परिचय

परिचय 

खेसरी (Lathayrus sativus L.) हिउँदे दलहन बाली हो । खेसरी 2n = 2x = १४ क्रोमोजोम भएको द्विगुणित प्रजाति हो । खेसरी हिउँदमा तराईतिर भुईं लहरामा फल्ने दलहन हो । यसको दाल पौष्टिक, सुरक्षित एवं कम मूल्यमा पाइने मानिन्छ । संसारका धेरै राष्ट्रहरूमा यसको खेती एवं उपयोग प्राचिनकाल बाट नै हुँदै आएको छ । खेसरीलाई लतरी अथवा मटरा पनि भनेर चिनिन्छ । यो धेरै खडेरी तथा अस्वभाविक वर्षा भएको अवस्थामा समेत राम्रो उत्पादन दिने बाली हो तसर्थ अन्य बालीहरुको उत्पादनमा जलवायु परिवर्तनको असर परिराखेको अवस्थामा पनि यसको राम्रो उत्पादन लिन सकिन्छ । दिन प्रतिदिन जलवायु परिवर्तनको प्रभावका कारण अन्य बालीहरू उत्पादन घट्दै जादा खेसरीको उत्पादनले देशको अर्थतन्त्रमा समेत टेवा पुर्याउन सहयोग पुग्ने हुँदा यसलाई आर्थिक हिसाबले महत्वपूर्ण बालीको रुपमा हेर्नुपर्छ । यसको खेती नेपालको तराई क्षेत्रमा धान खेती पछि सुख्खा हुने क्षेत्रमा गरिन्छ । यसले धेरै सुख्खा सहन सक्दछ साथ साथै यसलाई रोग तथा कीराले पनि कम आक्रमण गर्दछ । यसको खेती नेपालमा दिन प्रति दिन घट्दै गए पनि विश्वका धेरै देशमा यसको खेती गरिदै आएको छ । नेपालमा अन्य दलहन बालीमा जस्तो खेसरी बालीमा अध्ययन तथा अनुसन्धान भएको अवस्था छैन । किसानहरुले हालसम्म जति पनि खेती गर्दै आएका छन् ती सबै स्थानीय जातहरू रहेको पाइएको छ । आ.व. २०७६/७७ मा नेपालमा खेसरी ७९९७हेक्टर क्षेत्रफलमा लगाईएको थियो र ९५०४ मेट्रिक टन उत्पादन भएको थियो । यसलाई दाल तथा बेसन बनाउको लागि प्रयोग गरिन्छ । यो बालीलाई कृषकहरुले कम उब्जाउ हुने सिमान्तकृत जमिनमा लगाउँदा पनि राम्रा उत्पादन लिन सक्छन् ।

नेपालमा रहेका रैथाने स्थानीय जातहरुमा Neurotoxin Beta-N-oxalyl-L-alpha-beta-diamino-propionic acid (ODAP) मात्रा ०.६-०.८ प्रतिशत रहेको छ भने हाल नेपाल कृषि अनुसन्धान परिषद्, कोसेबाली अनुसन्धान कार्यक्रमद्वारा अनुसन्धान गर्दै आएका जातहरुमा यसको मात्रा ०.१-०.२ प्रतिशत (Low ODAP) मात्र रहेको छ जसले मानव स्वास्थ तथा अन्य जनावरको स्वास्थलाई कुनैपनि असर गर्दैन वा यसको उपयोग गर्दा मानव स्वास्थलाई सुरक्षित मानिन्छ । हाल कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेले कम न्यूरोटोक्सिन पाइने खेसरीका जातहरुमा अनुसन्धान गर्दा रतन जातले २२९३ के.जी. प्रति हेक्टर सम्म उत्पादन दिने पाइएको छ । त्यस्तै अन्य खेसरीका उत्कष्ट जातहरुमा जि.पी. ६७ ले १४९७ के.जी. प्रति हेक्टर तथा एक्सेसन नं. १९० ले १४२८ के.जी. प्रति हेक्टर उत्पादन दिने पाइएको छ । खेसरीको उत्पादन सबैभन्दा बढी उत्पादन लुम्विनी प्रदेशमा रहेको छ जहाF ४१०० हे. क्षेत्रफलमा यसको खेती गरिन्छ । खेसरीको उत्पादकत्व १.१९ मे.ट. प्रति हेक्टर रहेको छ । नेपालमा बढी खेती गरिने जिल्लाहरू कपिलवस्तु, बर्दिया, सर्लाही, पर्सा, मोरङ्ग, रौतहट, रुपन्देही, दाङ्ग र बाँके पर्दछन् ।

