरी २५ से.मी. राख्नुपर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

जमिन मलिलो छ वा प्रशस्त गोठेमल वा कम्पोष्ट मल प्रयोग गरेमा कुनै मलको आवश्यकता पर्दैन तर साधारणतया मुसुरो बालीका लागि २०:४०:२० ना.फ.पो. के.जी. प्रति हे. दरले मल सिफारिस गरिएको छ । जमिन तयार गर्ने क्रममा छर्नु भन्दा १०-१५ दिन अघि ४ मे.टन गोठेमल वा कम्पोष्ट मल र छर्ने समयमा ९.४५ के.जी. युरिया, डी.ए.पी ८६.९५ के.जी. र म्युरेट अफ पोटास ३३.३३ के.जी. प्रति हेक्टरको दरले मिसाउनु पर्दछ। सुक्ष्म खाद्यतत्व कमी खासगरीकन बोरोन तत्त्व कमी भएको जग्गामा १ देखि २.५ के.जी. बोरेक्स प्रति हे. अन्तिम जग्गा तयारीको अवस्थामा माटोमा प्रयोग गर्ने वा ०.२५ के.जी. बोरेक्स प्रति हे. को दरले बोटमा छर्न सकिन्छ ।

झारपात नियन्त्रण

 मुसुरो रोपेपछि ३ दिनभित्र (७५ घण्टाभित्र) झारनाशक विषादी पेण्डीमेथालिन (३० इ.सी.) ३.३ लिटर प्रति हेक्टरको दरले छर्नुपर्दछ । छरेको २५ देखि ३० दिनपछि झारपातहरुको संख्या हेरि एक पटक गोडमेल गर्नुपर्दछ ।

 

अन्तरबाली प्रणाली
  • मुसुरो तोरीसँग मिश्रित गरिएको छ भने ३० के.जी. मुसुरो २ के.जी. तोरी प्रति हेक्टर मिसाएर छर्ने ।
  • लाइनमा लगाउनु परेमा १ लाइन मुसुरो १ लाइन तोरीको दरले गराउने ।

           

 

घुसुवा बाली प्रणाली
  • धानबाली पाकेपछि धान काट्नुभन्दा १० देखि १५ दिन अगावै मुसुरो घुसुवा बालीको रुपमा छर्ने ।
  • यसको लागी जमीनमा टेक्दा पाइला नगड्ने तर डोब देखिने भएमा छर्ने बेला उपयुत्त भयो भन्ने जानुपर्दछ ।
बेजाते बोटहरुको नियन्त्रण 

हामीले लगाएको बीउ बालीमा उही जातका अग्ला, होचा बोट, अर्को जातको बोट, रोगी बोट, कमजोर बोट, भिन्न प्रकारका फूलहरु वा चाँडै पाक्ने, ढिलो पाक्ने बोटहरु देखापरेमा समयमै हटाउनु पर्छ ।

बाली अवलोकन 

बीउ विजन प्रयोगशालाका अधिकृत वा तालिम प्राप्त अधिकारीक व्यक्ति वा जिल्ला कृषि विकास कार्यलय/कृषि ज्ञान केन्द्रका बाली विज्ञलाई कम्तीमा दुईपटक मुसुरो फूल फूलेपछि बीउ वृद्धि प्लटमा लगी अवलोकन गराउनु पर्दछ । अवलोकन गराउनु अगाडि खेतबारीलाई सफा राखे, मुसुरोका अन्य नराम्रा बोटहरु भए निकालेर हटाउनु पर्दछ जसले गर्दा बीउ निरीक्षण गर्न आउने विज्ञको समय बचत हुनुको साथै बीउको गुणस्तर नराम्रो भनि विज्ञले नकार्ने सम्भावना समेत कम हुन्छ । 
 

