परिचय

परिचय

राजमा (Phaseolus vulgaris L.) एक महत्वपूर्ण दलहन बाली हो । राजमा बाली २n=२x=२२ क्रोमोजोम तथा जीनोम साइज ५७६ एमवीपि भएको द्विगुणित दलहन प्रजाति हो। वि.सं. २०७२-७३ मा राजमा ३००९ हेक्टर क्षेत्रफलमा खेती भई औसत उत्पादकत्व १६६० के.जी. प्रति हेक्टर रहेको छ (कृषि विकास मन्त्रालय, २०७३।। हाल यसको खेती क्रमिक रुपमा बढ्दै गएको पाईन्छ । राजमा सिमि, फ्रेन्च बिन, फ्यासीओलस बिनका नामले समेत चिनिने राजमा बालीलाई हिउँदे तथा वर्षे सिजनमा खेती गर्न सकिन्छ । नेपालमा यसको खेती उच्च पहाडमा बर्षे बालीको रुपमा गरिन्छ भने तराई तथा भित्री मधेशमा हिउँदे बालीको रुपमा गरिंदै आएको छ । एकैचोटी पाक्ने प्रयोजनका लागि राजमालाई विशेषगरी तराईमा हिउँदमा लगाइन्छ भने क्रमश पाक्दै जाने र पटक पटक टिप्दै जाने प्रकृतिका लागि यसलाई मध्य तथा उच्च पहाडमा बर्षे याममा लगाउने गरिन्छ । हाल यसलाई नगदे बालीको रुपमा समेत खेती गरिएको पाईन्छ । यसको महत्वको बारेमा भन्नु पर्दा विवाह, भोज, भतेर लगायतका हरेक उत्सवमा राजमाले विशेष महत्व ओगटेको छ भने यो स्वास्थ्यको लागि हितकर पनि छ । निकै फाइदामुलक र बिक्रि गर्न सहज बाली भएको हुँदा यसको क्षेत्रफल बढ्दो क्रममा छ ।

rajma  beans

महत्त्व 

राजमामा विभिन्न पैष्टिक तत्वहरु पाइन्छ । राजमाको पी.डी.आर.-१४ जातमा २३ प्रतिशत प्रोटिन, ४.२५ प्रतिशत खनिज पर्दाथ र प्रत्येक १०० ग्राम खाने दानामा प्रोटिन १७ ग्राम, क्याल्सियम ५० मि.ग्राम, फस्फोरस २५ मि. ग्राम, फलाम १.७ मि.ग्राम, केरोटिन १३२ मि.ग्राम, भिटामिन ०.००८ मि.ग्राम, रिवोफलामिन ०.०६ मि. ग्राम र भिटामिन सि २४ मि. ग्राम पाइन्छ । हरियो कोसाको रेशामा सायोनोजिक ग्लुकोसाईड न्युन मात्रामा पाईन्छ जसले व्लड सुगरको मात्रा कम गराउँछ । यो जुम्ला तथा आसपासका जिल्लाहरु मुगु, कालिकोट र मुस्ताङ्गमा नगदे बालीको रुपमा लगाइन्छ । यी भेगमा विभिन्न फरक फरक रंगका बोक्रा र आकार भएका प्रजातिका राजमाको बीउ उत्पादन गरी बिक्रि गरिन्छ । चितवन, नवलपरासी, कपिलवस्तु, मकवानपुर, रुपन्देही, दांग, बांके, बर्दिया, सुर्खेत जिल्लाहरुमा पी.डी.आर. १४ र हेटौडे अनुजातको राजमा धान तथा मकैमा आधारित बाली प्रणालीमा प्रचलित छन् ।

जातहरु

उन्नत जातको छनौट

हालसम्म नेपालमा राजमाको कुनैपनि जात सिफारिस नगरिएपनि कोसेबाली अनुसन्धान कार्यक्रमले  गरेको परीक्षण अनुसन्धान र कृषकको खेतबारीमा गरिएको अध्ययन बाट बढि उत्पादन दिने रोग तथा कीराको प्रकोप कम हुने र खानमा स्वादिलो भएका उदय (पि.डि.आर–१४) नामक अनुजात तराइ देखि उच्च पहाड सम्म लगाउन उपयुक्त मानिएको छ र १२५—१३० दिनमा पाक्दछ । साथै भि. एल्. जात पहाडी क्षेत्रमा वर्षा याममा खेती गर्न उपयुक्त मानिन्छ र ११५—१२० दिनमा बाली तयार हुन्छ ।

आवश्यकता

हावापानी तथा माटो

राजमाको खेती तराईमा हिउँदे बाली र मध्य देखि उच्च पहाडमा वर्षे बालीको रुपमा गरिन्छ । यसको खेतीका लागि १५-२५० सेन्टिग्रेट तापक्रम र माटोको पि.एच. ५.५ देखि ७.० सम्म भएको बलौटे दोमट वा दोमट माटो उपयुक्त मानिन्छ । यो बालीको लागि पानी नजम्ने र निकासको प्रबन्ध राम्रो भएको जग्गा हुनुपर्दछ ।

