खेसरी (Lathayrus sativus L.) हिउँदे दलहन बाली हो । खेसरी 2n = 2x = १४ क्रोमोजोम भएको द्विगुणित प्रजाति हो । खेसरी हिउँदमा तराईतिर भुईं लहरामा फल्ने दलहन हो । यसको दाल पौष्टिक, सुरक्षित एवं कम मूल्यमा पाइने मानिन्छ । संसारका धेरै राष्ट्रहरूमा यसको खेती एवं उपयोग प्राचिनकाल बाट नै हुँदै आएको छ । खेसरीलाई लतरी अथवा मटरा पनि भनेर चिनिन्छ । यो धेरै खडेरी तथा अस्वभाविक वर्षा भएको अवस्थामा समेत राम्रो उत्पादन दिने बाली हो तसर्थ अन्य बालीहरुको उत्पादनमा जलवायु परिवर्तनको असर परिराखेको अवस्थामा पनि यसको राम्रो उत्पादन लिन सकिन्छ । दिन प्रतिदिन जलवायु परिवर्तनको प्रभावका कारण अन्य बालीहरू उत्पादन घट्दै जादा खेसरीको उत्पादनले देशको अर्थतन्त्रमा समेत टेवा पुर्याउन सहयोग पुग्ने हुँदा यसलाई आर्थिक हिसाबले महत्वपूर्ण बालीको रुपमा हेर्नुपर्छ । यसको खेती नेपालको तराई क्षेत्रमा धान खेती पछि सुख्खा हुने क्षेत्रमा गरिन्छ । यसले धेरै सुख्खा सहन सक्दछ साथ साथै यसलाई रोग तथा कीराले पनि कम आक्रमण गर्दछ । यसको खेती नेपालमा दिन प्रति दिन घट्दै गए पनि विश्वका धेरै देशमा यसको खेती गरिदै आएको छ । नेपालमा अन्य दलहन बालीमा जस्तो खेसरी बालीमा अध्ययन तथा अनुसन्धान भएको अवस्था छैन । किसानहरुले हालसम्म जति पनि खेती गर्दै आएका छन् ती सबै स्थानीय जातहरू रहेको पाइएको छ । आ.व. २०७६/७७ मा नेपालमा खेसरी ७९९७हेक्टर क्षेत्रफलमा लगाईएको थियो र ९५०४ मेट्रिक टन उत्पादन भएको थियो । यसलाई दाल तथा बेसन बनाउको लागि प्रयोग गरिन्छ । यो बालीलाई कृषकहरुले कम उब्जाउ हुने सिमान्तकृत जमिनमा लगाउँदा पनि राम्रा उत्पादन लिन सक्छन् ।
नेपालमा रहेका रैथाने स्थानीय जातहरुमा Neurotoxin Beta-N-oxalyl-L-alpha-beta-diamino-propionic acid (ODAP) मात्रा ०.६-०.८ प्रतिशत रहेको छ भने हाल नेपाल कृषि अनुसन्धान परिषद्, कोसेबाली अनुसन्धान कार्यक्रमद्वारा अनुसन्धान गर्दै आएका जातहरुमा यसको मात्रा ०.१-०.२ प्रतिशत (Low ODAP) मात्र रहेको छ जसले मानव स्वास्थ तथा अन्य जनावरको स्वास्थलाई कुनैपनि असर गर्दैन वा यसको उपयोग गर्दा मानव स्वास्थलाई सुरक्षित मानिन्छ । हाल कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेले कम न्यूरोटोक्सिन पाइने खेसरीका जातहरुमा अनुसन्धान गर्दा रतन जातले २२९३ के.जी. प्रति हेक्टर सम्म उत्पादन दिने पाइएको छ । त्यस्तै अन्य खेसरीका उत्कष्ट जातहरुमा जि.पी. ६७ ले १४९७ के.जी. प्रति हेक्टर तथा एक्सेसन नं. १९० ले १४२८ के.जी. प्रति हेक्टर उत्पादन दिने पाइएको छ । खेसरीको उत्पादन सबैभन्दा बढी उत्पादन लुम्विनी प्रदेशमा रहेको छ जहाF ४१०० हे. क्षेत्रफलमा यसको खेती गरिन्छ । खेसरीको उत्पादकत्व १.१९ मे.ट. प्रति हेक्टर रहेको छ । नेपालमा बढी खेती गरिने जिल्लाहरू कपिलवस्तु, बर्दिया, सर्लाही, पर्सा, मोरङ्ग, रौतहट, रुपन्देही, दाङ्ग र बाँके पर्दछन् ।