रोग किरा व्यवस्थापन

मुसुरोको प्रमुख कीराहरु र तिनको व्यवस्थापन

मुसुरोको प्रमुख कीराहरु र तिनको व्यवस्थापन

मुसुरोमा विभिन्न प्रकारका कीराहरुले आक्रमण गरेको पाइन्छ । आर्थिक दृष्टिले कम महत्वपूर्ण कीराहरुमा पात खन्ने कीरा, फट्याङ्ग्रा, जुका जस्तो लाभ्रे, चूसाहा कीरा (लाइगस र स्टीङ्ग), लिमा सिमीमा लाग्ने गवारो, केराउमा लाग्ने पुतली र फौजी कीरा आदी पर्दछन् । भण्डारणमा लाग्ने प्रमुख कीराहरुमा दलहनका खपटेहरु पर्दछन् । मुसुरोमा किराहरुको खासै प्रकोप नदेखिएता पनि कहिलेकाहिं पौष मध्यदेखि माघ महिनामा तापक्रम सामान्य भन्दा अलि बढेमा लाही (एफिड) कीरा र फेद कटुवाको प्रकोप हालका वर्षहरुमा ज्यादै बढी भएको पाइएको छ ।

१. फेद काट्ने कीरा

यसको लाभ्राले मुसुरोको विरुवालाई जमीनको सतह वा सो भन्दा मुनिबाट काट्दछन् र कहिलेकाहिं काटेको जमीनमुनी लगेर थुर्पाछन् । धेरैजसो काटेको बोटलाई नखाई लाभ्राले अन्य विरुवालाई काटी नोक्सान पुर्याउँछन् । केहि फेद कटुवाको प्रजातीले जमीनको सतहमुनि जानु अघिनै माथिल्लो पातहरु खाई नोक्सान पुर्याउँछन् ।

२. लाही कीरा

यसले मुसुरोको पात, डाँठ र कोसामा आक्रमण गर्छ । यसले विरुवाको पात र बढ्ने भागमा आक्रमण गर्ने हुँदा विरुवाको वृद्घि रोकिन्छ । यसले विरुवाको कोशिका र तन्तुहरुबाट रस चुसेर लिन्छ । यदि शुरुको अवस्थामा प्रकोप बढी भएमा विरुवाहरु मर्न सक्छन् र मुसुराको उत्पादनमा धेरै कमी आउँछ । लाही कीराले धेरै प्रकारका भाइरस रोगहरु पनि सार्दछन् । पौष मध्यदेखि माघ महिनामा तापक्रम अलि बढेको खण्डमा यो कीराको प्रकोप बढेको पाइन्छ ।

३. खैरो घुन

यसको वयस्कले मुसुरो पात साधारणतया किरानाबाट खान्छ र पात छेउबाट च्यातिएको जस्तो देखिन्छ । यिनका लाभ्राले विरुवाको जरा खाएर हुर्कन्छन् ।

४. सिटोना घुन  

यसको लाभ्राले मुसुरोको जराको गाँठामा आक्रमण गर्छ जसले गर्दा नाइट्रोजन स्थरीकरण प्रक्रियामा ह्रास आई पुरै बालीनै नाइट्रोजनको कमीले हुने लक्षणजस्तो गरी पहेँलीन जान्छ । ठुलो लाभ्राले विशेषगरी मुसुरोको पात खाई नोक्सान पुर्याउँछन् ।

५. भण्डारणमा लाग्ने प्रमुख कीरा दलहनका खपटेहरु

यस अन्तर्गतका क्यालोसोब्रूकस प्रजातीको खपटेहरु भण्डारण गरेर राखको बीउ मात्र लाग्दछ । यिनले आक्रमण गरेको मुसुरोको दानामा सेतो फूलहरु टाँसिएको देखिन्छ जुन पछि गएर ठूलो प्वालमा परिणत हुन्छ ।

६. भुसुना

यसले मुसुराको पात, डाँठ र कोसामा आक्रमण गर्दछन् । यिनीहरुले बिरुवाको पातमा प्वाल पारी रस चुसेर लिन्छन् । भुसुना बढि लागेको विरुवाको पात, कोपिला र फूलहरु झर्दछन् ।

७. कोसे गवारो

यसको सानो लाभ्राले पातको सतह कोतरेर खान्छ भने ठुलो लाभ्राले पात, फूल र बिशेषगरी हरियो कोसामा प्वाल पारी मुसुरोको दाना खाइ नोक्सान पुर्याउँछन् ।