grass pea    grass pea

खेसरीको व्यवसायिक रुपमा उत्पादन हुन नसक्नुका कारणहरू 

१. खेसरीको दाल तथा अन्य परिकारको सेवन गर्दा प्यारालाईसिसको समस्या आउँछ भन्ने जनमानसको बुझाई तथा नेपाल सरकारले उत्पादनमा रोक लगाउनु । 
२. खेसरीको जातीय विकास हुन नसक्नु । 
३. यसको महत्वका बारेमा प्रचार प्रसार नहुनु ।

खेसरीको खेती विस्तार किन आवश्यक छ 

जलवायु परिवर्तनको कारणले बढ्दै गएको सुख्खा क्षेत्रमा पनि यसको खेती गर्न सकिने । 
जस्तोसुकै माटोमा पनि कम खनजोत गरेर खेती गर्न सकिने । 
मलको अभाव भएको बेलामा पनि कम मलिलो जग्गामा यसको खेती गर्न सकिने साथै यसको खेतीले माटो गुणस्तरमा समेत सुधार ल्याउने । 
धान खेती पछि बाँझो रहने जग्गामा पनि यसको खेती गर्न सकिने । 
थोरै लगानी र मेहनतमा पनि राम्रो उत्पादन लिन सकिने ।

आवश्यकता

हावापानी तथा माटो 

खेसरी सुख्खा, धेरै हदसम्म तुसारो तथा अत्याधिक चिसो हावापानी सहन गर्न सक्ने हिउँदे दलहन बाली हो । यसको खेतीको लागि १५-२५० सेन्टिग्रेट तापक्रम उपयुक्त मानिन्छ । यसको वानस्पतिक वृद्धिको समयमा चिसो तापक्रम र परिपक्वताको समयमा तातो तापक्रम चाहिन्छ । यसको खेती तराई देखि मध्य पहाड सम्म गर्न सकिन्छ । खेसरी जस्तोसुकै माटोमा उत्पादन हुने भएता पनि राम्रो उत्पादन लिनको लागि चिम्टाईलो वा चिम्टाईलो दोमट माटो आवश्यक पर्दछ । धेरै अम्लियपना भएको माटोमा यसको खेती त्यति राम्रोसँग फस्टाउँदैन । वर्षे बाली काटीसकेपछि साधारणतया १-२ पटक हेरों वा हलोले जोतेर खेत तयार गरी खेसरी लगाउँदा उपयुक्त हुन्छ ।

कृषि इन्पुट

बीउ रोप्ने समय 

सामान्यतया वर्षे बालीहरू काटिसके पछि कार्तिक पहिलो हप्ता देखि मंसिर पहिलो हप्ता सम्म यसको खेती गर्न सकिन्छ । माटोमा राम्रो चिस्यान भएको बेला लगाउनु पर्दछ जसले गर्दा राम्रोसँग उम्रिन्छ र उत्पादन राम्रो लिन सकिन्छ ।