सिंचाई 

तराईमा राजमाको लागि २ देखि ३ पटक सम्म २५ देखि ३० दिनको फरकमा सिंचाई गर्नु पर्दछ भने मध्य तथा उच्च पहाडमा यो बाली वर्षा मौसममा गरिने हुँदा सिंचाई आवश्यकता नपर्ने बरु पानीको निकास राम्रोसँग गर्नुपर्दछ ।

कृषि इन्पुट

बीउ दर र उपचार

राजमा खेतीको लागि बीउ छनौट गर्दा  दानाको आकार पुस्ट भएको र उमारशक्ति ८५५ भन्दा माथि भएको बिउ लाई छनौट गर्नुपर्दछ । साना दाना भएको बिउ ३ किलोग्राम, मध्यम दाना ४.५ किलोग्राम र ठुलो दाना ६ किलोग्राम प्रति रोपनीका दरले सिफारिस गरिएको छ । प्रति हेक्टर ७५ के.जी. बीउ आवश्यक पर्दछ । २.५ के.जी. प्रति कट्ठा तथा ५० के.जी. प्रति बिगाको दरले बीउ आवश्यक पर्दछ ।

बीउ उपचार

बीउबाट सर्ने ढुसिजन्य रोग नियन्त्रणको लागि थिराम (thiram) वा बेभिस्टीन पानीमा मिसिने धुलो मध्ये कुनै एक २ ग्राम प्रति किलोग्राम बीउका दरले बीउमा राम्ररी मोलेर बीउ उपचार गर्नुपर्दछ । वा २५ ग्राम वेभिष्टिन ५० मि.लि. पानीमा घोली १०० के.जी. बीउमा मिलाएर उपचार गर्नु पर्दछ जसले डांठ सड्ने र कलर रट रोगको नियन्त्रण गर्दछ ।

जग्गा तयारी

जमिनको तयारी

जमीनको अवस्था र माटोका किसीम हेरी ३ देखि ४ पटक खनजोत गरि काठको लिड्को वा पाटा लगाएर माटो मसिनो बुरर्बुराउदो बनाउनु पर्दछ । बिउ उम्रन को लागि माटोमा चिस्यान हुनुपर्दछ । समथर, दोमट, हलुका बलौटे माटो राजमा खेतीको लागी उपयुक्त हुन्छ ।

लगाउने तरीका  

राजमा खेतीको लागी उच्च पहाडमा जेष्ठ–आषाढ, मध्यपहाडमा भाद्र–आश्विन र तराई तथा भित्री मधेशमा आश्विनको दोस्रो हप्ता देखि कार्तिक महिना भर बीउ लगाउनु उपयुक्त मानिन्छ । एक हार देखि अर्को हार को दुरी ४० देखि ५० से.मि. र एक बोट देखि अर्को बोट १० से. मि.कायम गरी बीउ लगाउनु उपयुक्त हुन्छ । साथै बीउलाई  ५ देखि ७ से.मि. को गहिराइमा खसाली माटोले हल्का छोप्ने गर्नुपर्दछ । राजमाको अनुजात पी.डी.आर.–१४ मा गरिएको परिक्षणमा हार देखि हार ६० से.मि. र बोट देखि बोट २५ से.मि. दुरीमा लगाउदा सबैभन्दा बढी उत्पादन (१७७५ के.जी. प्रति हेक्टर) पाईएको थियो ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद व्यबस्थापन

राजमा खेतीको लागि राम्रोसँग पाकेको कम्पोष्ट मल ६०० देखि ७०० किलोग्राम प्रति रोपनीको दरले जमिन तयारी गर्दा मिसाउनु पर्दछ । अन्य दलहन बालीमा जस्तो राजमाको जरामा गिर्खा नहुने भएकोले यसले जैविक नाईट्रोजन स्थिरीकरण गरी उपभोग गर्न सक्दैन त्यसैले यसको लागि नाईट्रोजनको मात्रा अन्य दलहन बालीको भन्दा बढी आवश्यकता पर्दछ । यसको लागि १०० के.जी. नाईट्रोजन, ६० के.जी. फस्फोरस र ४० के.जी. पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । सिफारिस मात्राको आधा भाग नाईट्रोजन र पोटास, फस्फोरसको पुरा मात्रा अन्तिम जोताईमा रोप्नु भन्दा अगाडि प्रयोग गर्नु पर्दछ भने नाईट्रोजनको बाँकी आधा भाग बाली रोपेको २५-३० दिन पछि युरिया टपड्रेस गर्नु पर्दछ । त्यस्तै युरिया ५.५ के.जी. डि.ए.पी ६.८ के.जी. र म्युरेट अफ पोटास ३.५३ के.जी. प्रति रोपनीका दरले जमिनको अन्तिम तयारी गर्दा हाल्नुपर्दछ र गोडमेल गर्ने समयमा ३.५ के. जी. युरियाको थप मल प्रयोग गर्नुपर्दछ ।