 

स्टेमफाइलम डढुवा रोग ( Stemphylium blight)

मुसुरो बालीमा लाग्ने स्टेमफाइलम डढुवा रोग ( Stemphylium blight) को परिचय तथा व्यवस्थापन प्रविधि

नेपालको सन्दर्भमा ओइलाउने रोग, फेद कुहिने रोग, जरा कुहिने रोग तथा स्टेमफाइलम डढुवा जस्ता रोगहरु मुसुरोमा प्रमुख समस्याको रुपमा देखिएको छ । आर्थिक बर्ष २०४९/५० देखि यो रोग नेपालमा भित्रिएको विश्वास गरिन्छ । हाल आएर नेपालको सबै जसो भुभागमा यो रोगको प्रकोप देखा परेको छ ।

यो रोग स्टेफाइलम बोट्रियोसम नामक जीवाणुद्धारा लाग्ने ढुसीजन्य रोग हो । यो रोग बंगलादेश, इजिप्ट, सिरीया तथा अमेरीकामा समेत देखा परेको प्रतिवेदनमा उल्लेख छ । बंगलादेशमा त यो रागले मुसुरोबाली नै सखाप भएको रेर्कड छ । बंगलादेश तथा भारतमा भएको अध्ययन अनुसन्धानबाट यो रोगले झण्डै ६२% सम्म उत्पादनमा ह्रास ल्याउन सक्छ, अझ कोसा लाग्ने बेलामा रागको प्रकोप देखा परेमा सम्पूण बाली नै नष्ट हुन सक्छ ।

यसको आकार:

लारोन (२००२) तथा सूटोन (१९९८) को मतानुसार स्टेमफाइलम डिमाटीएसिएस कोनिडीयोफोस् साधारण खालको वा कहिलेकाही हाङ्गा भएको कोनिडिया देखिन्छ तर यसको हाइफेय् चम्किलो देखि गाढा खैरो रंगको देखिन्छ । कोनिडियाको आकार १२–२०ह१५–३०mm को हुन्छ । स्टेमफाइलम कोलोनिज् विभिन्न मिडियामा उत्पादन गर्न सकिन्छ । आलुको डेक्सट्रोज अगर (Potato dextrose agar)मा २५० सेण्ट्रीग्रेडको तापक्रमा राख्दा ५ दिनमै उत्पादन गर्न सकिन्छ ।

कस्तो अवस्थामा स्टेमफाइलम  बाँच्न सक्छन्:

यो रोग विभिन्न हावापानीमा हूने बालीहरुमा जस्तो कि कपास, गोलभेंडा, लसून, आँप, नासपति, तोरी, प्याज, पालक, अल्फाअल्फा, क्लोभरमा अस्थायी आश्रयस्थल बनाई बस्न सक्छन् । त्यसैले यो जीवाणु जस्तो सुकै कठीन परिस्थितिमा पनि सजिलै बाँच्न सक्छन् । यो जीवाणु लामो समयसम्म ठण्डी मौसममा बाँच्न सक्छन् र छोटो अवधिको गर्मी मौसममा असख्य जीवाणु उत्पन्न गर्न सक्छन् । यो रोगले ग्रसित मुसुरोको ठुटाहरु नै रोगको जोरन(inoculums) रहने मुख्य श्रोत हुन् । यसको कोनोडिया मुसुरोको ठुटाबाट कुहिएको मल( plant debris) मा उत्पन्न हुने भएकाले यो रोग फैलनमा यसको महत्वपूर्ण भूमिका रहेको छ । ढुसिका जीवाणुहरु ८ महिनासम्म जीवित रहन सक्ने भएकाले बसन्त ऋतूमा हुने बालीहरुमा सफलतापुर्वक आक्रमण गर्छन् र जीवनचक्र चलाउछन् । यो रोग उत्पन्न हुनमा तथा फैलनमा उपयुक्त हावापानी तथा वातावरणको पनि उतिकै भूमिका रहेको छ ।