बाली प्रणाली 

धान - खेसरी -मुङ्ग/मास 
भटमास - खेसरी - मुङ्ग/मास

बीउ दर र उपचार 

बीउ दर 
खेसरी खेतीको लागि प्रति हेक्टर ४०-५० के.जी. सम्म बीउ लाग्दछ । बीउ राम्रो उमारशक्ति भएको चाहिन्छ । 
बीउ उपचार 
खेसरीको बीउलाई पनि अन्य दालबालीको जस्तै कीटनासक, दुशिनासक र जैविक मलले उपचार गरेर लगाइयो भने राम्रो उत्पादन लिन सकिन्छ । कीटनाशक र ढुशिनासक उपचार गर्दा रोग कीराले कम असर गर्नुको साथै उत्पादन पनि बढ्दछ । बीउबाट सर्ने रोगको व्यवस्थापनको लागि वेभिस्टिन प्रति किलोग्राम २-३ ग्रामका दरले मोलेर बीउ उपचार गर्नुपर्छ । कीटनासक विषादीले बीउ उपचार गर्नु परेमा मालाथियन ५% धुलो २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गर्नुपर्छ ।

जग्गा तयारी

मलखाद 


खेसरी खेतीको लागि कति मात्रामा मलखाद प्रयोग गर्ने भन्ने कुरा माटोको उर्वराशक्तिमा निर्भर रहन्छ । साधारणतया २०-४०-२० केजी ना. फो.पो. प्रति हेक्टरका दरले खेसरी लगाउने खेतमा प्रयोग गर्न सिफारिस गरिएको छ । यसको लागि उक्त मात्रा पूरा गर्न ३ कि.ग्रा. डी.ए.पी., ३०० ग्राम युरिया, १.३ कि.ग्रा. पोटास प्रति कठ्ठाका दरले खेत तयारीको अन्तिम पटक माटोमा मिसाउनु पर्छ । यदि प्राङ्गगारिक पदार्थ राम्रो भएको माटो भएमा रासायनिक मलको आवश्यकता पर्दैन । यदि गोठेमल वा कम्पोष्ट मल ५ भने प्रति कठ्ठा २० देखि २५ डोकाको दरले हाल्नु पर्दछ ।

लगाउने दुरी 

खेसरीलाई छरुवा विधिबाट पनि खेती गर्न सकिन्छ । यदि लाइनमा लगाउने हो भने लाईन देखि लाईनको दुरी ५० से.मी. र बोट देखि बोटको दुरी १० से.मी. कायम गर्नु पर्दछ । यसलाई धान काट्नु भन्दा ७ देखि १० दिन अगाडि छरुवा विधिबाट घुसुवा बालीको रुपमा पनि खेती गर्न सकिन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

झारपात व्यवस्थापन 

खेसरी छरेको ३ दिन भित्र वा ७२ घण्टा भित्र झारनासक विषादी पेन्डिमेथालिन (Pendimethalin) ३ लिटर प्रति हेक्टर ५०० लिटर पानीमा मिसाई माटोमा छर्ने । त्यसरी विषादी छर्दा माटोमा चिस्यानको मात्रा राम्रो हुनु पर्दछ । यदि झारनासक विषादी प्रयोग गरिएको छैन भने २५ देखि ३० दिनमा एकपटक गोडमेल गरेर झारपातको व्यवस्थापन गर्न सकिन्छ ।

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

बाली काट्ने तथा भण्डारण 

खेसरीको कोसा तथा बोट सुकेपछि बाली काटी केही दिनसम्म घाममा सुकाएर चुटी सफा गरेर गेडा अलग गर्नुपर्छ । खेसरी सफा गरेर ३ देखि ४ घाममा सुकाएपछि ९ प्रतिशत बीउको चिस्यानमा भण्डारण गर्नु पर्दछ । सफा गरेर सुकाएको दानाहरुलाई भण्डारण गर्न सकिन्छ । यसमा एकदमै छिटो कीरा लागेर बीउ खाई सखाप पार्ने भएकाले हावा नछिर्ने भकारी वा भाँडोमा सेल्फस २ चक्की एक टन बीउमा राखी बन्द गर्दा खेसरी बीउ सुरक्षित राख सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

  डा. राजेन्द्र दराई र कुमार सुवेदी ** 
*वरिष्ठ वैज्ञानिक (एस ४), ** प्राविधिक सहायक (टी ५) 
कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके

रैथाने बालीहरुको खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र