झारपात व्यबस्थापन

राजमामा झारपातको प्रकोप हेरि वाली लगाएको २५  देखि ३० दिन भित्र पहिलो  र ४० देखि ५० दिन भित्र दोस्रो पटक गोडमेल गर्न सकिन्छ । रासायनिक विधिबाट झारपात नियन्त्रण गर्दा पेन्डिमेथालिन (pendimethalin) ३.३ लिटर ७०० देखि ८०० लिटर पानीमा मिसाई प्रति हेक्टरको दरले राजमामा रोपेको ३ दिनभित्र माटोको सतहमा छरेमा झारपातको राम्रो व्यवस्थापन गर्न सकिन्छ । यो विषादी छर्दा माटोमा चिस्यान हुनुपर्छ र यो बिषादीले माटोको सतहमा भएका बीउलाई क्षति पुर्याई उम्रन नसक्ने बनाउछ तर माटो मुनिको बीउलाई यो विषादीले असर गर्दैन यसरी बाली भन्दा अगाडी उम्रने माटोको सतहको झारलाई बिशेष नियन्त्रण गरेको हुन्छ ।

रोग किरा व्यवस्थापन

पहेलो छिरबिरे रोग

यो रोग लाहीबाट सर्ने हुदा यसको रोकथामको लागि मालाथियन ५०५ इ.सी. २ मि.लि. प्रति लिटर पानीको दरले बनाएको झोल ७ दिनको फरकमा २–३ पटक छर्ने । फेनभेलेरेट २०% इ.सी.(Fenvelarate 20% EC) वा साइपरमेथ्रिन १०% इ.सी. (Cypermethrin 10% EC) वा सुमिसिडिन २०% इ.सी.(Sumicidin 20% EC) नामक पाइरेथ्रवाइड नामक कीटनाशक विषादीहरु १ देखि २ मि. लि. प्रति लिटर पानीका दरले मिसाइ बनाइएको झोल १५ दिनको फरकमा छर्ने । लाही, सेमिलुपर र झुसिल किराहरु नियन्त्रण गर्न साइपरमेथिन समुहको कुनै विषादी १५ मि.लि. प्रति लिटर पानीमा मिसाई प्रति कट्ठा १६ लिटरका दरले छर्नु पर्दछ ।

राजमामा लाग्ने सेतो कपासे ढुसी

यो रोग फूल फुल्ने र कोसा लाग्ने बेलामा, जब मौसम चिसो र कुहिरो लाग्छ तब यो रोग देखिन थाल्छ ।  यो रोग माटो र बीउ बाट सर्दछ । यो रोग लागेमा राजमाको बोट, डाँठ र कोसाहरु कुहिएर जान्छ । राजमा बालीमा ओसिलो वातावरण रहि रहेमा रोग ग्रसित भागहरुमा सेतो वाक्लो ढुसी बन्दछ ।

व्यवस्थापन

१. रोगी बोटको अवशेष भए हटाउने ।

२. बीउ लगाउदा ढुसीको डल्लो (स्केरोसिया) छ भने हटाउने ।

३. मौसम चिसो भएको बेला पानी नदिने ।

४. सकभर बाली छिटो लगाउने ।

५. राजमामा लाग्ने सेतो कपासे ढुसी रोगको व्यबस्थापनको लागि बिउलाई ट्राइकोडर्मा नामक जैविक बिषादी ५ ग्राम प्रति के.जी.को दरले बिउ उपचार गरी लगाउने ।

६. साफ (क्बबा) नामक ढुसीनासक बिषादी २.५ ग्राम प्रति लिटर पानीमा मिसाएर तयार परेको झोल १०–१५ दिनको अन्तरालमा ३ पटक छर्कने ।

फेद काट्ने कीरा (Cutworms)

यो कीराको बयस्क अवस्था खैरो अथवा खरानी रंगको पूतली हुन्छ । पूतलीको अगाडीको पखेटा ध्वांसे रंगको र ठाउँठाउँमा काला दाग भएका हुन्छन् । पछाडीको पखेटा भने हल्का सेता रंगका हून्छन् । पोथी पूतलीको फुलबाट ध्वांसे रंगको नै लाभ्रेहरु (बच्चा) निस्किन्छन् । यीनका शरीरमा टुटेका कालाकाला धर्साहरु पनि देखिन्छन् । यीनीहरुलाइ छोइदियो भने बटारिएर बस्दछन् ।