१ . तापक्रम

औसत तापक्रम १८–२२ डिग्री सेन्ट्रीग्रेड तथा बिहानको समयमा ८५–९०% सापेक्षिक आद्रता तर दिनको मध्ययान्न समयमा ५० भन्दा बढी सापेक्षिक आद्रता हुन जरुरी छ ।

२ . चिस्यान

यो रोग संक्रमण हुन हावामा ९०% भन्दा बढी सापेक्षिक आद्रता साथै लामो समयसम्म पातहरु ओसिलो हुन जरुरी छ । प्याजमा कम्तीमा १६ घण्टा सम्म संतृप्त(क्बतगचबतभम) वातावरण भएमा रोग उत्पन्न हुन थाल्दछ यदि चिस्यान ७६% छ भने ३२ घण्टा पछि कोनिडिया उम्रन थाल्दछ ।

३ . प्रकाश

मुसुरो बालीमा यो रोगको संक्रमण र विकासको लागी औषतमा ७.७ घण्टा वा त्यो भन्दा कम प्रकाश हुन जरुरी छ ।

रोगको लक्षणहरु

  • शुरुमा पातहरु चम्किलो खैरो देखि टान रङ्गको थोप्ला देखिन्छन् र पछि बढ्दै ठुलो आकारको थोप्ला देखिन्छन् र पातको सम्पुर्ण भागमा २/३ दिन भित्र फैलिन्छ ।
  • संकमित पात तथा हांगाहरु हल्का (धमिलो) पहेलो (blighted dull yellow)हुदै जान्छन् ।
  • केहि दिनमै संक्रमित पातहरु झर्दै जान्छन् ।
  • डाँठ तथा हागाहरु तलतिर बागिन्छन्, सुक्दै जान्छन्, बिस्तारै डाँठ हागाहरु खैरो सेतो रङ्गमा परिणत हुन्छ तर संक्रमित कोसाहरु तथा डाँठहरुमा सेतो त्यान्द्राहरु बसेको प्रष्ठरुपमा देखिन्छ ।

 

रोग नियन्त्रण

१. कृषि जैविक तरीकाबाट

  • कम्तीमा ३ बर्षको घुम्ती बाली प्रणाली अपनाउने ।
  • स्ट्रेप्टोमाइसेस आधारीत जैविक ढुसीनासक विषादीको बीउ उपचार गर्ने
  • बालीको घनत्व कम गर्ने, बीउ दर घटाउने तथा निकासको राम्रो प्रबन्ध मिलाउने
  • अत्याधिक मात्रामा युरीया मल प्रयोग नगर्ने
  • ९०% कोसा पाकेका बाली काटी हाल्ने
  • रोग निरोधक जातहरु लगाउने जस्तै बारी मुसुरो ४, बारी मुसुरो ३, सिमल र स्ट्रेमफाइलम डढुवा नर्सरी परिक्षण बाट रोग सहन सक्ने जातहरु आईएलएल २५७३, आईएलएल १६७२, आईएलएल ८००९, आरएल ३९, आरएल ६९, आरएल ७० आदि ।
  • कात्तिक तस्रो हप्ता (२०–२५गते) रोपेको मुसुरोमा यो रोग ज्यादै कम पाईयो भने मंसिर पहिलो हप्तामा रोपेको मुसुरोमा यसको प्रकोप बढी पाईयो ।
  • रोगी मुसरोको ठुटाहरु जमिनमुनि गाड्ने वा डढाउने
  • एक हार देखि अर्को हारको दूरी ३० से.मी. मा मुसुरो रोपेमा यो रोगको प्रकोप कम देखिएको छ ।

 

२. रासायनिक तरिकाबाट

  • रोग लाग्न सुरु भएपछि ढुसीनासक विषादीहरु रोबरोल (५० डब्लु पी) वा डाइथेन एम ४५(०.२%) २ ग्राम एक लिटरको पानीमा मिसाई ७ दिनको अन्तरालमा ३/४ पटकसम्म छर्ने वा टीन्ट (२५० इ.सी.) ०.०५% का दरले छरेमा यो रोगको नियन्त्रण गर्न सकिन्छ ।
  • अरु थुप्रै ढुसिनासक विषादीहरु जस्तै क्लोरोथालोनिल, मेन्कोजेब, डेबुकोनाजोल, प्रोसिमिडोन तथा इप्रोडिन स्ट्रेमफाइलम रोग नियन्त्रण गर्न प्रभावकारी देखिएका छन् ।
  • जैविक विषादी बोजो तथा टिम्बुरको प्रयोगबाट पनि यो रोग नियन्त्रण गर्न सकिन्छ ।
एकीकृत व्यवस्थापन विधि

फेद काट्ने किरा

  • यसबाट बच्नको लागी जग्गाको अन्तिम तयारीमा मालाथिएनको धुलो ५% ७०० ग्राम प्रति कठ्ठा वा १ के.जी. को दरले प्रयोग गर्नु पर्दछ । यसलाई विषयुक्त चारो छरेर पनि नियन्त्रण गर्न सकिन्छ । उक्त चारो गहुंको भुस, कपास अथवा बदामको पिना, ट्राइक्लोफन अथवा कार्वाराइल झोल पानीमा मिसाइ तयार गरिन्छ र सांझपख १० के.जी. प्रति हेक्टरको दरले छर्न सकिन्छ ।
  • फेदकटुवाले फुल पार्नको लागी झारपात युक्त खेत मन पराउने हुनाले झारपातको नियन्त्रण गरेर पनि यसको प्रकोप घटाउन सकिन्छ ।
  • खेतबारीमा मुसुरोका बिरुवा बराबर हेरिरहनु पर्छ । फेद काट्ने कीराले काटेको बोटहरु ओइलाएका देखिन्छन् । काटेको बिरुवाको जरा नजिक माटोमा कोट्याएर लाभ्राहरु नष्ठ गर्न सकिन्छ । 
  • यो कीरा बढी भएको खेतबारीमा ठाउँ ठाउँमा हरियो अथवा सुकको झारको थप्रो बेलुका राखिदिनाले राति बिरुवा खाएपछि, उज्यालो हुने बेलामा यिनीहरु उक्त थुप्रोमा अँध्यारो खोज्दै जान्छन् । बिहान सो झार पल्टाएर त्यसमा लुकेका लाभ्राहरु नष्ट गर्न सकिन्छ ।
  • कीराको प्रकोप बढी भएमा साइपरमेथ्रिन (१० % इ.सी.) प्रयोग गर्न सकिन्छ ।

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

बाली कटानी र उत्पदानोपरान्त कार्यहरु

फसल काट्ने

 जब ८० % फलहरु पाक्छ तब बाली काटी दाई गर्नुपर्दछ ।

सफाई

मुसुरोमा रहेका अखाध वस्तुहरु, मल, माटोका कणहरु, झारपात आदिलाई पानीले धोई पखाली घाममा सुकाउनु पर्दछ ।

प्याकिङ्ग

 प्याकिंगको लागी प्लाष्टिक वा सुतरीको बोराको प्रयोग गर्न सकिन्छ ।

ढुवानी तथा बजार व्यवस्थापन

यसको खपत तराई तथा पहाडी बजारमा बिस्तार भएको छ ।

 

पोष्टहार्भेस्ट प्रविधि (प्रसोधन तथा प्याकेजिङ प्राक्टिस)

 पोष्टहार्भेस्ट गुणस्तर कायम राख्न तथा नोक्सानी कम गर्ने उपायहरु

  • बर्षायाममा उचित खनजोत गर्ने,
  • शुद्ध तथा प्रमाणित बीउको प्रयोग गर्ने,
  • ढुसीनासक विषादीबाट बीउ उपचार गर्ने,
  • उपयुक्त जातहरु छनोट गरी उपयुक्त क्षेत्रमा उपयुक्त समयमा बीउ छर्ने,
  • मुसुरोसँग तोरी वा आलससँग मिश्रित खेतीबाली प्रणाली अपनाउने,
  • प्रतिकुल मौसमबाट बचाउने,
  • बाली चक्र अपनाउने,
  • रोग कीरा व्यवस्थापन गर्ने,
  • बाली काटिसकेपछि अवशेष नष्ट गर्ने,
  • फल पाक्ने र काट्ने अवस्थाको ख्याल गर्ने,
  • उपयुक्त तरिकाले प्याकिंग गर्ने,
  • ढुवानी गर्दा क्षति हुनबाट बचाउने,
  • भण्डारको उपयुक्त व्यवस्था मिलाउने,
  • उचित व्यवस्थामा बिक्रि वितरण गर्ने,
मुसुरो बाली भण्डारण गर्नु पुर्व ध्यान पुऱ्याउनु पर्ने कुराहरु 