क्षतिको प्रकार

दिउसो लाभ्रेहरु लुकेर बस्दछन र राती बाहिर आई विरुवाको माटोको सतहको डाठ वा माटो मूनीको जरा काटेर खानुको साथै विरुवाहरु ढलाई दिन्छन् । यीनले प्रायः गरेर दलहनबाली लगायत तरकारी बालीको कलिला विरुवाहरुलाई बढी क्षति पुर्याउछन् ।

व्यवस्थापन

  1. काटेको विरुवाको जरा नजिक माटोमा कोट्याएर लार्भाहरु खोजी नष्ट गर्ने ।
  2. झुक्याउने पासो बनाइ लार्भा फसाउने । बाली लगाएको ठाउँठाउँमा हरियो तथा सूकेको झारपात को थुप्रो राखि दिंदा खूम्रे तथा फेद् काट्ने लाभ्रेहरु सो थूप्रोमा आश्रय लिन पूगेका हुन्छन् र सो लार्भाहरुलाइ बिहान जम्मा गरी नस्ट गर्न सकिन्छ ।
  3. बिषयुक्त चारा बनाइ छर्ने । यस को लागि बि.टी. नामक जैविक विषादि ३ ग्राम वा मालाथियन ५ प्रतिसत धुलो २ ग्राम प्रति १ के.जी. गहु अथवा धानको चोकरका दरले मिसाइ तयार पारेको बिषयुक्त चारा ५०० ग्राम प्रति रोपनिका दरले साझपख बारीमा छर्ने ।
  4. बिषयुक्त बालुवा छर्ने । 
  5. बाली लगाउने खेतवारी वरिपरी वारीमा भएका झारपातले यी कीराहरुलाई आश्रय प्रश्रय दिने हुनाले बाली लगाएको क्षेत्र वरपर झारपातले ढाक्न दिनुहुदैन । झारपातहरुले कीराहरुको आक्रमण तिब्र बनाउनुको साथै बिरुवाहरुको खाद्यतत्व र प्रकाश लिनको लागि समेत बिरुवासंग प्रतिस्प्रर्धा गर्दछन् ।
  6. सिंचाईको सूविधा भएको ठाउमा, वालीलाई प्रतिकूल असर नपर्ने गरि सिंचाई गर्नाले माटोमा वा माटो मुनि बसी क्षति गर्ने कीराहरु माटोको सतहमा आउछन् र यीनको प्राकृतिक शत्रुहरुले यीनलाई खाइदिन्छन् । साथै यी कीराको जिवन चक्रमा नकारात्मक असर पर्न गै कीराहरुको संख्या घट्छन् ।
  7. खुम्रे र फेद काट्ने कीराको प्रकोप हुने गरेको जग्गामा गहिरो खनजोत गरी केहि दिन छाडी दिदा यीनका लाभ्रेहरु र फुलको गुड बिग्रिन जान्छ र बाहिर सतहमा देखिएका लार्भाहरुलाई केही चराहरुले शिकार गरी नष्ट गर्दछन् ।

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

बाली काट्ने र चुट्ने

तराईमा राजमा १२० देखि १३० दिन सम्ममा पाक्दछ । तर उच्च पहाडमा भने अलि बढि समय लाग्छ । कोसा पाकेर सुक्न थालेपछि र पात पहेंलो भएर झर्न थाले पछि वाली काट्न वा कोसा टिप्न तयार भएको बुझ्नु पर्दछ । एकै पटक कोसा टिप्ने सम्म नभए २ देखि ३ पटक टिप्न सकिन्छ । टिपी सकेको कोसालाई घाममा राम्रोसंग सुकाएर कोसालाई चुटी दाना छुट्याउनु पर्छ  ।

उत्पादन

उन्नत तरिका बाट राजमा खेति गर्दा ३००० देखि ५००० के. जि प्रति हेक्टर का दरले उत्पादन लिन सकिन्छ ।

अन्य जानकारी

गुणस्तरीय बीउ उत्पादनका लागि तोकिएको मापदण्ड 

रोगी बीउको प्रतिशत मुल बीउ (०.१), प्रमाणित बीउ (०.२) 
बेजाते वोटको संख्या मुल बीउ (०.१), प्रमाणित बीउ (०.२) 
अन्य बालीहरुको बीउ (१० वटा प्रति के.जी.) मुल बीउ (५ वटा प्रति के.जी., प्रमाणित बीउ 
अन्य राजमाको जातहरु बीउ (२० वटा प्रति के.जी.) मुल बीउ (१० वटा प्रति के.जी.), प्रमाणित 
उमारशक्ति ७५ प्रतिशत (मुल बीउ, प्रमाणित बीउ)

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

- डा. राजेन्द्र दराई 
संयोजक तथा बरिष्ठ वैज्ञानिक (एस ४) कोसेवाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके

दलहन बाली खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र