 मुसुरोबाली लाई राम्ररी सुकाएर ९% चिस्यानमा भण्डारण गर्नुपर्छ । 
५ देखि १० डिग्री से. तापक्रममा अन्न भण्डारण गरेमा कीरा ढुसी बाट सुरक्षित राख सकिन्छ । 
बीउ भण्डारण गर्दा गारो वा भुईंको चिसोबाट बचाउन जमिनको सतहबाट ४ इन्च उठाई प्लेकमा राखु पर्छ । 
नयाँ बीउलाई पुरानो बीउसँग नमिसाउने । 
भण्डारण गर्नु अघि भण्डारण कोठा सफा राखु पर्छ । 
भण्डारण गर्नु अघि मालाथायन ५० इ.सी. को ५ प्रतिशतको झोल बनाई स्प्रे गर्ने । 
विषादी छरेको भाँडा ओभानो भएपछि मात्र बीउ भण्डारण गर्ने । 
सेल्फस, क्विकफस मध्ये कुनै एउटा विषादी २ गोली प्रति मे.टन दलहन बालीको बीउमा राखे ।

अन्य जानकारी

कृषि मुसुरो उपक्षेत्र विकासका लागी उपकरण तथा मेसिनरी

 व्यवसायिक मुसुरो उत्पादनको निमित्त विभिन्न उपकरण तथा औजारहरुको आवश्यकता पर्दछ । यसको खेतीका निम्ति विभिन्न घरेलु तथा आधुनिक उपकरण प्रयोग गरिन्छ । विभिन्न आधुनिक औजार तथा उपकरणको प्रयोगले कृषि आधुनिकरण परियोजनामा टेवा पुर्यांउन मद्घत गर्दछ र मुसुरो खेतीलाई व्यवसायिकरण गर्न धेरै मद्घत पुर्याउछ । ती विभिन्न औजार तथा उपकरणहरु यसप्रकार छन् :

१. ट्याक्टर वा हलो

२. स्प्रेयर

३. फिल्ड कल्टिभेटर

४. सिड हार्भेस्ट मेशिन वा कम्बाइन हार्भेस्टर

५. हँसिया

 

खर्च र आम्दानी

खर्च र आम्दानी

धान काटेपछि एकल बालीको रुपमा मुसुरो लगाउँदा,  खर्च प्रति हेक्टर रु. १२०००.०० र चोखो मुनाफा  रु. १८०००.०० देखि २००००.०० हुन्छ | त्यस्तै बिना खनजोत घाँसपात नभएको जग्गामा घुसुवा बालीको रुपमा लगाउँदा चोखो मुनाफ  रु. २५०००.०० लिन सकिन्छ ।

प्रति हेक्टर मुसुरो उत्पादन एकल बालीको रुपमा लाग्ने खर्च

कामहरु                         

            खर्च (रु.)

जग्गा तयारी      

२५००

बीउ     

२०००

मल      

२०००

गोडमेल तथा झारपात नियन्त्रण           

१०००

सिँचाई  

१५००

बाली लिने         

१०००

बाली संरक्षण     

१०००

अन्य     

१०००

जम्मा   

१२०००

मुसुरो खेतीबाट प्रति हेक्टर हुने आम्दानी = रु.३२०००
    प्रति हेक्टर हुने खर्च     = रु.१२०००
    आम्दानी/खर्च = २.६७

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

- डा. राजेन्द्र दराई 
संयोजक तथा बरिष्ठ वैज्ञानिक (एस ४) कोसेवाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके

दलहन बाली खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र